बाइबलको दृष्टिकोण
के बाइबलले शिक्षालाई निरुत्साहित गर्छ?
“गवाँरले मात्र शिक्षालाई तुच्छ ठान्छ।”—पब्लियस स्वेइरस, नैतिक कथनहरू, सा.यु.पू. प्रथम शताब्दी।
बाइबल हामीलाई “आफ्नो योग्यता र विवेकको रक्षा” गर्न आग्रह गर्छ। (हितोपदेश ३:२१) ज्ञानको सागर यहोवा परमेश्वर आफ्ना उपासकहरूले शिक्षा हासिल गरेको चाहनुहुन्छ। (१ शमूएल २:३; हितोपदेश १:५, २२) यद्यपि, बाइबलका कुनै कुनै वाक्यांशहरूबारे प्रश्न उठ्नसक्छ। उदाहरणका लागि, उच्च शिक्षालगायत पहिलेका लक्ष्यहरूबारे प्रेरित पावलले यसप्रकार लेखे: “म सब कुरा . . . रद्दी सम्झन्छु।” (फिलिप्पी ३:३-८) अर्को प्रेरित पत्रमा तिनले यसप्रकार लेखे: “संसारको ज्ञान परमेश्वरको अगि मूर्खता हो।”—१ कोरिन्थी ३:१९.
के त्यसो भए बाइबलले शिक्षालाई निरुत्साहित गर्छ? मसीहीले कतिसम्म शिक्षा हासिल गर्नुपर्छ? कानुनले तोके जति शिक्षा हासिल गरे पुग्छ वा थप शिक्षा हासिल गर्नुपर्छ?
प्रथम शताब्दीमा शिक्षा
प्रथम शताब्दीका मसीहीहरूको बेग्लाबेग्लै शैक्षिक पृष्ठभूमि थियो। कोही कोही प्रतिष्ठित मानिसहरूको नजरमा गालीलका प्रेरितहरू पत्रुस र यूहन्ना “अपठित र अजान” थिए। (प्रेरित ४:५, ६, १३) के यसको मतलब यी दुवै जना निरक्षर वा अशिक्षित थिए? थिएनन्। फरक यति थियो कि तिनीहरूले यरूशलेमका हिब्रू स्कूलहरूबाट उच्च शिक्षा हासिल गरेका थिएनन्। मसीहीधर्मका यी दुई साहसी समर्थकहरूका लेखोटहरूबाट तिनीहरू शिक्षित, बुद्धिमान् मानिसहरू हुनुका साथै धर्मशास्त्रीय जानकारी सुस्पष्ट ढंगमा प्रस्तुत गर्न योग्य थिए भनी प्रमाणित हुन्छ। तिनीहरूले हासिल गरेको शिक्षाले आ-आफ्ना परिवारका भौतिक आवश्यकताहरूको प्रबन्ध गर्ने व्यवहारिक निर्देशन पनि प्रदान गऱ्यो। एकदमै नाफादायी माछा व्यापारमा तिनीहरू साझेदार थिए भनेर प्रस्ट बुझिन्छ।—मर्कूस १:१६-२१; लूका ५:७, १०.
तिनीहरूको तुलनामा सुसमाचारको एउटा पुस्तक र प्रेरितहरूका काम नामक पुस्तक लेख्ने चेला लूकाले अझ उच्च शिक्षा हासिल गरेका थिए। तिनी वैद्य थिए। (कलस्सी ४:१४) तिनका प्रेरित लेखोटहरूमा चिकित्सासम्बन्धी ज्ञान प्रस्टै झल्कन्छ।—लूका ४:३८; ५:१२; प्रेरित २८:८ हेर्नुहोस्।
मसीही बन्नुअघि प्रेरित पावलले तात्कालीन विद्वान शास्त्रविद् गमलीयलको रेखदेखमा यहूदी व्यवस्था सिकेका थिए। (प्रेरित २२:३) पावलको शिक्षालाई अहिलेको विश्वविद्यालयको पढाइ बराबर मान्न सकिन्छ। यसबाहेक, पछि गएर उच्च शिक्षा हासिल गरे तापनि युवाहरूले कुनै व्यवसाय सिक्नु यहूदी समाजमा आदरणीय मानिन्थ्यो। जवान छँदै पावलले पाल बनाउने प्रशिक्षण लिएका थिए भनेर प्रस्टै हुन्छ। त्यस्तो सीपले तिनलाई पूर्ण-समय सेवकाईमा लागिरहन मदत गऱ्यो।
तैपनि, सांसारिक शिक्षा आवश्यक भए तापनि परमेश्वरको ज्ञानको सर्वोत्कृष्ट महत्त्वको दाँजोमा त्यसको महत्त्व सीमित छ भनेर पावलले बुझे। त्यसैकारण, बाइबलले परमेश्वर र ख्रीष्टको ज्ञान हासिल गर्नुलाई सर्वमहत्त्वपूर्ण ठान्छ। वर्तमान समयमा मसीहीहरूले शिक्षाप्रति यस्तै व्यवहारिक दृष्टिकोण राख्नु बेस हुन्छ।—हितोपदेश २:१-५; यूहन्ना १७:३; कलस्सी २:३.
मामिलालाई होसियारीपूर्वक विचार गर्ने
कोही कोही मसीहीहरूले थप शैक्षिक वा व्यवसायिक शिक्षा हासिल गर्दा परिवारका भौतिक आवश्यकताहरूको प्रबन्ध गर्न सहयोग पुगेको अनुभव गरेका छन्। परिवारको हेरचाह गर्नु उचित हो किनभने “परिवारलाई पालन-पोषण” गर्नु एउटा पवित्र कर्तव्य हो। (१ तिमोथी ५:८) यसको लागि चाहिने सीप हासिल गर्नु व्यवहारिक बुद्धिको कुरा हो।
तथापि, यसो गर्न सक्षम हुनको लागि थप शिक्षा हासिल गर्नुपर्ने खाँचो महसुस गर्नेहरूले यसका फाइदा तथा बेफाइदा दुवै तौलनुपर्छ। सम्भाव्य फाइदाहरू हुन्, मसीही सेवकाईमा जोसका साथ लाग्नुका साथै आफू तथा परिवारको लागि यथेष्ट प्रबन्ध गर्नसक्ने जागिर पाउन सकिन्छ। यसबाहेक, भौतिक तवरमा ‘दरकार पर्नेहरूलाई केही दिन’ सकिएला।—एफिसी ४:२८.
तर केही सम्भाव्य बेफाइदाहरू के के हुन्? परमेश्वर अनि बाइबलमाथिको विश्वासलाई ढलपल गराउन शिक्षाहरूले असर गर्नसक्छन्। पावलले मसीहीहरूलाई “ज्ञान कहलिएको झूटा विरोध” अनि “मानिसहरूको कुलाचार, संसारको अनुसारका तत्त्वज्ञान, र फोस्रो छल[देखि]” होसियार रहने सल्लाह दिए। (१ तिमोथी ६:२०, २१; कलस्सी २:८) कुनै कुनै प्रकारका शिक्षाहरूले मसीहीको विश्वासलाई हानि पुऱ्याउनसक्छन् भन्ने तथ्य निर्विवाद छ। थप प्रशिक्षण वा अध्ययन हासिल गर्न चाहनेहरू त्यस्ता हानिकारक प्रभावहरूदेखि सतर्क हुनुपर्छ।
“मिश्रीहरूका सारा विद्यामा निपुण” मोशाले पक्कै पनि बहुदेववाद, परमेश्वरको अनादर हुने शिक्षाहरू सिके तापनि दृढ विश्वास कायम राख्नसके। (प्रेरित ७:२२) त्यस्तैगरि, आज जस्तोसुकै अवस्थामा परे तापनि हानिकारक असरहरूबाट प्रभावित नहुन मसीहीहरू होसियार रहन्छन्।
थप शिक्षा हासिल गर्दा हुनसक्ने अर्को सम्भाव्य खतरा हो, ज्ञानले बढाउने घमण्ड वा छली भावना। (१ कोरिन्थी ८:१) थुप्रैले स्वार्थी कारणहरूका लागि शिक्षाद्वारा ज्ञान हासिल गर्न खोज्छन् र निष्कपट मनोवृत्ति लिएर ज्ञान हासिल गर्दा पनि श्रेष्ठता र आत्म-महत्त्वका भावनाहरू जाग्नसक्छन्। त्यस्तो मनोवृत्ति परमेश्वरलाई मनपर्दैन।—हितोपदेश ८:१३.
फरिसीहरूलाई विचार गर्नुहोस्। त्यस प्रतिष्ठित धार्मिक गुटका सदस्यहरूले ज्ञान र तथाकथित धार्मिकताको घमण्ड गर्थे। तिनीहरूले रब्बीहरूका परम्पराहरू फरर्र भन्नसक्थे अनि कम शिक्षित सर्वसाधारण जनतालाई गवाँर, तुच्छ वा श्रापितसमेत ठानेर घृणा गर्थे। (यूहन्ना ७:४९) यसबाहेक, तिनीहरू धनप्रिय थिए। (लूका १६:१४) गलत मनसाय राखेर शिक्षा हासिल गर्दा मानिस घमण्डी वा पैसाको प्रेमी हुनसक्छ भनी तिनीहरूको उदाहरणले देखाउँछ। तसर्थ, कस्तो प्रकारको र कति शिक्षा हासिल गर्ने भनी निर्णय गर्दा मसीहीहरूले आफैलाई यो प्रश्न सोध्नु बेस हुनेछ, ‘मेरो मनसाय के हो?’
व्यक्तिगत निर्णयको कुरा
प्रथम शताब्दीमा जस्तै वर्तमान मसीहीहरूको शैक्षिक पृष्ठभूमि बेग्लाबेग्लै छ। आमाबाबुको डोऱ्याइमा कानुनले तोके जति शिक्षा हासिल गरिसकेपछि जवानहरूले थप शिक्षा हासिल गर्न रोज्नसक्छन्। त्यस्तैगरि, आफ्नो परिवारको निम्ति अझ राम्रो प्रबन्ध गर्न चाहने वयस्कहरूले थप शिक्षा हासिल गर्नु उपयुक्त ठान्नसक्छन्।a पहिलेदेखि चल्दै आएको कुनै कुनै शैक्षिक प्रणालीले पेशागत वा व्यवसायिक सीपलाई भन्दा बौद्धिक क्षमता बढाउन जोड दिइरहेको हुन्छ। अतः त्यस्तो शिक्षा हासिल गर्न निकै समय खर्च गरिसकेपछि पनि जागिर पाउन गाह्रो हुनसक्छ। यसकारण, जागिर बजारको मागअनुरूप कसै कसैले व्यावसायिक वा प्राविधिक शिक्षा हासिल गर्न रोज्छन्।
कुरा जे सुकै भए तापनि ती व्यक्तिगत निर्णयहरू हुन्। मसीहीहरूले यस विषयमा एकअर्काको आलोचना वा निन्दा गर्नु हुँदैन। याकूबले यसप्रकार लेखे: “आफ्नो छिमेकीलाई दोष लगाउने तिमी को हौ?” (याकूब ४:१२) कुनै मसीहीले थप शिक्षा हासिल गर्नेबारे सोच्दैछन् भने त्यसो गर्नुको आफ्नो प्रमुख मनसाय स्वार्थपूर्ण, भौतिकवादी लक्ष्य हो कि होइन भनी जाँच्नु बेस हुन्छ।
बाइबलले शिक्षाप्रति सन्तुलित दृष्टिकोण राख्न प्रोत्साहित गर्छ भनेर प्रस्टै देखिन्छ। मसीही आमाबाबुले परमेश्वरको प्रेरित वचनमा आधारित आध्यात्मिक शिक्षाको उत्कृष्ट महत्त्व बुझेका छन् र थप शिक्षाबारे आफ्ना छोराछोरीलाई सन्तुलित सल्लाह दिन्छन्। (२ तिमोथी ३:१६) जीवनप्रति व्यवहारिक दृष्टिकोण राख्दै आफ्ना छोराछोरीले आफू र आफ्ना भावी परिवार धान्न चाहिने सीपहरू हासिल गर्न शिक्षा चाहिन्छ भनेर तिनीहरूले बुझेका छन्। तसर्थ, थप शिक्षा हासिल गर्ने या नगर्ने, कतिसम्म हासिल गर्ने इत्यादि विषयहरूमा प्रत्येक मसीहीले यहोवा परमेश्वरप्रति भक्तिको आधारमा व्यक्तिगत निर्णयहरू गर्नसक्छन् किनभने ईश्वरीय भक्ति “अहिले भइरहेको र पछि हुनेसमेत जीवनको प्रतिज्ञा भएका सबै कुराको निम्ति उपयोगी हुन्छ।”—१ तिमोथी ४:८.
[फुटनोट]
a यस विषयमा अझ विस्तृत जानकारीको लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित प्रहरीधरहरा, फेब्रुअरी १, १९९३, पृष्ठ ३-१३ र यहोवाका साक्षीहरू तथा शिक्षा (अंग्रेजी) पुस्तिका हेर्नुहोस्।
[पृष्ठ २६-मा भएको ठूलो अक्षरको क्याप्सन]
“आफ्नो योग्यता र विवेकको रक्षा गरिराख्।” —हितोपदेश ३:२१
[पृष्ठ २७-मा भएको ठूलो अक्षरको क्याप्सन]
कस्तो प्रकारको र कतिसम्म शिक्षा हासिल गर्ने भनी निर्णय गर्दा उक्त मसीहीले आफैलाई यो प्रश्न सोध्नु बेस हुनेछ, ‘मेरो मनसाय के हो?’