सेवकाईमा “व्यस्त” हुनुहोस्
१ प्रेरित पावल कोरिन्थमा छँदा पाल बनाउने काम गर्थे भनी पढ्दा सायद उनले त्यति प्रचार गर्न सकेनन् होला भन्ने हामीलाई लाग्नसक्छ। यद्यपि, प्रेरित १८:५ (नयाँ संशोधित संस्करण) यसो भन्छन्: “पावल वचनको प्रचारमा व्यस्त थिए, र यहूदीहरूलाई येशू नै ख्रीष्ट हुनुहुन्छ भनी तिनले शिक्षा दिंदैथिए।” पावल किन प्रचार गर्नमा यति व्यस्त थिए? कोरिन्थका धेरै मानिसहरू विश्वासी भइसकेको भए तापनि प्रभुले त्यस शहरमा चेला बनाउन अझै बाँकी छ भनेर पावललाई स्पष्ट पार्नुभएको थियो। (प्रेरि. १८:८-११) के हामीसँग पनि सेवकाईमा व्यस्त रहने त्यस्तै कारण छ? छ। अझ धेरै मानिसहरूलाई भेट्न अनि सच्चाइ सिकाउन सकिन्छ।
२ अप्रिलमा धेरै समय सेवामा बिताउनुहोस्: हरेक महिना प्रचारमा जाने तपाईंको लक्ष्य होला। तर यस गतिविधिमा “व्यस्त” रहन अझ धेरै अवसर प्रदान गर्ने केही महिनाहरू छन्। यसमा अप्रिल महिना पर्छ र यो स्मरणार्थ उत्सवको महिना पनि हो। यस वसन्तऋतुमा सहायक अग्रगामी गर्न वा सेवकाईमा अझ धेरै प्रयत्न गर्न के तपाईंको परिस्थितिले साथ दिन्छ? यसो गरिरहने धेरै प्रकाशकहरूले प्रचुर मात्रामा आशिष् पाइरहेका छन्। (२ कोरि. ९:६) यदि तपाईंले आफूले सकेजति गरिरहनुभएको छ भने नबिर्सनुहोस्, तपाईंले गर्नुभएको मनतनको सेवासित यहोवा प्रशन्न हुनुहुन्छ। (लूका २१:२-४) तपाईंको परिस्थिति जस्तोसुकै होस्, अप्रिल महिनामा सेवकाईमा “व्यस्त” रहने लक्ष्य बनाउनुहोस्। अनि महिनाको अन्तमा आफ्नो क्षेत्र सेवाको रिपोर्ट दिन नबिर्सनुहोस्। यसो गर्दा तपाईंको प्रयास यहोवाका अरू जनहरूसँगै गणना गरिनेछ।
३ स्मरणार्थमा उपस्थित हुने नयाँ व्यक्तिहरूकहाँ जानुहोस्: गतवर्ष भारतमा स्मरणार्थमा उपस्थित संख्या ४९,१२० थियो। यस वर्षको कुल उपस्थित संख्या भने हेर्न बाँकी नै छ। तर रिपोर्टले देखाएअनुसार ठूलो “फसल” हुनसक्ने अद्भुत सम्भावना छ। (मत्ती ९:३७, ३८) तसर्थ, स्मरणार्थमा उपस्थित हुने जिज्ञासु व्यक्तिहरूलाई आध्यात्मिक मदत दिन सकेसम्म छिटो भेट्ने प्रबन्ध मिलाउनुहोस्। यदि हामीले भेट्ने दिन पर साऱ्यौं भने ‘दुष्ट आएर तिनीहरूको हृदयमा छरिएको राज्यको वचन खोसेर लैजान्छ।’ (मत्ती १३:१९) यी व्यक्तिहरूलाई भेट्न ढिलाइ गर्नुभएन भने त्यसले तपाईं साँच्चै सेवकाईमा “व्यस्त” हुनुहुन्छ भनेर प्रकट गर्छ।
४ निष्क्रियहरूलाई मदत गरिरहनुहोस्: फेब्रुअरीमा निष्क्रिय प्रकाशकहरूलाई मदत गर्ने विशेष प्रयासको सुरुआत भएको थियो। यदि कोही व्यक्तिलाई गोठालो भेट गर्न अझै बाँकी छ भने प्राचीनहरूले अप्रिलको अन्तसम्ममा तिनीहरूलाई भेट्ने प्रबन्ध मिलाउनुपर्छ। प्राचीनहरूले हरेक व्यक्तिको समस्याको मूल कारण र पुनः सक्रिय भएर यहोवाको सेवा गर्न तिनलाई कसरी सहयोग गर्नुपर्ने हो सो पत्ता लगाउन प्रयत्न गर्नेछन्। यस मायालु मदतको कारण प्राचीनहरूले परमेश्वरको “बगालको गोठालो” भएर आफ्नो जिम्मेवारी गम्भीरतासाथ लिइरहेका छन् भनेर देखाउँछन्। (१ पत्रु. ५:२; प्रेरि. २०:२८) निष्क्रियहरूलाई असर गर्नसक्ने खास पाँचवटा समस्याहरू कसरी समाधान गर्न सकिन्छ, त्यसबारे सेप्टेम्बर १५, १९९३ अंग्रेजी अंकको प्रहरीधरहरा पृष्ठ २२-३ मा उत्कृष्ट सुझाउहरू दिइएका छन्। अप्रिल महिनाको दौडान क्षेत्र सेवकाईमा केही व्यक्तिहरू पुनः सक्रिय हुनसक्छन्।
५ धेरैलाई बप्तिस्मा अप्राप्त प्रकाशक बन्न मदत र्नुहोस्: के तपाईंका छोराछोरी सुसमाचारका लागि नयाँ प्रकाशक बन्न योग्यका भइसके? तपाईंसित बाइबल अध्ययन गरिरहेका व्यक्तिहरूबारे के भन्न सकिन्छ? यदि प्राचीनहरूले मन्जुरी दिएको खण्डमा के अप्रिल महिना उनीहरूको लागि प्रचारकार्य थाल्ने उपयुक्त समय हुनसक्दैन र? यदि कुनै व्यक्तिले उन्नति गरिरहेको छ र चाहनुहुन्छ पुस्तिका अनि ज्ञान पुस्तक सिध्याइसकेको छ भने दोस्रो पुस्तक अर्थात् गड्स वर्ड, ट्रु पिस वा उपासनामा एकताबद्ध पुस्तकबाट बाइबल अध्ययन गरिरहन सक्छन्। तपाईंको लक्ष्य, विद्यार्थीलाई सच्चाइमा अन्तरदृष्टि प्राप्त गर्न, बप्तिस्मा अप्राप्त प्रकाशकको रूपमा योग्य हुन र यहोवाको समर्पित अनि बप्तिस्मा प्राप्त प्रकाशक बन्न मदत दिनु हो।—एफि. ३:१७-१९; १ तिमो. १:१२; १ पत्रु. ३:२१.
६ बाइबल विद्यार्थीप्रति तपाईंको नियमित अनि साँचो चासोले अन्तमा उसलाई सच्चाइलाई आफ्नो बनाउन मदत गर्न सक्छ। एउटा वृद्ध दम्पतीसँग एक जना साक्षीको भेट भयो र त्यो दम्पती खुसीसाथ बाइबल अध्ययन गर्न राजी भए। तर तिनीहरूले लगालग तीन हप्तासम्म अध्ययन स्थगित गरे। तर पछि अध्ययन सुरु भयो। त्यसपछि पनि फेरि केही समयका लागि त्यो दम्पतीले प्रायः हरेक हप्ताजसो अध्ययन टार्न थाले। आखिरमा, पत्नीचाहिं बप्तिस्मा लिनेसम्मको योग्य भइन्। यी दम्पतीसँग अध्ययन गर्ने भाइ यसो भन्छन्: “बप्तिस्मा लिइसकेपछि तिनका आँखाहरू हर्षको आँसुले भरिए अनि त्यो देखेर म र मेरी पत्नीले पनि आँसु थाम्न सकेनौं।” हो, सुसमाचारमा “व्यस्त रहँदा” अथाह आनन्द प्राप्त हुन्छ!
७ बाइबलको भविष्यवाणी अनि संसारका घटनाहरूले देखाएअनुसार हामी अन्तको पनि अन्तको समयमा बाँचिरहेका छौं। परमेश्वरका सबै जनहरू अरूलाई सुमाचार सुनाउन “व्यस्त” हुनुपर्ने समय अहिले नै हो। प्रेरित पावलले आश्वासन दिएअनुसार हामीले गर्ने परिश्रम कदापि “प्रभुमा व्यर्थ हुँदैन।”—१ कोरि. १५:५८.