के तपाईं तिनीहरूको मर्यादाको कदर गर्नुहुन्छ?
जनावरहरूलाई जस्तै बाँधेर कल्पनै गर्न नसकिने डुङडुङती गन्हाउने फोहरको थुप्रोमा मानौं कुनै निर्जीव वस्तुलाई जस्तैगरि कोचेर आदिवासी अफ्रिकीहरूलाई अमेरिकी भूभागमा पठाइन्थ्यो। गन्तव्यस्थान पुग्नुअगावै आधाभन्दा बढी मानिसहरू मर्ने अनुमान लगाइन्थ्यो। परिवारका सदस्यहरूलाई क्रूरतापूर्वक अलग गरिन्थ्यो र तिनीहरू फेरि भेट्ने त आशै नगरे पनि हुन्थ्यो। सँगी मानवहरूप्रति मानिसहरूले गरेका अमानवीय व्यवहारहरूमध्ये दास व्यापार सबैभन्दा दर्दनाक घटना हो। शक्तिशाली विजयी शासकहरूले स्थानीय असहाय जनतालाई क्रूरतासाथ दबाउँदा पनि यस्ता अन्य घटनाहरू भए।
कुनै मानिसलाई मर्यादाबाट वञ्चित गर्नु शारीरिक रूपमा आघात पुऱ्याउनुभन्दा पनि निर्दयी काम हुनसक्छ। यसले मानव मनोबलमा असाध्यै नराम्रो धक्का पुऱ्याउँछ। थुप्रै देशहरूमा दासप्रथा निर्मूल भइसकेको छ। यद्यपि मानव मर्यादामाथि आघात पुऱ्याइन्छ, सायद पहिले जस्तो प्रत्यक्षतः नभई छलपूर्ण ढंगमा।
अर्कोतर्फ, साँचो मसीहीहरू ‘छिमेकीलाई आफूलाई जस्तै प्रेम गर’ भन्ने येशू ख्रीष्टको सल्लाह यथासक्दो पालन गर्ने कोसिस गर्छन्। तसर्थ, तिनीहरू आफूलाई यस्तो प्रश्न गर्छन्, ‘के मैले अरूको व्यक्तिगत मर्यादालाई कदर गरेको छु?’—लूका १०:२७.
मर्यादाको उदाहरण
एउटा शब्दकोशअनुसार मर्यादा भनेको इज्जत, प्रतिष्ठा, मान गर्ने भाव वा स्थिति हो। यस ब्रह्माण्डका सार्वभौम यहोवा परमेश्वरको ओहदाबारे कस्तो सुहाउँदो वर्णन! वास्तवमा, धर्मशास्त्रले बारम्बार यहोवा अनि उहाँको सार्वभौमिकतालाई मर्यादासित गाँसेको छ। मोशा, यशैया, इजकिएल, दानियल, प्रेरित यूहन्ना तथा अरूले अति पवित्र तथा उहाँको स्वर्गीय बासस्थानबारे प्रेरित दर्शन पाउने सुअवसर पाए र तिनीहरूको विवरणले विस्मयकारी गौरव र मर्यादाको निरन्तर चित्रण गऱ्यो। (प्रस्थान २४:९-११; यशैया ६:१; इजकिएल १:२६-२८; दानियल ७:९; प्रकाश ४:१-३) प्रशंसाको प्रार्थनामा राजा दाऊदले यसो भने: “हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव र वैभव तपाईंकै हुन्। किनभने स्वर्ग र पृथ्वीमा भएका सबै कुरा तपाईंकै हुन्।” (१ इतिहास २९:११) साँच्चै, यहोवा परमेश्वरभन्दा बढी आदर र सम्मानको योग्य अरू कोही पनि छैन।
यहोवाले मानिसलाई आफ्नै स्वरूप र प्रतिरूपमा सृजनुभएर तिनीहरूलाई केही हदसम्म योग्यताको आभास, आत्मसम्मान र मर्यादा प्रदान गर्नुभयो। (उत्पत्ति १:२६) अतः अरू मानिसहरूसित व्यवहार गर्दा हामीले प्रत्येक व्यक्तिलाई उचित आदर र इज्जत दिनुपर्छ। त्यसो गर्दा वास्तवमा हामीले मानव मर्यादाका स्रोत यहोवा परमेश्वरलाई स्वीकारिरहेका हुनेछौं।—भजन ८:४-९.
पारिवारिक सम्बन्धमा मर्यादा
विवाहित प्रेरित पत्रुसले प्रेरित भई मसीही पतिहरूलाई आ-आफ्ना पत्नीलाई “निर्बल पात्रलाई जस्तो . . . आदर” दिनु भन्ने सल्लाह दिए। (१ पत्रुस ३:७; मत्ती ८:१४) अर्कोतर्फ, “पत्नीले पनि आफ्ना पतिको डर मानोस्” भनी प्रेरित पावलले सुझाउ दिए। (एफिसी ५:३३) अतः विवाहमा आफ्नो जीवनसाथीको व्यक्तिगत मर्यादालाई आदर तथा इज्जत गर्ने बाइबलको माग हो। के कस्ता तरिकाहरूमा यो प्रदर्शित गर्न सकिन्छ?
हुर्कंदै गरेको बोटलाई पानीले जीवित रहन मदत गरेझैं पतिपत्नीबीच अरूको अगाडि र दुई जना मात्र हुँदा पनि भद्र बोली र मायालु इशाराहरूले घनिष्ठ सम्बन्धलाई फल्नफुल्न मदत गर्छ। टिभीका धारावाहिक हाँस्य नाटकहरूमा अक्सर देखाइने कठोर, बेइज्जतीपूर्ण शब्दहरूद्वारा घोच्ने वा नचाहिंदो कुरा गर्ने, व्यंग्यात्मक ढंगमा तुच्छ ठहऱ्याउने जस्ता कुराहरू विनाशकारी हुन्छन्। यस्ता कुराहरूले अयोग्य, निराशा, द्वेषजस्ता हानिकारक भावनाहरू पलाउनसक्छन् र कहिलेकाहीं त सजिलै निको हुन नसक्ने भावनात्मक चोटसमेत उत्पन्न हुनसक्छ।
अरूको व्यक्तिगत मर्यादालाई कदर गर्नुको अर्थ तिनीहरू जस्ता छन् त्यसैलाई स्वीकार्नु अर्थात् तिनीहरूलाई पूर्वानुमानित धारणामा मिलाउन नखोज्नु वा अरूसित अनुचित ढंगमा तुलना नगर्नु हो। यो विशेषगरि पतिपत्नीबीच महत्त्वपूर्ण छ। जहाँ जिस्काउने वा गाली खाने डरबिना आफूलाई लागेको कुरा तथा भावनाहरू निर्धक्क भई पोखाउन सकिन्छ त्यहाँ घनिष्ठता फस्टाउँछ। वैवाहिक जीवनमा आफू वास्तवमा जस्तो हो त्यस्तै हुन पायो भने यस क्रूर, कठोर संसारमा घर साँच्चै शरणस्थान हुन्छ।
छोराछोरीले आफ्नो आमाबाबुको आदर र आज्ञा पालन गर्ने धर्मशास्त्रीय आदेश पाएका छन्। यस बापत बुद्धिमान् तथा मायालु आमाबाबुले आफ्ना छोराछोरीको मर्यादालाई मान गर्नु बेस हुन्छ। असल बानीबेहोरा देखाउँदा तारिफ गर्नुका साथै आवश्यक परेको बेला धीरजी भई अनुशासन दिंदा “तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्न मदत मिल्नेछ। जत्तिखेर पनि आलोचना गर्ने, “मूर्ख,” “बुद्धू” जस्ता धज्जी उडाउने शब्दहरू चलाएर गाली गर्दा तिनीहरूलाई रिस उठ्नेछ।—एफिसी ६:४.
तीन छोरा र तीन छोरी हुर्काइरहेका एक मसीही प्राचीन तथा पिता यसो भन्छन्: “राज्यभवनमा हामी सकेसम्म कम अनुशासन दिने गर्छौं। अक्सर, अलि बिस्तारै यसो घोच्दा वा आँखा तर्दा मात्र पनि काफी हुन्छ। अलि बढी अनुशासन दिनुपर्दा घरमै अरू बच्चाहरूको अगाडि पनि होइन तर एक्लै राखेर दिन्छौं। अब बच्चाहरू हुर्किसके, त्यसैले प्रत्येकको व्यक्तिगत आवश्यकताहरू हेरेर परमेश्वरको वचनको बुद्धिमानी सल्लाहअनुसार मायालु अनुशासन दिन्छौं। तिनीहरूको व्यक्तिगत मामिलाबारे गोपनीयता कायम राख्छौं र यसरी प्रत्येक बच्चाको निजी मामिलाबारे गोपनीयता राख्ने अधिकार र मर्यादाको आदर गर्छौं।”
परिवारभित्र काम र कुरामा असल बानीबेहोरा देखाउने महत्त्वलाई बेवास्ता गर्नु हुँदैन। आफ्नै मान्छे त हो नि भनेर “कृपया,” “धन्यवाद,” “क्षमा गर्नुहोस्” र “माफी पाऊँ” जस्ता शब्द प्रयोग गर्न हेलचेक्य्राइँ नगर्नुहोस्। आफ्नो मर्यादा कायम राख्न र अरूको मर्यादाको आदर गर्न असल बानीबेहोरा अत्यन्तै महत्त्वपूर्ण छ।
मसीही मण्डलीमा
येशूले यसो भन्नुभयो: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।” (मत्ती ११:२८) दबिएका, निराश भएकाहरू र स-साना बच्चाहरूसमेत येशूतिर आकर्षित भए। त्यस समयका हठी तथा आत्मधर्मी धर्मगुरु तथा नेताहरूले तिनीहरूको गिल्ला गरे। तर येशूले चाहिं तिनीहरूसित मर्यादापूर्वक व्यवहार गर्नुभएको पाए।
येशूको अनुकरण गर्दै हामी पनि सँगी विश्वासीहरूका निम्ति स्फूर्तिको स्रोत हुन चाहन्छौं। यसको अर्थ तिनीहरूलाई हाम्रो बोली र कार्यद्वारा सुदृढ पार्ने अवसरहरू खोज्नु हो। हाम्रो कुराकानीमा दयालु तथा सकारात्मक टिप्पणीहरू समावेश गरेर साँच्चै उदार हुनु सधैं उचित हुन्छ। (रोमी १:११, १२; १ थिस्सलोनिकी ५:११) हामीले के भन्छौं र कसरी व्यक्त गर्छौं त्यसबाट पनि अरूका भावनाहरूप्रति संवेदनशील छौं भनी देखाउनसक्छौं। (कलस्सी ४:६) मसीही सभाहरूमा उचित पहिरन र शिष्टताले परमेश्वर, उहाँको उपासना तथा हाम्रा सँगी उपासकहरूको मर्यादाको गहिरो आदर गरेको झल्काउनसक्छौं।
येशूले मानिसहरूको सेवा गर्नुहुँदासमेत तिनीहरूको मर्यादाको आदर गर्नुभयो। उहाँले कहिल्यै अरूको बेइज्जत गर्दै वा हेप्दै आफूलाई महान् बनाउने कोसिस गर्नुभएन। कोरीले आफ्नो रोग निको पारिदिने आग्रह गर्दा येशूले तिनलाई अशुद्ध र अयोग्य भनी होच्याउनुभएन नता आफूतिर मानिसहरूको ध्यान खिंचेर सान देखाउनुभयो। बरु, त्यस कोरीले येशूलाई “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध होइजाऊ,” भनिदिनुस् भन्दै आग्रह गर्दा उहाँले त्यस कोरीलाई “म इच्छा गर्दछु” भनेर सम्मान गर्नुभयो। (लूका ५:१२, १३) खाँचोमा परेकाहरूलाई मदत दिनुका साथै तिनीहरू बोझ होइनन् बरु आवश्यक अनि प्रिय व्यक्तिहरू हुन् भनेर ढाडस दिनु कत्ति असल हुनेछ! यस संसारमा अक्सर लज्जालु, निराश र अशक्त मानिसहरूको उपेक्षा, बेवास्ता वा बेइज्जत गरिन्छ। तर यस्ता व्यक्तिहरूले आफ्ना मसीही भाइबहिनीहरूमाझ साँचो संगति र स्वीकृति पाउनुपर्छ। तिनीहरूको मनोबललाई बढाउन हामीले आफ्नो तर्फबाट यथासक्दो गर्नुपर्छ।
येशूले आफ्ना अनुयायीहरूलाई “आफ्ना” जस्तैगरि प्रेम गर्नुभयो र तिनीहरूको कमजोरी तथा त्रुटिपूर्ण स्वभावको बावजूद “तिनीहरूलाई अन्त्यसम्मनै प्रेम गर्नुभयो।” (यूहन्ना १३:१) येशूले तिनीहरूको असल हृदय र आफ्ना पिताप्रति तनमनले समर्पित भएको देख्नुभयो। त्यस्तैगरि, हाम्रा सँगी उपासकहरूले हामीले भनेअनुसार कामकुरा गरेन वा तिनीहरूको बानीबेहोरा वा व्यक्तित्व मन परेन भन्दैमा कहिल्यै तिनीहरूको कुभलो चिताउनु हुँदैन। भाइहरूको मर्यादालाई आदर गऱ्यौं भने तिनीहरूलाई प्रेम गर्न र तिनीहरूजस्ता छन् त्यही स्वीकार्न हामीलाई उत्प्रेरित गर्नेछ। तिनीहरूले पनि यहोवालाई असल हृदयले नै प्रेम र सेवा गर्दै आएका छन् भनी विश्वास गर्न मदत मिल्नेछ।—१ पत्रुस ४:८-१०.
आफ्नो जिम्मामा सुम्पिएका मानिसहरूलाई नचाहिंदो बोझ नबोकाउन प्राचीनहरू विशेषगरि होसियार हुनुपर्छ। (१ पत्रुस ५:२, ३) पापको वशमा परेको मण्डलीका सदस्यलाई भेट्दा पनि प्राचीनहरूले दया देखाउँदै र तिनका भावनाहरूको ख्याल राख्दै अनावश्यक अप्ठ्यारा प्रश्नहरू नसोध्नु बेस हुनेछ। (गलाती ६:१) कडा हप्की वा अनुशासन आवश्यक हुँदासमेत तिनीहरूले गल्ती गर्नेको मर्यादा र आत्मसम्मानलाई आदर गरी नै रहनेछन्।—१ तिमोथी ५:१, २.
व्यक्तिगत मर्यादा कायम राख्ने
हामी परमेश्वरकै स्वरूप र प्रतिरूपमा सृजिएको कारण हामीले सकेसम्म आफ्नो दिनचर्यामा परमेश्वरका उत्कृष्ट गुनहरू झल्काउने प्रयास गर्नुपर्छ जसमा मर्यादा पनि समावेश छ। (उत्पत्ति १:२६) त्यसरी नै, “तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू” भन्ने आदेशमा व्यक्तिगत मर्यादा र आत्मसम्मानबीच सन्तुलन कायम गर्नु आवश्यक छ भन्ने पनि संकेत पाउँछौं। (मत्ती २२:३९) अरू मानिसले हामीलाई आदर र मर्यादा गरेको चाहन्छौं भने हामी त्यसको योग्य छौं भनेर प्रदर्शित गर्नुपर्छ।
आत्मसम्मान र व्यक्तिगत मर्यादा कायम गर्न चाहिने एउटा महत्त्वपूर्ण तत्त्व सफा अन्तस्करण हो। दूषित अन्तस्करण र ग्लानिले पिरोल्दा, अयोग्यपन, नैराश्य तथा उदासिनताका भावनाहरू सजिलै पलाउनसक्छन्। तसर्थ, कुनै व्यक्तिले गम्भीर गल्ती गरेको छ भने तिनले पश्चात्ताप गर्न तुरुन्तै पाइला चाल्नुपर्छ र “प्रभुका उपस्थितबाट आरामको समय[को]” आनन्द उठाउने हो भने प्राचीनहरूबाट आध्यामिक मदत खोज्नुपर्छ। यस आराममा एक व्यक्तिको व्यक्तिगत मर्यादा र आत्मसम्मान पुनर्स्थापित गर्नु पनि समावेश छ।—प्रेरित ३:१९.
तैपनि, अन्तस्करणलाई दूषित वा कमजोर हुन नदिन हाम्रो बाइबलप्रशिक्षित अन्तस्करण सुरक्षित राख्न हर समय प्रयास गर्नु बेस हुनेछ। खाँदा, पिउँदा, लेनदेन, मनोरञ्जन, अनि विपरीत लिंगका व्यक्तिहरूसित व्यवहार गर्दा, मतलब दैनिक जीवनको हरेक पक्षमा आत्मसंयम खेती गऱ्यौं भने सफा अन्तस्करण राख्न तथा हाम्रो जीवनमा परमेश्वरको महिमा र मर्यादा झल्काउन मदत मिल्नेछ।—१ कोरिन्थी १०:३१.
विगतका गल्तीहरूको कारण अझै ग्लानि महसुस भइरहन्छ भने नि? आफूले खप्नुपरेको दुर्व्यवहारका सम्झनाहरू अझै पीडादायी छन् भने नि? यसले हाम्रो व्यक्तिगत मर्यादालाई नराम्रो धक्का पुऱ्याउँछ र अत्यन्तै उदास हुनसक्छौं। भजन ३४:१८ मा पाइने राजा दाऊदका शब्दहरू कति सान्त्वनादायी छन्: “टुटेका हृदय भएकाहरू सबैको नजीक परमप्रभु हुनुहुन्छ, र पश्चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ”! निराशा र अयोग्यताका भावनाहरूसित संघर्ष गरिरहेका आफ्ना सेवकहरूलाई सँभाल्न यहोवा तयार र इच्छुक हुनुहुन्छ। उहाँसित प्रार्थना गर्नुका साथै मण्डलीका आध्यात्मिक तवरमा योग्य मसीही आमाबाबु, प्राचीन तथा अन्य परिपक्व भाइबहिनीहरूसँग मदत माग्दा आत्मसम्मान र व्यक्तिगत मर्यादा पुनर्स्थापित गर्न सकिन्छ।—याकूब ५:१३-१५.
अर्कोतर्फ, व्यक्तिगत मर्यादा र हठीबीच भिन्नता छुट्याउनु अत्यन्तै जरुरी छ। “आफूलाई जस्तो सम्झनु पर्दछ त्यसभन्दा बढ़ी नसम्झ, तर परमेश्वरले हरेकलाई बाँड़िदिनुभएको विश्वासको नापबमोजिम सुबुद्धिले सम्झ” भन्ने धर्मशास्त्रीय सल्लाह छ। (रोमी १२:३) आत्मसम्मान खेती गर्नु उचित हो तर हाम्रो योग्यता वा मानव मर्यादालाई बढ्तै महत्त्व दिने र जसरी भए पनि अरूको आगाडि आफ्नो प्रतिष्ठालाई जोगाउने जस्ता कार्य गर्न चाहँदैनौं।
हो, अरूको मर्यादाको आदर गर्नु मसीही आवश्यकता हो। हाम्रा परिवारका सदस्यहरू तथा सँगी मसीहीहरू सबै हाम्रो आदर, इज्जत र सम्मानका योग्य छन्। यहोवाले हामी सबैलाई केही हदसम्म मर्यादा र इज्जत दिनुभएको छ जुन हामी सबैले स्वीकार्नुका साथै कायम राख्नुपर्छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा त, हाम्रो स्वर्गमा हुनुहुने पिता यहोवा परमेश्वरको मर्यादा र गौरवप्रति गहिरो श्रद्धा खेती गर्नुपर्छ।
[पृष्ठ ३१-मा भएको चित्र]
जवानहरूले अशक्त व्यक्तिहरूप्रति आदर देखाउनसक्छन्