प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 सेप्टेम्बर pp. ८-१२
  • यहोवाको आशिष्‌ पाउन लडिरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको आशिष्‌ पाउन लडिरहनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अथक प्रयास गर्दा आशिष्‌ पाइन्छ
  • आशिष्‌ पाउन सङ्‌घर्ष गरिरहनुहोस्‌
  • यहोवाको आशिष्‌ पाउन लडन्त लडिरहनुहोस्‌
  • लगनशील प्रयत्न यसमा यहोवाले कहिले आशिष्‌ दिनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • जोडतोडले यहोवाको आशिष्‌ खोज्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • याकूब हारान जान्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • “मैले देखेको सपना सुन्‍नुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 सेप्टेम्बर pp. ८-१२
मानव शरीर धारण गरेका स्वर्गदूतसित कुस्ती खेलिरहेका याकूब

यहोवाको आशिष्‌ पाउन लडिरहनुहोस्‌

“तिमीले परमेश्‍वर र मानिसहरूसँग लडन्त गऱ्‍यौ, अनि विजयी भयौ।”—उत्प. ३२:२८.

गीत: ६०, ३८

हामी यी व्यक्‍तिहरूबाट कस्तो पाठ सिक्न सक्छौं:

  • याकूब र राहेल

  • यूसुफ

  • पावल

१, २. यहोवाका सेवकहरूले कस्ता चुनौतीहरूको सामना गर्नुपर्छ?

पहिलो वफादार पुरुष हाबिलदेखि अहिले हाम्रो समयसम्म यहोवाका वफादार सेवकहरूले विभिन्‍न तरिकामा सङ्‌घर्ष गर्नुपरेको छ। हिब्रू ख्रीष्टियनहरूले यहोवाको अनुमोदन र आशिष्‌ पाउन ‘ठूलो सङ्‌घर्ष गरेर दुःखकष्ट सहे’ भनी प्रेषित पावलले लेखे। (हिब्रू १०:३२-३४) पावलले ख्रीष्टियनहरूले सामना गर्नुपर्ने सङ्‌घर्षलाई ग्रीकहरूका विभिन्‍न प्रतियोगितासित तुलना गरे। जस्तै: दौड, कुस्ती अनि बक्सिङ। (हिब्रू १२:१, ४) अहिले हामी पनि जीवनको दौड दौडिरहेका छौं। हाम्रा विरोधीहरूले अरू कुरामा अलमल्याएर, छिर्के लगाएर, मुक्का हानेर अहिले हाम्रो खुसी र भविष्यमा पाउने इनाम छिन्‍न खोजिरहेका छन्‌।

२ हामीले लड्‌नुपर्ने सबैभन्दा ठूलो शत्रु सैतान र त्यसको दुष्ट संसार हो। (एफि. ६:१२) संसारमा “जरा गाडेर बसेका कुराहरू,” जस्तै: विभिन्‍न किसिमका सिद्धान्त, मानव दर्शन अनि अवैध यौनसम्बन्ध, सुर्ती सेवन, अत्यधिक मद्यपान वा लागू पदार्थको सेवनजस्ता हानिकारक कुराहरूबाट हामी टाढै बस्नुपर्छ। अनि आफ्नै शारीरिक कुइच्छा र निराशासित पनि निरन्तर लड्‌नुपर्छ।—२ कोरि. १०:३-६; कल. ३:५-९.

३. हाम्रा शत्रुहरूसित लड्‌न यहोवाले कसरी तालिम दिनुहुन्छ?

३ के यस्ता शक्‍तिशाली शत्रुहरूलाई हराउनु साँच्चै सम्भव छ? छ, तर हामीले त्यसको लागि सङ्‌घर्ष भने गर्नै पर्छ। प्राचीन समयका बक्सरको उदाहरण चलाउँदै पावलले यसो भने: “म . . . जथाभावी हावामा मुक्का हान्दिनँ।” (१ कोरि. ९:२६) बक्सर आफ्नो शत्रुसित भिडेजस्तै हामी पनि आफ्नो शत्रुसित भिड्‌नुपर्छ। यसो गर्न यहोवा हामीलाई तालिम दिनुहुन्छ र मदत गर्नुहुन्छ। उहाँले आफ्नो वचनद्वारा हामीलाई जीवन रक्षा गर्ने उपायहरू सिकाउनुहुन्छ। बाइबल आधारित प्रकाशनहरू, सभा, सम्मेलन अनि अधिवेशनद्वारा पनि उहाँले हामीलाई मदत गर्नुहुन्छ। के तपाईं आफूले सिकेको कुरा लागू गर्दै हुनुहुन्छ? यदि छैन भने तपाईंले भएभरको बल लगाएर शत्रुसित लडिरहेको नभई “हावामा मुक्का” हानिरहनुभएको हुनेछ।

४. खराबीसित पराजित नहुन हामी के गर्न सक्छौं?

४ शत्रुहरूले हामीलाई आशै नगरेको समयमा आक्रमण गर्न सक्छ अनि लखतरान भएको बेलामा पछार्न सक्छ। त्यसैले हामी सधैं चनाखो रहनुपर्छ। बाइबल यस्तो चेतावनी दिन्छ: “आफूलाई खराबीसित पराजित हुन नदेऊ, बरु खराबीलाई भलाइले जितिरह।” (रोमी १२:२१) “आफूलाई खराबीसित पराजित हुन नदेऊ” भन्‍ने प्रोत्साहनले हामी शत्रुलाई हराउन सक्छौं भन्‍ने देखाउँछ। तर त्यसको लागि हार नमानी लडिरहनुपर्छ। तर अर्कोतिर, यदि हामी सचेत रहेनौं वा लड्‌नदेखि हार मान्यौं भने सैतान, त्यसको दुष्ट संसार अनि आफ्नै त्रुटिपूर्ण शरीर हामीमाथि विजयी हुन सक्छ। त्यसैले हरेस नखाऔं र सैतानलाई जित्ने मौका कहिल्यै नदेऔं।—१ पत्रु. ५:९.

५. (क) परमेश्‍वरको आशिष्‌ पाउन लडन्त लडिरहन हामीलाई कुन कुराले मदत गर्छ? (ख) बाइबलमा बताइएका कुन व्यक्‍तिहरूबारे छलफल गर्नेछौं?

५ जित हासिल गर्ने हो भने लडाइँ गर्ने व्यक्‍तिले लडन्त लड्‌नुपछाडिको कारण पनि राम्ररी बुझेको हुनुपर्छ। तिनीहरूले परमेश्‍वरको अनुमोदन अनि आशिष्‌ पाउन हिब्रू ११:६ मा दिइएको आश्‍वासन सधैं मनमा राख्नुपर्छ, जहाँ लेखिएको छ: “जो परमेश्‍वरसामु जान्छ, उसले उहाँ साँच्चै हुनुहुन्छ र जोडतोडले उहाँको खोजी गरिरहनेहरूलाई इनाम दिनुहुन्छ भनेर पत्यार गर्नुपर्छ।” ‘जोडतोडले खोज्ने’ भनेर अनुवाद गरिएको ग्रीक क्रियाले भएभरको बल लगाएर अथक प्रयास गर्नुलाई बुझाउँछ। (प्रेषि. १५:१७) बाइबलमा यहोवाको आशिष्‌ पाउन अथक प्रयास गर्ने विश्‍वासी पुरुष अनि स्त्रीको असल उदाहरण प्रशस्त छन्‌। याकूब, राहेल, यूसुफ अनि पावलले भावनात्मक अनि शारीरिक रूपमा लखतरान पार्ने अवस्था भोगे, तैपनि तिनीहरूले हार मानेनन्‌। अनि अथक प्रयास गर्दा प्रचुर आशिष्‌ पाइन्छ भनेर प्रमाणित गरेर देखाए। त्यसोभए हामी यी चार जनाको उत्कृष्ट उदाहरण कसरी अनुकरण गर्न सक्छौं?

अथक प्रयास गर्दा आशिष्‌ पाइन्छ

६. हार नमानी लडिरहन याकूबलाई कुन कुराले मदत गऱ्‍यो अनि तिनले कस्तो इनाम पाए? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

६ कुलपिता याकूबले दिलोज्यान दिएर अनि हार नमानी निरन्तर लडन्त लडे किनभने तिनी यहोवालाई माया गर्थे, आध्यात्मिक कुराहरूको मोल गर्थे अनि तिनका सन्तानलाई आशिष्‌ दिनेछु भनेर यहोवाले गर्नुभएको प्रतिज्ञामा पूरापूर भरोसा गर्थे। (उत्प. २८:३, ४) यसैकारण तिनले १०० वर्ष पुग्नै लाग्दा समेत परमेश्‍वरको आशिष्‌ पाउन आफूले सके जति गरे; यहाँसम्म कि तिनले मानव शरीर धारण गरेका स्वर्गदूतसित कुस्ती समेत लडे। (उत्पत्ति ३२:२४-२८ पढ्‌नुहोस्‌) याकूबले कसरी रातभरि कुस्ती लड्‌न सके? के तिनले आफ्नै बलबर्कतले त्यति शक्‍तिशाली स्वर्गदूतसित लड्‌न सकेका हुन्‌? अहँ, होइन। तिनी हार नमानी अन्तसम्मै लडिरहने व्यक्‍ति थिए; कसैले चुनौती दिंदा तिनी पीठ फर्काएर भागेनन्‌। तिनको यस्तो अथक प्रयासले गर्दा तिनले इनाम पनि पाए। तिनले कामअनुसारको नाम पनि पाए। त्यो हो—इस्राएल (जसको अर्थ हो, “परमेश्‍वरसँग लड्‌ने [हार नमान्‍ने]” अथवा “परमेश्‍वर लडन्त गर्नुहुन्छ”)। त्यतिमात्र होइन, तिनले यहोवाको अनुमोदन अनि आशिष्‌ पनि पाए, जुन कुरा अहिले हामी पनि पाउने प्रयास गर्दै छौं।

७. (क) राहेलले कस्तो दुःखद परिस्थितिको सामना गर्नुपरेको थियो? (ख) तिनलाई निरन्तर लड्‌न र आशिष्‌ पाउन कुन कुराले मदत गऱ्‍यो?

७ याकूबकी प्यारी पत्नी राहेल आफ्नो पतिलाई यहोवाले गर्नुभएको प्रतिज्ञा कहिले पूरा होला भनेर हेर्न याकूबजत्तिकै उत्सुक थिइन्‌। तर एउटा समस्या थियो। तिनको कुनै सन्तान थिएन। त्यो जमानामा सन्तान नहुनुलाई निकै ठूलो दुःखको रूपमा लिइन्थ्यो। यस्तो निराशाजनक अनि आफ्नो हातमै नभएको परिस्थितिमा समेत राहेलले आफूलाई कसरी भावनात्मक अनि शारीरिक तवरमा सम्हालिन्‌? हो, तिनले कहिल्यै आशा मारिनन्‌। तिनले झनै व्यग्रतासाथ प्रार्थना गरेर आफ्नो लडन्त लडिरहिन्‌। यहोवाले तिनको व्यग्र बिन्ती सुन्‍नुभयो अनि तिनलाई सन्तान दिनुभयो। त्यसैले खुसी हुँदै तिनले यसो भन्‍नुको कारण हामी बुझ्न सक्छौं: “ज्यादै लडन्त गरेर मैले . . . जितें।”—उत्प. ३०:८, २०-२४.

८. यूसुफले लामो समयसम्म कस्तो दुःख भोगे? अनि तिनको राम्रो उदाहरणबाट हामी के सिक्न सक्छौं?

८ याकूब र राहेलले अडिग रहने सन्दर्भमा राम्रो उदाहरण बसालेकोले तिनीहरूका छोरा यूसुफलाई पक्कै पनि राम्रो प्रभाव पऱ्‍यो। यसले गर्दा यूसुफले विश्‍वासको परीक्षा हुँदा त्यसको डटेर सामना गर्ने मदत पाए। सत्र वर्षको छँदा तिनको जीवनमा ठूलो उतारचढाव आयो। डाहले जलेर तिनका दाइहरूले तिनलाई दासको रूपमा बेचिदिए। तिनी निर्दोष भए तापनि तिनले मिश्रमा वर्षौंसम्म जेलको अन्धकारमा जीवन बिताउनुपऱ्‍यो। (उत्प. ३७:२३-२८; ३९:७-९, २०, २१) तैपनि तिनले हरेस खाएनन्‌; न त बदलाको भाव नै राखे। बरु एकचित्तको भएर तिनले यहोवासितको अनमोल सम्बन्धमा आफ्नो ध्यान लगाए। (लेवी १९:१८; रोमी १२:१७-२१) तिनको उदाहरणबाट हामी पनि राम्रो पाठ सिक्न सक्छौं। जस्तै: हाम्रो बाल्यकाल साह्रै नमीठो थियो होला वा अहिले हामीले आशाविहीन परिस्थितिको सामना गर्नुपरिरहेको होला, तैपनि हामीले हार मान्‍नु हुँदैन, निरन्तर लडन्त लडिरहनुपर्छ। लत्तो छोडेनौं भने यहोवाले पक्कै आशिष्‌ दिनुहुनेछ भन्‍ने कुरामा हामी पक्का हुन सक्छौं।—उत्पत्ति ३९:२१-२३ पढ्‌नुहोस्‌।

९. यहोवाको आशिष्‌ पाउन हामीले याकूब, राहेल र यूसुफले जस्तै कस्तो प्रयास गर्नुपर्छ?

९ अब एकछिन आफूले सामना गरिरहेको परिस्थितिबारे सोच्नुहोस्‌, जसले गर्दा तपाईंलाई गाह्रो भइरहेको छ। सायद तपाईं अन्याय, भेदभाव वा गिल्लाको सिकार हुनुभएको होला। अथवा कसैले डाहले जलेर तपाईंलाई चाहिने-नचाहिने आरोप लगाएको होला। त्यसो हो भने, हार मानेर आफ्नो हात तल नझार्नुहोस्‌। बरु आनन्दित भई यहोवाको सेवा गरिरहन याकूब, राहेल र यूसुफलाई कुन कुराले मदत गऱ्‍यो, सोच्नुहोस्‌। आध्यात्मिक कुरालाई एकदमै मोल गरिरहेकोले यहोवाले तिनीहरूलाई बलियो पार्नुभयो र आशिष्‌ दिनुभयो। निष्कपट प्रार्थना गर्दै तिनीहरूले निरन्तर लडन्त लडिरहे अनि प्रार्थनाअनुसार काम पनि गरे। अहिले हामी यस दुष्ट युगको अन्त हुनै लागेको समयमा बाँचिरहेका छौं; त्यसैले भविष्यको आशालाई अझ बलियोसित पक्रिराख्नु झनै जरुरी भएको छ। के त्यसोभए तपाईं यहोवाको अनुमोदन पाउन कडा परिश्रम गर्दै हुनुहुन्छ, मानौं कुस्ती लड्‌दै हुनुहुन्छ?

आशिष्‌ पाउन सङ्‌घर्ष गरिरहनुहोस्‌

१०, ११. (क) परमेश्‍वरको आशिष्‌ पाउन हामीले कस्तो सङ्‌घर्ष गर्नुपर्ने हुन्छ? (ख) हामीलाई सही छनौट गर्न र गाह्रो अवस्थामा पनि सङ्‌घर्ष गरिरहन कुन कुराले मदत गर्छ?

१० परमेश्‍वरको आशिष्‌ पाउन हामीले कस्तो-कस्तो अवस्थासित जुझ्नुपर्ने हुन्छ? धेरैजसोले शारीरिक कुइच्छा विरुद्ध लड्‌न निकै सङ्‌घर्ष गर्नुपर्ने हुन्छ। कतिपयले भने प्रचारकार्यमा सकारात्मक दृष्टिकोण राखिराख्न सङ्‌घर्ष गर्नु परिरहेको छ। अथवा तपाईंको सन्दर्भमा भने कमजोर स्वास्थ्य स्थिति वा एक्लोपनले गर्दा सहन गाह्रो परिरहेको हुन सक्छ। अनि आफूलाई चित्त दुखाउने वा आफूविरुद्ध पाप गर्ने व्यक्‍तिहरूलाई क्षमा दिन गाह्रो महसुस गरिरहेकाहरू पनि थुप्रै छन्‌ भनेर हामीले बिर्सनु हुँदैन। हामीले यहोवाको सेवा गरेको जति नै लामो समय भए पनि उहाँको सेवामा बाधा पुऱ्‍याउन सक्ने कुराहरू विरुद्ध हामीले लडन्त लडिरहनुपर्छ। तर वफादार भई सेवा गरिरहनेहरूलाई उहाँ सधैं इनाम दिनुहुन्छ।

हाम्रा दाजुभाइ दिदीबहिनीहरू परमेश्‍वरको आशिष्‌ पाउन प्रार्थना, बाइबल पढाइ, प्रचार र व्यक्‍तिगत अध्ययन गर्न सक्दो प्रयास गर्छन्‌

परमेश्‍वरको आशिष्‌ पाउन के तपाईं सङ्‌घर्ष गर्दै हुनुहुन्छ? (अनुच्छेद १०, ११ हेर्नुहोस्‌)

११ साँच्चै भन्‍ने हो भने, सही निर्णय गर्न अनि ख्रीष्टियनको रूपमा जीवन बिताइरहन सङ्‌घर्ष गर्नुपर्छ। हाम्रो छली हृदयले गलत मार्गतर्फ डोऱ्‍याउँदै छ भने त हामीले झनै सङ्‌घर्ष गर्नुपर्ने हुन्छ। (यर्मि. १७:९) यदि तपाईंको मनमा पनि नकारात्मक कुराहरू खेल्न थालेको छ भने तुरुन्तै प्रार्थना गरेर यहोवाको पवित्र शक्‍ति माग्नुहोस्‌। प्रार्थना अनि पवित्र शक्‍तिले तपाईंलाई सही निर्णय गर्न र यहोवाले आशिष्‌ दिनुहुने मार्गमा हिंड्‌न मदत गर्नेछ। साथै प्रार्थनाअनुसारै काम गर्न पनि नबिर्सनुहोस्‌। हरेक दिन बाइबल पढ्‌ने, व्यक्‍तिगत अध्ययन गर्ने अनि नियमित तवरमा पारिवारिक उपासना गर्ने समय निकाल्नुहोस्‌।—भजन ११९:३२ पढ्‌नुहोस्‌।

१२, १३. गलत इच्छालाई नियन्त्रणमा राख्न एक जना किशोर र एउटी बहिनीले कस्तो बल पाए?

१२ गलत काम गर्नदेखि परमेश्‍वरको वचन, पवित्र शक्‍ति अनि हाम्रा प्रकाशनहरूले हाम्रा दाजुभाइ दिदीबहिनीलाई जोगाएका थुप्रै उदाहरणहरू छन्‌। एक जना किशोरको उदाहरण विचार गर्नुहोस्‌। तिनले सन्‌ २००३, डिसेम्बर ८ को ब्यूँझनुहोस्‌!-मा छापिएको “तपाईं कसरी खराब इच्छाहरूको प्रतिरोध गर्न सक्नुहुन्छ?” भन्‍ने लेख पढे। त्यो पढेपछि तिनलाई कस्तो लाग्यो? तिनी भन्छन्‌: “मलाई नराम्रो विचारहरू हटाउन साह्रै गाह्रो भइरहेको थियो। तर त्यो लेखमा भएको एउटा वाक्यले मेरो मन छोयो। त्यसमा लेखिएको थियो, ‘थुप्रैका लागि, खराब इच्छाहरूमाथि विजयी हुनु भनेको अत्यन्तै गाह्रो कुरा हो।’ मैले जस्तै अरू थुप्रै दाजुभाइ दिदीबहिनीले पनि सङ्‌घर्ष गर्नुपरेको रहेछ भनेर बुझ्न सकें। म एक्लो रहेनछु।” तिनले २००३, अक्टोबर ८ को “वैकल्पिक जीवन शैली—के परमेश्‍वरले स्वीकार्नुहुन्छ?” भन्‍ने लेख पढेर पनि लाभ उठाए। त्यस लेखमा कसै-कसैको लागि त्यस्तो सङ्‌घर्ष एक किसिमको “छेस्को”-जस्तै हो भनेर लेखिएको तिनले याद गरे। (२ कोरि. १२:७) परमेश्‍वरलाई मन पर्ने आचरण कायम राख्न सङ्‌घर्ष गर्नु परे तापनि तिनीहरूले भविष्यमा पाइने इनामको आशा गर्न सक्छन्‌। ती किशोर भन्छन्‌: “यही कारणले गर्दा म हरेक दिन परमेश्‍वरप्रति वफादार रहन सकेको छु। यस दुष्ट युगमा हरेक दिन वफादार रहन यहोवाले आफ्नो सङ्‌गठनद्वारा मदत गरिरहनुभएकोमा म निकै धन्यवादी छु।”

१३ अमेरिकामा बस्ने बहिनीको अनुभव पनि विचार गर्नुहोस्‌। तिनी लेख्छिन्‌: “हामीलाई चाहिएकै कुरा सही समयमा दिनुभएकोमा धन्यवाद! यी लेखहरू पढ्‌दा मेरो लागि नै लेखेको जस्तो लाग्छ। यहोवालाई मन नपर्ने इच्छा हटाउन सङ्‌घर्ष गरेको वर्षौं भइसक्यो। कहिलेकाहीं त हार मानेर लडन्त गर्न छाडिदिऊँ जस्तो लाग्छ। तर मलाई थाह छ, यहोवा दयालु अनि क्षमाशील हुनुहुन्छ। तैपनि मेरो मनमा यो गलत इच्छा छ र मैले त्यसलाई साँच्चै घृणा गरेको छैन भनेर आफूलाई थाह भएको हुँदा म उहाँको मदत पाउन सक्दिनँ भन्‍ने लाग्छ। आफ्नो मनभित्रको यस्तो सङ्‌घर्षले मेरो जीवनको हरेक पक्षलाई असर गरेको छ। . . . तर प्रहरीधरहरा, २०१३, मार्च १५ मा छापिएको ‘के तपाईंसित यहोवालाई “चिन्‍ने हृदय” छ?’ भन्‍ने लेख पढेपछि यहोवा मलाई मदत गर्न चाहनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त भएँ।”

१४. (क) आफूले गर्नुपरेको सङ्‌घर्षबारे पावलले कस्तो महसुस गरे? (ख) शारीरिक कुइच्छाहरू विरुद्ध लड्‌न हामी कसरी सफल हुन सक्छौं?

१४ रोमी ७:२१-२५ पढ्‌नुहोस्‌। शारीरिक कुइच्छा र कमजोरी विरुद्ध लड्‌न कत्ति गाह्रो हुन्छ भन्‍ने कुरा पावल आफैले पनि अनुभव गरे। तर प्रार्थनापूर्वक यहोवामा भर पर्दा अनि येशूको फिरौतीको बलिदानमा विश्‍वास गर्दा यो लडन्त जित्न सकिन्छ भनेर तिनी पूरा विश्‍वस्त थिए। हामी नि? हामी पनि हार नमानी शारीरिक कमजोरी विरुद्ध लड्यौं भने अवश्‍य सफल हुनेछौं। तर कसरी? पावलको अनुकरण गरेर, आफ्नै बलबर्कतमा नभई यहोवामा पूरा भरोसा गरेर अनि फिरौतीको बलिदानमा विश्‍वास गरेर हामी विजयी हुन सक्छौं।

१५. प्रार्थनाले हामीलाई वफादार रहन अनि गाह्रो अवस्था सहन कसरी मदत गर्छ?

१५ कहिलेकाहीं, आफूले भोगिरहेको अवस्थाबारे हामी साँच्चै कत्तिको चिन्तित छौं भनेर यहोवाले हेर्न चाहनुभएको हुन सक्छ। जस्तै: कहिलेकाहीं हामीलाई (वा परिवारको सदस्यलाई) गम्भीर रोग लाग्न सक्छ वा हामी अन्यायको शिकार हुन सक्छौं। त्यस्तो अवस्थामा वफादार रहने, आनन्द नगुमाउने अनि आध्यात्मिक सन्तुलन कायम राख्ने बल पाउन यहोवालाई व्यग्र प्रार्थना गरेर हामी उहाँमाथि पूरा भरोसा गरेको देखाउन सक्छौं। (फिलि. ४:१३) प्रार्थनाले हामीलाई नयाँ जोस-जाँगर र सहने बल दिन्छ भनेर पावल र हाम्रो समयका थुप्रै उदाहरणले देखाउँछ।

यहोवाको आशिष्‌ पाउन लडन्त लडिरहनुहोस्‌

१६, १७. लडन्त लड्‌ने विषयमा तपाईंको सङ्‌कल्प कस्तो छ?

१६ हामीले हार मानेर आफ्नो हात तल झारेको दियाबल हेर्न चाहन्छ। त्यसैले ‘असल कुरा पक्रिराख्न’ दृढ हुनुहोस्‌। (१ थिस्स. ५:२१) सैतान, त्यसको दुष्ट संसार अनि आफ्ना पापी झुकावहरू विरुद्ध हामी विजयी हुन सक्छौं भन्‍ने कुरामा विश्‍वस्त हुनुहोस्‌। त्यसको लागि यहोवाले हामीलाई बलियो पार्न सक्नुहुन्छ भन्‍ने कुरामा पूरा विश्‍वस्त हुनु जरुरी छ।—२ कोरि. ४:७-९; गला. ६:९.

१७ हर हालतमा प्रयास गरिरहनुहोस्‌। सङ्‌घर्ष गरिरहनुहोस्‌। लडन्त लडिरहनुहोस्‌। अन्तसम्मै हार नमान्‍नुहोस्‌। तब यहोवाले “अटाउने ठाउँ पनि नहुनेसम्मका आशिष्‌” वर्षाउनुहुनेछ भन्‍ने कुरामा पूरा विश्‍वस्त हुनुहोस्‌।—मला. ३:१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने