प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 सेप्टेम्बर pp. ३-७
  • “तेरा हातहरू ढिला हुन नपाऊन्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तेरा हातहरू ढिला हुन नपाऊन्‌”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “परमप्रभुको हात बचाउन नसक्ने गरी शक्‍तिहीन भएको छैन”
  • यहोवाले तपाईंको हात बलियो पार्नुहुनेछ
  • कमजोर हातहरूलाई बलियो पार्ने
  • “तेरा हातहरू ढिला हुन नपाऊन्‌”
  • आफ्नो हात बलियो बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • “तिमीहरूको कामको प्रतिफल तिमीहरूले पाउनेछौ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • शान्ति छाएको समयमा बुद्धिमानी कदम चाल्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • सारा हृदयले यहोवाको सेवा गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 सेप्टेम्बर pp. ३-७
मोशाले परमेश्‍वरको लहुरो माथि उचाल्दा हारून र हूरले तिनको हात थामिरहेका

“तेरा हातहरू ढिला हुन नपाऊन्‌”

“तेरा हातहरू ढिला हुन नपाऊन्‌।”—सप. ३:१६.

गीत: ८१, ३२

हामीले के सिक्यौं?

  • यहोवाले मोशा, आसा अनि नहेम्याहको हातलाई कसरी बलियो बनाउनुभयो?

  • यहोवा अहिले हाम्रो हातलाई कसरी बलियो बनाउनुहुन्छ?

  • हामी मण्डलीका दाजुभाइ दिदीबहिनीको हात बलियो बनाउन कस्तो मदत दिन सक्छौं?

१, २. (क) अहिले मानिसहरूले कस्ता समस्याहरू भोगिरहेका छन्‌? यसले गर्दा कस्तो महसुस हुन सक्छ? (ख) यशैया ४१:१०, १३ मा कस्तो आश्‍वासन पाइन्छ?

एल्डरसित विवाह गरेकी अनि नियमित अग्रगामी गर्दै गरेकी एउटी बहिनी भन्छिन्‌: “मेरो राम्रो आध्यात्मिक तालिका भए पनि नानाथरिको चिन्ताले सताएको पनि वर्षौं भइसक्यो। मजाले निदाउन पनि सक्दिनँ; बिस्तारै मेरो स्वास्थ्य कमजोर हुँदै गएको छ; अरूलाई व्यवहार गर्ने तरिकामा पनि परिवर्तन आउन थालेको छ। कहिलेकाहीं त साह्रै हरेस लाग्छ अनि एउटा कुनामै बसिरहौं जस्तो लाग्छ।”

२ के तपाईं यी बहिनीको भावना बुझ्न सक्नुहुन्छ? दुःखको कुरा, अहिले सैतानको दुष्ट संसारमा बाँचिरहेकोले हामीले अनेकौं दबाबहरूको सामना गर्नुपर्ने हुन्छ। त्यसले गर्दा हामीलाई चिन्ताको भारीले थिच्न सक्छ र जिन्दगीदेखि हरेस खाने हदसम्म पुऱ्‍याउन सक्छ। त्यसपछि त हाम्रो जीवन पनि लङ्‌गरले अड्‌काएको पानी जहाजजस्तै हुनेछ, जुन कहिल्यै अघि बढ्‌न सक्दैन। (हितो. १२:२५) तपाईंलाई कस्ता कुराहरूले यस्तो अवस्थासम्म पुऱ्‍याउन सक्छ? सायद आफूले एकदमै माया गरेको मान्छेको मृत्युले गर्दा तपाईंको मुटु छिया-छिया भएको होला, गम्भीर रोगले गर्दा असह्‍य पीडा भएको होला, परिवारको लालनपालन गर्न अनेकौं आर्थिक झमेला खेप्नुपरेको होला अथवा घोर विरोधको सामना गर्नु परेको होला। हो, यस्ता कुराहरूले गर्दा हामी भावनात्मक रूपमा कमजोर हुन सक्छौं, हाम्रो बल घट्‌न सक्छ र आनन्दसमेत गुम्न सक्छ। तर तपाईंलाई सहायता गर्न परमेश्‍वरले आफ्नो हात अघि बढाउनुहुनेछ भनेर ढुक्क हुनुहोस्‌।—यशैया ४१:१०, १३ पढ्‌नुहोस्‌।

३, ४. (क) कस्तो-कस्तो अर्थ बुझाउन बाइबलमा “हात” शब्द चलाइएको छ? (ख) कस्ता कुराहरूले गर्दा हाम्रो ‘हात ढिला हुन’ सक्छ?

३ मानिसको गुण वा व्यवहारलाई बुझाउन बाइबलमा अक्सर शरीरको विभिन्‍न अङ्‌गलाई उदाहरणको रूपमा चलाइएको छ। जस्तै: ‘हात’ शब्दलाई विचार गर्नुहोस्‌। कुनै-कुनै बाइबल अनुवादमा यो शब्द सयौं पटक प्रयोग गरिएको छ। हात बलियो हुनु भनेको उत्साहित हुनु, प्रोत्साहन पाउनु र बलियो हुनु हो। (१ शमू. २३:१६; एज्रा १:६) अनि यसले भविष्यप्रति सकारात्मक र आशावादी हुनुलाई पनि बुझाउँछ।

४ बाइबलमा प्रयोग गरिएको ‘हात ढिला हुनु’ भन्‍ने अभिव्यक्‍तिले निराश हुनु, हतोत्साहित हुनु वा कुनै आशा नदेख्नु भन्‍ने अर्थ पनि दिन सक्छ। (२ इति. १५:७; हिब्रू १२:१२) यस्तो अवस्थामा परेका मानिसहरूले हार मान्‍न सक्छन्‌। त्यसोभए शारीरिक रूपमा, भावनात्मक रूपमा वा आध्यात्मिक रूपमा लखतरान बनाउने वा तनाव सृजना गर्ने परिस्थिति आइपर्दा तपाईं कसरी बल पाउन सक्नुहुन्छ? हरेस नखान र आनन्द नगुमाउन तपाईं कसरी उत्साह र बल पाउन सक्नुहुन्छ?

“परमप्रभुको हात बचाउन नसक्ने गरी शक्‍तिहीन भएको छैन”

५. (क) समस्या आइपर्दा हामीलाई कस्तो लाग्न सक्छ तर हामीले कुन कुरा बिर्सनु हुँदैन? (ख) अब हामी के छलफल गर्नेछौं?

५ सपन्याह ३:१६, १७ पढ्‌नुहोस्‌। समस्याहरू आइपर्दा डराउनु वा हरेस खानु भनेको एक अर्थमा हामीले आफ्नो हात ढिला बनाउनुजस्तै हो; तर हाम्रा मायालु बुबा यहोवाले भने ‘आफ्नो सारा फिक्री उहाँमाथि बिसाउन’ भन्‍नुभएको छ। (१ पत्रु. ५:७) उहाँले इस्राएलीहरूलाई ‘आफ्नो हात वफादार सेवकहरूलाई बचाउन नसक्ने गरी शक्‍तिहीन भएको छैन’ भन्‍नुभयो। (यशै. ५९:१) त्यो कुरा आज हामीले पनि आफ्नो मनमा राख्न सक्छौं। अब हामी, एकदमै गाह्रो परिस्थिति आइपर्दा समेत यहोवा आफ्ना सेवकहरूलाई बल दिन इच्छुक हुनुहुन्छ र त्यसो गर्न सक्षम पनि हुनुहुन्छ भन्‍ने कुरालाई पुष्टि गर्ने तीनवटा बेजोड उदाहरण विचार गरौं। ती उदाहरणहरूले हामीलाई पनि बल दिनेछ।

६, ७. इस्राएलीहरू अमालेकीहरू विरुद्ध विजयी भएको विवरणबाट हामी कस्ता महत्त्वपूर्ण पाठ सिक्न सक्छौं?

६ इस्राएलीहरूलाई चमत्कारपूर्ण तरिकामा मिश्रबाट मुक्‍त गरेको केही समयपछि नै अमालेकीहरूले तिनीहरूलाई हमला गरे। मोशाको निर्देशन पछ्याउँदै साहसी यहोशूले इस्राएलीहरूलाई लडाइँमा लगे। अनि मोशाले हारून र हूरलाई युद्धभूमि देखिने नजिकैको डाँडाको टाकुरामा लगे। के यी तीन जना डराएर त्यहाँ भागेका थिए? त्यसो त पक्कै होइन।

७ वास्तवमा भन्‍ने हो भने मोशाले यतिबेला चालेको कदमले गर्दा नै तिनीहरूको जित भएको थियो। मोशाले परमेश्‍वरको लहुरो लिएर आफ्नो हात माथि आकाशतिर उचालिराखे। तिनले आफ्नो हात माथि उचाली नै राख्दा यहोवाले इस्राएलीहरूलाई बलियो पार्नुहुन्थ्यो र तिनीहरू अमालेकीहरूमाथि विजयी हुन्थे। तर मोशाले थाकेर आफ्नो हात झार्ने बित्तिकै अमालेकीहरू विजयी हुन्थे। त्यसपछि हारून र हूरले एउटा निर्णायक कदम चाले। तिनीहरूले ‘एउटा ढुङ्‌गा ल्याए’ र मोशालाई “बस्नलाई राखिदिए।” त्यसपछि दुवै जनाले मोशाको “हात थामिराखे—एउटाले एकापट्टि र अर्कोले अर्कोपट्टि—यसरी सूर्यास्त नहोउन्जेल तिनका हात स्थिर रहे।” हो, यहोवाको शक्‍तिशाली हातले गर्दा इस्राएलीहरूले युद्ध जिते।—प्रस्थ. १७:८-१३.

८. (क) कुशीहरूले यहूदालाई हमला गर्न आउँदा आसाले के गरे? (ख) हामी आसाको अनुकरण कसरी गर्न सक्छौं?

८ यहोवाले आफ्नो हात “बचाउन नसक्ने गरी शक्‍तिहीन भएको छैन” भन्‍ने कुरा राजा आसाको समयमा पनि देखाउनुभयो। हामी बाइबलमा युद्धसम्बन्धी थुप्रै विवरण पाउँछौं। तर त्यसमध्ये सबैभन्दा धेरै सैन्य फौज भएका व्यक्‍ति कुशी जेरा थिए। तिनीसित १० लाख निपुण योद्धा थिए। कुशी फौजको सङ्‌ख्या आसाको फौजको सङ्‌ख्याभन्दा झन्डै दोबर थियो। त्यतिबेला आसालाई कस्तो लाग्यो होला, सोच्नुहोस्‌ त! तिनी चिन्तामा डुब्न सक्थे, डरले लुत्रुक्क पर्न सक्थे वा हार मानेर आफ्नो हात तल झार्न सक्थे। तर तिनले त्यसो गरेनन्‌। तिनले मदतको लागि तुरुन्तै यहोवालाई गुहारे। सैन्य दृष्टिकोणले हेर्ने हो भने कुशीहरूलाई जित्नु असम्भव देखिन्थ्यो तर “परमेश्‍वरको तर्फबाट भने सबै कुरा सम्भव छ।” (मत्ती १९:२६) उहाँले असामान्य शक्‍ति देखाउनुभयो र ‘जीवनभरिनै आफूप्रति विश्‍वासी रहने’ आसालाई “कुशीहरूमाथि विजयी तुल्याउनुभयो।”—२ इति. १४:८-१३; १ राजा १५:१४.

९. (क) कस्तो अवस्थाको बाबजुद नहेम्याहले यरूशलेमको पर्खाल पुनर्निर्माण गर्ने कामलाई निरन्तरता दिए? (ख) यहोवाले नहेम्याहको प्रार्थनाको जवाफ कसरी दिनुभयो?

९ अब नहेम्याहको उदाहरण विचार गरौं। यरूशलेम जाँदातिनलाई कस्तो लाग्यो होला, एकछिन कल्पना गर्नुहोस्‌। त्यो सहर उजाड भएको थियो; त्यहाँका यहूदीहरू निराश थिए। विदेशी शत्रुहरूको धम्कीले गर्दा यहूदीहरूको हात ढिला भइरहेको थियो; तिनीहरूले यरूशलेमको पर्खाल पुनर्निर्माण गर्ने काम ठप्पै पारेका थिए। के यो देखेर नहेम्याहले पनि निराश हुँदै आफ्नो हात तल झारे? अहँ, झारेनन्‌। मोशा, आसा अनि यहोवाका अरू वफादार सेवकहरूको जस्तै तिनको पनि प्रार्थनाद्वारा यहोवामा भर पर्ने बानी थियो। यतिबेला पनि तिनले आफ्नो बानीलाई निरन्तरता दिए। यहूदीहरूले ज्यादै ठूलो अवरोधको सामना गर्नुपरेको भए तापनि यहोवाले नहेम्याहको निष्कपट प्रार्थनाको जवाफ दिनुभयो। उहाँले “आफ्नो महाबल र शक्‍तिशाली हातद्वारा” यहूदीहरूको हातलाई बलियो पार्नुभयो। (नहेम्याह १:१०; २:१७-२०; ६:९ पढ्‌नुहोस्‌) यहोवाले अहिले पनि आफ्ना सेवकहरूलाई बलियो पार्न “आफ्नो महाबल र शक्‍तिशाली हात” प्रयोग गर्नुहुन्छ भनेर के तपाईं विश्‍वास गर्नुहुन्छ?

यहोवाले तपाईंको हात बलियो पार्नुहुनेछ

१०, ११. (क) हाम्रो हात तल झार्न सैतानले कस्तो-कस्तो चाल चल्छ? (ख) यहोवाले हामीलाई कसरी बलियो पार्नुहुन्छ र शक्‍ति दिनुहुन्छ? (ग) ईश्‍वरीय शिक्षा अनि तालिमबाट तपाईंले कस्तो लाभ उठाउनुभएको छ?

१० हाम्रो ख्रीष्टियन गतिविधिलाई रोक्न दियाबलले आफ्नो हात कहिल्यै तल झार्ने छैन भन्‍ने कुरामा कुनै शङ्‌का छैन। सरकार, धर्मगुरुहरू अनि धर्मत्यागीहरूलाई चलाएर त्यसले हामीलाई झूटो कुरामा फसाउन खोज्नेछ र डर देखाउनेछ। तर त्यसले यस्तो चाल चल्नुको कारण के हो? हो, दियाबल हाम्रो हात ढिला पारेर राज्यको सुसमाचार सुनाउने कामलाई सुस्त पार्न चाहन्छ। तर यहोवा परमेश्‍वर आफ्नो पवित्र शक्‍ति दिएर हामीलाई बलियो पार्न सक्नुहुन्छ र उहाँ त्यसो गर्न इच्छुक पनि हुनुहुन्छ। (१ इति. २९:१२) त्यसैले सैतान र त्यसको दुष्ट संसारले हामीमाथि ल्याउने जस्तोसुकै चुनौतीको डटेर सामना गर्न हामी उहाँको पवित्र शक्‍तिमा भर पर्नै पर्छ। (भज. १८:३९; १ कोरि. १०:१३) खुसीको कुरा, हामीसित पवित्र शक्‍तिको प्रेरणाद्वारा लेखिएको उहाँको वचन पनि छ। सोच्नुहोस्‌ त, हरेक महिना हामी कत्ति धेरै बाइबलआधारित आध्यात्मिक भोजन पाउँछौं! यरूशलेमको मन्दिर पुनर्निर्माण हुँदै गर्दा जकरिया ८:९, १३ का शब्दहरू लेखिएका थिए। (पढ्‌नुहोस्‌) ती शब्दहरूबाट हामी अहिले पनि बल पाउन सक्छौं।

११ हाम्रा सभा, सम्मेलन, अधिवेशन र ईश्‍वरतान्त्रिक स्कुलहरूमा पाइने परमेश्‍वरको शिक्षाले पनि हामीलाई बलियो बनाउँछ। यस्तो ईश्‍वरीय शिक्षा र तालिमले हामीलाई सही मनोवृत्ति राख्न, आध्यात्मिक लक्ष्य राख्न अनि विभिन्‍न ख्रीष्टियन जिम्मेवारीहरू पूरा गर्न मदत गर्छ। (भज. ११९:३२) के तपाईं यस्तो शिक्षाबाट बल पाउन उत्सुक हुनुहुन्छ?

१२. आध्यात्मिक रूपमा बलियो रहन हामीले के गर्नुपर्छ?

१२ यहोवाले अमालेकीहरू अनि कुशीहरूलाई हराउन इस्राएलीहरूलाई मदत गर्नुभयो। उहाँले नहेम्याह र अरू यहूदीहरूलाई पुनर्निर्माणको काम पूरा गर्न बल दिनुभयो। अरूको विरोध, भावशून्यता अनि आफ्नै चिन्ताको बाबजुद प्रचारकार्यमा लागिरहन उहाँले हामीलाई पनि बल दिनुहुनेछ। (१ पत्रु. ५:१०) तर यहोवाले कुनै चमत्कार गरेर हाम्रा सबै समस्या हटाइदिने हामी आशा गर्दैनौं। बरु, आफ्नो तर्फबाट गर्नुपर्ने सबै कुरा गर्नुपर्छ। जस्तै: दिनहुँ बाइबल पढ्‌ने, हरेक हप्ता सभाको लागि तयारी गर्ने अनि उपस्थित हुने, व्यक्‍तिगत अध्ययन अनि पारिवारिक उपासनाद्वारा आफ्नो दिमाग र मनमा आध्यात्मिक कुराहरू भर्ने अनि प्रार्थनाद्वारा सधैं यहोवामा भर पर्ने। यहोवाले हामीलाई जुन-जुन तरिकामा बलियो पार्नुहुन्छ र प्रोत्साहन दिनुहुन्छ, त्यसलाई अरू कुनै पनि कुराले कहिल्यै अवरोध पुऱ्‍याउन नदेऔं। यीमध्ये कुनै पक्षमा तपाईंले आफ्नो हात तल झरेको महसुस गर्नुभएको छ भने यहोवासित मदत मागिहाल्नुहोस्‌। तब परमेश्‍वरले चाहेअनुसार “इच्छा गर्न र त्यसअनुसार काम गर्न” उहाँको पवित्र शक्‍तिले तपाईंलाई कसरी बलियो बनाउँछ, सो आफैले अनुभव गर्नुहोस्‌। (फिलि. २:१३) तर हामी अरूको हात कसरी बलियो पार्न सक्छौं त?

कमजोर हातहरूलाई बलियो पार्ने

१३, १४. (क) श्रीमती गुमाएका भाइले कसरी मदत पाए? (ख) हामी कसरी अरूलाई मदत गर्न सक्छौं?

१३ यहोवाले हामीलाई प्रोत्साहन दिन विश्‍वभरिका मायालु ख्रीष्टियन दाजुभाइ दिदीबहिनी दिनुभएको छ। प्रेषित पावलले के लेखे, याद गर्नुहोस्‌: “कमजोर हात र दुर्बल घुँडाहरू बलिया बनाओ अनि आफ्नो खुट्टाको निम्ति सीधा बाटो बनाइरहो।” (हिब्रू १२:१२, १३) प्रथम शताब्दीमा धेरै जनाले यस्तो किसिमको आध्यात्मिक बल पाएका थिए। आज पनि कुरा त्यही हो। आफ्नी श्रीमती गुमाउनुका साथै अन्य पीडादायी समस्या झेल्नुपर्दा एक जना भाइले यसो भने: “हामीले यस्तो किसिमको परीक्षा भोग्छु, यतिखेर भोग्छु अनि यति पटक भोग्छु भन्‍न नसक्ने रहेछ। समस्यै-समस्याको भुमरीमा फस्नदेखि मलाई प्रार्थना र व्यक्‍तिगत अध्ययनले मदत गरेको छ। ख्रीष्टियन दाजुभाइ दिदीबहिनीले देखाउनुभएको मायाले गर्दा मैले निकै ढाडस पाएको छु। गाह्रो अवस्था आउनुअघि नै यहोवासित बलियो सम्बन्ध गाँस्नुको महत्त्व मैले अहिले राम्ररी बुझेको छु।”

वृद्ध आमाको झोला बोक्न मदत गरिरहेका दुई जना जवान भाइ

मण्डलीमा भएका सबैले नै एकअर्कालाई प्रोत्साहन दिन सक्छन्‌ (अनुच्छेद १४ हेर्नुहोस्‌)

१४ हारून र हूरले युद्ध चलिरहँदा मोशाको हात थामेका थिए। अहिले हामीले पनि अरूलाई मदत गर्ने विभिन्‍न तरिकाहरू खोज्न सक्छौं। कस्ता व्यक्‍तिहरूलाई मदत गर्न सक्छौं? उमेर ढल्केका, स्वास्थ्य समस्या झेलिरहेका, परिवारको विरोध खेपिरहेका, एक्लोपनसित सङ्‌घर्ष गरिरहेका वा प्रियजन गुमाएकाहरूलाई साथ दिन सक्छौं। बाइबलको स्तरविपरीतको कामकुरा गर्न वा संसारमा नाम, दाम, डिग्रीको पछि लागेर “सफलता” खोज्न दबाब महसुस गरिरहेका जवानहरूलाई मदतको हात अघि बढाउन सक्छौं। (१ थिस्स. ३:१-३; ५:११, १४) राज्य भवनमा छँदा, प्रचारकार्यमा भाग लिंदा, सँगै खाना खाँदा वा टेलिफोनमा कुराकानी गर्दा एक-अर्कालाई साँचो चासो देखाउने मौका खोज्नुहोस्‌।

१५. हाम्रो सकारात्मक कुराकानीले सङ्‌गी भाइबहिनीलाई कस्तो प्रभाव पार्न सक्छ?

१५ राजा आसाले ठूलो जित हासिल गरेपछि भविष्यवक्‍ता अजर्याहले राजा आसा र तिनका मानिसहरूलाई यसरी प्रोत्साहन दिए: “अब तिमीहरू शक्‍तिशाली हुनुपर्छ, र तिमीहरूको साहस घट्‌नुहुँदैन। किनभने तिमीहरूको कामको प्रतिफल तिमीहरूले पाउनेछौ।” (२ इति. १५:७) यी शब्दहरूले गर्दा राजा आसाले साँचो उपासनाको पुनर्स्थापनाको लागि थुप्रै परिवर्तनहरू गर्ने साहस पाए। हो, यसरी नै तपाईंको सकारात्मक कुराकानीले अरूलाई गहिरो छाप पार्न सक्छ। त्यसैले अरूलाई तनमनले यहोवाको सेवा गर्न तपाईं हौसला दिन सक्नुहुन्छ। (हितो. १५:२३) तपाईंले सभामा हात उठाएर उत्थानदायी टिप्पणी दिंदा यसले अरूको हौसला बढाउन सक्छ भन्‍ने कुरालाई कहिल्यै हल्कासित नलिनुहोस्‌।

१६. नहेम्याहले जस्तै एल्डरहरूले मण्डलीका सदस्यहरूको हात कसरी बलियो पार्न सक्छन्‌? तपाईंले ख्रीष्टियन दाजुभाइ दिदीबहिनीबाट कस्तो मदत पाउनुभएको छ, बताउनुहोस्‌।

१६ यहोवाको साथ पाएर नहेम्याह अनि तिनका मानिसहरूले पुनर्निर्माणको कामलाई अघि बढाउन आफ्नो हात बलियो पार्न सके। त्यसपछि तिनीहरूले जम्मा ५२ दिनमा यरूशलेमको पर्खाल निर्माण गर्न सिध्याए! (नहे. २:१८; ६:१५, १६) नहेम्याहले कामको निरीक्षण मात्र गरेनन्‌, तिनी आफैले पनि काम गरे। (नहे. ५:१६) अहिले पनि थुप्रै मायालु एल्डरहरूले नहेम्याहले जस्तै गर्दै छन्‌। तिनीहरू विभिन्‍न निर्माणकार्यमा अनि आफ्नो राज्यभवनको सरसफाइ वा मर्मतसम्भार कार्यमा भाग लिन्छन्‌। साथै अरू प्रकाशकहरूसँग प्रचारकार्यमा भाग लिएर अनि गोठालो भेट गरेर तिनीहरूले चिन्तामा डुबेकाहरूको हातलाई बलियो पार्ने काम गर्छन्‌।—यशैया ३५:३, ४ पढ्‌नुहोस्‌।

“तेरा हातहरू ढिला हुन नपाऊन्‌”

१७, १८. समस्याहरू आइपर्दा वा चिन्ताले सताउँदा हामी कुन कुरामा ढुक्क हुन सक्छौं?

१७ ख्रीष्टियन दाजुभाइ दिदीबहिनीसित काँधमा काँध मिलाएर सेवा गर्दा हाम्रो एकता अझ बलियो हुन्छ। हामी साँचो मित्रता गाँस्न सक्छौं र परमेश्‍वरको राज्यमा प्रशस्त आशिष्‌ पाउने कुरामा अझ विश्‍वस्त हुन सक्छौं। अरूको हात बलियो पार्दा हामीले उनीहरूलाई निराशाको सामना गर्न अनि भविष्यप्रति सकारात्मक र आशावादी हुन मदत गरिरहेका हुनेछौं। त्यति मात्र होइन, यसो गर्दा हामीले आध्यात्मिक कुरामा ध्यान केन्द्रित गर्न र परमेश्‍वरले हाम्रो निम्ति साँच्नुभएका आशिष्‌हरू पाउने कुरामा ढुक्क हुन सक्नेछौं। हो, अरूलाई मदत गर्दा हाम्रो आफ्नै हात पनि बलियो हुनेछ।

१८ विगतमा यहोवाले आफ्ना वफादार सेवकहरूलाई कसरी मदत गर्नुभयो र रक्षा गर्नुभयो भन्‍ने कुरा विचार गर्दा त्यसले अहिले हाम्रो विश्‍वास बलियो बनाउँछ र उहाँमाथि अझै भरोसा गर्ने हौसला दिन्छ। त्यसैले विभिन्‍न दबाब वा समस्याको चपेटामा पर्दा ‘आफ्नो हात ढिला हुन नदिनुहोस्‌।’ बरु, प्रार्थना गरेर यहोवासित बल माग्नुहोस्‌। यसो गर्नुभयो भने उहाँको शक्‍तिशाली हातले तपाईंलाई बलियो बनाउनेछ र उहाँको राज्यले ल्याउने आशिष्‌को भागीदार हुन मदत गर्नेछ।—भज. ७३:२३, २४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने