सधैं प्रशस्त काम हुनु
१ यहोवाका जनहरू व्यस्त मानिसहरू हुन्। हाम्रो परिवार, जागिर र स्कूलसित सम्बन्धित अन्य दायित्त्वहरू पनि छन्। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, ‘प्रभुमा गर्ने कामहरू सधैं प्रशस्त’ छन्। (१ कोरि. १५:५८) मण्डलीका साप्ताहिक सभाहरूका लागि हामीले तयारी गर्नु र त्यहाँ उपस्थित हुनुपर्छ। क्षेत्र सेवकाईमा प्रत्येक हप्ता अटुट रूपले भाग लिन हामीलाई प्रोत्साहन दिइएको छ। व्यक्तिगत र पारिवारिक बाइबल अध्ययनको लागि नियमित तवरमा यथेष्ट समय छुट्याउनुपर्छ। मण्डलीमा प्राचीनहरू र सहायक सेवकहरूका थुप्रै कार्यभारहरू हुन्छन्। कहिलेकाहीं हामीले खाँचोमा परेकाहरूलाई मदत गर्नुपर्ने हुन्छ।
२ कहिलेकाहीं हामीले गर्नुपर्ने कार्यहरूले गर्दा हामी अत्तालिन सक्छौं। यद्यपि, सन्तुलन र सही दृष्टिकोण कायम गरिएको छ भने व्यस्त मानिसहरू सबैभन्दा आनन्दित मानिसहरू हुन सक्छन्।—उप. ३:१२, १३.
३ प्रशस्त काम भएकाहरूमध्ये प्रेरित पावल एक थिए। आफ्ना सबै जिम्मेवारीहरूको बावजूद पाल सिएर तिनले आफ्ना व्यक्तिगत खाँचोहरू टार्दै अरू प्रेरितहरूभन्दा बढी प्रयत्न गरे। बगालको गोठालोको हैसियतमा तिनले आफ्ना जिम्मेवारीहरूलाई बेवास्ता गरेनन्। तर घर-घर जनसमक्ष प्रचार गर्न प्रचारकको हैसियतमा तिनले अथक प्रयास गरे। (प्रेरित २०:२०, २१, ३१, ३४, ३५) आफ्नो व्यस्त तालिकाको अलावा यहोवाको सेवामा अझ बढी गर्न पावल सधैं उत्सुक थिए।—तुलना गर्नुहोस् रोमी १:१३-१५.
४ बलको लागि यहोवामा भर परेर पावलले सन्तुलन र आनन्दित हृदय कायम गरे। तिनले आफ्नो सेवकाई फलदायी र सन्तोषजनक पाए। (फिलि. ४:१३) परमेश्वरले तिनका कार्यहरूलाई बिर्सनु हुनेछैन भनी तिनलाई थाहा थियो। (हिब्रू ६:१०) यहोवालाई चिन्न अरूलाई मदत दिंदा प्राप्त हुने आनन्दले तिनलाई स्फूर्ति प्रदान गऱ्यो। (१ थिस्स. २:१९, २०) बाइबल-आधारित आशा प्राप्त गर्ने आश्वासनले तिनलाई परिश्रमी हुन प्रोत्साहित गऱ्यो।—हिब्रू ६:११.
५ हाम्रा प्रयासहरूबाट आउने राम्रा परिणामहरूमा पनि हामीले ध्यान दिनुपर्छ। साप्ताहिक सभाहरूमा हाम्रो उपस्थिति तथा सहभागिताले अरूको उत्थान गर्न र तिनीहरूलाई प्रोत्साहन दिन मदत पुऱ्याउँछ। (हिब्रू १०:२४, २५) चासो दिने मानिस भेट्दा र हामीसित नयाँ व्यक्तिहरूले सङ्गति गर्दा सबै मानिसहरूसमक्ष सुसमाचार पुऱ्याउने हाम्रो प्रयासले मण्डलीको प्रगतिमा योगदान पुऱ्याउँछ। (यूहन्ना १५:८) खाँचोमा परेकाहरूलाई मदत गर्दा मण्डलीमा घनिष्ठ, पारिवारिक आत्माको विकास हुन्छ। (याकू. १:२७) यसबाहेक, पावलझैं लाभदायी कार्यमा व्यस्त हुनु यहोवा परमेश्वरलाई मनपर्ने कुरा हो भनी हामीले पनि कहिल्यै बिर्सनु हुँदैन। उहाँको सेवा गर्न पाउनु हामी महान विशेषाधिकार ठान्छौं। हाम्रो लागि जीवन बिताउने त्योभन्दा उत्तम तरिका अरू छैन!
६ प्रशस्त काम हुनुमा थप लाभ छ। स्वस्थकर आध्यात्मिक तालिकामा हामी व्यस्त हुँदा समय निकै छिटो बितेको जस्तो देखिन्छ। बितेको प्रत्येक दिनले हामीलाई नयाँ संसारको उत्तिकै नजिक लान्छ। यो थाहा पाएर अहिले आनन्द उठाउने व्यस्त र उद्देश्यपूर्ण जीवन हामी खुशीसाथ स्वीकार्छौं। व्यस्त रहनाको बुद्धिमानीलाई पनि हामीले बुझ्छौं किनभने त्यसो गर्नाले व्यर्थ सांसारिक कामकुराहरूमा हामी कम संलग्न हुन्छौं।—एफि. ५:१५, १६.
७ साँच्चै, प्रभुमा गर्ने कामहरू प्रशस्त छन्। हाम्रो सेवकाईलाई स्फूर्तिदायी र इनामदायी बनाउनुहुने यहोवा परमेश्वर तथा येशू ख्रीष्टमा भर पर्नाले हामी खुशी रहिरहन सक्छौं।—मत्ती ११:२८-३०; १ यूह. ५:३.