प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ७/१५ pp. ७-८
  • टाइकिकस—भरपर्दो सँगी दास

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • टाइकिकस—भरपर्दो सँगी दास
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यरूशलेममा गरिएको राहत कार्य
  • रोमदेखि कलस्सेसम्म
  • टाढा मुलुकको निरीक्षण
  • तपाईँ अरूलाई “निकै सान्त्वना” दिन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • पावलका सहकर्मीहरू—तिनीहरू को थिए?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • यहोवाको मार्गमा हिंड्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • आफूलाई भरोसायोग्य साबित गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ७/१५ pp. ७-८

टाइकिकस—भरपर्दो सँगी दास

टाइकिकसले पावलसित निकै पटक यात्रा गरिसकेका थिए र तिनका समाचारवाहक पनि भइसकेका थिए। तिनी पैसा तथा जिम्मेवारी सुम्पिन सकिने भरपर्दा दूत थिए। धर्मशास्त्रले तिनलाई भरपर्दा अर्थात्‌ सबै मसीहीहरूसित हुनुपर्ने गुन भएका भनेर जोड दिएकोले सायद तपाईं तिनीबारे थप कुरा थाह पाउन चाहनुहुन्छ होला।

पावलले टाइकिकसलाई “प्रिय भाइ, विश्‍वासी सेवक र प्रभुमा संगीदास” भनेर सम्बोधन गरे। (कलस्सी ४:७) प्रेरित पावलले किन त्यसो भनेका?

यरूशलेममा गरिएको राहत कार्य

सामान्य युग ५५ तिर यहूदियाका मसीहीहरू भौतिक खाँचोमा परे। त्यहाँका भाइहरूलाई मदत गर्न युरोप र एसिया माइनरका मण्डलीहरूको सहयोगमा पावलले पैसा संकलन गर्ने प्रबन्ध मिलाए। यस राहत कार्यमा एसिया प्रान्तका टाइकिकसले भाग लिए।

चन्दाको प्रयोग कसरी गर्ने भन्‍नेबारे निर्देशन दिइसकेपछि पावलले त्यो संकलित रुपैयाँ यरूशलेमसम्म पुऱ्‍याउन भरपर्दा पुरुषहरूलाई पठाउनुपर्ने वा तिनीसँगै त्यहाँ जाने सुझाउ दिए। (१ कोरिन्थी १६:१-४) ग्रीसबाट यरूशलेमसम्मको लामो यात्रामा निस्कँदा केही पुरुषहरू तिनीसँगै लागेका थिए र तीमध्ये एक टाइकिकस पनि हुनुपर्छ। (प्रेरित २०:४) तिनीहरूसित थुप्रै मण्डलीहरूले सुम्पेका रुपैयाँपैसा भएको हुँदा यसरी एक जमात भएर हिंड्‌नु जरुरी थियो। यस्तो सुरक्षा चाहिनुको प्रमुख कारण बाटोमा डाँकाहरू ढुकेर बस्ने भएकाले पनि हुनसक्छ।—२ कोरिन्थी ११:२६.

अरिस्तार्खस र त्रोफिमस पावलसँगै यरूशलेम गएकाले टाइकिकस र अन्य पुरुषहरू पनि तिनीहरूसँगै गएका हुनुपर्छ भन्‍ने विचार कसै कसैको छ। (प्रेरित २१:२९; २४:१७; २७:१, २) यस राहत कार्यमा टाइकिकस पनि सम्मिलित भएकाले तीतससित ग्रीसमा रुपैयाँ संकलन गर्ने काममा बिथोलित “यस अनुग्रहको काममा . . . [पावलका] साथमा सफर गर्नालाई मण्डलीहरूबाट नियुक्‍त भए[का]” “भाइ” तिनी पनि हुनसक्छन्‌ भनेर आशंका गरिएको छ। (२ कोरिन्थी ८:१८, १९; १२:१८) टाइकिकसले पूरा गरेका यो पहिलो कार्य महत्त्वपूर्ण थियो भने दोस्रो पनि केही कमको थिएन।

रोमदेखि कलस्सेसम्म

पाँच/छ वर्षपछि (सा.यु. ६०-६१) रोममा पहिलो पटक थुनिएका पावल जेलमुक्‍त हुने आशा गर्दैथिए। टाइकिकस, आफ्नो घरदेखि सयौं किलोमिटर पर पावलसित थिए। टाइकिकस फेरि एसिया फर्कने तरखर गर्दैथिए। फलतः पावलले त्यस इलाकामा पर्ने मसीही मण्डलीहरूमा चिठीपत्र पठाउन सके र कलस्सेमा फिलेमोनका भगुवा दास ओनसिमसलाई पनि फिर्ता पठाउनसके। टाइकिकस र ओनसिमसले कम्तीमा पनि तीनवटा पत्रहरू आफूसित लगेका थिए र यी पत्रहरू अहिले बाइबल ग्रन्थमा समावेश छन्‌। ती हुन्‌, एफिसी, कलस्सी र फिलेमोन। कलस्सेबाट लगभग १८ किलोमिटर जति पर पर्ने लाओडेसियाको मण्डलीको निम्ति पनि तिनीहरूले पत्र लगेका हुनुपर्छ।—एफिसी ६:२१; कलस्सी ४:७-९, १६; फिलेमोन १०-१२.

टाइकिकस पत्रवाहक मात्र थिएनन्‌। तिनी भरपर्दा सन्देशवाहक पनि थिए किनकि पावलले लेखे: “मेरो विषयमा सबै कुरा प्रिय भाइ, विश्‍वासी सेवक र प्रभुमा संगीदास, टाइकिकसले तिमीहरूलाई थाह दिनेछन्‌। तिमीहरूले मेरो विषयका कुरा जान र तिमीहरूका हृदयलाई तिनले सान्त्वना दिऊन्‌ भनेर मैले यसै कुराको निम्ति . . . तिमीहरूकहाँ तिनलाई पठाएको छु।”—कलस्सी ४:७-९.

चिठी लैजाने व्यक्‍तिले “प्रेषक र प्रापकबीच लिखित सम्बन्ध गाँस्नुका साथै तिनीहरूबीच व्यक्‍तिगत सम्बन्ध पनि गाँस्छ” भनी शास्त्रज्ञ इ. रान्डोल्फ रिचार्डस उल्लेख गर्छन्‌। “भरोसायोग्य वाहक नै आवश्‍यक पर्नुको [एउटा कारण] तिनले अक्सर थप जानकारी पुऱ्‍याउनाले पनि हो। चिठीले प्रेषकको लेखाजोखाअनुसार विद्यमान अवस्थाको छोटो जानकारी देला। तसर्थ, पत्रवाहकले प्रापकलाई विस्तृत जानकारी दिएको आशा गरिन्छ।” पत्रमा शिक्षा तथा जरुरी कामकुराहरूबारे उल्लेख गरिने भए तापनि अन्य जानकारी भरपर्दा सन्देशवाहकद्वारा नै दिइन्थ्यो।

एफिसी, कलस्सी र फिलेमोनलाई लेखिएको पत्रमा पावलले कसरी जीवन धानिरहेका थिए, त्यसबारे थाह दिएको पाउँदैनौं। यसकारण, टाइकिकसले रोममा पावल के-कस्ता अवस्थामा छन्‌, त्यसबारे व्यक्‍तिगत जानकारीहरू पनि विस्तृत तवरमा बताउनु परेको थियो र मण्डलीहरूको अवस्था राम्ररी बुझेर प्रोत्साहन दिनसक्ने हुनुपर्थ्यो। आफूले छानेको प्रतिनिधिले सुम्पिएको कार्यभार विश्‍वासी भई पूरा गर्नसक्छ भनी ढुक्क हुनसकिन्छ भने मात्र त्यस्ता व्यक्‍तिहरूलाई यसप्रकारका सन्देश तथा जिम्मेवारीहरू सुम्पिइन्थ्यो। टाइकिकस चिताएजस्तै मानिस थिए।

टाढा मुलुकको निरीक्षण

रोममा गृहबन्दी बनाइएका पावलले छुटिसकेपछि क्रेट टापुमा बस्ने तीतसकहाँ टाइकिकस वा अर्तिमासलाई पठाउने विचार गरे। (तीतस १:५; ३:१२) प्रेरित पावल रोममा दोस्रो पटक थुनिएपछि (सायद सा.यु. ६५ तिर) तिमोथीले आफूसँगसँगै यात्रा गर्न सकून्‌ भनेर तिनले तिमोथीको ठाउँमा टाइकिकसलाई फेरि एफिसस पठाए।—२ तिमोथी ४:९, १२.

यसपटक टाइकिकस क्रेट र एफिसस दुवै ठाउँमा गए वा गएनन्‌, त्यो प्रस्ट पारिएको छैन। जे होस्‌, यस्तो घटनाले तिनी पावललाई उनको सेवकाईको अन्तसम्म साथ दिने घनिष्ठ मित्रहरूमध्ये एक हुनुपर्छ भन्‍ने संकेत दिन्छ। पावलले तिमोथी र तीतसको ठाउँमा टाइकिकसलाई जिम्मेवारी सुम्पने वा कठिन काममा खटाउने विचार गरिरहेका थिए भने स्पष्टतया तिनी परिपक्व मसीही निरीक्षक भइसकेका हुनुपर्छ। (१ तिमोथी १:३; तीतस १:१०-१३ तुलना गर्नुहोस्‌।) यात्रा गर्न तथा टाढा मुलुकमा गएर आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न राजी भएकाले नै पावल र सम्पूर्ण मसीही मण्डलीका लागि तिनी निकै कामलाग्दा साबित भए।

आज पनि, आत्मत्यागी मसीहीहरू राजीखुसी यहोवाका साक्षीहरूको स्थानीय मण्डलीमा परमेश्‍वरको सेवा गर्छन्‌ वा अन्त कतै परमेश्‍वरको राज्यसम्बन्धी कामकुरा अघि बढाउन तयार हुन्छन्‌। हजारौंले मिसनरी, परिभ्रमण निरीक्षक, निर्माणस्थलहरूमा अन्तरराष्ट्रिय सेवक, वाच टावर सोसाइटीको मुख्यालयमा वा शाखा कार्यालयहरूमा खटाइएको कार्यभार राजीखुसी स्वीकारेका छन्‌। टाइकिकसजस्तै तिनीहरूले पनि ख्याति पाएका छैनन्‌ तर तिनीहरू मेहनती, परमेश्‍वरका प्रिय ‘विश्‍वासी सेवक’ हुन्‌ र ‘प्रभुमा’ भरोसायोग्य ‘सँगी दास’ भएकोले तिनीहरूलाई अन्य सबै मसीहीहरू माया गर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने