युवावस्थादेखि धैर्यपूर्वक यहोवामा भर पर्दै आएको
रुडोल्फ ग्राइकेनको वृत्तान्तमा आधारित
म १२ वर्षको मात्र हुँदा अकस्मात् मेरो परिवारमा दुःखको भेल सुरु भयो। पहिला, बुबालाई जेलमा हालियो। त्यसपछि मेरी जुम्ल्याहा बहिनी र मलाई घरबाट जबरजस्ती लगेर नचिनेका मानिसहरूसित बस्न पठाइयो। पछि, मेरी आमा र मलाई गेस्तापोले पक्रे। म जेलमा पुगें र आमालाई चाहिं यातना शिविरमा लगियो।
यहोवाको साक्षी भएको कारण युवावस्थामा भोगेका पीडादायी सतावटहरूको त ती सुरुआत मात्र हुन्। कुख्यात नाजी गेस्तापो अनि पूर्वी जर्मनको स्टासी-ले परमेश्वरप्रतिको मेरो निष्ठालाई भंग गर्न खोज्यो। अहिले उहाँलाई समर्पित सेवा गरेको ५० वर्षपछि भजनरचयिताले झैं मैले पनि यसो भन्नसकेको छु: “तिनीहरूले मेरो बाल्यावस्थादेखि मलाई धेरैचोटि कष्ट दिएका छन्, तापनि तिनीहरू ममाथि विजयी भएका छैनन्।” (भजन १२९:२) म यहोवाप्रति साँच्चै कृतज्ञ छु!
जून २, १९२५ का दिन जर्मनी, लिपजिग नजीकैको सानो शहर लुकामा मेरो जन्म भएको थियो। म जन्मनुअघि नै मेरा बाबुआमा, आलफ्रेड र टेरेसाले बाइबल स्टुडेन्ट्सको साहित्यहरूमा बाइबल सत्यको झल्को पाइसकेका थिए। त्यतिबेला यहोवाका साक्षीहरूलाई बाइबल स्टुडेन्ट्स भनिन्थ्यो। मलाई अझै याद छ, हाम्रो घरका भित्ताहरूमा झुन्डाएको बाइबल दृश्यहरूलाई म दिनहुँजसो हेर्ने गर्थें। एउटा चित्रमा ब्वाँसो र थुमा, पाठो र चितुवा, बाछो र सिंह सँगै मिलेर बसिरहेका र तिनीहरूलाई सानो बच्चाले डोऱ्याइरहेको थियो। (यशैया ११:६-९) त्यस्ता तस्बिरहरूले ममा अमेट छाप पाऱ्यो।
सम्भव भएको सबै अवसरमा आमाबाबुले मलाई मण्डलीका क्रियाकलापहरूमा सम्मिलित गराउनुहुन्थ्यो। उदाहरणका लागि, हिटलर शक्तिमा आउनुभन्दा केही दिनअघि अर्थात् फेब्रुअरी १९३३ मा हाम्रो सानो शहरमा स्लाइड, चलचित्र र रेकर्ड गरिएको आवाज भएको “फोटो ड्रामा अफ क्रिएसन” देखाइयो। “फोटो ड्रामा”-को विज्ञापन गर्दै पिकअप ट्रकमा घुम्न पाउँदा म सात वर्षको केटो असाध्यै दंग परेको थिएँ! त्यतिबेला तथा अन्य अवसरहरूमा मण्डलीका सदस्यहरूले म बच्चै भए तापनि कहिल्यै बेवास्ता गरेनन्। अतः, कलिलै उमेरदेखि म यहोवाबाट सिकाइएँ र उहाँको वचनबाट प्रभावित भएँ।
यहोवामा भरोसा गर्न सिकाइएको
मसीही तटस्थताको कारण यहोवाका साक्षीहरू नाजी राजनीतिमा कुनै प्रकारले पनि भाग लिंदैनथे। परिणामस्वरूप, १९३३ मा नाजीहरूले प्रचार गर्न, सभाहरू गर्न र यहाँसम्म कि आफ्नो बाइबल साहित्यहरू पढ्नसमेत प्रतिबन्ध लगाए। सेप्टेम्बर १९३७ मा मेरो बुबालगायत हाम्रो मण्डलीका सबै भाइहरू गेस्तापोको पक्राउमा परे। म असाध्यै दुःखी भएँ। बुबालाई पाँच वर्ष जेल सजाय दिइयो।
घरमा पनि हामीलाई असाध्यै गाह्रो हुन थाल्यो। तर हामीले यहोवामाथि भरोसा राख्न सिकिहाल्यौं। एक दिन म स्कूलबाट घर फर्कंदा आमा प्रहरीधरहरा पढिरहनुभएको थियो। मेरो निम्ति साधारण भोजन तयार पार्न उहाँले दराजमाथि पत्रिका राख्नुभयो। खान सकेर भाँडाहरू ठाउँ ठाउँमा हालिराखेको बेला ढोकामा कसैले ठूलो स्वरले ढ्याङढ्याङ गरेको आवाज आयो। प्रहरी रहेछ र हाम्रो घरमा बाइबल साहित्यको लागि खानतलासी गर्न चाहन्थे। म त डरले थुरथुर भएँ।
त्यस दिन असह्य गर्मी थियो। त्यसकारण प्रहरीले घरमा पस्ने बित्तिकै हेलमेट फुकालेर टेबलमाथि राखे। अनि खानतलासी गर्न थाले। टेबलमुनि खानतलास गर्दा तिनको हेलमेट खस्नै लाग्यो। त्यसैले आमाले हेलमेट हत्त न पत्त लिएर दराजमा त्यस प्रहरीधरहरा माथि राख्नुभयो! त्यस प्रहरीले हाम्रो घर लथालिंग गरिदियो तर कुनै पत्रिका भेट्टाएन। तर उसले हेलमेटमुनि हेर्ने चाहिं विचारै गरेन। निस्किन लाग्दा पछाडि हेर्दै नहेरी हेलमेट तानेर अस्पष्ट शब्दहरूमा आमासित माफी माग्यो। मेरो बल्ल सास आयो!
यस्ता अनुभवहरूले मलाई अझै कठिन परिस्थितिहरूको सामना गर्न तयार बनायो। उदाहरणका लागि, स्कूलमा मलाई हिटलर युवा संघमा भर्ती हुन दबाब दिइयो। त्यहाँ बच्चाहरूलाई सैन्य अनुशासन र नाजी सिद्धान्तहरू सिकाइन्थ्यो। केही शिक्षकहरूको त सबै विद्यार्थीहरूलाई नै भाग लिन लाउने लक्ष्य हुन्थ्यो। मेरो शिक्षक श्री श्नाइडरलाई आफू पूर्णतया असफल भएजस्तो लाग्यो होला किनभने स्कूलमा अरू शिक्षकहरूको जस्तो नभई उहाँको चाहिं शत प्रतिशत सहभागी हुन एक जना विद्यार्थी पुगेन। र त्यो विद्यार्थी म थिएँ।
एक दिन श्री श्नाइडरले सम्पूर्ण कक्षालाई यस्तो भन्नुभयो: “केटा हो, भोलि हामी सबै एउटा भ्रमणको लागि जानेछौं।” सबै जना रमाए। अनि उहाँले यसो पनि भन्नुभयो: “तिमीहरू सबैले हिटलर युवा युनिफर्म लगाउनुपर्छ अनि जब हामी बाटोहरूहुँदो जान्छौं तब सबैले तिमीहरू शिष्ट हिटलर केटाहरू रहेछन् भनेर देख्नेछन्।” भोलिपल्ट मबाहेक अरू सबै केटाहरू युनिफर्ममा आए। शिक्षकले मलाई अगाडि बोलाएर सोध्नुभयो: “अरू सबै केटाहरूलाई हेर अनि आफूलाई हेर।” अनि अझ यसो भन्नुभयो: “तिम्रो आमाबाबु गरिब छन् र युनिफर्म किन्न सक्दैनन् भनेर मलाई थाह छ तर के भयो र, म तिमीलाई एउटा कुरा देखाउँछु।” उहाँ बस्ने ठाउँमा लग्नुभयो र दराज खोल्दै भन्नुभयो: “म तिमीलाई यो नयाँ युनिफर्म दिन चाहन्छु। कस्तो राम्रो छ, हेर त।”
त्यो नाजी लुगा लगाउनुभन्दा त बरु मर्नु नै बेस ठान्थें। त्यो युनिफर्म लाउने मेरो कुनै सुरसारै नदेख्दा उहाँ रीसले चूर हुनुभयो र सम्पूर्ण कक्षाले मलाई खिज्याउन थाले। त्यसपछि उहाँले हामीलाई भ्रमणको लागि लग्नुभयो तर युनिफर्म लगाएका केटाहरूको बीचमा राखेर मलाई लुकाउन खोज्नुभयो। तर शहरका थुप्रै मानिसहरूले मलाई देखे किनभने कक्षाका साथीहरूभन्दा म भिन्नै देखिन्थे। सबैलाई म र मेरा आमाबाबु यहोवाका साक्षी हुन् भनेर थाह थियो। बच्चा छँदा चाहिएको आध्यात्मिक बल दिनुभएकोमा म यहोवाप्रति कृतज्ञ छु।
झनै चर्को सतावट
एक दिन १९३८ को सुरुतिर मेरी जुम्ल्याहा बहिनी र मलाई स्कूलबाट प्रहरीले उठाएर ८० किलोमिटर टाढा स्टाट्रोडाको सुधार स्कूलमा पुऱ्यायो। किन? अदालतले हामीलाई हाम्रो आमाबाबुको प्रभावबाट हटाएर नाजी बच्चाहरूमा परिणत गर्ने फैसला गरेको रहेछ। त्यस सुधार स्कूलको हाकिमले मेरी बहिनी र म हाम्रो मसीही तटस्थतामा दृढ भए तापनि अरूको आदर गर्ने र आज्ञाकारी भएको देखेछन्। त्यहाँको निर्देशिका यति प्रभावित भइन् कि तिनी आमालाई भेट्न चाहन्थिन्। विशेष छुट दिइयो र हामीलाई भेट्न आमाले अनुमति पाउनुभयो। पूरा दिन सँगै बसेर एकअर्कालाई प्रोत्साहन दिने अवसर पाएकोमा मेरी बहिनी, आमा र म निकै खुशी भयौं। त्यतिखेर हामीलाई चाहिएको पनि त्यस्तै मिलन थियो।
हामी झन्डै चार महिना त्यहीं बस्यौं। त्यसपछि हामीलाई एउटा परिवारसित पानामा बस्न पठाइयो। त्यहाँ हामीलाई कुनै पनि आफन्तसित भेट्न नदिने आदेश दिइएको थियो। आमाले समेत हामीलाई भेट्न पाउन हुन्नथ्यो। तैपनि कहिलेकाहीं कुनै न कुनै उपाय निकालेर उहाँ हामीलाई भेट्नुहुन्थ्यो। ती विरलै पाइने अवसरहरूको फाइदा उठाउँदै आमाले हामीलाई जस्तोसुकै परिस्थिति तथा परीक्षामा यहोवाप्रति विश्वासी रहन सक्दो प्रोत्साहन दिनुहुन्थ्यो।—१ कोरिन्थी १०:१३.
अनि नभन्दै परीक्षा पनि आइपऱ्यो। डिसेम्बर १५, १९४२ मा म १७ वर्षको मात्र हुँदा गेस्तापोले मलाई पक्रे र गारे शहरस्थित कारागारमा हाले। झन्डै एक हप्तापछि आमालाई पनि पक्रेछन् र हामी दुइ जना त्यही झ्यालखानामा पऱ्यौं। म नाबालिग नै भएकोले अदालतले ममाथि मुद्दा हाल्न सक्दैन थियो। अतः आमा र मैले कारागारमा छ महिना बितायौं अनि अदालत चाहिं मेरो १८ औं जन्मदिनको पर्खाइमा थियो। म १८ वर्ष पुगेकै दिनमा आमा र मलाई पुर्पक्षको लागि लगियो।
के भइरहेको छ भनेर बुझ्नुअघि नै मुद्दा सकिइसकेको थियो। आमासितको त्यो भेटघाट अन्तिम हुनेछ भनेर मलाई के थाह? मसँगै त्यो अँध्यारो अदालतको बेञ्चमा बसिरहनुभएको नै आमाबारे मेरो अन्तिम सम्झना हो। हामी दुवैलाई दोषी ठहराइयो। मलाई चार वर्ष जेल सजाय दिइयो र आमालाई चाहिं डेढ वर्ष।
ती दिनहरूमा झ्यालखाना तथा शिविरहरूमा यहोवाका हजारौं साक्षीहरू हुन्थे। तथापि, मलाई स्टोलबर्गको झ्यालखानामा पठाइयो र त्यहाँ साक्षीको नाउँमा म मात्र थिएँ। एक वर्षभन्दा बढी मैले एकल कारावासमा बिताएँ तर यहोवा मेरो साथमा हुनुहुन्थ्यो। युवावस्थामा यहोवाप्रति प्रेम खेती गरेको हुँदा मेरो आध्यात्मिकता सेलाएन।
जेलमा बसेको साढे दुइ वर्षपछि मे ९, १९४५ का दिन हामीले युद्ध सिद्धिएको सुसमाचार सुन्यौं! त्यही दिन मलाई रिहा गरियो। झन्डै ११० किलोमिटर लामो बाटो हिंडेर घर पुग्दा म थकान र भोकले थला परें। पुनः स्वस्थ हुन मलाई महिनौं लाग्यो।
घर आएको केही समय नबित्दै दुःखदायी समाचारहरूको बज्रपात भयो। पहिलो आमाबारे थियो। डेढ वर्ष झ्यालखानामा बिताउनुभएपछि नाजीहरूले यहोवामाथिको विश्वास त्यागेको भनी एउटा कागजातमा सही गर्न भनेछन्। उहाँले इन्कार गर्नुभयो। त्यसैले गेस्तापोले उहाँलाई राभेन्सब्रूकस्थित आइमाईहरूको यातना शिविरमा लगे। युद्ध सकिनै लाग्दा उहाँको म्यादे ज्वरोको कारण मृत्यु भएछ। उहाँ एकदमै साहसी मसीही हुनुहुन्थ्यो, उहाँले कहिल्यै हरेस खानुभएन। कृपया यहोवाले उहाँलाई सम्झून्।
मेरो दाइ वर्नरको समाचार पनि थियो। तिनले यहोवाप्रति समर्पण गरेका थिएनन्। तिनी जर्मन सेनामा भर्ती भएका थिए र रूसमा मारिए। बुबा नि? उहाँ घर त फर्कनुभयो तर दुःखको कुरा, आफ्नो विश्वास त्यागेको त्यस कुख्यात कागजातमा सही गर्ने थोरै साक्षीहरूमध्ये उहाँ पनि एक हुनुहुन्थ्यो। मैले बुबालाई भेट्दा उहाँ उदास र मनस्थिति अलि ठीक नभएजस्तो देखिन्थ्यो।—२ पत्रुस २:२०.
छोटो समयको लागि जोसिलो आध्यात्मिक क्रियाकलाप
युद्धपछि मैले मार्च १०, १९४६ मा लिपजिगमा पहिलो चोटि सम्मेलन धाएँ। सोही दिन बप्तिस्माको पनि कार्यक्रम हुनेछ भनी सुन्न पाउँदा म कत्ति रोमाञ्चित भएँ! धेरै वर्षअघि यहोवालाई मेरो जीवन समर्पण गरिसकेको भए तापनि यसअघि बप्तिस्मा लिने मौका नै पाएको थिइनँ। त्यो दिन म कहिल्यै बिर्सन्नँ।
एक महिना अग्रगामी गरिसकेपछि मार्च १, १९४७ मा मैले माग्गेडबर्ग बेथेलमा काम गर्न निमन्त्रणा पाएँ। बम वर्षाको कारण सोसाइटीको कार्यालय निकै क्षतिग्रस्त भएको थियो। मर्मत कार्यमा भाग लिन पाउनु कस्तो सुअवसर थियो! त्यस गर्मी यामपछि मलाई भिटेनबर्गमा विशेष अग्रगामीको रूपमा खटाइयो। परमेश्वरको राज्यको सुसमाचार अरूलाई बताउन कुनै कुनै महिनामा त २०० भन्दा बढी घण्टा प्रचार गर्थें। फेरि स्वतन्त्र हुन पाएकोमा म कत्ति खुशी थिएँ! न युद्ध, न सतावट, न जेल!
तर अपसोचको कुरा, त्यस स्वतन्त्रता लामो समयसम्म टिकेन। युद्धपछि जर्मनी विभाजित भयो र म बस्ने इलाका चाहिं कम्युनिष्टहरूको अन्तर्गत पऱ्यो। सेप्टेम्बर १९५० मा पूर्वी जर्मनीको स्टासी भनिने गुप्त प्रहरीले भाइहरूलाई सिलसिलेवार ढंगमा पक्रन थाले। ममाथि लगाइएको अभियोग असाध्यै वाहियात थियो। मलाई अमेरिकी सरकारको गुप्तचर भन्ने अभियोग लगाइयो। तिनीहरूले मलाई ब्रान्डेनबर्गमा देशको सबैभन्दा गएगुज्रेको स्टासी झ्यालखानामा पठाए।
आध्यात्मिक भाइहरूबाट समर्थन
दिउँसो मलाई स्टासी-ले सुत्न दिंदैन थियो। अनि रातभरि मलाई केरकार गर्थ्यो। केही दिनसम्म यसरी सास्ती गरेपछि परिस्थिति झनै बिग्रियो। एक बिहान मेरो कोठरीमा फर्काउनुको साटो तिनीहरूले मलाई तिनीहरूको कुख्यात युबोट जेलेन-मा (खोंचभित्र तहखानामा भएकोले यसलाई पनडुब्बी कोठरी भनिन्थ्यो) लगे। पुरानो खिइएको फलामको ढोका खोलेर तिनीहरूले मलाई भित्र जान भने। एकदम अग्लो ठेलोमा टेकेर जानुपर्थ्यो। टेक्दा त भुइँ पूरै जलमग्न रहेछ। जीउ नै सिरिङ्ङ हुने आवाज निकालेर ढोका ढ्याङ बन्द गरे। झ्याल थिएन, चूक घोप्टाएको जस्तो निष्पट्ट अँध्यारो थियो।
गोडा माथिसम्म पानी आउने भएकोले बस्न, पल्टिन वा सुत्न केही पनि गर्न नमिल्ने थियो। जिन्दगी यहीं बितेजस्तो लाग्यो र अझै थप केरकार गर्न मलाई एकदमै उज्यालो बत्तीमुनि उभ्याइयो। दिनभरि निष्पट्ट अँध्यारोमा पानीमा उभिनु वा रातभरि सीधै ट्वाल्ल देखाइने उज्यालो बत्ती सहनु, कुन चाहिं बढी पीडादायी हो म भन्नै सक्दिनँ।
धेरै चोटि तिनीहरूले मलाई गोली हान्ने धम्की पनि दिए। रात रातभरि केरकार गरेको केही दिनपछि एक बिहान रूसी सेनाको उच्च अधिकारी मलाई भेट्न आए। नाजी गेस्तापोले भन्दा जर्मन स्टासी-ले मलाई एकदमै नराम्रो व्यवहार गरिरहेको छ भनेर तिनलाई बताउने मौका पाएँ। यहोवाका साक्षीहरू नाजी सरकारअन्तर्गत तटस्थ थिए र कम्युनिष्ट सरकारअन्तर्गत पनि तटस्थ छन् र संसारभरि कुनै पनि राजनीतिमा हामी भाग लिंदैनौं भनी मैले तिनलाई बताएँ। तर मैले भनें, अहिले स्टासी अफिसर भएका थुप्रै पहिला हिटलर युवा संघमा थिए र त्यहींबाट सम्भवतः तिनीहरूले निर्दोष मानिसहरूलाई क्रूरतापूर्वक सास्ती दिन सिके। कुरा गर्दै गर्दा मेरो शरीर जाडो, भोक र थकाइले थरथर कामिरहेको थियो।
छक्कको कुरा, त्यस रूसी अफिसर मसित रिसाएनन्। उल्टा मलाई सिरक ओढाइ दिए र मसित दयालु ढंगमा व्यवहार गरे। तिनलाई भेटेको लगत्तैपछि मलाई अलि राम्रो कोठरीमा सारियो। केही दिनपछि मेरो मुद्दा जर्मन अदालतमा सुम्पियो। मेरो मुद्दाको फैसला नहुञ्जेल पाँच अन्य साक्षीहरूसित कोठरीमा बस्ने सुअवसर पाएँ। त्यस्तो क्रूर सास्ती भोगेपछि आध्यात्मिक भाइहरूसित संगति गर्न पाउनु कत्ति स्फूर्तिदायी थियो!—भजन १३३:१.
त्यसपछि, अदालतमा मलाई गुप्तचरको अभियोग लगाइयो र सुधारक कारावासमा चार वर्ष सजाय सुनाइयो। त्यो सजाय त्यति कठोर थिएन किनभने केही भाइहरूलाई दश वर्षभन्दा बढी सजाय दिइयो। मलाई एकदमै कडा सुरक्षा भएको सुधारक कारावासमा पठाइयो। त्यस कारावासमा यति कडा सुरक्षा थियो कि मलाई लाग्छ त्यहाँबाट मुसासमेत भित्र बाहिर गर्न सक्दैन थियो। तैपनि यहोवाको मदतद्वारा केही बहादुर भाइहरूले सिंगो बाइबल नै लुकाएर ल्याए। त्यसलाई च्यातेर छुट्टाछुट्टै पुस्तक बनाइयो र जेलमा भएका भाइहरूलाई बाँडियो।
हामीले कसरी बाँड्ने काम गऱ्यौं? त्यसो गर्न गाह्रो थियो। एकअर्कालाई भेट्ने भनेकै हरेक दुइ हप्तामा एक चोटि नुहाउन जाँदा थियो। एक चोटि म नुहाइरहेको बेला एक भाइले तिनको रुमालमा बाइबलका पृष्ठहरू लुकाएको छ भनी कानमा खुसुक्क भने। नुहाउन सिद्धेपछि आफ्नो रुमालको सट्टा तिनको रुमाल मैले लिनुपर्थ्यो।
एउटा गार्डले त्यस भाइले मसित कानेखुशी गरिरहेको देख्यो र भाइलाई नराम्रोसित डन्डाले हान्यो। हत्त न पत्त त्यो रुमाल लिएर अरू कैदीहरूसित छ्यासमिस हुन गएँ। धन्न मलाई बाइबल पृष्ठहरूसहित पक्रेनन्। अन्यथा हाम्रो आध्यात्मिक भोजन खाने कार्यक्रम बबाल हुनेथियो। त्यस्तै अरू थुप्रै अनुभव भोग्यौं। ज्यानको खतरा मोलेर बाइबल पढाइ गर्थ्यौं। प्रेरित पत्रुसका यी शब्दहरू साँच्चै त्यतिबेला उपयुक्त थिए: “सचेत रहो, जागा रहो।”—१ पत्रुस ५:८.
के कारणले हो कुन्नि, अधिकारीहरूले हामीमध्ये कोही कोहीलाई एउटाबाट अर्को झ्यालखानाहरूमा सरुवा गरिरहने निर्णय गरे। चार वर्षमा मलाई दश विभिन्न झ्यालखानाहरूमा सरुवा गरियो। तैपनि मैले सधैं भाइहरूलाई भेट्टाउथें। ती भाइहरूप्रति मेरो गहिरो प्रेम थियो र हरेक चोटि अर्को ठाउँमा सरुवा हुँदा ती भाइहरूसित विछोड हुनुपर्थ्यो र मलाई असाध्यै न्यास्रो लाग्थ्यो।
आखिरमा मलाई लिपजिग पठाइयो र त्यहाँबाट रिहा गरियो। रिहा गर्ने गार्डले मसित बिदाइ गरेनन् बरु यसो भने, “फेरि भेटौंला।” तिनको दुष्ट मनले म फेरि कैदी भएको हेर्न चाहन्थ्यो। म अक्सर भजन १२४:२, ३ सम्झने गर्छु जहाँ यसो भनिएको छ: “परमप्रभु हाम्रातर्फ नहुनुभएता, जब मानिसहरू हाम्रा विरुद्धमा उठेथे तब तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए जब तिनीहरूको रीस हाम्रो विरुद्धमा उठेको थियो।”
यहोवाले आफ्ना वफादार सेवकहरूलाई छुटाउनुहुन्छ
म अब फेरि स्वतन्त्र भएँ। मेरी जुम्ल्याहा बहिनी रूथ र आध्यात्मिक बहिनी हर्टा श्लेनजोग मलाई ढोकामा पर्खिरहेका थिए। जेलमा बसेका ती वर्षहरूमा हर्टाले मलाई हरेक महिना खानाको सानो पोका पठाइ दिन्थिन्। मेरो विचारमा ती पोकाहरू नपाएको भए म साँच्चै जेलमै मरिसक्थें। कृपया यहोवाले तिनलाई दयापूर्वक सम्झून्।
कैदबाट मुक्त भएदेखि सेवाका थुप्रै सुअवसरहरू दिनुभएर यहोवाले मलाई आशिष् दिनुभएको छ। ग्रनाउ, जर्मनीमा फेरि विशेष अग्रगामीको रूपमा र जर्मन पर्वतमालाको छेउछाउमा परिभ्रमण निरीक्षकको रूपमा सेवा गरें। पछि मिसनरीहरूको लागि स्थापना भएको वाचटावर बाइबल स्कूल अफ गिलियडको ३१ औं कक्षामा भर्ती हुन आमन्त्रित गरियो। हाम्रो दीक्षान्त कार्यक्रम १९५८ को यान्की स्टेडियममा यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय सम्मेलनमा भयो। मैले भोगेका केही अनुभवहरू भाइबहिनीहरूको त्यस विशाल जमातलाई बताउने सुअवसर पाएँ।
स्नातक भएपछि मिसनरीको रूपमा सेवा गर्न म चिली गएँ। चिलीको सबैभन्दा दक्षिणी भागमा परिभ्रमण निरीक्षकको रूपमा मैले सेवा गरें। म साँच्चै नै पृथ्वीको एउटा कुनामा थिएँ। सन् १९६२ मा सुन्दरी मिसनरी पाट्सी बोइटनागेलसित विवाह गरें। तिनी सान आन्टोनियो, टेक्सस, सं.रा.अ.-का थिइन्। उनीसँगसँगै यहोवालाई थुप्रै वर्ष सेवा गरेर आनन्द उठाएँ।
मेरो यस ७० वर्षभन्दा लामो जीवनमा मैले थुप्रै आनन्दमय तथा विपत्तिजनक क्षणहरूको अनुभव गरेको छु। भजनरचयिताले यसो भने: “धर्मात्मालाई धेरै दुःख ता हुन्छ, तर परमप्रभुले तिनलाई ती सबैबाट छुटाउनुहुन्छ।” (भजन ३४:१९) सन् १९६३ मा चिलीमै छँदा हाम्री सानी छोरीको दुःखद निधन भयो। पछि, पाट्सी पनि धेरै बिरामी भइन् र हामी टेक्सस फर्क्यौं। त्रीचालीस वर्षको उमेरमै तिनको कष्टदायी मृत्यु भयो। मेरी प्रिय पत्नीलाई यहोवाले दयापूर्वक सम्झून् भनी म अक्सर प्रार्थना गर्ने गर्छु।
अहिले बिरामी र बूढो भए तापनि ब्राडी, टेक्ससमा नियमित अग्रगामी र प्राचीनको हैसियतमा सेवा गर्ने सुअवसर पाएको छु। हो, जीवन सधैं सजिलो भएको छैन र अझै अरू थुप्रै परीक्षाहरूको पनि सामना गर्नुपर्ला। तैपनि भजनरचयिताले झैं म पनि यसो भन्नसक्छु: “हे परमेश्वर, बाल्यकालदेखिनै तपाईंले मलाई शिक्षा दिनुभएको छ, र अहिलेसम्म पनि तपाईंको उदेकको कार्यहरू मैले घोषणा गरेको छु।”—भजन ७१:१७.
[पृष्ठ ८-मा भएको चित्र]
(१) टेक्सस, स.रा.अ.-मा अहिले प्राचीन र नियमित अग्रगामीको हैसियतमा सेवा गर्छु, (२) विवाहअघि पाट्सीसित, (३) श्री. श्नाइडर र तिनको कक्षा, (४) राभेन्सब्रूकमा मर्नुभएकी मेरी आमा, टेरेसा