तिनीहरूले साक्षी दिन बन्द गरेका छैनन्
१ यहोवाका साक्षीहरू भन्ने हाम्रो नाउँले हाम्रो र हामीले गर्ने कामको परिचय दिन्छ। हाम्रो परमेश्वर यहोवाको गुणहरूको हामी साक्षी दिन्छौं। (यशै. ४३:१०, १२) मण्डलीको सदस्य हुने हो भने प्रत्येकले यो साक्षी दिने काममा भाग लिनैपर्छ। साक्षी दिने यो काम मुख्यतः हाम्रो जन सेवकाईबाट सम्पन्न हुन्छ, जसमा घर-घर गएर मानिसहरूलाई भेट्नु, सडकमा प्रचार गर्नु, पुनःभेटहरू गर्नु र बाइबल अध्ययनहरू सञ्चालन गर्नु समावेश छन्। पूर्ण औचित्यका साथ हामी सबैलाई यस काममा पूरापूर भाग लिन आग्रह गरिएको छ।—१ कोरि. १५:५८.
२ तथापि, मण्डलीका केही सदस्यहरूले सीमित मात्रामा मात्र सेवा गर्नसक्छन्। गम्भीर बिमारी वा असक्षमताले तिनीहरूलाई विवश बनाएको हुनसक्छ। नातेदारहरूको विरोधले कठिन बाधाहरू खडा गर्न सक्छ। विश्वासमा नभएका आमा वा बाबुले आफ्ना छोराछोरीमाथि रोक लगाउन सक्छन्। यातायातको सुविधा नभएको पृथक इलाकाहरूमा बसोबास गर्ने व्यक्तिहरूले प्रचार गर्न असम्भव महसुस गर्लान्। सङ्कोची व्यक्तिहरू लज्जालू स्वभावको कारण हिचकिचाउन सक्छन्। यस्ता वा यस्तै अन्य परिस्थितिहरूबीच परेका केही प्रकाशकहरू आफूले गर्न सक्ने सेवा अरूले गरेभन्दा र आफूले चाहेको भन्दा कम भएकोले मसीहीको हैसियतमा आफूले गर्नुपर्ने काम गर्न नसकेको महसुस गर्नसक्छन्। यसरी आफ्नो प्रयत्नको उपेक्षा गर्नुपर्ने कुनै कारण छैन। (गला. ६:४) आफ्नो परिस्थितिअनुरूप यथाशक्य उत्तम सेवा चढाउँदा यहोवा प्रसन्न हुनुहुन्छ भनी तिनीहरूले सान्त्वना लिनसक्छन्।—लूका २१:१-४.
३ भाग लिने तरिका खोज्ने: कठिन परिस्थितिमा परेका व्यक्तिविशेषले बाधा-बिघ्न आउँदा साक्षी दिन बन्द गरेनन् भनेर हामी हजारौं अनुभवहरू सुन्छौं। आफै अग्रसर भएर तिनीहरूले अनौपचारिक साक्षी दिने थुप्रै तरिकाहरू निकालेका छन्। चौबिसै घण्टा घरभित्र बस्न बाध्य भएकाहरूले साक्षी दिने ठूलो ढोका खोल्न फोनको प्रयोग गरेका छन्। तिनीहरूले प्रत्येक आगन्तुकहरूलाई सम्भाव्य स्रोताको रूपमा लिए। विरोध गर्ने परिवार भएकी पत्नीले घरमा साक्षी दिन नसक्लिन् तर आफ्नो दिनचर्यामा भेट्ने छिमेकीहरू वा अरूसित बोल्ने मौका पाउने बित्तिकै त्यसको फाइदा उठाउँछिन्।
४ एक जना जवान व्यक्तिलाई विश्वासमा नभएका उसको आमा वा बाबुले हाम्रो जन साक्षी-कार्यमा भाग लिनदेखि रोक्न सक्छ। तर यसलाई पारै गर्न नसक्ने बाधाको रूपमा स्वीकार्नुको सट्टा उसले आफ्ना सहपाठीहरू र शिक्षकहरूलाई आफ्नो व्यक्तिगत “इलाका” ठानेर राम्रो साक्षी दिनसक्छ र हुनसक्छ बाइबल अध्ययन पनि सञ्चालन गर्नसक्ला। त्यस्तैगरि पृथक इलाकाहरूमा बसोबास गर्ने थुप्रैले पत्राचारद्वारा साक्षी-कार्यमा सहभागी हुन सकेका छन्। मसीही जोशले उत्प्रेरित हुनेहरूले ‘येशू ख्रीष्ट चिन्ने ज्ञानमा बेकम्मा र निष्फल’ नहुन सधैं एउटा न एउटा उपाय निकाल्नेछन्।—२ पत्रु. १:८.
५ साक्षी दिने कार्यमा भाग लिने सम्बन्धमा यहोवाले सबैका लागि एउटै स्तर तोक्नुभएको छ। त्यो हो, हामी सबैले “मनतनले” गर्नुपर्छ। (कल. ३:२३) हामीले बिताउने समय र हाम्रो उपलब्धि फरक हुने भए तापनि सबैको आधारभूत मनसाय एउटै छ। त्यो हो, “सारा हृदय” बाट उत्पन्न साँचो प्रेम। (१ इति. २८:९; १ कोरि. १६:१४) हामीले यथाशक्य उत्तम सेवा चढाइरहेका छौं भने आफूमा विश्वासको कमी भएको वा आफूले दिनसक्ने सेवा कम भएकोले आफूलाई मण्डलीको निकम्मा सदस्य ठान्नु पर्ने कारणै छैन। पावलले जस्तै हामीले पनि ‘लाभ हुने कुरा देखाइदिन र घर-घरमा खुल्लमखुल्ला सिकाउन’ पछि हटेका छैनौं भनी इमानदारीसाथ भन्नसक्छौं।—प्रेरित २०:२०.