अनवरत उन्नतिले गर्दा राज्य भवनहरूको मागमा वृद्धि
१ “सबै जाति जातिका धन-सम्पत्तिहरू आउनेछ” भनी यहोवाको भविष्यवक्ताले धेरैअघि अगमवाणी गरेका थिए। (हा. २:७) सत्य सिक्न र यहोवाको उपासक बन्न ईश्वरीय शिक्षाले लाखौं व्यक्तिहरूलाई कसरी मदत गरिरहेको छ भनेर निस्सन्देह हामीले देखिरहेका छौं। सन् १९९४ सेवा सालको दौडान भारतमा मात्रै १,३१२ ले बप्तिस्मा लिए भनी थाहा पाउनु कति रोमाञ्चकारी छ! यी सबै नयाँ व्यक्तिहरूलाई मदत गरिरहन हामीले ‘आ-आफ्ना चालको विचार गर्नुपर्छ’ ताकि यथासम्भव परमेश्वरको कामलाई समर्थन गरिरहेका छौं भनी हामी निश्चिन्त हुनसकौं। (हा. १:५ तुलना गर्नुहोस्) हो, आज पनि परमेश्वरको कामलाई समर्थन गर्ने महत्त्वपूर्ण भाग यहोवाका थुप्रै नयाँ प्रशंसकहरूको समूहका निम्ति उपासना गर्ने उपयुक्त भवनहरू प्रबन्ध गर्न मदत दिनु हो।
२ सन् १९९४ को दौडान केही नयाँ राज्य भवनहरू समर्पण गरिए र अरू थुप्रै निमार्णाधीन अवस्थामा छन्। यहोवाको काम साँच्चै नै “सबै पर्वतहरूभन्दा” उच्च भएको छ। (यशै. २:२) सोसाइटीले ५२ मण्डलीहरूलाई नयाँ राज्य भवन प्राप्त गर्न मदत गरेको छ। अझ धेरै मण्डलीहरूलाई नयाँ राज्य भवनहरू बनाउन मदत दिन सकियोस् भन्ने हेतुले मण्डलीहरूलाई दिइएको वित्तीय सहायता फिर्ता गरिन्छ। तसर्थ, राज्य भवन निर्माणका लागि वित्तीय सहायता पाउने मण्डलीहरूले प्रत्येक महिनाको प्रारम्भमा इमानदारीपूर्वक ऋण चुक्ता गरेर आफ्नो मूल्याङ्कन जाहेर गर्छन्। अर्को साह्रै प्रोत्साहनजनक उन्नति के हो भने, समर्पित गरिएका केही राज्य भवनहरूका लागि मण्डलीहरूले नै सम्पूर्ण पुँजीको व्यवस्था गरेका थिए। उल्लेखनीय कुरा, यीमध्ये केही मण्डलीहरू भौतिक तवरमा समृद्ध नभए तापनि आफ्नो समुदायमा साँचो उपासनालाई उच्च पार्न कटिबद्ध थिए।
३ प्रत्यक्षदर्शीहरू प्रभावित: राज्य भवन निर्माण योजनामा काम गर्ने भाइहरूमाथि यहोवाको पवित्र आत्मा क्रियाशील छ भन्ने प्रमाण अरूको निम्ति साक्षी भएको छ। भसलुरूस, जोहन्सबर्गमा शीघ्र निर्मित राज्य भवन देखेर एउटी संसारिक महिला साह्रै प्रभावित भइन्। देशभरि चलिरहेको संघर्षबीच यहोवाका साक्षीहरूले प्राप्त गर्न सकेको त्यस्तो सफलताप्रति तिनले स्थानीय रेडियो स्टेसन मार्फत आफ्नो प्रंशसा जाहेर गरिन्। एउटा अर्को घटना पनि छ, उत्तरी ट्रान्सभालका प्राचीनहरूको समूहले यस्तो पत्र लेखे: “यस भवन निर्माणले दर्शकहरूमाथि प्रत्यक्ष प्रभाव पारेको छ। आफूले देखेको कुरा कतै सपना त होइन भनी जाँच्न मानिसहरू बस, ट्याक्सी र गाडीहरू रोकेर हेर्थे। एक जना व्यापारीले यस्तो टिप्पणी गरे: ‘भद्र सज्जनहरू हो, मैले बाइबलमा जस्तो पढें अहिले तपाईंहरूले त्यस्तै प्रेम अनि एकता देखाउँदै हुनुहुन्छ। साँचो मसीही धर्म प्रतिबिम्बित गर्ने एउटै मात्र समूह तपाईंहरू नै हुनुहुन्छ।’ . . . गाउँको मुखियाले यसो भने: ‘जुन भावनासाथ तपाईंहरूले यो काम पूरा गर्नुभयो, म त्यसको सराहना गर्छु। . . . साँच्चै, राजनीतिज्ञहरूले पनि तपाईंहरूले जस्तै काम गरेका भए आज यति मारकाट हुनेथिएन। तसर्थ, म यो कुरा स्पष्ट गर्न चाहन्छु, पायक पर्ने जुनसुकै समयमा सभाहरू सञ्चालन गर्न तपाईंहरूको धर्मलाई छूट छ। त्यसमा कुनै प्रतिबन्ध छैन।”’
४ “‘अविश्वसनीय!’ महलुजीस्थित उल्लेखनीय निर्माण योजनामा कार्यरत विभिन्न रङ्ग अनि जातिका ३०० स्वयंसेवक कामदारहरू देखेर एक जना दर्शकले सो टिप्पणी गरे” भनी स्थानीय समाचार पत्रले रिपोर्ट गऱ्यो। अर्को क्षेत्रका मण्डली सेवा समितिले यो लेखे: “दुई दिन भित्रमा राज्य भवन निर्माण भएको देखेर स्थानीय जनताहरू यति छक्क परे, हामीले निर्माण गर्न चलाएका ईंटहरू साँच्चैको हो कि होइन भनी जाँच्न राज्य भवननेर आएर तिनीहरू त्यसलाई छुन्थे . . . आफ्नो आँखा सामु त्यस्तो घटना देखेर केही व्यक्तिहरू बाइबल अध्ययनका लागि आग्रह गर्न आए।”
५ अझ धेरै स्वयंसेवकहरू आवश्यक: नयाँ राज्य भवन निर्माण गर्न अथवा पुरानो भवनको जीर्णोद्धार गर्न निर्माण समितिहरूले मण्डलीभित्र उपलब्ध सीपको उपयोग गर्ने कोशिश गर्छन्। हातमा भएको काम सम्पन्न गर्ने तालिम दिन समितिले अन्य स्थानीय प्राचीनहरू र सहायक सेवकहरूसित काम गर्छन्। राज्य भवन निर्माणका लागि आवश्यक सीपहरू सिकेपछि आध्यात्मिक तवरमा परिपक्व यी भाइहरूले त्यस क्षेत्रमा सुरु गर्न लागिएका अन्य राज्य भवन निर्माण योजनामा सहयोग जुटाउन सक्छन्। तसर्थ, राज्य भवन निर्माण योजनामा लाग्ने मण्डलीहरूसित सम्बद्ध व्यक्तिहरूले इच्छुक अनि सहयोगी मनोभाव देखाउनुपर्छ। निर्माण समिति र त्यससित सम्बद्ध व्यक्तिहरूले नै राज्य भवनसम्बन्धी सम्पूर्ण कार्यभार सँभाल्नेछन् भनी आशा गर्नुहुँदैन। (नहे. ४:६ख) अन्य मण्डलीहरूलाई नयाँ राज्य भवन अथवा पहिलेकै भवनमा सुधार गर्नुपर्ने आवश्यकता परिरहेको छ भने तालिमप्राप्त भाइहरू तिनीहरूलाई मदत गर्न प्रेमद्वारा उत्प्रेरित हुनुपर्छ। (नहे. ५:१९; फिलि. २:३, ४) चाहिंदो सीप भएका र मण्डलीमा राम्रो नाउँ कमाएका बप्तिस्माप्राप्त प्रकाशकहरूलाई यस विस्तृत कार्यभारमा सहयोग जुटाउन स्वयंसेवा गर्न हामी प्रोत्साहित गर्छौं।
६ स्वयंसेवकहरूको सहयोग मूल्याङ्कित: राज्य निर्माण योजनामा काम नगरेसम्म त्यस्तो योजना पूरा गर्न कति ठूलो उत्तरदायित्त्व सँभाल्नुपर्छ भनेर कमैले महसुस गरेका हुन्छन्। एउटा राज्य भवन निर्माणपश्चात् प्राचीनहरूले यसो भनेर लेखे: “निर्माण समितिमा कार्यरत भाइहरूले धैर्यतासाथ दिएको निर्देशन हाम्रो निम्ति साह्रै ठूलो आशिष् थियो। . . . राज्य निर्माण नसकुञ्जेल ती भाइहरूले कैयौं पटक टाढा टाढादेखि आएर निर्माण कार्यमा संलग्न हामी सबैसित निकै समय बिताए, आफ्नो सरसमान तथा औजारहरू चलाउन दिए र भौतिक वस्तुहरू समेत चन्दा दिए। यी भाइहरूले देखाएको उदारता ‘भाइबन्धुहरूप्रति तिनीहरूको प्रेमको’ ठूलो प्रदर्शन हो र तिनीहरूको यस्तो प्रदर्शन हाम्रो निम्ति साह्रै प्रोत्साहनजनक साबित भएको छ।—१ पत्रु. २:१७.”
७ एउटा मण्डलीले लेखेको पत्रअनुसार भाइहरूले देखाएको स्वैच्छिक आत्मा र जोश प्रष्ट छ: “सबै प्रत्यक्षदर्शीहरूलाई छक्कै पार्नेगरि मेहनतसाथ काम गर्ने इच्छुक भाइ-बहिनीहरूका लागि धन्यवाद।” भजनसंग्रह १३३:१, ३ का शब्दहरू साँच्चै सत्य छन्: “समाजका दाज्यू-भाइहरू आपसमा एकतामा भएर बस्नु कत्ति असल र मनोहर कुरा हुन्छ!” नजिकैको मण्डलीलाई राज्य भवन निर्माण गर्ने मदत दिन केही राज्य भवन निर्माण कार्यकर्त्ताहरूले आ-आफ्नो कामबाट छुट्टि लिन्छन्। प्रत्युत्तरमा त्यस मण्डलीका सदस्यहरूले निर्माण योजनालाई पूरा सहयोग दिएर इमानदारीपूर्वक आफ्नो मूल्याङ्कन जाहेर गर्छन्। निर्माण समितिमा कार्यरत एक प्राचीनले आफ्ना भाइहरूसित काम गर्न पाएको मौकाप्रति मूल्याङ्कन जाहेर गर्न पत्र लेखे। तिनले यस्तो टिप्पणी गरे, “यहोवाप्रतिको आफ्नो समर्पण पूरा गर्ने मदत दिन सयौं किलोमिटर यात्रा गर्ने भाइहरूदेखि मण्डलीहरू साह्रै प्रोत्साहित भएका छन्। . . . हामी साँच्चै नै मायालु भ्रातृत्वमा बाँधिएका छौं!” एउटी बहिनीले आफ्नो अनुभूति यसप्रकार पोखिन्: “राज्य भवन निर्माण क्षेत्रमा मैले पाएको आनन्दप्रति म आफ्नो कृतज्ञता जाहेर नगरी बस्न सक्दिन। निर्माण कार्यमा मैले भाग लिएको यो तेस्रो भवन हो।”
८ निर्माण कार्य सम्पन्न भएपछि एउटा मण्डलीले क्षेत्रीय निर्माण समितिलाई (बढ्दो राज्य भवन निर्माणलाई सहयोग पुऱ्याउन ठूल-ठूला शाखा कार्यालयहरूमा क्षेत्रीय निर्माण समिति गठन गरिन्छ। तथापि भारतमा अहिलेसम्म त्यस्ता समितिहरू गठन भएका छैनन्।) लेखेको पत्रमा यस्तो लेखे: “तपाईंहरूलाई धन्यवाद ज्ञापन गर्न यो पत्र लेख्दैछौं। हाम्रो निम्ति राज्य भवन निर्माण गर्न तपाईंहरूले आफ्नो मण्डलीका सभाहरू, निद्रा, पारिवारिक आनन्द, मनोरञ्जन, क्षेत्र सेवा र त्यस्ता थुप्रै कुराहरू छुटाउनु भयो। तपाईंहरूले हाम्रो निम्ति जे-जति गर्नुभयो वास्तवमा हामी त्यसको योग्य छैनौं। तपाईंहरू जस्तो असल र समर्पित भाइहरूसित काम गर्न पाउनु हाम्रो निम्ति गर्व र सम्मानको कुरा हो। बतास, घाम, चिसोको ख्यालै नगरि हँसिलो अनुहार लिइ तपाईंहरू सँगसँगै प्रशस्त काम गर्ने तपाईंका परिवारहरूलाई पनि हामी धन्यवाद ज्ञापन गर्न चाहन्छौं। अन्तमा फेरि एक पल्ट धन्यवाद। ‘यहोवाले तपाईंहरूको हितको निम्ति यस कामको सम्झना गरून्!’—नहे. १३:३१.”
९ राज्य भवन सुरक्षा: राज्य भवनहरूमा चोरीका घटनाहरू निकै बढिरहेका छन्। प्रायजसो ध्वनियन्त्रहरू चोरी भएका छन्। निम्न सुझावहरूले केही हदसम्म यस समस्यालाई कम गर्नसक्छ: (१) सबै महङ्गा ध्वनियन्त्रहरूलाई स्टीलको दराजभित्र (बजारमा पाइन्छ) जडान गर्नुहोस् र सामान सुरक्षित हुने किसिमले राम्रो ताला प्रयोग गर्न नभुल्नुहोस्; (२) सम्भव भएमा दराजलाई नदेख्ने ठाउँमा राख्नुहोस् र त्यसलाई भुइँ वा भित्तासँग बलियोगरि जडान गर्नुहोस्; (३) सबै यन्त्रहरूमा मण्डलीको नाउँ नमेट्ने किसिमले कोर्नुहोस्, यसो गर्दा प्रहरीलाई सामान चिन्न र चोरी भएका मालहरू फिर्ता गर्न मदत मिल्छ।
१० केही मण्डलीहरूले सुरक्षाको दृष्टिकोणले राज्य भवनमाथि तल्ला थपेका छन्। त्यस्ता मण्डलीहरूलाई हामी आफ्नै नाउँमा फोन जडान गर्ने सुझाव दिन्छौं। यसो गर्दा रखवाली गर्ने व्यक्तिले आकस्मिक बेलामा मदत माग्न सक्छ। तर व्यक्तिगत फोन कलका लागि भने रखवाली गर्ने व्यक्तिले नै पैसा तिर्नुपर्छ। यसबाहेक, प्राचीनहरूको समूहले रखवाली गर्ने व्यक्तिसँग साधारण लिखित सम्झौता गर्नु आवश्यक छ। उक्त सम्झौतामा कोठाको बहाल, सेवा सुविधाहरू, जिम्मेवारीहरू र कोठा छोड्नु परेमा दिनुपर्ने सूचना उल्लेख हुनुपर्छ।
११ वित्तीय चन्दाद्वारा मदत कायम: सोसाइटीलाई उदारचित्तसाथ दिइएको चन्दाहरूले बितेका समयमा मण्डलीहरूलाई सहयोग गरेको थियो भने भविष्यमा पनि यो काम जारी रहनेछ। निःस्वार्थ दान दिने सम्बन्धमा के यहोवा आफैले नेतृत्त्व लिनु हुन्न र? (याकू. १:१७) हो, हाम्रा क्षमता र मौकाहरू भिन्नै होलान् तर आफ्नो व्यक्तिगत खर्चमा काँटछाँट गर्दा निर्माण कार्यमा पूरा सहयोग गर्न सकिंदो रहेछ भनी महसुस गर्नसक्छौं। त्यस्तो उदारताले निस्सन्देह यहोवाको हृदयलाई प्रसन्न पार्नुको साथै हाम्रा भाइहरूलाई पनि ठूलो प्रोत्साहन मिल्छ।
१२ आज राज्य समाचारप्रति आफ्नो प्रतिक्रिया जनाउने “ठूलो भीड़” बढ्दैछ। यहोवाको आत्मिक मन्दिरमा “धन-सम्पत्तिहरू” ओइरिंदैछन् र उहाँले आफ्नो ‘भवनलाई महिमाले परिपूर्ण पार्दैहुनुहुन्छ।’ (प्रका. ७:९; हा. २:७) हाग्गैको समयका विश्वासी यहूदीहरूले जस्तै हामी सबैले परमेश्वरको कार्यमा आफ्नो मन लगाऔं र थप राज्य भवनहरूको चर्को आवश्यकतालाई पूरापूर सहयोग गरौं। हालसालै निकै राम्रा राज्य भवनहरू निर्माण गरिएको भए तापनि, एकातर्फ द्रुत गतिमा नयाँ प्रशंसकहरूको वृद्धि भइरहेको छ भने अर्कोतर्फ थुप्रै मण्डलीहरू अझै पनि अवाञ्छनीय परिस्थितिहरूमा भेला हुनु परेको छ। यथासम्भव परमेश्वरको कार्यलाई लगातार सहयोग गर्नु उहाँले हामीलाई सुम्पनु भएको काममा भाग लिने उत्तम तरिका हो।
राज्य भवन कसरी प्राप्त गर्ने
निम्न प्रारम्भिक प्रक्रियाहरूलाई क्रमशः पूरा गर्नुहोस्:
क्षेत्रीय निरीक्षकलाई भेट्नुहोस्
योजनासम्बन्धी महत्त्वपूर्ण कुराहरू छलफल गर्नुहोस्।
ट्रस्ट खडा गर्नुहोस्
प्रस्तावना मार्फत ट्रस्टीहरूको समिति गठन गरेर ट्रस्ट खडा गर्नुहोस्। विधानको नमूनाका लागि सोसाइटीसित पत्राचार गर्नुहोस्। सोसाइटीलाई फारामका लागि निवेदन गर्नुहोस्। कानुनी अधिकारीहरूकहाँ ट्रस्ट दर्ता गर्नुहोस्। निर्माण कोषका लागि ट्रस्टको नाउँमा बचत खाता खोल्नुहोस्।
निर्माण समिति नियुक्त गर्नुहोस्
निर्माण समितिमा व्यापार/निर्माणसम्बन्धी अनुभव भएका तीन वा सोभन्दा बढी प्राचीनहरू भए बेस हुनेछ।
अधिकांश प्रकाशकहरूलाई सुविधा पर्ने सम्भावित निर्माण क्षेत्र(हरू) खोज्नुहोस्
फाइदा, प्रगति र अन्य दृष्टिकोणमा समान लाभ भएको क्षेत्र भए बेस हुनेछ; धार्मिक क्षेत्र; माटो, चट्टान र बढी हल्ला हुने क्षेत्र नरोज्नुहोस्।
जग्गा किनेपछि तपाईंको ट्रस्टको नाउँमा दर्ता गर्नुहोस्
उदाहरण: यहोवाका साक्षीहरूको नयाँ संसार मण्डली ट्रस्ट। सोसाइटीको नाउँमा दर्ता नगर्नुहोस्।
जग्गाको कागज पत्रको (वा जग्गाको स्वामित्वसम्बन्धी कानुनी कागज पत्र) प्रति सोसाइटीलाई पठाउनुहोस्।
उपलब्ध पुँजी निर्धारण गर्नुहोस्
निर्माणका लागि वित्तीय सहायता चाहिएमा मात्र सोसाइटीलाई पत्र लेख्नुहोस्।
निर्माण क्षेत्रमा कुनै काम थाल्नुअघि बिमा गराउनुहोस्
बिमासम्बन्धी कुराहरूका लागि सोसाइटीलाई लेख्नुहोस्।
सोसाइटीसित सम्पर्क गर्नुहोस्
तपाईंले समाधान गर्न नसक्ने समस्याहरू आइपरेमा सोसाइटीसित सम्पर्क गर्नुहोस्।