आफ्ना छोराछोरीहरूका लागि तपाईंले कस्ता लक्ष्यहरू राख्नुभएको छ?
१ लक्ष्यहरू राख्नु र त्यसलाई प्राप्त गर्नुमा सफल जीवन निर्भर गर्दछ। महत्त्वहीन अथवा अवास्तविक लक्ष्यहरू राख्ने मानिसहरू अन्तमा निराश र असफल महसुस गर्छन्। “साँचो जीवनलाई पक्रिराख्न” कुन लक्ष्यहरूलाई लिनु भनी बुझ्न बुद्धि चाहिन्छ। (१ तिमो. ६:१९) हामी हिंड्नपर्ने खास बाटो उहाँको वचन र संगठनद्वारा हामीलाई देखाई दिनुभएकोमा यहोवाप्रति हामी कति कृतज्ञ छौं!—यशै. ३०:२१.
२ यस्तो मायालु मार्गदर्शन दिने सम्बन्धमा यहोवाले आमाबाबुहरूको लागि असल उदाहरण कायम गर्नुहुन्छ। ज्ञानी आमाबाबुहरूले आफ्ना अनुभवहीन छोराछोरीहरूलाई सर्वोत्तम बाटो आफै छान्न दिनुको साटो तिनीहरू हिंड्नुपर्ने बाटोमा चल्ने प्रशिक्षण दिन्छन्। यसो गर्दा, वृद्धावस्थामा पनि तिनीहरूले “त्यो त्याग्दैन[न्]।” (हितो. २२:६) मसीही आमाबाबुहरूले आफ्नो न्यायमा भरोसा नगरी यहोवामा भरोसा राख्नुपर्छ भनी अनुभव गरेका छन्। (हितो. ३:५, ६) सीमित ज्ञान र सीमित अनुभव भएका छोराछोरीहरूका लागि त यो झन् आवश्यक छ।
३ आमाबाबुहरूले छोराछोरीहरूलाई लाभदायी लक्ष्यहरू राखिदिन सक्छन्। त्यसले तिनीहरूलाई “महत्त्वपूर्ण कुराहरूप्रति” ध्यान केन्द्रित गर्न मदत दिन्छ। (फिलि. १:१०) आमाबाबुहरूले छोराछोरीहरूलाई पारिवारिक अध्ययनको महत्त्वलाई मूल्यांकन गर्न र यसबाट सिक्न प्रोत्साहित गर्दै यसको सुरुआत गर्नसक्छन्। मण्डलीका सभाहरूका लागि अग्रिम अध्ययन गर्ने बानी बसाल्नु र आफ्नै शब्दमा टिप्पणी दिन तयारी गर्नु छोराछोरीहरूका लागि राम्रो हो। साथै नियमित तवरले प्रचार कार्यमा भाग लिनु पनि महत्त्वपूर्ण छ। स-साना केटाकेटीहरूले पर्चा प्रस्तुत गरेर, शास्त्रपदहरू पढेर अथवा पत्रिकाहरू प्रस्तुत गरेर योगदान पुऱ्याउनसक्छन्। तिनीहरू पढ्नसक्ने भएपछि ईश्वरतान्त्रिक पाठशालामा भर्ना गराएर तिनीहरूको आध्यात्मिक प्रगति गराउन सकिन्छ। अनि त्यसपछिको मुख्य कदम हो, बप्तिस्मा अप्राप्त प्रकाशक हुनु अथवा बप्तिस्मा लिन योग्य बन्नु।
४ छोराछोरीहरू किशोरावस्थामा पुगेपछि अथवा त्यसअघि नै तिनीहरूको पेशागत लक्ष्यहरूबारे व्यवहारिक भएर आमाबाबुहरूले तिनीहरूसित कुरा गर्नुपर्छ। स्कूलका परामर्शदाताहरू र कक्षाका साथीहरूले भौतिकवादी पेशाहरूको सांसारिक पक्षमा लाग्न तिनीहरूलाई सजिलै प्रभाव पार्नसक्छन्। व्यवहारिक प्रशिक्षण प्रदान गर्ने स्कूलको पाठ्यक्रम छान्न आमाबाबुहरूले छोराछोरीहरूलाई सहयोग गर्नुपर्छ। त्यसले तिनीहरूलाई राज्य अभिरुचिहरूमा धक्का नपुऱ्याइकन भौतिक खाँचोहरू पूरा गर्न सक्षम बनाउँछ। (१ तिमो. ६:६-१०) तिनीहरूलाई अविवाहिताको “उपहार” ग्रहण गर्न प्रोत्साहन दिन सकिन्छ। त्यसो गर्दा, पछि तिनीहरूले विवाह गर्ने निर्णय गरेमा विवाहको भारी जिम्मेवारीहरू लिन तिनीहरू सक्षम हुनेछन्। (मत्ती १९:१०, ११ न्युव; १ कोरि. ७:३६-३८) तिनीहरूसित अग्रगामी सेवा, अधिक आवश्यकता भएको क्षेत्रमा सेवा गर्नु, बेथेल सेवा अथवा मिसनरी क्रियाकलापबारे सकारात्मक ढंगमा कुरा गर्नुपर्छ। यसो गर्नाले कलिलै उमेरमा यहोवालाई प्रसन्न पार्ने, अरूलाई लाभान्वित गर्ने र आफैमाथि पनि आशिष्हरू ल्याउने तरिकाले जीवन बिताउने इच्छा छोराछोरीहरूको हृदयमा गाडिन सक्छ।
५ आज संगठनमा उच्च मसीही मूल्य तथा मान्यताहरूलाई पक्रने र ईश्वरतान्त्रिक लक्ष्यहरूलाई पछ्याउने धेरै जवान मानिसहरू संयोगले बनेका होइनन्। तिनीहरूमध्ये धेरैजसोको सफलताको श्रेय मायालु आमाबाबुहरूलाई दिन सकिन्छ। यदि तपाईंहरू आमाबाबु हुनुहुन्छ भने, तपाईंका छोराछोरीहरू कतातिर लाग्दैछन्? के तिनीहरू उन्नतशील ढंगमा राज्यसम्बन्धी कामकुराहरूमा केन्द्रित जीवनतर्फ अघि बढ्दैछन्? स्मरण रहोस्, सच्चाइलाई छोराछोरीहरूको हृदयमा रोप्नु अनि यसबारे प्रत्येक दिन बताउनु तपाईंले गर्नसक्नुहुने महत्त्वपूर्ण कुरा हो। यसो गर्नाले तपाईं र तपाईंको परिवार यहोवाको सेवामा विश्वासी हुन सक्नुहुनेछ।।—व्यव. ६:६, ७; यहो. २४:१५.