सकारात्मक मनोवृत्ति राखेर सुसमाचार प्रस्तुत गर्ने
१ हामी सबै आफूले गरेको काम र विशेषगरि चेला बनाउने कार्यबाट आनन्द अनि उपलब्धि महसुस गर्न चाहन्छौं। हामीलाई त्यस्तो सन्तुष्टि कुन कुराले दिन्छ? अरूलाई मदत गर्ने सार्थक काममा भाग लिंदा सर्वप्रथम त हामीले सकारात्मक मनोवृत्ति राख्नुपर्छ। (हितो. ११:२५) हामीले सुसमाचार प्रस्तुत गरेको ढंगबाट आफूले बताइरहेको कुरामा हामी साँच्चै विश्वस्त छौं भनेर झल्किनुपर्छ। हामीले भित्री हृदयबाट बोल्यौं भने हाम्रो निष्कपटता तथा व्यक्तिगत दृढ विश्वास चम्कनेछ। (लूका ६:४५) हाम्रो प्रस्तुतिलाई पूर्वाभ्यास गऱ्यौं भने आफ्नो इलाकाका मानिसहरूसित कुरा गर्न अझ निर्धक्क महसुस गर्नेछौं। सेप्टेम्बर महिनामा यो विशेषगरि महत्त्वपूर्ण हुनेछ किनभने हामी यो महिना तपाईंको पारिवारिक जीवन सुखी बनाउने (अंग्रेजी) वा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक प्रस्तुत गर्नेछौं। सकारात्मक मनोवृत्ति राखेर सुसमाचार प्रस्तुत गर्न निम्न सुझाउहरू मदतकारी हुनसक्छन्।
२ “परिवार” पुस्तक प्रस्तुत गर्नुहुँदा प्रारम्भिक भेटमा यसो भन्न सक्नुहुन्छ:
▪“छिमेकीहरूसित कुरा गर्दा हामीले के थाह पायौं भने, धेरै मानिसहरू आफ्नो परिवारको भविष्यबारे चिन्तित छन्। तिनीहरू आफू वरपरका मानिसहरूले देखाउने अप्रिय गुनहरूबाट आफ्नो परिवारलाई असर परेको र हानिसमेत पुऱ्याएको महसुस गर्छन्। धेरै मानिसहरूले यस्तै गुनहरू प्रकट गरेको के तपाईंले देख्नुभएको छ? [२ तिमोथी ३:२, ३ पढेर जवाफ दिने मौका दिनुहोस्।] धेरै मानिसहरू त्यस्तै हुनेछन् भनी संकेत गर्दै आफू वरपरका समस्याहरूको बावजूद बलियो तथा सुखी परिवार कसरी बनाउन सकिन्छ, त्यसबारे बाइबलले हामीलाई व्यवहारिक सल्लाह दिन्छ।” परिवार पुस्तकको पृष्ठ १८२ को अनुच्छेद ५ र ६ बाट केही वाक्यहरू छानेर पढ्नुहोस् अनि उचित निर्देशनहरू पालन गऱ्यौं भने अनन्त भविष्यसहितको परिवार बनाउनसक्छौं भनी देखाउनुहोस्। चन्दास्वरूप रु. २०.०० मा पुस्तक प्रस्तुत गर्नुहोस्।
३ परिवारको भविष्यबारे छलफल गर्नुभएका व्यक्तिहरूकहाँ पुनःभेट गर्नुहुँदा तपाईं यसो भन्न रुचाउनुहुन्छ होला:
▪“अघिल्लो भेटमा हामीले वरपरका समस्याहरू सहनसक्ने बलियो परिवार कसरी बनाउनसक्छौं भनी छलफल गरेका थियौं। बलियो परिवार बनाउने एउटा तरिका खुलस्त कुराकानी कायम गर्नु हो। कुराकानीलाई परिवारको जीवनरक्त पनि भनिएको छ। यस सन्दर्भमा बाइबलको सल्लाहलाई ध्यान दिनुहोस् त।” बाइबल वा परिवार पुस्तकको पृष्ठ ३४ बाट हितोपदेश १८:१३ र २०:५ पढ्नुहोस्। बाइबलमा पाइने अमूल्य बुद्धिको व्यवहारिक उपयोगबारे यो पुस्तकले बताउँछ भनी उल्लेख गर्नुहोस्। हरेक पृष्ठको पुछारमा दिइएका प्रश्नहरूमा ध्यानाकर्षण गर्नुहोस् र अध्ययनको लागि त्यो पुस्तक कसरी प्रयोग गर्न सकिन्छ, देखाउनुहोस्। अर्को भेटको लागि निश्चित समय मिलाउनुहोस्।
४ “सधैंभरि बाँच्न सक्नु हुन्छ” पुस्तक प्रस्तुत गर्नुहुँदा तपाईं यस्तो प्रस्तुति चलाउने कोसिस गर्न सक्नुहुन्छ:
▪“छिमेकमा मानिसहरूसित कुरा गर्दा मैले के देखें भने, धेरैजसोले सुरक्षित टोलछिमेक र शान्तिपूर्ण संसारको असाध्यै तिर्सना गर्छन्। तपाईंको विचारमा मानिसहरूले त्यस्ता परिस्थितिहरू किन ल्याउन नसकेका होलान्? [जवाफ दिने मौका दिनुहोस्।] कोही नेताहरू निष्कपट होलान् र यदाकदा असल गर्लान् तर बाइबलले बुद्धिमानीपूर्वक कस्तो सल्लाह दिन्छ, हेर्नुहोस् त।” भजन १४६:३, ४ पढ्नुहोस्, त्यसपछि सोध्नुहोस्: “के मानिसहरूका आवश्यकताहरू पूरा गर्न सक्ने कोही छ?” पद ५ र ६ पढ्नुहोस्। सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको पृष्ठ १५६ देखि १६२ सम्मका चित्रहरू देखाउनुहोस् र परमेश्वरको शासनका लाभहरूमा ध्यानकेन्द्रित गर्नुहोस्। पुस्तक प्रस्तुत गर्नुहोस्।
५ प्रारम्भिक भेटमा परमेश्वरको शासनबारे छलफल गर्नुभएको थियो भने पुनःभेटमा यो सुझाउ चलाउन सक्नुहुन्छ:
▪“म यहाँ केही दिनअघि आउँदा पृथ्वीमा साँचो शान्ति ल्याउन मानिस असफल भएको विषयमा हामीले छलफल गरेका थियौं। बाइबलले त्यस्तो असफलताको कारण बताएको विषयमा हामीले छलफल गरेको तपाईंले बिर्सनुभएको छैन होला। [फेरि भजन १४६:३ पढ्नुहोस्।] मानवहरूमाथि हाम्रा आशाहरू केन्द्रित नगर्नू भनी परमेश्वरले सल्लाह दिनुको कारणमा के तपाईंले ध्यान दिनुभयो? [जवाफ दिने मौका दिनुहोस्।] स्थायी समाधानको आशा परमेश्वरबाटै आउनुपर्छ भनेर तपाईं सहमत हुनुहुन्छ होला। हामीले यस्तो भरोसा राख्न सक्नुको कारण भजन १४६:१० मा वर्णन गरिएको छ। [पढ्नुहोस्।] परमेश्वरको राज्यको प्रजा हुन चाहन्छौं भने हामीले के गर्नैपर्छ?” सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको पृष्ठ २५० पल्टाएर अनुच्छेद २ पढ्नुहोस् अनि हिब्रू ११:६ का विशेषताहरू बताउनुहोस्। लाखौंले बाइबल अध्ययनद्वारा अनन्त जीवनतर्फ डोऱ्याउने ज्ञान कसरी प्राप्त गरेका छन्, त्यो प्रदर्शन गर्ने प्रस्ताव राख्नुहोस्। फेरि भेट्ने प्रबन्ध मिलाउनुहोस्।
६ पसल पसलमा प्रचार गर्नुहुँदा तपाईंले “परिवार” पुस्तकबाट यो छोटो प्रस्तुति गर्न सक्नुहुन्छ:
▪“आज हामी यस समुदायका व्यापारीहरूलाई विशेष सेवा दिइरहेका छौं। हामी सबै हाम्रो इलाकामा भइरहेको पारपाचुके दर तथा बाल अपराध अकासिएकोले चिन्तित छौं। के तपाईंलाई यसको सफलतापूर्वक प्रतिरोध गर्न सकिन्छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] त्यसका समाधानहरू छन्।” परिवार पुस्तकको विषयसूची पल्टाउनुहोस् र केही अध्यायहरूको शीर्षक पढ्नुहोस्। यस पुस्तकमा दिइएको सल्लाह मानव दर्शनहरूमा होइन तर एउटा उच्च स्रोत, मानिसजातिको सृष्टिकर्ताबाट प्रबन्ध गरिएको समाधानमा आधारित छ भनी बुझाउनुहोस्। पुस्तक प्रस्तुत गर्नुहोस्।
७ “परिवार” पुस्तक दिनुभएको व्यापारीकहाँ पुनःभेट गर्दै हुनुहुन्छ भने तपाईं यसो भन्न सक्नुहुन्छ:
▪“यसअघि भेट्दा मैले तपाईंलाई परिवारमा शिरत्वप्रति अधीनता, कुराकानी, प्रशिक्षण तथा अनुशासनजस्ता विषयहरूमा परमेश्वरको सल्लाह पालन गरेर पारिवारिक समस्याहरू समाधान गर्न सकिन्छ भनी बताएको थिएँ।” पृष्ठ ५ को प्रथम अनुच्छेद पल्टाउनुहोस् र सुखी परिवारका केही लाभहरू पढेर सुनाउनुहोस्। यस पुस्तक अध्ययन गरेर धेरैभन्दा धेरै परिवारहरू सुखी हुनसकेका छन् भनी बताउनुहोस् र यो अध्ययन गर्ने हाम्रो तरिका बुझाउनुहोस्। व्यापार थलो वा घरमा नियमित तवरले भेट्ने प्रस्ताव राख्नुहोस् र यस पुस्तकबाट निश्शुल्क अध्ययन सञ्चालन गर्नुहोस्।
८ हामी “परमेश्वरका सहकर्मी” भएकाले सुसमाचार प्रस्तुत गर्दा सकारात्मक मनोवृत्ति राख्ने हर कारण हामीसित छ। (१ कोरि. ३:९) घरधनीको आवश्यकताअनुसार बेग्लाबेग्लै प्रस्तुति तथा प्रकाशनहरू चलाउन हामी सकारात्मक होऔं। हामीले यस्तो मनोवृत्ति राख्यौं भने यहोवाबाट प्रशस्त आशिष् पाउनेछौं।