अवकाश ईश्वरतान्त्रिक क्रियाकलापको निम्ति एक सुअवसर?
अवकाश भनेको थुप्रै मानिसहरूका लागि लामो अवधिदेखि भोगिरहेको तनाउ र धपेडीको अन्त हो। थकाइलाग्दो वा बहुलट्ठे तालिकामा बाँधिएका थुप्रैले अवकाशलाई आराम र व्यक्तिगत स्वतन्त्रता पाउने अवसरको रूपमा हेर्छन्। तर अक्सर त्यस्तो अवसर पट्याइलाग्दा र उदासीन हुन्छन्। तथापि, कामबाट प्राप्त हुने सन्तुष्टि मनोरञ्जन तथा शौकहरूबाट प्राप्त हुन सक्दैन।
यहोवाका साक्षीहरूको लागि अवकाशले “एउटा ठूलो र अभिप्राय पूरा गर्ने ढोका खुला” गर्नसक्छ। (१ कोरिन्थी १६:९) बुढेसकालका समस्या तथा शारीरिक सीमितताहरू भए तापनि केही वृद्ध जनहरूले यहोवाको मदतद्वारा उहाँलाई अझ बढी सेवा गर्न सकेका छन्। नेदरल्याण्डस्का केही वृद्ध मसीहीहरूका अनुभवहरू विचार गर्नुहोस्। सन् १९९५ सेवा वर्षमा १,२२३ अग्रगामीहरूमध्ये (परमेश्वरको राज्यका पूर्ण-समय उद्घोषकहरू) २६९ भन्दा बढी ५० वर्षका वा त्योभन्दा वृद्धहरू थिए। यिनीहरूमध्ये ८१ जना ६५ वर्ष वा त्योभन्दा वृद्ध थिए।
केहीले चाहिं जागिरे हुँदाकै व्यस्त तालिकालाई कायम राखेर अग्रगामी गर्न सफल भएका छन्। (फिलिप्पी ३:१६ तुलना गर्नुहोस्।) कारेल नाउँ गरेका एक अवकाशप्राप्त मसीही यसरी स्मरण गर्छन्: “म जागिरे हुँदा बिहान ७:३० देखि काम सुरु गर्थें। र अवकाश भत्ता पाउन थालेपछि पनि मैले त्यही तालिका कायम राख्ने निर्णय गरें। प्रत्येक बिहान सात बजे रेल स्टेशनअगाडि सडक साक्षी कार्यमा पत्रिका वितरण गरेर आफ्नो दिन सुरु गर्छु।”
होशियारीपूर्वक योजना बनाउनु पनि सफलताको कुञ्जी हो। (हितोपदेश २१:५) उदाहरणका लागि, केहीले आफ्नो सेवकाईमा टेवा पुऱ्याउन पर्याप्त पैसा जम्मा गर्न सकेका छन्। अरूले भने व्यक्तिगत खर्चमा कटौती गरेर अर्ध-समय जागिर खाने निर्णय गरेका छन्। तावोदर र आनलाई विचार गर्नुहोस्। तिनीहरूले आफ्नो वैवाहिक जीवन अग्रगामी गरेर सुरु गरे र पारिवारिक दायित्व वहन गर्न नपरेसम्म अग्रगामी गरी नै रहे। तर तिनीहरूको अग्रगामी जोश जीवितै रह्यो! तिनीहरूका छोरीहरू हुर्कंदै जाँदा पनि उनीहरूलाई अग्रगामी गर्न निरन्तर प्रोत्साहित गरियो। सबैभन्दा महत्त्वपूर्ण कुरा त, तावोदर र आनले अक्सर सहायक अग्रगामीको रूपमा सेवा गरेर असल नमुना बसाले। छोरीहरू हुर्किसकेपछि तावोदर र आनले क्षेत्र सेवकाईमा बढी समय दिन आफ्नो जागिरमा कम समय बिताउन थाले।
तिनीहरूका छोरीहरू पूर्ण-समय सेवक भएर घर छाडेर गएपछि आनले अग्रगामी सुरु गरिन्। एक दिन तिनले तावोदरलाई जागिर छोड्न प्रोत्साहन दिइन्। तिनले सुझाउ दिइन्, “हामी दुवैले अग्रगामी गर्नसक्छौं।” तावोदरले आफ्नो अभिरुचिबारे जागिरदातालाई अवगत गराए। तिनका मालिकले भने: “मलाई लाग्छ, तपाईं [स्वर्गमा हुनुहुने] मालिकको पूर्ण-समय सेवा गर्न चाहनुहुन्छ” भन्दै अर्ध-समय जागिर दिएर मदत गर्ने प्रस्ताव राख्दा तावोदर छक्क परे। तावोदर र आन अहिले सँगसँगै अग्रगामी गर्न पाउँदा आनन्दित छन्।
केहीले आफ्नो जीवनमा आइपरेका परिस्थितिहरूको कारण अग्रगामी गर्न थाले। आफ्नी छोरी र नातिनीको दुःखद मृत्युपछि एक वृद्ध जोडी आफ्नो बाँकी जीवन कुन तरिकाले बिताइरहेका छन् भन्ने कुरामा गम्भीरतापूर्वक सोच्न बाध्य भए। (उपदेशक ७:२) शोकले विह्वल हुनुको साटो तिनीहरूले पूर्ण-समय सेवा गर्न थाले। र तिनीहरूले विगत आठ वर्षदेखि अहिलेसम्म अग्रगामी सेवाको आनन्द उठाइरहेका छन्!
पूर्ण-समय सेवकाईमा लागिरहन साँच्चै कटिबद्ध हुनुपर्ने कुरा चाहिं स्वीकार्नैपर्छ। उदाहरणका लागि, अर्नस्ट र तिनकी पत्नी रेकले आफ्ना छोराछोरीहरूले घर छाड्ने बित्तिकै अग्रगामी गर्न थाले। त्यसको केही समय नबित्दै अर्नस्टका भूतपूर्व व्यापारी सहकर्मीले तिनलाई असाध्यै लाभप्रद जागिरको प्रस्ताव राखे। अर्नस्टले यस्तो जवाफ दिए: “हामीसित सर्वोत्कृष्ट जागिरदाता हुनुहुन्छ अनि हामी उहाँको सेवा गर्न छाड्न इच्छुक छैनौं!” यहोवाको “कर्मचारी” भएर सेवा गरिरहेकाले अर्नस्ट र तिनकी पत्नीले अन्य सुअवसरहरू पाए। तिनीहरूले परिभ्रमण कार्यमा २० वर्षभन्दा बढी समय बिताए र अहिलेसम्म अग्रगामीको हैसियतमा सेवारत छन्। के तिनीहरू आत्मत्यागी जीवनशैली पछ्याएकोमा पछुताउँछन्? केही समयअघि यस दम्पतीले यसप्रकार लेखे: “यहोवाको इच्छा भएमा तीन महिनापछि हाम्रो विवाहको ५०औं वर्ष अर्थात् स्वर्ण वार्षिकोत्सव मनाउने आशा हामीले गरेका छौं। तर पूर्णतया निर्धक्क भएर हामी भन्नसक्छौं, हाम्रो वास्तविक सुनौला वर्षहरू त अग्रगामी गर्न थालेदेखि सुरु भयो।”
थुप्रैले क्रियाकलापमा वृद्धि गर्दा अझ धेरै आनन्द महसुस गरेका छन्! पैंसट्ठी वर्ष पुगेको दुइ हप्तापछि अग्रगामी गर्न थालेका भाइ यसो भन्छन्: “अग्रगामी थालेको विगत दश वर्षदेखि मैले जुन मात्रामा प्रशस्त आशिष् पाएँ, त्यो अहिलेसम्म अनुभव गरेकी थिइनँ।” अग्रगामी गरेको सात वर्षभन्दा बढी भएको एक विवाहित दम्पती यसो भन्छन्: “हाम्रो जस्तो उमेर र परिस्थिति भएका दम्पतीहरूले यो काम नगरेर अरू के नै गर्नसक्छन् र? हाम्रो इलाकामा हामीजस्ता थुप्रै मानिसहरू घरमा आरामसाथ बसेर मोटाएका, बूढो हुँदै गएका र जीउ कक्रिंदै गएका देख्छौं। सेवकाईले हामीलाई मानसिक र शारीरिक तवरमा स्वस्थ राख्छ। हामी सधैं सँगै हुन्छौं। हामी असाध्यै हाँस्छौं र जीवनको आनन्द उठाउँछौं।”
निस्सन्देह, सबै वृद्ध जनहरूसित अग्रगामी गर्नसक्ने परिस्थिति हुँदैन। यी मसीहीहरूले यहोवाको सेवामा जे जति गर्नसकेका छन्, उहाँले त्यसैको मूल्यांकन गर्नुहुन्छ भनेर विश्वस्त हुनसक्छन्। (मर्कूस १२:४१-४४ तुलना गर्नुहोस्।) उदाहरणका लागि, एक शारीरिक तवरमा असक्षम बहिनी नर्सिङ होममा छिन्। तैपनि, क्रियाकलापको ढोका तिनको लागि अझै खुला छ! एक चिकित्सकले तिनलाई आफ्नो समय कसरी बिताउँछिन् भनेर सोधे। तिनी यसरी बताउँछिन्: “मैले तिनलाई मलाई जहिले पनि समय पुग्दै पुग्दैन भनें। तिनले यो कुरा बुझ्नै सकेनन्। मेरा दिनहरू सन्तोषप्रद क्रियाकलापहरूले भरिएको हुँदा त्यसो भएको हो भनेर बताएँ। म एक्ली छैन तर म एक्लो भएका मानिसहरू खोज्छु र तिनीहरूलाई परमेश्वरले मानिसजातिको निम्ति के उद्देश्य राख्नुभएको छ, बताउने कोसिस गर्छु।” निष्कर्षमा तिनी यसो भन्छिन्: “झन्डै ८० वर्ष पुग्न लागेको व्यक्तिबाट धेरै त आशा गर्न सकिंदैन। मैले यहोवातर्फ अझ धेरैलाई डोऱ्याउन सकूँ भनेर मेरोलागि प्रार्थना गर्नुहोस्।”
के तपाईंको पनि अवकाश पाउने उमेर भएको छ? आरामसाथ बस्नु धेरै लोभलाग्दो होला तर यो आध्यात्मिक आशिष्को ढोका भने होइन। आफ्नो परिस्थितिबारे प्रार्थनापूर्वक सोच्नुहोस्। हुनसक्छ, यहोवाको सेवामा अझ धेरै क्रियाकलापहरू भएको ढोकाबाट तपाईं जान सक्नुहुन्छ।
[पृष्ठ २५-मा भएको चित्र]
अवकाशले सेवकाईका क्रियाकलापहरूमा वृद्धि गर्ने अवसर खोल्नसक्छ