स्मरणार्थ—अति महत्त्वपूर्ण घडी!
१ आइतबार, मार्च २३ का दिन घाम डुबेपछि हामी ख्रीष्टको मृत्युको स्मरणार्थ मनाउनेछौं। (लूका २२:१९) साँच्चै, यो अति नै महत्त्वपूर्ण घडी हो! मृत्युसम्मै निष्ठावान् हुनुभएर येशू यहोवाको सार्वभौम अधिकारमा अडिग हुनुभयो। कठिन शासना सहनुपर्दा पनि मानिसले यहोवाप्रति मृत्युसम्मै पूर्ण ईश्वरीय भक्ति कायम राख्नसक्छ भनेर उहाँले प्रमाणित गरिदिनुभयो। (हिब्रू ५:८) यसबाहेक, ख्रीष्टको मृत्युले मानिसजातिको छुडौतीको लागि आवश्यक सिद्ध मानव बलिदानको प्रबन्ध गऱ्यो। यस बलिदानमा विश्वास राख्नेहरू सधैंभरि बाँच्न सक्नेछन्। (यूह. ३:१६) हामी स्मरणार्थ उत्सवमा उपस्थित भएर यहोवाको प्रेम र येशूले हाम्रोनिम्ति अर्पण गर्नुभएको बलिदानप्रति हार्दिक मूल्यांकन व्यक्त गर्नसक्छौं।
२ यहोवाका साक्षीहरूको पात्रो १९९७ को मार्च १८-२३ मा दिइएको बाइबल पढाइ कार्यक्रम तालिकाअनुसार पढ्न सबैलाई प्रोत्साहित गरिएको छ। साथै, आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान पुरुष पुस्तकका अध्यायहरू ११२-१६ बाट पारिवारिक छलफल गर्नाले मानव इतिहासमा सबैभन्दा महत्त्वपूर्ण हप्तामा ध्यानकेन्द्रित गर्न सजिलो हुनेछ।
३ के तपाईं स्मरणार्थ उत्सव हुने महिनाभरि क्षेत्र सेवकाईमा अझ बढी समय बिताउन सक्नुहुन्छ? यसपाली मार्च महिनामा पाँचवटा शनिबार भएको हुँदा धेरै प्रकाशकहरूले सहायक अग्रगामीको रूपमा सेवा गर्ने मौका छोप्नेछन्। तपाईंले पनि सहायक अग्रगामी गर्नुभए कसो होला? स्मरणार्थ उत्सवमा उपस्थित हुनुपर्ने महत्त्वलाई जोड दिन हामी सबैले सकेसम्म भाग लिनसक्छौं। यो दिन आइतबार परेकोले धेरैजसोलाई उपस्थित हुन सजिलो पर्नेछ। बाइबल विद्यार्थीहरू र चासो देखाउनेहरू सबैलाई यस कार्यक्रममा उपस्थित हुने निमन्त्रणा दिन नबिर्सनुहोस्। वर्षमा एक पटक विशेष ध्यान दिनुपर्ने दिनबारे ज्ञान पुस्तकको पृष्ठ १२७ अनुच्छेद १८ मा बताइएको कुरा तिनीहरूसँग छलफल गर्नुहोस्।
४ सन् १९९७ को सबैभन्दा महत्त्वपूर्ण यस घडीको गहिरो मूल्यांकनसहित प्रतीक्षा गरौं। किनभने येशूको मृत्यु हाम्रोनिम्ति अर्थपूर्ण छ। सबै ठाउँमा साँचो मसीहीहरूले कुनै हालतमा पनि नछुटाइकन मार्च २३ मा मनाइने उत्सवमा तपाईं पनि उपस्थित हुनुहोस्।