प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lr अध्या. ३२ पृ. १६७-१७१
  • येशूलाई कसरी बचाइयो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूलाई कसरी बचाइयो?
  • महान्‌ शिक्षकबाट सिकौं
  • मिल्दोजुल्दो सामग्री
  • ज्योतिषीहरू येसुलाई भेट्‌न जान्छन्‌
    येसु—बाटो, सत्य र जीवन
  • येशू र ज्योतिषीहरू
    सबैभन्दा महान्‌ पुरुष
  • क्रूर शासकबाट बचाइयो
    सबैभन्दा महान्‌ पुरुष
  • यहोवा परमेश्‍वरले येसुको रक्षा गर्नुभयो
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
महान्‌ शिक्षकबाट सिकौं
lr अध्या. ३२ पृ. १६७-१७१

अध्याय ३२

येशूलाई कसरी बचाइयो?

साना केटाकेटी अनि आफ्नो सुरक्षा आफै गर्न नसक्नेहरूलाई यहोवाले कहिलेकाहीं अचम्म तरिकाले बचाउनुहुन्छ। गाउँ-घरको बाटोमा हिंड्‌दा यहोवाले यो कसरी गर्नुहुन्छ भन्‍ने एउटा उदाहरण तिमी देख्न सक्छौ। तर झट्ट देख्दा तिमीले त्यो कुरा बुझ्न सक्दैनौ होला।

तिमी हिंड्‌दै गर्दा नजिकै एउटा चरा फुत्रुक्क भूइँमा झरेको देखौला। हेर्दा त्यो घाइते देखिन्छ। त्यसले एउटा पखेटा घिसार्छ र त्यसको नजिक जान खोज्दा पर-पर सर्छ। त्यसको पछि जाँदा त्यो झन्‌-झनै पर सर्छ। अनि एक्कासि त्यो चरा भुर्र उड्‌छ। वास्तवमा त्यसको पखेटा केही पनि भएको थिएन! त्यो चरा के गर्दै थियो, तिमीलाई थाह छ?—

त्यो चरा जुन ठाउँमा झरेको थियो, त्यसको नजिकैको झाडीमा त्यसका बचेराहरू थिए। तिमीले ती बचेराहरू भेट्टाउला र तिनीहरूलाई हानि पुऱ्‍याउला भनेर त्यो माउ चरालाई डर लागेको थियो। त्यसैकारण तिमीलाई अलमल्याउन त्यसले घाइते भएको नाटक गऱ्‍यो। त्यो माउ चराले आफ्ना बचेराहरूलाई बचाएझैं हामीलाई कसले बचाउन सक्नुहुन्छ, थाह छ?—बाइबलमा यहोवालाई गरुड भनिने एउटा चरासित तुलना गरिएको छ। त्यो चराले आफ्ना बचेराहरूलाई राम्रोसित हेरविचार गर्छ।—व्यवस्था ३२:११, १२.

यो चराले आफ्ना बचेराहरूलाई कसरी बचाइरहेको छ?

यहोवाको प्यारो छोरा येशू उहाँको लागि सबैभन्दा अनमोल बालक हुनुहुन्छ। स्वर्गमा हुँदा येशू आफ्नो बुबाजस्तै शक्‍तिशाली अदृश्‍य व्यक्‍ति हुनुहुन्थ्यो। उहाँले आफ्नो ख्याल आफै राख्न सक्नुहुन्थ्यो। तर पृथ्वीमा बालकको रूपमा जन्मेपछि उहाँ निस्सहाय हुनुभयो। उहाँलाई अरूले सुरक्षा दिनुपर्ने भयो।

पृथ्वीमा परमेश्‍वरको इच्छा पूरा गर्न येशू त्रुटिरहित वयस्क व्यक्‍ति हुनुपर्थ्यो। तर त्योभन्दा अघि नै सैतानले उहाँलाई मार्न खोज्यो। येशू बालक छँदा उहाँलाई मार्न गरिएको प्रयासबारे र यहोवाले उहाँलाई कसरी बचाउनुभयो भन्‍नेबारे एउटा रोचक कथा छ। के तिमी सुन्‍न चाहन्छौ?—

येशू जन्मनुभएको केही समयपछि सैतानले पूर्वतिर आकाशमा ताराजस्तै केही चम्कन लगायो। ज्योतिषीहरू अर्थात्‌ ताराहरूको अध्ययन गर्ने मानिसहरू त्यो तारा पछ्याउँदै सयौं किलोमिटर पर रहेको यरूशलेम आइपुग्छन्‌। त्यहाँ तिनीहरूले यहूदीहरूका राजा बन्‍ने बालकको जन्म कहाँ हुन्छ भनी अरूलाई सोध्छन्‌। बाइबलमा यसबारे बताइएको कुरा थाह हुने मानिसहरूले यस्तो जवाफ दिन्छन्‌: “बेतलेहेममा।”—मत्ती २:१-६.

येशूलाई भेट्‌न आएपछि ज्योतिषीहरूलाई परमेश्‍वर कस्तो चेतावनी दिनुहुन्छ जसले गर्दा येशू बच्नुहुन्छ?

यरूशलेमका खराब राजा हेरोदले नजिकैको सहर बेतलेहेममा यी नयाँ राजाको जन्म भएको छ भन्‍ने कुरा सुनेपछि ती ज्योतिषीहरूलाई यसो भन्छन्‌: ‘जाओ, त्यस सानो बालकलाई खोज अनि भेट्टाएपछि फर्केर मलाई खबर गर।’ येशूलाई कहाँ फेला पार्न सकिन्छ भनेर हेरोद किन जान्‍न चाहन्छन्‌, तिमीलाई थाह छ?—किनभने हेरोदलाई डाह लागेको छ र उनी येशूलाई मार्न चाहन्छन्‌।

परमेश्‍वर आफ्नो छोरालाई कसरी बचाउनुहुन्छ?—येशूलाई फेला पारेपछि ज्योतिषीहरूले उहाँलाई उपहार दिन्छन्‌। ती ज्योतिषीहरूलाई हेरोदकहाँ फर्केर नजानू भनी परमेश्‍वरले सपनामा चेतावनी दिनुहुन्छ। त्यसैले तिनीहरू यरूशलेम नगई अर्कै बाटो भएर घर फर्कन्छन्‌। ज्योतिषीहरू गइसकेको कुरा थाह पाएपछि हेरोद साह्रै रिसाउँछन्‌। येशू मारियोस्‌ भनेर हेरोदले बेतलेहेमका दुई वर्षमुनिका सबै बालकलाई मार्ने आदेश दिन्छन्‌। तर त्यतिन्जेल येशू अन्तै गइसक्नुहुन्छ।

येशू कसरी अन्तै पुग्नुहुन्छ, तिमीलाई थाह छ?—ज्योतिषीहरू फर्केपछि मरियमका श्रीमान्‌ यूसुफलाई यहोवाले राती सपनामा ‘उठ, अनि टाढा मिश्र देशमा भाग’ भन्‍ने चेतावनी दिनुहुन्छ। त्यहाँ येशू खराब हेरोदबाट सुरक्षित हुनुहुन्छ। केही वर्षपछि मरियम र यूसुफ येशूलाई लिएर मिश्रबाट फर्कंदा परमेश्‍वरले यूसुफलाई अर्को एउटा चेतावनी दिनुहुन्छ। उहाँ सपनामा तिनलाई नासरत जान भन्‍नुहुन्छ। त्यहाँ येशूलाई कुनै खतरा छैन।—मत्ती २:७-२३.

बालक येशूलाई फेरि कसरी बचाइयो?

यहोवाले आफ्नो छोरालाई कसरी बचाउनुभयो, बुझ्यौ नि होइन?—झाडीमा माउ चराले लुकाएका बचेराहरूसित वा बालक छँदाको येशूसित कसलाई तुलना गर्न सकिन्छ? तिमीलाई तुलना गर्न सकिंदैन र?—हो, तिमीलाई हानि पुऱ्‍याउन चाहनेहरू पनि छन्‌। उनीहरू को हुन्‌?—

बाइबलअनुसार सैतान हामीलाई खान चाहने गर्जने सिंहजस्तै छ। अनि जसरी सिंहले स-साना जनावरलाई आफ्नो सिकार बनाउँछ, त्यसरी नै सैतान र त्यसका खराब स्वर्गदूतहरूले साना केटाकेटीलाई आफ्नो तारो बनाउँछन्‌। (१ पत्रुस ५:८) तर यहोवा सैतानभन्दा शक्‍तिशाली हुनुहुन्छ। यहोवा आफ्ना केटाकेटीलाई सुरक्षित राख्न सक्नुहुन्छ। साथै, सैतानले तिनीहरूलाई पुऱ्‍याएको जुनसुकै हानि पनि उल्ट्याउन सक्नुहुन्छ।

यो किताबको अध्याय १० मा हामीले दियाबल र त्यसका खराब स्वर्गदूतहरूले हामीलाई के गर्न लगाउन खोज्छन्‌ भनी सिकेका थियौं, याद छ?—हो, परमेश्‍वरले जुन प्रकारको यौनसम्बन्धलाई गलत हो भन्‍नुहुन्छ तिनीहरू त्यही प्रकारको यौनसम्बन्ध राख्न लगाउन खोज्छन्‌। तर जोसँग पनि यौनसम्बन्ध राख्न सकिन्छ कि?—होइन, श्रीमान्‌-श्रीमतीबीच मात्र राख्न सकिन्छ।

तर दुःखको कुरा केही वयस्क व्यक्‍ति साना केटाकेटीसित यौनसम्बन्ध राख्न खोज्छन्‌। उनीहरूले त्यसो गर्दा केटाकेटीले खराब कुरा सिक्छन्‌। तिनीहरू पनि आफ्ना यौन अङ्‌गलाई गलत तरिकाले प्रयोग गर्न थाल्छन्‌। त्यस्तै एउटा घटना धेरैअघि सदोम भन्‍ने सहरमा भएको थियो। बाइबलअनुसार त्यहाँका “के युवक-के बूढा” जम्मै मानिसहरूले लूतकहाँ आएका पुरुषहरूसित यौनसम्बन्ध राख्न खोजेका थिए।—उत्पत्ति १९:४, ५.

त्यसैले येशूलाई जस्तै तिमीलाई पनि सुरक्षा चाहिन्छ। कसबाट? यौनसम्बन्ध राख्न खोज्ने वयस्क व्यक्‍तिबाट अनि त्यस्तै सम्बन्ध राख्न खोज्ने अरू केटाकेटीबाट समेत। साधारणतया यस्ता व्यक्‍तिहरू तिम्रो साथी भएको ढोंग गर्छन्‌। त्यसरी यौनसम्बन्ध राखेको कुरा अरूलाई बताएनौ भने उनीहरूले ‘केही कुरा दिन्छु’ समेत भन्लान्‌। तर यस्ता व्यक्‍तिहरू सैतान र त्यसका खराब स्वर्गदूतहरूजस्तै स्वार्थी छन्‌। उनीहरू केवल आनन्द पाउन चाहन्छन्‌। अनि केटाकेटीसित यौनसम्बन्ध राखेर उनीहरू त्यस्तो आनन्द पाउन खोज्छन्‌। यो कुरा एकदमै गलत हो!

उनीहरू आनन्द पाउन के-के गर्छन्‌, थाह छ?—उनीहरूले तिम्रो यौन अङ्‌ग सुम्सुम्याउलान्‌। अथवा आफ्नो यौन अङ्‌ग तिम्रो यौन अङ्‌गमा छुवाउलान्‌। तर तिमीले आफ्नो लिङ्‌ग वा योनिसित कसैलाई पनि खेल्न दिनुहुन्‍न। दाजुभाइ, दिदीबहिनी अथवा आमाबाबुलाई समेत खेल्न दिनुहुन्‍न। यी तिम्रा शरीरका गुप्त अङ्‌गहरू हुन्‌।

कसैले तिमीलाई गलत तरिकामा छुन खोज्छ भने तिमीले के भन्‍नुपर्छ र के गर्नुपर्छ?

यस्ता खराब कामकुरा गर्ने व्यक्‍तिहरूबाट तिमी कसरी बच्न सक्छौ?—सबैभन्दा पहिला तिम्रो यौन अङ्‌गसित कसैलाई पनि खेल्न नदेऊ। कसैले त्यसो गर्न खोज्छ भने ठूलो सोरले दृढ भएर यसो भन: “उता जा! म भन्दिन्छु!” अनि त्यस व्यक्‍तिले ‘यो सबै तिमीले गर्दा भएको हो’ भन्छ भने उसको कुरा नपत्याऊ। उसले झूटो बोलेको हो। त्यसो गर्ने व्यक्‍ति जोसुकै होस्‌, तिमीले साँच्चै भरोसा गर्ने व्यक्‍तिलाई त्यसबारे सबै भन्‍नुपर्छ! उसले त्यो तिमीहरू बीचको गोप्य कुरा हो भने तापनि तिमीले त्यसबारे अरूलाई बताउनुपर्छ। त्यस व्यक्‍तिले ‘राम्रो-राम्रो उपहार दिन्छु’ भन्छ अथवा तर्साउन खोज्छ भने पनि त्यहाँबाट भागेर गएर अरूलाई बताउनुपर्छ।

तिमी डराउनु पर्दैन तर होसियार भने हुनुपर्छ। आमाबाबुले फलानो-फलानो व्यक्‍तिकहाँ वा फलानो-फलानो ठाउँमा नजानू, त्यहाँ खतरा छ भनी सम्झाउनुहुन्छ भने उहाँहरूको कुरा सुन्‍नुपर्छ। सुन्यौ भने खराब व्यक्‍तिले तिमीलाई हानि पुऱ्‍याउन पाउनेछैन।

यौनसम्बन्धी गलत कामकुराबाट आफूलाई जोगाउनेबारे उत्पत्ति ३९:७-१२; हितोपदेश ४:१४-१६; १४:१५, १६; १ कोरिन्थी ६:१८ अनि २ पत्रुस २:१४ पढौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने