मार्च २-८, २०२६
गीत ९७ यहोवाको वचन—हाम्रो जीवन
आफ्नो “आध्यात्मिक आवश्यकता” पूरा गरिरहनुहोस्
सन् २०२६ को वार्षिक पद: “आनन्दित हुन् ती मानिसहरू, जो आफ्नो आध्यात्मिक आवश्यकताबारे सचेत हुन्छन्।”—मत्ति ५:३.
सिक्न सकिने कुरा
यहोवाले हामीलाई आध्यात्मिक भोजन, आध्यात्मिक पोसाक र आध्यात्मिक शरण दिनुभएको छ। त्यसबाट लाभ उठाइरहन हामीले के गर्नुपर्छ?
१. यहोवाले हामीलाई कस्ता आवश्यकताहरूसहित सृष्टि गर्नुभएको छ? (मत्ति ५:३)
गाँस, बास र कपास। यी हाम्रा आधारभूत आवश्यकताहरू हुन्। हामी जीवित रहन यी आवश्यकताहरू पूरा हुनै पर्छ। किनभने यहोवाले हामीलाई त्यसरी नै सृष्टि गर्नुभएको छ। यीमध्ये कुनै एउटा आवश्यकता मात्र पूरा भएन भने पनि हाम्रो जीवन कठिन हुन्छ। हामी मर्न समेत सक्छौँ। यहोवाले हामीमा अर्को आवश्यकता पनि राखिदिनुभएको छ। त्यो हो, आध्यात्मिक आवश्यकता। (मत्ति ५:३ पढ्नुहोस्।) आफ्नो आध्यात्मिक आवश्यकताबारे सचेत भयौँ र त्यो पूरा गरिरह्यौँ भने हामी साँच्चै आनन्दित हुन सक्छौँ।
२. ‘आफ्नो आध्यात्मिक आवश्यकताबारे सचेत हुनु’ भनेको के हो? उदाहरणसहित बुझाउनुहोस्।
२ ‘आफ्नो आध्यात्मिक आवश्यकताबारे सचेत हुनु’ भनेको के हो? मूल भाषामा यस अभिव्यक्तिले पवित्र शक्तिको भिख माग्नु भन्ने अर्थ दिन्छ। कल्पना गर्नुहोस्, एक जना भिखारी बाटोछेउमा माग्न बसिरहेको छ। उसले झुत्रेझाम्रे लुगा लगाएको छ अनि खान नपाएकोले हड्डी र छाला मात्र भएको छ। बस्ने ठाउँ नभएकोले उसले दिउँसो टन्टलापुर घाम र राती कठाङ्ग्रिने जाडो खप्नुपर्छ। मानिसहरू यो भिखारीको छेउछाउमा समेत पर्न चाहँदैनन्। तर उसलाई आफू जीवित रहन र यस्तो नाजुक अवस्थाबाट उम्कन अरूसित भिख माग्नै पर्छ भन्ने कुरा थाह छ। पवित्र शक्तिको भिख माग्ने अर्थात् आफ्नो आध्यात्मिक आवश्यकताबारे सचेत हुने व्यक्तिको कुरा पनि त्यस्तै हो। तिनले आफ्नो जीवनमा परमेश्वरको मदत आवश्यक छ भनेर बुझेको हुन्छ। त्यसैले तिनी यहोवाले प्रचुर मात्रामा प्रबन्ध गर्नुभएका आध्यात्मिक कुराहरूबाट लाभ उठाउन सधैँ तत्पर हुन्छन्।
३. यस लेखमा हामी के छलफल गर्नेछौँ?
३ यस लेखमा हामी केही व्यक्तिहरूबारे छलफल गर्नेछौँ। सुरुमा एक फोनिसियाली स्त्रीबारे विचार गर्नेछौँ, जसले येसुसित मदतको भिख मागेकी थिइन्। त्यस विवरणबाट हामी तीन वटा महत्त्वपूर्ण गुणबारे सिक्न सक्छौँ। आफ्नो आध्यात्मिक आवश्यकताबारे सचेत हुने व्यक्तिले ती गुणहरू विकास गर्नै पर्छ। साथै हामी आध्यात्मिक रूपमा बलिया तीन जना पुरुषको उदाहरण पनि छलफल गर्नेछौँ। तिनीहरू हुन्: पत्रुस, पावल र राजा दाउद।
हामीले विकास गर्नै पर्ने तीन वटा गुण
४. एक फोनिसियाली स्त्री येसुबाट कस्तो मदत चाहन्थिन्?
४ एकदिन एक फोनिसियाली स्त्री येसुकहाँ आइन्। तिनले उहाँसामु घुँडा टेकेर मदतको भिख माग्न थालिन्। किनकि तिनकी छोरीलाई “प्रेतले साह्रै सताइरहेको” थियो। (मत्ति १५:२१-२८) ती स्त्रीले कुन तीन वटा महत्त्वपूर्ण गुण देखाइन्? अनि हामी कसरी तिनको अनुकरण गर्न सक्छौँ?
५. फोनिसियाली स्त्रीले कस्ता गुणहरू देखाइन् र येसुले के गर्नुभयो? (चित्र पनि हेर्नुहोस्।)
५ ती फोनिसियाली स्त्रीले साँचो नम्रता देखाइन्। हामी किन त्यसो भन्न सक्छौँ? येसुले तिनलाई कुकुरको छाउरासित तुलना गर्नुभयो। तपाईँ ती स्त्रीको ठाउँमा हुनुभएको भए कस्तो महसुस गर्नुहुन्थ्यो? के तपाईँले येसुले आफ्नो अपमान गरेको ठानेर उहाँसित मदत माग्नै छोड्नुहुने थियो। तर ती स्त्रीले येसुले आफ्नो अपमान गरेको ठानिनन्। किनकि तिनी नम्र थिइन्। बरु तिनले हार नमानी मदत मागिरहिन्। किन? किनभने तिनी येसुमाथि विश्वास गर्थिन्। तिनको बलियो विश्वास देखेर येसु तिनलाई मदत गर्न अग्रसर हुनुभयो। हुनत येसुले आफू ‘इस्राएलको घरानाका हराएका भेडाहरूका निम्ति पठाइएको हुँ’ भन्नुभएको थियो तर ती स्त्री अन्यजातिकी भए तापनि तिनको छोरीलाई निको पारिदिनुभयो।
६. फोनिसियाली स्त्रीको विवरणबाट हामी के सिक्न सक्छौँ?
६ हाम्रो आध्यात्मिक आवश्यकता पूरा गर्न हामीले पनि यी तीन वटा गुणहरू विकास गर्नै पर्छ। हामी नम्र हुनुपर्छ, हार नमानी लागिरहनुपर्छ र हामीसित बलियो विश्वास हुनुपर्छ। नम्र मानिसले मात्र हार नमानी परमेश्वरसित मदत मागिरहन्छ। साथै हामीले येसु ख्रिष्टमाथिको विश्वासलाई बलियो बनाउनुपर्छ अनि उहाँले हामीलाई डोऱ्याउन चलाइरहनुभएका व्यक्तिहरूमाथि पूरा भरोसा राख्नुपर्छ। (मत्ति २४:४५-४७) हामीसित यस्ता गुणहरू छन् भने हाम्रो आध्यात्मिक आवश्यकता पूरा गर्न यहोवा र येसु सधैँ तयार हुनुहुनेछ। (याकुब १:५-७ तुलना गर्नुहोस्।) त्यसोभए यहोवाले कसरी आध्यात्मिक गाँस, बास र कपासको प्रबन्ध गर्नुहुन्छ, विचार गरौँ। साथै यी आवश्यकताहरू पूरा गर्न हामीले के गर्नुपर्छ भनेर बुझ्न पत्रुस, पावल र राजा दाउदको उदाहरण छलफल गरौँ।
पत्रुसले जस्तै आध्यात्मिक भोजन खाइरहनुहोस्
७. येसुले पत्रुसलाई कस्तो आज्ञा दिनुभयो तर तिनले के पनि गर्नुपर्थ्यो? व्याख्या गर्नुहोस्। (हिब्रू ५:१४–६:१)
७ प्रेषित पत्रुसको उदाहरण विचार गर्नुहोस्। तिनले येसु नै मसीह हुनुहुन्छ भन्ने कुरा स्विकारे। साथै “अनन्त जीवनका वचनहरू” सुनाउन यहोवाले येसुलाई चलाउँदै हुनुहुन्छ भन्ने कुरा पनि तिनले बुझेका थिए। (युह. ६:६६-६८) फेरि जीवित भएर स्वर्ग जानुअघि येसुले पत्रुसलाई यो आज्ञा दिनुभयो: “मेरा साना भेडाहरूलाई खुवाऊ।” (युह. २१:१७) येसुले दिनुभएको त्यो जिम्मेवारी पत्रुसले राम्रोसित पूरा गरे। साथै तिनले यहोवाको प्रेरणा पाएर दुई वटा पत्र लेखे, जुन पछि बाइबलको भाग बन्यो। तर तिनी आफैले पनि आध्यात्मिक भोजन लिइरहनुपर्थ्यो र तिनले त्यसै गरे। जस्तै, तिनले प्रेषित पावलले लेखेका पत्रहरूको गहिरो अध्ययन गरे। हुनत पत्रुसलाई पावलले लेखेका केही कुरा ‘बुझ्न गाह्रो’ भएको थियो। (२ पत्रु. ३:१५, १६) तर तिनले हार मानेनन् बरु पावलको पत्रहरूमा भएका “खँदिलो खानेकुरा” लिइरहे। किनकि ती कुराहरू बुझ्न र लागू गर्न यहोवाले मदत गर्नुहुनेछ भन्ने कुरामा तिनलाई पक्का विश्वास थियो।—हिब्रू ५:१४–६:१ पढ्नुहोस्।
८. यहोवाले नयाँ ज्योति प्रकट गर्नुहुँदा पत्रुसले के गरे?
८ पत्रुसले यहोवामाथि बलियो विश्वास राखेका थिए। त्यसैले उहाँले दिनुभएको निर्देशन पालन गरे। जस्तै, जोप्पा सहरमा छँदा पत्रुसले एउटा दर्शन देखे। त्यस दर्शनमा एक जना स्वर्गदूतले तिनलाई जनावरहरू मारेर खान भने। तर ती जनावरहरू मोसाको व्यवस्थाअनुसार अशुद्ध थिए। यहुदीहरूले यस्तो कुरा सोच्न समेत सक्दैनथे। त्यसैले पत्रुसले सुरुमा यसो भने: “नाइँ प्रभु किनकि अपवित्र अनि अशुद्ध थोक मैले कहिल्यै खाएको छैनँ।” तर स्वर्गदूतले तिनलाई यसो भने: “परमेश्वरले शुद्ध पार्नुभएको कुरालाई अपवित्र भन्न छोड।” (प्रेषि. १०:९-१५) पत्रुसले कुरा बुझिहाले र आफ्नो सोचाइ छाँटकाँट गरे। हामी किन त्यसो भन्न सक्छौँ? यो दर्शन देखेको केही समय नबित्दै कर्निलियसले पठाएका तीन जना मानिस पत्रुसकहाँ आए अनि कर्निलियसले तिनलाई बोलाएका छन् भनेर बताए। यो दर्शन नदेखेका भए सायद पत्रुस कर्निलियसको घरमा जाने थिएनन्। किनभने कर्निलियस एक अन्यजाति थिए र यहुदीहरूले अन्यजातिहरूलाई अशुद्ध ठान्थे। (प्रेषि. १०:२८, २९) तर पत्रुस यहोवाले प्रकट गर्नुभएको नयाँ ज्योतिमा हिँड्न तुरुन्तै तयार भए। (हितो. ४:१८) तिनले कर्निलियस र उनको घरमा भएका सबैलाई प्रचार गरे। तिनीहरूले सत्य स्विकारे, पवित्र शक्ति पाए र बप्तिस्मा गरे। यो देख्दा पत्रुस कत्ति खुसी भए होलान्!—प्रेषि. १०:४४-४८.
९. खँदिलो आध्यात्मिक खानेकुराको लागि भोक जगाउँदा हामीलाई कुन दुइटा फाइदा हुन्छ?
९ हुनत हामीले परमेश्वरको वचनमा पाइने दूधजस्तै आधारभूत सत्यहरू सिकिसकेका छौँ। तर पत्रुसले जस्तै हामीले ती कुराहरू नियमित रूपमा अध्ययन गरिरहनुपर्छ। त्यसको साथै खँदिलो आध्यात्मिक खानेकुराको लागि भोक पनि जगाउनुपर्छ। हुनत यस्ता गहिरा आध्यात्मिक कुराहरू बुझ्न अलि गाह्रो हुन सक्छ। तर हामीले यी कुराहरू अध्ययन गर्न समय छुट्ट्याउनुपर्छ अनि अझ राम्ररी बुझ्न प्रयास गर्नुपर्छ। हाम्रो यस्तो प्रयास खेर जानेछैन। किन? दुइटा फाइदा विचार गरौँ। एउटा, हामीले यहोवाबारे थुप्रै कुराहरू सिक्नेछौँ र त्यसले उहाँप्रतिको हाम्रो प्रेम र आदर अझै बढाउनेछ। अनि अर्को, यहोवाबारे सिकेका नयाँ-नयाँ कुराहरू अरूलाई बताउन हामी अझ उत्प्रेरित हुनेछौँ। (रोमी ११:३३; प्रका. ४:११) पत्रुसको उदाहरणबाट हामी अर्को पाठ पनि सिक्न सक्छौँ। हाम्रो बुझाइमा कुनै छाँटकाँट हुँदा हामीले तुरुन्तै त्यो स्विकार्नुपर्छ र त्यसअनुसार चल्न तयार हुनुपर्छ। यसो गऱ्यौँ भने मात्र हामीले आध्यात्मिक पोषण पाइरहनेछौँ र यहोवाको सेवा गरिरहन सक्नेछौँ।
पावलले जस्तै आध्यात्मिक पोसाक लगाइरहनुहोस्
१०. आध्यात्मिक पोसाक लगाउनु भनेको के हो? (कलस्सी ३:८-१०)
१० यहोवाले हाम्रो लागि गर्नुभएको अर्को प्रबन्ध आध्यात्मिक पोसाक हो। हामीले यो पोसाक लगाइरहनुपर्छ। त्यसको मतलब के हो? प्रेषित पावलले हामीले ‘पुरानो व्यक्तित्वलाई फुकालेर मिल्काउनुपर्छ’ अनि ‘नयाँ व्यक्तित्व धारण गर्नुपर्छ’ भनेर बताए। (कलस्सी ३:८-१० पढ्नुहोस्।) यो हामीले निरन्तर गरिरहनुपर्ने कुरा हो तर यसो गर्न सधैँ सजिलो भने हुँदैन। प्रेषित पावलकै उदाहरण विचार गरौँ। सानै उमेरदेखि तिनले परमेश्वरलाई खुसी बनाउन निकै प्रयास गरेका थिए। (गला. १:१४; फिलि. ३:४, ५) तर तिनीसित परमेश्वरको उद्देश्यबारे सही ज्ञान थिएन। त्यसैले तिनले सही तरिकामा उहाँको उपासना गरिरहेका थिएनन्। एक त तिनीसित ख्रिष्टबारे सही ज्ञान थिएन, त्यसमाथि तिनी घमन्डी थिए। त्यसैले तिनी “सोमत नभएको मानिस” बन्न पुगे। तिनको व्यक्तित्व परमेश्वरलाई मनपर्ने किसिमको थिएन।—१ तिमो. १:१३.
११. पावलले आफ्नो कुन कमजोरी हटाउन निकै प्रयास गरे? व्याख्या गर्नुहोस्।
११ ख्रिष्टियन बन्नुअघि पावल गरम मिजासका थिए। तिनी यतिसम्म रिसाहा थिए कि तिनी “प्रभुका चेलाहरूलाई धम्काउने र तिनीहरूलाई मार्ने धुनमा” हुन्थे। (प्रेषि. ९:१) तर ख्रिष्टियन बनिसकेपछि पावलले यो पुरानो व्यक्तित्वलाई फुकालेर मिल्काउन निकै प्रयास गरे। (एफि. ४:२२, ३१) यसो गर्न तिनलाई सधैँ सजिलो भने भएन। जस्तै, एकचोटि तिनी र बर्णाबासबीच मतभेद हुँदा “चर्को भनाभन भयो।” (प्रेषि. १५:३७-३९) त्यतिबेला पावल आफ्नो रिसलाई काबूमा राख्नदेखि चुके तर तिनले हार मानेनन्। तिनले यहोवाको अनुमोदन नगुमाउन आफ्नो शरीरलाई ‘कुटिरहे अनि पिटिरहे।’ भन्नुको मतलब, तिनी आफ्ना कमजोरीहरूविरुद्ध लडिरहे।—१ कोरि. ९:२७.
१२. पावललाई दुर्गुणहरू फुकालेर मिल्काउन केले मदत गऱ्यो?
१२ पावल आफ्ना दुर्गुणहरू फुकालेर मिल्काउन अनि नयाँ व्यक्तित्व धारण गर्न सफल भए। किन? किनभने तिनी आफ्नै शक्तिमा भर परेनन्। (फिलि. ४:१३) बरु पत्रुसजस्तै “परमेश्वरले दिनुहुने बलमा” भर परे। (१ पत्रु. ४:११) तैपनि पावललाई कहिलेकाहीँ आफू असफल भएको जस्तो लाग्थ्यो र तिनी निराश हुन्थे। त्यस्तो बेला तिनी यहोवाले आफ्नो लागि गरिदिनुभएका राम्रा कुराहरूमा ध्यान दिन्थे र तिनले हार नमानी प्रयास गरिरहन बल पाउँथे।—रोमी ७:२१-२५.
१३. हामी कसरी पावलको अनुकरण गर्न सक्छौँ?
१३ हामी कसरी पावलको अनुकरण गर्न सक्छौँ? हामीले यहोवाको सेवा गरेको धेरै वर्ष भइसके तापनि पुरानो व्यक्तित्व फुकालेर मिल्काउन अनि नयाँ व्यक्तित्व धारण गर्न प्रयास गरिरहनुपर्छ। यसको मतलब, हामीले परमेश्वरले दिनुहुने आध्यात्मिक पोसाक लगाइरहनुपर्छ। तर कहिलेकाहीँ हामी चुक्न सक्छौँ। जस्तै, अरूसित झडङ्ङ रिसाउन वा रुखो बोली बोल्न पुग्न सक्छौँ। त्यस्तो बेला हामीले आफू असफल भएको जस्तो ठान्नु आवश्यक छैन। बरु हामीले आफ्नो सोचाइ र व्यवहारलाई परिवर्तन गर्न प्रयास गरिरहनुपर्छ। (रोमी १२:१, २; एफि. ४:२४) तर हामीले बिर्सन नहुने एउटा कुरा छ। त्यो हो, हामी आफ्नो शरीरको नापअनुसार लुगालाई सानो-ठूलो बनाउन सक्छौँ तर यहोवाले दिनुहुने आध्यात्मिक पोसाकलाई त्यसो गर्न सक्दैनौँ। बरु हामीले त्यो पोसाकको नापअनुसार आफूलाई छाँटकाँट गर्नुपर्छ। भन्नुको मतलब, हामीले आफ्नो सोचाइ र व्यवहारलाई यहोवाको स्तरअनुसार ढाल्नुपर्छ।
दाउदले जस्तै आध्यात्मिक शरण लिइरहनुहोस्
१४-१५. यहोवा आफ्ना जनहरूलाई कसरी आध्यात्मिक शरण दिनुहुन्छ? (भजन २७:५) (चित्र पनि हेर्नुहोस्।)
१४ साँच्चै आनन्दित हुन हामीलाई आध्यात्मिक भोजन र आध्यात्मिक पोसाक मात्र भएर पुग्दैन। हामीलाई आध्यात्मिक शरण पनि चाहिन्छ। आध्यात्मिक शरण भनेको के हो र त्यहाँ रहिरहन हामीले के गर्नुपर्छ?
१५ राजा दाउदले यहोवाले दिनुहुने आध्यात्मिक शरणबारे बताए। (भजन २७:५ पढ्नुहोस्।) अहिले यहोवा आफ्ना जनहरूलाई कसरी सुरक्षा दिनुहुन्छ? उहाँमाथिको विश्वासलाई तहसनहस पार्न सक्ने जोसुकै वा जुनसुकै कुरादेखि उहाँ हामीलाई जोगाउनुहुन्छ। उहाँले आफ्ना जनहरूविरुद्ध उठाइने जुनसुकै हतियारलाई बेकामको तुल्याइदिने प्रतिज्ञा गर्नुभएको छ। (भज. ३४:७; यसै. ५४:१७) हुनत सैतान र त्यसलाई साथ दिनेहरू शक्तिशाली छन्। तर यहोवा तिनीहरूभन्दा अझ शक्तिशाली हुनुहुन्छ। तिनीहरूले हाम्रो ज्यान लिए तापनि यहोवाले हामीलाई फेरि जीवित पार्नुहुनेछ। (१ कोरि. १५:५५-५७; प्रका. २१:३, ४) आफ्नै चिन्ता-फिक्रीले पनि हाम्रो विश्वासलाई तहसनहस पार्न सक्छ। तर यहोवाले हामीलाई त्यसको सामना गर्न मदत गर्नुहुन्छ। (हितो. १२:२५; मत्ति ६:२७-२९) उहाँले हामीलाई आध्यात्मिक परिवार पनि दिनुभएको छ। यो परिवारमा हामीलाई सधैँ साथ दिने भाइबहिनीहरू र हाम्रो हेरचाह गर्ने मायालु एल्डरहरू छन्। (यसै. ३२:१, २) सभामा एकसाथ भेला हुँदा हामीले यहोवामा शरण लिने अरू तरिकाहरूबारे पनि सिक्न पाउँछौँ।—हिब्रू १०:२४, २५.
१६. यहोवाले दाउदलाई कसरी सुरक्षा दिनुभयो?
१६ यहोवाप्रति आज्ञाकारी हुँदा उहाँले दाउदलाई बुद्धिमानी निर्णयहरू गर्न मदत दिनुभयो र उनी आनन्दित हुन सके। यस अर्थमा यहोवाले उनलाई सुरक्षा दिनुभयो। (हितोपदेश ५:१, २ तुलना गर्नुहोस्।) तर दाउदले जानाजानी यहोवाको स्तरविपरीत काम गर्दा त्यसको नराम्रो नतिजा भोग्नदेखि भने जोगाउनुभएन। (२ समु. १२:९, १०) कहिलेकाहीँ भने दाउदले आफ्नो कुनै गल्ती नभए पनि दुःख भोग्नुपऱ्यो। त्यतिबेला उनले यहोवालाई आफ्नो मनको बह पोखाए अनि यहोवाले उनलाई साँच्चै माया र ख्याल गर्ने कुरामा ढुक्क बनाउनुभयो। यसरी दाउदले आफ्नो चिन्ता-फिक्रीले गर्दा व्याकुल नहुन मदत पाए।—भज. २३:१-६.
१७. हामी कसरी दाउदको अनुकरण गर्न सक्छौँ?
१७ निर्णयहरू गर्नुपर्दा यहोवाको निर्देशन खोज्यौँ भने हामीले दाउदको अनुकरण गरिरहेका हुन्छौँ। तर हामीले यहोवाको आज्ञा पालन गरेनौँ अनि गलत निर्णय गर्न पुग्यौँ भने यहोवाले हामीलाई त्यसको नतिजा भोग्नदेखि जोगाउनुहुन्न। (गला. ६:७, ८) अनि आफूले कुनै गल्ती नगरे पनि दुःख भोग्नुपर्दा हामी आफ्नो मनको बह यहोवालाई पोखाउँछौँ। किनकि उहाँले हाम्रो हृदय र सोच्ने क्षमताको रक्षा गर्नुहुनेछ भन्ने कुरामा हामी ढुक्क छौँ।—फिलि. ४:६, ७.
आफ्नो आध्यात्मिक आवश्यकता पूरा गरिरहनुहोस्
१८. अहिले थुप्रै मानिसहरू कस्तो सोचाइ राख्छन् र हामी कसरी आफ्नो आध्यात्मिक आवश्यकता पूरा गरिरहन सक्छौँ? (चित्रहरू पनि हेर्नुहोस्।)
१८ सन् २०२६ को वार्षिक पद हो: “आनन्दित हुन् ती मानिसहरू, जो आफ्नो आध्यात्मिक आवश्यकताबारे सचेत हुन्छन्।” हामीले यसो गर्नु अहिले झनै जरुरी भएको छ। किन? किनभने हाम्रो वरपरका धेरैजसो मानिसहरू आफ्नो आध्यात्मिक आवश्यकताबारे सचेत छैनन्। अथवा सचेत छन् भने पनि त्यो आवश्यकता आफ्नै तरिकामा पूरा गर्न खोज्छन्। उनीहरू झूटो धर्म वा मानव दर्शनको मुख ताक्छन्। त्यसैले उनीहरू कत्ति पनि आनन्दित छैनन्! हामी त्यस्ता मानिसहरूको प्रभावमा पर्नदेखि जोगिनुपर्छ। त्यसको लागि हामीले आध्यात्मिक भोजन खाइरहनुपर्छ, नयाँ व्यक्तित्व धारण गरिरहनुपर्छ र यहोवामा शरण लिइरहनुपर्छ।
गीत १६२ ईश्वरको खोजी
a चित्रको व्याख्या: अघिल्लो चित्रमा देखाइएकी बहिनी आध्यात्मिक भोजन लिन प्रहरीधरहरा-को लेख अध्ययन गर्दै छिन्, अरूलाई दया देखाएर नयाँ व्यक्तित्व धारण गर्दै छिन् र मायालु एल्डरहरूको मदत लिँदै छिन्।