गन्ती
४ यहोवा परमेश्वरले मोसा र हारुनलाई भन्नुभयो: २ “लेविका सन्तानमध्ये कोहातीहरूको+ गणना तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेओ। ३ भेट हुने पालमा* सेवा गर्ने ३०+ देखि ५० वर्षसम्मका+ कोहाती पुरुषहरूको गन्ती गर्नू।+
४ “भेट हुने पालमा कोहातका सन्तानले गर्ने यी कामहरू+ अतिपवित्र छन्: ५ इस्राएलीहरूले अर्को ठाउँमा छाउनी सार्दा हारुन र तिनका छोराहरू आएर साक्षीपाटी राखिएको सन्दुकसँगै* भएको पर्दा+ झिकून् र त्यसले सन्दुकलाई+ छोपून्। ६ त्यसपछि तिनीहरूले त्यसलाई माथिबाट सिलको* छालाबाट बनाइएको पालले छोपून् र त्यसलाई पूरै निलो रङ्गको कपडाले ढाकून् अनि सन्दुक बोक्ने डन्डीहरूलाई त्यसको ठाउँमा हालून्।+
७ “तिनीहरूले भेटीको रोटी* राख्ने टेबुलमाथि+ एउटा निलो कपडा ओछ्याऊन् र त्यसमा थाल, कचौरा अनि मद्यभेटी* चढाउने सुराही र प्यालाहरू राखून्;+ नियमित रूपमा चढाइने रोटीहरू+ पनि त्यही टेबुलमा राखून्। ८ त्यसपछि तिनीहरूले यी सबै थोकलाई सिन्दूरे रङ्गको कपडाले ढाकून् र त्यसलाई माथिबाट सिलको छालाले छोपून् अनि टेबुल बोक्ने डन्डीहरूलाई त्यसको ठाउँमा हालून्।+ ९ त्यसपछि तिनीहरूले एउटा निलो कपडा लेऊन् अनि त्यसमा पानस,+ त्यसका दियोहरू,+ चिम्टाहरू, सलेदोदानीहरू*+ र दियो बालिरहन चाहिने तेलका भाँडाहरू पोको पारून्। १० तिनीहरूले पानस र सबै सरसामान सिलको छालामा पोको पारेर खटमा राखून्। ११ त्यसपछि तिनीहरूले सुनको वेदीमाथि+ निलो रङ्गको कपडा ओछ्याऊन् र त्यसलाई माथिबाट सिलको छालाले छोपून् अनि वेदी बोक्ने डन्डीहरूलाई त्यसको ठाउँमा हालून्।+ १२ पवित्र ठाउँमा निरन्तर सेवा चढाउँदा प्रयोग गरिने सबै सरसामान+ तिनीहरूले निलो कपडाले बेरून् अनि त्यसलाई सिलको छालामा पोको पारेर खटमा राखून्।
१३ “तिनीहरूले वेदीबाट खरानी* हटाऊन्+ र वेदीमाथि बैजनी रङ्गको ऊनको कपडा ओछ्याऊन्। १४ अनि वेदीमा गरिने सेवासित सम्बन्धित यी सबै सरसामान त्यसमा राखून्: कोइला राख्ने भाँडाहरू, काँटाहरू, साबेलहरू र कचौराहरू।+ त्यसलाई माथिबाट सिलको छालाले छोपून् अनि वेदी बोक्ने डन्डीहरूलाई त्यसको ठाउँमा हालून्।+
१५ “इस्राएलीहरूले अर्को ठाउँमा छाउनी सार्ने बेला हारुन र तिनका छोराहरूले पवित्र ठाउँ र त्यसका सबै सरसामान ढाकून्।+ त्यसपछि कोहातका सन्तान आएर ती सरसामान बोकून्।+ तर कोहातका सन्तानले पवित्र ठाउँमा भएको कुनै पनि सामान नछोऊन् नत्र तिनीहरू मर्नेछन्।+ भेट हुने पालमा कोहातका सन्तानले पूरा गर्नुपर्ने जिम्मेवारी यी नै हुन्।
१६ “पुजारी हारुनका छोरा एलियाजारको+ जिम्मेवारी दियोमा हाल्ने तेल,+ सुगन्धित धूप,+ निरन्तर चढाउने अन्नभेटी अनि अभिषेक गर्ने तेलको+ रेखदेख गर्नु हो। पवित्र ठाउँ र त्यसमा भएका सबै कुरा अर्थात् पूरै वासस्थान* र त्यसका सबै सरसामान तिनकै निगरानीमा रहून्।”
१७ यहोवा परमेश्वरले मोसा र हारुनलाई अझै यसो भन्नुभयो: १८ “कोहातको घरानालाई+ लेवीहरूको बीचबाट नाश हुन नदेओ। १९ अतिपवित्र सरसामानहरू बोक्न जाँदा तिनीहरू मर्न नपरोस् भनेर त्यसो गर्नू।+ हारुन र तिनका छोराहरू पवित्र ठाउँभित्र जाऊन् अनि प्रत्येक कोहातीले के-के गर्नुपर्ने हो र के-के बोक्नुपर्ने हो, तिनीहरूलाई बताऊन्। २० कोहातका सन्तानले भित्र आएर पवित्र सरसामान एकछिन पनि नहेरून् नत्र तिनीहरू मर्नेछन्।”+
२१ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: २२ “गेर्सोनका सन्तानको+ गणना तिनीहरूको बुबापट्टिको घरानाअनुसार र वंशअनुसार लेऊ। २३ भेट हुने पालमा सेवा गर्ने ३० देखि ५० वर्षसम्मका गेर्सोनी पुरुषहरूको नाम दर्ता गर्नू। २४ गेर्सोनको घरानाले रेखदेख गर्नुपर्ने र बोक्नुपर्ने सामानहरू यी हुन्:+ २५ वासस्थानका कपडाहरू,+ भेट हुने पाल, त्यसमाथि भएको कपडा र सबैभन्दा माथि भएको सिलको छालाको पाल,+ भेट हुने पालको प्रवेशद्वारको पर्दा,+ २६ वासस्थानलाई चारैतिरबाट बारेका आँगनका पालहरू,+ वासस्थान र वेदीको चारैतिर भएको चोकमा छिर्ने प्रवेशद्वारको पर्दा,+ पालको डोरी अनि यी कुराहरूसित सम्बन्धित सबै सरसामान। यो नै तिनीहरूलाई दिइएको जिम्मेवारी हो। २७ गेर्सोनीहरूले+ गर्ने काम र तिनीहरूले बोक्ने सामानको निगरानी हारुन र तिनका छोराहरूले गरून्। यी कामहरूको जिम्मा तिनीहरूलाई सुम्पनू। २८ भेट हुने पालमा गेर्सोनको घरानाले गर्नुपर्ने काम यी नै हुन्+ अनि तिनीहरूले पुजारी हारुनका छोरा इथामारको निर्देशनबमोजिम आफ्नो जिम्मेवारी पूरा गरून्।+
२९ “मरारिका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार दर्ता गर। ३० भेट हुने पालमा सेवा गर्ने मरारिका सन्तानका ३० देखि ५० वर्षसम्मका पुरुषहरूको नाम दर्ता गर्नू। ३१ भेट हुने पालमा चढाइने सेवासित सम्बन्धित यी सरसामानहरू बोक्ने जिम्मेवारी तिनीहरूको हो:+ वासस्थानको चौकोस,+ डन्डी,+ खामा+ र त्यसका चूलघरहरू;*+ ३२ चोकको चारैतिरका खामा+ र त्यसका चौकोहरू,*+ पालको किला+ र डोरीहरू अनि यीसित सम्बन्धित सबै सरसामान। तिनीहरूले यी सामानसित सम्बन्धित सबै सेवा चढाऊन्। प्रत्येकले के-के बोक्नुपर्ने हो, सो तिनीहरूलाई अह्राउनू। ३३ भेट हुने पालमा मरारिको घरानाले+ गर्नुपर्ने काम यी नै हुन् अनि तिनीहरूले पुजारी हारुनका छोरा इथामारको निर्देशनबमोजिम आफ्नो जिम्मेवारी पूरा गरून्।”+
३४ तब मोसा, हारुन र इस्राएलका नाइकेहरूले+ कोहातका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार दर्ता गरे। ३५ तिनीहरूले भेट हुने पालमा सेवा गर्ने ३० देखि ५० वर्षसम्मका कोहाती पुरुषहरूको गन्ती गरे।+ ३६ तिनीहरूको घरानाअनुसार नाम दर्ता गरिएका पुरुषहरूको जम्मा सङ्ख्या २ हजार ७ सय ५० थियो।+ ३७ नाम दर्ता गरिएका कोहातीहरूको घराना यी नै हुन्, जो भेट हुने पालमा सेवा गर्थे। यहोवा परमेश्वरले मोसामार्फत आज्ञा गर्नुभएबमोजिमै मोसा र हारुनले तिनीहरूको नाम दर्ता गरे।+
३८ गेर्सोनका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार दर्ता गरियो। ३९ भेट हुने पालमा सेवा गर्ने ३० देखि ५० वर्षसम्मका गेर्सोनी पुरुषहरूको नाम दर्ता गरियो। ४० तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार नाम दर्ता गरिएका पुरुषहरूको जम्मा सङ्ख्या २ हजार ६ सय ३० थियो।+ ४१ नाम दर्ता गरिएका गेर्सोनीहरूका घराना यी नै हुन्, जो भेट हुने पालमा सेवा गर्थे। यहोवा परमेश्वरले आज्ञा गर्नुभएबमोजिमै मोसा र हारुनले तिनीहरूको नाम दर्ता गरे।+
४२ मरारिका सन्तानको नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार दर्ता गरियो। ४३ भेट हुने पालमा सेवा गर्ने मरारिका सन्तानका ३० देखि ५० वर्षसम्मका पुरुषहरूको गन्ती गरियो।+ ४४ तिनीहरूको घरानाअनुसार नाम दर्ता गरिएका पुरुषहरूको जम्मा सङ्ख्या ३ हजार २ सय थियो।+ ४५ यहोवा परमेश्वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै मोसा र हारुनले नाम दर्ता गरेका मरारिका घराना यी नै हुन्।+
४६ मोसा, हारुन र इस्राएलका कुलनायकहरूले यी सबै लेवीको नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार दर्ता गरे। ४७ तिनीहरू ३० देखि ५० वर्षसम्मका थिए अनि तिनीहरूलाई भेट हुने पालमा सेवा गर्ने र त्यहाँका सामानहरू बोक्ने जिम्मा दिइयो।+ ४८ नाम दर्ता गरिएका पुरुषहरूको जम्मा सङ्ख्या ८ हजार ५ सय ८० थियो।+ ४९ यहोवा परमेश्वरले मोसामार्फत आज्ञा गर्नुभएबमोजिमै तिनीहरूको नाम दर्ता गरियो अनि तिनीहरू प्रत्येकले गर्नुपर्ने सेवा र बोक्नुपर्ने सामान तोकियो। यहोवा परमेश्वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै तिनीहरूको नाम दर्ता गरियो।