अनन्त जीवनको आशा दिने मृत्युको उत्सव मनाउनु
१ अप्रिल ६, १९९३-का दिन सुर्यास्तपछि हामी जीवनको मुख्य कर्ताको मृत्युको उत्सव मनाउनेछौं। (प्रेरित ३:१५) निस्सन्देह येशू ख्रीष्टको जीवन र मृत्युको सम्झना गर्नु अति सुहाँउदो कुरो हो। आखिरमा, सधैंभरि बाँच्ने हाम्रो आशा येशूको बगेको रगतमा निर्भर गर्दछ।
२ यहोवाको उद्देश्य पूरा गर्नमा ख्रीष्टको मृत्युको कति महत्त्व छ भन्ने कुरालाई स्मरणार्थले जोड दिन्छ। त्यस उद्देश्यमा आदमका सन्तानलाई पापबाट छुटकारा दिन चाहिने सिद्ध मानिसको बलिदानको प्रबन्ध गर्ने कुरापनि सामेल छ जसले गर्दा करोडौं मानिसहरूका लागि विश्वास गर्न र प्रमोदवनरूपी पृथ्वीमा अनन्तकालसम्म बाँच्न सम्भव भएको छ।—यूहन्ना ३:१६.
३ येशूको आज्ञा पालन गर्नका निम्ति सत्य र जीवनका सबै प्रेमीहरू प्रभुको साँझको भोज मनाउन उत्सुक हुन्छन्। (लूका २२:१९) ख्रीष्टको छुटकाराको बलिदानको प्रबन्धप्रति मूल्याङ्कन प्रकट गर्न हामी व्यक्तिगत रूपमा के गर्नसक्छौं? यस उत्सवको महत्त्वलाई स्वीकार्ने हो भने यसको राम्रो व्यवस्था गर्नु अति आवश्यक छ। यस विशेष अवसरका लागि तपाईंले के तयारीहरू गर्दै हुनुहुन्छ?
४ पूर्व तयारी आवश्यक छ: अवश्य पनि, परिवारका सबै सदस्यहरू उपस्थित हुनेछन् भनेर हामी निश्चित गर्नेछौं। यसबाहेक ११९३ पात्रो मा अप्रिल १-६ का लागि दिएका बाइबलका परिच्छेदहरूलाई पढेर र मनन गरेर हामीले आफूलाई मानसिक रूपमा तयार राख्ने कोसिस गर्नुपर्छ। अप्रिल ६ भन्दा अघि गरिने हाम्रो व्यक्तिगत र पारिवारीक बाइबल अध्ययनमा स्मरणार्थको महत्त्व सम्बन्धी जानकारीहरूलाई समावेश गर्नु पनि उपयुक्त हुनेछ। स्मरणार्थ उत्सवका दिन चाँडै उपस्थित हुने र समापन पछि पनि केही क्षण बस्ने योजना बनाउनुहोस्। यसो गर्नुभयो भने पहिलो पटक शायद उपस्थित भएका नयाँ व्यक्तिहरूलाई तपाईंले स्वागत गर्न पाउनुहुनेछ।
५ चासो देखाउने तपाईंले चिनेजति सबै व्यक्तिहरूलाई एक हप्ता अगाडि नै यस उत्सवका लागि आमन्त्रण गर्नुहोस्। मण्डलीलाई वर्षको एकपटक पठाइने फारमहरू सँगसँगै छापिएका निमन्त्रण पत्र पनि पठाइसकिएको छ। यी निमन्त्रण पत्रहरूलाई चलाउँदा, चाख देखाउने व्यक्तिहरूलाई स्थानिय मण्डलीको ठेगाना र समय बताउन नुभुल्नुहोस्। तपाईंले बोलाउने इच्छा गर्नुभएका व्यक्तिहरूको एउटा सूची बनाउनुहोस्। उपस्थित हुन चाहने सबैजनासँग के यातायातको सुविधा छ? यदि छैन भने, तिनीहरूलाई मदत गर्न तपाईंले के गर्न सक्नुहुन्छ? उदाहरणका लागि यदि तपाईंको गाडीमा खाली ठाउँ छ भने कसैलाई लैजान वा पुऱ्याउन परेको छ कि भनेर प्राचीनहरूलाई किन सोध्नुहुन्न?
६ वर्षको सबैभन्दा महत्त्वपूर्ण उत्सव र ठूलो भीड जम्मा हुन सक्ने भएकोले प्राचीनहरूले विशेष पूर्वतयारी गर्नु आवश्यक पर्नेछ। (१ कोरि० १४:४०) उत्सवका दिन हात बटाउने भाइहरूसँग अप्रिल ६ भन्दा त्यस्तै एक हप्ताजति अघि प्राचीनहरूले विशेष भेट गर्नेछन् र कुर्सीहरूको व्यवस्था कसरी गर्ने र प्रतीकहरूलाई कसरी बाँड्ने भन्ने कुरालाई तिनीहरूले राम्रोसँग बुझेका छन् कि छैनन् भनेर निश्चित गर्नेछन्। यदि तपाईंलाई उत्सवको दिन परिचारक वा प्रतीक टक्य्राउने व्यक्तिको रूपमा खटाइएको छ भने यस सम्बन्धमा प्राचीनहरूले दिएको निर्देशनलाई कसरी पालन गर्नुपर्ने हो राम्ररी बुझिराख्नुहोस्। प्राचीनहरूले पृष्ठ ७-को पेटीमा उल्लेख गरिएका याद गर्नुपर्ने कुराहरूलाई जाँचेर परिचारकहरू, प्रतीक टक्य्राउने व्यक्तिहरू, प्रतीक र वक्ताका लागि समयमा पहिलेनै सबै प्रबन्धहरू गरिएका छन् कि छैनन् भनेर निश्चित गर्नसक्छन्।
७ ख्रीष्टका भाइहरूमध्ये केहीमात्र आज पृथ्वीमा बाँकी छन् र प्रभुको साँझको भोजको समारोह मनाउन पाउने समय पनि थोरै नै छ। (१ कोरि० ११:२५, २६) त्यसकारण जबसम्म हामीले यो उत्सव मनाउने सौभाग्य पाँउछौं तबसम्म अनन्त जीवनको आशा दिने मृत्युको यस उत्सवलाई हामी सुहाँउदो ढङ्गमा मनाइ नै रहौं।