सही निर्देशन प्रदान गर्ने पुस्तक
१ बिगत शताब्दीको दौडान संसार अद्भुत रूपले परिवर्तित भएको छ। संचार, औषधी, र यातायातको क्षेत्रमा प्रगतिहरू भए तापनि पारिवारिक जीवनको गुणस्तर घट्दै गएको छ। लाखौं मानिसहरू बदलिंदो मानव दर्शन-शास्त्रअनुसार हिंड्न रुचाउँछन्।
२ तीब्रगतिले बदलिंदो यस संसारमा (१ कोरि० ७:३१ सङ्ग तुलना गर्नुहोस्) यहोवाका जनहरूले उहाँको वचनमाथि टिकेर धेरै नै लाभ उठाएका छन्। हजारौं वर्षदेखि बाइबल अपरिवर्तनीय रहेको छ। आज जुन समस्याको सामना हामी गर्दछौं त्यससङ्ग जुझ्न बाइबलका सल्लाहहरू अझ पनि व्यावहारिक नै छन्। हाम्रो आधुनिक जमानाका लागि बाइबलले सही निर्देशन प्रदान गर्दछ भन्ने कुराको मूल्याङ्कन गर्न चासो देखाउने व्यक्तिहरूलाई हामीले कसरी मदत गर्न सक्छौं?
३ प्रथम भेटमा यदि “तपाईंले बाइबलमाथि किन विश्वास गर्न सक्नुहुन्छ” भन्ने पर्चा तपाईंले छाड्नु भएको थियो भने फर्किएर गएर तपाईं यसो भन्न सक्नुहुन्छ:
◼ “बाइबल परमेश्वर स्वयंबाट आएको सन्देश हो र यसमा हामीले विश्वास गऱ्यौं र यसअनुसार जीवन बितायौं भने अनन्त जीवन पाउने छौं भनी बाइबलले स्पष्टसङ्ग भन्छ। अतः यसबारे अझ जानकारी प्राप्त गर्नु उचित न होला र? तपाईंको के विचार छ? [जवाफलाई पर्खिनुहोस्] वर्त्तमान रीतिरिवाजबारे बाइबलले कस्तो भविष्यवाणी गरेको छ, यहाँ हेर्नुहोस्। (पर्चाको पाना ५बाट सौझै २ तिमोथी ३:१-५ पढ्नुहोस्] के यो वर्णन आजको संसारको स्थितिसित मिल्छ? तपाईंलाई कस्तो लाग्छ? भविष्यमा असल स्थितिको आशा गर्न सकिने के कुनै ठोस कारण छ?” पर्चाका आखिरी दुई अनुच्छेदहरू वा द बाइबल—गड्स वर्ड अर म्यान्स पुस्तकको पाना १६१-मा भएको विषयलाई छलफल गर्दै पुनःभेटका लागि एउटा आधार बसाल्न सक्नुहुन्छ। साथै बाइबलले मानवजातिको सामुन्ने कस्तो अद्भुत आशा राखेको छ, सो कुरा माथि जोड दिनुहोस्।
४ बाइबलको व्यावहारिकतामाथि घरधनीले चासो व्यक्त गर्दा तपाईंले “द बाइबल—गड्स वर्ड अर म्यान्स” पुस्तकको १२ अध्यायबाट खास-खास बुँदाहरू देखाउनु भएको थियो भने चाहिं यसो भन्न सक्नुहुन्छ:
◼ “हाम्रा लागि आज जुन कुराहरू व्यावहारिक छन् ती कुराहरू मै हामी चासो लिने गर्छौं, होइन र? युद्धलाई अन्त गर्नु एउटा व्यावहारिक कुरा हो भनी के तपाईं सहमत हुनुहुन्छ? [जवाफलाई पर्खिनुहोस्] मानिसहरूले अन्य राष्ट्रहरूका मानिसहरूसित शान्तिसाथ मिलेर बस्न सिकेमा यो एउटा राम्रो सुरुआत हुने थियो, होइन र? [प्रतिक्रियालाई पर्खिनुहोस्] यस्तै हुनेछ भनेर बाइबलले भविष्यवाणी गरेको छ। [यशैया २:२, ३ पढ्नुहोस्] यो कहिले र कसरी हुनेछ भनेर के तपाईंले कहिले सोच्नु भएको छ?” यसबारे घरधनीको सुबिधामा फेरि पछि तपाईं छलफल गर्न चाहनु हुन्छ भनी बताउनु होस्।
५ तपाईंले न्यु वर्ल्ड ट्रान्सलेशन छाड्नु भएको थियो भने तपाईं फर्की आएर यसो भन्न सक्नुहुन्छ:
◼ “मैले तपाईंसँग छाडेको बाइबल पढ्नु हुँदा त्यसमा सर्वत्र परमेश्वरको व्यक्तिगत नाउँ प्रयोग गरेको देख्नु भयो होला। यो एउटा महत्त्वपूर्ण विशेषता हो जुन धेरै बाइबल अनुवादहरूमा पाउनु हुनेछैन। सायद, यहोवा नाउँ प्रयोग गर्न थुप्रै मानिसहरू हिचकिचाउछन्। तर धेरै समयअघि नै यहोवाले आफ्नो नाउँ प्रकट गर्नु भएको थियो र आफ्ना सेवकहरूले उहाँलाई साँचो र जीवित परमेश्वरको रूपमा चिन्न सकून् भनेर तिनीहरूलाई त्यो नाउँ प्रयोग गर्ने प्रोत्साहन पनि दिनु भएको थियो। यहाँ हेर्नुहोस्, भजनसंग्रह ८३:१८-मा भजनरचयिताले के लेखेका छन्।” त्यो शास्त्र-पद पढ्नुहोस् र घरधनीलाई टिप्पणी गर्ने मौका दिनुहोस्। घरधनीले व्यक्त गरेको चासो अनुसार रिजनिङ्ग पुस्तकमा “यहोवा” शीर्षकअन्तर्गत, १९१ पानादेखि उप्रान्त पाइने थप विषयवस्तु प्रयोग गर्नुहोस्।
६ मानिसलाई चाहिएको निर्देशन बाइबलले मात्र प्रदान गर्दछ। (यर्मि० १०:२३) परमेश्वरको वचन अध्ययन गरेर मात्र उहाँका उद्देश्यहरूबारे सिक्न र उहाँको अनुग्रह प्राप्त गर्न सकिन्छ। यसकारण यसको बुद्धिमत्तापूर्ण र व्यावहारिक सल्लाहबाट लाभ उठाउन अरूहरूलाई पनि आमन्त्रित गरौं।