प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 फेब्रुअरी pp. ३-६
  • १९९५ जिल्ला सम्मेलन सरलीकरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १९९५ जिल्ला सम्मेलन सरलीकरण
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • १९९७ “परमेश्‍वरको वचनमा विश्‍वास” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९७
  • १९९५ “आनन्दित प्रशंसकहरू” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९५
  • सन्‌ १९९९ “परमेश्‍वरको भविष्यसूचक वचन” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९९
  • १९९६ “ईश्‍वरीय शान्तिका सन्देशवाहकहरू” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९५
km95 फेब्रुअरी pp. ३-६

१९९५ जिल्ला सम्मेलन सरलीकरण

१ मण्डलीका सभाहरू होस्‌ वा क्षेत्रीय सम्मेलन, विशेष सम्मेलन दिन होस्‌ वा जिल्ला सम्मेलन नै होस्‌, आध्यात्मिक भोजहरूमा उपस्थित हुन पाउनु कति रोमाञ्चकारी छ! किन? किनभने त्यस्ता अवसरहरूमा ईश्‍वरभीरु मानिसहरूसँग स्फूर्तिदायी संगत गर्न पाउनुको साथसाथै हामीलाई अझ महत्त्वपूर्ण कुराहरू स्मरण गराइन्छ।

२ हालका वर्षहरूमा हजारौं मानिसहरू त्यस्ता आध्यात्मिक जमघटतर्फ आकर्षित भएका छन्‌ र यो क्रम बढ्‌दो छ। सन्‌ १९८५ देखि १९९४ बीच सारा संसारभरि मण्डलीहरूको संख्यामा ५० प्रतिशत वृद्धि भएर ४९,७१६ बाट ७५,५७३ पुगेको छ। यसरी जम्मा गर्ने कामलाई यहोवाले वृद्धि गर्दै लानु हुँदा जिल्ला सम्मेलन र क्षेत्रीय सम्मेलनहरूको संख्या पनि स्वतः वृद्धि हुन्छ। (यशै. ६०:२२) संयुक्‍त राज्य शाखा क्षेत्रमा सन्‌ १९८५ मा ११३ सम्मेलनहरू भएका थिए भने सन्‌ १९९४ मा १६८ सम्मेलनहरू भएका थिए। यस क्षेत्रको आँकडालाई मात्र हेर्ने हो भने पनि मण्डलीहरूको संख्यामा कति ठूलो वृद्धि भएछ भनेर देख्न सकिन्छ। बढ्‌दो मण्डलीहरूको संख्याले गर्दा सम्मेलनहरूको प्रबन्ध र तयारी गर्ने काम पनि बढेको छ। यस्ता भोजहरूका लागि तयार पारिएका आध्यात्मिक कार्यक्रमहरूबाट लाभ उठाउन हामी भेला हुने हुँदा सकेसम्म कम भौतिक आवश्‍यकताहरू पूरा गर्ने प्रबन्ध मिलाउनु बुद्धिमानी देखिन्छ।

३ यहोवाका आशिष्‌हरूका परिणामहरूले चुनौती खडा गर्छ र हामीले त्यसको सामना गर्नैपर्छ। त्यस्तो चुनौतीको सामना गर्न यहोवाले आफ्ना जनहरूलाई आवश्‍यक बुद्धि र समझशक्‍तिको आत्मा दिनु भएकोमा हामी खुशी छौं। यहोवाको उद्देश्‍यलाई अद्‌भुत ढंगमा पूरा गर्न येशू ख्रीष्टले विश्‍वासी र बुद्धिमान दासद्वारा कुशलतापूर्वक कामकुरालाई अघि बढाइ रहनुभएको छ भनेर हामी सहमत हुनै पर्छ। (मत्ती २४:४५-४७; कल. १:९, १०) डिसेम्बर महिनाको हाम्रो राज्य सेवकाई-मा यस्तो घोषणा गरिएको थियो: “सन्‌ १९९५ मा हुने जिल्ला सम्मेलन र सेप्टेम्बर १९९५ देखि सुरु हुने क्षेत्रीय सम्मेलन तथा विशेष सम्मेलन दिनहरूदेखि भोजन सेवा उपलब्ध हुनेछैन। हरेकले आ-आफ्नो भोजन-पानी ल्याउनु पर्छ।” अगस्त १९९५ देखि क्षेत्रीय सम्मेलन तथा विशेष सम्मेलन दिनहरू भोजन सेवामा गरिएको यस सरलीकरणअनुरूप चल्नेछन्‌। यस घोषणाको सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। यस परिवर्तन कसरी फायदाजनक हुनेछ भनेर जान्‍न शायद तपाईं उत्सुक हुनुहुन्छ होला। हालका वर्षहरूमा गरिएका निम्न संशोधनहरूको पुनरावृत्ति गर्दा शायद सम्मेलनसम्बन्धी कामहरूलाई सरल बनाएर हामीले के-कस्ता लाभहरू उठायौं त भनी राम्ररी सम्झना हुनसक्छ।

४ भोजन सेवा, स्वयं सेवा, आवास सेवाजस्ता स्तर निर्धारित तथा सरलीकृत जिल्ला सम्मेलन प्रबन्धहरू लागू गरिनअघि हजारौं स्थानीय भाइबहिनीहरूले सम्मेलनअघि निकै काम गर्नुपर्थ्यो। जीवन निर्वाह गर्न दिनहुँ हाम्रा भाइहरूले सामना गर्नुपर्ने दबाब तथा मागहरूका साथै हाम्रो संगठनको अनवरत वृद्धिले गर्दा सम्मेलनका कामहरूलाई सरल पार्न साँच्चै काँटछाँट गर्न आवश्‍यक थियो। यस बाहेक सन्‌ १९७८ तिर संयुक्‍त राज्यमा भोजन सेवा प्रक्रियालाई सरल बनाउँदा सभा सञ्चालन भइरहेको बेला भोजन तयार गर्ने काममा जुट्‌ने ७०,००० भन्दा बढी भाइबहिनीहरूले कार्यक्रम सुन्‍न पाए। त्यसपछि सन्‌ १९८७ को सम्मेलन र अर्को सेवा वर्षतिर सम्मेलन भवनहरूमा भोजन सेवासम्बन्धी थप सरलीकरण लागू गरियो। पछि ठूला र साना सम्मेलनहरूमा उपस्थित हुनेहरूलाई निश्‍शुल्क भोजन प्रबन्ध गरियो। यी राम्रा संशोधनहरूले कामलाई अझ हलुको बनाउनुका साथै सम्मेलनको आध्यात्मिक पक्षमा अझ ध्यान दिन पाइयो भने कामदारहरूले पनि अधिकांश कार्यक्रमहरू सुन्‍न र आनन्द उठाउन पाए। (व्यव. ३१:१२) हाम्रा माझ निष्ठावान सेवा चढाएको निकै वर्ष भइसकेका विश्‍वासी जनहरूले यी प्रगतिहरू राम्ररी सम्झेका छन्‌ र प्राप्त निर्देशनप्रति मूल्यांकन व्यक्‍त गरेका छन्‌। तर यी सरलीकृत प्रबन्धहरूलाई अझ सरल कसरी पार्न सकिन्छ?

५ सरल भोजनको तयारी र प्रबन्ध गरिंदै आएका वर्षहरूमा वास्तवमा ‘कम कुराहरू’ मात्र “आवश्‍यक” हुँदा रहेछन्‌ भन्‍ने देखियो। (लूका १०:३८-४२ तुलना गर्नुहोस्‌।) तथापि, उपस्थित सबैलाई भाग पुऱ्‍याउने हो भने ती कम वस्तुहरू मात्रै पनि ठूलो मात्रामा प्रबन्ध गर्नुपर्ने हुन्छ र त्यसका लागि थुप्रै काम र महंगा उपकरणहरू किन्‍नु पर्ने हुन्छ। यसको अलावा सम्पूर्ण प्रबन्धहरू मिलाउन र कार्यान्वयन गर्न ठूलो संख्यामा स्वयंसेवकहरू चाहिन्छ। खानेकुरा संचय र वितरण गर्ने ठाउँको प्रबन्ध गर्नुपऱ्‍यो। साथै कुनै कुनै शहरका स्वास्थ्य विभागले भोजन वितरणसम्बन्धी अचाक्ली नियमहरू बनाएका हुन्छन्‌ र यसले गर्दा जिम्मेवार भाइहरूले थप भार बोक्नु परेको छ। रेफ्रिजरेटर भएको सोसाइटीका थुप्रै ट्रकहरूमा खानेकुरा राखेर निकै टाढा पुऱ्‍याउनु परेको छ। यसले गर्दा सोसाइटीले ठूलो दायित्व बहन गर्नुपरेको छ। सामान ढुवानी गर्ने ती ट्रकहरूलाई मरम्मत गर्न, ठाउँमा राख्न र कहाँ कहाँ ओहोर-दोहोर गर्ने हो भनेर निश्‍चित गर्नुपर्ने हुन्छ र त्यसका लागि मेहनतका साथै समय तथा पैसा खर्च गर्नुपर्ने हुन्छ। अहिले गरिएको सरलीकरण लागू गर्दा सम्मेलनका लागि रेफ्रिजरेटर भएको ट्रक प्रयोगमा ल्याउनु पर्ने छैन। यस बाहेक, थुप्रै भाइहरूले यी उपकरण मरम्मत गर्ने झर-झमेलाबाट मुक्‍ति पाउनेछन्‌।

६ यी सम्बन्धित क्षेत्रहरूमा स्वयंसेवकको रूपमा स्वेच्छापूर्वक काम गर्ने व्यक्‍तिहरूको सेवा अनमोल छ र हामी त्यसको ठूलो मूल्यांकन गर्छौं। तथापि, यस थप सरलीकरण लागू गर्दा स्याहार सम्भार गर्ने, ट्रक चलाउने र साथै किन्‍ने, ढुवानी गर्ने, तयारी गर्ने र भोजन बाँड्‌ने हजारौं व्यक्‍तिहरूले सम्मेलनमा अझ बढी संगतिको आनन्द उठाउनु लगायत राज्यसम्बन्धी अन्य गतिविधिहरूमा समय बिताउन सक्नेछन्‌। भोजन सेवामा काम गर्ने स्वयंसेवकहरूले अब परिचारक र सफाइजस्ता अन्य विभागहरूमा सहयोग पुऱ्‍याउन सक्छन्‌। यसो गर्दा कसैलाई कामको भार पर्ने छैन र भोजन सेवामा जस्तो धेरै व्यक्‍तिहरूले राती अबेरसम्म, बिहान सबेरै अथवा सभाहरू सञ्चालन भइरहेको बेला काम गर्नुपर्ने छैन।

७ तपाईं भाइबहिनीहरूले वर्षौंदेखि भोजन सेवा लगायत सम्मेलनसम्बन्धी अन्य प्रबन्धहरूलाई “राजी-खुशीसित” दिएको राम्रो सहयोगको सोसाइटीले मूल्यांकन गर्छ। (१ इति. २९:९) यसले थुप्रै ढंगमा मदत पुऱ्‍याएको छ। यसले गर्दा राम्रा भवनहरू भाडामा लिन र सम्मेलनका खर्चहरू टार्न सम्भव भएको छ। दिउँसो छोटो मध्यान्तरमा सजिलै भोजन प्राप्त गर्न र स्फूर्ति प्राप्त गरेर पुनः आध्यात्मिक कार्यक्रमका लागि उपस्थित हुन सम्मेलन धाउने सबैलाई सम्मेलन थलोमै रहन यसले सम्भव बनाएको छ। अनि यस्ता प्रबन्धहरूका लागि चन्दा दिन हाम्रा भाइबहिनीहरूले देखाएको उदारता र समर्थन निस्सन्देह कायम रहनेछ। वास्तवमा त्यो तिनीहरूको मूल्यांकनको व्यवहारिक अभिव्यक्‍ति साबित भएको छ।—हितो. ११:२५; लूका १६:९.

८ तथापि, थप काँटछाँट गर्दा व्यक्‍तिविशेष र परिवारहरूले दिउँसो मध्यान्तरमा आफूलाई चाहिने मात्र खाजाको प्रबन्ध गर्न आवश्‍यक पर्नेछ। आध्यात्मिक कार्यक्रमबाट हुने लाभलाई हामी ठूलो मोलको सम्झन्छौं। शारीरिक भोजनलाई अनावश्‍यक महत्त्व दिनु बुद्धिमानी हुनेछैन। यस सम्बन्धमा प्रत्येकले “अझ महत्त्वपूर्ण कुरा के हो भनी जान्‍न” अत्यावश्‍यक छ। (फिलि. १:९, १०क न्युव) हालसालै पोल्याण्ड, रूस र युक्रेनका साथै पश्‍चिम युरोपका केही भागहरूमा कुनै भोजन सेवाको प्रबन्धबिना यहोवाका साक्षीहरूको ठूल-ठूला सम्मेलनहरू सफलतापूर्वक सम्पन्‍न भएका थिए। साथै यस मुलुकका केही क्षेत्रहरूमा स्थानीय परिस्थितिले गर्दा भोजन सेवाबिना सम्मेलनहरू तथा विशेष सम्मेलन दिन कार्यक्रमहरू सम्पन्‍न भएका थिए। यी सबै सम्मेलनहरूमा प्रतिनिधिहरूले दिउँसोको खाजा आफै ल्याएका थिए। हलका खाजा ल्याउँदा त्यसले हामीलाई जागा रहन र अपरान्हको कार्यक्रमबाट अझ बढी लाभ उठाउन मदत गर्दो रहेछ भनेर हामीले थाहा पाउनेछौं। यसअनुरूप सबैले साधारण र पौष्टिक भोजन सम्मेलनमा ल्याउनुपर्छ। उदाहरणको लागि, येशूले भीडलाई खुवाउनु हुँदा रोटी र माछा गरी जम्मा दुई थोक मात्र दिनुभएको थियो। (मत्ती १४:१६-२०; लूका १०:४२क पनि हेर्नुहोस्‌।) दिउँसोपखको छोटो मध्यान्तर र हामीसँग भएको सुविधाहरूलाई ध्यानमा राख्दै यस सम्बन्धमा के-के गर्न सक्छौं, त्यसबारे हामी केही सुझावहरू दिन चाहन्छौं।

९ सम्मेलनमा कुनै भोजन सेवा उपलब्ध नहुने हुँदा उपस्थित सबैले राम्रो योजना बनाएमा घरैमा वा स्थानीय भोजनालयहरूमा बिहानको चिया-चमेना गर्न सक्छन्‌। राती चाँडै सुतेमा बिहान सबेरै उठेर आवश्‍यक चिया-चमेना गर्न र सम्मेलनमा पर्याप्त समय अगावै आएर अन्य प्रतिनिधिहरूको संगतिबाट आनन्द उठाउन सम्भव हुनु पर्ने हो। यस नयाँ प्रबन्धको अर्को फाइदा भोजन सेवामा काम गर्ने स्वयंसेवकहरू तथा तिनीहरूका परिवारका लागि बिहान सबेरै सम्मेलनको ढोका खोल्न कसैलाई अह्राउन पर्ने छैन। विशेष कामवश चाँडै प्रवेश गर्नुपर्ने व्यक्‍तिहरू बाहेक बाँकि सबै प्रतिनिधिका लागि बिहान ८:०० बजे सम्मेलन भवनको ढोका खोलिनेछ। आइन्दा सम्मेलनमा बस्ने ठाउँ खोज्न पहिले जस्तो हतार हतार भवनभित्र प्रवेश गर्नुपर्ने छैन। किनकि अनुमानित भीडका लागि पर्याप्त बस्ने ठाउँको योजना बनाइ सकिएको छ।

१० अपरान्हको मध्यान्तर पूर्व सम्मेलनहरूमा भन्दा छोटो हुनेछ। तथापि, अपरान्हको कार्यक्रमका लागि तयार हुन केही हलका भोजन लिनका साथै अरूसँग केही बेर कुराकानी गर्न त्यो समय पर्याप्त हुनेछ। सम्मेलन शहर वा वरपर बस्ने र दिनहुँ साँझ घर फर्कने हाम्रा भाइबहिनीहरूलाई अपरान्ह मध्यान्तरका निम्ति सबै परिवारका लागि अलिकता खाजा तयार पारेर लैजान गाह्रो पर्ने छैन। वास्तवमा स्कूल जाने केटाकेटीहरूले पनि त्यस्तै खाजा लाने गर्छन्‌। शायद कसैले स्याण्डवीच, एक टुक्रा फलफूल, बिस्कुट र केही पेय पदार्थ लग्लान्‌। थुप्रै मानिसहरूले आ-आफ्नो काम गर्ने ठाउँमा त्यस्तै खाजा लाने गर्छन्‌।

११ निस्सन्देह सम्मेलन शहरबाहिर अन्य ठाउँहरूबाट आउने व्यक्‍तिहरूका लागि यो एउटा चुनौती हुनसक्छ र दिउँसोको खाजाका लागि पूर्वतयारी गर्न आवश्‍यक हुनसक्छ। शायद तपाईंसँगै यात्रा गर्नेहरूका लागि घरैबाट कागज वा कपडाको सानो रुमाल र प्रयोगमा ल्याइसकेपछि फ्याँक्न हुने गिलासजस्ता सामग्रीहरू ल्याउन सक्नुहुन्छ होला। कसै-कसैलाई ताजा फलफूल अथवा हरियो सागपातको हलका खाजा पर्याप्त लाग्न सक्छ र यी कुराहरू पनि घरबाट ल्याउन सकिन्छ। दिउँसो मध्यान्तरका लागि चाहिने अन्य भोजनहरू सम्मेलन शहरको स्थानीय किराना पसलबाट किन्‍न सकिन्छ। निस्सन्देह, होटेल वा सरायहरूमा बस्ने व्यक्‍तिहरूले आफ्नो लागि ठूलो मात्रामा खानेकुरा जम्मा गर्न सम्भव हुनेछैन भनेर हामी मानि लिन्छौं।

१२ स्मरण रहोस्‌, पकाउनको लागि भिन्‍नै स्थान छुटाएको छैन भने कृपया होटेलका कोठाहरूमा नपकाउनुहोस्‌। त्यसो गर्नु खतरनाक र गैरकानुनी मात्र नभई कोठामा भएको फर्निचरहरूमा दाग र कालो चिल्लो लागेर बिग्रन सक्छन्‌। त्यसो गर्दा दुई-तीन दिनसम्म पनि जाँदै नजाने गन्ध कोठाभरि फैलन सक्छ। फलतः कोठाको सरसफाइ गर्न र दुर्गन्ध हटाउन पैसा खर्च र काम नगरी होटेललाई त्यो कोठा भाडामा दिन गाह्रो हुन्छ। त्यसैकारण, काजु, बदाम, सुकाएका फलफूल र बिस्कुटजस्ता चाँडै बिग्रेर नजाने खानेकुरा अथवा पाउरोटी, रोल वा पफजस्ता बेक गरिएका खानेकुराहरू रोज्नु बेस हुनसक्छ। स्याण्डवीचजस्ता भोजन सामग्री खान मन परेमा तपाईंले तयारी भोजन पाइने पसलमा ती सामग्रीहरू भेटाउन सक्नुहुन्छ। पहिले पकाइसकेका यस्ता भोजनहरू खरीद गरेमा होटेलको कोठा वा गाडीमा पकाउनु पर्ने छैन। शायद कसै-कसैले आफूले बिहानको चिया-चमेना गर्ने गरेको रेष्टुराँमा त्यस्ता स्याण्डवीच तयार गर्ने व्यवस्था मिलाउन सक्छन्‌।

१३ वास्तवमा सम्मेलनको दौडान सम्मेलन भवन र ठूलो राज्य भवनमा केही हदसम्म कुनै भिन्‍नता नहुने हुँदा दिउँसो मध्यान्तरमा पिकनिक जस्तो वातावरण नबनाउनु बुद्धिमानी हुनेछ। र जसरी हामी राज्य भवनमा सभा चलिरहेको बेला केही खाँदैनौं, त्यसरी नै सम्मेलनमा सभा सञ्चालन भइरहेको बेला हामीले केही खाने वा पिउने गर्नु हुँदैन। कृपया पिकनिकमा लैजाने ठूलो भाँडा नल्याउनुहोस्‌, त्यसले हानि पुऱ्‍याउन सक्छ र भवनभित्र जाने बाटो छेक्न सक्छ; त्यस्ता भाँडाहरूलाई मेचमाथि राख्नु हुँदैन। दिउँसो मध्यान्तरमा हामीलाई चाहिने हलका खाजा राख्न ठूलो झोला वा कागजको झोला ठिक्क हुनसक्छ। आवश्‍यक परेमा खानेकुरा राख्ने सानो भाँडा ल्याउन सकिन्छ तर त्यो मेचमुनि राख्न मिल्ने हुनुपर्छ।

१४ सम्मेलन थलोमा ल्याइने पेय पदार्थका भाँडाहरूको सम्बन्धमा पनि होश पुऱ्‍याउनु आवश्‍यक छ। तातो पेय पदार्थ थर्मसहरूमा ल्याउन सकिन्छ। काँचका भाँडाहरू प्रयोग गर्नु खतरापूर्ण हुनसक्छ। थुप्रै सभा भवनहरूले यिनीहरूको प्रयोगमा समेत प्रतिबन्ध लगाएका छन्‌। त्यसैकारण भवनभित्र काँचका भाँडाहरू नल्याउन हामी तपाईंहरूलाई निवेदन गर्छौं। तपाईंलाई मनपर्ने चिसो पेय पदार्थ प्लास्टिक वा आल्मुनियमको भाँडामा किन्‍न पाइंदैन भने आफ्नो सिटमुनि अटाउने खालको सानो नफुट्‌ने भाँडामा ल्याउनु बेस हुनेछ।

१५ यसप्रकारका संशोधित प्रबन्धहरू मिलाउनुमा हामी साँच्चै बुद्धिमानी देख्न सक्छौं। यसो गऱ्‍यौं भने सम्मेलनमा भेला हुनुको वास्तविक उद्देश्‍य पूरा गर्न अर्थात्‌ आध्यात्मिक लाभहरू प्राप्त गर्न सबैले आफ्नो सम्पूर्ण ध्यान लगाउन सक्नेछन्‌। हामीले आनन्द उठाउने संगति र कार्यक्रमबाट यसप्रकारका लाभहरू प्राप्त हुन्छन्‌। अतः दिउँसो मध्यान्तरमा खाजा खोज्न सम्मेलन थलो छोडेर हिंड्‌नुको साटो आफैसित केही खानेकुराहरू लिएर आउनु कति लाभकारी हुनेछ। यसो गऱ्‍यौं भने हाम्रा भाइबहिनीहरूसितको संगतिबाट आनन्द उठाउनेछौं र अपरान्हको कुनै पनि कार्यक्रम छुट्‌ने छैन।

१६ अपरान्हको कार्यक्रमबाट आध्यात्मिक तवरमा स्फूर्ति प्राप्त गरिसकेपछि पनि कसै कसैलाई स्थानीय भोजनालयमा परिवार र मित्रहरूसित बसेर ठोस भोजन खाँदै मसीही संगति र सिकेका असल कुराहरूबारे वार्तालाप गरेर आनन्द उठाउन मन पर्ला। अरू कसैले भने किराना पसल वा तयारी भोजन पाइने पसलहरूबाट केही खानेकुरा किन्लान्‌। आफ्नै घर पुग्न सक्नेहरूले चाहिं अरू दिनमा काम वा क्षेत्र सेवकाईबाट फर्के जस्तै घरैमा खाना खान रुचाउँलान्‌।

१७ यी सम्मेलनहरूमा पाइने नयाँ साहित्यहरू, असल शिक्षा तथा व्यवहारिक सल्लाहले युक्‍त आध्यात्मिक भोजबाट हामी साँच्चै आनन्द उठाउँछौं। परमेश्‍वरका जनहरू भेला भएको ठाउँमा आफू पनि हुन पाउनुको आनन्द लगायत यी आशिष्‌हरू सबैले सम्झनेछन्‌। हितोपदेश १०:२२ यसो भन्छ: “परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ, उहाँले तीसित दुःख पठाउनुहुन्‍न।” किनभने यहोवाका जनहरूको हैसियतमा हामी भौतिक चाहना तथा सुविधाहरूलाई मनमा राखेर सम्मेलनहरूमा उपस्थित हुँदैनौं। आध्यात्मिक तवरमा यथासम्भव भरपूर लाभ उठाउने सकारात्मक इच्छा संगालेर हामी सम्मेलनहरू धाउँछौं र हामीले प्रदर्शन गरेको आत्माप्रति यहोवाले प्रचुर आशिष्‌हरू दिनुहुनेछ।—१ तिमो. ६:६-८; हिब्रू ११:६.

१८ यी प्रोत्साहनदायी अवसरहरूले हामीलाई आध्यात्मिक कटनीमा भइरहेको प्रगतिको पनि सम्झना गराउँछ। (यूह. ४:३५, ३६) यशैया ५४ अध्यायका प्रारम्भिक शब्दहरूले यहोवाको पत्नीरूपी संगठनलाई आनन्ददायी वृद्धिको लागि तयार हुन आह्वान गरेको छ। यशैयाको भविष्यवाणीअनुसार अझ ठूलो प्रगति, वृद्धि र नयाँ बल नजिकै छ: “तेरो पालको ठाउँ बढ़ा। तेरो डेराको पाटा तन्काइऊन्‌। न थाम्‌, लामो पार्‌, र तेरा कीलाहरू बलियो गर्‌। किनकि तिमीहरू बढ़ेर दाहिने र देब्रेतिर फैलिनेछौ।” यस रोमाञ्चकारी भविष्यवाणीको पूर्तिको परिणाम साँचो उपासकहरूले आज देखिरहेको अद्‌भुत वृद्धि हो।—यशै. ५४:१-४.

१९ सम्मेलन प्रबन्धमा गरिएका यी थप सरलीकरणलाई प्रयोगमा ल्याउनु साँच्चै असल निर्णय देखिन्छ। यसो गरेमा अलमलाउने कुरा थोरै हुनेछ र तयार पारिएको आध्यात्मिक कार्यक्रमबाट सबैले लाभ उठाउनेछन्‌। यस प्रबन्धले थप वृद्धिलाई कुशलतापूर्वक सँभाल्न सघाउ पुऱ्‍याउने हुँदा त्यसमा यहोवाको आशिष्‌ रहनेछ भन्‍ने विश्‍वास हामीले राखेका छौं। आवश्‍यक कुरामा ध्यान केन्द्रित गऱ्‍यौं भने रमाइलो संगति र आध्यात्मिक असल कुराहरूका लागि योजनाबद्ध गरिएका दिनहरूबाट आनन्द उठाउन सक्नेछौं। एकै ठाउँमा भेला हुन र यहोवाको टेबलमा खान हामीले गरेका सम्पूर्ण प्रयत्नहरूलाई यहोवाले आशिष्‌ दिऊन्‌ भन्‍ने निष्कपट प्रार्थना हामी गर्छौं।—तुलना गर्नुहोस्‌ व्यव. १६:१४, १५.

[पृष्ठ ६-मा भएको पेटी]

भोजन सेवा उपलब्ध नहुनुका फाइदाहरू

▪ कार्यक्रमको दौडान, अघि र पछि कम काम हुने अरूसँग संगत गर्न बढी समय हुन्छ

▪ भोजन सेवासम्बन्धी उपकरणहरू सँभाल्नु पर्ने छैन

▪ आध्यात्मिक कार्यक्रममा धेरैभन्दा धेरै मानिसहरूले आफ्नो पूर्ण ध्यान केन्द्रित गर्न सक्छन्‌

▪ अन्य विभागहरूमा सहयोग गर्न धेरै स्वयंसेवकहरू उपलब्ध हुनेछन्‌

▪ अन्य ईश्‍वरतान्त्रिक गतिविधिहरूका लागि अझ धेरै समय हुनेछ

दिउँसो मध्यान्तरमा ल्याउन सकिने सुझावित खाद्य सामग्रीहरू

▪ हलका, साधारण तथा पौष्टिक खाना

▪ सुकाएका फलफूल, काजु, बदाम, बेक गरिएका खानेकुरा, ताजा फलफूल

▪ आवश्‍यक भएमा भोजन राख्ने सानो भाँडा

▪ नफुट्‌ने भाँडामा हलका पेय पदार्थ, फलको रस वा पानी

यी सामग्रीहरू सम्मेलन भवनमा नल्याउनुहोस्‌

▪ मद्य

▪ काँचका भाँडाहरू

▪ पिकनिक जाँदा लग्ने भोजन राख्ने ठूलो भाँडो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने