प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 सेप्टेम्बर pp. ३-६
  • सन्‌ १९९९ “परमेश्‍वरको भविष्यसूचक वचन” जिल्ला अधिवेशन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सन्‌ १९९९ “परमेश्‍वरको भविष्यसूचक वचन” जिल्ला अधिवेशन
  • हाम्रो राज्य सेवकाई—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अधिवेशनअघि
  • अधिवेशनको दौडान
  • १९९८ “परमेश्‍वरले चाहनुहुने जीवनशैली” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९८
  • १९९७ “परमेश्‍वरको वचनमा विश्‍वास” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९७
  • १९९६ “ईश्‍वरीय शान्तिका सन्देशवाहकहरू” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९६
  • १९९५ “आनन्दित प्रशंसकहरू” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९९
km99 सेप्टेम्बर pp. ३-६

सन्‌ १९९९ “परमेश्‍वरको भविष्यसूचक वचन” जिल्ला अधिवेशन

१ प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नलाग्दा मोशाले इस्राएलीहरूलाई परमेश्‍वरका आज्ञाहरू पालन गर्न जोडदार आग्रह गरे। तिनीहरूलाई तिनले यसो भने: “यो तिमीहरूको लागि साधारण कुरो होइन। यो तिमीहरूको जीवन हो।” (व्यव. ३२:४५-४७) यहोवाका लागि हाम्रो जीवन मूल्यवान्‌ छ। त्यसैले उहाँको बहुमूल्य वचनद्वारा हामीलाई नियमित तवरमा निर्देशनहरू दिइरहनुभएकोले हामी उहाँप्रति कृतज्ञ हुनुपर्ने होइन र? तसर्थ, “परमेश्‍वरको भविष्यसूचक वचन” जिल्ला अधिवेशनका तीन दिनमा यहोवाले हाम्रालागि के के प्रबन्ध गर्नुभएको रहेछ भनी थाह पाउन हामी उत्सुकतासाथ पर्खिरहेका छौं।

२ यस वर्ष, भारतभरि २७ विभिन्‍न सुविधाजनक स्थानहरूमा जिल्ला अधिवेशनहरू सञ्चालन गर्ने योजना बनाइएको छ। यस देशमा पहिलोपल्ट मिजो भाषामा अधिवेशनका मुख्य भाषणहरूको विशेषताहरू मात्र समावेश गरिएको अधिवेशन हुनेछ।

३ यहोवाले तपाईं यी तीनै दिन त्यहाँ उपस्थित भएको चाहनुहुन्छ भनी विश्‍वस्त हुनुभएकोले पक्कै पनि त्यसको लागि आवश्‍यक प्रबन्धहरू मिलाइसक्नुभयो होला। त्यहाँ भेला हुन व्यक्‍तिविशेषले के कस्तो प्रयास तथा त्यागहरू गरिरहेका छन्‌ यहोवाले सम्झनुहुनेछ अनि मूल्यांकन गर्नुहुनेछ भनी निश्‍चित हुनुहोस्‌। (हिब्रू ६:१०) अधिवेशनका हरेक दिन सुरुको गीतदेखि समापन प्रार्थनासम्म भेला हुँदा हामीले यहोवाको वचनलाई मूल्यवान्‌ ठान्छौं भनी देखाइरहेका हुनेछौं। (व्यव. ४:१०) अधिवेशनको तयारीका लागि कडा मेहनत गर्ने सम्पूर्ण भाइहरूप्रति पनि हामीले मूल्यांकन व्यक्‍त गरिरहेका हुनेछौं।

४ हरेक अधिवेशन स्थलमा परमेश्‍वरका हजारौं जनहरूलाई भेला गराउने बन्दोबस्त गर्न अग्रिम योजना तथा राम्रो व्यवस्थापन आवश्‍यकता पर्छ। अधिवेशनको प्रबन्ध मायालु ढंगमा गरिएको हो भन्‍ने थाह पाएपछि, ‘सबै काम शिष्ट रुपले र नियमपूर्वक गर्नसकौं’ भनी सघाउन हामी सबै उत्प्रेरित हुनुपर्ने हो। (१ कोरि. १४:४०) तपाईंले अधिवेशनमा पूर्ण तयारीका साथ उपस्थित भएर आध्यात्मिक भोजन तथा मसीही संगतिको आनन्द उठाउन सकून्‌ भनी केही जानकारी तथा सम्झौटाहरू निम्नानुसार उपलब्ध गराइएका छन्‌।

अधिवेशनअघि

५ तपाईंसित बाइबल अध्ययन गरिरहेका व्यक्‍तिहरू तथा अन्य जिज्ञासु व्यक्‍तिहरूलाई अधिवेशनमा उपस्थित हुन व्यक्‍तिगत कार्यक्रममा छाँटकाँट गर्न मदत चाहिएको छ कि? तिनीहरू त्यहाँ हुँदा देखेसुनेका कुराहरूले यहोवाका उपासक हुन उत्प्रेरित हुनसक्छन्‌। (१ कोरि. १४:२५) लजको अथवा यातायातको सन्दर्भमा मदत चाहिनेहरू र त्यसमा पनि विशेष गरी मण्डलीका वृद्ध सदस्यहरूका आवश्‍यकता पूरा भए वा भएनन्‌, त्यसबारे प्राचीनहरू सजग हुनुपर्छ र तिनीहरूले मायालु रेखदेख गर्नेछन्‌।—गला. ६:१०.

६ तपाईंले बासको व्यवस्था मिलाइसक्नुभयो? होटेलमा बस्ने हो भने अग्रिम भुक्‍तानी पठाएर बुकिङ पक्का गरिसक्नुभयो?

७ तपाईंलाई अधिवेशनको सन्दर्भमा कुनै जानकारी चाहिएमा मण्डलीका सचिव अधिवेशन स्थलको ठेगानासहित आवश्‍यक मदत गर्नसक्छन्‌। कृपया अधिवेशन हुने भवनका व्यवस्थापकहरूलाई फोन गर्ने वा चिठी लेख्ने नगर्नुहोस्‌।

८ अधिवेशनमा आपत्‌कालीन अवस्थाको लागि प्राथमिक उपचार विभागको व्यवस्था गरिएको भए तापनि तपाईंलाई आवश्‍यकता पर्लाजस्तो लाग्यो भने एस्प्रिन, ब्यान्डेज, इनहेलर, पाचक तथा त्यस्तै अन्य चीजहरू ल्याउने सल्लाह दिन्छौं। तपाईं वा तपाईंका प्रियजनलाई मुटुको समस्या छ, मधुमेह, छारे रोगजस्ता गम्भीर रोगद्वारा पीडित छन्‌ भने कृपया घरमा अथवा विदा मनाउने बेला लैजानु भएजस्तै आवश्‍यक औषधीहरू अधिवेशनमा पनि ल्याउनुहोस्‌। यस्तो अवस्थाबारे राम्ररी जानकारी भएका परिवारका सदस्य वा नजिकको साथी तिनलाई आवश्‍यक मदत गर्न सकिने गरी सँगै बस्नु बुद्धिमानी हुनेछ।

९ अधिवेशनमा आउँदा वा फर्कंदा यात्राको क्रममा तपाईंले अनौपचारिक साक्षी दिने मौका पाउन सक्नुहुनेछ। अरूसित सच्चाइ बाँड्‌न तपाईं तयार हुनुहुनेछ? जवान केटाकेटीहरूलगायत हामी सबै जना पेट्रोल भर्ने बेला त्यहाँका कामदारहरू, कर संकलकहरू तथा यातायातको क्रममा भेट्‌ने अरू सबैलाई पर्चा वितरण गर्ने काममा भाग लिनसक्छौं। इच्छुक व्यक्‍तिहरूलाई पत्रिका, पुस्तिका वा अन्य साहित्यहरू प्रस्तुत गर्ने मौका मिल्नसक्छ। हामी अनौपचारिक साक्षी दिन तयार रहौं। सायद, हामीले प्रचार गर्न अपनाइरहेका प्रचलित तरिकाहरूबाट भेट्‌न नसकिने मानिसहरूले पनि सुन्‍नसक्छन्‌।

अधिवेशनको दौडान

१० हरेक दिन अधिवेशन स्थलका ढोकाहरू खोलेपछि आफ्नो परिवार अथवा समूहको लागि मात्र सीटहरू लिन सक्नुहुनेछ। वृद्ध भाइबहिनीहरूका लागि उपयुक्‍त सीटहरू ओगट्‌न सकिने छ अनि अपांग र ह्विलचेयरमा बस्नुपर्नेहरूका लागि पनि ठाउँ छुट्ट्याइनेछ। तर हावापानी परिवर्तन हुनेबित्तिकै बिसञ्चो हुने वा एलर्जी हुनेहरूका लागि भने अधिवेशन क्षेत्रमा कुनै विशेष कोठाको व्यवस्था गर्नु सम्भव छैन। हरेक दिन आफ्नो सीट छोड्‌नु हुँदा कुनै चीज छुटेको छ कि भनी पक्का गर्नुहोस्‌।

११ हाम्रा अधिवेशनहरूमा अनगिन्ती मानिसहरू भेला हुनका लागि स्थानीय ऐनकानुन, अग्नीसम्बन्धी कानुन तथा सुरक्षासम्बन्धी अन्य नियमहरू पालन गर्नुपर्छ। तसर्थ, ओहोर-दोहोर गर्ने बाटो वा बाहिर जाने बाटोहरू खुल्ला छन्‌ वा छेकिएका छन्‌ निश्‍चित गर्नुहोस्‌। अधिवेशन भइरहेको बेला कुनै आपत्‌कालीन अवस्था आइपरेमा भवन तुरुन्तै खाली गर्नुपर्ने हुन्छ।

१२ के तपाईं जिल्ला अधिवेशनमा बप्तिस्मा लिंदै हुनुहुन्छ? शुक्रबार बिहानको कार्यक्रममा बप्तिस्मा लिन लागेका उम्मेदवारहरूका लागि सीटहरू छुट्ट्याइएको हुन्छ र परिचारकहरूले तपाईंलाई उक्‍त ठाउँ देखाइदिनेछन्‌। कृपया, सकिन्छ भने, सभासुरु हुनुअघि नै त्यहाँ बसिसक्नुहोस्‌। बाइबल, गीतिपुस्तक, तौलिया ल्याउनुका साथै पहिरन भद्र होस्‌। त्यस्तो मर्यादापूर्ण अवसरमा नाराहरू लेखिएका टी-शर्टहरू वा त्यस्तै खालका अन्य वेशभूषाहरू लगाएर आउनु उपयुक्‍त हुँदैन। प्राचीनहरूले हाम्रो सेवकाई पुस्तकमा उल्लिखित प्रश्‍नहरू बप्तिस्मा लिन चाहने उम्मेदवारहरूले बुझेका छन्‌ की छैनन्‌ भनी पक्का गर्नेछन्‌। बप्तिस्मा लिनु यहोवा परमेश्‍वरप्रति आफ्नो व्यक्‍तिगत समर्पणको प्रतीक भएको हुनाले उम्मेदवारहरूले एक अर्काको हात समातेर बप्तिस्मा लिनु उचित हुनेछैन।

१३ तपाईंले अधिवेशनमा क्यामरा, भिडियो क्यामरा अनि क्यासेट रेकर्डरहरू प्रयोग गर्नसक्नुहुन्छ। तथापि, ती साधनहरू राख्दा वा प्रयोग गर्दा ओहोर-दोहोर गर्ने बाटो बन्द गर्ने अथवा अरूलाई छेक्ने वा उनीहरूको ध्यान कार्यक्रमबाट भंग गर्ने गर्नु हुँदैन। ती उपकरणहरू विद्युत वा ध्वनि प्रणालीमा जोड्‌नु हुँदैन।

१४ त्यस्तै आज सेलुलर फोन तथा पेजरहरूको प्रयोग बढिरहेको छ। कृपया, यसले तपाईं वा तपाईं वरपर बस्ने स्रोताहरूको ध्यान नखलबलियोस्‌ भनी होसियार हुनुहोस्‌। तपाईं श्रोतामाझ हुनुहुँदा यी उपकरणहरूलाई सबैले सुन्‍ने गरी बज्न दिनु वा एकोहोरो आवाज निकाल्न दिनु हुँदैन। कार्यक्रम भइरहेको बेला तपाईंलाई सेलुलर फोन प्रयोग गर्नुपरेमा कृपया उक्‍त फोन हल भित्र होइन बाहिर प्रयोग गर्नुहोस्‌।

१५ समयको वचाउका साथै सजिलो बनाउन अधिवेशनको दौडान हरेक दिन आफ्नो लागि खाजा ल्याउन सोसाइटीले अनुरोध गरेको छ। अधिकांश भाइहरूले यस निर्देशनलाई पालन गरेका छन्‌ र अपराह्नको खाजा खाने समयमा तिनीहरू आ-आफ्ना परिवारहरूसित बसेर त्यस दिनको लागि आफूसित ल्याएका चीजहरू खाइरहेका पनि देखिएका छन्‌। खाजा खाने समयमा आराम र आफ्ना भाइबहिनीहरूसित अतिरिक्‍त समय बिताउन रमाइलो भएको धेरैले बताएका छन्‌। यसका लागि खानेकुरा तथा पेयपदार्थ पहिले नै किन्‍नु र सजिलै मेच मुनि राख्न मिल्ने सानो भाँडोमा राख्नु पर्दछ। यी निर्देशनहरू त्यहाँ उपस्थित हुने सबैले पछ्याउनुहोस्‌ भन्‍ने हामी चाहन्छौं। हालै प्राप्त रिपोर्टअनुसार धेरै जना कार्यक्रम सञ्चालन भइरहेको बेला अधिवेशन भवनमै वा त्यस बाहिर खाजा किन्‍न गएको पाइएको छ। यसो गर्दा श्रोताहरूको ध्यान खलबलिने मात्र होइन प्लेटफर्मबाट प्रस्तुत गरिने कुराहरूप्रति आदर नदेखाएको पनि हुन्छ। यदि कसैले खाजा वा पेय पदार्थहरू किन्‍न वा खानु पऱ्‍यो भने मध्यान्तरमा त्यसो गर्नुहोस्‌, यसमा कुनै आपत्ति छैन। त्यस्ता खाजा पसलहरूमा धेरै भीडभाड गरेर बस्दा सांसारिक मानिसहरू अधिवेशनमा आउने प्रतिनिधिहरूसित मिसिनसक्छन्‌ र तिनीहरूमध्ये कोही कोही अपराध मनोवृत्तिका पनि हुनसक्छन्‌। तसर्थ, अधिवेशनका तीनै दिन हरेकलाई खाना तथा पेयपदार्थहरू आफै ल्याउन हामी अनुरोध गर्छौं। तपाईंसित अधिवेशनमा आउने जिज्ञासु व्यक्‍तिहरूले पनि आफ्नो खाना आफै ल्याउनसक्छन्‌। फुट्‌ने भाँडाकुँडाहरू तथा मद्य पेयपदार्थहरू अधिवेशन भवनमा ल्याउने अनुमति दिइँदैन।

१६ हरेक दिनको कार्यक्रमपछि उक्‍त भवन सफा गर्न तपाईंले पनि स्वयम्‌सेवकको काम गर्न सक्नुहुन्छ कि? नभए अधिवेशनका अरू विभागहरूमा नि? सक्नुहुन्छ भने कृपया अधिवेशनको स्वयम्‌सेवा विभागमा जानुहोस्‌। सोह्र वर्ष मुनिका केटाकेटीहरू चाहिं आफ्ना आमाबाबु वा अन्य जिम्मेवार वयस्कहरूसित काम गर्न सक्नेछन्‌। निस्सन्देह, भवन सफा गर्न कतै कुनै फोहर देख्दा त्यसलाई टिपेरठाउँमा फालिदिएर पनि हरेकले मदत गर्नसक्छन्‌।

१७ हामीले उपयुक्‍त पहिरन तथा कोरीबाटीको सन्दर्भमा राम्रा निर्देशनहरू पाएका छौं। उदाहरणका लागि: यस सन्दर्भमा हामीले हाम्रो राज्य सेवकाई-का परिशिष्टहरूमा, हाम्रा प्रकाशनका उदाहरण तथा चित्रहरूमा निर्देशन पाएका छौं र सबैभन्दा महत्त्वपूर्ण त बाइबलमा यसबारे यहोवा परमेश्‍वरको भनाइ नै पाउँछौं। निर्देशन पाइसकेका छौं। (रोमी १२:२; १ तिमो. २:९, १०) हामी को हौं र तिनीहरूको शहरमा किन भेला भएका छौं मानिसहरूलाई थाह छ। तसर्थ, हाम्रो पहिरन तथा कोरीवाटी आफै एउटा शसक्‍त साक्षी हो। त्यस क्षेत्रमा यहोवाका अधिकांश जनहरूले राम्रो उदाहरण बसालेका छन्‌। तथापि, समय-समयमा हामी अधिवेशनका सभाहरूमा उपस्थित हुने कसै कसैका पहिरन तथा कोरीवाटीमा संसारको आत्मा झल्केको देख्छौं। यसरी पारदर्शी तथा अंग प्रदर्शन हुने लुगा मनपरी लगाउँदा उक्‍त व्यक्‍ति नै आध्यात्मिक व्यक्‍ति हो कि होइन भन्‍ने शंका उत्पन्‍न हुनसक्छ। भद्र अनि सफासुग्घर भएर आउनु साँच्चै कस्तो मनोहर कुरा हुन्छ। त्यसैले, परिवारका सदस्यहरूले कस्ता लुगा लगाउने योजना बनाएका छन्‌ परिवारको शिरले ध्यान दिनुपर्छ। अधिवेशनमा मात्र होइन अरू बेला पनि यो कुरा लागू हुन्छ। दैनिक कार्यक्रमहरूमा बिल्लाहरू लगाएर आउने र लगाएरै फर्कने गर्दा हामीले आफैलाई यहोवाका शुद्ध जनहरूमध्येका हौं भनेर चिनाइरहेका हुनेछौं।—मर्कूस ८:३७ तुलना गर्नुहोस्‌।

१८ बुद्धिमान्‌ राजा सुलेमान “बालकको हृदयभित्र मूर्खता गाडिएको हुन्छ” अनि “छाडा छोडेको छोराले आफ्नी आमालाई लाजमा पार्छ” भनी लेख्न प्रेरित भए। (हितो. २२:१५; २९:१५) कार्यक्रमको दौडान राम्रो ख्याल नगरिएका कलिला उमेरका साक्षीहरूले कार्यक्रमबाट लाभ उठाउन प्रयास गरिरहेका भाइबहिनीहरूलाई बाधा पुऱ्‍याएका छन्‌। गत वर्षको अधिवेशनमा केही केटाकेटीहरू छाडा रूपमा यता उता दगुरिरहेका देखिए भन्‍ने टिप्पणी प्राप्त भएको थियो। त्यसका साथसाथै केही युवाहरू हलबाहिर र शौचालयको आसपास डुलिरहेका पनि देखिए। तिनीहरूका लागि भनेर तयार पारिएको आध्यात्मिक कार्यक्रमबाट तिनीहरूले लाभ उठाइरहेका छैनन्‌ भन्‍ने यसबाट स्पष्ट देखियो। आफ्ना छोराछोरीहरूको चालचलनका लागि यहोवालाई आमाबाबुले लेखा दिनुपर्ने हुनाले छोराछोरीलाई आफूसित सँगै राख्दा मात्र तिनीहरूले यहोवाको निर्देशनअनुसार गरिरहेका र सुनिरहेका छन्‌ भनी आमा वा बाबु निश्‍चित हुनसक्छन्‌। अर्काको ध्यानलाई खलबल पारिरहेकाहरूलाई परिचारकहरूले गएर त्यसो नगर्न अनुरोध गर्नुका साथै कार्यक्रममा ध्यान दिन नम्रतासाथ सम्झाउनेछन्‌।

१९ हामीले जनसमुदायलाई पनि अधिवेशनमा निम्त्याउने हुनाले केटाकेटीहरू तथा आफ्ना चीजबीजहरूको आफै सुरक्षा गर्नु बुद्धिमानी हुनेछ। हाम्रा केटाकेटीहरू यहोवाले दिनुभएका बहुमूल्य उपहार हुन्‌। तर संसारले शैतानको लुटाहा प्रवृत्तिको नक्कल गर्छ भन्‍ने हामीलाई थाह छ। त्यसैले तपाईंका छोराछोरीहरू हर समय कहाँ-कहाँ जान्छन्‌ थाह पाइरहनुहोस्‌। त्यस्तै क्यामरा, पर्स तथा अन्य बहुमूल्य चीजहरू तपाईंकै साथमा हुनुपर्छ, आफ्नो सीटमा छोड्‌नुहुँदैन। तपाईंका सवारी साधनहरू राम्ररी बन्द गरिएका छन्‌ कि छैनन्‌ जाँच्नुहोस्‌ र आफ्ना चीजबीजहरू कारको डिक्कीमा अथवा आफैसित राख्नुहोस्‌। यसो गर्दा तपाईंको सवारी साधन भित्र राखिएको सामान चोर्ने प्रलोभन कम हुन्छ।

२० होटेलमा तपाईंले रिजर्भ गर्नुभएको कोठासम्बन्धी केही समस्या उत्पन्‍न भएमा स्थानीय आवास विभाग तपाईंलाई मदत गर्न उत्सुक हुनेछ। अधिवेशनको दौडान कुनै समस्या आइपरेमा कृपया आवास विभागलाई खबर गर्नुहोस्‌। तपाईंले अधिवेशनबाट आनन्द उठाउनसकून्‌ भनेर भाइहरू तपाईंको समस्या समाधान गर्न खुसी हुनेछन्‌। कोठाको सम्बन्धमा पनि निम्नलिखित कुराहरू याद गर्नुहोस्‌:

▪ यहोवाका थुप्रै जनहरू होटेलमा बस्ने भएकाले सबैको निम्ति धूम्रपान निषेधित कोठाहरू पाउन गाह्रो हुन्छ। तपाईंले कोठा रिजर्भ गर्नुअघि त्यस्तो कोठाको लागि अनुरोध गर्नुभएको भए तापनि यस्तो प्रबन्ध गर्न कठिन हुनसक्छ। गत वर्ष अधिवेशनको दौडान केही भाइबहिनीहरूले होटेलको व्यवस्थापनसित अझ बढी सुविधाका लागि वाद-विवाद गरेको रिपोर्ट प्राप्त भएका छन्‌।

▪ कृपया तपाईं बसिरहनु भएको होटेलमा पुग्नुपर्ने र कोठा छोड्‌नुपर्ने समयबारे जानकारी लिनुहोस्‌। पहिले नै यसबारे कुरा गर्नुभयो भने अलि छिटो पुग्न वा ढिलो छोड्‌न तिनीहरूले स्वीकृति दिनसक्छन्‌।

▪ अहिले धेरै पैसा बोकेर हिंड्‌नु निकै असुरक्षित हुँदै गइरहेको छ। रेष्टुरेन्टको वा अन्य चार्जहरू आफ्नो कोठाको बीलमै जोड्‌न लगाएर होटेल छोड्‌ने बेला एकैचोटि पैसा तिर्नु तापाईंका लागि उपयुक्‍त हुनसक्छ।

▪ होटेलहरूमा प्रायःजसो टेलिभिजन तथा भिडियो सेवाहरूका साथै थुप्रै च्यानलहरू हेर्ने सुविधा पनि दिइएको हुन्छ। ती च्यानलका केही-केही कार्यक्रमहरूमा अनुपयुक्‍त दृश्‍यहरू पनि देखाइन्छ। तपाईंले अनुरोध गर्नुभएमा त्यस्ता केही च्यानलहरू अथवा कार्यक्रमहरू तपाईं त्यहाँ रहुञ्जेलसम्म रोकिदिन सक्छन्‌। घरमाजस्तै त्यहाँ पनि कृपया टेलिभिजनको प्रयोग गर्दा आफ्ना छोराछोरीमाथि निगरानी राख्नुहोस्‌।

२१ अधिवेशनको दौडान भाइबहिनीहरूले नोट गर्दै गरेको देख्नु साँच्चै प्रोत्साहनजनक कुरा हो। छोटोमीठो नोटहरू लिंदा मुख्य बुँदाहरूमाथि ध्यान दिन र पुनःसम्झन तपाईंलाई मदत मिल्नसक्छ। तपाईंका परिवार अथवा साथीहरूसित पछि ती नोटहरू पुनरावलोकन गर्दा तपाईंलाई अधिवेशनका विशेषताहरू नबिर्सिकन त्यसमा ध्यान केन्द्रित गर्न मदत गर्छ।

२२ ईश्‍वरतान्त्रिक गतिविधिहरू बढाउन यहोवाका जनहरूले सधैं उदार चित्तले दिएका छन्‌। (प्रस्थ. ३६:५-७; २ इति. ३१:१०; रोमी १५:२६, २७) विश्‍वव्यापी कार्यको लागि तपाईंले स्वेच्छाले चढाउनुभएको चन्दा अधिवेशनहरू सञ्चालन गर्न भाडामा लिइएका विशाल भवनहरूसित सम्बन्धित खर्चहरू व्यहोर्न प्रयोग गरिनेछन्‌। तपाईंले चेकद्वारा चन्दा दिनुभएको छ भने त्यसमा “पहराधरहरा सोसाइटीका लागि” भनेर लेख्नुहोस्‌। यसको साथमा सोसाइटीका सदस्यहरूका लागि चन्दा भनी उल्लेख गरिएको चिठी पनि राख्नुहोस्‌।

२३ आमोस ३:७ मा उल्लेख गरिएअनुसार यहोवा यसो भन्‍नुहुन्छ “आफ्ना दास अगमवक्‍ताहरूलाई आफ्नो रहस्य प्रकट नगरीकन केही गर्नुहुनेछैन।” यहोवाले ‘रहस्यहरू प्रकट गर्नुहुने’ भएकोले बाइबलमा उहाँले गर्नुभएका सयौं भविष्यवाणीहरू ठीकठीक किसिमले सबै पूरा भएका छन्‌। (दानि. २:२८, ४७) अझ महान्‌ पूर्तिहरू देख्न बाँकी छ। सन्‌ १९९९-२००० मा हुने “परमेश्‍वरको भविष्यसूचक वचन” जिल्ला अधिवेशनले परमेश्‍वरका प्रतिज्ञाहरूमा तपाईंको विश्‍वास बलियो बनाउनेछ। यहोवाले तपाईंका लागि भन्‍नुभएका कुराहरू ध्यानसित सुन्‍नुहोस्‌। तपाईंले हेर्नुहुने अनि सुन्‍नुहुने कुराहरू सेवकाई, मण्डली अनि तपाईंको व्यक्‍तिगत जीवनमा लागू गर्नुहोस्‌। यस भरपूर आध्यात्मिक भोजका तीनै दिन उपस्थित हुन तपाईंले मिलाउनुहुने सबै प्रबन्धहरूमाथि यहोवाले प्रशस्त आशिष्‌ देऊन्‌ भनी हामी प्रार्थना गर्दछौं!

[पृष्ठ ३-मा भएको ठूलो अक्षरको क्याप्सन]

शुक्रबार, शनिबार अनि आइतबार सबै दिन भेला हुने योजना बनाउनुहोस्‌!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने