सुरक्षित राख्नुहोस्
के तपाईं यी पुस्तिका प्रयोग गर्दै हुनुहुन्छ?
बाइबल—यसले दिने सन्देश के हो?
कुन समूहको लागि तयार पारियो? बाइबलबारे थोरै मात्र थाह भएकाहरूको लागि र विशेषगरि ख्रीष्टियन धर्मबाहेक अन्य धर्म मान्ने व्यक्तिहरूका लागि
पुस्तिका कसरी प्रस्तुत गर्न सक्नुहुन्छ? “यहाँ शास्त्रमा (अथवा यस पवित्र ग्रन्थमा) बताइएको यस कुराबारे हामी तपाईंको विचार बुझ्न चाहन्छौं। [भजन ३७:११ पढ्नुहोस्, जुन पदबारे भाग ११ मा बताइएको छ] यो भविष्यवाणी पूरा हुँदा पृथ्वीको अवस्था कस्तो हुनेछ जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्] सबै धर्म अनि संस्कृतिका मानिसले बाइबलबाट पाउन सक्ने आशा अनि सान्त्वनाको यो त एउटा उदाहरण मात्र हो।” पृष्ठ ३ को सुरुको अनुच्छेद पढ्नुहोस् र पुस्तिका प्रस्तुत गर्नुहोस्।
यसो गरे कसो होला? यदि तपाईं ख्रीष्टियन धर्मबाहेक अर्कै धर्म मान्ने व्यक्तिलाई बाइबलले सिकाउँछ किताबबाट अध्ययन गराउँदै हुनुहुन्छ भने तिनलाई बाइबलबारे मोटामोटी ज्ञान दिन अध्ययन अघि वा पछि यस पुस्तिकाको एउटा भाग छलफल गर्न समय मिलाउनुहोस्।
सबैका लागि उपयोगी किताब
कुन समूहको लागि तयार पारियो? बाइबलबारे अलि-अलि मात्र थाह भएका शिक्षित व्यक्तिहरूका लागि
पुस्तिका कसरी प्रस्तुत गर्न सक्नुहुन्छ? दोस्रो तिमोथी ३:१६, १७ पढ्नुहोस् र यसो भन्नुहोस्: “बाइबल परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो भन्ने कुरामा के तपाईं सहमत हुनुहुन्छ? वा के तपाईं यो एउटा राम्रो किताब मात्र हो भन्ने सोचाइ राख्नुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्] यस प्रश्नबारे मानिसहरूको आ-आफ्नै धारणा छ। तर केहीले भने बाइबल आफैले जाँचेर हेरेका छन् भन्ने हामीले थाह पायौं। [पृष्ठ ३ मा शीर्षकमुनि भएको अनुभव पढ्नुहोस्] जुनसुकै पृष्ठभूमिको वा जस्तोसुकै आस्था राख्ने भए तापनि सबैले बाइबलमा भएको कुरा जाँचेर हेर्नु किन आवश्यक छ भन्ने सन्दर्भमा यस पुस्तिकाले बताएको छ।”
यसो गरे कसो होला? घरधनीले पुस्तिका स्वीकारेको खण्डमा तपाईं यसो भन्न सक्नुहुन्छ: “मानिसहरूले बाइबल पढ्नु आवश्यक छैन भन्नुको एउटा कारण धर्मले बाइबल र यसका शिक्षालाई गलत तरिकाले व्याख्या गरेकोले हो। अर्को पटक म तपाईंलाई यसको एउटा उदाहरण सुनाउन चाहन्छु।” अर्को भेटमा पृष्ठ ४ र ५ मा भएको केही जानकारी सँगै छलफल गर्नुहोस्।
के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?
कुन समूहको लागि तयार पारियो? आर्थिक सङ्कष्ट भोगिरहेका अथवा दुःखद अवस्थाको सामना गरिरहेकाहरूको लागि
पुस्तिका कसरी प्रस्तुत गर्न सक्नुहुन्छ? “संसारमा दुःख र अन्याय देख्दा केही मानिस सारा दोष परमेश्वरमाथि थोपर्न खोज्छन्। केही यस्तो तर्क गर्छन्, परमेश्वर सर्वशक्तिमान् भएकोले हाम्रो दुःखकष्टको अन्त गर्न सक्नुहुन्छ तर उहाँलाई हाम्रो पटक्कै चासो छैन। तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्] परमेश्वरले हाम्रो साँच्चै चिन्ता गर्नुहुन्छ भनेर भजनसंग्रह ७२:१२-१४ ले देखाउँछ। दुःख अनि अन्याय उहाँले गर्दा भएको होइन। गलत कार्य गर्नेहरूलाई छिट्टै हटाउने प्रतिज्ञा उहाँले गर्नुभएको छ। यो उहाँले कसरी गर्नुहुनेछ र हामीले कस्तो लाभ उठाउन सक्छौं, त्यसबारे यस पुस्तिकाले बताउँछ।” पृष्ठ २७, अनुच्छेद २२ को टिप्पणीहरूबाट तपाईंले कुराकानी कायम राख्न सक्नुहुन्छ।
यसो गरे कसो होला? घरधनीले पुस्तिका स्वीकारेमा तपाईं यसो भन्न सक्नुहुन्छ: “भविष्यबारे यस्तो दृष्टिकोण एउटा सपना मात्र हो कि? अर्को पटक भेट्दा म तपाईंसँग यस विषयमा कुरा गर्न चाहन्छु।” पुनःभेटमा पृष्ठ ३ मा भएको “दुःख-कष्टबाट मुक्त पृथ्वी,” भाग २ छलफल गर्नुहोस्।
जीवनको उद्देश्य के हो?
कुन समूहको लागि तयार पारियो? आफ्नो भविष्यबारे गम्भीर भएर सोचिरहेका युवायुवतीका लागि
पुस्तिका कसरी प्रस्तुत गर्न सक्नुहुन्छ? “थुप्रै मानिस जीवनको उद्देश्य के होला भनेर सोच्छन्। तपाईंलाई जीवनको उद्देश्य के हो जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्] यो पृथ्वी हाम्रै लागि सृष्टि गरिएको थियो भनेर बाइबलमा बताइएको कुरा तपाईंलाई देखाउन सक्छु कि? [घरधनीले हुन्छ भनेमा यशैया ४५:१८ पढ्नुहोस्]” यस पुस्तिकाको उद्देश्य बताउनुहोस् र पुस्तिका प्रस्तुत गर्नुहोस्।
यसो गरे कसो होला? घरधनीले पुस्तिका स्वीकारेको खण्डमा तपाईं यसो भन्न सक्नुहुन्छ: “कसले हामीलाई जीवनको उद्देश्यबारे बताउन सक्छ, तपाईंसित छलफल गर्न चाहन्छु। [जीवनको उद्देश्य पुस्तिकाको पृष्ठ ६, अनुच्छेद १ र २ मा भएका कुराहरू छोटकरीमा बताउनुहोस्] प्रकाश ४:११ ले यहोवा परमेश्वर हाम्रो सृष्टिकर्ता हुनुहुन्छ भनेर बताउँछ। [पढ्नुहोस्] उहाँले हामीलाई सृष्टि गर्नुको उद्देश्य पक्कै हुनुपर्छ। त्यो उद्देश्य पत्ता लगाउन चाहनेहरूले परमेश्वरको लिखित वचन बाइबल पढेका छन्। तपाईंलाई पनि त्यसै गर्न आग्रह गर्न चाहन्छु।” निश्शुल्क गृह बाइबल अध्ययन कसरी सञ्चालन गरिन्छ, बताउनुहोस् अनि बाइबल अध्ययन गर्ने प्रबन्ध मिलाउनुहोस्।
शान्ति र आनन्दको बाटो
कुन समूहको लागि तयार पारियो? बौद्ध धर्म मान्नेहरूका लागि
बौद्ध धर्म मान्ने वृद्ध व्यक्ति भेट्दा पुस्तिका कसरी प्रस्तुत गर्न सक्नुहुन्छ? “तपाईं पनि सायद मजस्तै अहिले व्याप्त पतित विचारहरू र त्यसले हाम्रा छोराछोरीमा पारेको प्रभाव देखेर चिन्तित हुनुहुन्छ होला। युवायुवतीमाझ यस्तो अनैतिकता बढ्दै गएको कारण के होला जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्] यस्तै हुनेछ भनेर एउटा धार्मिक ग्रन्थमा वर्षौंअघि लेखिएको थियो। के तपाईंलाई त्यसबारे थाह छ? [२ तिमोथी ३:१-३ पढ्नुहोस्] यसो विचार गर्नुहोस् त, मानिसहरूले ज्ञान लिइरहेकै छन् तर अवस्था भने जस्ताको तस्तै छ। [पद ७ पढ्नुहोस्] यस पुस्तिकामा भएको जानकारीले मलाई अधिकांश मानिसहरूले सिक्ने मौका नपाएको सत्य बुझ्न मदत दियो। तपाईं पनि पढ्न चाहनुहुन्छ?”
यसो गरे कसो होला? बाइबल सत्यप्रति घरधनीको चासो जगाइसकेपछि पुनःभेटमा यस पुस्तिकाको अन्तिम पृष्ठमा भएका प्रश्न अनि बाइबलले सिकाउँछ किताबबारे दिइएको कुपन देखाउनुहोस्। तिनी यो किताब हेर्न चाहन्छन् भने तिनलाई उक्त किताब देखाउनुहोस्। किताबको विषयसूची देखाउनुहोस् अनि तिनले रोजेको अध्यायबाट एउटा वा दुइटा अनुच्छेद छलफल गर्नुहोस्।
तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ!
कुन समूहको लागि तयार पारियो? अलि-अलि मात्र लेखपढ गर्न जान्नेहरूका लागि
पुस्तिका कसरी प्रस्तुत गर्न सक्नुहुन्छ? “तपाईंलाई हामी परमेश्वरको मित्र हुन सक्छौं जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि याकूब २:२३ पढ्नुहोस्] अब्राहाम नाम गरेको एक जना वफादार व्यक्ति परमेश्वरको मित्र हुन सके। तर परमेश्वरको मित्र कसरी हुन सकिन्छ? त्यसबारे यस पुस्तिकामा बताइएको छ।”
यसो गरे कसो होला? पहिलो भेटमा वा पुनःभेटमा पाठ १ पूरै वा यसको केही अंश सँगै छलफल गरेर घरधनीलाई बाइबल अध्ययन गर्ने तरिका देखाउनुहोस्।