बाइबल अध्ययन खोज्ने पाँच तरिका
१. हाम्रो इलाकामा बाइबल अध्ययन खोज्ने काम चुनौतीपूर्ण छ भने के गर्नुपर्छ र किन?
१ के तपाईंलाई बाइबल अध्ययन खोज्ने काम चुनौतीपूर्ण लाग्छ? लाग्छ भने हार नमान्नुहोस्। हरेस नखाई यहोवाको इच्छा गर्नेहरूलाई उहाँ आशिष् दिनुहुन्छ। (गला. ६:९) तपाईंलाई मदतकारी हुने पाँचवटा सुझाव विचार गर्नुहोस्।
२. बाइबल अध्ययनको लागि हामी कसरी सीधै प्रस्ताव राख्न सक्छौं?
२ सीधै राखिने प्रस्ताव: हामी प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका प्रस्तुत गर्छौं भनेर धेरैलाई थाह छ तर बाइबल अध्ययनको प्रस्ताव पनि राख्छौं भनेर थाह नहुन सक्छ। घरघरको प्रचारकार्यमा सीधै बाइबल अध्ययनको प्रस्ताव राख्ने कोसिस गरे कसो होला? तपाईंले भेटेको जिज्ञासु व्यक्ति बाइबल अध्ययन गर्न चाहन्छन् कि, सोध्नुहोस्। यदि तिनले प्रस्ताव स्वीकारेनन् भने तिनको चासो सेलाउन नदिन साहित्यहरू दिइरहन सक्नुहुन्छ। एक जना भाइले वर्षौंदेखि एउटा दम्पतीलाई हाम्रा साहित्यहरू दिंदै आएका थिए। एक पटकको कुरा हो, नयाँ प्रकाशित पत्रिका दिएर फर्कनै लाग्दा ती भाइको मनमा यस्तो प्रश्न सोध्ने विचार आयो, “तपाईंहरू बाइबल अध्ययन गर्न चाहनुहुन्छ?” तिनीहरूले “चाहन्छौं” भनेर जवाफ दिंदा ती भाइ तीनछक परे। अहिले ती दम्पतीले बप्तिस्मा गरिसकेका छन्।
३. सभामा उपस्थित जिज्ञासुहरूले बाइबल अध्ययन गरिरहेका छन् होला भनेर किन अनुमान लगाउनु हुँदैन?
३ सभामा उपस्थित जिज्ञासुहरू: सभामा उपस्थित जिज्ञासु व्यक्तिहरूले कसैसित बाइबल अध्ययन गरिरहेका छन् होला भनेर अनुमान नलगाउनुहोस्। एक जना भाइ यसो भन्छन्, “मेरो आधाभन्दा धेरै बाइबल अध्ययन त सभामा आएका जिज्ञासु व्यक्तिहरूसित कुरा गरेर नै सुरु भएको हो।” एक जना बहिनीले सभामा आउने गरेकी एउटी लजालु महिलासित कुरा गर्ने विचार गरिन्। ती महिला बप्तिस्मा गरिसकेका छोरीहरूसित सभामा आउन थालेको १५ वर्ष भइसकेको थियो। तिनी सधैं सभा सुरु हुने बेला आइपुग्थिन् अनि सभा सिद्धिनेबित्तिकै गइहाल्थिन्। तिनी बाइबल अध्ययन गर्न राजी भइन् र पछि बप्तिस्मा गरिन्। उक्त प्रकाशक बहिनी पछुतो मान्दै यस्तो लेख्छिन्, “मैले उहाँलाई १५ वर्षअगाडि नै बाइबल अध्ययनको प्रस्ताव राखेको भए हुन्थ्यो।”
४. अरूको मदत लिएर हामी कसरी बाइबल अध्ययन भेट्टाउन सक्छौं?
४ अरूको मदत: एक जना बहिनी अरू साक्षीहरूको अध्ययनमा सँगै जाने प्रयास गर्छिन्। अध्ययन सिद्धिएपछि ती बहिनी सञ्चालकको अनुमति लिएर विद्यार्थीलाई उनले चिनेजानेको कोही व्यक्ति अध्ययन गर्न इच्छुक छन् कि भनेर सोध्ने गर्छिन्। घरधनीलाई बाइबलले सिकाउँछ किताब दिंदा यसो भन्न सक्नुहुन्छ, “यो किताब पढ्न चाहने अरू कसैलाई तपाईं चिन्नुहुन्छ?” कहिलेकाहीं प्रकाशक तथा अग्रगामी सेवकहरूले कारणवश जिज्ञासु व्यक्तिलाई अध्ययन गराउन सक्दैनन्। त्यसकारण तपाईं बाइबल अध्ययन गराउन इच्छुक हुनुहुन्छ भनेर अरूलाई थाह दिइराख्नुहोस्।
५. कुनै ख्रीष्टियनको बेग्लै धर्म मान्ने पति वा पत्नीलाई अध्ययनको प्रस्ताव राख्नु किन राम्रो हुन सक्छ?
५ बेग्लै धर्म मान्ने जीवनसाथी: के तपाईंको मण्डलीमा बेग्लै धर्म मान्ने पति/पत्नी भएका प्रकाशकहरू छन्? बेग्लै धर्म मान्ने कोही कोही व्यक्ति आफ्नो ख्रीष्टियन पति/पत्नीसँग बाइबलबारे कुरा गर्न चाहँदैनन्। तर परिवार बाहिरका कसैले अध्ययनको प्रस्ताव राखेमा स्वीकार्न सक्छन्। बेग्लै धर्म मान्ने व्यक्तिलाई अध्ययनको प्रस्ताव राख्नुअघि कुन तरिकामा प्रस्ताव राख्नु उपयुक्त हुन्छ, तिनको पति वा पत्नीसित सल्लाह गर्नु अक्सर राम्रो हुन्छ।
६. बाइबल अध्ययन भेट्टाउने प्रयास गर्दै हुनुहुन्छ भने किन प्रार्थना गर्नुपर्छ?
६ प्रार्थना: प्रार्थनाको शक्तिलाई हल्कासित नलिनुहोस्। (याकू. ५:१६) हाम्रो बिन्ती यहोवाको इच्छाबमोजिम छ भने उहाँले त्यस्तो बिन्ती सुन्ने प्रतिज्ञा गर्नुभएको छ। (१ यूह. ५:१४) आफ्नो कामकुरामा व्यस्त भए तापनि एक जना भाइले बाइबल अध्ययन भेट्टाउन मदत गर्नुहोस् भनेर प्रार्थना गरे। तिनकी श्रीमतीले पनि तिनको लागि प्रार्थना गरिन्। तर उनलाई आफ्नो श्रीमान्ले विद्यार्थीलाई, विशेषगरि थुप्रै समस्या भएको विद्यार्थीलाई समय दिन सक्ने हो कि होइन भन्ने चिन्ता गरिन्। उनले आफूलाई चिन्ता लागेको विषयमा तोकेरै प्रार्थना गरिन्। लगभग दुई हप्तापछि यहोवाले तिनीहरूको प्रार्थनाको जवाफ दिनुभयो। एक जना अग्रगामी बहिनीले ती भाइलाई अध्ययन गर्न इच्छुक व्यक्तिसित भेटाइदिइन्। ती भाइकी श्रीमती यस्तो लेख्छिन्, “यदि कसैलाई बाइबल अध्ययन गराउनु सम्भव छैन जस्तो लाग्छ भने त्यसबारे तोकेरै प्रार्थना गर्नुहोस्। अनि प्रार्थना गर्न नछोड्नुहोस्। बाइबल अध्ययन गराउँदा कत्ति आनन्दित हुन सकिने रहेछ, हामीले कल्पना समेत गरेका थिएनौं।” निरन्तर प्रयास गरिरहनुभयो भने तपाईंले पनि बाइबल अध्ययन भेट्टाउन सक्नुहुनेछ अनि “जीवनतर्फ लैजाने ढोका”-सम्म पुग्न अरूलाई मदत गर्दा पाइने आनन्द अनुभव गर्नुहुनेछ।—मत्ती ७:१३, १४.