गुनिलो कुदु
दक्षिण अफ्रिकाका ब्यूँझनुहोस्! संवाददाताद्वारा
बटारिएको आकर्षक सिङ तथा असाधारण कान हुने हरिणजस्तो घोर्ले कुदु पूरै हुर्किसकेपछि झन्डै १५० सेन्टिमिटर अग्लो हुन्छ। हुन त पोथी कुदुको सिङ हुँदैन, तैपनि यसको लामा लामा कानले गर्दा यो कुदु नै हो भनेर छुट्टिन्छ। कुदु लजालु हुन्छ। त्यसैले सधैं चनाखो भएर पल्याकपुलुक हेरिरहन्छ। केही खतराजस्तो देख्ने बित्तिकै ज्यान जोगाउन भागिहाल्छ। यसको सम्बन्धमा, जिम्बावेकी करेन नाउँकी महिलाको जीवनमा भएको यो घटना चाखलाग्दो छ।
अफ्रिकन वाइल्डलाइफ पत्रिकाको प्रतिवेदनअनुसार तारको बारमा अल्झिएको एउटा कुदुको सानो बाछीलाई छुटाएर करेनलाई दिइयो अनि उनले केही हप्तासम्म सिसीबाट दूध पियाएर हुर्काइन्। चाँडै त्यो हलक्कै बढ्यो। करेन र उनका परिवार दूग्धशाला नजीकै बस्थ्यो। यो कुदु पनि उनीहरूको छोराछोरी र कुकुरहरूसँग खेल्ने गर्थ्यो। समय बित्दै जाँदा यसले बढी समय जंगलतिरै बिताउन थाल्यो। बैंसालु उमेरमा पुगेपछि यो दूग्धशाला वरिपरि कतै देखिएन।
करीब दुइ वर्षपछि एक दिन करेन खेतै खेतको बाटो भएर गाडीबाट जाँदा सडक नजीकै एउटा गर्भवती कुदु नभागिकन बसेको देखेर छक्क परिन्। तिनी गाडीबाट ओर्लेर त्यस कुदुतर्फ जान लाग्दा पनि त्यो भागिन। अब भने आफूले सिसीको दूध चुसाएर पालेको सानो जनावर त्यही पो रहेछ भनेर थाहा पाइन्। अनि तिनले माया गरेर बोलाउँदै त्यसको नजीक गइन्। त्यो गर्भवती कुदुले पनि तिनलाई चिनी। त्यसैले करेनसँग लुटपुटिई र करेनले पनि त्यसलाई अंगालो हालिन्!
केही महिनापछि त्यो कुदु फेरि त्यही सडक नजीकै देखिन थाली। यसपालि भने ऊसित एउटा सानो बाछो पनि थियो। माउले गर्वकासाथ आफ्नो बच्चा देखाएजस्तो करेनलाई लाग्यो र कुदुले आफूलाई फेरि एक पटक सुम्सुम्याउन दिई। केही सातापछि फेरि सोही कुदु त्यही ठाउँमा देखिंदा करेनलाई नै भेट्न पर्खिरहेको जस्तो देखिन्थ्यो।
केही महिना बितेपछि केही कामदारहरूले त्यही कुदुको घाँटीमा पासो अड्केको देखे। तिनीहरूले निकाल्न खोज्दा कुदु भागी। यो थाह पाएर करेन बोलाउँदै बोलाउँदै त्यसलाई खोज्न गइन्। एकछिनमै त्यो कुदु तिनको अगाडि देखा परी। करेनले त्यो कुदुलाई मनपर्ने रोटी पनि ल्याएकी थिइन्। मजाले रोटी खाइरहेको बेलामै करेनका पतिले घाँटीमा अल्झिएको पासो काटिदिए।
मानिस र जनावरबीचको यस्तो घनिष्ठ सम्बन्धले गर्दा त्यो परिवार एकदमै रमायो।