प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 १२/१५ pp. २६-२९
  • परिवारका सदस्यहरूबीच स्नेह व्यक्‍त गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिवारका सदस्यहरूबीच स्नेह व्यक्‍त गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “डरलाग्दो समय”
  • उदाहरणीय पारिवारिक सम्बन्ध
  • परिवारमा स्नेह—कसरी?
  • तपाईं मदत पाउन सक्नुहुन्छ
  • ‘एक दोस्रोतर्फ कोमल स्नेह देखाउनुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • कसरी माया व्यक्‍त गर्ने?
    परिवारका लागि
  • भ्रातृस्नेहको कुञ्जी थाहा लगाउनु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • कोमल स्नेह खेती गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 १२/१५ pp. २६-२९

परिवारका सदस्यहरूबीच स्नेह व्यक्‍त गर्नुहोस्‌

“जलाऊ! सक्छौं भने जलाऊ!” तोरुले आफ्नी पत्नी योकोलाई चुनौती दिए।a “हो! म जलाउँछु” तिनले च्याठ्ठिदै जवाफ दिइन्‌ र दुई जना सँगै बसेको फोटो जलाउन सलाई कोरिन्‌। त्यसपछि तिनी यसो भन्दै झोकिइन्‌: “म यो घरै जलाइदिन्छु।” यो सुनेर तोरुले आफ्नी पत्नीलाई एक चड्‌कन लगाए र भनाभन हिंसामा परिणत भयो।

तीन वर्ष अघि तोरु र योकोले एउटा सुखी वैवाहिक जोडीको रूपमा सँगै जीवन सुरुवात गरेका थिए। त्यसोभए कुरा कहाँ बिग्रियो त? तोरु हेर्दा एक शालीन पुरुष जस्तो देखिए तापनि उनकी पत्नीले उनीबाट माया नपाएको र आफ्ना भावनाहरूको बेवास्ता गरिएको महसुस गरिन्‌। तिनले देखाएको स्नेहको प्रतिक्रिया देखाउन तोरु असक्षम जस्तो देखिन्थ्यो। असह्‍य भएपछि योकोको असन्तुष्टता र रिस दिन प्रतिदिन बढ्‌दै जान थाल्यो। फलतः तिनी निद्रा नलाग्ने, चिन्ता, खानामा अरुचि, दिक्दारी र नैराश्‍य अनि एकाएक डराउने जस्ता रोगहरूले ग्रस्त हुन थालिन्‌। तैपनि आफ्नो घरको यस्तो तनावग्रस्त अवस्थाप्रति तोरु भावशून्य देखिन्थे। उनको व्यवहार यस्तो देखिन्थ्यो मानौं घरमा केही भएकै छैन।

“डरलाग्दो समय”

आज यस्ता समस्याहरू सामान्य भइसकेका छन्‌। प्रेरित पावलले हाम्रो समयमा “स्वाभाविक प्रेम रहितका” मानिसहरू हुनेछन्‌ भनेर भविष्यवाणी गरे। (२ तिमोथी ३:१-५) यहाँ “स्वाभाविक प्रेम रहितका” भनेर अनुवाद गरिएको मूल युनानी शब्दको पारिवारिक सदस्यहरूबीचमा हुने स्वाभाविक स्नेहलाई चित्रण गर्ने शब्दसित नजिकको सम्बन्ध छ। आज हाम्रो समयमा यस्तो स्नेहको अभाव प्रस्टै देखिएको छ। कुनै-कुनै परिवारका सदस्यहरूमा यस्तो स्नेह रहेको भए तापनि तिनीहरूले विरलै व्यक्‍त गर्लान्‌।

आज अधिकांश आमाबाबुलाई आफूले जन्म दिएको सन्तानलाई समेत कसरी प्रेम र स्नेह व्यक्‍त गर्ने, थाह छैन। कोही-कोही स्नेहको अभाव भएको पारिवारिक वातावरणमा हुर्केका हुन्छन्‌। स्नेह, केवल अनुभूति वा व्यक्‍त गरिएकै भरमा जीवन खुसी र आनन्दले भरपूर हुन सक्ने कुरालाई तिनीहरूले बुझ्न सक्दैनन्‌। तोरुको समस्या यही हो जस्तो देखिन्छ। उनी बालक छँदा उनको बुबा सधैं काममा व्यस्त हुने र राती अबेर घर आउने गर्थे। तोरुसित कहिलेकाहीं कुराकानी गर्दासमेत बुबाले कहिल्यै राम्रो मुखले बोलेनन्‌। तोरुकी आमा पनि पूर्ण समय जागिर खान्थिन्‌ र छोरासित कहिल्यै पर्याप्त समय बिताउँदिनथीन्‌। तोरुकी धाई आमा भन्‍नु नै टेलिभिजन सेट थियो। उनको परिवारमा एकअर्काको प्रशंसा र राम्रो कुराकानी कहिल्यै भएन।

यसो हुनुमा संस्कृति पनि केही हदसम्म जिम्मेवार हुन सक्छ। ल्याटिन अमेरिकाको केही भागहरूमा आफ्नी पत्नीप्रति स्नेह व्यक्‍त गर्न पुरुष त्यहाँको संस्कृति विरुद्ध जानुपर्छ। धेरै पूर्वीय तथा अफ्रिकी देशहरूमा वचन र कार्यद्वारा स्नेह व्यक्‍त गर्ने चलन पटक्कै छैन। आफ्नी पत्नी अथवा छोराछोरीलाई “म तिमीलाई माया गर्छु” भनेर भन्‍नु पतिलाई असाध्यै गाह्रो लाग्न सक्छ। यद्यपि, हामीले युगौंदेखि सत्य अनि व्यावहारिक साबित हुँदै आएको सुरुको पारिवारिक सम्बन्धबाट पाठ सिक्न सक्छौं।

उदाहरणीय पारिवारिक सम्बन्ध

परिवारको लागि उत्कृष्ट नमूना यहोवा परमेश्‍वर र उहाँको एक मात्र पुत्रबीचको आत्मीय सम्बन्धमा पाइन्छ। उहाँहरूले एकअर्कालाई सिद्ध प्रेम गर्नुभयो। पहिले एक आत्मिक प्राणी रहनुभएका येशू ख्रीष्टले हजारौं-हजार वर्ष आफ्नो पितासितको सुमधुर सम्बन्धबाट आनन्द उठाउनुभयो। उहाँले यस बन्धनलाई यसरी वर्णन गर्नुभयो: “उहाँको छेउमा उहाँको प्रिय र आनन्दको पात्रझैं दिनहुँ उहाँकै सामने निरन्तर खेल्दै बस्थें।” (हितोपदेश ८:३०) पुत्र आफ्नो पिताको प्रेमप्रति यति विश्‍वस्त हुनुहुन्थ्यो कि उहाँले आफू दिनहुँ यहोवाको आनन्दको पात्र हुनुभयो भनेर अरूलाई घोषणा गर्न सक्नुभयो। आफ्नो पिताको उपस्थितिमा उहाँ सधैं आनन्दित हुनुभयो।

पृथ्वीमा मानिसको रूपमा हुँदासमेत पिताले पुत्र येशूलाई आफ्नो गहिरो प्रेमप्रति विश्‍वस्त गराउनुभयो। बप्तिस्मापछि येशूले पिताको यस्तो आवाज सुन्‍नुभयो: “यिनी मेरो प्यारो पुत्र हुन्‌, जोसँग म खुशी छु।” (मत्ती ३:१७) येशूले पृथ्वीमा आफ्नो जिम्मेवारी निभाउन लाग्दा पिताद्वारा व्यक्‍त गरिएको प्रेमको कस्तो प्रोत्साहनदायी अभिव्यक्‍ति! स्वर्गमा आफूले बिताएका हरेक क्षणहरू स्मरणमा आएको त्यो समयमा आफ्नो पिताको अनुमोदन सुन्‍न पाउँदा उहाँको हृदय पक्कै द्रवित भएको हुनुपर्छ।

यसरी यहोवाले प्रेम व्यक्‍त गर्न कुनै कसर बाँकी नराखेर आफ्नो विश्‍वव्यापी परिवारको लागि एउटा उत्कृष्ट उदाहरण बसाल्नुभयो। येशू ख्रीष्टलाई स्वीकारेको खण्डमा हामीले पनि यहोवाको स्नेहबाट आनन्द उठाउन सक्छौं। (यूहन्‍ना १६:२७) आज हामीले स्वर्गबाट कुनै वाणी त सुन्दैनौं तर प्रकृति, येशूको छुडौतीको बलिदानको प्रबन्ध अनि अरू विभिन्‍न तरिकाहरूमा यहोवाले व्यक्‍त गर्नुभएको प्रेम देख्नेछौं। (१ यूहन्‍ना ४:९, १०) यहोवाले हाम्रो प्रार्थना पनि सुन्‍नुहुन्छ र हाम्रै सर्वोपरि हितलाई ध्यानमा राखेर त्यसको जवाफ दिनुहुन्छ। (भजन १४५:१८; यशैया ४८:१७) जब हामी यहोवासित घनिष्ठ सम्बन्ध विकास गर्दै जान्छौं, उहाँको मायालु रेखदेखको लागि हाम्रो मूल्यांकन गहिरो हुँदै जान्छ।

येशूले आफ्नो पिताबाट कसरी अरूलाई समानुभूति, अनुग्रह, दया अनि गहिरो चासो देखाउने भनी सिक्नुभयो। उहाँले यसो भन्‍नुभयो: “[पिताले] जे गर्नुहुन्छ, पुत्रले पनि तिनै काम त्यही किसिमले गर्छ। किनभने पिताले पुत्रलाई माया गर्नुहुन्छ, र उहाँ आफैले गर्नुहुने सबै काम उसलाई देखाउनुहुन्छ।” (यूहन्‍ना ५:१९, २०) हामीले पनि येशू पृथ्वीमा हुनुहुँदा उहाँले बसाल्नुभएका उदाहरणहरूको अध्ययन गरेर स्नेह व्यक्‍त गर्ने कला सिक्न सक्छौं।—फिलिप्पी १:८.

परिवारमा स्नेह—कसरी?

“परमेश्‍वर प्रेम हुनु[का]” साथै हामीलाई उहाँकै “स्वरूपमा” सृष्टि गरिएको हुनाले हामीमा प्रेम, अनुभूति र व्यक्‍त गर्ने क्षमता छ। (१ यूहन्‍ना ४:८; उत्पत्ति १:२६, २७) यद्यपि, यो क्षमता स्वतः विकास हुँदैन। स्नेह व्यक्‍त गर्नको लागि सर्वप्रथम हामीले आफ्नो विवाहित दम्पती तथा छोराछोरीलाई मायालु दृष्टिले हेर्नुपर्छ। गहिरिएर नियाल्नुहोस्‌ र तिनीहरूमा भएका असल गुणहरू हेर्नुहोस्‌। सुरुमा ती गुणहरू तुच्छ लाग्न सक्ने भए तापनि त्यसमा ध्यान दिनुहोस्‌। तपाईं भन्‍नुहोला, ‘मेरो पतिमा [पत्नी वा छोराछोरी] उल्लेखनीय कुनै गुण नै छैन।’ मागी विवाह गरेकाहरूबीच सुरुमा प्रेम त्यति प्रगाढ नहुन सक्छ। कसै-कसैमा बच्चाको चाहनै नहुन सक्छ। तर सा. यु. पू. दसौं शताब्दीमा यहोवाले आफ्नी लाक्षणिक पत्नी, इस्राएल राष्ट्रप्रति कस्तो दृष्टिकोण राख्नुभयो, विचार गर्नुहोस्‌। यहोवाका अगमवक्‍ता एलिया इस्राएलको दस कुलमा यहोवाका उपासकहरू रहँदै नरहेको निष्कर्षमा पुगे। तर यहोवाले त्यस जातिलाई राम्ररी नियाल्नुभयो र ज्यादै धेरै संख्यामा अर्थात्‌ ७,००० जति असल गुण भएका मानिसहरू भेट्टाउनुभयो। परिवारका सदस्यहरूका असल गुणहरू खोजेर के तपाईं यहोवाको अनुकरण गर्न सक्नुहुन्छ?—१ राजा १९:१४-१८.

यद्यपि, परिवारका अन्य सदस्यहरूले तपाईंको स्नेह अनुभूति गरोस्‌ भन्‍ने चाहनुहुन्छ भने तपाईंले स्नेह व्यक्‍त गर्न आफै सजग भई प्रयत्न गर्नुपर्छ। प्रशंसा गर्न लायकको कुनै कुरा देख्नुभएमा शब्दमै आफ्नो मूल्यांकन व्यक्‍त गर्न कहिल्यै पछि नहट्‌नुहोस्‌। एउटी सुयोग्य पत्नीको वर्णन गर्दा परमेश्‍वरको वचनले तिनको परिवारको एउटा उल्लेखनीय गुणबारे बताउँछ: “तिनका छोराहरूले एकै मतका भएर तिनलाई सुखी भन्छन्‌, तिनका पतिले पनि तिनको प्रशंसा गरेर भन्छन्‌।” (हितोपदेश ३१:२८) यस परिवारका सदस्यहरूले कत्ति खुला भएर एकअर्काप्रति आफ्नो मूल्यांकन व्यक्‍त गरेका छन्‌, ध्यान दिनुहोस्‌। शब्दद्वारा आफ्नी पत्नीको प्रशंसा गरेर एक जना बुबाले छोराको लागि एउटा उत्तम उदाहरण बसाल्छन्‌। यस उदाहरणद्वारा छोराले विवाह पश्‍चात्‌ उदार भएर आफ्नी पत्नीको प्रशंसा गर्न प्रोत्साहन पाउँछन्‌।

आमाबाबुले आफ्ना छोराछोरीको पनि प्रशंसा गर्नुपर्छ। यसले छोराछोरीको हृदयमा आत्म-सम्मान विकास गर्न मदत गर्छ। आखिर, कुनै व्यक्‍तिमा आत्म-सम्मान नै छैन भने कसरी उसले ‘आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम” गर्न सक्छ र? (मत्ती २२:३९) अर्कोतिर, यदि आमाबाबुले सधैं आफ्ना छोराछोरीको आलोचना गर्छन्‌ र तिनीहरूको पटक्कै प्रशंसा गर्दैनन्‌ भने छोराछोरीहरूले सजिलै आफ्नो आत्म-सम्मान गुमाउन सक्छन्‌ र अरूलाई स्नेह देखाउन तिनीहरूलाई गाह्रो हुन सक्छ।—एफिसी ४:३१, ३२.

तपाईं मदत पाउन सक्नुहुन्छ

यदि तपाईंको लालनपालन एउटा मायालु घरपरिवारमा भएको छैन भने नि? त्यसो भए तापनि तपाईंले स्नेह व्यक्‍त गर्न सिक्न सक्नुहुन्छ। पहिलो कदम समस्यालाई चिन्‍नु र आफूमा सुधार ल्याउनुपर्ने आवश्‍यकतालाई बुझ्नु हो। यस सन्दर्भमा परमेश्‍वरको वचन बाइबलले ठूलो मदत दिन्छ। यसलाई ऐनासित तुलना गर्न सकिन्छ। जब हामी बाइबलको शिक्षारूपी ऐनामा आफूलाई जाँच्छौं, त्यतिबेला हाम्रो सोचाइमा भएका त्रुटि अथवा दोषहरू हाम्रोसामु प्रकट हुन्छन्‌। (याकूब १:२३) आफूमा भएका कुनै पनि गलत झुकावहरूलाई हामी बाइबलका शिक्षाअनुरूप छाँटकाँट गर्न सक्छौं। (एफिसी ४:२०-२४; फिलिप्पी ४:८, ९) ‘भलाइ गर्नमा कहिल्यै हरेस नखाएर’ हामीले निरन्तर यसो गर्नु खाँचो छ।—गलाती ६:९.

आफू हुर्केको परिवेश वा संस्कृतिले गर्दा कसैलाई स्नेह व्यक्‍त गर्न गाह्रो लाग्न सक्छ। यद्यपि, हालैको अध्ययनहरूले देखाएअनुसार यस्ता अवरोधहरू हटाउन सकिन्छ। एक मानसिक स्वास्थ्य विशेषज्ञ डा. डानिएल गोलम्यान यसो भन्छन्‌, ‘बाल्यकालदेखि हाम्रो हृदयमा गडेर रहेको जुनसुकै बानी पनि सुधार्न सकिन्छ।’ आजभन्दा उन्‍नाइस शताब्दीअघि बाइबलले परमेश्‍वरको आत्माको मदतले हाम्रो हृदयमा गडेर रहेका जस्तोसुकै झुकावहरू परिवर्तन गर्न सकिन्छ भनी संकेत गऱ्‍यो। यसले हामीलाई यस्तो सल्लाह दिन्छ: ‘पुरानो मनुष्यत्वलाई त्यसका कामहरूसमेत त्याग, औ नयाँ चोला धारण गर।’—कलस्सी ३:९, १०.

समस्याको पहिचान गरिसकेपछि, आफ्ना आवश्‍यकताहरूलाई मनमा राखेर परिवारले बाइबल अध्ययन गर्न सक्छन्‌। उदाहरणको लागि, बाइबलले “स्नेह”-बारे के भन्छ भनी अनुसन्धान गरे कसो होला? तपाईंले यस्ता शास्त्रपदहरू फेला पार्न सक्नुहुन्छ: “तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको अन्त्य पनि देखेकै छौ, कि प्रभु कस्तो टिठाइमा [स्नेह] भरिपूर र कृपालु हुनुहुन्छ।” (याकूब ५:११) त्यसपछि यहोवा कसरी अय्यूबको लागि स्नेहमा भरिपूर र कृपालु हुनुभयो भन्‍ने कुरालाई ध्यानमा राख्दै अय्यूबको बाइबल विवरणमा विचार गर्नुहोस्‌। आफ्नो परिवारप्रति टिठाइमा भरपूर र कृपालु भएर तपाईं पक्कै पनि यहोवाको अनुकरण गर्न चाहनुहुनेछ।

यद्यपि, असिद्ध भएकोले जिब्रोको प्रयोग गर्दा हामी ‘धेरै पटक चुक्छौं।’ (याकूब ३:२) परिवारका सदस्यहरूबीच प्रोत्साहनजनक ढंगमा जिब्रो प्रयोग गर्न हामी चुक्न सक्छौं। अनि यस्तै बेला त हो, हामीलाई प्रार्थना र यहोवाप्रति भरोसाको आवश्‍यकता पर्ने। हरेस नखानुहोस्‌। “निरन्तर प्रार्थना” गरिरहनुहोस्‌। (१ थिस्सलोनिकी ५:१७) परिवारमा स्नेहको अपेक्षा राख्ने अनि स्नेह देखाउन संकोच मान्‍नेहरू दुवैलाई यहोवाले मदत गर्नुहुनेछ।

यसको अतिरिक्‍त, यहोवाले दयापूर्वक मसीही मण्डलीमा मदत उपलब्ध गराउनुभएको छ। याकूबले यस्तो लेखे: “के तिमीहरूमध्ये कोही बिरामी छ? त्यसले मण्डलीको धर्म-गुरुहरूलाई बोलाओस्‌, र तिनीहरूले प्रभुको नाउँमा त्यसलाई तेल घसेर त्यसको विषयमा प्रार्थना गरून्‌।” (याकूब ५:१४) हो, यहोवाका साक्षीहरूको मण्डलीका प्राचीनहरू एक-अर्कालाई स्नेह देखाउन गाह्रो भइरहेका परिवारका सदस्यहरूका लागि ठूलो मदत साबित हुन सक्छन्‌। प्राचीनहरू मनोचिकित्सक नभए तापनि आफ्ना सँगी विश्‍वासीहरूलाई तिनीहरूले चाल्नुपर्ने कदमबारे नबताई यहोवाको दृष्टिकोणबारे सम्झाना दिलाउनुकासाथै तिनीहरूसित बसेर अनि तिनीहरूको लागि प्रार्थना गरिदिएर धैर्यपूर्वक मदत दिन सक्छन्‌।—भजन ११९:१०५; गलाती ६:१.

तोरु र योकोको विषयमा भन्‍नुपर्दा, प्राचीनहरू तिनीहरूका समस्याहरू सुन्‍न अनि तिनीहरूलाई सान्त्वना दिन कहिल्यै पछि हटेनन्‌। (१ पत्रुस ५:२, ३) कहिलेकाहीं एक जना प्राचीन र तिनकी पत्नी तिनीहरूलाई भेट्‌न जान्थे र योकोले प्राचीनकी पत्नी जस्तो एक अनुभवी मसीही स्त्रीको संगतिबाट लाभ उठाउन सकिन्‌। तिनले नै योकोलाई ‘आफ्नो पतिलाई स्नेह गर्न’ सम्झाउन सकिन्‌। (तीतस २:३, ४) सँगी मसीहीहरूको दुःख अनि पीडाहरूलाई बुझेर र त्यसप्रति सान्त्वना देखाएर प्राचीनहरू “बतासबाट लुक्ने ठाउँ, र आँधी–बेह्रीबाट आड़ लिने ठाउँ” बन्छन्‌।—यशैया ३२:१, २.

मायालु प्राचीनहरूको मदतद्वारा तोरुले भावनाहरू पोखाउने सन्दर्भमा आफूमा भएको समस्या र “आखिरी दिनमा” शैतानले पारिवारिक संरचनामाथि आक्रमण गर्ने कुरालाई राम्ररी बुझे। (२ तिमोथी ३:१) तोरुले आफ्ना समस्याहरूसित डट्‌ने निर्णय गरे। हुर्कने क्रममा स्नेह नपाएको कारण आफूले स्नेह व्यक्‍त गर्न नसकेको कुरालाई उनले बुझ्न थाले। गम्भीरतासाथ बाइबल अध्ययन र प्रार्थना गरेर तोरुले बिस्तारै योकोका भावनात्मक आवश्‍यकताहरू बुझ्न थाले।

योको तोरुसित रिसाएकी भए तापनि उनको पारिवारिक पृष्ठभूमि बुझिसकेपछि र आफ्ना गल्तीहरू पनि महसुस गरिसकेपछि तिनले आफ्नो पतिका असल गुणहरू हेर्न ठूलो प्रयत्न गरिन्‌। (मत्ती ७:१-३; रोमी ५:१२; कलस्सी ३:१२-१४) आफ्नो पतिलाई सधैं माया गरिरहन सकूँ भनेर तिनले यहोवालाई निष्कपटतासाथ प्रार्थनामा बल मागिन्‌। (फिलिप्पी ४:६, ७) अन्ततः आफ्नी पत्नीको खुसीको खातिर तोरुले स्नेह व्यक्‍त गर्न थाले।

हो, तपाईंलाई स्नेह अनुभूति र व्यक्‍त गर्न गाह्रो भए तापनि तपाईंले अवश्‍य यो समस्यालाई हटाउन सक्नुहुन्छ। परमेश्‍वरको वचनले हामीलाई लाभदायी निर्देशनहरू दिन्छ। (भजन १९:७) विषयवस्तुको गम्भीरतालाई बुझेर, आफ्नो परिवारका सदस्यहरूको असल गुणहरू हेर्ने प्रयास गरेर, परमेश्‍वरको वचन अध्ययन गरेर अनि व्यवहारमा उतारेर, व्यग्र प्रार्थनाद्वारा यहोवामाथि भरोसा राखेर अनि परिपक्व प्राचीनहरूको मदत खोजेर तपाईंले आफू र आफ्नो परिवारबीच समाधानै गर्न नसकिने जस्तो देखिने बाधाहरूलाई पन्छाउन सक्नुहुन्छ। (१ पत्रुस ५:७) संयुक्‍त राज्यका एक पतिजस्तो तपाईं पनि आनन्दित हुन सक्नुहुन्छ। पत्नीलाई स्नेह व्यक्‍त गर्न उनलाई प्रोत्साहित गरियो। बल्लतल्ल साहस जुटाएर उनले आफ्नी पत्नीलाई “म तिमीलाई माया गर्छु,” भने। त्यतिबेला आफ्नी पत्नीको प्रतिक्रिया देखेर उनी छक्क परे। आँखाभरि हर्षको आँसु राख्दै तिनले भनिन्‌: “म पनि तपाईंलाई औधी माया गर्छु, २५ वर्षपछि पहिलो पटक मैले तपाईंको मुखबाट यी शब्दहरू सुने।” आफ्ना जीवनसाथी र छोराछोरीलाई स्नेह व्यक्‍त गर्न तपाईंचाहिं त्यति लामो समयसम्म नकुर्नुहोस्‌ नि!

[फुटनोट]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ २८-मा भएको चित्र]

यहोवाले उहाँको वचन बाइबलमा मदत उपलब्ध गराउनुहुन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने