के तपाईं अग्रगामी भएर यहोवाको सेवा गर्न सक्नुहुन्छ?
१ “ज्योति वाहकहरू” जिल्ला सम्मेलनहरू मध्ये एउटा सम्मेलनमा वक्ताले यो सोधेको थियो: “के तपाईं अग्रगामी सेवा गर्न सक्नुहुन्छ? के तपाईं अग्रगामी सेवा गर्नु हुनेछ?” यी प्रश्नहरू समयानुकूल छन् भनेर तिनले टिप्पणी गरे किनभने आरमागेडोन नजिकै छ र यसले गर्दा हाम्रो प्रचार कार्य पहिले भन्दा अति नै महत्त्वपूर्ण भएको छ।—१ कोरि० ७:२९क.
२ निस्सन्देह अग्रगामी सेवा गर्नुको अर्थ कडा मेहनत गर्नु हो। यसका लागि आत्म-अनुशासन र सुव्यवस्थित हुनु आवश्यक पर्दछ। तथापि, हामीले सेवकाईमा गरेको मेहनत “व्यर्थ हुँदैन।” (१ कोरि० १५:५८) हाम्रो समय र शक्ति खाने हामीले छानेका अन्य क्रियाकलापहरू बारे पनि के त्यही भन्न सकिन्छ र? यहोवा प्रतिको प्रेमले मसीहीहरूलाई उहाँको सेवामा जोसिलो हुन उक्साउँदछ र यहोवाको सेवाका लागि जोस भएको कारण धेरै व्यक्तिहरू अग्रगामी सेवामा लागेका छन्।—१ यू० ५:३; प्रका० ४:११.
३ भर्खरै हाई-स्कूल सिध्याएका यहोवाका थुप्रै जवान सेवकहरूले अग्रगामी सेवा बारे गम्भीरता पूर्वक विचार गर्दैछन्। यसो गर्नु सम्पूर्णतः उपयुक्त छ। आखिर, पूर्ण-समय सेवकाई भन्दा अरू कुन पेशा त्यतिको महत्त्वपूर्ण हुनुसक्छ र? (मत्ती ६:३३) परमेश्वरको राज्यको सुसमाचार अवश्य प्रचार गरिनुपर्दछ; यो यहोवाको कार्य हो र युवावस्था देखि नै यस काममा व्यस्त हुन पाउनु, साँच्चै नै सौभाग्यको कुरा हो!—मत्ती २४:१४.
४ के तपाईं आमा-बाबु आफ्ना छोरा-छोरीलाई पूर्ण-समय सेवामा लाग्न प्रोत्साहित गर्नुहुन्छ? यो महत्त्वपूर्ण काममा तिनीहरूले आफ्नो पूरा हृदय, आत्मा, मन र शक्तिको प्रयोग गरेको तपाईं चाहनुहुन्छ भनेर के तपाईंको छोरा-छोरीले स्पष्टसँग बुझेका छन्? (मर्कूस १२:३०) स्कूलमा पढ्दै गर्दा मौका पाउने बित्तिकै सहायक अग्रगामी सेवा गरेर थुप्रै जवान प्रकाशकहरूले आफूलाई नियमित अग्रगामी सेवाका लागि तयार बनाउछन्। अवश्य पनि यहोवा प्रति देखाएको यस्तो भक्तिले उहाँको हृदयलाई खुशी तुल्याउँछ।—हितो० २७:११.
५ हुनः त सबै जनासँग अग्रगामी सेवा गर्न सक्ने परिस्थिति हुँदैन। तथापि, विवाहित वा अविवाहित, जवान वा वृद्ध, तपाईं जे हुनु भए तापनि, के तपाईं सुसमाचारको एकजना अग्रगामी सेवक भएर यहोवाको सेवा गर्ने कुरालाई गम्भीरता र प्रार्थना सहित विचार गर्नुभएको छ? (कल० ३:२३) एकजना वा दुवैजना अग्रगामी भएर आफ्नो सेवकाईलाई बढाउन थुप्रै जवान विवाहित जोडीहरू अघि बढ्दैछन्।
६ हाल नियमित अग्रगामी हुन सक्ने स्थितिमा हुनुहुन्न भने पनि, के तपाईं सहायक अग्रगामी हुन सक्नुहुन्छ? सम्भवतः तपाईंको मण्डलीका अरू थुप्रै प्रकाशकहरूले पनि यही अप्रिल महिनामा सहायक अग्रगामी हुने योजना बनाउँदै होलान्। के तपाईं तिनीहरूलाई साथ दिन सक्नुहुन्छ? हुनः त यहोवाका सबै वफादार सेवकहरूले थुप्रै आशिषहरू पाउँदछन्। तथापि, राज्य सेवामा बढी समय लगाएर भेडा खालका मानिसहरूको खोजी गर्न सक्ने अवस्थामा हुने व्यक्तिहरूले अझ थप आशिषहरू पाउने छन्।—प्रेरित २०:३५.