मानिसहरू भेटिने सबै ठाउँमा साक्षी दिनुहोस्
१ आफ्नो सेवकाईमा परमेश्वरको आत्माको भूमिका रहेको स्वीकार्दै प्रेरित पावलले भने: “परमेश्वरले चाहिं बढ़ाउनुभयो।” तिनले यसो पनि भने: “हामी परमेश्वरका सहकर्मी हौं।” (१ कोरि. ३:५-९) परमेश्वरका सहकर्मी हुनपाउनु अद्भुतकै विशेषाधिकार हो। परमेश्वरका सहकर्मी हुन पाएकोमा मूल्यांकन गर्छौं भनेर हामीले सार्वजनिक रूपमा कसरी प्रदर्शित गर्नसक्छौं? घर-घरको प्रचार कार्यमा तथा जुनसुकै ठाउँमा भेट्ने मानिसहरूलाई सुसमाचार सुनाएर।
२ हामीलाई ‘चेला बनाउने’ आज्ञा दिइएको छ। (मत्ती २८:१९) सेवकाईमा सीमित व्यक्तिहरूलाई मात्र भेट्दा हामी निरुत्साहित हुनसक्छौं र चाहे जत्ति गर्न सकिएन जस्तो लाग्नसक्छ। त्यसको ठीक विपरीत, धेरै व्यक्तिहरूलाई भेट्यौं र तिनीहरूसित कुराकानी गऱ्यौं भने सेवकाईबाट ठूलो आनन्द प्राप्त हुन्छ। तर यस्तो आनन्द प्राप्त गर्न सजिलो चाहिं हुँदैन किनकि धेरै व्यक्तिहरूसँग सम्पर्क राख्न जहाँ जहाँ मानिसहरू हुन्छन् त्यहीं जान हामी आफै अग्रसर हुनुपर्छ।
३ व्यवहारिक उदाहरणहरू: बजार, पार्क, प्रतीक्षालय र यातायात सवारीसाधन बिसाउने क्षेत्रहरूमा अर्थात् जहाँ जहाँ रोकटोक छैन, त्यहाँ त्यहाँ साक्षी दिनसक्छौं। सार्वजनिक सवारीसाधनमा यात्राको दौडान साक्षी दिन के तपाईं तयार हुनुहुन्छ? खचाखच भरिएको बसमा चढेर सेवकाईमा गइरहेको बेला दुइ साक्षीहरूले ज्ञान पुस्तकमा भएको प्रमोदवनको चित्र हेर्दै भविष्यप्रति परमेश्वरले गर्नुभएको प्रतिज्ञाबारे आपसमा कुराकानी गर्न थाले। तिनीहरूले आशा गरेझैं नजीकै उभिरहेका एक जवानले मन लाएर तिनीहरूका कुरा सुने र तिनीहरूले भनेका कुराहरूबाट प्रभावित भए। बसबाट उत्रिनअघि तिनले पुस्तक स्वीकारे र यसबारे अझ बताउन घरमै कसैलाई पठाइदिन अनुरोध गरे।
४ अनौपचारिक साक्षी दिएर धेरै प्रकाशकहरूले रमाइला अनुभवहरू बटुलेका छन्। एउटी बहिनी स्थानीय ठूलो बजारमा दिउँसो गइन् र किनमेल गरिसकेका त्यति हतार नभएकाहरूसित कुरा गरिन्। त्यसो गरेर आफूसित भएका जम्मै साहित्य तिनले वितरण गरिन्। मोटरमै बसेर कसैलाई कुरिरहेका पुरुषलाई उक्त बहिनीले पत्रिका दिंदा खुशीसाथ स्वीकारे। तिनी पहिला पनि सभाहरूमा उपस्थित भई सकेका थिए र बहिनीसँग कुराकानी गर्दा तिनको चासो फेरि जाग्यो।
५ यहोवाको नाउँ प्रशंसा गर्न पाउनु विशेषाधिकार हो। परमेश्वरले हामीप्रति देखाउनुभएको अनुग्रहलाई हामीले बेवास्ता गरेका छैनौं भनी देखाउन हामी जोसका साथ प्रचार गर्छौं। अरूलाई सहायता गर्ने “ग्रहणयोग्य समय” अहिले भएकोले आउनुहोस्, जुनसुकै ठाउँहरूमा गएर मानिसहरूलाई यहोवाको “उद्धारको दिन[बारे]” साक्षी दिऔं।—२ कोरि. ६:१, २