“जे गर्छौ ती सबै प्रेममा गरिएका होऊन्”
१ “तपाईंका सदस्यहरू साँच्चै रमाइला छन्। अनि तिनीहरू अति शिष्ट व्यवहार गर्छन्।” हाम्रो जिल्ला अधिवेशन आयोजना गरिएको संयुक्त राज्यस्थित एउटा शहरको अधिवेशन तथा आगन्तुक विभागबाट यो प्रतिक्रिया प्राप्त भएको थियो। जनसमुदायबीच देखिने हाम्रा चालचलनहरूबारे त्यस्तो प्रशंसा गरिएको सुन्न पाउनु प्रोत्साहनको कुरा हो। यसले सामूहिक तवरमा हामीले ‘सबै कुरा प्रेममा गरिरहेका’ छौं भनेर देखाउँछ। (१ कोरि. १६:१४) तैपनि, त्यस्ता केही कुराहरू छन् जसलाई याद नदिलाउँदा परमेश्वरका जनहरूको प्रतिष्ठामा आँच आउनसक्छ।
२ कोठा अग्रिम बुकिंग गर्ने सम्बन्धमा समस्या: अधिवेशन हुने हरेक शहरमा सबै जनाले खर्च बेहोर्न सकून् भनेर होटलहरूसित उचित मोलतोल गर्न कोठा विभाग स्थापना गरिन्छ। हाम्रोलागि हाम्रा भाइहरूले धेरै समय र श्रम खर्च गर्छन्। कुनै कुनै होटलका मेनेजरहरू अन्य धार्मिक समुदायहरूबाट विगतमा भोग्नुपरेका नराम्रा अनुभवहरूका कारण कम मूल्यमा कोठा दिन हिचकिचाउँछन्। हाम्रा प्रतिनिधिहरूले होटललाई सक्दो सहयोग गर्नेछन् भनेर कोठा विभागले आश्वासन दिएपछि थुप्रैले खुसीसाथ हामीलाई कोठा दिन तयार भएका छन्।
३ गत वर्ष थुप्रैले अन्तिम घडीमा आएर आफ्नो बुकिंग क्यान्सिल गरे भनेर केही होटलहरूले गुनासो गरेका छन्। यस्तो किन भयो? कसै कसैले दुइटा होटलमा कोठा बुक गरेका हुन्छन् र पहिलो होटललाई धरौटी दिंदैनन् वा अर्को होटलमा कोठा पाइसकेकाले कोठा चाहिंदैन भनी बताउँदैनन्। अर्को कारण, केही भाइहरूले आफूसित कोही आएमा सँगै राखौंला भन्ने विचार गर्दै एउटै होटलमा धेरै कोठा बुकिंग गराएका हुन्छन्। तर त्यहाँ पुगेपछि तिनीहरूले एउटा मात्र कोठा लिन्छन् र बाँकी क्यान्सिल गरिदिन्छन्। होटलहरूले वाचटावरका प्रतिनिधिहरूले पहिला कहिल्यै त्यसो गरेका थिएनन् भन्ने टिप्पणी गरे।
४ यसले गर्दा होटल र अधिवेशन व्यवस्थापनलाई ठूलो मर्का पर्छ। होटलहरूले हाम्रा प्रतिनिधिहरूका लागि कोठा छुट्याएर राखेका हुन्छन् र अधिवेशनको समयमा ती कोठाहरू भरिन्छन् भन्ने सोचेका हुन्छन् तर अधिवेशनको दौडान कोठाहरू खाली भएको पाउँछन्। यस्तो समस्या कायमै रह्यो भने भविष्यमा हुने अधिवेशनहरूमा मोलतोल गर्दा उक्त समस्या विवादको विषय बन्नसक्छ। यसो हुन नदिन आफूले प्रयोग गर्ने कोठा मात्र रिजर्भ गर्नुपर्छ।
५ बिहानको चमेना निश्शुल्क प्रबन्ध गर्ने कुनै कुनै होटलले, भाइहरूले त्यस प्रबन्धको नाजायज फाइदा उठाउँदै खाइसकेपछि पनि धेरै खाना आफूसँगै बोकेर लैजाने गरेको गुनासो पोखेका छन्। होटलले बिहान आफ्ना पाहुनाहरूका लागि भनेर प्रबन्ध गरेको भोजनलाई त्यहीं बस्नेहरूका लागि मात्र सत्कार गर्न प्रबन्ध गरिएको भोजन हो भनेर बुझ्नुपर्छ। ती भोजन पछि खानलाई अथवा अधिवेशनमा साथीहरूसित बाँडिचुँडी खाऊन् भनेर प्रबन्ध गरिएको होइन। हामीले यस प्रबन्धको दुरुपयोग गऱ्यौं भने, होटलले यो सेवा हटाउनुका साथै बढी भाडा लिने अथवा भविष्यमा कुनै किसिमको कारोबार गर्न अनिच्छुक हुनसक्छ।
६ सबैको भलाइ हुने काम गर्ने: असल बानीबेहोरा तथा उदाहरणीय चालचलन यहोवा परमेश्वर र हाम्रा छिमेकीहरूप्रतिको प्रेमद्वारा उत्प्रेरित भएको हुन्छ। (मत्ती २२:३७-३९; याकू. ३:१३) बाइबलले हामीलाई सबै मानिसहरूप्रति मायालु हुन र तिनीहरूको पनि ख्याल राख्न आग्रह गर्छ। (गला. ६:१०) निस्सन्देह, यो सिद्धान्त होटलमा बस्दा पनि लागू हुन्छ। होटलको व्यवस्थापनलाई सहयोग गर्न इच्छुक नहुनाले हाम्रो प्रतिष्ठामा धक्का पुग्छ, कम मूल्यमा मिलाउन सकिने प्रबन्धहरू नमिल्नसक्छ र भाइहरूबीच पनि वैरभाव पलाउनसक्छ। होटलले मोल नघटाउने निर्णय गरेमा अधिवेशनमा भाग लिन आउने अरू भाइबहिनीहरू, विशेष गरी चर्को भाडा तिर्न नसक्नेहरूलाई ठूलो असर पर्छ।
७ कोठा पहिले नै रिजर्भ गरिसकेर अन्तिम घडीमा क्यान्सिल गर्नुको अर्थ कोठा खोजिरहेका अर्का भाइलाई कोठा पाउनदेखि वञ्चित गर्नु हो। यसले गर्दा तिनी अझ टाढा गएर आफूले नचाहेको ठाउँमा बस्नु पर्ने हुनसक्छ। के त्यो मायालु कुरो वा अरूको ख्याल राखेको हो? आफ्नो चाहना पूरा गर्नुभन्दा अरूप्रति प्रेम र भलाइ गर्नु कत्ति असल कुरा हो!—मत्ती ७:१२; यूह. १३:३४, ३५.
८ “परमेश्वरको वचन पालन गर्ने होओ” विषयक जिल्ला अधिवेशनमा भेला हुन हामी उत्सुकतासाथ प्रतीक्षा गर्छौं। के तपाईंले होटल रिजर्भ गर्नेदेखि लिएर यातायातको प्रबन्ध गर्ने सबै मिलाइसक्नुभयो? होटल तथा अधिवेशन हुने शहरमा हाम्रो चालचलनले सधैं हाम्रो हृदयमा भएको सच्चाइ र सृष्टिकर्ताप्रतिको प्रेम प्रकट गरिरहोस्।