तपाईं सहायक अग्रगामी सेवा गर्न सक्नुहुन्छ कि?
१. स्मरणार्थको समयताका प्रचारकार्यमा अझ बढी भाग लिनु किन राम्रो हो?
१ प्रचारकार्यमा अझ बढी भाग लिने राम्रो समय स्मरणार्थको समयताका हो। त्यतिबेला, यहोवाले फिरौतीको लागि आफ्नो छोरा पठाएर देखाउनुभएको महान् प्रेमलाई गहिरिएर सोच्छौं। (यूह. ३:१६) यसले गर्दा यहोवाले गर्नुभएको प्रबन्धप्रति हामी अझ कृतज्ञ हुन्छौं। फलस्वरूप, यहोवाबारे अनि मानिसको लागि उहाँले के-के गर्दै हुनुहुन्छ, त्यसबारे अरूलाई बताउने हाम्रो चाहना प्रबल हुन्छ। (यशै. १२:४, ५; लूका ६:४५) त्यतिबेला, चिनजानहरू अनि इलाकाका मानिसहरूलाई स्मरणार्थमा उपस्थित हुन निम्तो बाँड्ने विशेष अभियानमा पनि भाग लिन्छौं। त्यसपछि, स्मरणार्थमा उपस्थित भएकाहरूको चासो बढाउने प्रयास गर्छौं। मार्च, अप्रिल वा मे महिनामा सहायक अग्रगामीको रूपमा सेवा गरेर प्रचारकार्यमा अझ बढी भाग लिन सक्नुहुन्छ कि?
२. सहायक अग्रगामी सेवा गर्न किन विशेषगरि मार्च महिना उपयुक्त छ?
२ मार्च महिनालाई विशेष महिना बनाउनुहोस्: सहायक अग्रगामी सेवा गर्न विशेषगरि मार्च महिना उपयुक्त हुनेछ। सहायक अग्रगामी सेवा गर्न चाहनेहरूले ३० घण्टा कि ५० घण्टा कति बुझाउने हो, रोज्न पाउनेछन्। क्षेत्रीय निरीक्षकको भ्रमण मार्च महिनामा हुँदै छ भने सबै सहायक अग्रगामी पनि नियमित र विशेष अग्रगामीहरूसित गरिने सभामा सुरुदेखि अन्तसम्मै उपस्थित हुन सक्नेछन्। गएका वर्षहरूको तुलनामा यो वर्ष निम्तो बाँड्ने अभियान लामो समयसम्म चल्नेछ। मतलब, यो वर्ष स्मरणार्थ उत्सव मङ्गलबार मार्च २६, २०१३ मा पर्छ तर निम्तो बाँड्ने अभियान मार्च १ देखि नै सुरु हुनेछ। साथै, मार्च महिनामा पाँचवटा सप्ताहन्त परेको छ। त्यसैले यो महिनालाई वर्षकै विशेष महिना बनाउन सकिन्छ कि भनेर गहिरिएर विचार गर्नुभए कसो होला?
३. प्रचारकार्यमा सदाभन्दा बढी भाग लिन हामी कस्तो योजना बनाउन सक्छौं?
३ अहिल्यै योजना बनाउनुहोस्: सहायक अग्रगामी सेवा गर्न अहिल्यै आफ्नो तालिका केलाउनुहोस् अनि के-कस्तो छाँटकाँट गर्न सकिन्छ, विचार गर्नुहोस्। परिवारको सहयोग एकदमै महत्त्वपूर्ण छ। त्यसैले परिवारको लक्ष्यबारे छलफल गर्न अनि तालिका बनाउन साँझको पारिवारिक उपासनाको बेला समय निकाल्नुहोस्। (हितो. १५:२२) सहायक अग्रगामी सेवा गर्न सक्नुहुन्न भने निराश नहुनुहोस्। बरु प्रचारकार्यमा भाग लिन जुन दिन मिलाउनुभएको छ, त्यो दिन सदाभन्दा लामो समयसम्म प्रचार गर्न आफ्नो तालिका मिलाउन सक्नुहुन्छ कि? हप्तामा अर्को एक दिन पनि प्रचारकार्यमा भाग लिन सक्नुहुन्छ कि?
४. मार्च, अप्रिल अनि मे महिनामा प्रचारकार्यमा सदाभन्दा बढी भाग लिंदा कस्तो लाभ उठाउनेछौं?
४ मार्च, अप्रिल अनि मे महिनामा प्रचारकार्यमा सदाभन्दा बढी भाग लियौं भने यहोवाको सेवा गर्ने र अरूलाई दिने धेरै मौका पाउँछौं। यसले गर्दा हाम्रो आनन्द र सन्तुष्टि बढ्नेछ। (यूह. ४:३४; प्रेषि. २०:३५) सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रो आत्मत्यागी प्रयासले यहोवालाई आनन्दित तुल्याउनेछ।—हितो. २७:११.