स्मरणार्थको समयलाई अझै रमाइलो बनाउनुहोस्
१. स्मरणार्थको समयलाई हामी कसरी अझै रमाइलो बनाउन सक्छौं?
१ के तपाईं मार्च, अप्रिल र मे महिनालाई अझै रमाइलो बनाउन चाहनुहुन्छ? चाहनुहुन्छ भने प्रचारकार्यमा अझ धेरै समय बिताउनुहोस्। सक्नुहुन्छ भने सहायक अग्रगामी सेवा गर्नुहोस्। यसो गर्दा कसरी आनन्दित हुन सकिन्छ?
२. प्रचारकार्यमा धेरै भाग लिंदा हामी किन अझ आनन्दित हुन सक्छौं?
२ आफ्नो आनन्द बढाउनुहोस्: यहोवाले हामीलाई उहाँको सेवा गर्दा अनि जन्मजात पाएको आध्यात्मिक भोक मेट्दा आनन्दित र सन्तुष्ट हुने तरिकाले सृष्टि गर्नुभएको छ। (मत्ती ५:३) साथै, अरूलाई दिंदा खुसी हुन सक्ने तरिकामा पनि उहाँले हामीलाई बनाउनुभएको छ। (प्रेषि. २०:३५) प्रचारकार्यमा लाग्दा हामीले यी दुवै कुरा गरिरहेका हुन्छौं—यहोवाको सेवा पनि गरिरहेका हुन्छौं अनि अरूलाई मदत पनि गरिरहेका हुन्छौं। त्यसैले प्रचारकार्यमा धेरै समय बिताउँदा हामी अझ आनन्दित हुन सक्छौं। साथै प्रचारकार्यसित सम्बन्धित सीपहरू अझै तिखार्ने मदत पाउँछौं। सिपालु हुँदै गएपछि बिस्तारै हाम्रो लाज अनि डर हट्दै जान्छ। हामीले धेरै मानिसहरूलाई साक्षी दिने मौका पाउँछौं र थुप्रैलाई बाइबल अध्ययन गर्न सक्छौं। यी कारणहरूले गर्दा हाम्रो प्रचारकार्य अझै रमाइलो हुन्छ।
३. सहायक अग्रगामी सेवा गर्नको लागि मार्च र अप्रिल महिना किन एकदमै उपयुक्त छ?
३ सहायक अग्रगामी सेवा गर्नको लागि मार्च र अप्रिल महिना एकदमै उपयुक्त छ। किनभने हामी ती महिना ३० घण्टा गर्ने वा ५० घण्टा गर्ने, छान्न सक्छौं। त्यति मात्र होइन, मार्च २२ शनिबारदेखि अप्रिल १४ सोमबारसम्म स्मरणार्थको निम्तो बाँड्ने रमाइलो अभियानमा पनि भाग लिन सक्छौं। त्यो समयमा धेरैभन्दा धेरै इलाका ढाक्न सबै जना “काँधमा काँध मिलाएर” लाग्दा मण्डलीमा कस्तो रौनक छाउनेछ, सोच्नुहोस् त!—सप. ३:९, NRV.
४. सहायक अग्रगामी सेवामा भाग लिन चाहन्छौं भने हामीले के गर्नुपर्छ?
४ अहिल्यै तयारी गर्नुहोस्: तयारी गरिसक्नुभएको छैन भने अहिल्यै समय निकालेर तालिका बनाउनुहोस्। पहिलेभन्दा अझ धेरै प्रचारकार्यमा लाग्न तपाईंले कति महिना छुट्याउन सक्नुहुन्छ, हेर्नुहोस् र त्यसको लागि आवश्यक छाँटकाँट गर्नुहोस्। यस विषयलाई प्रार्थनामा राख्नुहोस्। (याकू. १:५) परिवारका सदस्यसित अनि मण्डलीका साथीभाइसित यस विषयमा कुरा गर्नुहोस्। (हितो. १५:२२) स्वास्थ्य समस्या छ वा पूर्ण-समय जागिर खानुपर्छ भने पनि छाँटकाँट गरेर सहायक अग्रगामी सेवा गर्नुभयो भने सोच्दै नसोचेको आनन्द बटुल्नुहुनेछ।
५. स्मरणार्थको समयमा प्रचारकार्यमा अझ धेरै लाग्ने कोसिस गऱ्यौं भने के हुन्छ?
५ यहोवा आफ्ना जनहरू आनन्दित भएको चाहनुहुन्छ। (भज. ३२:११) स्मरणार्थको समयमा प्रचारकार्यमा अझ धेरै लाग्ने कोसिस गऱ्यौं भने हामी मात्र होइन, स्वर्गमा बस्नुहुने हाम्रो प्यारो बुबा पनि खुसी हुनुहुनेछ।—हितो. २३:२४; २७:११.