प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 फेब्रुअरी pp. ८-१३
  • “यहोवाको नामको प्रशंसा गर”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “यहोवाको नामको प्रशंसा गर”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवालाई खुसी बनाइरहेका हुन्छौँ
  • येसुलाई खुसी बनाइरहेका हुन्छौँ
  • मानिसहरूलाई तिनीहरूको जीवन जोगाउन मदत गरिरहेका हुन्छौँ
  • यहोवाको नाम हाम्रो लागि किन महत्त्वपूर्ण छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवाको नाम येसुको लागि किन महत्त्वपूर्ण छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • “कसको उपासना गर्न चाहन्छौ, आजै रोज”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • प्रेमले उत्प्रेरित भएर साक्षीकार्यमा लागिरहनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 फेब्रुअरी pp. ८-१३

अध्ययन लेख ६

गीत १० हाम्रा परमेश्‍वर यहोवाको प्रशंसा गरौँ!

“यहोवाको नामको प्रशंसा गर”

“हे परमेश्‍वरका सेवकहरू हो, उहाँको प्रशंसा गर, यहोवाको नामको प्रशंसा गर।”​—भज. ११३:१.

सिक्न सकिने कुरा

हरेक मौकामा यहोवाको पवित्र नामको प्रशंसा गर्न हामीलाई केले उत्प्रेरित गर्छ?

१-२. यहोवाले आफ्नो नाम बदनाम हुँदा कस्तो महसुस गर्नुभयो, एउटा उदाहरण बताउनुहोस्‌।

कल्पना गर्नुहोस्‌, तपाईँले माया गर्ने व्यक्‍तिले तपाईँबारे नचाहिने हल्ला फैलायो। तपाईँलाई त्यो कुरा सरासर झूट हो भनेर थाह छ। अनि त्यो झूट ‘एक कान दुई कान हुँदै मैदान हुन्छ।’ थुप्रैले त्यो कुरा पत्याउँछन्‌ पनि। त्यतिबेला तपाईँलाई कस्तो लाग्छ? यदि तपाईँ अरूलाई प्रेम गर्नुहुन्छ र अरूले तपाईँबारे के सोच्लान्‌ भनेर चिन्ता गर्नुहुन्छ भने त्यस्तो झूटो कुरा फैलिँदा तपाईँलाई नमीठो लाग्छ नि, होइन र?​—हितो. २२:१.

२ यस उदाहरणले आफ्नो नाम बदनाम हुँदा यहोवाले कस्तो महसुस गर्नुभयो भनेर बुझ्न मदत गर्छ। एक जना स्वर्गदूतले पहिलो स्त्री हव्वालाई उहाँबारे झूटो कुरा बतायो। तिनले त्यो कुरा पत्याइन्‌ अनि हाम्रा प्रथम आमाबुबाले यहोवाको विद्रोह गरे। नतिजास्वरूप मानव परिवारमा पाप र मृत्यु प्रवेश भयो। (उत्प. ३:१-६; रोमी ५:१२) अहिले संसारमा मृत्यु, युद्ध र अरू जति पनि दुःखकष्ट देख्छौँ, ती सबै सैतानले अदनको बगैँचामा फैलाएको झूटले गर्दा भएको हो। आफूविरुद्ध फैलिएको झूट र त्यसले निम्त्याएको दुःखकष्ट देख्दा यहोवा पक्कै दुःखी हुनुहुन्छ। तर उहाँ “आनन्दित परमेश्‍वर” हुनुभएकोले उहाँले मनमा रिस पालेर राख्नुभएको छैन।​—१ तिमो. १:११.

३. हामीले कस्तो सुअवसर पाएका छौँ?

३ “यहोवाको नामको प्रशंसा गर” भन्‍ने आज्ञा पालन गरेर हामीले उहाँको नाम पवित्र पार्ने काममा सघाउने सुअवसर पाएका छौँ। (भज. ११३:१) अरूलाई उहाँबारे सत्य कुरा बताएर हामी उहाँको नामको प्रशंसा गर्छौँ। के तपाईँ उहाँको नामको प्रशंसा गर्नुहुन्छ? हामीले तनमनले परमेश्‍वरको नामको प्रशंसा गर्दा कुन तीन वटा उद्देश्‍य पूरा गरिरहेका हुन्छौँ, आउनुहोस्‌ विचार गरौँ।

यहोवालाई खुसी बनाइरहेका हुन्छौँ

४. हाम्रो प्रशंसाले किन यहोवालाई खुसी बनाउँछ, एउटा उदाहरण बताउनुहोस्‌। (तस्बिर पनि हेर्नुहोस्‌।)

४ स्वर्गमा बस्नुहुने बुबाको नामको प्रशंसा गरेर हामी उहाँलाई खुसी बनाउँछौँ। (भज. ११९:१०८) त्रुटिपूर्ण मानिसहरू अरूले आफ्नो प्रशंसा गरिदेऊन्‌ भन्‍ने चाहन्छन्‌ किनभने तिनीहरू त्यसबाट हौसला पाउँछन्‌। के हाम्रो सर्वशक्‍तिमान्‌ परमेश्‍वर पनि त्यस्तै हुनुहुन्छ? अहँ, हुनुहुन्‍न। एउटा उदाहरण विचार गरौँ। एउटी सानी छोरी आफ्नो बुबालाई अङ्‌गालो हाल्दै यसो भन्छिन्‌: “तपाईँ सबैभन्दा राम्रो बुबा हुनुहुन्छ!” छोरीले यसरी निःस्वार्थ प्रेम देखाउँदा बुबा खुसी हुन्छन्‌। किन? के छोरीले प्रशंसा गरिन्‌ भने मात्र तिनले हौसला पाउँछन्‌ भन्‍ने हो? त्यसो त होइन। बरु तिनी छोरीलाई माया गर्छन्‌ अनि छोरीले प्रेम र कृतज्ञता व्यक्‍त गर्दा खुसी हुन्छन्‌। छोरी ठूली भएपछि यस्ता गुणहरूले उनलाई आनन्दित बन्‍न मदत गर्छ भनेर बुबालाई थाह छ। त्यसैले हाम्रा महान्‌ बुबा यहोवा पनि हामीले उहाँको प्रशंसा गर्दा खुसी हुनुहुन्छ।

एउटी सानी केटी आफूले बनाएको चित्र खुसी हुँदै बुबालाई दिँदै छिन्‌।

आफ्नो छोरा वा छोरीले प्रेम र कृतज्ञता व्यक्‍त गर्दा एक बुबा खुसी भएजस्तै हामीले पनि यहोवाको नामको प्रशंसा गर्दा उहाँ खुसी हुनुहुन्छ (अनुच्छेद ४ हेर्नुहोस्‌)


५. परमेश्‍वरको नामको प्रशंसा गरेर हामी सैतानको कुन दाबीलाई झूटो साबित गर्न सक्छौँ?

५ कुनै पनि मानिस विनास्वार्थ यहोवाको नामको पक्षमा खडा हुँदैन भनेर सैतानले दाबी गरेको छ। तर हामीले यहोवा बुबाको प्रशंसा गर्दा सैतानको त्यस दाबीलाई झूटो साबित गरिरहेका हुन्छौँ। परीक्षामा पर्दा कुनै पनि मानिस सत्यनिष्ठ रहँदैन भनेर त्यसले दाबी गरेको छ। यहोवाको सेवा गर्न छोड्‌दा आफ्नो फाइदा हुन्छ जस्तो लाग्यो भने मानिसले उहाँको सेवा गर्न छोड्‌छ भनेर पनि सैतानले भनेको छ। (अय्यु. १:९-११; २:४) तर यहोवाप्रति वफादार रहेर अय्युबले सैतानलाई झूटो साबित गरे। तपाईँचाहिँ के गर्नुहुन्छ? हामी प्रत्येकले यहोवाको नामको पक्षमा खडा हुने र सत्यनिष्ठा कायम राखेर उहाँलाई खुसी तुल्याउने छनौट गर्न सक्छौँ। (हितो. २७:११) यो हाम्रो लागि साँच्चै सम्मानको कुरा हो!

६. हामी कसरी राजा दाउद र लेवीहरूको अनुकरण गर्न सक्छौँ? (नहेम्याह ९:५)

६ यहोवालाई प्रेम गर्नेहरू तनमनले उहाँको नामको गुणगान गाउन उत्प्रेरित हुन्छन्‌। दाउदले यस्तो लेखे: “मेरो हृदयले यहोवाको प्रशंसा गरोस्‌; म तनमनले उहाँको पवित्र नामको गुणगान गाउन चाहन्छु।” (भज. १०३:१) यहोवाको नामको प्रशंसा गर्नु भनेको उहाँकै प्रशंसा गर्नु हो भनेर दाउदले बुझेका थिए। यहोवाको नाम सुन्दा हामी उहाँको व्यक्‍तित्व, उहाँका मनमोहक गुणहरू र उहाँका आश्‍चर्यलाग्दा कामहरू पनि सम्झन्छौँ। दाउद आफ्नो बुबा यहोवाको नामलाई पवित्र ठान्थे र त्यस नामको गुणगान गाउन चाहन्थे। तिनी “तनमनले” त्यसो गर्न चाहन्थे। त्यसैगरि लेवीहरूले पनि यहोवाको प्रशंसा गर्ने काममा अगुवाइ लिए। परमेश्‍वरको पवित्र नामको जत्ति नै प्रशंसा गरिए पनि त्यो कमै हुनेछ भनेर तिनीहरूले स्विकारे। (नहेम्याह ९:५ पढ्‌नुहोस्‌।) यसरी मनैदेखि गरिएको प्रशंसाले यहोवाको हृदयलाई पक्कै आनन्दित तुल्यायो!

७. हामी कसरी साक्षीकार्यमा र दैनिक जीवनमा यहोवाको प्रशंसा गर्न सक्छौँ?

७ आज पनि प्रेम र कृतज्ञताले उत्प्रेरित भई यहोवाबारे कुरा गरेर हामी उहाँलाई खुसी बनाउन सक्छौँ। साक्षीकार्यमा भाग लिँदा हाम्रो मुख्य उद्देश्‍य भनेको मानिसहरूलाई यहोवाको नजिक हुन र उहाँलाई मायालु बुबाको रूपमा हेर्न मदत गर्नु हो। (याकु. ४:८) हामी मानिसहरूलाई यहोवा अनि प्रेम, न्याय, बुद्धि र शक्‍तिजस्ता उहाँका मनमोहक गुणहरूबारे बाइबलबाट बताउन पाउँदा खुसी हुन्छौँ। उहाँको देखासिकी गर्न सक्दो कोसिस गरेर पनि हामी उहाँको प्रशंसा गर्छौँ र उहाँलाई खुसी बनाउँछौँ। (एफि. ५:१) यसो गर्दा हामी अरूभन्दा फरक भएको कुरा मानिसहरूले याद गर्न सक्छन्‌। (मत्ति ५:१४-१६) दैनिक कामकुराको सिलसिलामा तिनीहरूलाई भेट्‌दा हामी फरक हुनुको कारण बताउन सक्छौँ। यसले गर्दा निष्कपट हृदय भएका मानिसहरू यहोवातर्फ खिचिन सक्छन्‌। यी तरिकाहरूमा यहोवाको प्रशंसा गर्दा हामीले उहाँको हृदयलाई प्रसन्‍न तुल्याइरहेका हुन्छौँ।​—१ तिमो. २:३, ४.

येसुलाई खुसी बनाइरहेका हुन्छौँ

८. यहोवाको नामको प्रशंसा गर्ने काममा येसुले कसरी नेतृत्व लिनुभएको छ?

८ येसुले जत्तिको राम्ररी यहोवालाई अरू कसैले चिन्दैन, न स्वर्गदूतहरूले न त मानिसहरूले। (मत्ति ११:२७) येसु आफ्नो बुबालाई प्रेम गर्नुहुन्छ र बुबाको नामको प्रशंसा गर्ने काममा उहाँले नेतृत्व लिनुभएको छ। (युह. १४:३१) आफ्नो मृत्युको अघिल्लो रात येसुले प्रार्थनामा आफूले गरेको सबैभन्दा महत्त्वपूर्ण कामबारे यसो भन्‍नुभयो: “मैले तिनीहरूलाई तपाईँको नाम प्रकट गरेको छु।” (युह. १७:२६) उहाँ के भन्‍न खोज्दै हुनुहुन्थ्यो?

९. आफ्नो बुबा कस्तो व्यक्‍ति हुनुहुन्छ भनेर स्पष्टसित बुझाउन येसुले कुन उदाहरण चलाउनुभयो?

९ येसुको समयका यहुदीहरूलाई परमेश्‍वरको नाम यहोवा हो भनेर थाह थियो। त्यसैले उहाँले तिनीहरूलाई परमेश्‍वरको नाम मात्र बताउनुभएन बरु परमेश्‍वरको विषयमा ‘वयान गर्नुभयो।’ (युह. १:१७, १८, संशोधित संस्करण) जस्तै: हिब्रू धर्मशास्त्रमा यहोवा कृपालु र दयालु हुनुहुन्छ भनिएको छ। (प्रस्थ. ३४:५-७) यस कुरालाई अझ स्पष्ट पार्न येसुले हराएको छोराको उदाहरण चलाउनुभयो। यस उदाहरणमा बुबाले आफ्नो पश्‍चात्तापी छोरालाई ‘टाढैबाट आउँदै गरेको देखेपछि’ दौडँदै गए र उसलाई अङ्‌गालो हाले अनि मनैदेखि क्षमा दिए। यसबाट यहोवा कत्ति दयालु र कृपालु हुनुहुन्छ भनेर छर्लङ्‌गै भयो। (लुका १५:११-३२) येसुले यहोवा कस्तो व्यक्‍ति हुनुहुन्छ भनेर बुझ्न मानिसहरूलाई मदत गर्नुभयो।

१०. (क) येसुले आफ्नो बुबाको नाम प्रयोग गर्नुभयो भनेर किन भन्‍न सक्छौँ? अनि अरूले पनि त्यसै गरेको उहाँ चाहनुहुन्थ्यो भनेर किन भन्‍न सक्छौँ? (मर्कुस ५:१९) (चित्र पनि हेर्नुहोस्‌।) (ख) आज हामीले के गरेको उहाँ चाहनुहुन्छ?

१० के येसु अरू मानिसले पनि यहोवा बुबाको नाम प्रयोग गरेको चाहनुहुन्थ्यो? पक्कै चाहनुहुन्थ्यो। त्यतिबेलाका केही धर्मगुरु परमेश्‍वरको नाम एकदमै पवित्र भएकोले यो नाम उच्चारणसमेत गर्नु हुँदैन भनेर विश्‍वास गर्थे। तर येसु त्यस्ता गैर-धर्मशास्त्रीय चलनहरूको प्रभावमा कहिल्यै पर्नुभएन। उहाँले आफ्नो बुबाको नामको सधैँ आदर गर्नुभयो। गेरासिनीहरूको इलाकामा प्रेतले सताएको मानिसलाई उहाँले निको पार्नुहुँदा के भयो, विचार गरौँ। त्यहाँका मानिसहरू यत्ति डराए कि तिनीहरूले येसुलाई आफ्नो इलाकाबाट गइहाल्न बिन्ती गरे। (मर्कु. ५:१६, १७) हुनत उहाँ त्यहाँबाट जानुभयो तर उहाँ त्यस इलाकाका मानिसहरूले परमेश्‍वरको नाम थाह पाएको चाहनुहुन्थ्यो। त्यसैले उहाँले त्यस मानिसलाई एउटा काम दिनुभयो। येसुले तिनको लागि के गर्नुभयो भनेर होइन बरु यहोवाले तिनको लागि के गर्नुभयो भनेर तिनले बताउनुपर्ने थियो। (मर्कुस ५:१९ पढ्‌नुहोस्‌।)a आज पनि हामीले संसारभरि नै यहोवा बुबाको नामबारे मानिसहरूलाई बताएको येसु चाहनुहुन्छ। (मत्ति २४:१४; २८:१९, २०) यसो गर्दा हामीले राजा येसुलाई खुसी बनाइरहेका हुन्छौँ।

डुङ्‌गा चढेर गेरासिनीहरूको इलाकाबाट जान लाग्नुभएका येसु पहिले प्रेतले सताएको मानिससँग किनारामा कुरा गर्दै हुनुहुन्छ।

येसुले पहिला प्रेतले सताएको पुरुषलाई मानिसहरूकहाँ गएर यहोवाले तिनलाई कसरी मदत गर्नुभयो भनेर बताउन आज्ञा दिनुभयो (अनुच्छेद १० हेर्नुहोस्‌)


११. येसुले आफ्ना अनुयायीहरूलाई केको लागि प्रार्थना गर्न सिकाउनुभयो र यो किन महत्त्वपूर्ण छ? (इजकिएल ३६:२३)

११ यहोवाको उद्देश्‍य आफ्नो नाममा लागेको सबै कलङ्‌क हटाएर त्यस नामलाई पवित्र पार्नु हो भनेर येसुलाई थाह थियो। त्यसैले हाम्रा मालिकले आफ्ना अनुयायीहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईँको नाम पवित्र पारियोस्‌।” (मत्ति ६:९) सबै बौद्धिक प्राणी यही महत्त्वपूर्ण विवादमा मुछिएका छन्‌ भनेर येसुलाई थाह थियो। (इजकिएल ३६:२३ पढ्‌नुहोस्‌।) आफ्नो बुबाको नाम पवित्र पार्न येसुले जे-जति गर्नुभयो, त्यति त ब्रह्‍माण्डमा अरू कसैले गरेको छैन। तर एकछिन सोच्नुहोस्‌ त, येसु कुन आरोपमा पक्राउ पर्नुभयो? ईश्‍वरनिन्दा! आफ्नो बुबाको पवित्र नामको दुरुपयोग गर्नु वा निन्दा गर्नु महापाप हो भनेर येसुले बुझ्नुभएको थियो। उहाँलाई सोही आरोपमा पक्राउ गरिनेछ र दोषी ठहऱ्‍याइनेछ भनेर थाह भएकोले उहाँलाई एकदमै छटपटी भयो। आफू पक्राउ पर्ने समय नजिकिँदै जाँदा उहाँ “असह्‍य वेदनामा” पर्नुको मुख्य कारण यही हुन सक्छ।​—लुका २२:४१-४४.

१२. येसुले कसरी आफ्नो बुबाको नाम पवित्र पार्नुभयो?

१२ आफ्नो बुबाको नाम पवित्र पार्न येसुले अनेक किसिमको यातना, अपमान र झूटो आरोप सहनुभयो। आफूले यहोवालाई खुसी तुल्याइरहेको कुरा येसुलाई थाह थियो। त्यसैले अरूले बेइज्जतीपूर्ण व्यवहार गरे पनि उहाँले सरम मान्‍नुभएन। (हिब्रू १२:२) साथै त्यस कठिन घडीमा सैतानले सीधै आक्रमण गर्दै छ भनेर पनि उहाँलाई थाह थियो। (लुका २२:२-४; २३:३३,३४) सैतान जसरी भए पनि येसुको सत्यनिष्ठा तोड्‌न चाहन्थ्यो तर त्यो पूर्णतया विफल भयो! सैतान महाफटाहा हो र यहोवाका सेवकहरू एकदमै गाह्रो अवस्थामा पनि सत्यनिष्ठ रहन सक्छन्‌ भनेर येसुले अकाट्य प्रमाण दिनुभयो!

१३. तपाईँ राजा येसुलाई कसरी खुसी पार्न सक्नुहुन्छ?

१३ के तपाईँ राजा येसुलाई खुसी पार्न चाहनुहुन्छ? चाहनुहुन्छ भने यहोवाको नामको प्रशंसा गरिरहनुहोस्‌ र उहाँ कस्तो व्यक्‍ति हुनुहुन्छ भनेर बुझ्न अरूलाई मदत दिइरहनुहोस्‌। यसो गर्नुभयो भने तपाईँले येसुको पाइला पछ्याइरहनुभएको हुनेछ। (१ पत्रु. २:२१) येसुले जस्तै यहोवालाई खुसी बनाइरहनुभएको हुनेछ र उहाँको शत्रु सैतानलाई एक नम्बरको झूटा साबित गरिरहनुभएको हुनेछ।

मानिसहरूलाई तिनीहरूको जीवन जोगाउन मदत गरिरहेका हुन्छौँ

१४-१५. मानिसहरूलाई यहोवाबारे सिकाउँदा कस्ता अद्‌भुत कुराहरू देख्न सक्छौँ?

१४ यहोवाको नामको प्रशंसा गर्दा हामीले मानिसहरूलाई जीवन जोगाउन मदत गरिरहेका हुन्छौँ। कसरी? सैतानले ‘विश्‍वास नगर्ने मानिसहरूको दिमागलाई अन्धो तुल्याइदिएको छ।’ (२ कोरि. ४:४) त्यसैकारण तिनीहरू सैतानले फैलाएको यस्ता झूटा कुराहरूमा विश्‍वास गर्छन्‌: परमेश्‍वर मानिसहरूमा चासो राख्नुहुन्‍न, उहाँ क्रूर हुनुहुन्छ, पापीहरूलाई अनन्त सास्ती दिनुहुन्छ र परमेश्‍वरको अस्तित्व छैन। त्यसले यस्ता झूटा कुराहरू फैलाउनुको एउटै उद्देश्‍य छ। त्यो हो, परमेश्‍वरको नामको बदनाम गर्नु ताकि मानिसहरूको मनमा उहाँसित नजिक हुने इच्छा नै नपलाओस्‌। तर हाम्रो साक्षीकार्यले सैतानको त्यस उद्देश्‍यलाई विफल तुल्याइदिएको छ। हामीले मानिसहरूलाई यहोवा कस्तो परमेश्‍वर हुनुहुन्छ भनेर सिकाउँदा उहाँको पवित्र नामको प्रशंसा गरिरहेका हुन्छौँ। यसो गर्दा कस्ता अद्‌भुत कुराहरू देख्न सक्छौँ?

१५ परमेश्‍वरको वचनमा अपार शक्‍ति छ। मानिसहरूलाई यहोवाको नाम र उहाँको व्यक्‍तित्वबारे सिकाउँदा हामीले थुप्रै अद्‌भुत कुरा देख्न सक्छौँ। जस्तै: सैतानले मानिसहरूको आँखामा लगाइदिएको झूटको पट्टी बिस्तारै हट्‌छ अनि तिनीहरूले यहोवा कस्ता मनमोहक गुणहरूले भरिपूर्ण हुनुहुन्छ भनेर देख्न थाल्छन्‌। तिनीहरू उहाँको अथाह शक्‍ति देखेर श्रद्धाले भरिन्छन्‌। (यसै. ४०:२६) उहाँको खोटरहित न्यायमा भरोसा गर्न थाल्छन्‌। (व्यव. ३२:४) उहाँको बुद्धिको गहिराइ बुझ्न थाल्छन्‌। (यसै. ५५:९; रोमी ११:३३) यहोवा प्रेम हुनुहुन्छ भन्‍ने कुराबाट तिनीहरूले सान्त्वना पाउँछन्‌। (१ युह. ४:८) अनि यहोवासित नजिक हुँदै जाँदा उहाँको सन्तानको रूपमा सधैँभरि बाँच्ने तिनीहरूको आशा झनै बलियो हुन्छ। मानिसहरूलाई हाम्रो बुबा यहोवासित नजिक हुन मदत गर्ने कत्ति ठूलो सुअवसर! यसो गर्दा यहोवाले हामीलाई आफ्नो “सहकर्मी” ठान्‍नुहुनेछ।​—१ कोरि. ३:५, ९.

१६. परमेश्‍वरको नाम थाह पाएपछि मानिसको जीवनमा कस्तो परिवर्तन आउन सक्छ, अनुभवहरू बताउनुहोस्‌।

१६ सुरुमा त हामी मानिसहरूलाई परमेश्‍वरको नाम यहोवा हो भनेर सिकाउँछौँ होला। तर त्यो एउटा शब्दले मात्र पनि असल हृदय भएका मानिसहरूलाई ठूलो प्रभाव पार्न सक्छ। उदाहरणको लागि, जवान बहिनी आलियाकोb अनुभव विचार गरौँ। तिनी गैर-ख्रिष्टियन परिवारमा हुर्किएकी थिइन्‌। तिनी आफूले मान्दै आएको धर्मसित सन्तुष्ट थिइनन्‌ र परमेश्‍वरसित पनि नजिक महसुस गर्दिनथिन्‌। तर यहोवाका साक्षीहरूसित अध्ययन गर्न थालेपछि तिनको त्यो सोचाइ परिवर्तन भयो। तिनले परमेश्‍वरलाई आफ्नो साथीको रूपमा हेर्न थालिन्‌। थुप्रै बाइबलबाट परमेश्‍वरको नाम हटाइएको र त्यसको सट्टा प्रभुजस्ता पदवीहरू राखिएको कुरा थाह पाउँदा तिनी छक्क परिन्‌। यहोवाको नामबारे सिकेपछि तिनको जीवनले नयाँ मोड लियो। तिनी खुसी हुँदै यसो भन्छिन्‌: “परमेश्‍वर वास्तविक व्यक्‍ति हुनुहुन्छ र उहाँको नाम पनि छ भनेर थाह पाउँदा मैले धेरै मनोशान्ति पाएँ। यहोवाको नाम थाह पाउनु साँच्चै आशिष्‌को कुरा हो।” अर्का एक भाइ स्टिभको अनुभव विचार गरौँ। तिनी सङ्‌गीतकार थिए र कट्टर यहुदी परिवारमा हुर्केका थिए। धार्मिक समूहका मानिसहरूको ढोँगी व्यवहार देखेर तिनी वाक्क भएका थिए। त्यसैले तिनी कुनै पनि धार्मिक समूहमा आबद्ध हुन चाहँदैनथे। आमाको मृत्युको कारण शोकमा परेको बेला तिनी एक जना साथीको बाइबल अध्ययनमा बस्न राजी भए। परमेश्‍वरको नाम थाह पाएपछि तिनको मन छोयो। तिनी भन्छन्‌: “मैले यसअघि परमेश्‍वरको नाम कहिल्यै सुनेको थिइनँ। जिन्दगीमा पहिलो चोटि परमेश्‍वर साँच्चै हुनुहुँदो रहेछ भनेर महसुस गरेँ। उहाँ मलाई एक जना वास्तविक व्यक्‍ति अनि साथीजस्तै लाग्न थाल्यो।”

१७. तपाईँ किन यहोवाको नामको प्रशंसा गरिरहन कटिबद्ध हुनुहुन्छ? (तस्बिर पनि हेर्नुहोस्‌।)

१७ साक्षीकार्यमा के तपाईँ मानिसहरूलाई यहोवाको पवित्र नामबारे बताउनुहुन्छ? के तपाईँ तिनीहरूलाई उहाँ वास्तवमा कस्तो परमेश्‍वर हुनुहुन्छ भनेर बुझ्न मदत गर्नुहुन्छ? यसो गर्दा तपाईँले परमेश्‍वरको नामको प्रशंसा गरिरहनुभएको हुनेछ। यहोवा नाम बहन गर्ने परमेश्‍वर कस्तो हुनुहुन्छ भनेर मानिसहरूलाई बुझ्न मदत गरेर उहाँको पवित्र नामको प्रशंसा गरिरहनुहोस्‌। यसरी तपाईँले मानिसहरूको जीवन जोगाइरहनुभएको हुनेछ। हाम्रा राजा येसुको पाइलामा हिँडिरहनुभएको हुनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईँले मायालु बुबा यहोवालाई प्रसन्‍न तुल्याइरहनुभएको हुनेछ। त्यसैले ‘परमेश्‍वरको नामको सदासर्वदा प्रशंसा गरिरहनुहोस्‌’!​—भज. १४५:२.

एक बहिनी एक वृद्ध महिलालाई अध्ययन गराउँदै छिन्‌; ती महिलाको घरको भित्तामा क्रस अनि टेबुलमा मूर्ति राखिएको छ। आफ्नै बाइबलमा यहोवाको नाम देख्दा ती महिला छक्क पर्छिन्‌।

यहोवाको नाम र उहाँ कस्तो परमेश्‍वर हुनुहुन्छ भनेर मानिसहरूलाई बुझ्न मदत गरेर हामी उहाँको नामको प्रशंसा गर्छौँ (अनुच्छेद १७ हेर्नुहोस्‌)

परमेश्‍वरको नामको प्रशंसा गर्दा कसरी . . .

  • यहोवालाई खुसी बनाइरहेका हुन्छौँ?

  • येसु ख्रिष्टलाई खुसी बनाइरहेका हुन्छौँ?

  • मानिसहरूलाई तिनीहरूको जीवन जोगाउन मदत गरिरहेका हुन्छौँ?

गीत २ यहोवा तिम्रो नाम

a प्रमाणहरूले देखाएअनुसार मर्कुसले यस पदमा येसुले भन्‍नुभएको कुरा लेख्दा परमेश्‍वरको नाम पनि उल्लेख गरेका थिए। त्यसैले नयाँ संसार अनुवाद-मा यो नाम पुनर्स्थापित गरियो।

b नामहरू परिवर्तन गरिएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने