यहोवाको महानता अगम छ
“परमप्रभु महान् र स्तुतिको अति योग्य हुनुहुन्छ। र उहाँको महानता अगम छ।”—भजन १४५:३.
१, २. दाऊद कस्ता व्यक्ति थिए र परमेश्वरको तुलनामा तिनले आफूलाई कस्तो ठान्थे?
भजन १४५ का रचनाकार, इतिहासमा नाउँ कहलिएका पुरुषहरूमध्ये एक थिए। ठिटै छँदा तिनले सशस्त्र अजङको मानिससँग भिडे र त्यसलाई मारे। अनि योद्धा राजाको रूपमा यी भजनहारले थुप्रै शत्रुहरूलाई परास्त गरे। तिनको नाउँ थियो दाऊद, र तिनी पुरातन इस्राएलका दोस्रा राजा थिए। दाऊदको नाउँ तिनको मृत्युपछि पनि रहिरह्यो र आजसम्म पनि लाखौं मानिसहरूलाई तिनीबारे केही न केही कुरा थाह छ।
२ दाऊद आफ्ना उपलब्धिहरूको बावजुद नम्र थिए। यहोवालाई संकेत गर्दै तिनले यस्तो भजन गाए: “जब म तपाईंका औंलाहरूको काम आकाश, र तपाईं[ले] नियुक्त गर्नुभएका जून र ताराहरूलाई विचार गर्दछु, मानिस के हो र, तपाईं त्यसको सम्झना गर्नुहुन्छ? र मानिसको सन्तान, जसको तपाईं चासो लिनुहुन्छ?” (भजन ८:३, ४) दाऊदले आफूलाई महान् ठान्नुको सट्टा सबै शत्रुहरूबाट उद्धार हुनुको श्रेय यहोवालाई दिए र परमेश्वरबारे यसो भने: “तपाईंले मलाई आफ्नो उद्धारको ढाल दिनुभएको छ, तपाईंको योजनामा तपाईंले मलाई महान् तुल्याउनुहुन्छ।” (२ शमूएल २२:१, २, ३६) यहोवाले पापीहरूप्रति कृपा देखाउनुभएर आफ्नो नम्रता प्रदर्शन गर्नुहुन्छ र दाऊदले परमेश्वरको अनुग्रहको लागि कृतज्ञता देखाए।
‘म, परमेश्वर महाराजाको प्रशंसा गर्नेछु’
३. (क) इस्राएलको राजत्वबारे दाऊदको कस्तो धारणा थियो? (ख) दाऊद कुन हदसम्म यहोवाको प्रशंसा गर्न चाहन्थे?
३ दाऊद परमेश्वरबाट नियुक्त राजा भए तापनि तिनले इस्राएलको साँचो राजा यहोवा हुनुहुन्छ भनी मानेका थिए। दाऊदले भने: “हे परमप्रभु, राज्याधिकार तपाईंकै हो, औ सबैका माथि तपाईं सर्वोच्च हुनुहुन्छ।” (१ इतिहास २९:११) अनि दाऊदले परमेश्वरलाई शासकको रूपमा साँच्चै आदर गर्थे! तिनले यस्तो भजन गाए: “हे मेरा परमेश्वर, हे महाराजा, म तपाईंको प्रशंसा गर्नेछु। र म तपाईंको नाउँलाई सदा सर्वदा धन्यको भन्नेछु। प्रतिदिन म तपाईंलाई धन्यको भन्नेछु। र म तपाईंको नाउँको स्तुति सदा सर्वदा गर्नेछु।” (भजन १४५:१, २) दाऊद दिनभरि नै र सदासर्वदा यहोवा परमेश्वरको प्रशंसा गर्न चाहन्थे।
४. भजन १४५ ले कस्ता झूटा दाबीहरूको पर्दाफास गर्छ?
४ यहोवा एक स्वार्थी शासक हुनुहुन्छ र उहाँले आफ्नो सृष्टिलाई स्वतन्त्रताबाट वञ्चित गर्नुहुन्छ भन्ने शैतानको दाबीको प्रत्युत्तरमा भजन १४५ एउटा सशक्त जवाफ हो। (उत्पत्ति ३:१-५) मानिसले परमेश्वरको आज्ञा पालन गर्नुको कारण उहाँप्रतिको प्रेम नभई आफ्नो स्वार्थको लागि हो भन्ने शैतानको झूटको पनि यस भजनले पर्दाफास गर्छ। (अय्यूब १:९-११; २:४, ५) दाऊदले जस्तै आज साँचो मसीहीहरूले शैतानका झूटा आरोपहरूको जवाफ दिइरहेका छन्। परमेश्वरको राज्य शासनअन्तर्गत पाइने अनन्त जीवनको आशालाई तिनीहरू मूल्यवान् ठान्छन् किनभने तिनीहरू सदासर्वदा यहोवाको प्रशंसा गर्न चाहन्छन्। येशूको छुडौतीको बलिदानमा विश्वास गरेर र उहाँको एक समर्पित, बप्तिस्माप्राप्त उपासकको हैसियतमा आज्ञाकारी भई यहोवाको सेवा गरेर लाखौंले यसो गर्न थालिसकेका छन्।—रोमी ५:८; १ यूहन्ना ५:३.
५, ६. यहोवाको स्तुति र प्रशंसा गर्ने कस्ता सुअवसरहरू छन्?
५ यहोवाका सेवकहरूको हैसियतमा उहाँको स्तुति र प्रशंसा गर्न सक्ने थुप्रै सुअवसरहरूबारे विचार गर्नुहोस्। उहाँको वचन बाइबल पढ्दा हामीलाई असाध्यै मन छुने कुनै विवरण आएपछि हामीले प्रार्थनामा त्यसो गर्न सक्छौं। परमेश्वरले मानिसहरूसित गर्नुभएको व्यवहारले मन छुँदा वा उहाँको अद्भुत सृष्टिको कुनै कुराबाट रोमाञ्चित हुँदा कृतज्ञ भई उहाँलाई प्रशंसा र धन्यवाद व्यक्त गर्न सकिन्छ। मसीही सभाहरू वा व्यक्तिगत कुराकानीमा सँगी विश्वासीहरूसित उहाँको उद्देश्यबारे छलफल गर्दा पनि हामी यहोवा परमेश्वरको स्तुति गर्छौं। वास्तवमा भन्ने हो भने, परमेश्वरको राज्यसित सम्बन्धित सबै “सुकर्म[ले]” यहोवाको प्रशंसा गर्छ।—मत्ती ५:१६.
६ हालैको कुरा गर्ने हो भने, गरिबीको चपेटामा परेका धेरै ठाउँहरूमा यहोवाका जनहरूले थुप्रै उपासनाथलोहरू निर्माण गर्नु पनि सुकर्मको फल हो। यस्ता निर्माणकार्यहरू प्रायजसो अन्य देशमा बस्ने सँगी विश्वासीहरूको आर्थिक सहयोगबाट सम्भव भएको छ। कोही-कोही मसीहीहरू चाहिं स्वेच्छाले त्यस्ता ठाउँहरूमा गएर राज्यभवन निर्माणकार्यमा मदत गरेका छन्। अनि सबैभन्दा महत्त्वपूर्ण सुकर्मचाहिं परमेश्वरको राज्यको सुसमाचार प्रचार गरेर उहाँको प्रशंसा गर्नु हो। (मत्ती २४:१४) भजन १४५ को पछिका पदहरूले देखाएझैं दाऊद परमेश्वरको शासनको लागि कृतज्ञ थिए र उहाँको राजत्वको स्तुति गरे। (भजन १४५:११, १२) के तपाईं पनि परमेश्वरको मायालु शासनको लागि त्यसरी नै कृतज्ञ हुनुहुन्छ? अनि के तपाईं नियमित तवरमा अरूसँग उहाँको राज्यबारे कुरा गर्नुहुन्छ?
परमेश्वरको महानताका उदाहरणहरू
७. यहोवाको प्रशंसा गर्ने एउटा प्रमुख कारण दिनुहोस्।
७ भजन १४५:३ ले यहोवाको प्रशंसा गर्ने प्रमुख कारण दिन्छ। दाऊद यसरी गाउँछन्: “परमप्रभु महान् र स्तुतिको अति योग्य हुनुहुन्छ। र उहाँको महानता अगम छ।” यहोवाको महानता अपार छ। यसलाई पूर्णतया भेट्टाउन वा बुझ्न कहिल्यै सकिंदैन नता मनिसहरूले यसलाई नाप्न नै सक्छन्। तर यहोवाको अगमता अर्थात् भेट्टाउनै नसकिने महानताका उदाहरणहरू अहिले विचार गरेर हामीले पक्कै लाभ उठाउन सक्नेछौं।
८. यहोवाको महानता र शक्तिको सन्दर्भमा ब्रह्माण्डले के प्रकाश पार्छ?
८ सहरका चहकिला बत्तीहरूबाट टाढा, आकास खुल्ला भएको रातमा माथि आकासमा टुलुटुलु हेरेको समयलाई सम्झने कोसिस गर्नुहोस्। रातको अन्धकारमा ती अनगिन्ती ताराहरू देखेर के तपाईं छक्क पर्नुभएन? ती सबै आकाशीय पिण्डहरूको सृष्टिमा उहाँको महानता झल्किने भएकोले के तपाईं यहोवाको प्रशंसा गर्न उत्प्रेरित हुनुभएन? तथापि, तपाईंले जे देख्नुभयो, त्यो त एउटा आकाशगङ्गाको सानो अंश मात्र हो जसको एउटा भाग पृथ्वी पनि हो। यसबाहेक, अरबौं तारापुञ्जहरू छन् भनी अनुमान गरिएको छ जसमध्ये जम्मा तीनवटा मात्र टेलिस्कोपको मदतविना देख्न सकिन्छ। साँच्चै, ती असंख्य तारा र तारापुञ्ज विशाल ब्रह्माण्डको भाग हुन् जसले यहोवाको सृजनशील शक्ति र अगम महानताको पुष्टि गर्छन्।—यशैया ४०:२६.
९, १०. (क) येशू ख्रीष्टको सम्बन्धमा यहोवाको महानताका कस्ता पक्षहरू प्रकट भएका छन्? (ख) येशूको पुनरुत्थानले हाम्रो विश्वासलाई कसरी प्रभाव पार्नुपर्छ?
९ यहोवाको महानताको अन्य पक्षहरूलाई विचार गर्नुहोस् जुन येशू ख्रीष्टसित सम्बन्धित छन्। आफ्नो पुत्रको सृष्टि र उहाँलाई युगानुयुगसम्म मुख्य “कारीगरझैं” प्रयोग गर्नुमा परमेश्वरको महानता झल्कियो। (हितोपदेश ८:२२-३१, नयाँ संशोधित संस्करण) मानिसजातिको लागि आफ्नो एक मात्र प्रिय पुत्र छुडौतीको बलिदानको रूपमा अर्पण गर्दा यहोवाको प्रेमको महानता प्रकट भयो। (मत्ती २०:२८; यूहन्ना ३:१६; १ यूहन्ना २:१, २) अनि यहोवाले येशूलाई महिमित र अमर आत्मिक शरीरमा गर्नुभएको पुनरुत्थान मानिसहरूले बुझी नसक्नु छ।—१ पत्रुस ३:१८.
१० यहोवाको अगम महानताका थुप्रै हृदयग्राही पक्षहरू येशूको पुनरुत्थानसित सम्बन्धित घटनाहरूमा देखियो। दृश्य र अदृश्य कुराहरू, दुवैको सृष्टिमा संलग्न हुँदाको येशूको सम्झना परमेश्वरले निश्चय पनि पुनःस्थापित गर्नुभयो। (कलस्सी १:१५, १६) यसमा अन्य आत्मिक प्राणीहरू, ब्रह्माण्ड, उर्वर पृथ्वी र हाम्रो ग्रहको सबै प्रकारका भौतिक जीवन समावेश छन्। आफ्नो पुत्रको मानवपूर्व अस्तित्वको दौडान, स्वर्गीय तथा पार्थिव जीवनको सम्पूर्ण इतिहासबारे ज्ञान पुनःस्थापित गर्नुको अलावा येशूले सिद्ध मानिसको रूपमा बटुल्नुभएको अनुभवको सम्झना पनि यहोवाले पुनःस्थापित गरिदिनुभयो। हो, यहोवाको अगम महानता येशूको पुनरुत्थानमा प्रकट हुन्छ। यसबाहेक, त्यो महान् कार्य अरूको पुनरुत्थान पनि सम्भव छ भन्ने कुराको ग्यारेन्टी हो। यस कार्यले परमेश्वरको त्रुटिरहित सम्झनामा भएका लाखौं मृत जनहरूलाई परमेश्वरले ब्यूँताउन सक्नुहुन्छ भन्ने हाम्रो विश्वासलाई पनि सुदृढ बनाउनुपर्छ।—यूहन्ना ५:२८, २९; प्रेरित १७:३१.
आश्चर्यका काम र शक्तिशाली कार्यहरू
११. सा.यु. ३३ पेन्तिकोसमा यहोवाले कुन महान् काम सुरु गर्नुभयो?
११ येशूको पुनरुत्थानदेखि यहोवाले अन्य थुप्रै महान् तथा आश्चर्यका कामहरू गर्नुभएको छ। (भजन ४०:५) सा.यु. ३३ पेन्तिकोसमा यहोवाले नयाँ राष्ट्र, “परमेश्वरका इस्राएल” स्थापना गर्नुभयो जुन पवित्र आत्माद्वारा अभिषिक्त ख्रीष्टका चेलाहरूले बनेको थियो। (गलाती ६:१६) यस नयाँ आध्यात्मिक राष्ट्र त्यतिबेलाको संसारमा अत्यन्तै तीव्र गतिमा बढ्दै गयो। येशूका प्रेरितहरूको मृत्युपछि धर्मत्यागको कारण देखापरेको मसीहीजगत्को बावजुद यहोवाले आफ्नो उद्देश्य पूरा गर्नको लागि आश्चर्यका कामहरू गरिरहनुभयो।
१२. पृथ्वीका सबै प्रमुख भाषाहरूमा बाइबल उपलब्ध हुनुले कुन कुराको प्रमाण दिन्छ?
१२ उदाहरणका लागि, सम्पूर्ण बाइबललाई संरक्षित राखियो र अन्ततः आज पृथ्वीको सबैजसो प्रमुख भाषाहरूमा अनुवाद गरिएको छ। अक्सर कठिन परिस्थिति र शैतानका प्रतिनिधिहरूबाट मृत्युको खतराको बावजुद बाइबल अनुवाद कार्य अघि बढ्यो। यहोवा परमेश्वर जसको महानता अगम छ, उहाँको इच्छा नहुँदो हो त २,००० भन्दा बढी भाषामा बाइबल अनुवाद गर्न सम्भव नै हुने थिएन!
१३. सन् १९१४ देखि यहोवाको महानता, उहाँको राज्यको उद्देश्यको सम्बन्धमा कसरी प्रकट भएको छ?
१३ यहोवाका राज्य उद्देश्यहरूको सम्बन्धमा पनि उहाँको महानता प्रकट भएको छ। उदाहरणका लागि, सन् १९१४ मा उहाँले आफ्नो पुत्र येशू ख्रीष्टलाई स्वर्गीय राजाको रूपमा स्थापना गर्नुभयो। त्यसको लगत्तै येशूले शैतान अनि त्यसका प्रेतहरू विरुद्ध कदम चाल्नुभयो। तिनीहरूलाई स्वर्गबाट पृथ्वीमा फ्याँकियो जहाँ तिनीहरू अगाध खाँदमा फालिने समयको पर्खाइमा छन्। (प्रकाश १२:९-१२; २०:१-३) त्यतिबेलादेखि येशूका अभिषिक्त अनुयायीहरूले थप सतावटको अनुभव गरेका छन्। तथापि, येशूको अदृश्य उपस्थितिको यस समयमा यहोवाले तिनीहरूलाई सँभाल्नुभएको छ।—मत्ती २४:३; प्रकाश १२:१७.
१४. सन् १९१९ मा यहोवाले कस्तो आश्चर्यको काम गर्नुभयो र यसले के पूरा गऱ्यो?
१४ सन् १९१९ मा यहोवाले अर्को आश्चर्यको काम गर्नुभयो जसले उहाँको महानताको प्रदर्शन गऱ्यो। आध्यात्मिक तवरमा निष्क्रिय अवस्थामा पुगिसकेका येशूका अभिषिक्त अनुयायीहरूलाई पुनर्जीवित गरियो। (प्रकाश ११:३-११) त्यतिबेलादेखि यता अभिषिक्तहरूले स्वर्गमा स्थापना भएको राज्यको सुसमाचार जोसका साथ प्रचार गरेका छन्। अन्य अभिषिक्त जनहरूलाई जम्मा गरेर १,४४,००० को संख्या पूरा गरिएको छ। (प्रकाश १४:१-३) अनि ख्रीष्टका अभिषिक्त अनुयायीहरू मार्फत यहोवाले “नयाँ पृथ्वी” अर्थात् धार्मिक मानव समाजको जग बसाल्नुभयो। (प्रकाश २१:१) तर अभिषिक्त मसीहीहरू सबै स्वर्ग गएपछि “नयाँ पृथ्वी[लाई]” के हुनेछ?
१५. अभिषिक्त मसीहीहरूले कुन कार्यमा नेतृत्व लिइरहेका छन् र कस्तो नतिजा प्राप्त भएको छ?
१५ सन् १९३५ मा यस पत्रिकाको अगस्त १ र अगस्त १५ को अंकमा प्रकाश अध्याय ७ मा उल्लिखित “ठूलो भीड[सित]” सम्बन्धित महत्त्वपूर्ण लेखहरू छापिएको थियो। सबै जाति, कुल, मानिस र भाषाका सँगी उपासकहरूलाई आफ्नो संगतिमा ल्याउन अभिषिक्त मसीहीहरू जोसका साथ खोजी कार्यमा अघि बढे। यो “ठूलो भीड,” आउनै लागेको “महा संकष्टबाट” बच्नेछ अनि यसले प्रमोदवनमा अनन्त जीवनको प्रत्याशा पाउनेछ र “नयाँ पृथ्वी[को]” स्थायी सदस्य हुनेछ। (प्रकाश ७:९-१४) अभिषिक्त मसीहीहरूले नेतृत्व लिएको राज्य प्रचार र चेला बनाउने कार्यले गर्दा अहिले ६० लाखभन्दा बढी मानिसहरूले पार्थिव प्रमोदवनमा अनन्त जीवनको प्रत्याशा राखेका छन्। शैतान र त्यसको भ्रष्ट संसारबाट सतावटको बावजुद यस्तो वृद्धिको श्रेय कसलाई दिनुपर्छ? (१ यूहन्ना ५:१९) यहोवाले मात्र आफ्नो पवित्र आत्माद्वारा यो सबै पूरा गर्न सक्नुहुन्छ।—यशैया ६०:२२; जकरिया ४:६.
यहोवाको महिमित वैभव र गौरव
१६. मानिसहरूले किन शाब्दिक अर्थमा ‘यहोवाको महिमित वैभवको गौरव’ देख्न सक्दैनन्?
१६ यहोवाको “आश्चर्यपूर्ण काम” र “शक्तिशाली कार्यहरू” जस्तोसुकै किसिमका होऊन्, ती कहिल्यै बिर्सिने छैनन्। दाऊदले यस्तो लेखे: “एक पुस्ताले अर्को पुस्तालाई तपाईंको कामको प्रशंसा गर्नेछ, र तपाईंका शक्तिशाली कार्यहरूको घोषणा गर्नेछ। तपाईंको प्रतापी र शाही महत्त्वमा, [“तपाईंको महिमित वैभव र गौरवमा,” NW] र तपाईंका आश्चर्यपूर्ण कार्यहरूमा म ध्यान दिनेछु। र मानिसहरूले तपाईंका भयानक कामहरूका शक्तिको विषयमा कुरा गर्नेछन्। र म तपाईंको महानताको घोषणा गर्नेछु।” (भजन १४५:४-६) “परमेश्वर आत्मा” हुनुभएको कारण मानव आँखाहरूका लागि अदृश्य हुनुहुन्छ; तैपनि यहोवाको महिमित वैभवबारे दाऊदले कसरी थाह पाउन सके?—यूहन्ना १:१८; ४:२४.
१७, १८. ‘यहोवाको महिमित वैभवको गौरवप्रति’ दाऊद कसरी अझै कृतज्ञ हुन सके?
१७ दाऊदले परमेश्वरलाई देख्न नसके तापनि तिनले यहोवाको गौरवप्रतिको आफ्नो मूल्याङ्कन बढाउँदै लैजान सक्ने तरिकाहरू थिए। उदाहरणका लागि, विश्वव्यापी जलप्रलयद्वारा दुष्ट संसारको विनाश जस्ता परमेश्वरका शक्तिशाली कार्यहरूबारे तिनले धर्मशास्त्रीय रेकर्ड पढ्न सक्थे। यसबाहेक, यहोवाले इस्राएलीहरूलाई मिश्रीहरूको दासत्वबाट मुक्त गर्नुहुँदा मिश्रका झूटा देवहरूले कस्तो बेइज्जती सहनुपऱ्यो भनी दाऊदलाई सम्भवतः थाह थियो। त्यस्ता घटनाहरूले यहोवाको गौरव र महानताको पुष्टि गर्छन्।
१८ निस्सन्देह, यहोवाको गौरवप्रति दाऊद अझै कृतज्ञ हुनुको कारण तिनले धर्मशास्त्र पढ्ने मात्र नभई मनन पनि गर्ने गर्थे। उदाहरणका लागि, यहोवाले इस्राएललाई व्यवस्था दिनुहुँदा के भयो भनी तिनले मनन गरेका हुन सक्छन्। त्यहाँ मेघको गर्जन, चट्याङ, कालो बादल र तुरहीको चर्को आवाज सुनिएको थियो। सियोनको डाँडा हल्लियो र धूँवाले भरियो। त्यस डाँडाको बेंसीमा जम्मा भएका इस्राएलीहरूले आगो र बादलको बीचबाट यहोवाले स्वर्गदूतीय प्रतिनिधिहरू मार्फत “दश आज्ञा” दिनुभएको समेत सुने। (व्यवस्था ४:३२-३६; ५:२२-२४; १०:४; प्रस्थान १९:१६-२०; प्रेरित ७:३८, ५३) यहोवाको महानता कस्तो विस्मयकारी ढङ्गमा प्रकट भयो! यी विवरणहरूमा मनन गर्ने परमेश्वरका वचनका प्रेमीहरू ‘यहोवाको महिमित वैभवको गौरवबाट’ पक्कै प्रभावित हुन्छन्। आज हामीसित सिङ्गो बाइबल छ जसमा विभिन्न प्रकारका महिमित दर्शन लिपिबद्ध गरिएका छन् र त्यसले हामीलाई यहोवाको महानताको प्रमाण दिन्छ।—इजकिएल १:२६-२८; दानियल ७:९, १०; प्रकाश अध्याय ४.
१९. कुन कुराले यहोवाको गौरवप्रतिको हाम्रो मूल्याङ्कनलाई बढाउनेछ?
१९ परमेश्वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्था अध्ययन गर्दा पनि दाऊद यहोवाको गौरवबाट प्रभावित भएका हुन सक्छन्। (व्यवस्था १७:१८-२०; भजन १९:७-११) यहोवाको व्यवस्थाप्रतिको आज्ञाकारिताले इस्राएल राष्ट्रलाई गौरवान्वित तुल्याउनुका साथै अन्य सबै मानिसहरूबाट अलग्गै छुट्यायो। (व्यवस्था ४:६-८) दाऊदको सन्दर्भमा झैं हामीले पनि धर्मशास्त्र नियमित तवरमा पढ्दा, गहिरिएर मनन गर्दा र लगनशीलताका साथ अध्ययन गर्दा यहोवाको गौरवप्रतिको हाम्रो मूल्याङ्कन बढ्नेछ।
परमेश्वरका नैतिक गुणहरू कत्ति महान् छन्!
२०, २१. (क) भजन १४५:७-९ ले कस्ता गुणहरूसित सम्बन्धित यहोवाको महानताको वर्णन गर्छ? (ख) यहाँ उल्लेख गरिएका परमेश्वरका गुणहरूले उहाँलाई प्रेम गर्नेहरूमा कस्तो प्रभाव पार्छ?
२० भजन १४५ को पहिलो ६ वटा पदले यहोवाको अगम महानतासित सम्बन्धित कुराहरूका लागि उहाँको प्रशंसा गर्ने ठोस कारणहरू दिन्छ भनी हामीले थाह पायौं। पद ७ देखि ९ ले उहाँका नैतिक गुणहरू उल्लेख गरेर उहाँको महानता प्रकाश पार्छ। दाऊद यस्तो भजन गाउँछन्: “तिनीहरूले तपाईंको ठूलो भलाईको सम्झानामा बोलेर प्रकाश गर्नेछन्, र तपाईंका धार्मिकताको विषयमा गाउनेछन्। परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ। रिसाउनमा धीरजी र अति करुणामय हुनुहुन्छ। परमप्रभु सबैमाथि भलो हुनुहुन्छ। र उहाँका कोमल कृपा उहाँका कार्यहरूमा श्रेष्ठ छन्।”
२१ यहाँ दाऊदले सबैभन्दा पहिला यहोवाको भलाइ र धार्मिकता प्रकाश पारेका छन्—शैतान अर्थात् दियाबलले उठाएको प्रश्न पनि यिनै गुणहरूमा थियो। परमेश्वरलाई प्रेम गर्ने र उहाँको शासनको अधीनमा बस्ने सबैलाई यी गुणहरूले कस्तो प्रभाव पार्छ? हुन पनि, यहोवाको भलाइ र उहाँको शासन गर्ने धार्मिक शैलीबाट उहाँका उपासकहरू यति हर्षित हुन्छन् कि तिनीहरू उहाँको प्रशंसा नगरी बस्नै सक्दैनन्। यसबाहेक, यहोवा “सबैमाथि” भलो हुनुहुन्छ। आशा छ, यसले अझ थुप्रैलाई पश्चात्ताप गर्न र एकदमै ढिला हुनुअघि साँचो परमेश्वरको उपासक बन्न उत्प्रेरित गर्नेछ।—प्रेरित १४:१५-१७.
२२. यहोवाले आफ्ना सेवकहरूसित कस्तो व्यवहार गर्नुहुन्छ?
२२ ‘परमप्रभुनै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा [“करुणा,” NW] र सत्यतामा प्रशस्त हुनुहुन्छ भनी घोषणा गर्दै [मोशाको] सामनेबाट’ जानुहुँदा परमेश्वर स्वयंले प्रकाश पार्नुभएका गुणहरूको पनि दाऊदले मुल्याङ्कन गरे। (प्रस्थान ३४:६) अतः दाऊदले यस्तो घोषणा गर्न सके: “परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ। रिसाउनमा धीरजी र अति करुणामय हुनुहुन्छ।” यहोवाको महानता अगम भए तापनि उहाँले आफ्ना मानव सेवकहरूसित मर्यादित ढङ्गमा व्यवहार गर्नुभएर तिनीहरूलाई गौरवान्वित तुल्याउनुहुन्छ। उहाँ कृपाले भरिपूर्ण हुनुहुन्छ र येशूको छुडौतीको बलिदानको आधारमा पश्चात्तापी पापीहरूलाई क्षमा दिन तयार हुनुहुन्छ। यहोवा रिस गर्नमा पनि ढिलो हुनुहुन्छ किनभने उहाँले आफ्ना सेवकहरूलाई नयाँ धार्मिक संसारमा प्रवेश गर्न बाधा पुऱ्याउने कमजोरीहरूमाथि विजय हासिल गर्ने अवसरहरू दिनुहुन्छ।—२ पत्रुस ३:९, १३, १४.
२३. अर्को लेखमा हामी कुन अनमोल गुणबारे छलफल गर्नेछौं?
२३ दाऊद यहोवाको करुणा वा वफादार प्रेमको वर्णन गर्छन्। साँच्चै भन्ने हो भने, भजन १४५ को बाँकी अंशमा, यहोवाले यो गुण कसरी प्रदर्शन गर्नुहुन्छ र उहाँका वफादार सेवकहरूले उहाँको करुणाप्रति कस्तो प्रतिक्रिया देखाउँछन् भनी बताइएको छ। यी कुराहरू अर्को लेखमा छलफल गरिनेछ।
तपाईं कसरी जवाफ दिनुहुनेछ?
• दिन “प्रतिदिन” यहोवाको प्रशंसा गर्ने कस्ता सुअवसरहरू छन्?
• यहोवाको महानता अगम छ भनेर कस्ता उदाहरणहरूले देखाउँछ?
• यहोवाको महिमित गौरवप्रतिको मूल्याङ्कन हामी कसरी बढाउन सक्छौं?
[पृष्ठ १०-मा भएको चित्र]
ब्रह्माण्डमा भएका आकाशगङ्गाहरूले यहोवाको महानताको पुष्टि गर्छन्
[स्रोत]
Courtesy of Anglo-Australian Observatory, photograph by David Malin
[पृष्ठ १२-मा भएको चित्र]
येशू ख्रीष्टको सन्दर्भमा यहोवाको महानता कसरी प्रकट भएको छ?
[पृष्ठ १३-मा भएको चित्र]
इस्राएलीहरूले सियोन डाँडामा परमेश्वरको व्यवस्था प्राप्त गर्दा तिनीहरूले यहोवाको महिमित गौरवको प्रमाण पाए