प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 २/१५ pp. ४-७
  • कृतज्ञताको मनोभाव खेती गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कृतज्ञताको मनोभाव खेती गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कृतघ्नताको मुख्य कारण
  • मनन गर्नैपर्छ!
  • कृतज्ञता व्यक्‍त गर्ने
  • परमेश्‍वरप्रति धन्यवादी
  • ‘सबै कुराको निम्ति धन्यवाद चढाउनुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • कृतज्ञ किन हुने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • कृतज्ञता
    ब्यूँझनुहोस्‌!—२०१६
  • के तपाईं मौका छोप्नुहुन्छ?
    हाम्रो राज्य सेवा—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 २/१५ pp. ४-७

कृतज्ञताको मनोभाव खेती गर्नुहोस्‌

मर्नै लागेकी मेरीको जीवन न्यु योर्कका एक चिकित्सकले बचाउँछन्‌। तर ५० वर्षीया मेरीले नता ती डाक्टरलाई धन्यवाद दिन्छिन्‌ नता बिल नै चुक्‍ता गर्छिन्‌। कृतघ्नताको कस्तो सुहाउँदो उदाहरण!

बाइबलको एउटा विवरणअनुसार एकचोटि येशू एउटा गाउँमा जानुहुँदा डरलाग्दो कोर लागेका दस जना मानिसहरूसित उहाँको भेट भएको थियो। चर्को स्वरमा तिनीहरू यसरी कराए: “हे येशू गुरु, हामीमाथि दया गर्नुहोस्‌।” येशूले यस्तो आज्ञा गर्नुभयो: “जाओ, गएर पूजाहारीकहाँ आफैलाई देखाओ।” यी कोरीहरूले उहाँको निर्देशन पालन गरे र जाँदाजाँदै तिनीहरूले आफू पुनः स्वस्थ भएको देखे र महसुस गरे।

निको भएका नौ जना कोरीहरू आ-आफ्नै बाटो लागे। तर एक जना सामरी कोरी येशूलाई भेट्‌न फर्कन्छन्‌। कोर निको भएको यस व्यक्‍तिले परमेश्‍वरको प्रशंसा गरे र येशूलाई भेट्टाएपछि तिनले उहाँको खुट्टामा घोप्टो पर्दै धन्यवाद दिए। जवाफमा येशूले यसो भन्‍नुभयो: “के शुद्ध भएका दश जना होइनन्‌? तर नौ जना कहाँ छन्‌? परमेश्‍वरलाई महिमा दिनालाई के यो विदेशीबाहेक अरू कोही भएनन्‌?”—लूका १७:११-१९.

“नौ जना कहाँ छन्‌?” भन्‍ने येशूको प्रश्‍नबाट जोडदार पाठ सिक्न सकिन्छ। मेरीको जस्तै यी नौ कोरीहरूको पनि गम्भीर कमजोरी थियो—तिनीहरूले कृतज्ञताको मनोभाव देखाएनन्‌। त्यस्तै कृतघ्नता आज संसारमा व्याप्त छ। यसको कारण के हो?

कृतघ्नताको मुख्य कारण

कृतघ्नताको मुख्य कारण स्वार्थीपना नै हो। उदाहरणस्वरूप, हाम्रो प्रथम आमाबाबु आदम र हव्वालाई लिनुहोस्‌। यहोवाले तिनीहरूलाई ईश्‍वरीय गुनहरूसहित सृष्टि गर्नुभयो र तिनीहरूको सुखको लागि घरको रूपमा सुन्दर बगैंचा, अत्यन्तै राम्रो वातावरण दिनुका साथै अर्थपूर्ण तथा सन्तोषजनक काम दिनुभयो। (उत्पत्ति १:२६-२९; २:१६, १७) यद्यपि, आफ्नो स्वार्थी इच्छाको पछि लाग्ने शैतानको दबाबमा परेर ती दुवै अनाज्ञाकारी भए र यहोवाको उदारताको बेवास्ता गरे।—उत्पत्ति ३:१-५; प्रकाश १२:९.

परमेश्‍वरले आफ्नो विशेष जनको रूपमा रोज्नुभएको पुरातन इस्राएलका मानिसहरूलाई पनि विचार गर्नुहोस्‌। सा.यु.पू. १५१३, नीसान १४ को रात सबै इस्राएली आमाबाबुहरू कति कृतज्ञ भएका थिए होलान्‌! त्यस महत्त्वपूर्ण रातमा परमेश्‍वरका स्वर्गदूतले ‘मिश्रका मानिसका प्रथम जन्मेका’ सबैलाई मारे तर चिह्न लगाएका इस्राएली घरहरूमा केही गरेनन्‌। (प्रस्थान १२:१२, २१-२४, ३०) अनि लाल समुद्रमा फिरऊनको सेनाबाट छुटकारा पाएपछि कृतज्ञताले ओतप्रोत हुँदै ‘मोशा र इस्राएलीहरूले परमप्रभुको स्तुति गाए।’—प्रस्थान १४:१९-२८; १५:१-२१.

तर मिश्र छोडेको केही समय नबित्दै “इस्राएलीहरूका सारा समुदाय . . . गनगनाउनलागे।” तिनीहरू कत्ति चाँडो कृतघ्नताको वशमा परेका! दास भएर बसेको “मिश्रमा मासु र रोटी अघाउञ्जेल खान्थ्यौं” भन्‍न थाले। (प्रस्थान १६:१-३) स्पष्टतः कृतज्ञता खेती गर्नुका साथै यो प्रकट गर्नुको अवरोध स्वार्थ हो।

पापी आदमको सन्तान भएकाले मानिसहरू स्वार्थी झुकाउका हुनुका साथै कृतघ्नतातिर बढी ढल्केका हुन्छन्‌। (रोमी ५:१२) यस संसारमा व्याप्त स्वार्थी मनोभावको एउटा भाग बैगुनीपन हो। हामीले श्‍वास फेर्ने हावाझैं यो मनोभाव पनि जताततै छ र यसले हामीलाई असर गर्छ। (एफिसी २:१, २) त्यसकारण, हामीले कृतज्ञताको मनोभाव खेती गर्नुपर्छ। हामी त्यो कसरी गर्नसक्छौं?

मनन गर्नैपर्छ!

वेब्सटर्स थर्ड न्यु इन्टरनेशनल डिक्सनरी-ले कृतज्ञतालाई “कृतज्ञ हुनाको भाव: उपकार गर्ने व्यक्‍तिको गुन नबिर्सेर तिनलाई पनि उपकार गर्ने न्यानो र मित्रैलो भावना” भनी वर्णन गरेको छ। यस्ता भावनाहरू मेसिनलाई जस्तै आफूलाई मन परेको बेला खोल्ने र मन नपरेको बेला बन्द गर्न मिल्दैन। यो मानिसको हृदयदेखि नै पलाउनुपर्छ। कृतज्ञता राम्रो बानी बेहोरा वा शीलस्वभाव देखाउनुमा मात्रै सीमित छैन, यो हृदयबाट निस्कने कुरा हो।

हामी हृदयदेखि नै कृतज्ञ हुन कसरी सिक्नसक्छौं? हामी कस्तो कुरा सोच्ने गर्छौं त्यसमा पनि भर पर्छ भनी बाइबलले बताउँछ। (एफिसी ४:२२-२४) हामीप्रति देखाइएको दयाबारे मूल्यांकन गर्दै मनन गर्दा कृतज्ञ हुन सिक्छौं। यसै विचारसित मिल्दो कुरा मानसिक स्वास्थ्य क्षेत्रमा सम्मिलित डा. वेन डब्लु. डायर भन्छन्‌: “मनमा सोच्दै नसोची कुनै पनि भावना आफै जाग्दैन।”

उदाहरणका लागि, आफू वरपरका सृष्टिको लागि धन्यवादी हुने विषयलाई लिनुहोस्‌। चकमन्‍न रातमा आकाशमा टलपलाइरहेका ताराहरू देख्दा तपाईं कस्तो अनुभव गर्नुहुन्छ? राजा दाऊदले छक्क पर्दै यसो भने: “जब म तपाईंका औंलाहरूको काम आकाश, र तपाईं[ले] नियुक्‍त गर्नुभएका जून र ताराहरूलाई विचार गर्दछु, मानिस के हो र, तपाईं त्यसको सम्झना गर्नुहुन्छ? र मानिसको सन्तान, जसको तपाईं चासो लिनुहुन्छ?” सुनसान रातमा ताराहरू हेरेपछि दाऊद यस्तो लेख्न उत्प्रेरित भए: “आकाशले परमेश्‍वरको महिमाको वर्णन गर्छ। र आकाश-मण्डलले उहाँको हातको सीप प्रकट गर्छ।” चमचम चम्किरहेका ताराहरू देखेर दाऊद किन त्यतिबिघ्न प्रभावित भएका? तिनी आफै यसरी जवाफ दिन्छन्‌: “म उहिले उहिलेका दिनहरू सम्झन्छु। म तपाईंका सारा कार्यहरूमा ध्यान लगाउँछु। म तपाईंका हातको काममा विचार गर्छु।”—भजन ८:३, ४; १९:१; १४३:५.

दाऊदका छोरा सुलेमानले पनि अद्‌भुत सृष्टिहरूबारे मनन गर्नुपर्ने महत्त्व बुझे। उदाहरणका लागि, बादलले हाम्रो पृथ्वीलाई स्वच्छ राख्न खेल्ने भूमिकाबारे तिनले यसरी लेखे: “सबै खोलाहरू समुद्रमानै बग्छन्‌, तापनि समुद्र चाहिं कहिल्यै भरिएर पोखिंदैन। जुन स्थानबाट खोलाहरू बग्छन्‌ फेरि बग्नलाई ती त्यतै फर्कछन्‌।” (उपदेशक १:७) अनि हुन्छ पनि त्यस्तै। आकाशबाट वर्षेको पानी र खोलाहरूले पृथ्वीलाई भिजाइसकेपछि ती पानीहरू फेरि समुद्रबाट बादलमा परिणत हुन्छन्‌। पानी प्रशोधन हुने यो प्रक्रिया नभएको भए पृथ्वीको हालत कस्तो हुन्थ्यो होला? यी कुराहरूबारे विचार गरेर सुलेमान कत्ति कृतज्ञ भए होलान्‌!

कृतज्ञ व्यक्‍तिले परिवारका सदस्यहरू, मित्रहरू तथा चिनेजानेका मानिसहरूसितको सम्बन्धलाई पनि कदर गर्छ। तिनीहरूका दयालु कार्यहरूप्रति उनको ध्यान जान्छ। तिनीहरूले गरेको उपकारबारे मूल्यांकन गर्दै सोच्दा उनको हृदय कृतज्ञताले भरिन्छ।

कृतज्ञता व्यक्‍त गर्ने

“धन्यवाद” एउटा कस्तो सरल शब्द हो! यो शब्द उच्चारण गर्न पनि अत्यन्तै सजिलो छ। अनि उच्चारण गर्ने अवसरहरू पनि हामी प्रशस्तै पाउँछौं। हाम्रोनिम्ति ढोका खोलिदिने वा आफ्नो केही माल खस्दा टिपिदिने व्यक्‍तिलाई हामीले न्यानो निष्कपट धन्यवाद दिंदा कत्ति स्फूर्तिदायी हुन्छ! त्यस अभिव्यक्‍ति सुन्दा पसलमा काम गर्ने कामदारको वा भोजनालयमा वेटरको वा हुलाकीको काम नै हलुका हुनुका साथै तिनीहरूलाई आफ्नो काम इनामदायी लाग्नसक्छ।

हामीप्रति देखाइएको दयाको लागि कृतज्ञता व्यक्‍त गर्ने अर्को एउटा सजिलो तरिका धन्यवाद व्यक्‍त गर्ने कार्डहरू पठाएर हो। कार्ड पसलहरूमा पाइने थुप्रै कार्डहरूले कृतज्ञ भावनाहरू सजीव ढंगमा ठ्याक्कै व्यक्‍त गर्छ। तर के आफ्नै अक्षरमा मूल्यांकनका केही शब्दहरू लेख्नु मायालु अभिव्यक्‍ति होइन र? कसै कसैले त त्यस्ता लेखिएका कार्डहरूको साटो आफैले लेखेर पठाउँछन्‌।—हितोपदेश २५:११ तुलना गर्नुहोस्‌।

सम्भवतः हाम्रो कृतज्ञताका असली हकदारहरू घरका मानिसहरू हुन्‌। सुयोग्य पत्नीबारे बाइबल यसो भन्छ: “तिनका पतिले पनि तिनको प्रशंसा गरे।” (हितोपदेश ३१:२८) पतिले पत्नीलाई हार्दिक धन्यवाद दिंदा के घरमा शान्तिमय र सन्तोषजनक वातावरण सृजना गर्न मदत गर्दैन र? के न्यानो भावनाहरूसहित अभिवादन गर्ने पत्नी भएको घरमा फर्कन पति खुसी हुँदैनन्‌ र? आजकाल, विवाहित दम्पतीहरूले अनेकन्‌ दबाबहरू झेल्नुपर्ने हुन्छ, त्यसैले थुप्रै दबाबहरू आइपर्दा सजिलै रिस उठ्‌नसक्छ। कृतज्ञताको मनोभाव राख्ने व्यक्‍ति भूलहरूको वास्ता नगरी माफी दिइहाल्न तयार हुन्छ।

आमाबाबुलाई हार्दिक मूल्यांकन व्यक्‍त गर्न जवानहरू पनि सचेत हुनुपर्छ। हो, आमाबाबुहरू पक्कै पनि सिद्ध छैनन्‌ तर त्यसो भन्दैमा उहाँहरूले तपाईंको लागि जे जति गर्नुभएको छ त्यसप्रति कृतघ्न हुन छुट पाइँदैन। तपाईं जन्मेदेखि नै आमाबाबुबाट पाउनुभएको माया र हेरविचार किनेर किन्‍न सक्नुहुन्‍न। उहाँहरूले तपाईंलाई परमेश्‍वरको ज्ञान सिकाउनुभएको छ भने त झनै कृतज्ञ हुनुपर्छ।

भजन १२७:३ ले यस्तो घोषणा गर्छ: “छोराहरू ता परमप्रभुले दिनुभएको हक मात्र हुन्‌।” अतः छोराछोरीका सानातिना भूलहरूबारे कचकच गरिरहनुको साटो तिनीहरूको प्रशंसा गर्ने मौका खोज्नुपर्छ। (एफिसी ६:४) अनि आफ्नो रेखदेखमा भएका जवानहरूलाई कृतज्ञताको भाव खेती गर्न मदत दिने कस्तो राम्रो सुअवसर!—हितोपदेश २९:२१ तुलना गर्नुहोस्‌।

परमेश्‍वरप्रति धन्यवादी

यहोवा परमेश्‍वर “हरेक असल दान र हरेक उत्तम वरदान[का]” दाता हुनुहुन्छ। (याकूब १:१७) जीवनको वरदान नै सबैभन्दा महत्त्वपूर्ण छ किनभने हामीले जीवनै गुमायौं भने हाम्रा प्रयास र योजनाहरू सबै विफल हुनेछन्‌। धर्मशास्त्रले हामीलाई “जीवनको मूल [यहोवा परमेश्‍वरको]” सम्झना गर्न आग्रह गरेको छ। (भजन ३६:५, ७, ९; प्रेरित १७:२८) परमेश्‍वरप्रति कृतज्ञ हृदय खेती गर्न हामीले आफ्नो शारीरिक र आध्यात्मिक जीवन धान्‍ने उहाँको दयालु प्रबन्धहरूबारे मनन गर्नुपर्छ। (भजन १:१-३; ७७:११, १२) त्यस्तो हृदयले वचन र कार्यमा मूल्यांकन देखाउन उत्प्रेरित गर्नेछ।

परमेश्‍वरप्रति कृतज्ञता जाहेर गर्ने एउटा सजिलो तरिका प्रार्थना हो। भजनरचयिता दाऊदले यस्तो घोषणा गरे: “हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले गर्नुभएको अचम्मका कामहरू र हामीतर्फको तपाईंको विचार धेरैनै छन्‌। तपाईंको सामने ती सम्झेर क्रमैसँग राख्नसकिंदैन। यदि तिनको विषयमा भनेर मैले बोलें भनेता तिनको गन्ती हुनैसक्‍तैन।” (भजन ४०:५) हामी पनि त्यसरी नै ओतप्रोत होऔं।

अरूसित कुरा गर्दा पनि परमेश्‍वरप्रति मूल्यांकन देखाउन दाऊद कटिबद्ध थिए। तिनले यसो भने: “मेरो पूरा हृदयले म परमप्रभुमा धन्यवाद चढ़ाउनेछु। तपाईंका सबै आश्‍चर्यकामहरूको वर्णन म गर्नेछु।” (भजन ९:१) परमेश्‍वरबारे अरूलाई बताउनु, उहाँको वचनको सत्य अरूसित बाँड्‌नु नै सायद उहाँप्रति कृतज्ञता जाहेर गर्ने सबैभन्दा उत्तम तरिका हो। अनि यसले जीवनका अन्य क्षेत्रहरूमा पनि कृतज्ञ हुन मदत दिनेछ।

यहोवा भन्‍नुहुन्छ, “धन्यवादको बलिदान चढ़ाउनेलेनै मेरो महिमा गर्दछ। र आफ्नो मार्ग सुधार्नेलाईनै परमेश्‍वरबाट हुने उद्धार म देखाउनेछु।” उहाँप्रति हार्दिक कृतज्ञता व्यक्‍त गर्दा तपाईंलाई पनि आनन्द होस्‌।—भजन ५०:२३; १००:२.

[पृष्ठ ७-मा भएको चित्र]

जीवन परमेश्‍वरले दिनुभएको वरदान हो। आत्मीयता झल्काउन नबिर्सनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने