अध्याय ८
सुसमाचार प्रचार गर्ने सेवकहरू
यहोवाले हाम्रो निम्ति सबैभन्दा उत्कृष्ट उदाहरणको रूपमा आफ्नो छोरा येसु ख्रिष्टलाई पृथ्वीमा पठाउनुभयो। (१ पत्रु. २:२१) येसुको चेला बन्ने जोसुकैले सुसमाचार प्रचार गर्नुपर्छ। यो काम स्फूर्तिदायी छ भनेर हामी येसुका यी शब्दहरूबाट थाह पाउन सक्छौँ: “हे कठोर श्रमले थाकेका र भारले दबिएका सबै मानिस हो, मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु। मेरो जुवा बोक र मबाट सिक किनकि म कोमल स्वभावको र नम्र हृदयको छु अनि तिमीहरूले स्फूर्ति पाउनेछौ।” (मत्ति ११:२८, २९) येसुको यो निम्तो स्विकार्नेहरूले साँच्चै स्फूर्ति पाएका छन्!
२ येसु यहोवा परमेश्वरको प्रमुख सेवक हुनुहुन्छ। उहाँले केही मानिसलाई आफ्नो चेला हुन निम्तो दिनुभयो। (मत्ति ९:९; युह. १:४३) उहाँले तिनीहरूलाई प्रशिक्षण दिनुभयो र आफूले गरिरहेको काम गर्न पठाउनुभयो। (मत्ति १०:१–११:१; २०:२८; लुका ४:४३) पछि उहाँले थप ७० जनालाई पनि परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न पठाउनुभयो। (लुका १०:१, ८-११) तिनीहरूलाई पठाउँदा येसुले यसो भन्नुभयो: “जसले तिमीहरूको कुरा सुन्छ, त्यसले मेरो कुरा पनि सुन्छ। अनि जसले तिमीहरूलाई इन्कार गर्छ, त्यसले मलाई पनि इन्कार गर्छ। साथै जसले मलाई इन्कार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई पनि इन्कार गर्छ।” (लुका १०:१६) यसरी तिनीहरूलाई सुम्पिइएको जिम्मेवारी कत्तिको गम्भीर छ भनेर येसुले जोड दिनुभयो। तिनीहरू येसु र सर्वोच्च परमेश्वरको प्रतिनिधि थिए! “आएर मेरो पछि लाग” भन्ने येसुको निम्तो स्विकार्नेहरू आज पनि उहाँहरूको प्रतिनिधि हुन्। (लुका १८:२२; २ कोरि. २:१७) यो निम्तो स्विकार्ने सबैलाई परमेश्वरले सुसमाचार प्रचार गर्ने र चेला बनाउने काम सुम्पनुभएको छ।—मत्ति २४:१४; २८:१९, २०.
३ हामीले येसुको पछि लाग्ने निम्तो स्विकारेको हुनाले यहोवा परमेश्वर र येसु ख्रिष्टलाई ‘चिन्ने’ सुअवसर पाएका छौँ। (युह. १७:३) हामीले यहोवाको तौरतरिका सिक्न पाएका छौँ। उहाँको मदतद्वारा हामीले आफ्नो सोचाइ परिवर्तन गर्न, नयाँ व्यक्तित्व धारण गर्न अनि उहाँको धार्मिक स्तरअनुरूप जीवन बिताउन सकेका छौँ। (रोमी १२:१, २; एफि. ४:२२-२४; कल. ३:९, १०) हामी यहोवाप्रति मनैदेखि आभारी भएकोले हामीले उहाँलाई आफ्नो जीवन समर्पण गऱ्यौँ र बप्तिस्मा गऱ्यौँ। यसरी हामी परमेश्वरको सेवकको रूपमा नियुक्त भयौँ।
४ परमेश्वरलाई निर्दोष हात र शुद्ध मनले सेवा गर्नुपर्छ भनेर कहिल्यै नबिर्सौँ। (भज. २४:३, ४; यसै. ५२:११; २ कोरि. ६:१४–७:१) येसु ख्रिष्टमा विश्वास गरेकोले हामीले आफ्नो अन्तस्करण सफा राख्न सकेका छौँ। (हिब्रू १०:१९-२३, ३५, ३६; प्रका. ७:९, १०, १४) प्रेषित पावलले ख्रिष्टियनहरूलाई सबै कुरा परमेश्वरको महिमाको लागि गर्न सल्लाह दिए। यसो गर्दा तिनीहरू अरूको निम्ति ठोकरको कारण हुने थिएनन्। साथै प्रेषित पत्रुसले यहोवाको उपासना नगर्नेहरूलाई बाइबलको शिक्षाप्रति आकर्षित गर्न असल आचरण देखाउनु महत्त्वपूर्ण छ भनेर बताए। (१ कोरि. १०:३१, ३३; १ पत्रु. ३:१) कसैलाई सुसमाचारको प्रचारक बन्न तपाईँ कसरी मदत दिन सक्नुहुन्छ?
नयाँ प्रकाशकहरू
५ जिज्ञासु व्यक्तिसित बाइबल अध्ययन गर्न थालेदेखि नै तिनलाई सिकेको कुरा अरूलाई बताउन प्रोत्साहन दिनुहोस्। तिनले आफ्नो आफन्त, साथी, सहकर्मी र अरूलाई आफूले सिकिरहेको कुरा अनौपचारिक रूपमा बताउन सक्छन्। नयाँ व्यक्तिहरूलाई सुसमाचारका सेवकको रूपमा येसुको चेला हुन मदत गर्न यसो गर्नु निकै महत्त्वपूर्ण छ। (मत्ति ९:९; लुका ६:४०) आध्यात्मिक उन्नति गर्दै गएपछि र राम्ररी अनौपचारिक साक्षी दिन सिपालु भएपछि तिनले पक्कै प्रचारमा जाने इच्छा व्यक्त गर्नेछन्।
प्रकाशक बन्न चाहिने योग्यता
६ नयाँ व्यक्तिलाई घरघरको प्रचारमा लानुअघि तिनले केही आवश्यकता पूरा गरेका छन् कि छैनन् भनेर तपाईँले पक्का गर्नुपर्छ। तिनी हामीसँग प्रचारमा जाँदा तिनले आफूलाई अरूसामु यहोवाको साक्षीको रूपमा चिनाइरहेका हुन्छन्। त्यसैले तिनलाई प्रचारमा लानुअघि तिनले यहोवाको धार्मिक स्तरअनुरूप जीवन बिताइरहेको र बप्तिस्मा नगरेका प्रकाशक बन्न चाहिने योग्यता पूरा गरिसकेको हुनुपर्छ।
७ विद्यार्थीलाई अध्ययन गराउँदै जाँदा र तिनीसित बाइबलका सिद्धान्तहरूबारे छलफल गर्दै जाँदा तपाईँले तिनको परिस्थिति बुझ्दै जानुहुन्छ। साथै तिनले आफूले सिकेको शिक्षाअनुरूप जीवन बिताइरहेको याद पनि गर्नुभएको होला। तर तिनी प्रचारकार्यमा जान योग्य छन् कि छैनन् भनेर पक्का गर्न एल्डरहरूले तपाईँहरू दुवैलाई भेट्नेछन् र तिनको जीवनका केही खास पक्षबारे बुझ्नेछन्।
८ एल्डरहरूको निकायको संयोजकले तपाईँ र तपाईँको विद्यार्थीसित छलफल गर्न दुई जना एल्डरलाई खटाउँछन्। यी दुईमध्ये एक जना एल्डर मण्डलीको सेवा समितिका सदस्य हुनुपर्छ। थोरै एल्डर भएको मण्डलीमा एक जना एल्डर र परिपक्व सहायक सेवकले तिनीसित छलफल गर्न सक्छन्। यी भाइहरूले बाइबल विद्यार्थीसित छलफल गर्ने प्रबन्ध सक्दो चाँडो मिलाउनुपर्छ। तिनले प्रचारमा जाने आफ्नो इच्छाबारे सभामा बताए भने सभा सकेपछि नै यस्तो छलफल गर्ने प्रबन्ध मिलाउनु राम्रो हो। यो छलफल केरकार गरेको जस्तो हुनु हुँदैन, बरु विद्यार्थीलाई आफ्नो विचार व्यक्त गर्न सजिलो महसुस गराउने किसिमको हुनुपर्छ। बप्तिस्मा नगरेका प्रकाशक हुन तिनले निम्न आवश्यकताहरू पूरा गरेको हुनै पर्छ:
(१) बाइबल परमेश्वरको प्रेरणाद्वारा लेखिएको किताब हो भनेर विश्वास गरेको हुनुपर्छ।—२ तिमो. ३:१६.
(२) बाइबलको आधारभूत शिक्षा बुझेको र त्यसमा विश्वास गरेको हुनुपर्छ ताकि तिनले कसैले प्रश्न गरेमा झूटो धर्मको शिक्षा वा आफ्नै विचारको आधारमा नभई बाइबलमा आधारित जवाफ दिन सकून्।—मत्ति ७:२१-२३; २ तिमो. २:१५.
(३) परिस्थितिले दिएसम्म मण्डलीका सभाहरूमा यहोवाका सेवकहरूसित सङ्गत गर्नू भनी बाइबलमा दिइएको आज्ञा पालन गरेको हुनुपर्छ।—भज. १२२:१; हिब्रू १०:२४, २५.
(४) अविवाहितबीचको यौनसम्बन्ध, व्यभिचार, बहुविवाह र समलैङ्गिक यौनसम्बन्धबारे बाइबलले के सिकाउँछ भनेर बुझेको हुनुपर्छ। अनि त्यस शिक्षाअनुरूप जीवन बिताएको हुनुपर्छ। आफन्तबाहेक विपरीत लिङ्गका अरू कसैसित सँगै बसिरहेका छन् भने तिनीहरू कानुनी रूपमा विवाहित हुनुपर्छ।—मत्ति १९:९; १ कोरि. ६:९, १०; १ तिमो. ३:२, १२; हिब्रू १३:४.
(५) पियक्कड नहुनू भन्ने बाइबलको आज्ञा पालन गरेको हुनुपर्छ। अनि उपचारको सिलसिलामा बाहेक अरू तरिकामा लत लाग्ने नशालु पदार्थ वा दिमागलाई असर गर्ने कुनै पदार्थ प्रयोग गरेको हुनु हुँदैन।—२ कोरि. ७:१; एफि. ५:१८; १ पत्रु. ४:३, ४.
(६) खराब सङ्गतबाट अलग रहनुको महत्त्व बुझेको हुनुपर्छ।—१ कोरि. १५:३३.
(७) झूटो धर्मको सबै सङ्गठनबाट आफ्नो सदस्यता हटाएको हुनुपर्छ। तिनले त्यस्ता सङ्गठनहरूको सबै गतिविधिमा भाग लिन छोडेको हुनुपर्छ र त्यसलाई समर्थन गरेको हुनु हुँदैन।—२ कोरि. ६:१४-१८; प्रका. १८:४.
(८) कुनै पनि तरिकामा राजनीतिमा मुछिएको हुनु हुँदैन। —युह. ६:१५; १५:१९; याकु. १:२७.
(९) युद्धमा भाग लिएको हुनु हुँदैन।—यसै. २:४.
(१०) यहोवाको साक्षी बन्न मनैदेखि इच्छुक हुनुपर्छ।—भज. ११०:३.
९ माथिका कुनै-कुनै बुँदामा विद्यार्थीको विचारधारा राम्ररी बुझ्न सकिएन भने एल्डरहरूले प्रश्न सोध्दै र बुँदासँगै दिइएका बाइबल पदहरू चलाउँदै छलफल गर्न सक्छन्। यहोवाका साक्षीहरूसित प्रचारकार्यमा भाग लिन बाइबलमा बताइएका यी आवश्यकताहरू पूरा गर्नुपर्छ भनेर विद्यार्थीले बुझेको हुनुपर्छ। तिनले यो कुरा बुझेका छन् कि छैनन् अनि प्रचारमा भाग लिन थाल्न तिनले हासिल गरेको योग्यता सन्तोषजनक छ कि छैन भन्ने कुरा एल्डरहरूले तिनको जवाफबाट थाह पाउन सक्छन्।
१० तिनी प्रकाशक हुन योग्य छन् कि छैनन् भनेर एल्डरहरूले तिनलाई सक्दो चाँडो बताउनुपर्छ। सम्भव भएसम्म छलफलको अन्तमै बताउनु बेस हो। तिनी योग्य छन् भने एल्डरहरूले तिनलाई प्रकाशकको रूपमा न्यानो स्वागत गर्नेछन्। (रोमी १५:७) तिनलाई जतिसक्दो चाँडो प्रचारकार्यमा भाग लिन र महिनाको अन्तमा त्यसको रिपोर्ट बुझाउन एल्डरहरूले प्रोत्साहन दिनुपर्छ। जब बाइबल विद्यार्थी बप्तिस्मा नगरेका प्रकाशक हुन योग्य हुन्छन् र तिनले पहिलो चोटि क्षेत्र सेवाको रिपोर्ट बुझाउँछन्, तब तिनको नाममा मण्डलीको प्रकाशकको रेकर्ड बनाएर मण्डलीको फाइलमा राखिन्छ भनी एल्डरहरूले तिनलाई बताउन सक्छन्। एल्डरहरूले प्रकाशकबाट यो व्यक्तिगत जानकारी सङ्कलन गर्नुको उद्देश्य सङ्गठनले यहोवाका साक्षीहरूको विश्वव्यापी धार्मिक गतिविधिको निरीक्षण गर्न सकोस् अनि प्रकाशकले आध्यात्मिक गतिविधिहरूमा भाग लिन सकून् र आध्यात्मिक मदत पाउन सकून् भनेर हो। साथै कुनै पनि व्यक्तिगत जानकारी jw.org/ne मा भएको ‘जानकारी सुरक्षित राख्नेबारे यहोवाका साक्षीहरूको विश्वव्यापी नीति’-अनुसारै प्रयोग गरिन्छ भनेर पनि एल्डरहरूले नयाँ प्रकाशकहरूलाई बताउन सक्छन्।
११ नयाँ प्रकाशकसित राम्ररी चिनजान गऱ्यौँ र तिनले गरेको उन्नतिमा चासो देखायौँ भने तिनले प्रोत्साहन पाउनेछन्। तिनले प्रत्येक महिना क्षेत्र सेवाको रिपोर्ट बुझाउन र यहोवाको सेवामा अझ जोडतोडले भाग लिन हौसला पाउनेछन्।—फिलि. २:४; हिब्रू १३:२.
१२ विद्यार्थी क्षेत्र सेवामा भाग लिन योग्य छन् भन्ने निष्कर्षमा एल्डरहरू पुगेपछि तिनले यहोवाको इच्छाबमोजिम गर्न सङ्गठित किताब पाउन सक्छन्। तिनले पहिलो चोटि क्षेत्र सेवाको रिपोर्ट बुझाएपछि तिनी बप्तिस्मा नगरेका प्रकाशक बनेका छन् भनेर मण्डलीमा छोटो घोषणा गर्नुपर्छ।
हुर्कँदै गरेका केटाकेटीलाई मदत गर्ने
१३ स-साना केटाकेटी पनि सुसमाचारका प्रचारक हुन सक्छन्। येसुले स-साना केटाकेटीलाई आफूकहाँ बोलाउनुभयो र आशिष् दिनुभयो। (मत्ति १९:१३-१५; २१:१५, १६) छोराछोरीलाई प्रचारमा लैजाने जिम्मेवारी मुख्यतः आमाबुबाको हो। तर मण्डलीका अरूले पनि प्रचारमा जान चाहने स-साना केटाकेटीलाई मदत गर्न सक्छन्। तपाईँ आमा वा बुबा हुनुहुन्छ भने प्रचारको काममा राम्रो उदाहरण बसाल्नुहोस्। यसो गर्दा तपाईँको छोराछोरीले परमेश्वरको सेवामा जोसिलो हुन प्रोत्साहन पाउनेछन्। तपाईँको छोरा वा छोरीको आचरण राम्रो छ र तिनी अरूलाई आफ्नो विश्वासबारे बताउन मनदेखि नै इच्छुक छन् भने तिनलाई कसरी थप मदत गर्न सक्नुहुन्छ?
१४ आफ्नो छोरा वा छोरी प्रकाशक बन्न योग्य छन् कि छैनन् भनेर छलफल गर्न आमाबुबाले मण्डलीको सेवा समितिका एक जना एल्डरसित भेट्न सक्छन्। त्यसपछि एल्डरहरूको निकायको संयोजकले छलफलको लागि दुई जना एल्डरलाई खटाउनेछन्। ती एल्डरहरूमध्ये एक जना सेवा समितिको सदस्य हुनुपर्छ। तिनीहरूले उक्त छोरा वा छोरीको विश्वासमा भएका बुबाआमा दुवैलाई वा उनीहरूमध्ये एक जनालाई अथवा तिनको अभिभावकलाई छलफलमा राख्नेछन्। तिनलाई बाइबलको आधारभूत शिक्षा थाह छ र तिनी प्रचारकार्यमा भाग लिन साँच्चै इच्छुक छन् भनेर देखिन्छ भने यो तिनले उन्नति गर्दै छन् भन्ने कुराको प्रमाण हो। यी कुराहरू र वयस्कहरूलाई पनि लागू हुने अन्य कुराहरू छलफल गरिसकेपछि ती दुई एल्डरले तिनी प्रकाशक बन्न योग्य छन् कि छैनन् भनेर निर्णय गर्छन्। (लुका ६:४५; रोमी १०:१०) साना केटाकेटीसित छलफल गर्दा साधारणतया वयस्कहरूसित छलफल गरिने र केटाकेटीलाई लागू नहुने विषय छलफल गर्नु आवश्यक छैन।
१५ छलफलको बेला एल्डरहरूले तिनले आध्यात्मिक उन्नति गर्न चालेका कदमहरूको प्रशंसा गर्नुपर्छ र बप्तिस्मा गर्ने लक्ष्य राख्न प्रोत्साहन दिनुपर्छ। छोराछोरीको मनमा बाइबलको शिक्षा ठप्प बसाल्न आमाबुबाले पनि पक्कै धेरै मेहनत गरेका छन्। त्यसैले तिनीहरूले गरेको मेहनतको पनि प्रशंसा गर्नुपर्छ। छोराछोरीलाई अझै मदत गर्न सकून् भनेर एल्डरहरूले आमाबुबालाई पृष्ठ १७९-१८१ मा भएको “ख्रिष्टियन आमाबुबालाई सन्देश”-मा लेखिएको कुरा विचार गर्न आग्रह गर्न सक्छन्।
समर्पण र बप्तिस्मा
१६ तपाईँ यहोवाको स्तरअनुरूप जीवन बिताउँदै हुनुहुन्छ र प्रचारमा भाग लिँदै हुनुहुन्छ भने तपाईँले उहाँलाई चिन्नुभएको छ र उहाँप्रतिको तपाईँको प्रेम पनि बढ्दै छ। अब तपाईँले के गर्नुपर्छ? यहोवासितको आफ्नो सम्बन्धलाई अझै बलियो बनाउनुहोस्। कसरी? प्रार्थनामार्फत आफ्नो जीवन उहाँलाई समर्पण गरेर अनि त्यस समर्पणलाई अरूसामु प्रकट गर्न बप्तिस्मा गरेर।—मत्ति २८:१९, २०.
१७ समर्पणको अर्थ कुनै कुरालाई पवित्र उद्देश्यको लागि अलग्गै छुट्ट्याउनु हो। परमेश्वरलाई आफ्नो जीवन समर्पण गर्नु भनेको अबदेखि आफ्नो जीवन परमेश्वरको सेवामा बिताउनेछु र उहाँले चाहनुभएअनुसार गर्नेछु भनेर प्रार्थनामा उहाँसित गम्भीर वाचा गर्नु हो। यसको मतलब उहाँलाई मात्र सेवा चढाउनु हो। (व्यव. ५:९) समर्पण भनेको नितान्त व्यक्तिगत निर्णय हो। तपाईँको लागि अरू कसैले यो निर्णय गरिदिन सक्दैन।
१८ तर यहोवालाई प्रार्थनामा आफ्नो जीवन समर्पण गरेर मात्र पुग्दैन। आफ्नो जीवन परमेश्वरलाई समर्पण गरेको कुरा तपाईँले अरूसामु पनि प्रकट गर्नुपर्छ। कसरी? येसुले जस्तै पानीमा बप्तिस्मा गरेर। (१ पत्रु. २:२१; ३:२१) तपाईँले यहोवाको सेवा गर्ने अठोट गर्नुभएको छ र बप्तिस्मा गर्न चाहनुहुन्छ भने के गर्नुपर्छ? यसबारे एल्डरहरूको निकायको संयोजकसित कुरा गर्नुहोस्। तिनले तपाईँसित छलफल गर्न केही एल्डरलाई खटाउनेछन्। बप्तिस्माको लागि परमेश्वरले तोक्नुभएका आवश्यकताहरू तपाईँले पूरा गर्नुभएको छ कि छैन भनेर तिनीहरूले पक्का गर्नेछन्। यस विषयमा थप जानकारीको लागि यस किताबको पृष्ठ १८२-१८४ मा भएको “बप्तिस्मा नगरेका प्रकाशकलाई सन्देश” र पृष्ठ १८५-२०७ मा भएको “बप्तिस्मा गर्न चाहनेहरूका लागि प्रश्नहरू” हेर्नुहोस्।
प्रचारकार्यमा भएको प्रगतिबारे रिपोर्ट
१९ संसारभरि हरेक वर्ष शुद्ध उपासनामा भइरहेको वृद्धिको रिपोर्ट सुनेर हामी सबै प्रोत्साहित हुन्छौँ। सारा संसारमा राज्यको सुसमाचार प्रचार गरिनेछ भनेर येसुले आफ्ना चेलाहरूलाई बताउनुभएको समयदेखि नै साँचो ख्रिष्टियनहरू यो भविष्यवाणी कसरी पूरा हुनेछ भनेर जान्न एकदमै उत्सुक भएका छन्।—मत्ति २८:१९, २०; मर्कु. १३:१०; प्रेषि. १:८.
२० प्रथम शताब्दीका ख्रिष्टियनहरू प्रचारको काममा कस्तो प्रगति भइरहेको छ भनेर सुन्न मन पराउँथे। (मर्कु. ६:३०) प्रेषितको किताबअनुसार इस्वी संवत् ३३ पेन्तिकोसको दिन चेलाहरूमाथि पवित्र शक्ति खन्याइँदा त्यहाँ १२० जना थिए। त्यसको लगत्तै चेलाहरूको सङ्ख्या बढेर झन्डै ३ हजार र पछि लगभग ५ हजार पुग्यो। “उद्धार पाउनेहरूलाई यहोवा परमेश्वरले दिनहुँ तिनीहरूको सङ्ख्यामा थप्दै जानुभयो” र “पुजारीहरूको ठूलो जमातले पनि विश्वास गर्न थाल्यो” भन्ने रिपोर्ट प्राप्त भयो। (प्रेषि. १:१५; २:५-११, ४१, ४७; ४:४; ६:७) यस्तो रिपोर्ट सुन्न पाउँदा त्यतिखेरका ख्रिष्टियनहरू पक्कै प्रोत्साहित भए। यस्तो उत्साहजनक रिपोर्टले गर्दा उनीहरू यहुदी धर्मगुरुहरूको घोर विरोधको बाबजुद यहोवाले दिनुभएको काम पूरा गर्न जुरमुरिए।
२१ इस्वी संवत् ६०-६१ तिर कलस्सीहरूलाई लेखेको पत्रमा प्रेषित पावलले सुसमाचार “सारा संसारभरि फैलनुका साथै त्यसले फल पनि फलाइरहेको छ” र “आकाशमुनि भएका सबै मानिसमाझ प्रचार भयो” भन्ने रिपोर्ट दिए। (कल. १:५, ६, २३) प्रथम शताब्दीका ख्रिष्टियनहरू परमेश्वरको वचन पालन गर्थे अनि पवित्र शक्तिको मदत पाएर इस्वी संवत् ७० मा यरुसलेमको विनाश हुनुअघि तिनीहरूले व्यापक रूपमा प्रचार गरे। प्रचारकार्यको यस्तो रिपोर्ट सुन्न पाउँदा ती वफादार ख्रिष्टियनहरूले कत्ति प्रोत्साहन पाए होलान्!
के तपाईँ अन्त आउनुअघि नै प्रचारको काम पूरा गर्न आफ्नो तर्फबाट सक्दो गर्न इच्छुक हुनुहुन्छ?
२२ मत्ति २४:१४ मा गरिएको यो भविष्यवाणी आज पूरा हुँदै छ: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।” प्रथम शताब्दीमा जस्तै आज पनि यहोवाको सङ्गठनले संसारभरि भइरहेको प्रचारकार्यको रेकर्ड राख्दै छ। परमेश्वरका समर्पित सेवकको रूपमा हामीलाई सुम्पिइएको काम अत्यन्तै जरुरी छ। त्यसैले अन्त आउनुअघि नै प्रचारको काममा हामीले आफ्नोतर्फबाट सक्दो गर्नुपर्छ। यहोवाले यो काम पूरा गरेरै छोड्नुहुनेछ। यो काममा भाग लियौँ भने हामीले उहाँको अनुमोदन पाउनेछौँ।—इज. ३:१८-२१.
क्षेत्र सेवा रिपोर्ट
२३ हामीले के-केको रिपोर्ट दिनुपर्छ? यसबारे सङ्गठनले तयार पारेको क्षेत्र सेवा रिपोर्ट फाराममा लेखिएको हुन्छ। साथै रिपोर्ट फाराममा के-के लेख्नुपर्छ भनेर बुझ्न तल दिइएको जानकारी मदतकारी हुन सक्छ।
२४ क्षेत्र सेवा रिपोर्ट-मा “साहित्य (छापिएको वा इलेक्ट्रोनिक)” भनेर लेखिएको ठाउँमा तपाईँले बप्तिस्मा नगरेका मानिसहरूलाई छापिएको वा इलेक्ट्रोनिक फर्म्याटमा कति वटा प्रकाशनहरू दिनुभयो, त्यसको जम्मा सङ्ख्या लेख्नुपर्छ। “कति पटक भिडियो देखाएको” भन्ने ठाउँमा हाम्रो सङ्गठनले तयार पारेको भिडियो कति पटक देखाउनुभयो, त्यसको सङ्ख्या लेख्नुपर्छ।
२५ त्यसैगरि “पुनःभेट” भनेर लेखिएको ठाउँमा बप्तिस्मा नगरेका ज-जसलाई फेरि भेटेर चासो बढाउने कोसिस गर्नुहुन्छ, तिनीहरू सबैलाई कति चोटि भेट्नुभयो, त्यसको जम्मा सङ्ख्या लेख्नुपर्छ। कसैलाई घरैमा भेटेर कुरा गर्दा, चिठी पठाउँदा, टेलिफोन, मेसेज वा इमेल गर्दा वा कुनै प्रकाशन दिन जाँदा त्यसलाई पुनःभेट मान्न सकिन्छ। साथै तपाईँ जति पटक बाइबल अध्ययन गराउनुहुन्छ, त्यसलाई त्यति नै पटक पुनःभेटको रूपमा लेख्न सकिन्छ। बुबा वा आमामध्ये एक जनाले बप्तिस्मा नगरेका छोराछोरीसित पारिवारिक उपासना सञ्चालन गर्दा त्यसलाई पुनःभेटको रूपमा लेख्न सक्छन्। तर बढीमा हप्ताको एउटा पुनःभेटको हिसाबले मात्र रिपोर्ट दिन सकिन्छ।
२६ साधारणतया हामी हरेक हप्ता बाइबल अध्ययन गराउँछौँ तर महिनाको अन्तमा रिपोर्ट बुझाउँदा त्यसलाई एउटा अध्ययनको रूपमा मात्र गन्नुपर्छ। प्रकाशकले महिनाभर सञ्चालन गरेको बेग्लाबेग्लै बाइबल अध्ययनको सङ्ख्या लेख्नुपर्छ। यसमा बप्तिस्मा नगरेका व्यक्तिहरूसित गरिएको बाइबल अध्ययनको रिपोर्ट लेख्नुपर्छ। साथै सेवा समितिले तपाईँलाई कुनै निष्क्रिय भाइ वा बहिनीसित अध्ययन गर्न खटाएको छ भने त्यसको रिपोर्ट पनि दिन सकिन्छ। भर्खरै बप्तिस्मा गरेका तर सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! किताबबाट अध्ययन गर्न सिध्याई नसकेका प्रकाशकसित गरिएको अध्ययनको रिपोर्ट पनि दिन सकिन्छ।
२७ “घण्टा” भनेर लेखिएको ठाउँमा क्षेत्र सेवामा जति घण्टा बिताएका छौँ, त्यति नै लेख्नुपर्छ। यसमा घरघरको प्रचारकार्य र पुनःभेट गरेको समय, बाइबल अध्ययन गराएको समय अनि औपचारिक वा अनौपचारिक साक्षी दिन बिताएको समय लेख्नुपर्छ। दुई जना प्रकाशक सँगै प्रचारमा गएका छन् भने दुवैले प्रचारमा बिताएको समयको रिपोर्ट दिन सक्छन्। तर कुनै पुनःभेटमा जाँदा वा कुनै बाइबल अध्ययन सञ्चालन गर्दा त्यसको सङ्ख्या भने एक जनाले मात्र लेख्न पाउँछन्। पारिवारिक उपासनामा छोराछोरीलाई सिकाउने काममा आमाबुबा दुवैले भाग लिएका छन् भने तिनीहरूले त्यो समय रिपोर्टमा लेख्न सक्छन्। तर हप्ताको एक घण्टाभन्दा धेरै समय रिपोर्ट दिन पाइँदैन। भाइहरूले जनभाषण दिएको समय पनि रिपोर्टमा लेख्न सक्छन्। साथै जनभाषणको अनुवाद गर्ने भाइ वा बहिनीले पनि समयको रिपोर्ट दिन सक्छन्। तर प्रचारको लागि तयारी गरेको, क्षेत्र सेवा सभामा उपस्थित भएको र प्रचारको दौडान निजी कामकुरा गरेको जस्ता कुराहरूको समयको भने रिपोर्ट दिन पाइँदैन।
२८ हरेक प्रकाशकले कति समय रिपोर्ट दिने भन्ने कुरा प्रार्थनापूर्वक बाइबल प्रशिक्षित अन्तस्करण चलाउँदै निर्णय गर्नुपर्छ। केही प्रकाशक बाक्लो बस्तीमा प्रचार गर्छन् भने अरू कतिपय चाहिँ पातलो बस्तीमा प्रचार गर्छन्, जहाँ धेरै समय हिँड्नुपर्ने हुन सक्छ। त्यसैले इलाकाअनुसार अनि प्रकाशकपिच्छे समय रिपोर्ट दिने कुरा फरक-फरक हुन सक्छ। कति समय रिपोर्ट दिने भन्ने सन्दर्भमा परिचालक निकायले आफ्नो विचार मण्डलीहरूमाथि लादेको छैन, न त यस विषयमा अरूको न्याय गर्न कसैलाई अधिकार नै दिएको छ।—मत्ति ६:१; ७:१; १ तिमो. १:५.
२९ रिपोर्ट फाराममा प्रचारमा बिताएको घण्टा लेख्नुपर्छ, मिनेट वा सेकेन्ड लेख्नु पर्दैन। तर वृद्धावस्था, रोगबिमार वा अन्य कारणले गर्दा घरबाट बाहिर जान नसक्ने वा नर्सिङ होममा बसेका प्रकाशकहरूलाई यो कुरा लागू हुँदैन। यस्ता प्रकाशकहरूले १५/१५ मिनेटको हिसाबले रिपोर्ट दिन सक्छन्। जस्तै, तिनीहरूले १५, ३० वा ४५ मिनेटको रिपोर्ट बुझाउन सक्छन्। तिनीहरूले महिनाभरिमा १५ मिनेट मात्रै साक्षी दिएका छन् भने पनि रिपोर्ट दिन सक्छन्। तिनीहरूलाई सक्रिय प्रकाशकको रूपमा गनिन्छ। गम्भीर रोगबिमार वा चोटपटक लागेकोले केही समयको लागि बाहिर जान नसक्ने अवस्थामा रहेका अरू प्रकाशकहरूले पनि यसै प्रबन्धअनुसार रिपोर्ट बुझाउन सक्छन्। यस्तो प्रबन्ध अशक्त दाजुभाइ दिदीबहिनीको लागि मात्र हो। यो प्रबन्ध कसलाई लागू हुन्छ भनेर सेवा समितिले निर्णय गर्छ।
मण्डलीको प्रकाशकको रेकर्ड
३० तपाईँले हरेक महिना दिने रिपोर्ट मण्डलीको प्रकाशकको रेकर्ड-मा लेखिन्छ। ती रेकर्डहरू स्थानीय मण्डलीका हुन्। तपाईँ अर्कै मण्डलीमा सर्न लाग्नुभएको छ भने यसबारे आफ्नो मण्डलीका एल्डरहरूलाई खबर गर्न नबिर्सनुहोस्। मण्डलीका सचिवले तपाईँको रेकर्ड नयाँ मण्डलीमा पठाउनेछन्। यसले गर्दा नयाँ मण्डलीका एल्डरहरूले तपाईँलाई स्वागत गर्न अनि आवश्यक आध्यात्मिक मदत दिन सक्नेछन्। यदि तपाईँ तीन महिना वा सोभन्दा कम समयका लागि मात्र अन्त कतै जाँदै हुनुहुन्छ भने क्षेत्र सेवाको रिपोर्ट आफ्नै मण्डलीमा पठाउनुहोस्।
हामीले किन क्षेत्र सेवाको रिपोर्ट दिनुपर्छ?
३१ तपाईँ कहिलेकाहीँ क्षेत्र सेवाको रिपोर्ट दिन बिर्सनुहुन्छ कि? हामी सबैलाई रिपोर्ट दिन बेलाबेलामा सम्झाइरहनुपर्छ। तर क्षेत्र सेवाको रिपोर्ट दिने प्रबन्धप्रति सही दृष्टिकोण राख्यौँ र यसो गर्नु किन महत्त्वपूर्ण छ भनेर राम्ररी बुझ्यौँ भने नबिर्सीकन रिपोर्ट दिन सजिलो हुनेछ।
३२ कसै-कसैले यस्तो प्रश्न गरेका छन्: “मैले कति प्रचार गरेँ भनेर यहोवालाई थाह छँदै छ नि, किन रिपोर्ट बुझाउनुपऱ्यो र?” हो, हामी यहोवाको सेवामा के-कति गर्दै छौँ भनेर उहाँलाई थाह छ। साथै तनमनले सेवा गर्दै छौँ कि झारा टार्ने मात्रै गर्दै छौँ, त्यो पनि उहाँलाई थाह छ। तर नबिर्सनुहोस्, नुहले जहाजभित्र कति दिन बिताए र इस्राएलीहरू उजाडस्थानमा कति वर्षसम्म भौँतारिए, यहोवाले त्यसको रेकर्ड राख्नुभयो। आफूप्रति कति जना वफादार रहे अनि कति जनाले आफ्नो आज्ञा मानेनन्, त्यसको पनि रेकर्ड राख्नुभयो। कनान देशलाई कसरी एकपछि अर्को गर्दै कब्जा गरियो अनि इस्राएलका वफादार न्यायकर्ताहरूले के-के गरे, ती सबैको रेकर्ड पनि राख्नुभयो। हो, यहोवाले आफ्ना सेवकहरूले गरेका थुप्रै कामको रेकर्ड राख्नुभयो। उहाँले विभिन्न घटनाको रेकर्ड लेख्न प्रेरणा दिनुभएको कुराबाट उहाँ सही रेकर्ड राख्नुलाई महत्त्वपूर्ण ठान्नुहुन्छ भनेर स्पष्ट हुन्छ।
३३ बाइबलमा लेखिएका ऐतिहासिक घटनाहरूले यहोवाका जनहरू हरेक जानकारी दुरुस्त राख्थे भनेर देखाउँछ। बाइबलमा उल्लेख गरिएका धेरैजसो विवरणमा सङ्ख्याको सही रेकर्ड नराखिएको भए हामीले ती विवरणहरूको महत्त्व राम्ररी बुझ्न सक्ने थिएनौँ। उदाहरणको लागि यी पदहरू विचार गर्नुहोस्: उत्पत्ति ४६:२७; प्रस्थान १२:३७; न्यायकर्ता ७:७; २ राजा १९:३५; २ इतिहास १४:९-१३; युहन्ना ६:१०; २१:११; प्रेषित २:४१; १९:१९.
३४ हुनत क्षेत्र सेवा रिपोर्टमा हामीले यहोवाको उपासनामा गरेका सबै कामको विवरण समावेश हुँदैन। तर हामीले दिएको रिपोर्ट यहोवाको सङ्गठनको लागि उपयोगी हुन्छ। प्रचार गरेर फर्केका प्रेषितहरूले येसुलाई “आफूले गरेका सबै काम र आफूले सिकाएका सबै कुराको विषयमा” रिपोर्ट दिएका थिए। (मर्कु. ६:३०) हामीले दिएको रिपोर्टले प्रचारकार्यको कुन पक्षमा विशेष ध्यान दिनुपर्छ भनेर देखाउँछ। प्रचारकार्यको कुनै-कुनै पक्षमा प्रगति भइरहेको भए तापनि प्रकाशकहरूको सङ्ख्या वा अरू कुनै पक्षमा भने प्रगति नभएको कुरा रिपोर्टले देखाउन सक्छ। कतै प्रकाशकहरूलाई प्रोत्साहनको खाँचो छ कि? अथवा कुनै समस्या समाधान गर्नुपर्ने छ कि? यस्तो कुरा रिपोर्टबाट देखिन्छ। निरीक्षकहरू हामीले दिने रिपोर्ट केलाउँछन् र त्यसैको आधारमा कुनै प्रकाशक वा पूरै मण्डलीको उन्नतिमा कुनै कुराले बाधा पुऱ्याइरहेको छ भने त्यसलाई सुधार्ने प्रयास गर्छन्।
३५ हामीले दिने रिपोर्टबाट सङ्गठनले कुन ठाउँमा अझ धेरै प्रचारकको आवश्यकता छ भनेर पनि थाह पाउँछ। कुन-कुन इलाका फलदायी छ? कुन इलाकामा प्रगति भइरहेको छैन? मानिसहरूलाई सत्य सिकाउन कस्तो प्रकाशन चाहिएको छ? हामीले दिने रिपोर्टको आधारमा सङ्गठनले संसारको विभिन्न ठाउँको लागि कस्ता प्रकाशनहरूको आवश्यकता छ भनेर थाह पाउँछ र ती आवश्यकताहरूलाई विचार गर्दै प्रकाशनहरू तयार पार्छ।
३६ रिपोर्टबाट हामी प्रोत्साहन पनि पाउँछौँ। संसारभरि हाम्रा दाजुभाइ दिदीबहिनीले प्रचारकार्यमा कत्ति मेहनत गर्दै छन् भनेर सुन्न पाउँदा के हामीलाई खुसी लाग्दैन र? वृद्धिका रिपोर्टहरूले यहोवाको सङ्गठन कत्ति अघि बढ्दै छ भनेर बुझ्न मदत गर्छ। विभिन्न प्रकाशकको अनुभव सुन्दा हामीलाई खुसी लाग्छ अनि अझ जोसिलो भई प्रचार गर्न बल पाउँछौँ। (प्रेषि. १५:३) हामीले क्षेत्र सेवाको रिपोर्ट दिनु महत्त्वपूर्ण छ। यसो गर्दा हामी संसारभरिका ख्रिष्टियन दाजुभाइ दिदीबहिनीमा चासो देखाउँछौँ भनेर प्रस्ट हुन्छ। यस्तो सानोजस्तो देखिने कुरामा ध्यान दिएर हामी यहोवाको सङ्गठनको प्रबन्धअनुरूप चलिरहेका छौँ भनेर देखाउँछौँ।—लुका १६:१०; हिब्रू १३:१७.
व्यक्तिगत लक्ष्य राख्नुहोस्
३७ प्रचारकार्यमा आफूले गरिरहेको कुरा अरूसित तुलना गर्नु हुँदैन। (गला. ५:२६; ६:४) सबैको परिस्थिति फरक-फरक छ। तर सेवाको काममा आफूले कत्तिको प्रगति गरिरहेको छु भनेर जाँच्न व्यावहारिक लक्ष्यहरू राख्दा हामी लाभ उठाउन सक्छौँ। यसरी आफूले राखेको लक्ष्य हासिल गर्दा हामी सन्तुष्ट महसुस गर्छौँ।
३८ “महासङ्कष्ट”-बाट बच्न योग्य मानिसहरूलाई यहोवा जम्मा गर्दै हुनुहुन्छ र अहिले यो काम द्रुत गतिले अघि बढिरहेको छ भन्ने कुरा स्पष्ट छ। यसैयाको यो भविष्यवाणी पूरा भएको हामीले देखिरहेका छौँ: “थोरैचाहिँ हजार हुनेछ अनि सानोचाहिँ शक्तिशाली जाति हुनेछ। म यहोवाले नै ठीक समयमा त्यसको वृद्धि गर्नेछु।” (प्रका. ७:९, १४; यसै. ६०:२२) अन्तको दिनको यस निर्णायक घडीमा सुसमाचारको प्रचारक हुन पाउनु हाम्रो लागि ठूलो सुअवसर हो!—मत्ति २४:१४.