प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 १/१५ pp. २१-२३
  • “एउटाले अर्कोलाई . . . अतिथि सेवा गर”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “एउटाले अर्कोलाई . . . अतिथि सेवा गर”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “आज मलाई तिम्रो घरमा बस्नुपरेको छ”
  • “अतिथि-सत्कार कायम राख”
  • अतिथि-सत्कार गर्दा पाइने आशिष्‌हरू
  • अतिथि-सत्कार गर्नु—रमाइलो अनि अत्यावश्‍यक!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • “अतिथि-सत्कार कायम राख”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • विभाजित संसारमा मसीही अतिथि सत्कार
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • अतिथिसत्कार गरेर ‘असल थोकहरू’ बाँडचुँड गर्नुहोस्‌ (मत्ती १२:३५क)
    हाम्रो राज्य सेवा—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 १/१५ pp. २१-२३

“एउटाले अर्कोलाई . . . अतिथि सेवा गर”

फिबी नाउँ गरेकी प्रथम शताब्दीकी मसीही एउटा समस्यामा परिन्‌। उनी युनानको सिनक्रिया भन्‍ने ठाउँबाट रोमसम्म यात्रा गरिरहेकी थिइन्‌ तर उनले त्यस सहरमा कोही पनि सँगी विश्‍वासीहरूलाई चिनेकी थिइनन्‌। (रोमी १६:१, २) बाइबल अनुवादक एड्‌गार गुडस्पीडका अनुसार “[त्यतिबेलाको] रोमी संसार खराब र क्रूर थियो अनि त्यहाँका धर्मशालाहरू भद्र र अझ विशेष गरी मसीही स्त्रीहरूको लागि त पटक्कै उपयुक्‍त थिएन।” त्यसोभए फिबी कहाँ बास बसिन्‌ त?

बाइबल समयमा मानिसहरू धेरै यात्रा गर्थे। येशू ख्रीष्ट र उहाँका चेलाहरूले यात्रा गर्नुको कारण यहूदिया र गालीलभरि सुसमाचार प्रचार गर्नु थियो। त्यसको केही समयपछि पावलजस्ता मसीही मिसनरीहरू रोमी साम्राज्यको राजधानी रोमलगायत भूमध्यसागरका छेउछाउका विभिन्‍न इलाकामा राज्यसन्देश सुनाउन यात्रा गरिरहेका थिए। प्रथम शताब्दीका मसीहीहरू यात्रा गर्दा, चाहे त्यो यहूदी इलाकाभित्र होस्‌ या बाहिर, तिनीहरू कहाँ बास बस्थे? बास खोज्दा तिनीहरूले कस्ता चुनौतीहरूको सामना गर्नुपर्थ्यो? आतिथ्य देखाउने सन्दर्भमा हामी तिनीहरूबाट के सिक्न सक्छौं?

“आज मलाई तिम्रो घरमा बस्नुपरेको छ”

अतिथि-सत्कार भनेको “पाहुनालाई उदार र सौहार्दतासाथ सत्कार गर्नु” हो भनी परिभाषित गरिएको छ र लामो समयदेखि यहोवाका साँचो उपासकहरूको यो एउटा चिनारी भएको छ। उदाहरणका लागि अब्राहाम, लूत र रिबेकाले अतिथि-सत्कार देखाए। (उत्पत्ति १८:१-८; १९:१-३; २४:१७-२०) अपरिचित व्यक्‍तिहरूप्रति आफ्नो मनोभाव याद गर्दै कुलपिता अय्यूबले यस्तो उल्लेख गरे: “मैले यात्रीहरूलाई मेरो घरमा स्वागत गरें, र तिनीहरूलाई राती सडकहरूमा सुत्नदिइनँ।”—अय्यूब ३१:३२.

आफ्ना सँगी इस्राएलीहरूबाट राम्रो सत्कार पाउन यात्रुहरू चोकमा बसेर निमन्त्रणाको लागि कुरे पुग्थ्यो। (न्यायकर्त्ता १९:१५-२१) घरधनीले अक्सर पाहुनाको खुट्टा धोइदिन्थे र पाहुनाहरूलाई खाना दिनुका साथै वस्तुभाउको लागि दानापानी पनि दिन्थे। (उत्पत्ति १८:४, ५; १९:२; २४:३२, ३३) अतिथि बोलाउने व्यक्‍तिको लागि बोझ हुन नचाहने यात्रुहरूले आफूलाई चाहिने कुराहरू जस्तै रोटी, दाखमद्य र गधाको लागि पराल तथा दाना आफूसँगै लिएर जान्थे। तिनीहरूलाई रात काट्‌न बास मात्र भए पुग्थ्यो।

येशूले आफ्नो प्रचार यात्राको दौडान बास कसरी भेट्टाउनुहुन्थ्यो भन्‍ने सन्दर्भमा बाइबलले खासै केही नबताएको भए तापनि उहाँहरू कुनै न कुनै ठाउँमा त सुत्नुपर्थ्यो। (लूका ९:५८) यरीहो जानुहुँदा येशूले जक्कैलाई सीधै यसो भन्‍नुभयो: “आज मलाई तिम्रो घरमा बस्नुपरेको छ।” जक्कैले “खुशीको साथ” आफ्नो पाहुनाको सत्कार गरे। (लूका १९:५, ६) येशू अक्सर बेथानीमा आफ्ना मित्रहरू मार्था, मरियम अनि लाजरसकहाँ बस्नुहुन्थ्यो। (लूका १०:३८; यूहन्‍ना ११:१, ५, १८) अनि कफर्नहुममा येशू शिमोन पत्रुससँग बस्नुभए जस्तो देखिन्छ।—मर्कूस १:२१, २९-३५.

येशूले आफ्ना १२ जना प्रेरितलाई सेवकाईसम्बन्धी दिनुभएको निर्देशनबाट तिनीहरूले इस्राएलमा कस्तो प्रकारको स्वागतको आशा गर्न सक्थे भन्‍नेबारे धेरै कुरा थाह पाउन सकिन्छ। येशूले तिनीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूका पटुकामा सुन, चाँदी, र तामा नलेओ। नता सफरको निम्ति झोली, न दुईवटा दौरा, न जुत्ता, न लौरो। किनभने खेताला आफ्नो भोजनको योग्य हुन्छ। औ जुन शहर कि गाउँमा तिमीहरू पसौला, त्यसमा ‘को योग्य छ?’ भनी सोधपूछ गर। र जबसम्म तिमीहरू त्यहाँबाट निस्कँदनौ त्यसकहाँ बस।” (मत्ती १०:९-११) निष्कपट हृदय भएका व्यक्‍तिहरूले उहाँका चेलाहरूलाई स्वागत गर्नेछन्‌ र तिनीहरूलाई गाँस, बास र अन्य आवश्‍यकताहरू पूरा गरिदिनेछन्‌ भनी येशूलाई थाह थियो।

तथापि, यात्रामा हिंडिरहनुपर्ने सुसमाचारकहरूले आफ्नो व्यवस्था आफै मिलाउनुका साथै खर्च जुटाउनुपर्ने समय पनि नजिक आइरहेको थियो। आफ्ना अनुयायीहरूले भविष्यमा सामना गर्नुपर्ने वैमनस्यता र इस्राएलको इलाकाभन्दा बाहिर प्रचारकार्यको विस्तारलाई मनमा राख्दै येशूले यस्तो भन्‍नुभयो: “अब जसको थैली छ, त्यसले त्यो लेओस्‌, त्यसैगरी झोला पनि” बोकोस्‌। (लूका २२:३६) सुसमाचार फैलाउनको लागि यात्रा र बास अपरिहार्य हुने थियो।

“अतिथि-सत्कार कायम राख”

रोमी साम्राज्यभरि नै अलि शान्तमय वातावरण र पक्की बाटोको सुविधाका कारण प्रथम शताब्दीमा मानिसहरूको आवतजावत निकै बढेको थियो।a यात्रुहरूको संख्या बढेको हुँदा आवासको माग पनि त्यति नै बढ्यो। यो माग पूरा गर्न मुख्य राजमार्गको छेउछाउ एक दिनको यात्रा पूरा भएपछि बास बस्नको लागि धर्मशालाहरू खुल्न थाले। तथापि, द बूक अफ एक्ट्‌स इन इट्‌स ग्रेको-रोमन सेटिङ भन्‍ने पुस्तक यस्तो उल्लेख गर्छ: “त्यस्ता ठाउँहरूबारे साहित्यहरूमा जे-जति चित्रण गरिएका छन्‌ त्यसबाट ती ठाउँहरू कस्तो नराम्रो अवस्थामा थिए भनी स्पष्ट हुन्छ। प्राप्त साहित्य तथा पुरातात्त्विक स्रोतहरू अनुसार साधारणतया त्यस्ता ठाउँहरू जीर्ण र फोहोर, सामानहरू केही नभएको, ओछ्यानहरूमा उडुसै-उडुस, कमसल खानपिन, विश्‍वास गर्न नसकिने मालिक तथा कामदार, शङ्‌कास्पद ग्राहकहरू र साधारणतया छाडा नैतिकता थियो।” नैतिक तवरमा इमानदार व्यक्‍तिहरू सकेसम्म त्यस्ता ठाउँहरूमा बस्न चाहँदैनथे।

त्यसकारण धर्मशास्त्रले मसीहीहरूलाई बारम्बार अतिथि-सत्कार देखाउन आग्रह गर्नु कुनै छक्कलाग्दो कुरा होइन। पावलले रोमका मसीहीहरूलाई यस्तो आग्रह गरे: “पवित्र जनहरूका अभावहरूमा सहायता देओ, अतिथि-सत्कार कायम राख।” (रोमी १२:१३) तिनले यहूदी मसीहीहरूलाई यसरी सम्झाए: “परदेशीहरूको अतिथि-सत्कार गर्न नबिर्स, किनभने यसैमा कसै कसैले थाहै नपाएर स्वर्गदूतहरूको सत्कार गरेका छन्‌।” (हिब्रू १३:२) “एउटाले अर्कोलाई विना गनगन अतिथि सेवा गर” भनी पत्रुसले सँगी उपासकहरूलाई आग्रह गरे।—१ पत्रुस ४:९.

तथापि, अतिथि-सत्कार गर्न अनुपयुक्‍त हुने अवस्थाहरू पनि थिए। “अगाडि बढ्‌ने र ख्रीष्टको शिक्षामा नरहने[हरूका]” सन्दर्भमा चाहिं प्रेरित यूहन्‍नाले यस्तो भने: “त्यसलाई घरमा स्वागत नगर्नू। त्यसलाई अभिवादन पनि नगर्नू। किनकि त्यसलाई अभिवादन गर्ने ता त्यसका दुष्ट कामहरूमा सहभागी हुन्छ।” (२ यूहन्‍ना ९-११) अपश्‍चात्तापी पापीहरूबारे पावलले यस्तो लेखे: “त्यसको सङ्‌गत नगर्नू . . . , जो भाइ कहलिएर व्यभिचारी, अथवा लोभी, वा मूर्तिपूजक, वा गाली गर्ने, कि मतवाला, अथवा लुटाहा हुन्छ, त्यस्तो मानिससित ता खाँदै पनि नखाओ।”—१ कोरिन्थी ५:११.

ठग तथा अरू कतिपय मानिसहरूले साँचो मसीहीहरूको आतिथ्यको नाजायज फाइदा उठाउन खोजेको हुनुपर्छ। सा.यु. दोस्रो शताब्दीको मसीही विश्‍वासबारे गैर-बाइबलीय निर्देशन द डिडाचे अथवा बाह्र प्रेरितहरूका शिक्षाहरू भन्‍ने कागजातमा यात्रु प्रचारकहरूलाई “एक दिन वा आवश्‍यक परेमा दोस्रो दिन पनि” सत्कार गर्न सुझाव दिइएको थियो। त्यसपछि तिनी आफ्नो बाटो लाग्दा “तिनलाई खाना मात्र दिइयोस्‌। . . . यदि तिनले पैसा पनि माग्छन्‌ भने तिनी झूटा अगमवक्‍ता हुन्‌।” त्यस कागजातमा अझै यसो भनिएको छ: “यदि तिनी तपाईंसँगै बस्न चाहन्छन्‌ र केही सीप जान्दछन्‌ भने आफ्नो पेट पाल्नको लागि आफै काम गरून्‌। तर आफूलाई पाल्न तिनीसित कुनै सीप छैन जस्तो लाग्छ भने पनि कोही मानिस त्यतिकै केही काम नगरी बस्ने छैन किनभने तिनी एक जना मसीही हुन्‌। तर तिनले त्यसो गर्दैनन्‌ भने तिनले मसीहीधर्मको फाइदा उठाइरहेका हुन्छन्‌ र त्यस्ताबाट होसियार रहनू।”

कुनै सहरमा लामो समयसम्म बस्दा आफ्नो घरधनीलाई धेरै बोझ नदिन प्रेरित पावल सजग थिए। आफ्नो जीविकोपार्जनको लागि तिनले पाल बनाउने काम गरे। (प्रेरित १८:१-३; २ थिस्सलोनिकी ३:७-१२) आफूमाझका योग्य यात्रुहरूलाई मदत गर्न पावलले फिबीलाई चिनाउन पत्र लेखेझैं प्रारम्भिक मसीहीहरूले सिफारिसपत्र लेख्ने गरेजस्तो देखिन्छ। पावलले यस्तो लेखे, “हाम्री बहिनी, फिबीलाई म तिमीहरूसँग शिफारिस गर्छु। . . . प्रभुमा तिमीहरूले तिनलाई ग्रहण गर, र केही कुरामा तिनलाई तिमीहरूको दरकार पस्यो भने तिमीहरूले तिनलाई सहायता देओ।”—रोमी १६:१, २.

अतिथि-सत्कार गर्दा पाइने आशिष्‌हरू

आफ्ना सबै आवश्‍यकताहरू यहोवाले पूरा गरिदिनुहुनेछ भनी प्रथम शताब्दीका मसीही मिसनरीहरू विश्‍वास गर्थे। तर के तिनीहरूले सँगी विश्‍वासीहरूको अतिथि-सत्कारबाट आनन्द उठाउने आशा गर्न सक्थे? लिडियाले आफ्नो घरमा पावल तथा अरूलाई स्वागत गरिन्‌। प्रेरित पावल कोरिन्थमा अक्वीला र प्रिस्किलाकहाँ बसे। फिलिप्पीमा एक जना जेलरले पावल र सिलासको सामने खानेकुरा राखिदिए। पावललाई थिस्सलोनिकामा जेसनले, सिजरियामा फिलिपले र सिजरियाबाट जाँदा बाटोमा मनासोनले स्वागत गरे। रोम जाँदा पावललाई पटिओलीका भाइहरूले सत्कार गरे। पावललाई आफ्नो घरमा स्वागत गर्ने व्यक्‍तिहरूका लागि त्यो आध्यात्मिक तवरमा कस्तो इनामदायी अनुभव भएको हुनुपर्छ!—प्रेरित १६:३३, ३४; १७:७; १८:१-३; २१:८, १६; २८:१३, १४.

शास्त्रविद्‌ फेड्रिक एफ. ब्रुस यस्तो टिप्पणी गर्छन्‌: “ती सत्कार गर्ने साथीभाइ, सहकर्मी र पुरुष तथा स्त्रीहरू त्यति मदतकारी हुनुको कारण अरू केही नभई पावल र तिनले सेवा गर्ने मालिकप्रतिको प्रेम थियो। पावललाई मदत गर्दा तिनीहरूले ख्रीष्ट अर्थात्‌ मालिकको सेवा गरिरहेका हुनेछन्‌ भनी तिनीहरूलाई थाह थियो।” अतिथि-सत्कार देखाउने यो एउटा उत्तम कारण हो।

अझै पनि अतिथि-सत्कार देखाउनु जरुरी छ। यहोवाका साक्षीहरूको हजारौं परिभ्रमण प्रतिनिधिहरूलाई सँगी विश्‍वासीहरूले अतिथि-सत्कार देखाउँछन्‌। कोही-कोही राज्य उद्‌घोषकहरू भने सुसमाचार नपुगेका ठाउँहरूमा प्रचार गर्न आफैले खर्च बेहोरेर त्यहाँ जाने गर्छन्‌। हाम्रो घर जतिसुकै साधारण भए तापनि अरूको लागि ढोका खुला गर्दा धेरै आशिष्‌हरू प्राप्त हुन्छन्‌। न्यानो अतिथि-सत्कार गर्नु भनेको एकछाक तातो खाना दिनु मात्र पनि हुन सक्छ तर यसले “आपसमा . . . सान्त्वना” पाउन सक्छौं र हाम्रा भाइहरू तथा परमेश्‍वरप्रति प्रेम देखाउने अवसर पाउन सक्छौं। (रोमी १:११, १२) यस्ता अवसरहरू विशेष गरी घरधनीका लागि इनामदायी हुन्छन्‌ किनभने “लिनुभन्दा दिनु अझ असल हो।”—प्रेरित २०:३५.

[फुटनोट]

a सा.यु. १०० सम्ममा रोममा झन्डै ८०,००० किलोमिटर पक्की बाटो बनिसकेको थियो भन्‍ने अनुमान लगाइएको छ।

[पृष्ठ २३-मा भएको चित्र]

मसीहीहरू ‘अतिथि-सत्कार कायम राख्छन्‌’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने