के तपाईं पनि त्यहाँ उपस्थित हुनुहुनेछ?
१ साक्षी भएको धेरै समय भइसकेको एक जना मानिसले यसो भने: “तपाईंले अधिवेशनको पहिलो दिन छुटाउनुभयो भने धेरै कुरा गुमाउनु हुन्छ!” तिनले किन त्यस्तो महसुस गरे? किनभने पहिलो दिन भनेको यहोवाको संगठनले तयार पारेको प्रशस्त आध्यात्मिक परिकारहरूको सुरुआतको दिन हो। (यशै. २५:६) सुरुदेखि नै हामी त्यहाँ उपस्थित भयौं भने भजनरचयिताको यो भावनासित सहमती जनाउनेछौं: “जब तिनीहरूले मलाई भने, ‘परमप्रभुको भवनमा जाऔं।’ तब म रमाएँ।”—भज. १२२:१.
२ गत वर्ष “परमेश्वरको भविष्यसूचक वचन” जिल्ला अधिवेशनमा शनिबार र आइतबारको तुलनामा शुक्रबारको उपस्थिति एकदमै कम देखियो। यसको अर्थ, हाम्रा थुप्रै भाइहरूले भविष्यसूचक वचनबारे प्रस्तुत गरिएका महत्त्वपूर्ण जानकारीहरू सुन्न पाएनन्। तिनीहरूले सँगी विश्वासीहरूसितको संगति पनि गुमाए।
३ सांसारिक कामले बाधा नपुऱ्याओस्: आफ्नो जागिर गुमाउनु पर्ला भन्ने डरले कोही कोही शुक्रबार उपस्थित नभएका हुनसक्छन्। तथापि, आफ्ना हाकिमहरूसित धेरै अगाडि नै बिदा माग्दा तिनीहरू मदत गर्न उत्सुक भएका साक्षीहरूले पाएका छन्। एक जना अग्रगामी बहिनीको मण्डलीका सभाहरू अनि सम्मेलनहरूमा उपस्थित हुने दृढ कटिबद्धता देखेर तिनका हाकिम निकै प्रभावित भई एक दिन पूरै तिनीसित अधिवेशनमा बिताए!
४ हाकिमले बिदा दिंदैनन् होला भन्ने अनुमान गर्नु वा अधिवेशनको एक दिन छुटेर केही फरक पर्दैन भन्ने निष्कर्षमा पुग्नु हुँदैन। निश्चित भई पूर्ण तयारी गरेर हाकिमलाई कौशलतापूर्वक धर्मशास्त्रबाट अधिवेशनमा भेला हुनु किन उपासनाको महत्त्वपूर्ण भाग हो भनेर देखाउनुहोस्। (हिब्रू १०:२४, २५) त्यसपछि, आध्यात्मिक कुराहरूलाई प्रथम स्थान दिनुभयो भने यहोवाले जीवनका आवश्यकताहरू पूरा गरिदिनुहुनेछ भन्ने कुरा थाह पाएर आफ्नो पूरा भरोसा यहोवाका प्रतिज्ञाहरूमाथि राख्नुहोस्।—मत्ती ६:३३; हिब्रू १३:५, ६.
५ सबैभन्दा मुख्य कुरा, “जे उत्तम छ” त्यसको मूल्यांकन गर्नु हो। (फिलि. १:१०, ११; भज. २७:४) यसो गर्दा यहोवाको यस महत्त्वपूर्ण प्रबन्धबाट पूर्णतया लाभ उठाउन सक्ने गरी त्यसैअनुसार योजना बनाउन हामीलाई यसले उत्प्रेरित गर्छ। अहिलेदेखि नै निश्चित लक्ष्य बनाउन थाल्नुहोस् र ती तीनै दिन तपाईं त्यहाँ उपस्थित हुन कम्मर कस्नुहोस्!