प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 फेब्रुअरी pp. २-७
  • के तपाईँ यहोवाको तौरतरिकामा भरोसा गर्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँ यहोवाको तौरतरिकामा भरोसा गर्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल पढ्‌दा यहोवामाथि भरोसा राख्नुहोस्‌
  • यहोवाको सङ्‌गठनबाट निर्देशन पाउँदा उहाँमाथि भरोसा राख्नुहोस्‌
  • अहिले यहोवामा भरोसा राख्छौँ भने भविष्यमा पनि भरोसा राख्न सक्नेछौँ
  • हामी भाइबहिनीलाई भरोसा गर्न सक्छौँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • सुखी जीवनको लागि भरोसा नभई हुँदैन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • यहोवामाथिको तपाईंको भरोसालाई बलियो बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • सधैं यहोवालाई भरोसा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 फेब्रुअरी pp. २-७

अध्ययन लेख ६

के तपाईँ यहोवाको तौरतरिकामा भरोसा गर्नुहुन्छ?

“उहाँ चट्टान हुनुहुन्छ, उहाँको काममा कुनै खोट छैन, उहाँका सबै काम न्यायसङ्‌गत छन्‌। परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, उहाँ कहिल्यै अन्याय गर्नुहुन्‍न; उहाँ सत्य र न्यायी हुनुहुन्छ।”—व्यव. ३२:४.

गीत ३ हाम्रो बल, हाम्रो आशा, हाम्रो भरोसा

परिचयa

१-२. (क) आजकल थुप्रैले अख्तियारमा भएकाहरूलाई किन भरोसा गर्दैनन्‌? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

आजकल थुप्रैले अख्तियारमा भएकाहरूलाई भरोसा गर्दैनन्‌। किनभने कानुनी र राजनैतिक प्रणालीले धनी र शक्‍तिशालीहरूको पक्ष लिएको र गरिबहरूलाई भने अन्याय गरेको तिनीहरूले देखेका छन्‌। यस वास्तविकताबारे बाइबल यसो भन्छ: “एउटाले अर्कोलाई दबाएर मानिसले आफैलाई हानि पुऱ्‍याइरहेको . . . [छ]।” (उप. ८:९) केही धर्मगुरुहरूको खराब आचरणले गर्दा पनि धेरैले परमेश्‍वरमाथि विश्‍वास गर्न छोडेका छन्‌। त्यसैले कोही हामीसित बाइबल अध्ययन गर्न तयार हुँदा हामीले तिनलाई यहोवा र उहाँले पृथ्वीमा नियुक्‍त गर्नुभएका प्रतिनिधिहरूमाथि भरोसा गर्न मदत दिनुपर्ने हुन्छ।

२ हो, बाइबल विद्यार्थीहरूले यहोवा र उहाँको सङ्‌गठनमाथि भरोसा गर्न सिक्नुपर्छ। तर यहोवाको साक्षी भएको वर्षौँ भइसकेकाहरूले पनि यहोवाको तौरतरिका उत्तम छ भन्‍ने कुरामा भरोसा गरिरहनु आवश्‍यक छ। कहिलेकाहीँ यहोवामाथिको हाम्रो भरोसाको जाँच हुन सक्छ। यस लेखमा हाम्रो भरोसाको जाँच हुने यी तीन वटा अवस्थाबारे छलफल गर्नेछौँ: (१) बाइबलको कुनै खास विवरण पढ्‌दा, (२) यहोवाको सङ्‌गठनबाट निर्देशन पाउँदा र (३) भविष्यमा गाह्रो अवस्थाको सामना गर्नुपर्दा।

बाइबल पढ्‌दा यहोवामाथि भरोसा राख्नुहोस्‌

३. बाइबलको कुनै विवरण पढ्‌दा कसरी यहोवामाथिको हाम्रो भरोसाको जाँच हुन सक्छ?

३ परमेश्‍वरको वचन पढ्‌दै जाँदा यहोवाले केही मानिससित गर्नुभएको व्यवहार र उहाँका केही निर्णयबारे हाम्रो मनमा प्रश्‍नहरू जाग्न सक्छ। उदाहरणको लागि, गन्तीको किताबमा यहोवाले विश्रामदिनमा दाउरा बटुलेको इस्राएलीलाई मृत्युदण्ड दिनुभएको विवरण पाउँछौँ। यस घटनाको सयौँ वर्षपछि दोस्रो समुएलको किताबमा यहोवाले व्यभिचार र हत्या गरेका राजा दाउदलाई क्षमा दिनुभएको विवरण पाउँछौँ। (गन्ती १५:३२, ३५; २ समु. १२:९, १३) यी विवरणहरू पढ्‌दा हाम्रो मनमा यस्तो प्रश्‍न आउन सक्छ: ‘हत्या र व्यभिचार गर्ने दाउदलाई यहोवाले क्षमा दिनुभयो तर तिनको तुलनामा त्यति गम्भीरजस्तो नदेखिने पाप गर्ने इस्राएलीलाई चाहिँ किन मृत्युदण्ड दिनुभयो?’ यस प्रश्‍नको जवाफ पाउन बाइबल पढ्‌दा हामीले मनमा राख्नुपर्ने तीन वटा कुराबारे विचार गरौँ।

४. यहोवाले गर्नुहुने न्यायमा भरोसा राख्न उत्पत्ति १८:२०, २१ र व्यवस्था १०:१७ ले कसरी मदत गर्छ?

४ बाइबलको कुनै-कुनै विवरणबारे सबै जानकारी दिइएको छैन। उदाहरणको लागि, पाप गरेपछि दाउदले मनैदेखि पश्‍चात्ताप गरे। (भज. ५१:२-४) तर विश्रामदिनको नियम पालन नगर्ने व्यक्‍तिको विषयमा हामी के भन्‍न सक्छौँ? तिनी कस्तो किसिमको मानिस थिए? के तिनले आफूले गरेको कामको लागि पश्‍चात्ताप गरे? विगतमा पनि के तिनले यहोवाका नियमहरू उल्लङ्‌घन गरेका थिए? के तिनले पहिला पनि आफूले पाएका चेतावनीहरूलाई बेवास्ता गरेका वा त्यसअनुसार चल्न इन्कार गरेका थिए? बाइबलले यसबारे केही पनि बताएको छैन। तर यहोवा “कहिल्यै अन्याय गर्नुहुन्‍न” भन्‍ने कुरामा चाहिँ हामी ढुक्क छौँ। (व्यव. ३२:४) मानिसहरूले अक्सर सुनेको कुराको भरमा अथवा पूर्वाग्रह वा अन्य कुराको आधारमा निर्णय गर्ने भएकोले सही न्याय गर्न सक्दैनन्‌। तर यहोवाले सधैँ सत्यतथ्य जाँचेर मात्र न्याय गर्नुहुन्छ। (उत्पत्ति १८:२०, २१; व्यवस्था १०:१७ पढ्‌नुहोस्‌।) यहोवा र उहाँको स्तरबारे हामी जति धेरै सिक्दै जान्छौँ, उहाँको निर्णय सधैँ सही हुन्छ भन्‍ने कुरामा हाम्रो भरोसा त्यति नै बढ्‌दै जान्छ। कुनै बाइबल विवरण पढ्‌दा हाम्रो मनमा उठेको प्रश्‍नको जवाफ तुरुन्तै नपाए पनि यहोवा सधैँ ‘जे सही छ, त्यही गर्नुहुन्छ’ भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौँ।—भज. १४५:१७.

५. हाम्रो दृष्टिकोण किन सधैँ सही नहुन सक्छ? (“त्रुटिपूर्ण भएकोले हाम्रो दृष्टिकोण गलत हुन सक्छ” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

५ त्रुटिपूर्ण भएकोले हाम्रो दृष्टिकोण सधैँ सही नहुन सक्छ। यहोवाले हामीलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभएकोले कसैले अन्याय भोगेको हामी हेर्न चाहँदैनौँ। (उत्प. १:२६) तर त्रुटिपूर्ण भएकोले कुनै मामिलाबारे आफूलाई सबै कुरा थाह छ जस्तो लागे तापनि हाम्रो दृष्टिकोण गलत हुन सक्छ। उदाहरणको लागि, यहोवाले निनवेका मानिसहरूलाई कृपा देखाउने निर्णय गर्नुहुँदा योना असाध्यै रिसाए। (योना ३:१०–४:१) तर यहोवाको कृपाले गर्दा निनवेका १ लाख २० हजारभन्दा धेरै मानिसको ज्यान जोगियो। वास्तवमा यहोवाले होइन, योनाले आफ्नो दृष्टिकोण सच्याउनुपर्ने थियो।

त्रुटिपूर्ण भएकोले हाम्रो दृष्टिकोण गलत हुन सक्छ

एक जना मानिसको चस्मा बाफले गर्दा धमिलो भएको छ, जसले गर्दा तिनी वरपरको दृश्‍य स्पष्टसित देख्न सक्दैनन्‌।

हामी त्रुटिपूर्ण भएकोले कुनै-कुनै मामिलाप्रति हाम्रो दृष्टिकोण यहोवाको भन्दा कडा हुन सक्छ वा यहोवालाई स्वीकार्य नलाग्ने कुरा पनि हामीलाई स्वीकार्य लाग्न सक्छ। (१ समु. १६:७) त्यसले गर्दा यहोवाको तौरतरिकाबारे हाम्रो मनमा प्रश्‍न उठ्‌न सक्छ। हाम्रो परिस्थिति त्यस मानिसको जस्तै छ, जसको चस्मा बाफले गर्दा धमिलो भएको छ। उसले स्पष्टसित हेर्न जतिसुकै कोसिस गरे पनि धमिलो मात्र देख्छ। त्यसैगरि हामी आफै त्रुटिपूर्ण भएकोले यहोवाको तौरतरिकाको कुनै पक्ष बुझ्न नसकेका हुन सक्छौँ। त्यसैले यहोवाले होइन, हामीले आफ्नो दृष्टिकोण सच्याउनुपर्छ। —इज. १८:२९.

६. यहोवाले हामीलाई आफ्नो निर्णयको एक-एक कारण बताउनु किन आवश्‍यक छैन?

६ यहोवाले हामीलाई आफ्नो निर्णयको एक-एक कारण बताइरहनु आवश्‍यक छैन। विगतमा यहोवाले कुनै निर्णय गर्नुभएपछि वा गर्नुअघि आफ्ना सेवकहरूलाई त्यसबारे आफ्नो विचार व्यक्‍त गर्ने मौका दिनुभयो। (उत्प. १८:२५; योना ४:२, ३) कहिलेकाहीँ त उहाँले आफ्नो निर्णयको कारण पनि बताउनुभयो। (योना ४:१०, ११) तर उहाँले हामीलाई आफ्नो निर्णयको एक-एक कारण बताइरहनु आवश्‍यक छैन। उहाँ सृष्टिकर्ता हुनुभएकोले कुनै कदम चाल्नुअघि हाम्रो अनुमति लिनु वा कदम चालिसकेपछि त्यसको कारण बताइरहनु आवश्‍यक छैन।—यसै. ४०:१३, १४; ५५:९.

यहोवाको सङ्‌गठनबाट निर्देशन पाउँदा उहाँमाथि भरोसा राख्नुहोस्‌

७. कहिलेकाहीँ हामीलाई के गर्न गाह्रो लाग्न सक्छ र किन?

७ यहोवाले सधैँ सही निर्णय गर्नुहुन्छ भन्‍ने कुरामा हामी पूरा भरोसा राख्छौँ। तर उहाँले पृथ्वीमा नियुक्‍त गर्नुभएका प्रतिनिधिहरूमाथि भरोसा गर्न हामीलाई गाह्रो लाग्न सक्छ। तिनीहरूले यहोवाको निर्देशनअनुसार आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्‌ कि आफ्नै सोचाइअनुसार चलिरहेका छन्‌ भनेर हामीलाई शङ्‌का लाग्न सक्छ। यस्तै कुरा प्राचीन समयका केही मानिसको मनमा पनि उठेको हुन सक्छ। उदाहरणको लागि, अनुच्छेद ३ मा बताइएको घटनालाई विचार गरौँ। विश्रामदिनको नियम उल्लङ्‌घन गर्ने व्यक्‍तिको नातेदारलाई मोसाले सजाय सुनाउनुअघि यहोवासित सल्लाह मागे कि मागेनन्‌ भनेर शङ्‌का लागेको हुन सक्छ। त्यसैगरि हित्ती उरियाहको साथीलाई दाउद आफ्नो अख्तियारको आडमा सजायबाट उम्किए जस्तो लागेको हुन सक्छ। तर यथार्थ के हो भने, यहोवाले पृथ्वीमा नियुक्‍त गर्नुभएका प्रतिनिधिहरूलाई हामी भरोसा गर्दैनौँ भने यहोवालाई भरोसा गर्छु भन्‍न मिल्दैन।

८. प्रेषित १६:४, ५ मा बताइएको कुरा र हाम्रो समयमा मण्डली सञ्चालन हुने तरिकाबीच कस्तो समानता छ?

८ आज यहोवाले “विश्‍वासी र बुद्धिमान्‌ दास” चलाएर आफ्नो सङ्‌गठनको पृथ्वीमा रहेको भागलाई डोऱ्‍याउँदै हुनुहुन्छ। (मत्ति २४:४५) प्रथम शताब्दीको परिचालक निकायले जस्तै यस दासले संसारभर रहेका परमेश्‍वरका जनहरूको गतिविधिको सुपरिवेक्षण गर्छ र एल्डरहरूलाई निर्देशन दिन्छ। (प्रेषित १६:४, ५ पढ्‌नुहोस्‌।) अनि एल्डरहरूले ती निर्देशनहरू आ-आफ्ना मण्डलीहरूमा लागू गर्छन्‌। त्यसोभए यहोवाको तौरतरिकामा भरोसा गरेको हामी कसरी देखाउन सक्छौँ? उहाँको सङ्‌गठन र एल्डरहरूबाट आएको निर्देशन पालन गरेर।

९. कस्तो अवस्थामा एल्डरहरूको निर्णयअनुसार चल्न हामीलाई गाह्रो लाग्न सक्छ र किन?

९ कहिलेकाहीँ हामीलाई एल्डरहरूको निर्णयअनुसार चल्न गाह्रो लाग्न सक्छ। उदाहरणको लागि, हालसालै थुप्रै मण्डली गाभिएका छन्‌, जसले गर्दा कुनै-कुनै मण्डली अर्कै क्षेत्रमा पर्न गएका छन्‌। त्यसैले सभाभवनहरूको पूरापूर सदुपयोग होस्‌ भनेर एल्डरहरूले केही प्रकाशकलाई अर्को मण्डलीमा सर्न आग्रह गरेका छन्‌। हामीलाई पनि यस्तै आग्रह गरियो भने साथीभाइ र परिवारलाई छोडेर जान गाह्रो लाग्न सक्छ। के एल्डरहरूले कुन प्रकाशकलाई कुन मण्डलीमा खटाउने भनेर परमेश्‍वरबाट सीधै निर्देशन पाउँछन्‌? त्यस्तो त होइन। त्यसैले तिनीहरूको निर्देशनअनुसार चल्न गाह्रो लाग्न सक्छ। तर यहोवाले एल्डरहरूलाई भरोसा गरेर यस्तो निर्णय गर्ने जिम्मेवारी दिनुभएको छ र हामीले पनि तिनीहरूलाई भरोसा गर्नुपर्छ।b

१०. हिब्रू १३:१७ अनुसार हामीले एल्डरहरूको निर्णयलाई किन समर्थन गर्नुपर्छ?

१० एल्डरहरूले गरेको निर्णय चित्त नबुझे तापनि हामीले तिनीहरूको निर्णयलाई किन समर्थन गर्नुपर्छ? त्यसो गर्दा परमेश्‍वरका जनहरूबीचको एकता बलियो हुन्छ। (एफि. ४:२, ३) साथै सबै जना नम्र भई एल्डरहरूको अधीनमा बस्दा र तिनीहरूको निर्णयलाई समर्थन गर्दा मण्डली फस्टाउँछ। (हिब्रू १३:१७ पढ्‌नुहोस्‌।) सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवाले तिनीहरूलाई भरोसा गरेर हाम्रो हेरचाह गर्ने जिम्मेवारी दिनुभएको छ। त्यसैले तिनीहरूको निर्णयलाई समर्थन गर्नु भनेको यहोवामाथि भरोसा गर्नु हो।—प्रेषि. २०:२८.

११. एल्डरहरूमाथि भरोसा गर्दै तिनीहरूको निर्देशनअनुसार चल्न हामीलाई केले मदत गर्छ?

११ एल्डरहरूमाथि भरोसा गर्दै तिनीहरूको निर्देशनअनुसार चल्न हामीलाई केले मदत गर्छ? तिनीहरू मण्डलीलाई असर गर्ने मामिलाहरू सँभाल्दा पवित्र शक्‍तिको मदत माग्छन्‌ भन्‍ने कुरा हामीले बिर्सनु हुँदैन। साथै तिनीहरू त्यस मामिलासित सम्बन्धित बाइबल सिद्धान्तहरू र सङ्‌गठनले दिएका निर्देशनहरू होसियारीपूर्वक विचार गर्छन्‌। तिनीहरू यहोवालाई खुसी पार्न चाहन्छन्‌ र सक्दो राम्ररी उहाँका जनहरूको हेरचाह गर्न चाहन्छन्‌। साथै आफूले पाएको जिम्मेवारी कसरी सँभाल्दै छु, त्यसको लागि यहोवाप्रति जबाफदेही छु भन्‍ने कुरा पनि तिनीहरूलाई थाह छ। (१ पत्रु. ५:२, ३) यो कुरा पनि विचार गर्नुहोस्‌: अहिलेको संसार जाति, धर्म र राजनीतिको कारण विभाजित छ। तर यहोवाका जनहरू भने एकताबद्ध भएर एक मात्र साँचो परमेश्‍वरको उपासना गरिरहेका छन्‌। यहोवाले आफ्नो सङ्‌गठनलाई आशिष्‌ दिनुभएकोले नै यो सम्भव भएको होइन र?

१२. कसैले साँचो पश्‍चात्ताप गरेका छन्‌ कि छैनन्‌ भनेर पक्का हुन एल्डरहरूले कस्ता कुराहरू विचार गर्नुपर्छ?

१२ यहोवाले एल्डरहरूलाई मण्डली स्वच्छ राख्ने गहन जिम्मेवारी दिनुभएको छ। यदि कसैले गम्भीर पाप गरे भने तिनी मण्डलीमा रहन सक्छन्‌ कि सक्दैनन्‌ भनेर एल्डरहरूले पक्का गरेको यहोवा चाहनुहुन्छ। यसको लागि तिनीहरूले धेरै कुरा विचार गर्नुपर्छ, जस्तै: के तिनले आफ्नो पापको लागि साँचो पश्‍चात्ताप गरेका छन्‌? तिनले आफू पश्‍चात्तापी छु भनेर भन्लान्‌ तर के तिनी आफूले गरेको पापलाई साँच्चै घृणा गर्छन्‌? के तिनले त्यो पाप नदोहोऱ्‍याउने अठोट गरेका छन्‌? सङ्‌गतले गर्दा पाप गर्न पुगेका हुन्‌ भने के तिनी त्यस्तो खराब सङ्‌गत त्याग्न इच्छुक छन्‌? एल्डरहरूले प्रार्थनापूर्वक सबै कुरा विचार गर्छन्‌; तिनीहरू बाइबललाई आधार बनाएर सत्यतथ्य केलाउँछन्‌ अनि पाप गर्ने व्यक्‍तिको मनोवृत्ति कस्तो छ भनेर पत्ता लगाउने प्रयास गर्छन्‌। त्यसपछि मात्र तिनी मण्डलीमा रहन सक्छन्‌ कि सक्दैनन्‌ भनेर निर्णय गर्छन्‌। केही अवस्थामा तिनलाई बहिष्कार गर्नुपर्ने पनि हुन सक्छ।—१ कोरि. ५:११-१३.

१३. हाम्रो नजिकको साथी वा आफन्तलाई बहिष्कार गरिँदा हाम्रो मनमा कस्तो शङ्‌का उब्जन सक्छ?

१३ एल्डरहरूमाथिको हाम्रो भरोसाको जाँच कसरी हुन सक्छ? यदि बहिष्कार गरिएको व्यक्‍ति हाम्रो नजिकको साथी वा आफन्त होइनन्‌ भने हामीलाई एल्डरहरूको निर्णय स्विकार्न त्यति गाह्रो नहोला। तर तिनी हाम्रो नजिकको व्यक्‍ति हुन्‌ भने एल्डरहरूले सबै सत्यतथ्य राम्ररी विचार गरे कि गरेनन्‌ अथवा तिनीहरूले यहोवाको तरिकाअनुसारै निर्णय गरेका हुन्‌ कि होइनन्‌ भनेर हाम्रो मनमा शङ्‌का उब्जन सक्छ। यस्तो अवस्थामा एल्डरहरूको निर्णयलाई समर्थन गर्न हामीलाई केले मदत गर्छ?

१४. हाम्रो नजिकको साथी वा आफन्तलाई बहिष्कार गरिँदा त्यो निर्णय स्विकार्न हामीलाई केले मदत गर्छ?

१४ बाहिष्कारको प्रबन्ध यहोवाले मिलाउनुभएको प्रबन्ध हो र यसले मण्डली र पाप गर्ने व्यक्‍तिलाई लाभ पुऱ्‍याउँछ भन्‍ने कुरा हामीले सधैँ सम्झिनुपर्छ। पाप गरेर पनि पश्‍चात्ताप नगर्ने व्यक्‍तिलाई मण्डलीमा रहिरहन दिइयो भने तिनले अरूलाई पनि नराम्रो प्रभाव पार्न सक्छन्‌। (गला. ५:९) साथै तिनले आफूले गरेको पाप कत्तिको गम्भीर हो भन्‍ने कुरा महसुस नगर्न सक्छन्‌ र यहोवाको अनुमोदन पाउन आफ्नो सोचाइ र काममा छाँटकाँट गर्नु आवश्‍यक छैन जस्तो तिनलाई लाग्न सक्छ। (उप. ८:११) तर हामी एल्डरहरूको निर्णयमा ढुक्क हुन सक्छौँ किनभने तिनीहरू आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन्छन्‌। पुरातन इस्राएलका न्यायकर्ताहरूले जस्तै तिनीहरूले “कुनै मान्छेको तर्फबाट होइन, यहोवा परमेश्‍वरको तर्फबाट न्याय” गर्दै छु भन्‍ने कुरा बुझेका छन्‌।—२ इति. १९:६, ७.

अहिले यहोवामा भरोसा राख्छौँ भने भविष्यमा पनि भरोसा राख्न सक्नेछौँ

भाइबहिनी भुईँ तलामुनिको कोठामा भेला हुन्छन्‌। एक जना भाइ निर्देशन दिँदै छन्‌ तर अर्को भाइचाहिँ शङ्‌का लागेको जस्तोगरि हेर्दै छन्‌।

महासङ्‌कष्टको दौडान हामीले पाउने निर्देशनहरूमा भरोसा गर्न र ती पालन गर्न हामीले अहिल्यै के गर्नुपर्छ? (अनुच्छेद १५ हेर्नुहोस्‌)

१५. हामीले यहोवाको निर्देशनमा पहिलाभन्दा अझ धेरै भरोसा गर्नु किन आवश्‍यक छ?

१५ यस संसारको अन्त नजिकिँदै जाँदा हामीले यहोवाको तौरतरिकामा पहिलाभन्दा झन्‌ धेरै भरोसा गर्नु आवश्‍यक छ। किन? किनभने महासङ्‌कष्टको दौडान सङ्‌गठनबाट आउने निर्देशनहरू हामीलाई अनौठो, अव्यावहारिक वा पालन गर्नै गाह्रो जस्तो लाग्न सक्छ। त्यतिबेला यहोवाले हामीसित सीधै कुरा गर्नुहुनेछैन। बरु हामीलाई निर्देशन दिन सायद उहाँले आफ्ना प्रतिनिधिहरूलाई चलाउनुहुनेछ। त्यो समय भनेको आफूले पाएको निर्देशन साँच्चै यहोवाबाट आएको हो कि जिम्मेवार भाइहरूले आफ्नै सोचविचारले दिएका हुन्‌ भनेर शङ्‌का गर्ने समय होइन। त्यतिबेला तपाईँले के गर्नुहुनेछ, त्यो धेरै हदसम्म तपाईँ अहिले सङ्‌गठनबाट आएको निर्देशनलाई कसरी हेर्नुहुन्छ, त्यसमा भर पर्छ। यदि तपाईँ अहिले सङ्‌गठनबाट आएको निर्देशन स्विकार्नुहुन्छ र त्यसअनुसार चल्नुहुन्छ भने महासङ्‌कष्टको दौडान पनि सायद त्यसै गर्नुहुनेछ।—लुका १६:१०.

१६. निकट भविष्यमा कसरी यहोवाको न्यायमाथिको हाम्रो भरोसाको जाँच हुन सक्छ?

१६ यस दुष्ट संसारको अन्तमा यहोवाले गर्नुहुने न्यायप्रति हामी कस्तो प्रतिक्रिया देखाउनेछौँ, त्यो पनि हामीले राम्ररी विचार गर्नुपर्छ। अहिले हाम्रो नजिकका साथी वा आफन्तलगायत थुप्रै मानिसले यहोवाको सेवा गर्दैनन्‌ तर कुनै दिन तिनीहरूले पनि यहोवाको सेवा गर्नेछन्‌ भनेर हामी आशा गर्छौँ। तर तिनीहरूले जीवन पाउनेछन्‌ या मृत्यु, त्यसको निर्णय यहोवाले आरमागेडोनमा येसुमार्फत गर्नुहुनेछ। (मत्ति २५:३१-३३; २ थिस्स. १:७-९) त्यसैले कसले कृपा पाउनेछन्‌ र कसले पाउनेछैनन्‌ भनेर निर्णय गर्ने अधिकार हामीसित छैन। (मत्ति २५:३४, ४१, ४६) के त्यतिबेला हामी यहोवाको न्यायमाथि भरोसा राखेर उहाँको सेवा गरिरहनेछौँ वा उहाँले गर्नुभएको न्याय चित्त नबुझेकोले उहाँको सेवा गर्न छोड्‌नेछौँ? स्पष्ट छ, हामीले अहिलेदेखि नै यहोवामाथिको भरोसालाई बलियो बनाउँदै गयौँ भने मात्र भविष्यमा पनि उहाँमाथि पूर्ण रूपमा भरोसा गर्न सक्नेछौँ।

१७. यहोवाको न्यायले गर्दा नयाँ संसारमा हामीले के-कस्ता राम्रा कुराहरू अनुभव गर्न पाउनेछौँ?

१७ यहोवाको न्यायले गर्दा हामीले नयाँ संसारमा के-कस्ता राम्रा कुराहरू अनुभव गर्न पाउनेछौँ, कल्पना गर्नुहोस्‌ त! त्यहाँ झूटो धर्म, लोभी व्यापारजगत्‌ र मानिसहरूलाई दमन गर्ने राजनैतिक सरकारहरू हुनेछैनन्‌। त्यतिबेला कोही पनि बिरामी वा बूढाबूढी हुनेछैनन्‌। हामीले माया गरेका व्यक्‍तिहरू कसैको पनि मृत्यु हुनेछैन। सैतान र त्यसका प्रेतहरूलाई एक हजार वर्षको लागि थुनिनेछ। त्यतिबेला तिनीहरूको विद्रोहको कुनै पनि असर बाँकी रहनेछैन। (प्रका. २०:२, ३) अहिले यहोवाको तौरतरिकामा भरोसा गरेकोले भविष्यमा त्यस्ता राम्रा कुराहरू अनुभव गर्न पाउँदा हामी कत्ति खुसी हुनेछौँ!

१८. गन्ती ११:४-६ र २१:५ मा दिइएको इस्राएलीहरूको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

१८ के हामीले नयाँ संसारमा पनि यहोवाको तौरतरिकामाथिको हाम्रो भरोसाको जाँच हुने परिस्थितिको सामना गर्नुपर्नेछ? यो कुरा बुझ्न हामी इस्राएलीहरूको उदाहरण विचार गर्न सक्छौँ। मिश्रबाट निस्केको केही समय पनि बित्न नपाउँदै तिनीहरूले मिश्रमा खान पाएको ताजा खानेकुराहरूको लालसा गर्न थाले र यहोवाले प्रबन्ध गर्नुभएको मन्‍नलाई तुच्छ ठाने। (गन्ती ११:४-६; २१:५ पढ्‌नुहोस्‌।) महासङ्‌कष्ट सिद्धिएपछि के हाम्रो सोचाइ पनि त्यस्तै हुन सक्छ? यस संसारको विनाश भएपछि पृथ्वी सफा गर्न र त्यसलाई सुन्दर बगैँचा बनाउँदै लैजान कति काम गर्नुपर्नेछ, त्यो हामीलाई थाह छैन। सायद धेरै काम गर्नुपर्नेछ र सुरु-सुरुमा केही असुविधा पनि हुनेछन्‌। के हामी त्यतिबेला यहोवाले गर्नुभएका प्रबन्धमा गनगन गर्नेछौँ? एउटा कुरा पक्का छ: अहिले हामी यहोवाका प्रबन्धहरूको जति धेरै कदर गर्छौँ, नयाँ संसारमा उहाँले गर्नुहुने प्रबन्धहरूको कदर गर्न त्यति नै सजिलो हुनेछ।

१९. यस लेखमा छलफल गरिएका मुख्य कुराहरू छोटकरीमा बताउनुहोस्‌।

१९ यहोवाको तौरतरिका सधैँ सही हुन्छ भन्‍ने कुरामा हामीले भरोसा राख्नुपर्छ। साथै हामीलाई निर्देशनहरू दिन उहाँले नियुक्‍त गर्नुभएका प्रतिनिधिहरूलाई हामीले पनि भरोसा गर्नुपर्छ। यहोवाले भविष्यवक्‍ता यसैयामार्फत भन्‍नुभएका यी शब्दहरू कहिल्यै पनि नबिर्सौँ: “शान्त होऊ र ममाथि भरोसा गर, तब तिमीहरूले बल पाउनेछौ।”—यसै. ३०:१५.

निम्न अवस्थाहरूमा यहोवाको तौरतरिकामाथिको हाम्रो भरोसाको जाँच हुँदा हामी के गर्न सक्छौँ?

  • बाइबलको कुनै खास विवरण पढ्‌दा

  • यहोवाको सङ्‌गठनबाट निर्देशन पाउँदा

  • भविष्यमा गाह्रो अवस्थाको सामना गर्नुपर्दा

गीत ९८ धर्मशास्त्र—ईश्‍वर प्रेरित

a यस लेखले यहोवामाथि र उहाँले पृथ्वीमा नियुक्‍त गर्नुभएका प्रतिनिधिहरूमाथि हाम्रो भरोसा बलियो बनाउनु किन महत्त्वपूर्ण छ भनेर बुझ्न मदत गर्नेछ। यसो गर्दा हामी अहिले कस्तो लाभ उठाउँछौँ र भविष्यमा आइपर्ने चुनौतीहरूको सामना गर्न कसरी तयार हुन सक्छौँ, त्यो पनि बुझ्नेछौँ।

b कहिलेकाहीँ टार्नै नसकिने परिस्थितिको कारणले कुनै भाइबहिनी वा परिवार अहिलेकै मण्डलीमा बस्नुपर्ने हुन सक्छ। हाम्रो राज्य सेवकाई, नोभेम्बर २००२, “प्रश्‍न पेटी” हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने