दोस्रो इतिहास
२४ राजा हुँदा यहोआस सात वर्षका थिए।+ तिनले यरुसलेममा ४० वर्ष शासन गरे। तिनकी आमाको नाम जिब्याह थियो। उनी बेर्सेबाकी बासिन्दा थिइन्।+ २ पुजारी यहोयादा बाँचुन्जेल यहोआसले यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरिरहे।+ ३ यहोयादाले दुई वटी केटीसित तिनको विवाह गराइदिए र उनीहरूबाट तिनका छोराछोरी जन्मिए।
४ पछि यहोआसको हृदयमा यहोवा परमेश्वरको भवन मर्मतसम्भार गर्ने इच्छा पलायो।+ ५ त्यसैले तिनले पुजारीहरू र लेवीहरूलाई भेला गरे अनि उनीहरूलाई यसो भने: “तपाईँहरू यहुदाका सहरहरूमा जानुहोस् अनि हरेक वर्ष आफ्ना परमेश्वरको भवनको मर्मतसम्भार गर्न सबै इस्राएलीबाट पैसा जम्मा गर्नुहोस्।+ यो काम तुरुन्तै गर्नुहोस्।” तर लेवीहरूले यो काम गर्न ढिलासुस्ती गरे।+ ६ त्यसैले राजाले प्रधानपुजारी यहोयादालाई बोलाए र भने:+ “यहोवा परमेश्वरका सेवक मोसाको निर्देशनअनुसार यहुदा र यरुसलेमबाट जुन पवित्र कर उठाउनुपर्ने थियो, त्यो लेवीहरूले किन उठाएका छैनन्?+ तपाईँले किन यस मामिलामा कडिकडाउ गर्नुभएन? साक्षीपाटी राखिएको पालको* निम्ति इस्राएलको समुदायबाट किन पवित्र कर जम्मा गरिएको छैन?+ ७ त्यो दुष्ट आइमाई अथल्याहका+ छोराहरू जबरजस्ती साँचो परमेश्वरको भवनमा छिरेका थिए+ अनि उनीहरूले यहोवा परमेश्वरको भवनमा भएका सबै पवित्र सरसामान लगेर बाआल देवताहरूको उपासना गर्न प्रयोग गरेका थिए।” ८ तब राजाको आदेशमा एउटा बाकस+ बनाइयो र त्यसलाई यहोवा परमेश्वरको भवनबाहिर ढोकामा राखियो।+ ९ त्यसपछि यहोवा परमेश्वरको निम्ति पवित्र कर ल्याउनू भनी पूरै यहुदा र यरुसलेममा घोषणा गरियो।+ निर्जनभूमिमा छँदा साँचो परमेश्वरका सेवक मोसाले यो कर तिर्नुपर्ने नियम लागू गरेका थिए। १० त्यसपछि सबै भारदार र मानिसहरू रमाए+ अनि दान ल्याएर त्यस बाकसमा खसाल्न थाले। बाकस नभरिउन्जेल* तिनीहरूले दान खसालिरहे।
११ त्यो बाकस पूरै भरिएको देखेपछि लेवीहरूले त्यसलाई राजाकहाँ लग्थे अनि राजाका सचिव र मुख्य पुजारीका सहायक आएर बाकसलाई खाली गर्थे।+ त्यसपछि त्यस बाकसलाई जहाँबाट ल्याइएको हो, त्यहीँ लगेर राख्थे। तिनीहरूले हरेक दिन यसै गर्थे। यसरी तिनीहरूले प्रशस्तै पैसा जम्मा गरे। १२ त्यसपछि राजा र यहोयादाले त्यो पैसा यहोवा परमेश्वरको भवनको कामको निरीक्षण गर्नेहरूलाई दिन्थे। अनि यहोवा परमेश्वरको भवन मर्मतसम्भार गर्न ती निरीक्षकहरूले ढुङ्गा काट्नेहरू र शिल्पकारहरूलाई ज्यालामा ल्याउँथे।+ साथै उनीहरूले यहोवा परमेश्वरको भवन मर्मत गर्न फलाम र तामाको काम गर्नेहरूलाई पनि ज्यालामा ल्याउँथे। १३ अनि ती निरीक्षकहरूले आफ्नो काम सुरु गरे। उनीहरूको निरीक्षणमा मर्मतसम्भारको काम अघि बढ्दै गयो। उनीहरूले साँचो परमेश्वरको भवनलाई मजबुत बनाए र पहिलेको जस्तै अवस्थामा ल्याए। १४ मर्मतसम्भारको काम सकिनेबित्तिकै उनीहरूले बाँकी भएको पैसा लगेर राजा र यहोयादालाई दिए। तिनीहरूले त्यस पैसाले यहोवा परमेश्वरको भवनको लागि भाँडाकुँडा बनाए। साथै तिनीहरूले भवनको सेवामा र भेटी चढाउने काममा प्रयोग हुने भाँडाकुँडाका साथै प्यालाहरू अनि सुन र चाँदीका अरू भाँडाकुँडा बनाउन त्यो पैसा प्रयोग गरे।+ यहोयादा बाँचुन्जेल तिनीहरूले यहोवा परमेश्वरको भवनमा नियमित रूपमा अग्निभेटी चढाए।+
१५ यहोयादा १३० वर्षको उमेरमा मरे। तिनले लामो र सन्तुष्ट जीवन बिताए। १६ तिनलाई दाउदनगरमा राजाहरूको चिहानमा गाडियो+ किनभने तिनले इस्राएलमा साँचो परमेश्वर र उहाँको भवनको निम्ति असल कामहरू गरेका थिए।+
१७ यहोयादाको मृत्युपछि यहुदाका भारदारहरू राजाकहाँ आए र तिनीसामु घोप्टो परे अनि राजाले तिनीहरूको कुरा सुने। १८ तिनीहरूले आफ्नो पितापुर्खाका परमेश्वर यहोवाको भवनलाई त्यागे अनि पवित्र खामाहरू* र मूर्तिहरू पुज्न थाले। तिनीहरूको यस पापले गर्दा यहुदा र यरुसलेममाथि परमेश्वरको क्रोध दन्कियो। १९ यहोवा परमेश्वरले तिनीहरूलाई आफूकहाँ फर्काएर ल्याउन थुप्रै भविष्यवक्तालाई पठाइरहनुभयो र ती भविष्यवक्ताहरूले तिनीहरूलाई चेतावनी* दिइरहे तर तिनीहरूले उनीहरूको कुरा सुन्न इन्कार गरे।+
२० परमेश्वरको पवित्र शक्ति पुजारी यहोयादाका+ छोरा जकरियामाथि आयो। तिनी मानिसहरूसामु एउटा अग्लो ठाउँमा उभिए र भने: “साँचो परमेश्वर यसो भन्नुहुन्छ, ‘तिमीहरू किन यहोवा परमेश्वरको आज्ञा उल्लङ्घन गर्छौ? तिमीहरू सफल हुनेछैनौ। तिमीहरूले यहोवा परमेश्वरलाई त्यागेको हुनाले उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ।’”+ २१ तर ती मानिसहरूले तिनीविरुद्ध षड्यन्त्र रचे+ र राजाको आदेशबमोजिम यहोवा परमेश्वरको भवनको चोकमा तिनलाई ढुङ्गाले हानेर मारे।+ २२ यसरी राजा यहोआसले जकरियाको बुबा यहोयादाले आफूलाई देखाएको अटल प्रेम बिर्से अनि उनको छोरालाई मारे। मर्ने बेला जकरियाले यसो भनेका थिए: “यहोवा परमेश्वरले यो देखून् र तिमीसित लेखा लेऊन्।”+
२३ वर्षको सुरुमा सिरियाली सेना यहोआससित लडाइँ गर्न आयो र तिनीहरूले यहुदा र यरुसलेमलाई आक्रमण गरे।+ तिनीहरूले मानिसहरूका सबै अगुवालाई मारे+ अनि आफूले लुटेका सबै थोक दमिसकका राजाकहाँ पठाए। २४ हुनत सिरियाली सैनिकहरू थोरै थिए तैपनि यहोवाले यहुदाको विशाल सेनालाई उनीहरूको हातमा सुम्पिदिनुभयो+ किनभने तिनीहरूले आफ्नो पितापुर्खाका परमेश्वर यहोवालाई त्यागेका थिए। यसरी उनीहरूले* राजा यहोआसलाई दण्ड दिए। २५ जब उनीहरूले राजालाई त्यत्तिकै छाडेर गए (तिनलाई गम्भीर घाइते अवस्थामा छोडिदिए*), तब तिनका आफ्नै सेवकहरूले तिनीविरुद्ध षड्यन्त्र रचे किनकि तिनले पुजारी यहोयादाका+ छोराहरूको* हत्या गरेका थिए। ती सेवकहरूले राजालाई तिनकै ओछ्यानमा हत्या गरे।+ यसरी राजाको मृत्यु भयो र तिनीहरूले राजालाई दाउदनगरमा+ गाडे तर राजाहरूको चिहानमा भने होइन।+
२६ राजाविरुद्ध षड्यन्त्र रच्नेहरू यी थिए:+ अम्मोनी स्त्री सिम्मेथका छोरा जबाद र मोआबी स्त्री सिम्रिथका छोरा यहोजाबाद। २७ यहोआसका छोराहरू, तिनीविरुद्ध सुनाइएका सन्देशहरू+ अनि साँचो परमेश्वरको भवनको मर्मतसम्भारसम्बन्धी+ सम्पूर्ण विवरण ‘राजाहरूको पुस्तक’-मा पाइन्छ। तिनीपछि तिनका छोरा अमस्याह राजा भए।