युवाजनहरू हो—आफ्नो ज्ञानेन्द्रियको अभ्यास गर्नुहोस्!
“खँदिलो खानेकुराचाहिं पूरा बढ़ेका मानिसहरूका निम्ति हो, जो त्यसको प्रयोगबाट खराब र असल छुट्याउनालाई ज्ञानेन्द्रियको अभ्यास भएका हुन्छन्।”—हिब्रू ५:१४.
१, २. (क) आज हाम्रो अवस्था कसरी एफिससका पुरातन मसीहीहरूको अवस्थासँग मिल्दोजुल्दो छ? (ख) कस्ता क्षमताहरूले तपाईंलाई खतराबाट बचाउनसक्छ अनि ती कसरी विकास गर्न सक्नुहुन्छ?
“कसरी हिंड़छौ ठीकसँग हेर, निर्बुद्धि जस्तो होइन, तर बुद्धिमान मानिसजस्तो, समयको अवसर विचार गरेर सम्झ, किनभने समय खराब छ।” (एफिसी ५:१५, १६) प्रेरित पावलले दुई हजार वर्षअघि उक्त शब्दहरू लेखेदेखि अहिलेसम्ममा ‘खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन् झन् खराब हुँदै गएका छन्।” हामी ‘डरलाग्दो समयमा’ वा अर्को अनुवादअनुसार “खतराले भरिएको समयमा” बाँचिरहेका छौं।—२ तिमोथी ३:१-५, १३; फिलिप्स।
२ तथापि, ‘चतुऱ्याइँ, ज्ञान र विवेक’ विकास गरेर बाटोमा छिपेका खतराहरूबाट तपाईं बच्न सक्नुहुन्छ। (हितोपदेश १:४) हितोपदेश २:१०-१२ यसो भन्छ: “बुद्धि तेरो मनभित्र गाड़िनेछ, र ज्ञान तेरो हृदयको आनन्द हुनेछ। विवेकले तँमाथि हेरचाहा गर्नेछ, समझ-शक्तिले तेरो रक्षा गर्नेछ। त्यसले तँलाई खराब चालबाट र छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ।” तर तपाईं यस्ता क्षमताहरू कसरी विकास गर्न सक्नुहुन्छ? हिब्रू ५:१४ यसो भन्छ: “खाँदिलो खानेकुराचाहिं पूरा बढ़ेका मानिसहरूका निम्ति हो, जो त्यसको प्रयोगबाट खराब र असल छुट्याउनालाई ज्ञानेन्द्रियको अभ्यास भएका हुन्छन्।” अरू सीपहरू हासिल गर्न प्रशिक्षणको आवश्यकता परेझैं ज्ञानेन्द्रियको प्रयोग गर्न पनि प्रशिक्षणको आवश्यकता पर्छ। पावलले प्रयोग गरेका युनानी शब्दको शाब्दिक अर्थ हो, ‘जिम्नास्टीक गर्ने व्यक्तिले जस्तै प्रशिक्षण लिनु।’ तपाईं यस्तो प्रशिक्षण कसरी लिन सुरु गर्नुहुन्छ?
तपाईंको ज्ञानेन्द्रिय शक्ति अभ्यास गर्ने
३. निर्णय गर्नुपर्दा तपाईं कसरी आफ्नो ज्ञानेन्द्रिय शक्ति प्रयोग गर्न सक्नुहुन्छ?
३ ध्यान दिनुहोस्, तपाईंको ज्ञानेन्द्रिय अर्थात् खराब र असल छुट्याउने योग्यता “प्रयोगबाट” अभ्यास हुन्छ। निर्णय गर्नुपर्दा अडकल काट्नु, आफूलाई मनमा लागेको कुरा गर्नु वा अरूको पछि लाग्नुको नतिजा प्रायः नराम्रै हुन्छ। बुद्धिमानी निर्णय गर्न तपाईंले आफ्नो ज्ञानेन्द्रिय शक्ति प्रयोग गर्नुपर्छ। कसरी? प्रथमतः परिस्थितिलाई राम्ररी जाँचबुझ गरेर सबै कुरा थाह पाउनुपर्छ। आवश्यक परेको खण्डमा प्रश्नहरू सोध्नुहोस्। के कस्ता मौकाहरू उपलब्ध छन्, पक्का गर्नुहोस्। हितोपदेश १३:१६ यसो भन्छ: “चतुर मानिस बुद्धिमानी हुन्छ।” त्यसपछि, बाइबलका कुनचाहिं नियम वा सिद्धान्तहरू त्यस विषयसँग सम्बन्धित छ, पत्ता लगाउन खोज्नुहोस्। (हितोपदेश ३:५) निस्सन्देह, यसो गर्न तपाईंसँग बाइबलको ज्ञान हुनुपर्छ। त्यसैकारण त पावल हामीलाई “खँदिलो खानेकुरा” खाने अर्थात् सत्यको “चौड़ाइ, लमाइ, उँचाइ र गहराइ” सिक्ने प्रोत्साहन दिन्छन्।—एफिसी ३:१८.
४. परमेश्वरका सिद्धान्तहरूको ज्ञान किन अत्यावश्यक छ?
४ यसो गर्नु अत्यावश्यक छ किनकि हामी असिद्ध छौं र बेलाबेलामा पाप गरिरहन्छौं। (उत्पत्ति ८:२१; रोमी ५:१२) यर्मिया १७:९ भन्छ: “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ।” हामी ईश्वरीय सिद्धान्तहरूलाई वास्ता गर्दैनौं भने, शरीरको लालसाले गर्दा खराब कुराहरू पनि असल ठानेर हामीले आफैलाई झुक्याइरहेका हुनसक्छौं। (यशैया ५:२० तुलना गर्नुहोस्।) भजनरचयिताले यसरी लेखे: “जवान मानिसले आफ्नो चालचलन कसरी शुद्ध राख्नसक्ला? तपाईंको वचनमा ध्यान दिएरनै हो। तपाईंकै आदेशहरूद्वारा म बुद्धिमान हुन्छु। यसकारण सबै झूटा मार्गहरू म घृणा गर्दछु।”—भजनसंग्रह ११९:९, १०४.
५. (क) किन केही युवाजनहरू गलत मार्गमा लाग्छन्? (ख) एउटी युवतीले सत्यलाई कसरी आफ्नो बनाइन्?
५ मसीही परिवारमा हुर्केका केही युवाजनहरू किन गलत मार्गमा लाग्छन्? के तिनीहरूले ‘परमेश्वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी जाँचेर पत्ता नलगाएकाले’ गर्दा हुनसक्छ? (रोमी १२:२) कोही कोही यस्ता जवानहरू आफ्ना आमाबाबुहरूसँग सभाहरू धाउलान् अनि बाइबलका केही आधारभूत शिक्षाहरू बताउन सक्लान्। तर तिनीहरूलाई आफ्नो विश्वासको प्रमाण दिन वा परमेश्वरको वचनका गहिरा कुराहरू बताउन लगाउँदा तिनीहरूलाई त्यस्ता कुराहरू केही थाह हुँदैन। त्यस्ता युवाजनहरू सजिलै बहकिन सक्छन्। (एफिसी ४:१४) यदि तपाईं पनि यस्तै हुनुहुन्छ भने परिवर्तन गर्ने संकल्प किन नगर्ने? एउटी जवान बहिनी यसरी स्मरण गर्छिन्: “मैले अनुसन्धान गरें। मैले आफैलाई प्रश्न गरें, ‘यो साँचो धर्म हो भनेर कसरी थाह पाउने? यहोवा नाउँ भएको परमेश्वर हुनुहुन्छ भनेर कसरी जान्ने?’”a ध्यान दिएर धर्मशास्त्रको गहिरो जाँच गरेपछि आफ्नो आमाबाबुबाट सिकेका कुराहरू साँचो रहेछ भनेर तिनलाई पूरा विश्वास भयो!—प्रेरित १७:११.
६. “प्रभु” अर्थात् यहोवालाई ‘मनपर्ने कुरा तपाईं कसरी सिक्न सक्नुहुन्छ’?
६ यहोवाका सिद्धान्तहरूको ज्ञान हासिल गरेर तपाईं ‘प्रभुलाई मनपर्ने के हो सो सिक्न सक्नुहुन्छ।’ (एफिसी ५:१०, नयाँ शंसोधित संस्करण) तर कुनै कुनै अवस्थामा कसरी बुद्धिमत्तापूर्ण कदम चाल्ने भनी थाह नभएमा नि? त्यस्तो अवस्थामा डोऱ्याइको निम्ति यहोवालाई प्रार्थना गर्नुहोस्। (भजनसंग्रह ११९:१४४) ती विषयहरूबारे आफ्नो आमाबाबु वा परिपक्व मसीहीसँग कुरा गरेर हेर्नुहोस्। (हितोपदेश १५:२२; २७:१७) बाइबल र वाच टावरका साहित्यहरूमा अनुसन्धान गरेर पनि मदतकारी डोऱ्याइ प्राप्त गर्न सकिन्छ। (हितोपदेश २:३-५) तपाईं जति बढी आफ्नो ज्ञानेन्द्रिय शक्ति प्रयोग गर्नुहुन्छ उति नै तिखारिंदै जान्छ।
मनोरञ्जनको क्षेत्रमा समझशक्ति प्रयोग गर्ने
७, ८. (क) सामाजिक जमघटमा जाने कि नजाने भनी निर्णय गर्न तपाईं आफ्नो ज्ञानेन्द्रिय शक्ति कसरी प्रयोग गर्न सक्नुहुन्छ? (ख) मनोरञ्जनबारे बाइबलको दृष्टिकोण कस्तो छ?
७ कुनै कुनै खास परिस्थितिमा तपाईं कसरी आफ्नो ज्ञानेन्द्रिय शक्ति प्रयोग गर्नसक्नुहुन्छ, आउनुहोस् विचार गरौं। उदाहरणका लागि, तपाईंलाई कुनै एउटा सामाजिक जमघटमा निम्त्याइयो। तपाईंले त्यस जमघटबारे विज्ञापन गरिएको पर्चा पनि पाउनुभएको होला। त्यहाँ अरू थुप्रै जवान साक्षीहरू भेला हुनेछन् भनेर तपाईंले थाह पाउनुभयो। तर त्यो जमघटमा लाग्ने खर्च बेहोर्न भने सबैले पैसा तिर्नुपर्नेछ। अब के गर्ने, त्यस जमघटमा जाने कि नजाने?
८ तपाईंको ज्ञानेन्द्रिय शक्ति प्रयोग गर्नुहोस्। पहिला सबै कुराबारे जानकारी लिनुहोस्। त्यहाँ कति धेरै मानिसहरू भेला हुनेछन्? को को आउनेछन्? कहिले सुरु हुनेछ? कतिखेर सिद्धिनेछ? के कस्ता कार्यक्रमहरू हुनेछन्? जमघटमा निरीक्षण गर्ने कस्तो प्रबन्ध छ? त्यसपछि, प्रहरीधरहरा प्रकाशन अनुक्रमणिकाb-मा “सामाजिक जमघट” र “मनोरञ्जन” जस्ता विषयहरूमा अनुसन्धान गर्नुहोस्। अनुसन्धानद्वारा के थाह पाउनुहुनेछ? तपाईंले थाह पाउनुहुने एउटा कुरा हो, रमाइलो गर्नका लागि यहोवाले सामाजिक जमघट निषेध गर्नुभएको छैन। वास्तवमा भन्ने हो भने, कडा परिश्रम गर्नुबाहेक “यस संसारमा मानिसलाई खानु, पिउनु मोज-मजा गर्नु भन्दा अरू असल केही रहेनछ” भनेर उपदेशक ८:१५ बताउँछ। येशू ख्रीष्ट पनि त केही विशेष अवसरहरूमा आयोजना गरिएको भोजहरूमा र एउटा विवाह समारोहमा उपस्थित हुनुभयो। (लूका ५:२७-२९; यूहन्ना २:१-१०) सन्तुलित सामाजिक जमघट फाइदाजनक हुनसक्छ।
९, १०. (क) केही जमघटहरूमा कस्ता खतराहरू हुनसक्छन्? (ख) जमघटमा उपस्थित हुने कि नहुने भनी निर्णय गर्नुअघि तपाईं आफैलाई कस्ता प्रश्नहरू सोध्न सक्नुहुन्छ?
९ यद्यपि, राम्रो निरीक्षण नगरिएको जमघटहरूमा समस्या खडा हुनसक्छ। खराब संगतले गर्दा इस्राएलीहरू कसरी व्यभिचारमा फसे अनि “एकै दिनमा तेइस हजार [अविश्वासी इस्राएलीहरू] मरेथे” भनेर हामी १ कोरिन्थी १०:८ मा पढ्छौं। अर्को गम्भीर चेताउनी रोमी १३:१३ मा पाइन्छ: “दिउँसोजस्तै गरी हामी ईमानसाथ चलौं, नता मोज-मजामा र मतवालीपनमा, न व्यभिचारमा र भ्रष्टाचारमा, न झगड़ामा र डाहमा।” (१ पत्रुस ४:३ तुलना गर्नुहोस्।) हो, एउटा जमघटमा कति जना मानिसहरू भेला हुनुपर्छ भनेर संख्या तोक्न सकिंदैन। तर जति ठूलो जमघट हुन्छ उति निरीक्षण गर्नु गाह्रो हुन्छ भनेर अनुभवहरूले देखाउँछ। सानो र राम्ररी निरीक्षण गरिएका जमघटहरू “अनियन्त्रित भोजमा” परिणत हुने सम्भावना कमै हुन्छ।—गलाती ५:२१, बाइंग्टन।
१० निस्सन्देह, तपाईंले अनुसन्धान गर्नुभएपछि यस्ता प्रश्नहरू खडा हुन सक्छन्: के यो जमघटमा केही परिपक्व मसीहीहरू पनि हुनेछन्? जमघट कसले आयोजना गरेको हो? यो जमघट, फाइदाजनक सरसंगतिको लागि आयोजना गरिएको हो या कसैले पैसा कमाउनको लागि हो? के त्यहाँ को आउने को नआउने भनेर प्रतिबन्ध लगाइएको छ? जमघट सप्ताहन्तमा आयोजना गरिएको छ भने, त्यहाँ उपस्थित हुनेहरू भोलि मसीही सेवकाईमा भाग लिनसक्ने गरी समयमै जमघट सिद्धिनेछ? नाचगानको कार्यक्रम छ भने, के त्यो मसीही स्तरअनुसार छ? (२ कोरिन्थी ६:३) यस्ता प्रश्नहरू गर्नु सजिलो नहोला। तर हितोपदेश २२:३ यस्तो चेताउनी दिन्छ: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।” हो, आफ्नो ज्ञानेन्द्रिय शक्तिको प्रयोग गरेर तपाईं खतरनाक परिस्थितिहरूबाट बच्न सक्नुहुन्छ।
पढाइको योजना बनाउँदा समझशक्ति प्रयोग गर्ने
११. भविष्यबारे योजना बनाउँदा युवाजनहरूले कसरी आफ्नो ज्ञानेन्द्रिय शक्ति प्रयोग गर्नसक्छन्?
११ भविष्यको लागि योजना बनाउनु बुद्धिमानी हो भनेर बाइबल बताउँछ। (हितोपदेश २१:५) के तपाईंको भविष्यबारे आमाबाबुसँग छलफल गर्नुभएको छ? सायद तपाईं अग्रगामीको हैसियतमा पूर्ण-समय सेवकाई गर्न चाहनुहुन्छ होला। साँच्चै, पूर्ण-समय सेवकाई जत्तिको पूर्ण सन्तुष्टि दिने अरू कुनै पेसा छैन। तपाईंले पढ्ने राम्रो बानी बसाल्दै हुनुहुन्छ अनि सेवकाईमा निपुणता हासिल गर्दै हुनुहुन्छ भने, तपाईं सेवकाईको रोमाञ्चकारी पेसाको लागि तयार हुनुहुँदैछ। सेवकाईमा लागेर कसरी जीवन धान्ने भनेर सोच्नुभएको छ? भविष्यमा परिवार बसाल्ने निर्णय गर्नुभयो भने के तपाईंले थप जिम्मेवारीहरू पूरा गर्न सक्नुहुनेछ? यस्ता विषयहरूबारे सन्तुलित र व्यवहारिक निर्णय गर्न ज्ञानेन्द्रिय शक्तिको प्रयोग गर्नुपर्छ।
१२. (क) कुनै कुनै परिवारहरू कसरी बद्लिंदो आर्थिक अवस्थालाई विचार गरेर चलेका छन्? (ख) के अतिरिक्त शिक्षा हासिल गर्नु भनेको अग्रगामी गर्ने लक्ष्यको विपरीत हो? व्याख्या गर्नुहोस्।
१२ कुनै कुनै मुलुकहरूमा जागिर खाने ठाउँमा त्यही कामसँग सम्बन्धित उपयोगी सीप वा पेसाबारे प्रशिक्षण लिन सकिन्छ। केही युवाजनहरूले परिवारले गर्दै आएको व्यापारमै लाग्छन् वा वयस्क साथीभाइहरूबाट व्यापारबारे तालिम लिएका छन्। अरूले चाहिं पछि जीविका चलाउन काम लाग्ने कुराहरू स्कूलमा सिक्छन्। यस्ता सुविधाहरू नभएका ठाउँहरूमा छोराछोरीले हाई-स्कूल सिद्धयाएपछि आमाबाबुहरूले होसियारी साथ विचार गरेर तिनीहरूलाई अतिरिक्त शिक्षा दिने प्रबन्ध मिलाउनसक्छन्। वयस्क भएपछि जिम्मेवारीहरू पूरा गर्न र खास गरी अग्रगामी सेवामा लाग्न यसरी पूर्व योजना बनाउनु भनेको परमेश्वरको राज्यलाई प्रथम स्थान दिने कुराको विपरीत होइन। (मत्ती ६:३३) अतिरिक्त शिक्षा लिनाले अग्रगामी गर्नमा बाधा पुऱ्याउँदैन। उदाहरणका लागि, एउटी जवान साक्षी पहिल्यैदेखि अग्रगामी गर्न चाहन्थिन्। हाई-स्कूल सिद्धयाएपछि तिनका अग्रगामी आमाबाबुले तिनलाई अतिरिक्त शिक्षा दिने प्रबन्ध मिलाए। तिनले स्कूल पढ्नुका साथसाथै अग्रगामी गर्न पनि सकिन् अनि तिनीसँग अग्रगामी गरेर पनि जीवन धान्नसक्ने सीप छ।
१३. अतिरिक्त शिक्षा लिनुमा कस्ता कुराहरू बिथोलित छन् भनेर परिवारहरूले विचार गर्नुपर्छ?
१३ आफ्ना छोराछोरीलाई अतिरिक्त शिक्षा दिने कि नदिने भन्ने विषयमा निर्णय गर्ने अधिकार र जिम्मेवारी प्रत्येक परिवारको हो। राम्ररी छनौट गऱ्यो भने यस्तो शिक्षा मदतकारी हुनसक्छ। तथापि, यो पासो पनि हुनसक्छ। अतिरिक्त शिक्षा लिने विचार गर्दै हुनुहुन्छ भने, तपाईंको उद्देश्य के हो? के वयस्क भएपछि वहन गर्नुपर्ने जिम्मेवारीहरू उचित ढंगमा पूरा गर्न आफूलाई तयारी गर्नु हो? वा “आफ्नै निम्ति ठूला कुराहरू” खोज्नु हो? (यर्मिया ४५:५; २ थिस्सलोनिकी ३:१०; १ तिमोथी ५:८; ६:९) घरदेखि टाढा हस्टेलमा बसेर अतिरिक्त शिक्षा लिनुपऱ्यो भने नि? के “खराब संगतले भला चाल-चलनलाई बिगार्दछ” भन्ने पावलको चेताउनीअनुसार घरदेखि टाढा रहनु बुद्धिमानी कार्य होला? (१ कोरिन्थी १५:३३; २ तिमोथी २:२२) यो पनि ध्यानमा राख्नुहोस् कि “समय अल्प भएको छ।” (१ कोरिन्थी ७:२९) तपाईंले यस्तो शिक्षा हासिल गर्न कति समय खर्च गर्नुपर्नेछ? के तपाईंको युवावस्थाको अधिकांश समय के पढाइ गर्दैमा बित्नेछ? त्यसोभए, “आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्” भन्ने बाइबलको प्रोत्साहन तपाईं कसरी व्यवहारमा उतार्नुहुन्छ? (उपदेशक १२:१) यसबाहेक, के अतिरिक्त शिक्षा लिंदा सभाहरू, क्षेत्र सेवकाई अनि व्यक्तिगत अध्ययनजस्ता महत्त्वपूर्ण मसीही क्रियाकलापहरूका लागि समय पाउनुहुनेछ? (मत्ती २४:१४; हिब्रू १०:२४, २५) तपाईंको ज्ञानेन्द्रिय शक्ति तीखो छ भने, आमाबाबुसँग मिलेर आफ्नो भविष्यबारे योजना बनाउनुहुँदा तपाईंले आध्यात्मिक लक्ष्यहरू बिर्सनुहुने छैन।
विवाहपूर्व भेटघाटलाई आदरणीय राख्ने
१४. (क) विवाहपूर्व भेटघाट गर्ने जोडीहरूलाई एकअर्काप्रति स्नेह देखाउँदा कस्ता सिद्धान्तहरूले डोऱ्याएको हुनुपर्छ? (ख) यसबारे केही जोडीहरूले कसरी समझशक्तिको कमी देखाएका छन्?
१४ तपाईंको ज्ञानेन्द्रिय शक्तिको आवश्यकता पर्ने अर्को क्षेत्र हो, विवाहपूर्व भेटघाट। तपाईंले माया गर्नुहुने व्यक्तिलाई स्नेह देखाउन चाहनु स्वभाविकै हो। स्पष्टतः श्रेष्ठगीतमा वर्णन गरिएको स्वच्छ आचरण राखेका प्रेमी-प्रेमिकाले एकअर्काप्रति विवाहपूर्व केही स्नेहका कुराकानी तथा अभिव्यक्ति आदानप्रदान गरे। (श्रेष्ठगीत १:२; २:६; ८:५) त्यसै गरी आज विवाहपूर्व भेटघाट गर्ने प्रेमी-प्रेमिकालाई विवाह गर्ने नै भएको हुँदा एकअर्काको हात समात्नु, चुम्बन गर्नु अनि अंकमाल गर्नु उचित नै छ जस्तो लाग्ला। तर सम्झनुहोस्: “आफ्नै बुद्धिमा मात्र भरोसा गर्नु सरासर मूर्खता हो।” (हितोपदेश २८:२६) दुःखको कुरा, थुप्रै जोडीहरूले समझशक्ति प्रयोग नगरेर आफूलाई प्रलोभक अवस्थाहरूमा पुऱ्याएका छन्। तिनीहरूको स्नेहका अभिव्यक्तिहरू तीव्र र अनियन्त्रित भएका छन्। फलस्वरूप, तिनीहरूबीच अशुद्ध कामकुराका साथै यौन अनैतिकतामा फसेका छन्।
१५, १६. अविवाहित जोडीले विवाहपूर्वको भेटघाट आदरणीय राख्न कस्ता व्यवहारिक सावधानी अपनाउनसक्छन्?
१५ तपाईं डेटिङ गर्दै हुनुहुन्छ भने, आफ्नो सम्भाव्य जीवन साथीसँग अप्ठ्यारो परिस्थितिहरूमा एक्लै भेटघाट नगर्नु बुद्धिमानी हुन्छ। अतः समूहमा वा सार्वजनिक स्थानहरूमा एकअर्काको संगतिको आनन्द उठाउनु उचित हुनसक्छ। केही जोडीहरूले आफूसित अर्को साथी सँगै लैजाने गर्छन्। साथै होशे ४:११ का शब्दहरूलाई पनि ध्यान दिनुहोस्: “दाखमद्य र नयाँ दाखमद्यले बुद्धि नाश पार्छ।” मद्यले गर्दा सही निर्णय गर्न नसक्ने बनाउँछ अनि विवाह गर्ने उद्देश्यले भेटघाट गरिरहेका जोडीबाट पछि पछुताउनुपर्ने कार्य हुनसक्छ।
१६ हितोपदेश १३:१० यसो भन्छ: “अट्टेरीको घमण्डले झगड़ा उठाउँछ, सर-सल्लाह लिनेहरूका बीचमा बुद्धि पाइन्छ।” हो, एकअर्काप्रति कस्तो व्यवहार गर्ने भनी “सर-सल्लाह” र छलफल गर्नुहोस्। एकअर्काका भावनाहरू र अन्तस्करणलाई कदर गर्दै ठीक मात्रामा स्नेह प्रदर्शित गर्नुहोस्। (१ कोरिन्थी १३:५; १ थिस्सलोनिकी ४:३-७; १ पत्रुस ३:१६) यस्तो संवेदनशील विषयबारे कुरा गर्नु सुरुमा अप्ठ्यारो लाग्नसक्छ तर यसरी कुरा गर्नुभयो भने पछि गम्भीर समस्याहरूबाट बच्नुहुनेछ।
“बाल्यकालदेखिनै” सिकाइएका
१७. दाऊदले कसरी “बाल्यकालदेखिनै” यहोवालाई ‘आफ्नो भरोसा बनाए’ अनि आजका युवाजनहरूले यसबाट कस्तो पाठ सिक्नसक्छन्?
१७ शैतानका पासोहरूबाट बच्न तपाईंले निरन्तर सतर्कता अपनाउनुपर्ने हुन्छ र कहिलेकाहीं त ठूलो साहसको आवश्यकता पर्छ। कहिलेकाहीं साथीहरूमाझ मात्र नभई सारा संसारमा नै आफूलाई एकलकाँटे जस्तो लाग्नसक्छ। भजनरचयिता दाऊदले यसरी प्रार्थना गरे: “हे परमप्रभु, तपाईं मेरो आशा हुनुहुन्छ, मेरो बाल्यकालदेखिनै तपाईं मेरो भरोसा हुनुहुन्छ। हे परमेश्वर, बाल्यकालदेखिनै तपाईंले मलाई शिक्षा दिनुभएको छ, र अहिलेसम्म पनि तपाईंको उदेकको कार्यहरू मैले घोषणा गरेको छु।” (भजनसंग्रह ७१:५, १७)c दाऊद साहसी व्यक्तिको रूपमा परिचित थिए। तर तिनी कहिलेदेखि साहसी भए? बाल्यकलदेखि नै! गोल्यतसँगको नाउँ चलेको मुठभेड हुनुअघि नै दाऊदले आफ्नो बुबाको भेडा-बाख्रा बचाउन सिंह र भालू मारेर असाधारण साहस देखाइसकेका थिए। (१ शमूएल १७:३४-३७) तथापि, “बाल्यकालदेखिनै तपाईं मेरो भरोसा हुनुहुन्छ” भनेर दाऊदले आफ्नो साहसको श्रेय यहोवालाई दिए। दाऊदले यहोवामाथि भरोसा राखेको हुनाले तिनी हरेक परीक्षा सामना गर्नसक्ने भए। तपाईंले पनि यहोवामाथि भरोसा राख्नुभयो भने, “संसारमाथि विजयी” हुन उहाँले तपाईंलाई साहस र बल दिनुहुनेछ।—१ यूहन्ना ५:४.
१८. आजका ईश्वरभीरु युवाजनहरूलाई कस्तो आग्रह गरिएको छ?
१८ तपाईंजस्ता हजारौं युवायुवतीहरूले साहसिक कदम चालेका छन् अनि अहिले सुसमाचारका बप्तिस्माप्राप्त प्रकाशकको रूपमा सेवा गरिरहेका छन्। तपाईं युवायुवतीहरूको विश्वास र साहसका लागि हामी परमेश्वरलाई धन्यवाद दिन्छौं! संसारको भ्रष्टाचारबाट अलग रहन दृढ हुनुहोस्। (२ पत्रुस १:४) आफ्नो बाइबल प्रशिक्षित ज्ञानेन्द्रियको सदुपयोग गरिरहनुहोस्। यसो गर्नाले तपाईं अहिले विपत्तिबाट बच्नुहुनेछ भने अन्ततः तपाईंको उद्धार सुनिश्चित हुनेछ। साँच्चै, यसपछिको अन्तिम लेखले औंल्याएझैं तपाईं आफ्नो जीवन सफल बनाउन सक्नुहुनेछ।
[फुटनोटहरू]
a नोभेम्बर ८, १९९८ को ब्यूँझनुहोस्!, “युवा जनहरू सोध्छन् . . . म सत्यलाई आफ्नै कसरी बनाउनसक्छु?” लेख हेर्नुहोस्।
b नोभेम्बर १, १९९२ को प्रहरीधरहरा-मा प्रकाशित “सामाजिक मनोरञ्जन—त्यसका लाभहरूबाट आनन्द उठाउनुहोस्, खतराहरूबाट जोगिनुहोस्” भन्ने लेखमा यसबारे प्रशस्त मात्रमा जानकारी दिइएको छ।
c भजनसंग्रह ७१ पनि भजनसंग्रह ७० कै बाँकी भाग जस्तो देखिन्छ। यो कुरा, दाऊदको भजनको शीर्षकमुनिका शब्दहरूबाट थाह हुन्छ।
पुनरावलोकनका लागि प्रश्नहरू
◻ युवाजनले कसरी आफ्नो ज्ञानेन्द्रिय शक्ति अभ्यास गर्नसक्छन्?
◻ मसीही जमघटहरूमा उपस्थित हुनेबारे युवाजनले कसरी आफ्नो ज्ञानेन्द्रिय शक्ति प्रयोग गर्नसक्छन्?
◻ शिक्षाबारे योजना बनाउँदा कस्ता कुराहरू छलफल गर्न सकिन्छ?
◻ विवाह गर्ने उद्देश्यले भेटघाट गर्ने जोडीहरू कसरी अनैतिकताको पासोबाट जोगिनसक्छन्?
[पृष्ठ १५-मा भएको चित्र]
अनुसन्धान गर्न सिक्नाले तपाईंको ज्ञानेन्द्रिय शक्तिको अभ्यास गर्न मदत पाउनुहुनेछ
[पृष्ठ १६मा भएको चित्र]
साना जमघटहरू निरीक्षण गर्न सजिलो हुन्छ अनि अनियन्त्रित भोजमा परिणत हुने सम्भावना कम हुन्छ
[पृष्ठ १६मा भएको चित्र]
शिक्षाबारे योजना बनाउन आमाबाबुहरूले छोराछोरीलाई सहयोग गर्नुपर्छ
[पृष्ठ १७मा भएको चित्र]
एक्लैदोकलैमा नगरिएको डेटिङ सुरक्षित हुन्छ