व्यापारिक इलाकामा निर्धक्क भएर साक्षी दिनुहोस्
१. व्यापारिक इलाकामा साक्षी दिन डर लाग्छ भने हामी किन निराश हुनुपर्दैन?
१ के तपाईंलाई व्यापारिक इलाकामा साक्षी दिन डर लाग्छ? लाग्छ भने निराश नहुनुहोस्। किनभने साहसी अनि निडर प्रचारक पावललाई समेत प्रचार गर्न “साहस” चाहिएको थियो। (१ थिस्स. २:२) आउनुहोस्, हामीले साधारणतया सामना गर्नुपर्ने केही चुनौती तथा ती चुनौतीको सामना गर्न मदत दिने केही व्यावहारिक सुझाव विचार गरौं।
२. कामदार रिसाउने हुन् कि भनेर किन चिन्ता गर्नुपर्दैन?
२ काममा बाधा पुऱ्याउँदा कामदार रिसाउने हुन् कि? थुप्रै व्यापार-व्यवसायमा कामदारहरू ग्राहकको सेवाको लागि नै बसेका हुन्छन्। त्यसैकारण तिनीहरूलाई काममा खलल पुगेको महसुस हुँदैन। तिनीहरूको लागि तपाईं सम्भाव्य ग्राहक भएकोले तिनीहरू प्रायः नम्र भएर कुरा गर्छन्। भद्र पहिरन लगाउँदा अनि तिनीहरूसित मित्रैलो हुँदा तिनीहरूलाई तपाईंसित आदरपूर्वक व्यवहार गर्न उत्प्रेरित गराइरहनुभएको हुनेछ।
३. ग्राहकहरूलाई दिक्क बनाउनदेखि हामी कसरी जोगिन सक्छौं?
३ थुप्रै ग्राहकको अगाडि साक्षी दिनुपर्ने हो कि? सम्भव छ भने पसलमा त्यत्ति भीडभाड नहुने समयमा जानुहोस्। जस्तै, बिहान पसल खोल्ने समयमा। म्यानेजर वा कामदारले फुर्सत नपाउन्जेल पर्खनुहोस्। छोटो कुराकानी गर्नुहोस्।
४. व्यापारिक इलाकामा प्रचार गर्दा हामी के भन्न सक्छौं?
४ के भन्न सकिन्छ? कामदार धेरै छन् भने मुख्य व्यक्तिसित कुरा गर्नुहोस्। व्यापारीहरूलाई तपाईं यसो भन्न सक्नुहुन्छ: “तपाईंहरूलाई घरमा भेट्न नसकेकोले यहाँ आएका हौं। तपाईं व्यस्त हुनुहुन्छ होला। त्यसकारण छोटकरीमा बताउँछु नि।” हामीलाई सामान बेच्ने मान्छे नभन्ठानोस् भनेर अक्सर अनुदानको प्रबन्धबारे नसोधेसम्म नबताउनु नै बेस हुन्छ। हाम्रो काम कसरी चलिरहेको छ भनेर तिनले बुझ्न चाहेमा यसबारे बताउन सकिन्छ। कस्तो किसिमको व्यवसाय हो, विचार गर्दै अरू कामदारसित पनि छोटो कुरा गर्न सकिन्छ कि भनेर म्यानेजरसित अनुमति माग्न सक्नुहुन्छ। कामदारसित पनि त्यसरी नै कुरा गर्नुहोस्। कामदार व्यस्त छन् भने छोटो कुरा गर्नुहोस् र तिनलाई एउटा पर्चा दिनुहोस्। तर कामदारहरूसित कुरा गर्न सम्भव छैन भने हाम्रो प्रकाशन चिया खाने कोठामा वा सजिलै देख्न सकिने ठाउँमा छोडिदिनुहोस्।
५. के-कस्ता कारणले गर्दा हामी व्यापारिक इलाकामा निर्धक्क भई साक्षी दिन सक्छौं?
५ पावल अनि येशूले मानिसहरूलाई तिनीहरूको काम गर्ने ठाउँमै गएर निर्धक्कसाथ प्रचार गर्नुभयो र तपाईं पनि त्यसै गर्न सक्नुहुन्छ। (मत्ती ४:१८-२१; ९:९; प्रेषि. १७:१७) ढुक्क भएर अनि साहसका साथ कुरा गर्न यहोवासित मदत माग्नुहोस्। (प्रेषि. ४:२९) व्यापारिक इलाकामा मान्छे नभेटिने त कमै होला। त्यसकारण यस्तो फलदायी किसिमको साक्षी दिने तरिका अपनाउने कोसिस गर्नुभए कसो होला?