प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 २/१५ pp. १७-२२
  • हाम्रो मसीही चिनारीलाई सुरक्षित राख्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रो मसीही चिनारीलाई सुरक्षित राख्ने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंको मसीही चिनारीलाई दृढ बनाउनुहोस्‌
  • परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन कटिबद्ध हुनुहोस्‌
  • अतीतबाट सिक्नुहोस्‌, भविष्यको लागि तयारी गर्नुहोस्‌
  • स्पष्ट चिनारी, वास्तविक आशिष्‌हरू
  • मसीहीहरू हो—आफ्नो चिनारीमा गर्व गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • ९ आफैलाई चिन्‍नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१८
  • म कस्तो व्यक्‍ति हुँ?
    युवाहरूको १० प्रश्‍नका जवाफहरू
  • युवाहरू हो—साथीहरूको दबाबको प्रतिरोध गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 २/१५ pp. १७-२२

हाम्रो मसीही चिनारीलाई सुरक्षित राख्ने

“परमप्रभु भन्‍नुहुन्छ, ‘तिमीहरू मेरा साक्षी . . . हौ।’ ”—यशैया ४३:१०.

१. यहोवाले कस्ता मानिसहरूलाई आफूतिर खिच्नुहुन्छ?

तपाईं राज्यभवनमा हुँदा चारैतिर राम्ररी हेर्नुहोस्‌। यस उपासना थलोमा तपाईं क-कसलाई देख्नुहुन्छ? धर्मशास्त्रीय बुद्धिलाई उत्कट ध्यान दिएर ग्रहण गरिरहेका निष्कपट जवानहरूलाई देख्नुहोला। (भजन १४८:१२, १३) पारिवारिक जीवनलाई अवहेलना गर्ने संसारमा बाँचिरहेको भए तापनि परिवारलाई खुसी तुल्याउन प्रयास गरिरहेका परिवारका शिरहरूलाई तपाईंले देख्नुहोला। ढल्कँदो उमेरका पीडाहरूको बावजुद यहोवाप्रतिको समर्पण अनुरूप जीवन बिताउँदै अटल रहिरहेका प्रिय वृद्ध जनहरूलाई पनि तपाईंले देख्नुहोला। (हितोपदेश १६:३१) सबैले यहोवालाई असाध्यै प्रेम गर्छन्‌। अनि उहाँले तिनीहरूलाई आफूसित सम्बन्ध गाँस्नको लागि आफूतिर खिच्न उचित ठान्‍नुभयो। परमेश्‍वरको पुत्रले यसरी पुष्टि गर्नुभयो: “मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्‍तैन।”—यूहन्‍ना ६:३७, ४४, ६५.

२, ३. मसीही चिनारीबारे एकदमै सचेत रहिरहनु किन चुनौतीपूर्ण हुन सक्छ?

२ यहोवाको अनुमोदन र आशिष्‌ पाएका मानिसहरूमध्ये हुन पाएकोमा के हामी खुसी छैनौं र? यद्यपि यो “डरलाग्दो समयमा” हाम्रो मसीही चिनारीप्रति एकदमै सचेत रहिरहनु चुनौतीपूर्ण छ। (२ तिमोथी ३:१) मसीही परिवारहरूमा हुर्काइएका जवानहरूको सन्दर्भमा यो विशेष गरी लागू हुन्छ। त्यस्तै एक जना जवानले यसरी मानिलिए, “म मसीही सभाहरू धाइरहेको थिएँ तर मेरो कुनै स्पष्ट आध्यात्मिक लक्ष्य थिएन अनि कुरा नलुकाई भन्‍ने हो भने, मैले यहोवाको सेवा गर्ने व्यक्‍तिगत इच्छा विकास गरेको थिइनँ।”

३ कोही-कोही भने साँच्चै यहोवाको सेवा गर्ने इच्छा राख्छन्‌ तर साथीहरूको तीव्र दबाब, सांसारिक प्रभाव र पापपूर्ण झुकावले गर्दा अलमलिन सक्छन्‌। हामीमाथि दबाब आइपर्दा यसले बिस्तारै हाम्रो मसीही चिनारी गुमाउन लगाउन सक्छ। उदाहरणका लागि, आज संसारमा थुप्रैले नैतिकतासम्बन्धी बाइबलका स्तरहरू पुरानो जमानाको वा अव्यावहारिक ठान्छन्‌। (१ पत्रुस ४:४) कसै-कसैलाई भने परमेश्‍वरले भन्‍नुभएअनुसारै उहाँको उपासना गर्नु आवश्‍यक छैन जस्तो लाग्न सक्छ। (यूहन्‍ना ४:२४) एफिसीहरूलाई लेखेको पत्रमा पावलले यस संसारको “आत्मा” वा प्रबल मनोभावबारे बताएका छन्‌। (एफिसी २:२) त्यो मनोभावले मानिसहरूलाई यहोवालाई नचिन्‍ने समाजको सोचाइ अनुरूप चल्ने दबाब दिन्छ।

४. मसीहीहरूको हैसियतमा हाम्रो स्पष्ट चिनारीलाई सुरक्षित राख्नुपर्ने खाँचोलाई येशूले कसरी जोड दिनुभयो?

४ तथापि, यहोवाका समर्पित सेवकहरूको हैसियतमा जवान होस्‌ वा वृद्ध, हामीले आफ्नो मसीही चिनारी गुमाउनु भनेको अत्यन्तै दुःखदायी कुरा हुनेछ भनेर हामीले बुझेका छौं। मसीही चिनारीप्रति उचित दृष्टिकोण, यहोवाको स्तर अनि उहाँले हामीबाट चाहनुहुने कुरामा मात्रै निर्भर हुन सक्छ। आखिर, हामी उहाँकै स्वरूपमा बनाइएका छौं। (उत्पत्ति १:२६; मीका ६:८) मसीहीहरूको हैसियतमा हाम्रो स्पष्ट चिनारीलाई सबैले देख्ने गरी लगाइने लुगासित बाइबलले तुलना गरेको छ। हाम्रो समयबारे येशूले यस्तो चेतावनी दिनुभयो: “हेर, म चोरजस्तै आउनेछु। त्यो धन्यको हो, जो सतर्क रहन्छ, र आफ्ना लुगाको रखवाली गर्छ। नत्रता त्यो नाङ्‌गै हिंड्‌नेछ, र तिनीहरूले त्यसको लाज देख्नेछन्‌।”a (प्रकाश १६:१५) हामी आफ्ना मसीही गुण तथा आचरणको स्तर त्याग्न अनि शैतानको संसारअनुसार ढालिन चाहँदैनौं। त्यसो भयो भने हामीले आफ्नो “लुगा” गुमाउनेछौं। त्यस्तो अवस्था अफसोसपूर्ण र लाजमर्दो हुनेछ।

५, ६. आध्यात्मिक स्थायित्व किन अत्यावश्‍यक छ?

५ मसीही चिनारीबारे एकदमै सचेत रहँदा आफ्नो जीवन कसरी बिताउने हो, त्यसलाई निकै असर गर्छ। कसरी? यहोवाको उपासकले आफ्नो चिनारी बिर्सन थाले भने तिनी यताउता अलमलिन सक्छन्‌ अनि तिनको जीवनमा कुनै खास दिशा वा लक्ष्य नहुन सक्छ। त्यस्तो दोहोरो मनको नहुन बाइबलले बारम्बार चेतावनी दिन्छ। चेला याकूबले यसरी सतर्क गराए, “सन्देह गर्नेचाहिं बतासले हुत्तिएर उचाल्दै पछार्दै गरेका समुद्रका लहरीसमान हुनेछ। किनकि त्यस मानिसले यस्तो नसम्झोस्‌, कि उसले प्रभुबाट केही पाउनेछ। दोहोरो मन भएको मानिस उसको सबै चाल-चलनमा चञ्चल हुन्छ।”—याकूब १:६-८; एफिसी ४:१४; हिब्रू १३:९.

६ हामी आफ्नो मसीही चिनारीलाई कसरी सुरक्षित राख्न सक्छौं? सर्वोच्चका उपासकहरू हुने हाम्रो महान्‌ सुअवसरप्रति अझ बढी सजग हुँदै जान हामीलाई कुन कुराले मदत गर्न सक्छ? कृपया निम्न तरिकाहरू विचार गर्नुहोस्‌।

तपाईंको मसीही चिनारीलाई दृढ बनाउनुहोस्‌

७. हामीलाई जाँच्नुहोस्‌ भनी यहोवालाई बिन्ती गर्नु किन लाभदायी हुन्छ?

७ यहोवासित तपाईंको सम्बन्धलाई निरन्तर बलियो बनाइरहनुहोस्‌। मसीहीको सबैभन्दा बहुमूल्य सम्पत्ति भनेको परमेश्‍वरसित तिनको व्यक्‍तिगत सम्बन्ध हो। (भजन २५:१४; हितोपदेश ३:३२) हाम्रो मसीही चिनारीबारे मनमा शङ्‌काहरू उब्जन थाले भने परमेश्‍वरसित हाम्रो सम्बन्ध कत्तिको बलियो र प्रगाढ छ भनेर हामीले गम्भीरतापूर्वक केलाउनुपर्छ। भजनहारले यस्तो बिन्ती गर्नु उचित थियो: “मलाई जाँच्नुहोस्‌, हे परमप्रभु, र प्रमाणित गर्नुहोस्‌, मेरो मन र हृदय जाँच्नुहोस्‌।” (भजन २६:२) त्यसरी जाँच्नु किन अत्यावश्‍यक छ? किनभने हाम्रो मनभित्र लुकेका मनसाय वा भित्री झुकावहरूलाई हामी आफैले केलाएर त्यसैमा मात्र भर पर्न सक्दैनौं। यहोवाले मात्र हाम्रो भित्री मनुष्यत्व—हाम्रो मनसाय, सोचाइ र भावनाहरू राम्ररी बुझ्न सक्नुहुन्छ।—यर्मिया १७:९, १०.

८. (क) यहोवाले जाँच्नुहुँदा हामी कसरी लाभ उठाउन सक्छौं? (ख) मसीहीको रूपमा प्रगति गर्न तपाईंले कसरी मदत पाउनुभएको छ?

८ हामीलाई जाँच्नुहोस्‌ भनी यहोवालाई बिन्ती गर्दा हाम्रो परीक्षा गर्नुहोस्‌ भनी यहोवालाई आग्रह गरिरहेका हुन्छौं। उहाँले हाम्रो साँचो मनसाय अनि हाम्रो हृदयको अवस्था वास्तवमा कस्तो छ भनेर प्रकट हुने परिस्थितिहरू आइपर्न दिन सक्नुहुन्छ। (हिब्रू ४:१२, १३; याकूब १:२२-२५) हामीले त्यस्ता परीक्षाहरूको स्वागत गर्नुपर्छ किनभने त्यसले यहोवाप्रति हाम्रो वफादारी कत्तिको गहिरो छ भनी देखाउने मौका दिन्छ। त्यसले हामी “कुनै कुराको अभाव नभएर सिद्ध र पूर्ण” भएका छौं कि छैनौं भनी देखाउन सक्छ। (याकूब १:२-४) अनि परीक्षा भोग्दा हामी आध्यात्मिकतामा बढ्‌न सक्छौं।—एफिसी ४:२२-२४.

९. बाइबल सत्यहरूबारे आफू पूर्णतया विश्‍वस्त हुने गरी अध्ययन गर्नुको के कुनै विकल्प छ? व्याख्या गर्नुहोस्‌।

९ बाइबल सत्यबारे पूर्णतया विश्‍वस्त हुने गरी अध्ययन गर्नुहोस्‌। यहोवाका सेवकहरूको हैसियतमा हाम्रो चिनारीप्रतिको सजगता धर्मशास्त्रको ज्ञानमा बलियो गरी जरा गाडेको छैन भने यो बिस्तारै कमजोर हुन सक्छ। (फिलिप्पी १:९, १०) जवान होस्‌ वा वृद्ध, सबै मसीहीले आफूले विश्‍वास गरेका कुराहरू साँच्चै बाइबलमा पाइने सत्य हो भनेर आफूलाई नै चित्त बुझेको हुनुपर्छ। पावलले सँगी विश्‍वासीहरूलाई यस्तो आग्रह गरे: “सबै कुराको जाँच गर, जुन असल छ, त्यसैमा लागिरहो।” (१ थिस्सलोनिकी ५:२१) ईश्‍वरभीरु परिवारमा हुर्केका जवान मसीहीहरूले आफ्ना आमाबाबुको विश्‍वासको भरमा मात्र आफू साँचो मसीहीहरू हुन सक्दैनौं भनेर बुझ्नै पर्छ। सुलेमानका बुबा दाऊदले तिनलाई “तिम्रा पिताका परमेश्‍वरलाई आफ्नै ईश्‍वर मान [“आफैले चिन,” NW]” भनी आग्रह गर्दै सम्झाए। (१ इतिहास २८:९) आफ्नो बुबाले यहोवामा आफ्नो विश्‍वास कसरी बलियो बनाउँदै लगे भनेर जवान सुलेमानले देखेको भरमा मात्र केही हुने थिएन। तिनी आफैले यहोवालाई चिन्‍नुपर्थ्यो र तिनले त्यसो गरे पनि। तिनले परमेश्‍वरलाई यस्तो व्यग्र बिन्ती गरे: “यस प्रजाको अगुवाइ गर्न मलाई बुद्धि र ज्ञान दिनुहोस्‌।”—२ इतिहास १:१०.

१०. सही मनसाय राखेर निष्कपट प्रश्‍नहरू सोध्नुमा किन कुनै गल्ती छैन?

१० बलियो विश्‍वास ज्ञानमा आधारित हुन्छ। पावलले यसो भने, “विश्‍वास सुनाइबाट . . . आउँछ।” (रोमी १०:१७) तिनले भन्‍न खोजेको कुरा के थियो? परमेश्‍वरको वचन अध्ययन गरेर हामी यहोवा, उहाँका प्रतिज्ञाहरू र उहाँको संगठनमा आफ्नो विश्‍वास र विश्‍वस्ततालाई बलियो बनाउँछौं। बाइबलसम्बन्धी निष्कपट प्रश्‍नहरू सोध्दा आश्‍वासनदायी जवाफहरू पाउन सकिन्छ। साथै, रोमी १२:२ मा हामी पावलको यो सल्लाह पाउँछौं: “परमेश्‍वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।” यो हामी कसरी प्राप्त गर्न सक्छौं? “सत्यको” सही ज्ञान लिएर। (तीतस १:१) यहोवाको आत्माले हामीलाई कठिन विषयहरू पनि बुझ्न मदत गर्न सक्छ। (१ कोरिन्थी २:११, १२) कुनै कुरा बुझ्न गाह्रो पर्दा हामीले यहोवाको मदतको लागि प्रार्थना गर्नुपर्छ। (भजन ११९:१०, ११, २७) हामीले उहाँको वचन बुझेको, त्यसमा विश्‍वास गरेको अनि त्यो पालन गरेको यहोवा चाहनुहुन्छ। सही मनसायले सोधिएका निष्कपट प्रश्‍नहरूको उहाँ स्वागत गर्नुहुन्छ।

परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन कटिबद्ध हुनुहोस्‌

११. (क)कस्तो स्वाभाविक इच्छाले हामीलाई पासोमा पार्न सक्छ? (ख) साथीहरूको दबाबको प्रतिरोध गर्ने साहस हामी कसरी बटुल्न सक्छौं?

११ मानिसलाई होइन परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन खोज्नुहोस्‌। एउटा समूहको भागको रूपमा हाम्रो चिनारी बनाउन खोज्नु स्वाभाविकै हो। सबैलाई साथी चाहिन्छ अनि साथीहरूले स्वीकारेको महसुस गर्दा हामीलाई खुसी लाग्छ। युवावस्था अनि पछि वयस्क जीवनमा पनि साथीहरूको दबाब एकदमै प्रबल हुन सक्छ र यसले अरूको नक्कल गर्ने वा अरूलाई खुसी तुल्याउने तीव्र इच्छा जगाउन सक्छ। तर साथीभाइ तथा एउटै समूहका व्यक्‍तिहरूले सधैं हाम्रो हित चाहिरहेका हुँदैनन्‌। कहिलेकाहीं तिनीहरू गलत काम गर्न साथी मात्र खोजिरहेका हुन्छन्‌। (हितोपदेश १:११-१९) साथीहरूबाट आउने गलत किसिमको दबाबको सिकार बन्दा मसीहीले अक्सर आफ्नो चिनारी लुकाउन खोज्छन्‌। (भजन २६:४) “यस संसारसित एकै चालका नहोओ” भनी प्रेरित पावलले चेतावनी दिए। (रोमी १२:२) अरूजस्तै हुने कुनै बाह्‍य दबाबको प्रतिरोध गर्न चाहिने आन्तरिक बल यहोवाले हामीलाई दिनुहुन्छ।—हिब्रू १३:६.

१२. परमेश्‍वरमा हाम्रो भरोसा मुछिंदा कुन सिद्धान्त र उदाहरणले हाम्रो अडानमा अटल रहने बल दिन सक्छ?

१२ बाहिरबाट आउने दबाबले मसीही चिनारीबारे हाम्रो सजगतालाई खतरामा पार्न खोज्दा मानिसहरूले के सोच्छन्‌ वा अधिकांश मानिसहरूमाझ कस्तो लहड चलेको छ भनेर विचार गर्नुभन्दा यहोवाप्रति हाम्रो वफादारी कता हो कता महत्त्वपूर्ण कुरा हो भनेर सोच्नु बेस हो। प्रस्थान २३:२ का शब्दहरू हाम्रो लागि एउटा भरपर्दो सिद्धान्त हो: “खराबी गर्न भीडसँग नलाग्‌।” अधिकांश सँगी इस्राएलीहरूले आफ्ना प्रतिज्ञाहरू पूरा गर्ने यहोवाको क्षमतामा शङ्‌का गर्दा कालेबले भने भीडको पछि नलाग्न दृढ अडान लिए। परमेश्‍वरका प्रतिज्ञाहरू भरपर्दा छन्‌ भनेर तिनलाई पक्का थियो अनि यस्तो अडान लिएकोमा तिनले प्रशस्त आशिष्‌ पाए। (गन्ती १३:३०; यहोशू १४:६-११) के तपाईं पनि यहोवासितको सम्बन्धलाई सुरक्षित राख्न आम मानिसहरूको धारणाको कारण आइपर्ने दबाबको प्रतिरोध गर्न त्यसरी नै इच्छुक हुनुहुन्छ?

१३. मसीहीहरूको रूपमा हाम्रो चिनारीबारे अरूलाई थाह दिनु किन बुद्धिमानी मार्ग हो?

१३ तपाईंको मसीही चिनारीबारे अरूलाई थाह दिनुहोस्‌। हाम्रो मसीही चिनारीको पक्षमा खडा हुँदा सबैभन्दा बलियो प्रतिरोध भनेकै हामी आफै अग्रसर हुनु हो भन्‍ने भनाइमा सत्यता छ। एज्राको समयमा यहोवाको इच्छा गर्ने प्रयास गर्दा विरोध सामना गर्नुपरेका विश्‍वासी इस्राएलीहरूले यसो भने: “हामी त स्वर्ग र पृथ्वीका परमेश्‍वरका सेवक हौं।” (एज्रा ५:११) वैरभावपूर्ण मानिसहरूको प्रतिक्रिया र आलोचनाले प्रभावित भयौं भने हामी डरले केही गर्नै नसक्ने हुन सक्छौं। सबैलाई खुसी पार्न खोज्दा हाम्रो प्रभावकारिता कमजोर हुनेछ। त्यसैले नडराउनुहोस्‌। तपाईं एक जना यहोवाको साक्षी हुनुहुन्छ भनेर अरूलाई स्पष्टसित थाह दिनु सधैं बेस हो। आदरपूर्ण तर दृढ ढङ्‌गमा तपाईंले आफ्ना मूल्यमान्यता तथा विश्‍वास अनि मसीहीको रूपमा तपाईंको अडानबारे अरूलाई बताउन सक्नुहुन्छ। नैतिकताको सन्दर्भमा यहोवाको उच्च स्तर कायम गर्न तपाईं कटिबद्ध हुनुहुन्छ भनेर अरूलाई थाह दिनुहोस्‌। तपाईंको मसीही निष्ठामा कुनै सम्झौता गर्न सकिंदैन भनेर स्पष्ट पार्नुहोस्‌। तपाईं आफ्नो नैतिक स्तरमा गर्व गर्नुहुन्छ भनेर देखाउनुहोस्‌। (भजन ६४:१०) दृढ मसीहीको रूपमा खडा हुँदा तपाईं सुदृढ हुन सक्नुहुन्छ, तपाईंको सुरक्षा हुन सक्छ अनि त्यति मात्र होइन, कोही-कोहीलाई यहोवा र उहाँका जनबारे सोधपूछ गर्न समेत उत्प्रेरित गर्न सक्छ।

१४. के गिल्ला वा सतावट आइपर्दा हामी निरुत्साहित हुनुपर्छ? व्याख्या गर्नुहोस्‌।

१४ हो, कसै-कसैले तपाईंको गिल्ला वा विरोध गर्न सक्छन्‌। (यहूदा १८) तपाईंका मूल्यमान्यताबारे अरूलाई बताउने प्रयास गर्दा तिनीहरूले राम्रो प्रतिक्रिया देखाउँदैनन्‌ भने निरुत्साहित नहुनुहोस्‌। (इजकिएल ३:७, ८) तपाईं जतिसुकै कटिबद्ध हुनु भए तापनि चित्त बुझाउनै नचाहने मानिसहरूलाई तपाईंले कुनै हालतमा चित्त बुझाउन सक्नुहुनेछैन। फिरऊनलाई सम्झनुहोस्‌। कुनै विपत्ति वा चमत्कारले—यहाँसम्म कि आफ्नै जेठो पुत्र गुमाउनुपर्दा समेत मोशाले यहोवाकै पक्षमा बोलिरहेका थिए भनी फिरऊनलाई मनाउन सकिएन। त्यसैले मानिसको डरले गर्दा केही गर्न नसक्ने अवस्थामा आफूलाई पर्न नदिनुहोस्‌। परमेश्‍वरमाथिको भरोसा र विश्‍वासले हामीलाई डरमाथि विजयी हुन मदत गर्न सक्छ।—हितोपदेश ३:५, ६; २९:२५.

अतीतबाट सिक्नुहोस्‌, भविष्यको लागि तयारी गर्नुहोस्‌

१५, १६. (क) हाम्रो आध्यात्मिक सम्पदा के हो? (ख) परमेश्‍वरको वचनलाई चलाएर हाम्रो आध्यात्मिक सम्पदामा मनन गर्दा हामी कसरी लाभ उठाउन सक्छौं?

१५ तपाईंको आध्यात्मिक सम्पदाको कदर गर्नुहोस्‌। परमेश्‍वरको वचन चलाउँदै मसीहीहरूले आफ्नो बहुमूल्य आध्यात्मिक सम्पदामा चिन्तन गरेर लाभ उठाउन सक्नेछन्‌। यो सम्पदामा यहोवाको वचनको सत्य, अनन्त जीवनको आशा र सुसमाचारका उद्‌घोषकको रूपमा परमेश्‍वरको प्रतिनिधित्व गर्ने सम्मान समावेश छ। के तपाईं उहाँका साक्षीहरूमाझ आफ्नो व्यक्‍तिगत स्थान देख्न सक्नुहुन्छ जुन सम्मानित समूहका मानिसहरूलाई परमेश्‍वरको राज्य प्रचार गर्ने जीवनदायी काम अह्राइएको छ? नबिर्सनुहोस्‌, यसो भन्‍नुहुने यहोवा स्वयम्‌ हुनुहुन्छ: “तिमीहरू मेरा साक्षी . . . हौ।”—यशैया ४३:१०.

१६ तपाईं आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्नुहुन्छ: ‘यो आध्यात्मिक सम्पदा मेरो लागि कत्तिको अनमोल छ? के म परमेश्‍वरको इच्छा गर्नुलाई मेरो जीवनको पहिलो प्राथमिकता बनाउने हदसम्म यसलाई मूल्यवान्‌ ठान्छु? यो सम्पदालाई अत्यन्तै बहुमूल्य ठान्‍ने हुँदा यसलाई त्याग्न लगाउन सक्ने कुनै पनि किसिमको प्रलोभनको प्रतिरोध गर्ने बल मसित छ?’ हाम्रो आध्यात्मिक सम्पदाले हामीमा आध्यात्मिक सुरक्षाको गहिरो भाव पनि जगाउन सक्छ र यो सुरक्षा यहोवाको संगठनभित्र मात्र पाउन सकिन्छ। (भजन ९१:१, २) यहोवाको संगठनको आधुनिक इतिहासका उल्लेखनीय घटनाहरू पुनर्विचार गर्दा यहोवाका जनहरूलाई यस पृथ्वीबाट नामेट पार्न सक्ने कोही पनि व्यक्‍ति वा कुनै चीज छैन भनेर हामीमा गहिरो छाप पार्न सक्छ।—यशैया ५४:१७; यर्मिया १:१९.

१७. हाम्रो आध्यात्मिक सम्पदामा मात्र भर पर्नुको अलावा अरू के चाहिन्छ?

१७ निस्सन्देह, हामी आफ्नो आध्यात्मिक सम्पदामा मात्रै निर्भर हुन सक्दैनौं। हामी प्रत्येकले परमेश्‍वरसित घनिष्ठ सम्बन्ध विकास गर्नै पर्छ। फिलिप्पीका मसीहीहरूको विश्‍वास बढाउन कडा परिश्रम गरिसकेपछि पावलले तिनीहरूलाई यस्तो लेखे: “त्यसो हो भने, ए मेरा प्रिय हो, जसरी तिमीहरूले सधैं आज्ञा पालन गरेका छौ, मेरो उपस्थितिमा जस्तो मात्र होइन, तर अब अरू बढी मेरो अनुपस्थितिमा डर र कम्पसाथ आफ्नो मुक्‍तिको काम पूरा गर्दै जाओ।” (फिलिप्पी २:१२) आफ्नो उद्धारको लागि हामी अरू कसैमा भर पर्न सक्दैनौं।

१८. मसीही गतिविधिहरूले हाम्रो मसीही चिनारीप्रतिको सजगतालाई कसरी अझ मजबुत बनाउन सक्छ?

१८ मसीही गतिविधिहरूमा पूर्णतया व्यस्त रहनुहोस्‌। भनिन्छ, “व्यक्‍तिगत चिनारी बनाउनुमा कामको ठूलो भूमिका हुन्छ।” आज मसीहीहरूलाई परमेश्‍वरको स्थापित राज्यको सुसमाचार प्रचार गर्ने महत्त्वपूर्ण काम दिइएको छ। पावलले यस्तो घोषणा गरे: “अन्यजातिहरूको प्रेरित भएको हुनालेनै म मेरो सेवामा घमण्ड गर्दछु।” (रोमी ११:१३) हाम्रो प्रचारकार्यले हामीलाई संसारबाट अलग्गै छुट्याउँछ अनि यसमा सहभागिताले हाम्रो मसीही चिनारीलाई अझ मजबुत बनाउँछ। मसीही सभा, उपासनाका थलोहरू निर्माण गर्ने कार्यक्रम, खाँचोमा परेकाहरूलाई मदत गर्ने प्रयास अनि यस्तै प्रकारका अन्य ईश्‍वरतान्त्रिक गतिविधिहरूमा पूर्णतया व्यस्त रहँदा मसीहीको रूपमा हाम्रो चिनारीप्रतिको सजगतालाई अझ प्रगाढ बनाउन सक्छ।—गलाती ६:९, १०; हिब्रू १०:२३, २४.

स्पष्ट चिनारी, वास्तविक आशिष्‌हरू

१९, २०. (क) एक जना मसीही भएर तपाईंले व्यक्‍तिगत तवरमा कस्ता लाभहरू उठाउनुभएको छ? (ख) हाम्रो साँचो चिनारीको आधार के हो?

१९ साँचो मसीहीहरू भएको हुँदा हामीले प्राप्त गर्ने थुप्रै आशिष्‌ तथा लाभबारे एकछिन विचार गर्नुहोस्‌ त। हामीले यहोवाद्वारा व्यक्‍तिगत तवरमा चिनिने सुअवसर पाएका छौं। अगमवक्‍ता मलाकीले यसो भने: “परमप्रभुको डर मान्‍नेहरूले आपसमा कुरा गरे, औ परमप्रभुले तिनीहरूका कुरा ध्यानसित सुन्‍नुभयो, औ उहाँको डर मान्‍नेहरू र उहाँको नाउँको सोच गर्नेहरूका नाउँ सम्झनाको पुस्तकमा उहाँकै सामने लेखियो।” (मलाकी ३:१६) परमेश्‍वरले हामीलाई उहाँका साथीहरू ठान्‍न सक्नुहुन्छ। (याकूब २:२३) हाम्रो ठोस उद्देश्‍यबारे स्पष्ट दृष्टिकोण, गहिरो अर्थ अनि स्वास्थ्यकर तथा फलदायी लक्ष्यले हाम्रो जीवनलाई अझ शोभनीय बनाउँछ। अनि हामीलाई अनन्त भविष्यको आशा पनि दिइएको छ।—भजन ३७:९.

२० तपाईंको साँचो चिनारी र मोल, अरू मानिसहरूले तपाईंलाई कस्तो ठान्लान्‌ भन्‍ने कुरामा नभई परमेश्‍वरले कस्तो ठान्‍नुहुन्छ, त्यसमा निर्भर हुन्छ भनेर नबिर्सनुहोस्‌। अरूले तिनीहरूको अपूर्ण मानव स्तरबाट हाम्रो मोल गर्न सक्छन्‌। तर परमेश्‍वरको प्रेम र हामीप्रति उहाँको व्यक्‍तिगत चासोले हाम्रो मोल गर्ने साँचो आधार दिन्छ अर्थात्‌ हामी उहाँकै हौं। (मत्ती १०:२९-३१) फलस्वरूप, परमेश्‍वरप्रतिको हाम्रो प्रेमले हाम्रो चिनारीबारे एकदमै सजग गराउनुका साथै हाम्रो जीवनमा सुस्पष्ट निर्देशन दिन सक्छ। “कसैले परमेश्‍वरलाई प्रेम गर्दछ भने त्यो उहाँबाट चिनिएको हुन्छ।”—१ कोरिन्थी ८:३.

[फुटनोट]

a यी शब्दहरूले यरूशलेमको मन्दिरको गढीमा खटिएका अफिसरको कामबारे छनक दिइरहेको हुन सक्छ। रातको पहरमा तिनी मन्दिरमा गएर लेवी पालेहरू तिनीहरूलाई खटाइएको स्थानमा जागा छन्‌ वा सुतिरहेका छन्‌ भनी हेर्थे। कुनै पाले सुतिरहेको भेटिएको खण्डमा लट्ठीले हिर्काइन्थ्यो अनि लाजमर्दो सजायस्वरूप त्यसको लुगा जलाइन सक्थ्यो।

के तपाईंलाई याद छ?

• मसीहीहरूले आफ्नो आध्यात्मिक चिनारीलाई सुरक्षित राख्नु किन अत्यावश्‍यक छ?

• हामी कसरी आफ्नो मसीही चिनारीलाई दृढ बनाउन सक्छौं?

• कसलाई प्रसन्‍न तुल्याउने भन्‍ने प्रश्‍नको सामना गर्नुपर्दा सही निर्णय गर्न कुन-कुन कुराहरूले मदत गर्न सक्छ?

• हाम्रो चिनारीबारे एकदमै सजग हुँदा यसले मसीहीहरूको रूपमा हाम्रो भविष्यलाई कसरी असर गर्न सक्छ?

[पृष्ठ २१-मा भएका चित्रहरू]

मसीही गतिविधिहरूमा पूर्णतया व्यस्त रहँदा हाम्रो मसीही चिनारी अझ मजबुत हुन सक्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने