‘एक दोस्रोतर्फ कोमल स्नेह देखाउनुहोस्’
“भातृप्रेममा एक दोस्रोतर्फ मायालु [“कोमल स्नेहका,” Nw ] होओ।”—रोमी १२:१०.
१, २. वर्तमान समयका एक जना मिसनरी र प्रेरित पावलले आफ्ना भाइहरूसित कस्तो सम्बन्धको आनन्द उठाए?
सुदूर पूर्वमा ४३ वर्षसम्म गरेको मिसनरी सेवाभरि डन तिनले सेवा गरेकाहरूप्रतिको न्यानोपनको लागि चिनिन्थे। अहिले तिनी मृत्युसित सङ्घर्ष गर्दै गर्दा तिनलाई “काम्साहाम्निडा, काम्साहाम्निडा!” अर्थात् कोरियन भाषामा “धन्यवाद, धन्यवाद!” भन्न तिनले पहिले बाइबल अध्ययन सञ्चालन गरेका केही विद्यार्थीहरू हजारौं किलोमिटर यात्रा गरेर तिनीकहाँ आए। डनको कोमल स्नेहले तिनीहरूको हृदय छोएको थियो।
२ यस्तो उदाहरण डन एक जनाको मात्र होइन। प्रथम शताब्दीमा प्रेरित पावलले आफूले सेवा गरेकाहरूप्रति गहिरो स्नेह व्यक्त गरे। पावल आत्मत्यागी थिए। तिनी दृढ निश्चय भएका मानिस भए तापनि “जसरी धाई-आमाले आफ्ना बालकहरूलाई पोषण गर्दछे, त्यसरी” नै तिनी पनि नम्र र अरूको चासो राख्ने खालका थिए। तिनले थिस्सलोनिकाको मण्डलीलाई यस्तो लेखे: “तिमीहरूको स्नेहपूर्वक चाह गरेर, परमेश्वरको सुसमाचार मात्र होइन तर हाम्रो प्राणसमेत तिमीहरूलाई दिन हामी बढ़तै खुशी थियौं, किनभने तिमीहरू हामीमा प्रिय भएका थियौ।” (१ थिस्सलोनिकी २:७, ८) पछि, एफिससका आफ्ना भाइहरूले उनलाई फेरि देख्नेछैनन् भनी पावलले बताउँदा “तिनीहरू सबै अन्ना-धुन्नसँग रोए, र पावललाई अङ्गालो हालेर चुम्बन गरे।” (प्रेरित २०:२५, ३७) कुरा स्पष्ट छ, पावल र तिनका भाइहरूको विश्वास एउटै भएकोले गर्दा मात्र यस्तो सम्बन्ध भएको थिएन। तिनीहरूसित एक दोस्रोप्रति कोमल स्नेह थियो।
कोमल स्नेह र प्रेम
३. स्नेह र प्रेमको लागि बाइबलमा चलाइएका पदावलीहरू कसरी सम्बन्धित छन्?
३ धर्मशास्त्रमा कोमल स्नेह, सँगी भाव र अनुकम्पा सबैको प्रमुख मसीही गुण प्रेमसित घनिष्ठ सम्बन्ध भएको कुरा देखाइएको छ। (१ थिस्सलोनिकी २:८; २ पत्रुस १:७) सुन्दर हीराका विभिन्न पाटाहरूजस्तै यी सबै ईश्वरीय गुणहरू पनि एक-अर्काको सन्तुलनमा छन् र ती एक दोस्रोका पूरक हुन्। यी गुणहरूले मसीहीहरूलाई एक दोस्रोसित मात्र नभई स्वर्गमा बस्ने तिनीहरूको पितासित पनि नजिक बनाउँछ। त्यसैले प्रेरित पावलले आफ्ना सँगी विश्वासीहरूलाई यस्तो आग्रह गरे: “[तिमीहरूको] प्रेम निष्कपटको होस्। . . . भातृप्रेममा एक दोस्रोतर्फ मायालु [“कोमल स्नेहका,” NW ] होओ।”—रोमी १२:९, १०.
४. “कोमल स्नेह” भन्ने अभिव्यक्तिको अर्थ के हो?
४ “कोमल स्नेह” बुझाउनको लागि पावलले चलाएका युनानी शब्द दुई भाग मिलेर बनेको छ, एउटा भागको अर्थ मित्रता हुन्छ र अर्को भागको अर्थ स्वाभाविक स्नेह भन्ने हुन्छ। एक जना बाइबलविद्ले वर्णन गरेअनुसार मसीहीहरू “यस्तो निष्ठाद्वारा चिनिनुपर्छ जो मायालु, घनिष्ठ र परस्परमा सहयोगी परिवारको विशेषता हो।” के तपाईं आफ्ना मसीही भाइबहिनीहरूबारे यस्तै महसुस गर्नुहुन्छ? मसीही मण्डलीमा न्यानो वातावरण वा बन्धुत्वको भाव छाउनुपर्छ। (गलाती ६:१०) त्यसैले, जे. बि. फिलिप्सको द न्यु टेस्टामेन्ट इन मोडर्न इंग्लिश-ले रोमी १२:१० लाई यसरी अनुवाद गर्छ: “आपसमा हामी दाजुभाइहरूबीचमा जस्तै न्यानो स्नेह राखौं।” अनि द जेरुशलेम बाइबल यसो भन्छ: “एक-अर्कालाई दाजुभाइहरूले जत्तिकै प्रेम गर।” हो, प्रेम देखाउनु उचित भएकोले र यो गर्नै पर्ने कर्तव्य भएकोले मात्र मसीहीहरूले एक दोस्रोलाई प्रेम गर्ने होइन। “भाइप्रति निष्कपट प्रेमको” साथ हामीले “एउटाले अर्कोलाई हृदयले प्रगाढ़ प्रेम” गर्नुपर्छ।—१ पत्रुस १:२२.
‘आपसमा प्रेम गर्न परमेश्वरद्वारा शिक्षा पाएका’
५, ६. (क) आफ्ना जनहरूलाई मसीही स्नेहबारे सिकाउन यहोवाले कसरी अन्तरराष्ट्रिय अधिवेशनहरू चलाउनुभएको छ? (ख) समय बित्दै जाँदा भाइहरूबीचको बन्धन कसरी बलियो हुन्छ?
५ यो संसारमा “धेरैको प्रेम” सेलाउँदै गइरहेको भए तापनि वर्तमान समयका आफ्ना जनहरूलाई यहोवाले “आपसमा प्रेम” गर्न सिकाइरहनुभएको छ। (मत्ती २४:१२; १ थिस्सलोनिकी ४:९) यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय अधिवेशनहरू यस्तो प्रशिक्षणका उल्लेखनीय अवसरहरू हुन्। यस्ता अधिवेशनहरूमा स्थानीय साक्षीहरूले टाढा-टाढाका मुलुकहरूबाट आएका भाइहरूलाई भेट्छन् र थुप्रैले विदेशबाट आएका प्रतिनिधिहरूलाई आफ्नै घरमा आवास उपलब्ध गराएका छन्। हालै भएको एउटा अधिवेशनमा, कोही-कोही प्रतिनिधिहरू आफ्ना भावनाहरू खुलेर व्यक्त नगर्ने स्वभाव भएका मानिसहरू बस्ने देशबाट आएका थिए। आवासको प्रबन्ध मिलाउन मदत गरेका एक जना मसीही यसो भन्छन्: “ती प्रतिनिधिहरू यहाँ आइपुग्दा सुरुमा त हडबडाएका र डराएका थिए। तर मात्र छ दिनपछि, तिनीहरू बिदा हुँदा भने तिनीहरू र तिनीहरूलाई आफ्नो घरमा राख्ने भाइबहिनीहरू एक-अर्कालाई अङ्गालो हालेर रोइरहेका थिए। तिनीहरूले एक प्रकारको मसीही प्रेमको आनन्द उठाएका थिए जसलाई तिनीहरू कहिल्यै बिर्सनेछैनन्।” हाम्रा भाइहरूको पृष्ठभूमि जस्तोसुकै भए तापनि तिनीहरूप्रति अतिथि-सत्कार देखाउँदा यसले अतिथिलाई र अतिथि-सत्कार गर्ने दुवैलाई लाभ पुऱ्याउन सक्छ।—रोमी १२:१३.
६ हुन त अधिवेशनका यस्ता अनुभवहरू रोमाञ्चक छन्, तर मसीहीहरूले यहोवाको सेवामा एकसाथ समय बिताउँदै जाँदा योभन्दा पनि अझ घनिष्ठ सम्बन्ध विकास हुन्छ। जब हामी आफ्ना भाइहरूलाई राम्ररी चिन्छौं, तिनीहरूका राम्रा गुणहरू; जस्तै, सत्यता, भरोसायोग्य, वफादारिता, दया, उदारता, विचारशीलता, अनुकम्पा र निःस्वार्थताको अझ बढी मूल्याङ्कन गर्न सक्छौं। (भजन १५:३-५; हितोपदेश १९:२२) पूर्वी अफ्रिकामा मिसनरीको रूपमा सेवा गरेका मार्कले यसो भने: “हाम्रा भाइहरूसित काँधमा काँध मिलाएर सेवा गर्दा फुकाउनै नसकिने गाँठो बाँधिन्छ।”
७. मण्डलीमा मसीही स्नेहको आनन्द उठाउन हामीले के गर्नु आवश्यक छ?
७ मण्डलीमा यस्तो बन्धन बनाउन र यसलाई कायम राख्न मण्डलीका सदस्यहरू एक दोस्रोसित नजिक हुनै पर्छ। मसीही सभाहरूमा नियमित तवरमा उपस्थित भएर हामी भाइबहिनीहरूसितको हाम्रो सम्बन्धलाई बलियो बनाउँछौं। सभाहरूमा उपस्थित भएर, सभाहरूको अघि र पछि संगति गरेर अनि सभाहरूको दौडान भाग लिएर हामी एक दोस्रोलाई “प्रेम र सुकर्ममा उत्तेजित” गराउँछौं र प्रोत्साहन दिन्छौं। (हिब्रू १०:२४, २५) संयुक्त राज्य अमेरिकाका एक जना प्राचीन यसो भन्छन्: “म सानो छँदा, सभापछि जतिसक्दो लामो समयसम्म मित्रैलो र अर्थपूर्ण कुराकानी गर्दै सबैभन्दा अन्तसम्म राज्यभवनमा बसिरहने परिवारहरूमध्ये मेरो परिवार पनि एउटा थियो भन्ने मीठो सम्झना मसित अहिले पनि छ।”
तपाईं ‘ठूलो मनको’ हुनु आवश्यक छ कि?
८. (क) पावलले कोरिन्थका मसीहीहरूलाई “ठूला मनका” हुन आग्रह गर्दा तिनको भनाइको अर्थ के थियो? (ख) मण्डलीमा स्नेह बढाउन हामी के गर्न सक्छौं?
८ यस्तो स्नेह राम्ररी देखाउन हामी आफ्नो हृदयमा ‘ठूलो मनको’ हुनु आवश्यक छ। कोरिन्थको मण्डलीलाई प्रेरित पावलले यस्तो लेखे: “हाम्रो मन ठूलो छ। तिमीहरू हामीमा साँघुरा भएका छैनौ।” यसको प्रत्युत्तरमा तिनीहरूलाई पनि “ठूला मनका” हुन पावलले आग्रह गरे। (२ कोरिन्थी ६:११-१३) स्नेह देखाउने सन्दर्भमा तपाईं पनि ‘ठूलो मनको’ हुन सक्नुहुन्छ कि? अरू अग्रसर होऊन् भनेर तपाईंले कुरिरहनु आवश्यक छैन। रोमीहरूलाई लेखेको आफ्नो पत्रमा, कोमल स्नेह देखाउनुपर्ने आवश्यकतालाई प्रेरित पावलले यो सल्लाहसित जोडे: “मानमा एउटाले अर्कोको बढ़ता कदर गर।” (रोमी १२:१०) अरूको मान गर्ने हो भने सभाहरूमा तिनीहरूलाई अभिवादन गर्न तपाईं आफै अग्रसर हुन सक्नुहुन्छ। तपाईं तिनीहरूलाई आफूसित क्षेत्र सेवकाईमा जान वा सभाको लागि सँगै तयारी गर्न निमन्त्रणा दिन सक्नुहुन्छ। यसले कोमल स्नेह मौलाउने बाटो खोलिदिन्छ।
९. सँगी विश्वासीहरूसित घनिष्ठ मित्र बन्न कोही-कोहीले कस्ता कदमहरू चालेका छन्? (उपलब्ध छ भने स्थानीय उदाहरणहरू पनि समावेश गर्नुहोस्।)
९ एक दोस्रोलाई भेटेर अनि सम्भवतः सँगै बसी केही साधारण खाना खाएर तथा स्वास्थ्यकर क्रियाकलापहरूमा सँगै भाग लिएर मण्डलीका परिवार तथा व्यक्तिविशेषहरू “ठूला मनका” हुन सक्छन्। (लूका १०:४२; १४:१२-१४) हाकोप अक्सर ससाना समूहहरूका लागि पिकनिकको प्रबन्ध मिलाउँछन्। तिनी यसो भन्छन्: “एक्लो आमा वा बुबालगायत सबै उमेरका व्यक्तिहरू उपस्थित हुन्छन्। सबै जना मीठो सम्झना बोकेर घर फर्कन्छन् र तिनीहरू एक दोस्रोसित नजिक भएको महसुस गर्छन्।” मसीहीहरूको हैसियतमा हामी सँगी विश्वासीहरू मात्र नभई साँचो मित्रहरू पनि बन्ने कोसिस गर्नुपर्छ।—३ यूहन्ना १४.
१०. आफ्ना भाइबहिनीहरूसित सम्बन्ध राम्रो नहुँदा हामी के गर्न सक्छौं?
१० तथापि, असिद्धताको कारण कहिलेकाहीं मित्रता र स्नेह विकास गर्नु चुनौतीपूर्ण हुन सक्छ। हामी के गर्न सक्छौं? पहिला, आफ्ना भाइहरूसित राम्रो सम्बन्ध बनाउनको लागि हामी प्रार्थना गर्न सक्छौं। आफ्ना सेवकहरू मिलेर बसून् भन्ने परमेश्वरको इच्छा छ र उहाँले यस्ता निष्कपट प्रार्थनाहरूको जवाफ दिनुहुनेछ। (१ यूहन्ना ४:२०, २१; ५:१४, १५) हामीले आफ्नो प्रार्थना अनुरूप काम पनि गर्नुपर्छ। पूर्वी अफ्रिकाका एक जना परिभ्रमण निरीक्षक रिक एक जना भाइबारे सम्झन्छन्, जो अलि कडा मिजासको भएको कारण तिनीसित मिलेर बस्न गाह्रो थियो। रिक यसो भन्छन्: “ती भाइबाट टाढा हुन खोज्नुको सट्टा मैले तिनलाई राम्ररी चिन्ने निर्णय गरें। पछि गएर थाह लाग्यो कि ती भाइका बुबाले असाध्यै कडा अनुशासन दिन्थे। आफ्नो पृष्ठभूमिको कारण देखापर्ने व्यवहारमाथि विजयी हुन ती भाइले कति सङ्घर्ष गरेका रहेछन् र तिनले कत्तिका प्रगति गरिसकेका रहेछन् भन्ने कुरा बुझेपछि मैले तिनको कदर गर्न थालें। यसपछि हामी असल साथी बन्यौं।”—१ पत्रुस ४:८.
आफ्नो मन खोल्नुहोस्!
११. (क) मण्डलीमा स्नेह फस्टाउन कुन कुरा आवश्यक छ? (ख) अरूबाट भावनात्मक रूपमा अलग रहनु किन आध्यात्मिक तवरमा हानिकारक हुन सक्छ?
११ आज, थुप्रै मानिसहरू आफ्नो जीवनभर एक जना पनि घनिष्ठ साथी नबनाईकन त्यत्तिकै मर्छन्। कत्ति दुःखलाग्दो कुरा! मसीही मण्डलीको सन्दर्भमा भने यस्तो हुनु आवश्यक छैन र यस्तो हुनु हुँदैन। साँचो भ्रातृप्रेम भनेको शिष्ट वार्तालाप र भद्र आनीबानी मात्र होइन; न त यो उत्ताउलो किसिमले भावना व्यक्त गर्नु नै हो। बरु, पावलले कोरिन्थीहरूलाई गरेजस्तै, हामी पनि आफ्नो मन खोल्न इच्छुक हुनुपर्छ र हाम्रा सँगी विश्वासीहरूको हितमा साँच्चै चासो लिन्छौं भनी तिनीहरूलाई देखाउनुपर्छ। हुन त हो, सबै व्यक्तिहरू स्वभावैले धेरै कुराकानी गर्ने र आफ्ना भावनाहरू व्यक्त गर्ने हुँदैनन् तर पटक्कै नबोल्ने हुनु हानिकारक हुन सक्छ। बाइबल यस्तो चेतावनी दिन्छ: “अलग्गै बस्ने मानिसले सुयोग्य मानिसलाई गिल्ला गर्न सबै किसिमको बहाना गर्छ।”—हितोपदेश १८:१.
१२. मण्डलीमा घनिष्ठ सम्बन्ध हुनको लागि राम्रो कुराकानी किन अत्यावश्यक छ?
१२ साँचो मित्रताको लागि निष्कपट कुराकानी महत्त्वपूर्ण छ। (यूहन्ना १५:१५) हामी सबैलाई आफ्ना भित्री विचार र भावनाहरू पोख्न सकिने साथीहरू चाहिन्छ। साथै, एक दोस्रोलाई हामी जति राम्ररी चिन्छौं, एक दोस्रोका आवश्यकताहरू पूरा गर्न त्यति नै सजिलो हुन्छ। यसरी एक दोस्रोको भलाइ खोज्दा हामी कोमल स्नेह बढाउन मदत गर्छौं र हामी येशूका निम्न शब्दहरूको सत्यता अनुभव गर्नेछौं: “लिनुभन्दा दिनु अझ असल हो।”—प्रेरित २०:३५; फिलिप्पी २:१-४.
१३. हामीमा आफ्ना भाइहरूप्रति साँचो स्नेह छ भन्ने कुरा देखाउन हामी के गर्न सक्छौं?
१३ हाम्रो स्नेहले राम्रो नतिजा ल्याउने हो भने हामीले आफ्नो स्नेह व्यक्त गर्नुपर्छ। (हितोपदेश २७:५) हाम्रो स्नेह साँचो हो भने सम्भवतः यो हाम्रो अनुहारमा झल्कनेछ र यसले अरूलाई त्यसप्रति सकारात्मक प्रतिक्रिया देखाउन उत्प्रेरित गर्नेछ। “हँसिलो मुखले मनमा आनन्द दिन्छ” भनी एक जना बुद्धिमान् मानिसले लेखे। (हितोपदेश १५:३०) विचारशील कार्यहरूले पनि कोमल स्नेह बढाउँछ। साँचो स्नेह पैसा तिरेर किन्न नसकिने भए तापनि हृदयदेखि नै दिएको उपहार एकदमै अर्थपूर्ण हुन सक्छ। कार्ड, चिठी र “ठीक बेलामा भनेको ठीक कुरा”—यी सबैले गहिरो स्नेह व्यक्त गर्न सक्छ। (हितोपदेश २५:११; २७:९) एकपटक हामीले अरूसित मित्रता गाँसिसकेपछि, निःस्वार्थ स्नेह देखाइरहेर हामीले यसलाई कायम राख्नै पर्छ। विशेष गरी, खाँचोमा पर्दा हामी आफ्ना साथीहरूलाई मदत गर्न तत्पर हुनेछौं। बाइबल यसो भन्छ: “मित्र हर समय एक मायालु साथी हुन्छ र दुःखकष्टमा साथ दिन जन्मेको दाजुभाइसरह हुन्छ।”—हितोपदेश १७:१७, NW.
१४. कसैले हाम्रो स्नेहप्रति सकारात्मक प्रतिक्रिया नजनाएको जस्तो देखिंदा हामी के गर्न सक्छौं?
१४ व्यावहारिक रूपमा हेर्ने हो भने हामी मण्डलीका सबैसँग घनिष्ठ भएको आशा गर्न सक्दैनौं। स्वाभाविक रूपमै हामी कोही-कोहीसँग अरूहरूसित भन्दा घनिष्ठ महसुस गर्छौं। त्यसैले, कोही व्यक्ति तपाईंले चाहनुभए जति मित्रैलो भएन भन्दैमा तपाईंमा वा त्यो व्यक्तिमा कुनै खराबी छ भन्ने निष्कर्षमा पुगिहाल्न नहतारिनुहोस्। अनि त्यो व्यक्तिलाई तपाईंसित घनिष्ठ सम्बन्ध विकास गर्न करकाप नगर्नुहोस्। तपाईं त्यो व्यक्तिसित जति सम्भव छ त्यति नै मित्रैलो हुँदा, कुनै दिन भविष्यमा त्यो व्यक्तिसित अझ घनिष्ठ हुने ढोका सधैं खुला रहनेछ।
“तिमीसँग म खुशी छु”
१५. प्रशंसा पाउँदा वा नपाउँदा अरूमा कस्तो असर पार्छ?
१५ येशूले बप्तिस्मा लिनुहुँदा उहाँले स्वर्गबाट यी शब्दहरू सुन्दा कत्ति रमाउनुभयो होला: “तिमीसँग म खुशी छु”! (मर्कूस १:११) अनुमोदनको यो अभिव्यक्तिले आफ्नो पिताले आफूलाई स्नेह गर्नुहुन्छ भन्ने येशूको विश्वस्ततालाई अझ बलियो बनाएको हुनुपर्छ। (यूहन्ना ५:२०) दुःखको कुरा, कसै-कसैले आफूले प्रेम र आदर गर्ने व्यक्तिहरूबाट यस्तो प्रशंसा कहिल्यै सुन्न पाउँदैनन्। एन यसो भन्छिन्: “मजस्तै थुप्रै युवाहरू छन् जसको परिवारका सदस्यहरूको एउटै मसीही विश्वास हुँदैन। घरमा सधैं हाम्रो आलोचना मात्र गरिन्छ। यसले हामीलाई एकदमै दुःखित बनाउँछ।” तथापि, तिनीहरू मण्डलीको भाग बनेपछि तिनीहरूले एक-अर्कालाई सहयोग र हेरविचार गर्ने आध्यात्मिक परिवारको न्यानोपन महसुस गर्छन् र यो आध्यात्मिक परिवारमा तिनीहरूले एउटै विश्वासमा भएका आमा, बुबा, भाइ र बहिनीहरू पनि पाउँछन्।—मर्कूस १०:२९, ३०; गलाती ६:१०.
१६. अरूप्रति आलोचनात्मक मनोवृत्ति देखाउनु किन मदतकारी हुँदैन?
१६ बच्चाहरूको प्रशंसा गर्दा तिनीहरूले थप प्रगति नगरी त्यतिमै चित्त बुझाऊलान् वा घमन्डी होलान् भन्ने सोचाइ राख्दै कुनै-कुनै संस्कृतिमा आमाबाबु, वयस्कहरू र शिक्षकहरूले हृदयदेखि केटाकेटीहरूको प्रशंसा त्यत्ति गर्दैनन्। यस्तो सोचाइले मसीही परिवारहरू र मण्डलीमा समेत प्रभाव पार्न सक्छ। मण्डलीमा दिइएको भाषण वा अरू प्रयासबारे टिप्पणी गर्दै वयस्कहरूले यसो भन्न सक्छन्: “राम्रै थियो तर तिमीले योभन्दा पनि अझ राम्रो गर्न सक्छौ!” वा अरू कुनै तरिकामा, तिनीहरूले केटाकेटीहरूसामु उसको प्रयासमा आफू सन्तुष्ट नभएको कुरासमेत व्यक्त गर्न सक्छन्। यसो गर्दा केटाकेटीहरू आफ्नो पूर्ण क्षमताले काम गर्न उत्प्रेरित हुन्छन् जस्तो कसै-कसैलाई लाग्न सक्छ। तर यो तरिकाले अक्सर ठीक उल्टो परिणाम ल्याउँछ किनभने म त यो काम गर्नै सक्दिनँ भन्ठानेर केटाकेटीहरूले हरेस खान सक्छन्।
१७. हामीले किन अरूको प्रशंसा गर्ने मौका खोज्नुपर्छ?
१७ तथापि, सल्लाह दिनुअघि मात्र प्रशंसा गर्ने गर्नु हुँदैन। साँचो प्रशंसाले परिवारमा र मण्डलीमा कोमल स्नेह बढाउँछ र सल्लाहको लागि अनुभवी भाइबहिनीहरूको मदत खोज्न केटाकेटीहरूलाई प्रोत्साहित गर्छ। त्यसैले अरूसित व्यवहार गर्दा आफूले गर्दै आएझैं गर्नुको सट्टा “नयाँ मानिसलाई धारण [गरौं ], जो परमेश्वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको छ।” यहोवाले जस्तै प्रशंसा गर्नुहोस्।—एफिसी ४:२४.
१८. (क) केटाकेटीहरू हो, वयस्कहरूबाट पाएको सल्लाहलाई तपाईंहरूले कसरी हेर्नुपर्छ? (ख) आफूले सल्लाह दिने तरिकाबारे वयस्कहरू किन सचेत छन्?
१८ अर्कोतर्फ, केटाकेटीहरू हो, वयस्कहरूले तपाईंलाई हप्काए वा सल्लाह दिए भने यसको मतलब तिनीहरूले तपाईंलाई मन पराउँदैनन् भन्ने निष्कर्षमा नपुग्नुहोस्। (उपदेशक ७:९) यो कुरा सरासर गलत हो! तिनीहरू तपाईंप्रतिको चासो र गहिरो स्नेहद्वारा उत्प्रेरित भएका हुन सक्छन्। नत्र भने तिनीहरूले तपाईंसित त्यसबारे कुरा गर्न किन दुःख गरिरहन्थे होलान् र? शब्दहरूले कत्तिको प्रभाव पार्न सक्छ भन्ने कुरा थाह भएकोले गर्दा सल्लाह दिनुअघि विचार गर्न र प्रार्थना गर्न वयस्कहरूले—विशेष गरी मण्डलीका प्राचीनहरूले—अक्सर यथेष्ट समय बिताउँछन् किनभने तिनीहरू सधैं तपाईंको भलो चिताउँछन्।—१ पत्रुस ५:५.
यहोवा “कोमल स्नेहमा भरिपूर” हुनुहुन्छ
१९. निराशा भोगेकाहरूले सहयोगको लागि किन यहोवामा भर पर्न सक्छन्?
१९ कोमल स्नेह देखाउँदा कटु अनुभवहरू भोग्नु परेकोले गर्दा कसै-कसैले यस्तो स्नेह देखाउँदा झन् निराश मात्र हुनुपर्छ भन्ने महसुस गरेका हुन सक्छन्। तिनीहरूलाई अरूसामु फेरि आफ्नो मन खोल्न साहस र बलियो विश्वास चाहिन्छ। तर यहोवा “हामी हरेकबाट टाढ़ा हुनुहुन्न” भन्ने कुरा तिनीहरूले कहिल्यै बिर्सनु हुँदैन। उहाँले हामीलाई उहाँको नजिक आउने निमन्त्रणा दिनुहुन्छ। (प्रेरित १७:२७; याकूब ४:८) चोट पाउने हो कि भन्ने हाम्रो डर पनि उहाँले बुझ्नुहुन्छ र हामीलाई समर्थन तथा मदत दिने प्रतिज्ञा गर्नुहुन्छ। भजनहार दाऊद हामीलाई यस्तो आश्वासन दिन्छन्: “टुटेका हृदय भएकाहरू सबैको नजीक परमप्रभु हुनुहुन्छ, र पश्चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ।”—भजन ३४:१८.
२०, २१. (क) यहोवासित घनिष्ठ सम्बन्ध राख्न सक्छौं भनेर हामी कसरी थाह पाउँछौं? (ख) यहोवासित घनिष्ठ सम्बन्ध राख्न कुन कुरा आवश्यक छ?
२० हामीले खेती गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण सम्बन्ध भनेको यहोवासितको घनिष्ठ मित्रता हो। तर यस्तो बन्धन के साँच्चै सम्भव छ र? अवश्य, सम्भव छ। धर्मी पुरुष तथा स्त्रीहरूले स्वर्गमा बस्नुहुने हाम्रो पितासित कत्ति घनिष्ठ महसुस गर्थे भनी बाइबलले प्रकट गर्छ। हामी पनि यहोवासित नजिक हुन सक्छौं भन्ने कुराबारे विश्वस्त हुन सकौं भनेर तिनीहरूले व्यक्त गरेका न्याना अभिव्यक्तिहरू हाम्रो लागि साँचेर राखिएको छ।—भजन २३, ३४, १३९; यूहन्ना १६:२७; रोमी १५:४.
२१ यहोवासित घनिष्ठ हुनको लागि उहाँले तोक्नुभएका आवश्यकताहरू हामी सबैले पूरा गर्न सक्ने खालका छन्। “हे परमप्रभु, तपाईंको बासस्थानमा कसले बास गर्न पाउनेछ?” भनी दाऊदले सोधे। “त्यो, जो सोझो मनले हिंड़्छ, र धर्म-कर्म गर्छ, र हृदयले सत्य बोल्छ।” (भजन १५:१, २; २५:१४) जसै हामी परमेश्वरको सेवा गर्दा यसले असल फलहरू फलाउनुका साथै उहाँको निर्देशन र सुरक्षा प्राप्त हुन्छ भन्ने कुरा बुझ्छौं, यहोवा “टिठाइमा [“कोमल स्नेहमा,” NW ] भरिपूर” हुनुहुन्छ भन्ने कुरा पनि बुझ्नेछौं।—याकूब ५:११.
२२. आफ्ना जनहरूमाझ कस्तो प्रकारको सम्बन्ध भएको यहोवा चाहनुहुन्छ?
२२ असिद्ध मानिसहरूसित यहोवाले यस्तो व्यक्तिगत सम्बन्ध राख्न चाहनु हाम्रो लागि कत्ति ठूलो आशिष्को कुरा हो! त्यसो हो भने के हामीले एक दोस्रोप्रति कोमल स्नेह देखाउनु पर्दैन र? यहोवाको मदतद्वारा हामी प्रत्येकले कोमल स्नेह आदनप्रदान गर्न सक्छौं, जो हाम्रो मसीही भ्रातृत्वको चिनारी हो। परमेश्वरको राज्यअन्तर्गत, पृथ्वीमा भएका सबैले सदाकालको लागि यो स्नेह महसुस गर्नेछन्।
के तपाईं बुझाउन सक्नुहुन्छ?
• मसीही मण्डलीमा कस्तो खालको वातावरण हुनुपर्छ?
• मण्डलीमा कोमल स्नेह देखाउन हामी प्रत्येकले कसरी योगदान पुऱ्याउन सक्छौं?
• साँचो प्रशंसाले कसरी मसीही स्नेह बढाउँछ?
• यहोवाको कोमल स्नेहले हामीलाई कसरी सहयोग गर्छ र सँभाल्छ?
[पृष्ठ १५-मा भएको चित्र]
मसीहीहरूमाझको प्रेम कर्तव्यबोध मात्र होइन
[पृष्ठ १६, १७-मा भएका चित्रहरू]
स्नेह देखाउने सन्दर्भमा के तपाईं ‘ठूलो मनको’ हुन सक्नुहुन्छ?
[पृष्ठ १८-मा भएको चित्र]
तपाईं आलोचनात्मक हुनुहुन्छ वा प्रोत्साहनदायी?