प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 ११/१ pp. २२-२७
  • अय्यूबको इनाम—आशाको स्रोत

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अय्यूबको इनाम—आशाको स्रोत
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अय्यूबले निडरतापूर्वक साक्षी दिन्छन्‌
  • एलीहू बोल्छन्‌
  • यहोवाले अय्यूबलाई जवाफ दिनुहुन्छ
  • बेहिमोथ र लिभियाथान
  • प्रतिज्ञा गरिएको इनामले हामीलाई आशा दिन्छ
  • यहोवाले तिनको पीडा निको पार्नुभयो
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • अय्यूबले यहोवाको नाउँ उच्च पारे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • सुधार स्वीकार्ने उदाहरणीय पुरुष
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • अय्यूबको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 ११/१ pp. २२-२७

अय्यूबको इनाम—आशाको स्रोत

“परमप्रभुले अय्यूबको जीवनको आखिरी समयमा शुरूको समयभन्दा बढ़ी आशिष दिनुभयो।”—अय्यूब ४२:१२.

यहोवालाई “खोज्नेहरूलाई [उहाँले] प्रतिफल दिनुहुन्छ।” (हिब्रू ११:६) परीक्षाहरूले आफ्ना समर्पित जनहरूलाई मरेतुल्य बनाए तापनि साहसीपूर्वक साक्षी दिन उहाँले तिनीहरूलाई उत्प्रेरित गर्नुहुन्छ। (अय्यूब २६:५; प्रकाश ११:३, ७, ११) त्यो पीडित अय्यूबको सन्दर्भमा सत्य साबित भयो। झूटा सान्त्वना दिन आएका तीन मित्रहरूले गलत कुराहरू बोले तापनि तिनी मानिसदेखि डराएर चूप भएनन्‌। बरु, तिनले निडर साक्षी दिए।

२ यहोवाका आधुनिक समयका थुप्रै साक्षीहरू भीषण सतावट र कठिनाइ भोगेर मृत्यु सम्मुख पुगेका छन्‌। (२ कोरिन्थी ११:२३) तर अय्यूबले झैं तिनीहरूले परमेश्‍वरप्रति प्रेम दर्शाएर धार्मिकताअनुसार चलेका छन्‌। (इजकिएल १४:१४, २०) निडरतापूर्वक साक्षी दिन कटिबद्ध हुँदै यहोवालाई आनन्दित तुल्याउन तिनीहरू परीक्षाहरूबाट उम्केका छन्‌ र साँचो आशाले भरिएका छन्‌।

अय्यूबले निडरतापूर्वक साक्षी दिन्छन्‌

३ अन्तिम वक्‍तव्यमा अय्यूबले पहिले दिएकोभन्दा ठूलो साक्षी दिए। झूटा सान्त्वनादाताहरूलाई तिनले पूर्णतया चूप पारे। कटु व्यङ्‌ग्यात्मक ढङ्‌गमा तिनले भने: “निर्बल मानिसलाई तपाईंले के सहायता गर्नुभयो?” (अय्यूब २६:२) परमेश्‍वरको शक्‍तिले पृथ्वीलाई आकाशको शून्यतामा र पानीले भरिएका बादलहरूलाई पृथ्वीमाथि अड्याएको छ भनी अय्यूबले यहोवाको प्रशंसा गरे। (अय्यूब २६:७-९) यद्यपि, त्यस्ता आश्‍चर्यकर्महरू ‘यहोवाको शक्‍तिको एक छेउ मात्र हुन्‌’ भनी अय्यूबले भने।—अय्यूब २६:१४.

४ आफ्नो निर्दोषतामा निश्‍चित हुँदै अय्यूबले घोषणा गरे: “नमरुञ्जेल म निर्दोष छु भन्‍ने मेरो दाबीलाई म छाड़नेछैन।” (अय्यूब २७:५) तिनीमाथि थुपारिएका झूटा आरोपहरूको विपरीत यो परिस्थिति भोग्न योग्यको तिनले कुनै त्यस्तो काम गरेका थिएनन्‌। धर्मत्यागीहरूको प्रार्थना यहोवाले सुन्‍नुहुन्‍न तर निष्ठा कायम गर्नेहरूलाई इनाम दिनुहुन्छ भनी अय्यूबलाई थाहा थियो। आरमागेडोनको बज्रपातले दुष्टहरूलाई शक्‍तिविहीन तुल्याउनेछ र तिनीहरू परमेश्‍वरको दण्डबाट उम्कनेछैनन्‌ भनी यसले हामीलाई याद दिलाउनु पर्ने हो। तर त्यतिन्जेल यहोवाका जनहरू आफ्नो निष्ठामा हिंड्‌नेछन्‌।—अय्यूब २७:११-२३.

५ पृथ्वी र समुद्रमा सुन, चाँदी तथा अन्य खजानाहरू पत्ता लगाउन मानिसहरूले आफ्नो दक्षता प्रयोग गरेका छन्‌ भन्‍ने अय्यूबको कुरा ती सांसारिक कामकुराहरूमा जान्‍नेसुन्‍ने यी तीन मित्रहरूले सुनिरहेको यसो कल्पना गर्नुहोस्‌। अय्यूबले भने, “मूगा र बिल्लोरको ता कुरै गर्नुपर्दैन, बुद्धिको सानो कणा मूगाभन्दा दामी हुन्छ।” (अय्यूब २८:१८) अय्यूबका झूटा सान्त्वनादाताहरूले साँचो बुद्धि किन्‍न सकेनन्‌। यसको स्रोत बतास, पानी, र चट्याङ्‌गका सृष्टिकर्त्ता हुनुहुन्छ। निस्सन्देह, “परमेश्‍वरको” श्रद्धेय “डरनै बुद्धि हो, र दुष्टताबाट अलग रहनु समझ-शक्‍ति हो।”—अय्यूब २८:२८.

६ आफ्ना दुःखहरूको बावजूद अय्यूबले यहोवाको सेवा गर्न छाडेनन्‌। अति उच्च परमेश्‍वरबाट अलग हुनुको सट्टा यस निष्ठावान मानिसले पहिलेझैं ‘परमेश्‍वरसित घनिष्ठ’ हुने लालसा गरे। (अय्यूब २९:४) ‘गरीब मानिसलाई बचाएँ, धार्मिकतालाई आफ्नो वस्त्रझैं पहिरें र दरिद्रको लागि बाबुझैं भएँ’ भनी सम्झँदा तिनले धक्कु लगाइरहेका थिएनन्‌। (अय्यूब २९:१२-१६) बरु, यहोवाको विश्‍वासी सेवकको हैसियतमा जीवन बिताउँदाका तथ्यहरू तिनले उल्लेख गरिरहेका थिए। के तपाईंले त्यस्तो असल रिकर्ड स्थापना गर्नुभएको छ? हो, भक्‍तहरूको भेषमा ती तीन कपटीहरूले लगाएका झूटा आरोपहरूलाई पनि अय्यूबले पर्दाफास गरिरहेका थिए।

७ त्यस्ता जवानहरूले समेत अय्यूबको ठट्टा उडाइरहेका थिए, ‘जसका बाबुहरूलाई भेड़ा रूङने कुकुरहरूसँग राख्न पनि तिनी अयोग्य ठान्थे।’ तिनलाई घिन गरे अनि थुके। अय्यूबले असाध्यै पीडा भोगिरहेको भए तापनि तिनीमाथि कुनै दया माया देखाइएन। (अय्यूब ३०:१, १०, ३०) तर तिनी पूर्णतया यहोवाप्रति समर्पित हुनाले तिनको अन्तस्करण सफा थियो र यसो भन्‍न सके: “न्यायको तराजूमा परमेश्‍वरले मलाई तौलून्‌, र उहाँले जान्‍नुहुनेछ कि म निर्दोष छु।” (अय्यूब ३१:६) अय्यूब व्यभिचारी अथवा षडयन्त्रकारी थिएनन्‌ र खाँचोमा परेकाहरूलाई मदत दिन चुकेका थिएनन्‌। तिनी धनी भए तापनि भौतिक सम्पत्तिमा तिनले कहिल्यै भरोसा राखेनन्‌। यस अलावा, चन्द्रमाजस्ता निर्जिव वस्तुहरूलाई भक्‍ति चढाएर तिनी मूर्तिपूजामा संलग्न भएनन्‌। (अय्यूब ३१:२६-२८) परमेश्‍वरमाथि भरोसा राखेर तिनले निष्ठा कायम गर्ने व्यक्‍तिको राम्रो उदाहरण बसाले। तिनका दुःखहरू र झूटा सान्त्वनादाताहरूको उपस्थितिको बावजूद अय्यूबले निपुणतापूर्वक प्रतिरोध गर्नुको साथै उत्तम साक्षी दिए। आफ्नो कुरा सकिएपछि तिनले आफ्नो न्यायकर्त्ता र इनामदाताको रूपमा परमेश्‍वरतर्फ फर्के।—अय्यूब ३१:३५-४०.

एलीहू बोल्छन्‌

८ नजिकै जवान एलीहू बसिरहेका थिए। उनी नाहोरको छोरा बुजीको वंशज र यहोवाको मित्र अब्राहामको टाढाका नातेदार हुन्‌। (यशैया ४१:८) दुवै पक्षको विवाद सुनेर एलीहूले बुढापाकाहरूप्रति आदर दर्शाए। यद्यपि, ती मानिसहरूले गलत कुरा गर्दा उनले साहसी भएर बोले। उदाहरणको लागि, अय्यूबले “आफूलाई परमेश्‍वरभन्दा धर्मी” तुल्याउँदा उनी रिसाए। विशेषगरि ती तीन झूटा सान्त्वनादाताहरू विरूद्ध एलीहू रिसाए। तिनीहरूका भनाइहरूले परमेश्‍वरको प्रशंसा गरिरहेको जस्तो देखिन्थ्यो तर वास्तवमा त्यस विवादमा शैतानको पक्ष लिएर तिनीहरूले परमेश्‍वरको निन्दा गरिरहेका हुन्थे। “मुखभरि जवाफ” र पवित्र आत्माले उत्प्रेरित एलीहू यहोवाको निष्पक्ष साक्षी थिए।—अय्यूब ३२:२, १८, २१.

९ परमेश्‍वरको भन्दा आफ्नै महिमाको लागि अय्यूब बढी चिन्तित थिए। वास्तवमा भन्‍ने हो भने तिनले परमेश्‍वरसित प्रतिस्पर्धा गरे। तर अय्यूबको मृत्यु नजिकै आइपुग्दा परिस्थिति सुध्रने सङ्‌केत देखियो। कसरी? भनौं भने, यहोवाले अय्यूबलाई अनुग्रह देखाइरहनुभएको थियो भन्‍ने कुरा यो समाचारद्वारा भन्‍न एलीहू प्रेरित भए: “त्यसलाई छाड़िदेऊ, त्यसलाई खाड़लमा जान नदेऊ, त्यसलाई छुटाउने दाम मसित छ। तब त्यो मानिस आफ्नो युवावस्थामा भन्दा पनि झन्‌ बलियो हुनेछ, त्यो आफ्नो मस्त जवानीको बेलामा जस्तै हुनेछ।”—अय्यूब ३३:२४, २५.

१० निष्ठा कायम गरेर परमेश्‍वरसित प्रसन्‍न हुनुमा केही लाभ छैन भनी अय्यूबले भन्दा तिनलाई एलीहूले सच्याए। एलीहूले भने: “परमेश्‍वरले कहिल्यै खराबी गर्नुहुन्‍न, र सर्वशक्‍तिमानले कहिल्यै छल गर्नुहुन्‍न। किनभने उहाँले ता मानिसलाई त्यसको कामअनुसार प्रतिफल दिनुहुन्छ।” एलीहूले अझै भने: “नोक्सानी गर्ने जवाफहरूका निम्ति यदि अय्यूबलाई एकैपल्ट मात्र जाँच गर्न सकिए ता!” (अय्यूब ३४:१०, ११, ३५, ३६) त्यस्तैगरि, कुनै न कुनै ढङ्‌गमा हामीले ‘सहनसक्ने सम्म’ हाम्रो परीक्षा भयो भने मात्र हाम्रो विश्‍वास र निष्ठा पूर्णतया प्रमाणित हुन सक्छ। यद्यपि स्वर्गमा हुनुहुने हाम्रो मायालु पिताले हामीले सहन नसक्ने परीक्षामा पर्न दिनु हुनेछैन।—१ कोरिन्थी १०:१३.

११ कुरा गर्दै जाँदा अय्यूबले आफ्नो धार्मिकतामाथि बढ्‌तै महत्त्व दिइरहेका थिए भनी एलीहूले अय्यूबलाई पुनः देखाए। महान रचयितामा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ। (अय्यूब ३५:२, ६, १०) एलीहूले भने, परमेश्‍वरले “दुष्टहरूलाई उन्‍नति गर्नदिनुहुन्‍न, र गरीबहरूको उचित न्याय गर्नुहुन्छ।” (अय्यूब ३६:६) परमेश्‍वरलाई औंल्याउँदै उहाँ अधर्मी हुनुभयो भनी कसैले भन्‍न सक्दैन। उहाँ हामीभन्दा अति उच्च हुनुहुन्छ र उहाँको समयसाल हामी गणना गर्न सक्दैनौं। (अय्यूब ३६:२२-२६) अचाक्ली परीक्षा हुँदा हाम्रो अनन्त परमेश्‍वर धर्मी हुनुहुन्छ र उहाँको प्रशंसा गर्ने हाम्रो विश्‍वासी सेवालाई इनाम दिनुहुन्छ भनी नबिर्सनुहोस्‌।

१२ एलीहूले बोल्दा ठूलो बतास चल्न लागेको थियो। बतास नजिकिंदै आउँदा एलीहूको मुटुको धड्‌कन बढ्‌न र काँप्न थाल्यो। यहोवाले गर्नुभएका महान कार्यहरूबारे बताउँदै उनले भने: “अय्यूब, यो कुरा सुन्‍नुहोस्‌। चूपचाप खड़ा भएर परमेश्‍वरका उदेकका कामहरूलाई विचार गर्नुहोस्‌।” अय्यूबले जस्तै हामीले पनि परमेश्‍वरका आश्‍चर्यमय कार्यहरू र भयानक प्रतिष्ठालाई विचार गर्नुपर्छ। एलीहूले भने: “तर सर्वशक्‍तिमानलाई हामी भेटाउनसक्‍तैनौं। उहाँको शक्‍ति हाम्रो समझको बाहिर छ। उहाँको धार्मिकता न्याय गर्नलाई ढीलो हुँदैन। यसैकारण मरणशील मानिसले उहाँलाई आदर गर्छन्‌।” (अय्यूब ३७:१, १४, २३, २४) उहाँले दुष्टहरूमाथि न्याय ल्याउन ढिलो गर्नुहुनेछैन र उहाँसित डराउनेहरूलाई उहाँको श्रद्धेय उपासकहरूको रूपमा जोगाउनुहुनेछ भनेर एलीहूका अन्तिम अभिव्यक्‍तिहरूले स्मरण गराउँछ। यहोवालाई सार्वभौम सत्ताधारीको हैसियतमा स्वीकार्दै निष्ठा कायम गर्ने व्यक्‍तिहरूको बीच हुन पाउनु कस्तो सुअवसर हो! अय्यूबले जस्तै धैर्य धारण गर्नुहोस्‌ र यी आनन्दित मानिसहरूको झुण्डबीच तपाईंको आशिषित स्थानबाट दियाबलले कहिल्यै नतर्काओस्‌।

यहोवाले अय्यूबलाई जवाफ दिनुहुन्छ

१३ आँधीबेह्रीबाट यहोवाले अय्यूबसित बोल्नुहुँदा तिनी कति चकित भए होलान्‌! त्यो आँधीबेह्री परमेश्‍वरको कार्य थियो। अय्यूबको घर भत्काउन र तिनका छोराछोरीहरूलाई मार्न शैतानले ल्याएको ठूलो बतासजस्तो त्यो थिएन। परमेश्‍वरले निम्न प्रश्‍न गर्नुहुँदा अय्यूब अवाक्‌ भए: “पृथ्वीको जग मैले बसाल्दा तँ कहाँ थिइस्‌? . . . त्यसको जगको ढुङ्‌गा कसले बसाल्यो? त्यस दिनको मिरमिरे उज्यालोमा ताराहरूले एकसाथ गाए, र स्वर्गीय-जनहरू रमाहटले कराए।” (अय्यूब ३८:४, ६, ७) समुद्र, बादलको कम्बल, प्रभात, मृत्युका मूल-ढोकाहरू, उज्यालो र अँध्यारो अनि तारामण्डलहरूबारे यहोवाले अय्यूबलाई एकपछि अर्को प्रश्‍न गर्नुभयो। यो प्रश्‍न गर्नुहुँदा अय्यूब नाजवाफ भए: “आकाशको शासन गर्ने नियमहरूलाई के तैंले घोषणा गरेको होस्‌?”—अय्यूब ३८:३३.

१४ मानिस सृष्टि गर्नुभएर माछा, चरा, पशुहरू र घस्रने जनावरहरूमाथि अधिकार दिनुअघि कुनै मानव मदत अथवा सल्लाहविना परमेश्‍वरले तिनीहरूको जीवन धानिरहनुभएको थियो भनी अन्य प्रश्‍नहरूले सङ्‌केत गऱ्‍यो। यहोवाका अरू प्रश्‍नहरूले अर्ना- भैंसी, शतुर्मूर्ग, र घोडाजस्ता जनावरहरूको उल्लेख गऱ्‍यो। अय्यूबलाई यो प्रश्‍न गरियो: “के गिद्धलाई माथिबाट उड्‌न र आफ्नो गुँड अग्लो ठाउँमा बनाउन तैंले सिकाउँछस्‌?” (अय्यूब ३९:२७) पक्कै होइन! परमेश्‍वरले यो प्रश्‍न गर्नुहुँदा अय्यूबको प्रतिक्रिया यसो कल्पना गर्नुहोस्‌: “गल्ती भेट्टाउन खोज्नेले सर्वशक्‍तिमानसँग वाद-विवाद गर्न के सुहाउँछ र?” [न्युव] अय्यूबको जवाफ आश्‍चर्यलाग्दो छैन। तिनले भने: “म जाबोले तपाईंलाई के जवाफ दिनसक्छु र? म मेरो हात मेरो मुखमा राख्तछु।” (अय्यूब ४०:२, ४) यहोवा सधैं सही हुने हुनाले उहाँ विरुद्ध गुनासो गर्न प्रलोभित हुँदा हामीले ‘आफ्नो हात मुखमा हाल्नुपर्छ।’ परमेश्‍वरका प्रश्‍नहरूले उहाँको श्रेष्ठता, प्रतिष्ठा र बललाई अझ बढावा दियो जुन कुरा सृष्टिका कुराहरूबाट पनि प्रकट भएका छन्‌।

बेहिमोथ र लिभियाथान

१५ त्यसपछि यहोवाले बेहिमोथको उल्लेख गर्नुहुन्छ जसलाई प्रायजसो जलगैंडा भनिन्छ। (अय्यूब ४०:१५-२४) भयानक जीऊ, वजन र कडा छालाको लागि विशिष्ट मानिने यस शाकाहारी जनावरले ‘हरियो घाँस खान्छ।’ त्यसको शक्‍ति र बल कम्मर अनि मांशपेशीमा निहित हुन्छ। यसका हड्डीहरू “काँसाका नलहरूजस्तै” हुन्छन्‌। नदी उर्लेर आयो भने पनि बेहिमोथ डराउँदैन तर पानी बगिरहेको उल्टो दिशातिर सजिलै पौडन्छ।

१६ परमेश्‍वरले अय्यूबलाई यो प्रश्‍न पनि गर्नुभयो: “के तैंले बल्छीले समुद्रको [लिभियाथान] वृहत जन्तुलाई तान्‍नसक्छस्‌? अथवा त्यसको जिब्रोमा पासोको डोरी लगाउनसक्छस्‌?” उपरोक्‍त पदमा उल्लिखित लिभियाथान गोहीको वर्णनसित मिल्छ। (अय्यूब ४१:१-३४) कसैसित यसले शान्तिपूर्ण व्यवहार गर्दैन र कुनै बुद्धिमान मानिसले यस घस्रने जन्तुलाई जगाउन सक्दैन। कुनै पनि काँडले त्यसलाई छेंड्‌नसक्दैन र “तरवार चलाउँदा ता त्यो हाँसिदिन्छ।” रिसाएको लिभियाथानले गहिरो पानीलाई कराहीमा मलहम घोलेझैं घोल्छ। लिभियाथान र बेहिमोथ आफूभन्दा ज्यादै शक्‍तिशाली छन्‌ भन्‍ने तथ्यले अय्यूबलाई नम्र हुन मदत दियो। वृद्ध साँप अर्थात्‌ शैतानका पञ्जाहरूबाट उम्कन र यहोवाको सेवामा आफूले पाएका कार्यभारहरू निभाउन हामी आफै शक्‍तिशाली छैनौं। हामीलाई ईश्‍वर प्रदत्त बुद्धि र बल चाहिन्छ भनी नम्रतापूर्वक स्वीकार्नुपर्छ।—फिलिप्पी ४:१३; प्रकाश १२:९.

१७ पूर्णतया नम्र तुल्याइएपछि अय्यूबले आफ्नो गलत दृष्टिकोणलाई मानी लिए र आफू निबुर्द्धिले झैं बोलिरहेका थिए भनी स्वीकारे। यद्यपि, “परमेश्‍वरलाई नै म देख्नेछु” भनी अय्यूबले विश्‍वास प्रकट गरेका थिए। (अय्यूब १९:२५-२७) यहोवालाई प्रत्यक्ष देखेर कोही पनि जीवित रहन सक्दैन भने त्यो कसरी हुन सक्छ? (प्रस्थान ३३:२०) वास्तवमा, अय्यूबले ईश्‍वरीय शक्‍तिको प्रकटीकरण देखे, परमेश्‍वरको वचन सुने र यहोवाको सत्यता थाहा पाउन तिनको समझका आँखा खोलिए। त्यसकारण अय्यूबले ‘आफूलाई तुच्छ ठाने र धूलो अनि खरानीमा बसेर पश्‍चाताप गरे।’ (अय्यूब ४२:१-६) तिनले उत्तर दिन नसकेका थुप्रै प्रश्‍नहरूले परमेश्‍वरको श्रेष्ठता प्रमाणित गरिसकेको थियो र यहोवाप्रति समर्पित अय्यूबजस्तो व्यक्‍ति पनि तुच्छ छ भन्‍ने कुराको पुष्टि दियो। यहोवाको नाउँको पवित्रीकरण र उहाँको सार्वभौमिकताभन्दा हाम्रा चासोहरूलाई बढी प्राथमिकता दिनुहुँदैन भनी बुझ्न यसले हामीलाई मदत गर्छ। (मत्ती ६:९, १०) हाम्रो मुख्य चासो, यहोवाप्रति निष्ठा कायम गर्नु तथा उहाँको नाउँलाई आदर गर्ने हुनुपर्छ।

१८ ती आत्म-धर्मी झूटा सान्त्वनादाताहरूलाई के भयो? अय्यूबले जस्तै सत्य नबोली यहोवाबारे झूट बोलेकोमा परमेश्‍वरले एलीपज, बिल्दद र शोपरलाई पूर्ण औचित्यका साथ नाश गर्न सक्नु हुन्थ्यो। परमेश्‍वरले भन्‍नुभयो: “सातवटा साँढ़े र सातवटा भेड़ा लिएर मेरो दास अय्यूबकहाँ जाऊ, र तिमीहरू आफ्ना निम्ति होमबलि चढाऊ, र त्यसले तिमीहरूका निम्ति अन्तरबिन्ती चढ़ाउनेछ।” यस आज्ञाअनुसार गर्न ती तीन जनाले आफूलाई नम्र तुल्याउनु पऱ्‍यो। निष्ठावान अय्यूबले तिनीहरूको निम्ति प्रार्थना गरिदिनु पर्थ्यो। यहोवाले तिनको प्रार्थना स्वीकारयोग्य पाउनुभयो। (अय्यूब ४२:७-९) तर परमेश्‍वरलाई सरापेर मर्न आग्रह गर्ने अय्यूबकी पत्नी नि? परमेश्‍वरको दयाले गर्दा उनी पुनः अय्यूबसित मिले जस्तो देखिन्छ।

प्रतिज्ञा गरिएको इनामले हामीलाई आशा दिन्छ

१९ आफ्ना दुःखहरूबारे पीर गर्न छोडेर परमेश्‍वरको सेवामा पुनः ध्यान दिन थालेपछि यहोवाले अय्यूबको परिस्थिति परिवर्तन गरिदिनुभयो। ती तीनको लागि अय्यूबले प्रार्थना गरेपछि परमेश्‍वरले तिनको “सुदिन फर्काइदिनुभयो, र तिनका सबै धन-सम्पत्ति दुइ गुणा बढ़ाइदिनुभयो।” शैतानको रोग प्रहार कार्यलाई रोक्नु हुँदै अय्यूबलाई चमत्कारपूर्ण ढङ्‌गमा निको पार्नु भएर यहोवाले दियाबलमाथि आफ्नो श्रेष्ठता देखाउनुभयो। प्रेतहरूको दललाई पनि परमेश्‍वरले रोक्नुभयो। अय्यूबलाई उहाँको स्वर्गदूतीय संरक्षणमा राख्नुभएर ती प्रेतहरूलाई नियन्त्रणमा राख्नुभयो।—अय्यूब ४२:१०; भजनसंग्रह ३४:७.

२० अय्यूबका भाइ-बहिनीहरू, अघिका परिचित मानिसहरू आएर तिनीसित तिनको घरमा भोज गरे, तिनलाई समवेदना दिए र तिनलाई यस्तो विपत्ति अनुभव गर्न यहोवाले अनुमति दिनुभएकोमा सान्त्वना दिए। प्रत्येकले अय्यूबलाई पैसा र एउटा सुनको औंठी दिए। यहोवाले अय्यूबको जीवनको आखिरी समयमा शुरूको समयमाभन्दा बढ़ी आशिष्‌ दिनुभयो। अनि तिनका १४,००० भेडा, ६,००० ऊँट, १,००० हल गोरु र १,००० गधैनी भए। पहिलेजस्तै अय्यूबको सात छोरा र तीन छोरीहरू भए। तिनका छोरीहरू—यमीमा, कसीआ र केरेन-हप्पूक सारा देशभरि सबैभन्दा राम्री थिए र अय्यूबले तिनीहरूलाई तिनीहरूका दाज्यू-भाइसरह पैतृक-अधिकारको हिस्सा दिए। (अय्यूब ४२:११-१५) यस बाहेक, अय्यूब अरू १४० वर्ष बाँचे र तिनले आफ्ना सन्तानहरूको चार पुस्ता देखे। विवरणले अन्तमा यसो भन्छ: “आखिरमा तिनी पूरा बूढ़ेसकालमा दीर्घायु भएर मरे।” (अय्यूब ४२:१६, १७) तिनको दीर्घायु यहोवा परमेश्‍वरको चमत्कारपूर्ण कार्य थियो।

२१ अय्यूबबारे दिइएको शास्त्रीय विवरणले हामीलाई शैतानका चालहरूबारे अझ बढी सजग हुन र विश्‍वव्यापी सार्वभौमिकता कसरी मानव निष्ठासित सम्बन्धित छ भनी बुझ्न मदत दिन्छ। अय्यूबजस्तै परमेश्‍वरलाई प्रेम गर्ने सबैको परीक्षा हुनेछ। तर अय्यूबले जस्तै हामी सहन सक्छौं। विश्‍वास र आशाका साथ तिनी परीक्षाहरूबाट उम्के अनि थुप्रै आशिष्‌हरू पाए। यहोवाका सेवकहरूको हैसियतमा आज हामीसित साँचो विश्‍वास र आशा छ। अनि महान इनामदाताले हामी प्रत्येक सामु कस्तो ठूलो आशा राखिदिनुभएको छ! स्वर्गीय इनामलाई मनमा राख्दै अभिषिक्‍त जनहरूले परमेश्‍वरप्रति पूर्ण निष्ठाका साथ पृथ्वीमा बाँकि जीवन बिताउन सक्नेछन्‌। पार्थिव आशा भएका थुप्रै व्यक्‍तिहरू कहिल्यै मर्नेछैनन्‌ र मर्नेहरूले अय्यूब सँगसँगै पार्थिव प्रमोदवनमा पुनरुत्थानद्वारा इनाम पाउनेछन्‌। त्यस्तो साँचो आशालाई मन अनि हृदयमा राखेर निष्ठा कायम गर्दै परमेश्‍वरको सेवा गर्न सबैले यहोवाको पक्षमा दृढतापूर्वक खडा भएर विश्‍वव्यापी सार्वभौमिकताको कट्टर समर्थकहरूको हैसियतमा शैतानलाई झूटो साबित गर्न सकोस्‌। (w94 11/15)

तपाईंले कस्तो जवाफ दिनुहुनेछ?

◻ झूटा सान्त्वनादाताहरूलाई दिइएको आफ्नो अन्तिम वक्‍तव्यमा अय्यूबले कुन बुँदाहरू प्रष्ट पारे?

◻ एलीहू कसरी यहोवाको निष्पक्ष साक्षी साबित भए?

◻ परमेश्‍वरले अय्यूबलाई सोध्नुभएका केही प्रश्‍नहरू के के थिए र त्यसले कस्तो प्रभाव पाऱ्‍यो?

◻ अय्यूबबारे दिइएको शास्त्रीय विवरणबाट तपाईंले कस्तो लाभ उठाउनुभयो?

[अध्ययनका लागि प्रश्‍नहरू]

१. परीक्षाहरूले आफ्ना जनहरूलाई असाध्यै कमजोर तुल्याउँदा पनि यहोवाले तिनीहरूलाई के गर्नुहुन्छ?

२. यहोवाका साक्षीहरूले सतावट र कठिनाइ भोगेको भए तापनि तिनीहरू कसरी परीक्षाहरूबाट उम्केका छन्‌?

३. आफ्नो अन्तिम वक्‍तव्यमा अय्यूबले कस्तो साक्षी दिए?

४. निष्ठाको सन्दर्भमा अय्यूबले के भने र तिनले त्यसो किन भन्‍न सके?

५. साँचो बुद्धिलाई अय्यूबले कसरी परिभाषित गरे?

६. आफ्नो अघिको जीवनबारे अय्यूबले किन कुरा गरे?

७. अय्यूब कस्तो मानिस थिए?

८. एलीहू को थिए र उनले आदर अनि साहस कसरी दर्शाए?

९. अय्यूबको परिस्थितिमा सुधारबारे एलीहूले कसरी सङ्‌केत दिए?

१०. कुन हदसम्म अय्यूबको परीक्षा हुनेथियो तर १ कोरिन्थी १०:१३ लाई ध्यानमा राख्दा हामी कुन कुराको ढुक्क हुन सक्छौं?

११. अचाक्ली परीक्षा आइपर्दा हामीले के सम्झनुपर्छ?

१२. दुष्टहरूमाथि परमेश्‍वरको न्यायबारे एलीहूको अन्तिम वक्‍तव्यले के सङ्‌केत गर्छ?

१३, १४. (क) कुन सन्दर्भमा यहोवाले अय्यूबलाई प्रश्‍न गर्न थाल्नुभयो? (ख) परमेश्‍वरले अय्यूबलाई सोध्नुभएका अन्य प्रश्‍नहरूबाट हामी के सिक्न सक्छौं?

१५. बेहिमोथलाई प्रायः कस्तो प्रकारको जनावर मानिन्छ र यसका स्वभावहरू के के हुन्‌?

१६. (क) लिभियाथनको विवरण कुन प्राणीसित मिल्छ र यसका केही तथ्यहरू के के हुन्‌? (ख) यहोवालाई चढाइने सन्तोषप्रद सेवाबारे बेहिमोथ र लिभियाथनको शक्‍तिले कुन कुराको सङ्‌केत दिन सक्छ?

१७. (क) अय्यूबले कुन अर्थमा “परमेश्‍वरलाई देखे”? (ख) अय्यूबले उत्तर दिन नसकेका प्रश्‍नहरूले कुन कुराको पुष्टि दियो र यसले हामीलाई कसरी मदत दिन सक्छ?

१८. अय्यूबका झूटा सान्त्वनादाताहरूले के गर्नु पर्थ्यो?

१९. अय्यूबको सन्दर्भमा यहोवाले कसरी दियाबलमाथि आफ्नो श्रेष्ठता देखाउनुभयो?

२०. कुन कुन ढङ्‌गमा यहोवाले अय्यूबलाई इनाम र आशिष्‌ दिनुभयो?

२१. अय्यूबको शास्त्रीय विवरणले हामीलाई कसरी मदत पुऱ्‍याउँछ र हामी के गर्न कटिबद्ध हुनुपर्छ?

[पृष्ठ २५-मा भएको चित्र]

बेहिमोथ र लिभियाथानबारे यहोवाको भनाइले अय्यूबलाई नम्र हुन मदत दियो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने