अहिले आशावादी हुने ठोस आधार
सन् १८६६ मा जन्मेका इतिहासकार तथा समाजशास्त्री एच. जी. वेल्सले २० औं शताब्दीका मानिसहरूको सोचविचारमा ठूलो प्रभाव पारे। वैज्ञानिक उपलब्धिहरूद्वारा मात्र सुखद परिस्थिति सृजना गर्न सकिन्छ भन्ने तिनको दृढ विश्वासलाई आफ्ना लेखहरूद्वारा प्रस्तुत गरे। आफ्नो विश्वासलाई जोडदार बनाउन तिनले खूब प्रयास गरेकाले नै कोलिअर्स इन्साइक्लोपीडिया-मा वेल्सको “असीम आशावाद”-बारे उल्लेख गरिएको छ। तर दोस्रो विश्वयुद्ध सुरु भएपछि तिनको आशा चकनाचूर भयो भन्ने टिप्पणी पनि उक्त पुस्तकले गरेको छ।
“विज्ञानले भलाइ मात्र होइन खराबी पनि गर्छ” भन्ने जब वेल्सले थाह पाए तब “तिनको विश्वास छताछुल्ल भयो र तिनी निराशावादी बने” भनी चेम्बर्स बायोग्राफिकल डिक्सनरी बताउँछ। किन त्यस्तो भएको त?
वेल्सको विश्वास र आशा पूर्णतया मानव उपलब्धिहरूमा आधारित थियो। आफूले कल्पना गरेको आदर्श परिस्थिति सृजना गर्ने क्षमता मानवजातिसँग छैन भन्ने बुझेपछि तिनले आशाको अर्को कुनै स्रोत देखेनन्। हो, अत्यन्तै खिन्न भएपछि निराशावादी हुन धेरै बेर लाग्दैन।
आज पनि थुप्रै व्यक्तिहरू सोही कारण त्यस्तै अनुभव गर्छन्। तिनीहरूले जवानीपनमा आशै आशा सजाएका हुन्छन् तर उमेर ढल्कँदै गएपछि निराशावादी बन्छन्। सामान्य जीवनशैली त्यागेर लागूपदार्थको दुर्व्यसन, छाडापन तथा अन्य पतित जीवनशैली अंगाल्ने जवानहरू पनि छन्। निराशावादी हुनबाट कसरी बच्ने त? बाइबलकालीन निम्न उदाहरणहरूलाई ध्यान दिनुहोस् अनि विगतमा आशावादी हुने के-कस्ता आधार थिए र वर्तमान तथा भविष्यमा आशावादी हुने कस्तो आधार छ, विचार गर्नुहोस्।
आशावादी हुँदा अब्राहामले इनाम पाए
सा.यु.पू. १९४३ मा अब्राहाम हारानबाट बसाइँ सरे, युफ्रेटिस नदी तरे अनि कनान देश पुगे। अब्राहामलाई “विश्वास गर्नेहरू सबैका पिता” भनिएको छ र तिनले साँच्चै राम्रो उदाहरण बसाले!—रोमी ४:११.
अब्राहामसँगसँगै तिनका दाइका अनाथ छोरो लूत र लूतका परिवार पनि बसाइँ सरे। पछि, त्यस देशमा अनिकाल पर्दा दुवै परिवार मिश्रतर्फ लागे र केही समयपछि तिनीहरू सँगै फर्के। त्यतिञ्जेलसम्म अब्राहाम र लूतका थुप्रै धनसम्पत्ती साथै बस्तुभाउहरू भइसकेका थिए। तिनीहरूका गोठालाहरूका बीचमा झगडा हुँदा अब्राहाम अघि सरेर यसो भने: “तिम्रो र मेरो बीचमा औ तिम्रा र मेरा गोठालाहरूका बीचमा झगड़ा नहोस्, किनकि हामी ता नातेदार हौं। सारा देश तिम्रै अगि छ। यसैले म तिमीलाई भन्दछु, कि तिमी मबाट अलग होऊ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु, अथवा तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु।”—उत्पत्ति १३:८, ९.
जेठो भएको नाताले अब्राहामले उक्त मामिलामा आफ्नै पक्षमा निर्णय गर्नसक्थे। अनि लूतले आफ्नो काकालाई आदर गर्नुपर्ने भएकोले छनौट अब्राहामकै हातमा छोड्नसक्थे। बरु, “लूतले आफ्नो आँखा उठाएर हेरे, र यर्दनको बेंसी चाहिं परमप्रभुको बगैंचाजस्तै चारैतिर प्रशस्त पानीले भिजेको थियो, अर्थात् सोअरतिरको मिश्र देशजस्तै देखे—सदोम र गमोरा परमप्रभुले सर्वनाश पार्न अघिको कुरो यो हो। यसैकारण लूतले यर्दनको जम्मै बेंसी रोजेर पूर्वतिर लागे।” त्यसरी आफै छनौट गर्न पाएकोले लूतसँग आशावादी हुने हर कारण थियो। तर अब्राहामको विषयमा चाहिं के भन्न सकिन्छ?—-उत्पत्ति १३:१०, ११.
के अब्राहाम बेवकूफ भएर आफ्नो परिवारको हित जोखिममा पारिरहेका थिए? अहँ, थिएनन्। अब्राहामले आफ्नो सकारात्मक मनोवृत्ति र उदारताको ठूलो इनाम पाए। यहोवाले अब्राहामलाई भन्नुभयो: “अब तेरो आँखा उठाएर तँ भएको ठाउँबाट उत्तर, दक्षिण, पूर्व र पश्चिमतिर हेर्, किनकि तैंले देखेका सबै ठाउँ म तँलाई र तेरा सन्तानलाई सधैंको निम्ति दिनेछु।”—उत्पत्ति १३:१४, १५.
अब्राहाम आशावादी हुनुको ठोस आधार थियो। तिनको आशा परमेश्वरको प्रतिज्ञामा आधारित थियो। अब्राहामबाट एउटा ठूलो जाति खडा गर्नेछु र “[अब्राहाममा नै] पृथ्वीका सबै कुलले आशिष पाउनेछन्” भनी परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो। (उत्पत्ति १२:२-४, ७) विश्वस्त हुने हामीसँग पनि कारण छ किनकि हामीलाई थाह छ “परमेश्वरलाई प्रेम गर्नेहरू[का] . . . निम्ति पनि सब कुरा मिलेरनै तिनीहरूका भलाइको निम्ति काम गर्दछन्।”—रोमी ८:२८.
दुई आशावादी जासूस
इस्राएली राष्ट्रले ४०० वर्षपछि कनान अर्थात् “दूध र मह बहने” देशमा पाइला टेक्नै लागेको थियो। (प्रस्थान ३:८; व्यवस्था ६:३) मोशाले ‘भेद लिनलाई . . . [अनि] त्यस देशमा तिनीहरू कुन बाटो जानुपर्ने हो . . . भन्ने खबर ल्याउन’ १२ जना नाइकेहरू खटाए। (व्यवस्था १:२२; गन्ती १३:२) बाह्रै जनाले एकमत भएर त्यस देशको समृद्धिको वृतान्त सुनाए। तर तिनीहरूमध्ये १० जनाले निराशाजनक खबर ल्याए र मानिसहरू डरले थरथर काँपे।—गन्ती १३:३१-३३.
अर्कोतिर, यहोशू र कालेबले मानिसहरूलाई एकदमै आशावादी समाचार सुनाए र तिनीहरूको डर हटाउन सक्दो प्रयास गरे। प्रतिज्ञा गरिएको देशमा लग्ने आफ्नो वचन यहोवाले पूरा गर्न सक्नुहुन्छ भन्ने कुरामा तिनीहरू विश्वस्त थिए भनी तिनीहरूको मनोवृत्ति र तिनीहरूले ल्याएको खबरले नै देखाउँछ। तर त्यसले केही काम गरेन। उल्टै, “सारा समुदायले तिनीहरूलाई ढुंग्याउनुपर्छ भनी मतो गरे।”—गन्ती १३:३०; १४:६-१०.
यहोवामा भरोसा राख्न मोशाले मानिसहरूलाई आग्रह गरे। तर तिनीहरूले कानै थापेनन्। तिनीहरूले आफ्नो निराशावादी मनोवृत्ति नत्यागेका हुनाले नै ४० वर्षसम्म सम्पूर्ण राष्ट्र उजाडस्थानमा भौंतारिनुपऱ्यो। बाह्र जना जासूसमध्ये यहोशू र कालेबले मात्र आशावादी हुनाको इनाम पाए। मूल समस्या के थियो? विश्वासको कमी। किनकि मानिसहरूले आफ्नै ज्ञानमा भरोसा गरे।—गन्ती १४:२६-३०; हिब्रू ३:७-१२.
योनाको हिचकिचाहट
योना सा.यु.पू. नवौं शताब्दीका व्यक्ति थिए। तिनी यारोबाम द्वितीयको शासनकालतिर इस्राएलको दस कूललाई चेताउनी दिने यहोवाका विश्वासी अगमवक्ता थिए भनी बाइबलले देखाउँछ। यद्यपि, तिनले निनवे गएर त्यहाँका मानिसहरूलाई चेताउनी दिने काम गर्न इन्कार गरे। इतिहासकार जोसेफसअनुसार योनाले “भाग्नु नै बेस भन्ठाने” र यापोतर्फ लागे। त्यहाँ पुगेपछि तिनी तर्शीश, सम्भवतः अहिलेको स्पेन जाने जहाज चढे। (योना १:१-३) योनाले उक्त कार्यभारप्रति यस्तो निराशावादी दृष्टिकोण राख्नुको कारण योना ४:२ मा बताइएको छ।
अन्ततः आफ्नो काम पूरा गर्न योना तयार भए। तर निनवेका मानिसहरूले पश्चात्ताप गर्दा तिनी रिसाए। अतः योनालाई आश्रय दिने कुभिण्डोको बोट यहोवाले ओइलाएर मार्नुभयो र तिनलाई दयाको असल पाठ सिकाउनुभयो। (योना ४:१-८) कुभिण्डोको बोट मर्दा योना दुःखित भएको कुराले निनवेका १,२०,००० व्यक्तिहरूको सम्झना गराउनुपर्ने जसले “दाहिने र देब्रे हातै चिन्नसक्तैनन्” थिए।—योना ४:११.
योनाको अनुभवबाट के सिक्नसक्छौं? पवित्र सेवामा निराशावादको कुनै ठाउँ छैन। यहोवाको निर्देशन राम्ररी बुझ्यौं र पूर्णतया विश्वास गरेर त्यसलाई पछ्यायौं भने अवश्य सफलता हासिल गर्नेछौं।—हितोपदेश ३:५, ६.
कष्टहरूको बावजूद आशावादी
राजा दाऊदले यसो भने, “कुकर्मीहरूको कारण व्याकुल नहो, नता अधर्म गर्नेहरूका विरुद्धमा डाह गर्ने हो।” (भजन ३७:१) यो बुद्धिमानी सल्लाह हो भन्नुमा दुई मत हुनेछैन किनकि अहिले हाम्रो चारैतिर अन्याय तथा बेइमानी व्याप्त छ।—उपदेशक ८:११.
अधर्म गर्नेहरूप्रति ईर्ष्या नराखे तापनि निर्दोष मानिसहरूलाई दुष्ट व्यक्तिहरूले सताएको देख्दा वा आफू अन्यायपूर्ण व्यवहारको अचानो हुँदा हामी खिन्न हुनसक्छौं। त्यस्ता अनुभवले गर्दा निस्सहाय लाग्नसक्छ वा निराश बन्नसक्छौं। त्यस्तो महसुस हुँदा के गर्नुपर्छ? प्रथमतः दुष्टहरूमाथि दण्ड आइपर्ने छ भनी तिनीहरूलाई थाह छ भन्ने कुरा हामीले मनमा राख्नुपर्छ। भजन ३७ को पद २ ले यस्तो आश्वासन दिन्छ: “तिनीहरू [दुष्टहरू] चाँड़ैनै घाँसझैं काटिनेछन्, र हरियो झारझैं ओइलाउनेछन्।”
यसको अलावा, हामी निरन्तर सुकर्म गरिरहन, आशावादी हुन र यहोवालाई पर्खनसक्छौं। भजनरचयिता अझै यसो भन्छन्, “खराबी गर्न छोड़, र भलाइ गर, र सदा सर्वदै रहिरहो। किनकि परमप्रभुले इन्साफ प्रेम गर्नुहुन्छ, र आफ्ना भक्तहरूलाई त्याग्नुहुन्न।”—भजन ३७:२७, २८.
वास्तविक आशा पूरा हुन्छ!
त्यसोभए, हाम्रो भविष्य नि? प्रकाशको पुस्तकले “चाँड़ै अवश्य हुनआउने कुरो” वर्णन गर्छ। तीमध्ये युद्ध लड्ने उज्ज्वल रातो घोडसवार “पृथ्वीबाट शान्ति हरण” गर्न देखा परेको छ।—प्रकाश १:१; ६:४.
प्रथम विश्वयुद्धको दौडान बेलाइतमा एउटा प्रचलित र आशावादी धारणा फैलिएको थियो। त्यो हो, प्रथम विश्वयुद्ध नै अन्तिम विशाल युद्ध हो भन्ने आशा। सन् १९१६ मा बेलाइती राजनीतिज्ञ डेविड लोइड जर्ज अरूभन्दा निकै व्यवहारिक देखा परे। तिनले भने: “यो युद्ध त एकपछि अर्को युद्ध अन्त गर्ने चक्र मात्र हो।” (तेर्सो अक्षर हाम्रो।) तिनको भनाइ सोह्रै आना सत्य थियो। दोस्रो विश्वयुद्ध यता झन् निर्ममतासाथ सामूहिक हत्या गर्ने तौरतरिकाहरू विकास हुनथाल्यो। पचास वर्षभन्दा बढी समय बितिसक्दा पनि युद्ध थामिएला जस्तो छाँट पटक्कै देखिन्न।
प्रकाशकै पुस्तकमा अरू घोडसवारहरूको पनि वर्णन गरिएको पाउँछौं। ती अनिकाल, रूढी र मृत्युका प्रतीक हुन्। (प्रकाश ६:५-८) ती सबै अन्तको समयको चिह्नका अन्य पक्षहरू हुन्।—मत्ती २४:३-८.
के ती निराशावादी हुने कारणहरू हुन् त? अहँ पटक्कै होइनन्। किनकि दर्शनमा “सेतो घोड़ा र त्यसमाथि बस्नेले एउटा धनु लिएको . . . र तिनलाई एउटा मुकुट पनि दिइ[एको], औ तिनी विजय गर्दै र विजय गर्नालाई निस्के[को]” वर्णन गरिएको छ। (प्रकाश ६:२) उक्त दर्शनअनुसार स्वर्गीय राजाको हैसियतमा येशू ख्रीष्टले सबै किसिमको दुष्टता हटाउनुहुन्छ अनि विश्वव्यापी शान्ति तथा मेलमिलाप स्थापना गर्न घोडसवार गर्नुहुन्छ।a
नियुक्त राजा येशू ख्रीष्टले पृथ्वीमा हुनुहुँदा आफ्ना चेलाहरूलाई त्यस राज्यबारे प्रार्थना गर्न सिकाउनुभयो। सायद तपाईंले पनि त “स्वर्गमा हुनुहुने हाम्रा पिता” भन्न अथवा प्रभुको प्रार्थना गर्न सिक्नुभएको होला। त्यो प्रार्थनामा, परमेश्वरको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पनि पूरा होस् भनेर हामी उहाँको राज्यबारे प्रार्थना गर्छौं।—मत्ती ६:९-१३.
वर्तमान रीतिरिवाजलाई टालटुल गर्नुको साटो यहोवाले आफ्ना मसीही राजा येशू ख्रीष्ट मार्फत त्यसलाई पूर्णतया हटाउनुहुनेछ। त्यसको ठाउँमा “म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु, र अघिअघिका कुराहरूको सम्झना हुनेछैन, नता ती स्मरणमा आउनेछन्” भनी यहोवा भन्नुहुन्छ। स्वर्गीय सरकार अन्तर्गत पृथ्वी मानिस जातिको शान्तिपूर्ण र सुखमय बासस्थान बन्नेछ जहाँ जीवन र कामकुराबाट असीम आनन्द मिल्नेछ। यहोवा भन्नुहुन्छ, “मैले सृष्टि गरेको कुरामा सदा सर्वदा आनन्द गर र हर्ष मनाऊ। . . . छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्।” (यशैया ६५:१७-२२) उक्त अचूक प्रतिज्ञाको आधारमा भविष्यको आशा राख्नुभयो भने अहिले अनि सदा सर्वदा आशावादी बन्ने तपाईंसँग हर कारण हुनेछ!
[फुटनोट]
a उक्त दर्शनको विस्तृत छलफलका लागि कृपया वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पुस्तकको अध्याय १६ हेर्नुहोस्।
[पृष्ठ ४-मा भएको चित्र]
एच. जी. वेल्स
[स्रोत]
Corbis-Bettmann