प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 १/१५ pp. २१-२५
  • यहोवाको लागि तनमनको बलिदान चढाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको लागि तनमनको बलिदान चढाउनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • दैनिक जीवनमा
  • तपाईंको जीवनलाई असर गर्छ
  • उपासनाद्वारा चढाउने बलिदान
  • दिने र पाउने
  • आफ्नो कृतज्ञता देखाउनुहोस्‌
  • ‘सत्यको ढाँचाबाट’ सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • यहोवालाई प्रसन्‍न तुल्याउने प्रशंसाका बलिदानहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • के तपाईं परमेश्‍वरको राज्यको लागि त्यागहरू गर्दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • साँचो उपासनाले तपाईँको आनन्द बढाउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 १/१५ pp. २१-२५

यहोवाको लागि तनमनको बलिदान चढाउनुहोस्‌

“चाहे तिमीहरू जेसुकै गर, . . . यहोवाको लागि जस्तै गरी तनमनले गर।”—कल. ३:२३.

यी प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि?

  • हाम्रो दैनिक क्रियाकलापमा हामी कसरी यहोवाको महिमा गर्न सक्छौं?

  • हामी कस्ता बलिदानहरू चढाएर परमेश्‍वरको उपासना गर्छौं?

  • हामी यहोवालाई भौतिक कुराहरू कसरी चढाउन सक्छौं?

१-३. (क) येशूले बलिदानको रूपमा आफ्नो जीवन दिइसक्नुभएकोले यहोवालाई कुनै पनि प्रकारको बलिदानको आवश्‍यकता छैन भन्‍न खोजिएको हो? व्याख्या गर्नुहोस्‌। (ख) आज हामीले चढाउने बलिदानको सन्दर्भमा कस्तो प्रश्‍न उठ्‌छ?

इस्वी संवत्‌ प्रथम शताब्दीमा यहोवाले आफ्ना जनहरूलाई येशूको फिरौतीको बलिदानले मोशाको व्यवस्था अन्त्य गरेको कुरा प्रस्ट पार्नुभयो। (कल. २:१३, १४) यहूदीहरूले सयौं वर्षदेखि चढाइरहेका बलिदानहरूको अब कुनै आवश्‍यकता थिएन अनि औचित्य पनि थिएन। व्यवस्थाले ‘ख्रीष्टसम्म पुऱ्‍याउने अभिभावक’ भई आफ्नो काम पूरा गरिसकेको थियो।—गला. ३:२४.

२ तर यसको अर्थ ख्रीष्टियनहरू बलिदानप्रति कुनै चासो राख्दैनन्‌ भन्‍न खोजिएको होइन। यसको विपरीत ‘पवित्र शक्‍तिको निर्देशनबमोजिम येशू ख्रीष्टमार्फत परमेश्‍वरलाई स्वीकार्य बलिदान चढाउनुपर्ने’ आवश्‍यकताबारे प्रेषित पत्रुसले बताए। (१ पत्रु. २:५) प्रेषित पावलले पनि समर्पित ख्रीष्टियनको जीवनको जुनसुकै पक्षलाई “बलिदान”-सित तुलना गर्न सकिने कुरा स्पष्ट पारे।—रोमी १२:१.

३ त्यसैकारण ख्रीष्टियनहरूले केही कुरा यहोवालाई चढाएर वा यहोवाको लागि कुनै कुरा त्याग गरेर उहाँको लागि बलिदान चढाउँछन्‌। बलिदान चढाउने सन्दर्भमा यहोवाले इस्राएलीहरूका लागि जे-जति आवश्‍यकताहरू तोक्नुभएको थियो, त्यसको आधारमा आज हाम्रो बलिदान यहोवाको लागि ग्रहणयोग्य छ कि छैन भनेर हामी कसरी पक्का हुन सक्छौं?

दैनिक जीवनमा

४. हाम्रो दैनिक क्रियाकलापबारे के कुरा सम्झनु आवश्‍यक छ?

४ हाम्रो दैनिक क्रियाकलाप यहोवाको लागि बलिदान चढाउने कुरासित सम्बन्धित छ भनेर बुझ्न गाह्रो हुन सक्छ। घरायसी कामकाज, स्कूलको क्रियाकलाप, अफिसको काम, किनमेलजस्ता कुराहरूले यहोवासितको हाम्रो सम्बन्धमा खासै असर गर्दैन जस्तो देखिन सक्छ। तथापि तपाईंले यहोवालाई आफ्नो जीवन समर्पण गरिसक्नुभएको छ वा छिट्टै गर्ने विचार गर्दै हुनुहुन्छ भने यस्ता साना कुराहरूले यहोवासितको तपाईंको सम्बन्धमा असर गर्नेछ भनी सम्झनु महत्त्वपूर्ण छ। हामी चौबीसै घण्टा ख्रीष्टियनहरू हौं। धर्मशास्त्रीय सिद्धान्तहरू हाम्रो जीवनको हरेक पक्षमा लागू गर्नुपर्छ। त्यसकारण पावल हामीलाई यसरी आग्रह गर्छन्‌: “चाहे तिमीहरू जेसुकै गर, मानिसको लागि जस्तै गरी होइन तर यहोवाको लागि जस्तै गरी तनमनले गर।”— कलस्सी ३:१८-२४ पढ्‌नुहोस्‌।

५, ६. हाम्रो दिनहुँको पहिरन वा आचरणलाई कुन कुराले असर गर्नुपर्छ?

५ कुनै ख्रीष्टियनको दैनिक क्रियाकलाप पवित्र सेवाको भाग होइन। तर “यहोवाको लागि जस्तै गरी तनमनले गर” भन्‍ने पावलको अभिव्यक्‍तिले हामीलाई आफ्नो पूरै जीवनशैलीबारे सोच्न लगाउँछ। त्यसोभए यो कुरा हामी आफूमा कसरी लागू गर्न सक्छौं? के हामी हरबखत राम्रो व्यवहार गर्छौं अनि उचित किसिमको पहिरन लगाउँछौं? अथवा दैनिक क्रियाकलापमा व्यस्त हुँदा हाम्रो व्यवहार अथवा हाम्रो पहिरनको कारण आफूलाई यहोवाको साक्षी भनी चिनाउन अप्ठ्यारो महसुस गर्छौं? त्यस्तो हुन कहिल्यै नदिऊँ! यहोवाका जनहरू उहाँको नाममा कलङ्‌क लाग्ने कुनै पनि काम गर्न चाहँदैनन्‌।—यशै. ४३:१०; २ कोरि. ६:३, ४, ९.

६ “यहोवाको लागि जस्तै गरी तनमनले” काम गर्ने चाहनाले जीवनको विभिन्‍न क्षेत्रलाई कसरी असर गर्छ, विचार गरौं। छलफल गर्दा यो कुरा मनमा राख्नुहोस्‌: इस्राएलीहरूले यहोवाको लागि चढाउने जुनसुकै बलिदान सबैभन्दा असल हुनुपर्थ्यो।—प्रस्थ. २३:१९.

तपाईंको जीवनलाई असर गर्छ

७. ख्रीष्टियन समर्पणमा के कुरा समावेश छ?

७ तपाईंले यहोवालाई आफ्नो जीवन समर्पण गर्दा कुनै पनि सर्त नराखी त्यो निर्णय गर्नुभयो, होइन र? यसको अर्थ, तपाईंले आफ्नो जीवनको हरेक पक्षमा यहोवालाई पहिलो स्थानमा राख्ने वाचा गर्नुभयो। ( हिब्रू १०:७ पढ्‌नुहोस्‌) त्यो अति उत्तम निर्णय थियो। कुनै कुरा गर्दा यहोवाको इच्छालाई पहिलो स्थान दिनुभयो अनि त्यसैअनुसार चल्ने प्रयास गर्नुभयो भने नतिजा एकदमै राम्रो हुन्छ भनेर तपाईंले पक्कै अनुभव गर्नुभएको छ। (यशै. ४८:१७, १८) यहोवाका जनहरू पवित्र अनि आनन्दित छन्‌ किनभने तिनीहरू आफूलाई शिक्षा दिने परमेश्‍वरका गुणहरू झल्काउँछन्‌।—लेवी ११:४४; १ तिमो. १:११.

८. यहोवाले पुरातन समयका बलिदानहरूलाई पवित्र ठान्‍नुभएको कुराले आज हाम्रो लागि कस्तो अर्थ राख्छ?

८ इस्राएलीहरूले यहोवालाई चढाएको बलिदानलाई पवित्र ठानिन्थ्यो। (लेवी ६:२५; ७:१) “पवित्रता” भनी अनुवाद गरिएको हिब्रू शब्दले अलग्याइएको, परमेश्‍वरको लागि मात्र भनी छुट्ट्याइएको वा चोख्याइएको भन्‍ने अर्थ दिन्छ। हाम्रो बलिदान यहोवाको लागि स्वीकार्य हुने हो भने त्यो बलिदान संसारको प्रभावबाट दूषित हुनु हुँदैन। यहोवाले घृणा गर्ने कुनै पनि कुरालाई हामीले प्रेम गर्नु हुँदैन। ( १ यूहन्‍ना २:१५-१७ पढ्‌नुहोस्‌) यसको अर्थ यहोवाले हामीलाई अपवित्र ठान्‍न सक्ने जुनसुकै किसिमको सङ्‌गतबाट टाढै रहनुपर्छ। (यशै. २:४; प्रका. १८:४) साथै, हामीले अशुद्ध वा अनैतिक कुरालाई हेरिरहनु हुँदैन अथवा यस्ता कुराहरूबारे कल्पना गरिरहनु हुँदैन।—कल. ३:५, ६.

९. ख्रीष्टियनहरूले अरूप्रति गर्ने व्यवहार कत्तिको महत्त्वपूर्ण छ र किन?

९ पावलले सङ्‌गी विश्‍वासीहरूलाई यसरी आग्रह गरे: “भलाइ गर्न अनि अरूसित बाँडचुँड गर्न नबिर्स, किनकि यस्तै बलिदानहरूसित परमेश्‍वर असाध्यै खुसी हुनुहुन्छ।” (हिब्रू १३:१६) त्यसैले सधैं भलाइ गर्ने मानिस हुँदा र सधैं अरूको निम्ति भलाइ गर्दा यहोवा त्यसलाई स्वीकार्य बलिदान ठान्‍नुहुन्छ। अरूप्रति मायालु चासो देखाउनु साँचो ख्रीष्टियनहरूको चिनारी नै हो।—यूह. १३:३४, ३५; कल. १:१०.

उपासनाद्वारा चढाउने बलिदान

१०, ११. हाम्रो ख्रीष्टियन सेवा र उपासनालाई यहोवा कुन दृष्टिकोणले हेर्नुहुन्छ अनि यसले हामीलाई कस्तो असर गर्नुपर्छ?

१० हामी ख्रीष्टियनहरूले अरूको भलाइ गर्न सक्ने एउटा तरिका “आफ्नो आशा जनसमक्ष घोषणा” गरेर हो। के तपाईं साक्षी दिने हरेक मौकाको फाइदा उठाउनुहुन्छ? पावलले यस अत्यावश्‍यक ख्रीष्टियन गतिविधिलाई “प्रशंसाको बलिदान अर्थात्‌ ओठको फल” भने, “जसद्वारा हामी [परमेश्‍वरको] नाम जनसमक्ष घोषणा गर्छौं।” (हिब्रू १०:२३; १३:१५; होशे १४:२) सुसमाचार सुनाउन हामी कति समय प्रयोग गर्छौं अनि प्रचार गर्ने तरिकालाई हामी कसरी अझै प्रभावकारी बनाउन सक्छौं भनेर सोच्नु मदतकारी हुनेछ। सेवा सभाका भागहरूले यस सन्दर्भमा हामीलाई मदत गर्न सक्छ। छोटकरीमा भन्‍नुपर्दा, क्षेत्र सेवा र अनौपचारिक साक्षी “प्रशंसाको बलिदान” अनि उपासनाको एउटा भाग हो। त्यसैले यो बलिदान सबैभन्दा असल हुनुपर्छ। हामी सबैको परिस्थिति एउटै हुँदैन। तर सुसमाचार घोषणा गर्न हामी कति समय खर्च गर्छौं भन्‍ने कुराले यहोवाको सेवाप्रति हाम्रो मनोवृत्ति कस्तो छ भनी देखाउँछ।

११ ख्रीष्टियनहरूले व्यक्‍तिगत रूपमा गरिने उपासना वा सामूहिक रूपमा गरिने उपासनामा नियमित तवरमा समय बिताउँछन्‌। हामीले यसै गरेको यहोवा चाहनुहुन्छ। हुनत अहिले हामीले विश्राम दिन मनाउनु अथवा चाडहरूको लागि नियमित रूपमा यरूशलेमको यात्रा गर्नु पर्दैन। तथापि त्यस्ता प्रबन्धहरूबाट आज पनि हामी थुप्रै पाठ सिक्न सक्छौं। परमेश्‍वर अहिले पनि हामीले व्यर्थका कुराहरूलाई पन्छाएर उहाँको वचन अध्ययन गरेको, प्रार्थना गरेको अनि ख्रीष्टियन सभाहरू धाएको आशा गर्नुहुन्छ। अनि ख्रीष्टियन परिवारका शिरहरूले आफ्नो परिवारका सदस्यहरूसित पारिवारिक उपासना गर्न अगुवाइ लिन्छन्‌। (१ थिस्स. ५:१७; हिब्रू १०:२४, २५) परमेश्‍वरसितको सम्बन्ध नजिक बनाउने सन्दर्भमा हामी आफैलाई यस्तो प्रश्‍न सोध्न सक्छौं, ‘के म उपासनाको गुणस्तर अझै राम्रो बनाउन सक्छु?’

१२. (क) पुरातन समयमा उपासना गर्दा धूप चढाइने कुरालाई आज केसित तुलना गर्न सकिन्छ? (ख) यस्तो तुलनाले हाम्रो प्रार्थनाको विषयवस्तुलाई कस्तो असर गर्नुपर्छ?

१२ राजा दाऊदले यसरी यहोवाको गीत गाए: “मेरो प्रार्थना तपाईंको सामने धूपजस्तै . . . ठहरिओस्‌।” (भज. १४१:२) तपाईंको प्रार्थनाको नियमितता अनि गुणस्तरबारे एकछिन सोच्नुहोस्‌। प्रकाशको पुस्तकले “पवित्र जनहरूका प्रार्थनाहरू”-लाई धूपसित तुलना गरेको छ। यसले स्वीकार्य प्रार्थना सुगन्धित बास्नाझैं यहोवाकहाँ पुग्छ भनी देखाउँछ। (प्रका. ५:८) पुरातन इस्राएलमा, यहोवाको वेदीमा नियमित रूपमा चढाइने धूप होसियारीपूर्वक अनि ठीक तरिकाले तयार गर्नुपर्थ्यो। यहोवाले स्थापना गर्नुभएको नियमअनुसारै चढाएमा मात्र त्यो उहाँलाई स्वीकार्य हुन्थ्यो। (प्रस्थ. ३०:३४-३७; लेवी १०:१, २) हामीले पनि यहोवाको निर्देशनअनुसारै प्रार्थना गऱ्‍यौं र यसलाई पवित्र कुरा सम्झ्यौं भने हाम्रा प्रार्थनाहरू उहाँलाई स्वीकार्य हुनेछन्‌ भनी ढुक्क हुन सक्छौं।

दिने र पाउने

१३, १४. (क) इपाफ्रोडाइटस अनि फिलिप्पीको मण्डलीले पावलको लागि के गरे अनि यसप्रति पावलले कस्तो महसुस गरे? (ख) इपाफ्रोडाइटस अनि फिलिप्पीको मण्डलीको उदाहरण हामी कसरी अनुकरण गर्न सक्छौं?

१३ थोरै दिऊँ या धेरै, विश्‍वव्यापी कार्यको लागि दिइने अनुदानलाई बलिदानसित तुलना गर्न सकिन्छ। (मर्कू. १२:४१-४४) इस्वी संवत्‌ प्रथम शताब्दीमा, फिलिप्पीमा भएको मण्डलीले पावलको शारीरिक आवश्‍यकताको हेरविचार गर्न इपाफ्रोडाइटसलाई रोम पठायो। मण्डलीले पावलको लागि उपहारस्वरूप पठाइदिएको अनुदान पनि सायद तिनले सँगै लगे। फिलिप्पीहरूले पावललाई उदारता देखाएको यो पहिलो पटक थिएन। पावलले पैसाको विषयमा कुनै चिन्ता नगरी अझ धेरै समय सेवामा बिताउन सकून्‌ भनेर तिनीहरूले उक्‍त अनुदान पठाएका थिए। पावलले यस उपहारलाई कसरी हेरे? उनले यसलाई “परमेश्‍वरको लागि ग्रहणयोग्य अनि मीठो बास्ना भएको यस्तो बलिदान हो, जसले उहाँलाई असाध्यै खुसी बनाउँछ” भने। ( फिलिप्पी ४:१५-१९ पढ्‌नुहोस्‌) फिलिप्पीहरूले देखाएको दयालाई पावलले साँच्चै कदर गरे अनि यहोवाले पनि त्यसको कदर गर्नुभयो।

१४ त्यसरी नै आज हामीले विश्‍वव्यापी कार्यको लागि दिने अनुदानको यहोवा असाध्यै कदर गर्नुहुन्छ। हामीले राज्य गतिविधिलाई जीवनमा पहिलो स्थान दिइरह्‍यौं भने उहाँले हाम्रो शारीरिक अनि आध्यात्मिक सबै आवश्‍यकता पूरा गर्ने प्रतिज्ञा गर्नुभएको छ।—मत्ती ६:३३; लूका ६:३८.

आफ्नो कृतज्ञता देखाउनुहोस्‌

१५. के-कस्ता कुराहरूले गर्दा तपाईं यहोवाप्रति कृतज्ञ हुनुहुन्छ?

१५ यहोवाप्रति कृतज्ञ हुनुपर्ने कारणहरू गनेर साध्य छैन। के हामीले आफूले पाएको जीवनको लागि प्रत्येक दिन उहाँलाई धन्यवाद दिनुपर्दैन र? जीवन धान्‍न चाहिने सम्पूर्ण कुरा उहाँले हामीलाई दिनुभएको छ, जस्तै: खानेकुरा, लुगाफाटा, बस्ने घर अनि सास फेर्ने हावा। त्योभन्दा पनि ठूलो कुरा, सही ज्ञानमा आधारित हाम्रो विश्‍वासले हामीलाई आशा दिन्छ। यहोवा को हुनुहुन्छ अनि उहाँले हाम्रो लागि के गर्नुभएको छ भनी विचार गर्दा उहाँ हाम्रो उपासना अनि प्रशंसाको बलिदान पाउन योग्य हुनुहुन्छ भन्‍ने कुरा स्पष्ट हुन्छ।— प्रकाश ४:११ पढ्‌नुहोस्‌।

१६. ख्रीष्टको फिरौतीको बलिदानलाई हामीले कसरी हेर्नुपर्छ?

१६ हामीले अगाडिको लेखमा बुझेझैं यहोवाले मानिसजातिलाई दिनुभएको सबैभन्दा अमूल्य उपहार ख्रीष्टको फिरौतीको बलिदान हो। यो परमेश्‍वरले हामीप्रति देखाउनुभएको प्रेमको उल्लेखनीय नमुना हो। (१ यूह. ४:१०) त्यसोभए हामी आफू कृतज्ञ भएको कुरा कसरी देखाउन सक्छौं? पावलले यसो भने: “ख्रीष्टको प्रेमले हामीलाई बाध्य पार्छ, किनकि हामी यस्तो निष्कर्षमा पुगेका छौं: सबैका लागि एक जना मानिस मर्नुभयो; . . . अनि उहाँ सबैका लागि यसकारण मर्नुभयो कि बाँच्नेहरू अबउसो आफ्नो लागि होइन तर उहाँकै लागि बाँचून्‌, जो तिनीहरूका लागि मर्नुभयो र ब्यूँताइनुभयो।” (२ कोरि. ५:१४, १५) यदि हामी यहोवाको असीम अनुग्रहप्रति कृतज्ञ छौं भने हामी आफ्नो जीवन परमेश्‍वर अनि उहाँको छोराको आदर गर्न प्रयोग गर्नेछौं भनी पावलले भन्‍न खोजिरहेका थिए। हामी आज्ञा पालन गरेर अनि प्रचार गर्ने र चेला बनाउने काममा इच्छुक भएर परमेश्‍वर र ख्रीष्टप्रतिको आफ्नो प्रेम र कृतज्ञता देखाउन सक्छौं।—१ तिमो. २:३, ४; १ यूह. ५:३.

१७, १८. यहोवालाई अझ धेरै प्रशंसाको बलिदान चढाउन कतिपयले के-कस्ता तरिका अपनाएका छन्‌? एउटा उदाहरण दिनुहोस्‌।

१७ परमेश्‍वरलाई चढाउने प्रशंसाको बलिदानको गुणस्तर तपाईं अझै बढाउन सक्नुहुन्छ कि? यहोवाले आफ्नो निम्ति गर्नुभएका सबै असल कुरालाई मनन गर्दा धेरै जना राज्य प्रचारकार्यमा अथवा अन्य ईश्‍वरतान्त्रिक गतिविधिमा अझै भाग लिन आफ्नो समय र काम व्यवस्थित गर्न उत्प्रेरित भएका छन्‌। कतिपयले प्रत्येक वर्ष एक वा त्योभन्दा धेरै महिना सहायक अग्रगामी सेवा गर्न सकेका छन्‌ भने कतिले नियमित अग्रगामी सेवा गर्न सकेका छन्‌। कतिचाहिं यहोवाको सेवासित सम्बन्धित भवनहरूको निर्माणमा लागेका छन्‌। के यी आफू कृतज्ञ भएको देखाउने उत्तम तरिकाहरू होइनन्‌ र? हामी उचित मनसायले अर्थात्‌ कृतज्ञता देखाउन अनि धन्यवाद दिन परमेश्‍वरको सेवा गर्छौं भने त्यसलाई उहाँले स्वीकार्नुहुन्छ।

१८ थुप्रै ख्रीष्टियन यहोवाप्रति आफ्नो कृतज्ञता देखाउन उत्प्रेरित भएका छन्‌। यस्तै एक जना व्यक्‍ति मोरेन हुन्‌। क्याथोलिक धर्ममा हुर्केकी मोरेनले परमेश्‍वरबारे आफ्नो मनमा उठेका प्रश्‍नहरूको जवाफ क्याथोलिक धर्म अनि एसियाली दर्शनमा खोजिन्‌। तर दुवैमा तिनले चित्तबुझ्दो जवाफ भेट्टाइनन्‌। यहोवाका साक्षीहरूसित बाइबलबाट अध्ययन सुरु गरेपछि मात्रै तिनको जिज्ञासा मेटियो। आफ्ना सबै प्रश्‍नको जवाफ पाएको र जीवनमा साँचो आनन्द पाएकोले तिनी यहोवाप्रति असाध्यै कृतज्ञ भइन्‌। त्यसैले आफ्नो सारा शक्‍ति उहाँकै सेवामा लगाएर उहाँलाई धन्यवाद दिन चाहिन्‌। बप्तिस्मापछि तुरुन्तै सहायक अग्रगामी सेवा सुरु गरेर यसलाई निरन्तरता दिइन्‌ अनि परिस्थितिले साथ दिनेबित्तिकै नियमित अग्रगामी सेवा गरिन्‌। यो कुरा ३० वर्ष अगाडिको हो अनि मोरेन अझै पनि पूर्ण-समय सेवामा लागिरहेकी छिन्‌।

१९. तपाईं यहोवालाई कसरी अझ धेरै बलिदान चढाउन सक्नुहुन्छ?

१९ हो, यहोवाका थुप्रै विश्‍वासी सेवक आफ्नो परिस्थितिले गर्दा अग्रगामी सेवा गर्न सक्दैनन्‌। हामीले यहोवाको सेवामा जे-जति गर्न सके तापनि हामी सबैले उहाँलाई स्वीकार्य बलिदान चढाउन सक्छौं। आचरणको सन्दर्भमा, हामी हर समय यहोवाको प्रतिनिधित्व गर्छौं भन्‍ने कुरा मनमा राख्दै धर्मशास्त्रीय सिद्धान्त होसियारीपूर्वक लागू गर्छौं। विश्‍वासको सन्दर्भमा, परमेश्‍वरले आफ्ना उद्देश्‍यहरू पूरा गर्नुहुन्छ भनी हामी पूर्ण भरोसा गर्छौं। अनि असल कामको सन्दर्भमा, हामी सुसमाचार प्रचार गर्न मदत गर्छौं। यहोवाले हाम्रो लागि गरिदिनुभएको सबै कुराको निम्ति कृतज्ञता देखाउँदै उहाँको लागि तनमनको बलिदान चढाइरहौं।

[पृष्ठ २५-मा भएको ठूलो अक्षरको क्याप्सन]

के यहोवाको भलाइले तपाईंलाई आफूले चढाउने प्रशंसाको बलिदानको गुणस्तर बढाउन उत्प्रेरित गर्छ?

[पृष्ठ २३-मा भएको चित्र]

के तपाईं साक्षी दिने हरेक मौकाको फाइदा उठाउनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने