प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 २/१ पृ. २०-२३
  • तपाईं निरुत्साहसँग सामना गर्न सक्नुहुन्छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईं निरुत्साहसँग सामना गर्न सक्नुहुन्छ!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अरूले तपाईंको चित्त दुखाउँदा
  • के तपाईंले सेवाका कुनै सुअवसर गुमाउनुभएको छ ?
  • विश्‍वासी सेवक निरुत्साहित हुन्छन्‌
  • मदत उपलब्ध छ
  • हन्‍ना एउटा छोराको लागि प्रार्थना गर्छिन्‌
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • तिनले प्रार्थनामा परमेश्‍वरलाई मनको बह पोखाइन्‌
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • तिनले प्रार्थनामा परमेश्‍वरलाई आफ्नो मनको बह पोखाइन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • तिनले परमेश्‍वरबाट सान्त्वना पाए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 २/१ पृ. २०-२३

तपाईं निरुत्साहसँग सामना गर्न सक्नुहुन्छ!

एक बुद्धिमान्‌ पुरुषले एक चोटि यस्तो लेखे: “सुदिनमा तेरो बल घट्यो भनेदेखि विपत्‌को दिनमा तँ झन्‌ कति असहाय हुनेछस्‌।” (हितोपदेश २४:१०) यदि तपाईं कहिल्यै निरुत्साहित हुनुभएको छ भने सायद यो कथनसित तपाईं सहमत हुनुहुनेछ।

सबै जना कहिलेकाहीं निरुत्साहित हुने गर्छन्‌। सानोतिनो निराशा हो भने त एक दुई दिनपछि त्यो हराइहाल्छ। तर चित्त दुखेको छ वा द्वेषका भावनाहरू छन्‌ भने त्यो लामो समयसम्म पनि रहिरहनसक्छ। वर्षौंसम्म विश्‍वासीपूर्वक सेवा गर्दै आएका कोही कोही मसीही पनि अत्यन्तै निरुत्साहित भएर मसीही सभाहरू धाउन र क्षेत्र सेवकाईमा भाग लिनसमेत छाडेका छन्‌।

तपाईं निरुत्साहित हुनुभएको छ भने हरेस नखानुहोस्‌! पुरातन विश्‍वासी सेवकहरू निरुत्साहको सामना गर्न सफल भए र परमेश्‍वरको मदत पाएर तपाईं पनि सामना गर्न सक्नुहुन्छ।

अरूले तपाईंको चित्त दुखाउँदा

सोचविचारै नगरी बोलेको हरेक वचन वा कार्यबाट सधैं बच्न सकिंदैन। तथापि, अरूको असिद्धतालाई यहोवाप्रतिको तपाईंको सेवामा बाधा हुन नदिनुहोस्‌। कसैले तपाईंको चित्त दुखाएको छ भने शमूएलकी आमा हन्‍नाले कसरी निरुत्साहजनक अवस्थाको सामना गरिन्‌ भनी विचार गर्दा मदतकारी हुनसक्छ।

हन्‍नालाई बच्चाको साह्रै रहर थियो तर तिनी बाँझी थिइन्‌। तिनकी पतिको अर्की श्रीमती पनिन्‍नाले धेरै जना छोराछोरी जन्माइसकेकी थिइन्‌। हन्‍नाको अवस्था बुझिदिनुको साटो पनिन्‍नाले तिनलाई आफ्नो प्रतिद्वन्द्वी ठानिन्‌ र हन्‍नाप्रतिको तिनको मनोवृत्तिले गर्दा हन्‍ना ‘रोई बसेर केही खानेकुरा खाँदिन थिइन्‌।’—१ शमूएल १:२, ४-७.

एक दिन हन्‍ना मन्दिरमा प्रार्थना गर्न गइन्‌। इस्राएलका प्रधान पूजाहारी एलीले तिनको ओंठ चलिरहेको देखे। हन्‍ना प्रार्थना गर्दै थिइन्‌ भन्‍ने कुरा नबुझेको कारण तिनले उनी मद्यले मात्तिएकी रहिछन्‌ भन्ठाने। तिनले यसो भने: “तिमी कहिलेसम्म यस नशामा रहन्छ्‌यौ। मद्य त्यागिदेऊ।” (१ शमूएल १:१२-१४) यसो भन्दा हन्‍नालाई कस्तो लाग्यो होला के तपाईं कल्पना गर्न सक्नुहुन्छ? तिनी प्रोत्साहनको निम्ति मन्दिरमा आएकी थिइन्‌। तिनले इस्राएलको सबैभन्दा प्रभावकारी व्यक्‍तिले यस्तो गलत अभियोग लगाउलान्‌ भनेर कल्पना समेत गरेकी थिइनन्‌ होला!

यस परिस्थितिले हन्‍नालाई सजिलै निरुत्साहित पार्न सक्थ्यो। एलीले प्रधान पूजाहारीको रूपमा मन्दिरमा सेवा गरुञ्जेल त्यहाँ फेरि कहिल्यै नआउने वाचा गर्दै तुरुन्तै मन्दिरबाट फर्कन पनि सक्थिन्‌। तथापि, हन्‍नाले यहोवासँगको आफ्नो सम्बन्धलाई अत्यन्तै कदर गर्थिन्‌। तिनले त्यस्तो मार्ग अपनाएको खण्डमा परमेश्‍वर खुसी हुनुहुनेछैन भनेर तिनलाई थाह थियो। मन्दिर, शुद्ध उपासनाको केन्द्र थियो। यहोवाले त्यहाँ आफ्नो नाउँ राख्नुभएको थियो। अनि एली असिद्ध नै भए तापनि तिनी यहोवाले नियुक्‍त गर्नुभएको प्रतिनिधि थिए।

एलीको अभियोगप्रति हन्‍नाको श्रद्धेय प्रतिक्रिया हाम्रोनिम्ति अत्यन्तै राम्रो नमुना हुनसक्छ। तिनले आफूमाथि गलत अभियोग लाग्न दिइनन्‌ तर अत्यन्तै आदरपूर्ण ढंगमा प्रतिक्रिया व्यक्‍त गरिन्‌। तिनले यस्तो जवाफ दिइन्‌: “म सचेतै छु। मैले कुनै मद्य पिएकी छैनँ। मता परमप्रभुको सामने मेरो मनको दुःख पोखिरहेछु। हजूर, मलाई यस्तो नीच नठान्‍नुहोला। मेरो दुःख र कष्ट ज्यादा भएरनै म अहिलेसम्म बड़बड़ाइरहेकी छु।”—१ शमूएल १:१५, १६.

के हन्‍नाले आफ्नो कुरा स्पष्ट पारिन्‌? अवश्‍य। यद्यपि, तिनले निपुणतासाथ एलीसँग कुरा गरिन्‌, गलत अभियोग लगाएकोमा आलोचना गरिनन्‌। त्यसको फलस्वरूप एलीले दयालु ढंगमा हन्‍नालाई यसो भने: “शान्तिसित जाऊ, औ तिमीले उहाँलाई गरेको प्रार्थनाको जवाफ इस्राएलका परमेश्‍वरले तिमीलाई देऊन्‌।” यो कुरा सुल्झेपछि हन्‍ना त्यहाँबाट “गइहालिन्‌ र केही खानेकुरो खाइन्‌, औ तिनी फेरि उदास भइनन्‌।”—१ शमूएल १:१७, १८.

हामी यस विवरणबाट के सिक्नसक्छौं? हन्‍नाले गलतफहमी हटाउन तुरुन्तै कदम चालिन्‌ तर तिनले गहिरो आदरसहित त्यसो गरिन्‌। फलस्वरूप, तिनले यहोवाका साथै एलीसँग असल सम्बन्ध कायम राख्न सकिन्‌। खुलस्त कुराकानी र अलिकति कौशलताले सानो समस्याले ठूलो पहाडको रूप लिनदेखि रोक्नसक्छ!

समस्या सुल्झाउन दुवै पक्ष नम्र र छाँटकाँट गर्न तयार हुनुपर्छ। यदि सँगी विश्‍वासीले तपाईंको मतभिन्‍नता सुल्झाउने कुनै प्रयास गर्दैन भने यहोवाले आफ्नै समय र तरिकामा सुल्झाउनुहुनेछ भनेर मामिला यहोवाको हातमा छोडिदिनुपर्छ।

के तपाईंले सेवाका कुनै सुअवसर गुमाउनुभएको छ ?

यहोवाको सेवामा आफूले पाएको सुअवसर गुमाउनुपर्दा कोही कोही निराश भएका छन्‌। तिनीहरू आफ्ना भाइहरूको सेवा गर्न पाउँदा आनन्दित थिए र त्यो सुअवसर गुमाउनुपर्दा आफूलाई यहोवा वा उहाँको संगठनमा बेकम्मा महसुस गरे। तपाईंलाई पनि त्यस्तै लाग्छ भने मर्कूस कुल नाउँ गरेको यूहन्‍ना भनिने बाइबल लेखक मर्कूसको उदाहरणबाट अन्तरदृष्टि पाउन सक्नुहुन्छ।—प्रेरित १२:१२.

पावल र बर्णाबासको पहिलो मिसनरी यात्रामा मर्कूस पनि सँगै गएका थिए तर यात्राको बीचतिर मर्कूस तिनीहरूसँग छुट्टिएर यरूशलेम फर्के। (प्रेरित १३:१३) पछि, अर्को यात्रामा बर्णाबास मर्कूसलाई फेरि आफ्नो साथमा लैजान चाहन्थे। तथापि, बाइबल यसो भन्छ: “पावलले उनलाई साथमा लैजान ठीक मानेनन्‌, किनभने उनी प्याम्फिलियाबाट तिनीहरूसँग छुट्टिएर गएका थिए, औ तिनीहरूका साथ काममा गएका थिएनन्‌।” तर बर्णाबासले मानेनन्‌। विवरणमा अझ यसो भनिएको छ: “तिनीहरूका बीचमा यति चर्को मतभेद भयो, कि तिनीहरू एक अर्काबाट छुट्टिए, र बर्णाबासले मर्कूसलाई साथमा लिएर साइप्रसतिर समुद्र-यात्रा गरे, तर पावलले सिलासलाई चुनेर” गए।—प्रेरित १५:३६-४०.

सबैले आदर गर्ने प्रेरित पावलले तिनीसित काम गर्न इन्कार गर्दा र तिनकै योग्यताबारे मतभेदको कारण पावल र बर्णाबासबीच चर्को विवाद हुँदा मर्कूस निरुत्साहित भएका हुनसक्छन्‌। तर कुरा त्यहीं टुंगिदैन।

पावल र सिलासलाई सहयात्री चाहिएको थियो। लिस्त्रा आइपुग्दा तिनीहरूले मर्कूसको स्थानमा तिमोथी नाउँ गरेको युवक पाए। तिमोथी यसरी नियुक्‍त हुँदा तिनले बप्तिस्मा लिएको दुई वा तीन वर्ष मात्र भएको हुनुपर्छ। अर्कोतर्फ, मर्कूसले मसीही मण्डलीको थालनीदेखि नै सेवा गर्दै आएका थिए। साँच्चै भन्‍ने हो भने, तिनी पावलभन्दा पनि पुराना थिए। तैपनि, विशेष कार्यभार तिमोथीले पाए।—प्रेरित १६:१-३.

आफ्नो स्थान आफूभन्दा कान्छो, कम अनुभवी व्यक्‍तिले लिएको देख्दा मर्कूसले कस्तो प्रतिक्रिया देखाए होलान्‌? त्यसबारे बाइबलले बताउँदैन। यद्यपि, बाइबलले मर्कूस यहोवाको सेवामा सक्रिय रहेको संकेत गर्छ। तिनले आफूसामु भएका सुअवसरहरू स्वीकारे। पावल र सिलाससँगै सेवा गर्न नपाए तापनि तिनले बर्णाबासको गृहनगर साइप्रसमा बर्णाबाससँगै यात्रा गरे। मर्कूसले पत्रुससँग मिलेर बेबिलोनमा पनि सेवा गरे। अन्ततः तिनले पावल र तिमोथीसँग रोममा सेवा गर्ने सुअवसर पाए। (कलस्सी १:१; ४:१०; १ पत्रुस ५:१३) पछि, सुसमाचारका चारवटा पुस्तकमध्ये एउटा लेख्नसमेत मर्कूसले प्रेरणा पाए!

यी सबैबाट हामी बहुमूल्य पाठ सिक्नसक्छौं। सुअवसर गुमाउनुपर्दा आफूले पाउनसक्ने सुअवसरहरूको मूल्यांकन नै गर्न नसक्ने गरी मर्कूस विचलित भएनन्‌। मर्कूस यहोवाको सेवामा व्यस्त रहे र यहोवाले तिनलाई आशिष्‌ दिनुभयो।

त्यसैले, तपाईंले सुअवसर गुमाउनुभएको छ भने निरुत्साहित नहुनुहोस्‌। तपाईंले सकारात्मक मनोवृत्ति राख्नुभयो र यहोवाको सेवामा व्यस्त हुनुभयो भने अन्य सुअवसरहरू पाउन सक्नुहुन्छ। प्रमुको सेवामा प्रशस्त काम छ।—१ कोरिन्थी १५:५८.

विश्‍वासी सेवक निरुत्साहित हुन्छन्‌

विश्‍वासको निम्ति उत्तम लडन्त लड्‌नु सजिलो छैन। कहिलेकाहीं तपाईं निरुत्साहित हुन सक्नुहुन्छ। अनि निरुत्साहित भएकोले तपाईंलाई ग्लानी समेत महसुस हुनसक्छ किनभने तपाईंलाई लाग्नसक्छ, परमेश्‍वरको विश्‍वासी सेवकले कहिल्यै त्यस्तो महसुस गर्नु पर्दैन। इस्राएलका एक जना उल्लेखनीय अगमवक्‍ता एलियालाई सम्झनुहोस्‌।

बाल उपासनाको कट्टर समर्थक, इस्राएलकी रानी ईजेबेलले बालका अगमवक्‍ताहरूलाई एलियाले मारेको कुरा सुनेपछि तिनले एलियालाई पनि मार्ने शपथ खाइन्‌। एलियाले ईजेबेलभन्दा ठूला शत्रुहरूको सामना गरेका थिए तर अचानक तिनी यति साह्रो निरुत्साहित भए कि तिनलाई मर्नु नै निको लाग्यो। (१ राजा १९:१-४) किन त्यस्तो भएको? तिनले केही कुरा बिर्सेका थिए।

एलियाले आफ्नो बलको स्रोत यहोवा हुनुहुन्छ भनेर बिर्सेका थिए। पुनरुत्थान गर्न र बालका अगमवक्‍ताहरूको सामना गर्न एलियालाई कसले बल दिएको थियो? यहोवाले। निस्सन्देह, रानी ईजेबेलको रिस सहन यहोवाले तिनलाई बल दिन सक्नुहुन्थ्यो।—१ राजा १७:१७-२४; १८:२१-४०; २ कोरिन्थी ४:७.

कसै कसैको यहोवामाथिको आफ्नो विश्‍वास केही समयको लागि ढलपल हुनसक्छ। एलियाले जस्तै कहिलेकाहीं तपाईंले पनि समस्याहरूको सामना गर्नुपर्दा ‘माथिबाट आएको ज्ञानको’ सट्टा मानव दृष्टिकोणमा भर पर्न सक्नुहुन्छ। (याकूब ३:१७) तथापि, यहोवाले एलियाको उक्‍त सानो गल्तीको कारण त्याग्नु भएन।

एलिया बेर्शेबामा भागे र त्यहाँबाट उजाडस्थानतिर गए। तिनलाई त्यहाँ कसैले भेट्टाउनेछैन भन्ठानेका थिए। तर यहोवाले तिनलाई भेट्टाउनुभयो। उहाँले सान्त्वनाको निम्ति तिनीकहाँ स्वर्गदूत पठाउनुभयो। स्वर्गदूतले एलियालाई भर्खरै पोलेको फुलौरा र एक सुराही पानी दिने प्रबन्ध मिलाए। एलियाले आराम गरेपछि स्वर्गदूतले तिनलाई झन्डै ३०० किलोमिटर टाढा होरेब पर्वतमा जाने निर्देशन दिए र त्यहाँ तिनले यहोवाबाट थप बल पाए।—१ राजा १९:५-८.

होरेब पर्वतमा एलियाले यहोवाको शक्‍तिको प्रदर्शन देखे अनि यसले तिनको विश्‍वास सुदृढ बनायो। त्यसपछि, यहोवाले शान्त स्वरमा तिनी एक्लै छैनन्‌ भनेर सान्त्वना दिनुभयो। यहोवा तिनीसँगै हुनुहुन्थ्यो र एलियाले नचिने तापनि अरू ७,००० जना भाइहरू तिनको साथमा थिए। अन्ततः यहोवाले तिनलाई काम अह्राउनुभयो। उहाँले एलियालाई आफ्नो अगमवक्‍ता हुनबाट हटाउनुभएको थिएन!—१ राजा १९:११-१८.

मदत उपलब्ध छ

कहिलेकाहीं निरुत्साहित महसुस गर्नुहुँदा आराम गर्नुभयो वा पोषिलो भोजन खानुभयो भने पनि हल्का अनुभव गर्न सक्नुहुन्छ। सन्‌ १९७७ मा मृत्यु नभएसम्म यहोवाका साक्षीहरूको परिचालक निकायको सदस्यको रूपमा सेवा गरेका नेथन एच. नोरले बताएअनुसार राती राम्ररी सुतेपछि ठूलो समस्या पनि सानो हुँदो रहेछ। तथापि, समस्या रहिरह्‍यो भने त्यसो गर्नु मात्र पर्याप्त नहुनसक्छ। तपाईंलाई निरुत्साह विरुद्ध संघर्ष गर्न मदतको खाँचो पर्नेछ।

एलियालाई बल दिन यहोवाले स्वर्गदूत पठाउनुभयो। आज यहोवाले प्राचीन तथा अन्य परिपक्व मसीहीहरूमार्फत प्रोत्साहन दिनुहुन्छ। प्राचीनहरू साँच्चै “आँधी-बेह्रीबाट आड़ लिने ठाउँ” हुनसक्छन्‌। (यशैया ३२:१, २) तर तिनीहरूबाट प्रोत्साहन पाउन तपाईं आफै अग्रसर हुनुपर्छ। अत्यन्तै निरुत्साहित भए तापनि यहोवाबाट निर्देशन पाउन एलियाले होरेब पर्वतसम्म यात्रा गरे। हामी मसीही मण्डलीमार्फत प्रोत्साहनदायी निर्देशनहरू पाउँछौं।

चित्त दुख्दा वा सुअवसरहरू गुमाउँदा मदत स्वीकाऱ्‍यौं र साहसी भई परीक्षाहरूको सामना गऱ्‍यौं भने हामी एउटा महत्त्वपूर्ण मामिलामा यहोवाको पक्ष लिइरहेका हुनेछौं। त्यो के हो? मानिसहरूले आफ्ना स्वार्थ पूर्तिको लागि मात्र यहोवाको सेवा गर्छन्‌ भनी शैतानले दाबी गरेको थियो। सबै कुरा राम्रै चलिरहेको बेला हामीले यहोवाको सेवा गर्नेछौं भन्‍ने कुरामा शैतान पनि सहमत छ तर समस्या आइपर्दा हामीले परमेश्‍वरको सेवा गर्न छोड्‌नेछौं भनेर त्यसले दाबी गर्छ। (अय्यूब अध्याय १ र २) निरुत्साहको बावजूद अटल भई यहोवाको सेवामा लागिरहँदा हामी दियाबलले लगाएको निन्दनीय अभियोगको मुखभरिको जवाफ दिने काममा मदत गर्नसक्छौं।—हितोपदेश २७:११.

हन्‍ना, मर्कूस र एलियाले भोगेका समस्याहरूले गर्दा तिनीहरूले केही समयको निम्ति आफ्नो आनन्द गुमाए। तथापि, तिनीहरूले समस्याको सामना गरे र अर्थपूर्ण जीवन बिताए। यहोवाको मदत पाएर तपाईं पनि निरुत्साहको बावजूद साहसी हुन सक्नुहुन्छ!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने