प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • cl अध्या. २ पृ. १६-२५
  • के तपाईँ साँच्चै “परमेश्‍वरसित नजिक” हुन सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँ साँच्चै “परमेश्‍वरसित नजिक” हुन सक्नुहुन्छ?
  • यहोवासित नजिक हुनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले उहाँसित मित्रता गाँस्न सम्भव तुल्याउनुभयो
  • यहोवाले आफ्नो वचनमार्फत आफूबारे बताउनुभएको छ
  • “बुबालाई . . . छोराले प्रकट गर्न चाहन्छ”
  • एउटा मदतकारी अध्ययन सामग्री
  • “हेर, हाम्रा परमेश्‍वर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • तपाईँ यहोवाको साथी बन्‍न सक्नुहुन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • परमेश्‍वर र येसुबारे सत्य कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • तपाईं कसरी परमेश्‍वरसित घनिष्ठ हुन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
यहोवासित नजिक हुनुहोस्‌
cl अध्या. २ पृ. १६-२५
एउटी स्त्री आफूले बाइबलबाट पढेको कुरामा मनन गर्दै छिन्‌।

अध्याय २

के तपाईँ साँच्चै “परमेश्‍वरसित नजिक” हुन सक्नुहुन्छ?

१, २. (क) हामीलाई कुन कुरा असम्भव छ जस्तो लाग्न सक्छ? तर बाइबलमा के बताइएको छ? (ख) यहोवाले अब्राहामलाई के भन्‍नुभयो र किन?

स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने परमेश्‍वरले तपाईँबारे कसैलाई “ऊ मेरो साथी हो” भन्‍नुभयो भने तपाईँलाई कस्तो लाग्छ? धेरैलाई त्यो हुनै नसक्ने कुरा हो जस्तो लाग्छ। हुन पनि धुलोको कणसरि मानिसहरूले यहोवा परमेश्‍वरसित मित्रता गाँस्न सक्छन्‌ होला र? बाइबलले हामीलाई उहाँसित नजिक हुन साँच्चै सम्भव छ भनेर बताउँछ।

२ पुरातन समयका अब्राहामले यहोवासित त्यस्तै सम्बन्ध गाँसेका थिए। यहोवाले तिनलाई “मेरो मित्र” भन्‍नुभयो। (यसैया ४१:८) हो, यहोवा अब्राहामलाई आफ्नो घनिष्ठ साथी ठान्‍नुहुन्थ्यो। अब्राहामले “यहोवा परमेश्‍वरमाथि विश्‍वास” गरेकोले उहाँसित त्यस्तो सम्बन्ध गाँस्न सकेका थिए। (याकुब २:२३) आज पनि कुरा त्यही हो। यहोवा उहाँको सेवा गर्नेहरूसित घनिष्ठ मित्रता गाँस्न र तिनीहरूप्रति “आफ्नो प्रेम प्रकट” गर्न मौका खोजिरहनुहुन्छ। (व्यवस्था १०:१५) उहाँको वचन यसो भन्छ: “परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।” (याकुब ४:८) यस वाक्यमा हामी यहोवाको आग्रह र वाचा दुवै पाउँछौँ।

३. यहोवाले हामीलाई कस्तो आग्रह गर्नुभएको छ र त्यस आग्रहमा कस्तो प्रतिज्ञा पनि मुछिएको छ?

३ यहोवा हामीलाई उहाँसित नजिक हुन आग्रह गर्नुहुन्छ। उहाँ हामीलाई आफ्नो साथीको रूपमा स्विकार्न तयार र इच्छुक हुनुहुन्छ। साथै हामीले उहाँसित नजिक हुन कदम चाल्यौँ भने उहाँले पनि हामीसित नजिक हुन कदम चाल्ने प्रतिज्ञा गर्नुभएको छ। यसरी हामी उहाँसित विशेष सम्बन्ध गाँस्न सक्नेछौँ। उहाँले हामीलाई आफ्नो “घनिष्ठ मित्र” बनाउनुहुनेछ। (भजन २५:१४) “घनिष्ठ मित्र” भन्‍ने अभिव्यक्‍तिले एकअर्कालाई आफ्ना गोप्य कुराहरू अप्ठेरो नमानी बताउने मित्रहरूलाई सङ्‌केत गर्छ।

४. तपाईँको विचारमा घनिष्ठ साथी कस्तो हुन्छ अनि यहोवा कुन अर्थमा त्यस्तै साथी हुनुहुन्छ?

४ के तपाईँको कुनै घनिष्ठ साथी छ, जसलाई तपाईँ आफ्नो सबै कुरा बताउन सक्नुहुन्छ? त्यस्तो साथीले तपाईँलाई धेरै माया गर्छ। तपाईँ तिनीमाथि भरोसा गर्नुहुन्छ किनभने तिनी तपाईँप्रति वफादार छन्‌। तिनलाई आफ्नो कुरा बताउँदा तपाईँलाई असाध्यै खुसी लाग्छ। तपाईँले आफ्नो मनको बह पोख्दा तिनी ध्यान दिएर सुन्छन्‌। अरू कसैले तपाईँको भावना नबुझे तापनि तिनले भने बुझ्छन्‌। ठीक त्यसैगरि यदि तपाईँ परमेश्‍वरसित नजिक हुनुभयो भने उहाँ पनि तपाईँको विशेष साथी बन्‍नुहुनेछ। उहाँ तपाईँको कदर गर्नुहुन्छ, तपाईँलाई धेरै माया गर्नुहुन्छ अनि तपाईँलाई राम्ररी बुझ्नुहुन्छ। (भजन १०३:१४; १ पत्रुस ५:७) तपाईँ उहाँलाई आफ्नो मनको सबै कुरा धक नमानी बताउनुहुन्छ किनभने वफादारप्रति उहाँ वफादार हुनुहुन्छ भनेर तपाईँलाई थाह छ। (भजन १८:२५) तर यहोवासित यस्तो घनिष्ठ सम्बन्ध गाँस्न कसरी सम्भव भयो? उहाँले नै त्यो सम्भव तुल्याउनुभयो।

यहोवाले उहाँसित मित्रता गाँस्न सम्भव तुल्याउनुभयो

५. यहोवाले उहाँसित सम्बन्ध गाँस्न कसरी सम्भव तुल्याउनुभयो?

५ हामी पापी भएकोले आफ्नै भरमा कहिल्यै यहोवासित नजिक हुन सक्ने थिएनौँ। (भजन ५:४) पावलले लेखे: “तर हामी पापी छँदै ख्रिष्ट हाम्रो निम्ति मर्नुभयो र यसरी परमेश्‍वरले हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुभयो।” (रोमी ५:८) हो, यहोवाले नै येसुलाई “धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन” पठाउनुभयो। (मत्ति २०:२८) हामीले फिरौतीको बलिदानमा विश्‍वास गऱ्‍यौँ भने यहोवासित नजिक हुन सक्नेछौँ। बाइबल भन्छ: “पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो।” त्यसैले हामीले उहाँसित मित्रता गाँस्न सकौँ भनेर उहाँले नै आधार तयार पार्नुभयो।—१ युहन्‍ना ४:१९.

६, ७. (क) यहोवा रहस्यमय वा आफ्नो व्यक्‍तित्व गोप्य राख्ने परमेश्‍वर हुनुहुन्‍न भनेर हामी किन भन्‍न सक्छौँ? (ख) यहोवाले के-कस्ता माध्यममार्फत हामीलाई आफूबारे बताउनुभएको छ?

६ यहोवाले अर्को कदम पनि चाल्नुभएको छ। उहाँले हामीलाई आफूबारे थुप्रै कुरा बताउनुभएको छ। कसैसित घनिष्ठ मित्रता गाँस्न हामीले तिनलाई राम्ररी चिन्‍नुपर्छ अनि तिनका गुणहरू र मूल्यमान्यताको कदर गर्नुपर्छ। यदि यहोवा रहस्यमय परमेश्‍वर हुनुभएको भए वा आफ्नो व्यक्‍तित्व गोप्य राख्नुभएको भए हामी उहाँसित कहिल्यै नजिक हुन सक्दैनथ्यौँ। तर उहाँ त्यस्तो हुनुहुन्‍न बरु हामीले उहाँलाई चिनेको चाहनुहुन्छ। (यसैया ४५:१९) साथै उहाँले आफूबारे जे-जति बताउनुभएको छ, ती कुराहरू सबै मानिसले थाह पाउन सक्छन्‌, संसारको नजरमा तुच्छ देखिने मानिसहरूले समेत।—मत्ति ११:२५

तस्बिरहरूको सङ्‌गालो: यहोवाले आफ्नो व्यक्‍तित्व प्रकट गर्नुभएको केही तरिका। १. फूल र पुतली। २. समुद्री तटमा सूर्यास्त। ३. खुला बाइबल।

यहोवाले सृष्टि र आफ्नो वचन बाइबलमार्फत आफूबारे बताउनुभएको छ

७ यहोवाले के-कस्ता माध्यममार्फत हामीलाई आफूबारे बताउनुभएको छ? सृष्टिमा हामी उहाँका विभिन्‍न गुणहरू देख्न सक्छौँ। जस्तै: उहाँको असीमित शक्‍ति, अथाह बुद्धि र अपार प्रेम। (रोमी १:२०) तर यहोवाबारे थाह पाउन सकिने माध्यम सृष्टि मात्र त होइन। यहोवा कुराकानी गर्न रुचाउने परमेश्‍वर हुनुभएकोले उहाँले आफ्नो वचन बाइबलमार्फत पनि आफूबारे बताउनुभएको छ।

यहोवाले आफ्नो वचनमार्फत आफूबारे बताउनुभएको छ

८. बाइबल आफै नै यहोवा हामीलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुराको प्रमाण हो भनेर किन भन्‍न सक्छौँ?

८ बाइबल आफै नै यहोवा हामीलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुराको प्रमाण हो। यसमा उहाँले आफूबारे थुप्रै कुरा बताउनुभएको छ, त्यो पनि हामीले सजिलै बुझ्न सक्ने तरिकामा। यसबाट उहाँ हामीलाई प्रेम गर्नुहुन्छ अनि हामीले पनि उहाँलाई चिनेको र प्रेम गरेको चाहनुहुन्छ भनेर स्पष्ट हुन्छ। यो अनमोल किताब पढ्‌दा हामी उहाँसित नजिक हुन सक्छौँ। (भजन १:१-३) आउनुहोस्‌, यहोवाले आफ्नो वचनमा आफूबारे बताउनुभएका केही मन छुने कुरा छलफल गरौँ।

९. बाइबलमा परमेश्‍वरका कस्ता गुणहरूबारे स्पष्टसित बताइएको छ?

९ बाइबलका विभिन्‍न पदहरूमा परमेश्‍वरका गुणहरूबारे स्पष्टसित बताइएको छ। केही उदाहरण विचार गर्नुहोस्‌। “यहोवा न्याय मन पराउनुहुन्छ।” (भजन ३७:२८) “उहाँको शक्‍ति अथाह छ।” (अय्युब ३७:२३) उहाँ “वफादार” हुनुहुन्छ। (यर्मिया ३:१२) “उहाँ बुद्धिमान्‌ . . . हुनुहुन्छ।” (अय्युब ९:४) “यहोवा कृपालु र दयालु [हुनुहुन्छ], . . . हतपती [रिसाउनुहुन्‍न] अनि . . . अटल प्रेम र सत्यले भरिपूर्ण [हुनुहुन्छ]।” (प्रस्थान ३४:६) “यहोवा . . . असल हुनुहुन्छ र क्षमा गर्न सधैँ तयार हुनुहुन्छ।” (भजन ८६:५) यसअघिको अध्यायमा बताइएझैँ उहाँको एउटा प्रमुख गुण छ। “परमेश्‍वर प्रेम हुनुहुन्छ।” (१ युहन्‍ना ४:८) के तपाईँमा यस्ता मनमोहक गुणहरूले भरिपूर्ण परमेश्‍वरसित नजिक हुने इच्छा जागेन र?

१०, ११. (क) यहोवाले बाइबलमा आफ्ना गुणहरूको अलावा के पनि लेख्न लगाउनुभएको छ? किन? (ख) यहोवाले आफ्नो शक्‍ति कामद्वारा देखाउनुभएको कस्तो उदाहरण बाइबलमा पाइन्छ?

१० यहोवाले बाइबलमा आफ्ना गुणहरूबारे बताउनुका साथै ती गुणहरू कामद्वारा देखाउनुभएको उदाहरणहरू पनि लेख्न लगाउनुभएको छ। त्यस्ता विवरणहरू पढ्‌दा यहोवा कस्तो परमेश्‍वर हुनुहुन्छ भनेर अझ राम्ररी कल्पना गर्न मदत पाउँछौँ। नतिजास्वरूप हामी उहाँसित नजिक हुन सक्छौँ। एउटा उदाहरण विचार गरौँ।

बाइबलले हामीलाई यहोवासित नजिक हुन मदत गर्छ

११ बाइबलमा यहोवासित “विस्मयकारी सामर्थ्य” छ भनेर बताइएको छ। (यसैया ४०:२६) तर उहाँले इस्राएलीहरूलाई मिश्रबाट छुटकारा दिएर लाल समुद्र पार गराउनुभएको र निर्जनभूमिमा ४० वर्ष तिनीहरूको हेरचाह गर्नुभएको विवरण पढ्‌दा उहाँ साँच्चै कत्ति शक्‍तिशाली हुनुहुन्छ भनेर अझ स्पष्टसित बुझ्न सक्छौँ। लाल समुद्र दुई भाग भएको कल्पना गर्नुहोस्‌। झन्डै ३० लाख इस्राएली समुद्रको बीचमा सुख्खा जमिनमा हिँडिरहेको र तिनीहरूको दायाँबायाँ पानीको विशाल पर्खाल भएको दृश्‍य मनमा उतार्नुहोस्‌। (प्रस्थान १४:२१; १५:८) साथै उहाँले निर्जनभूमिमा पनि तिनीहरूको हेरचाह गर्नुभएको कल्पना गर्नुहोस्‌। उहाँले तिनीहरूको लागि चट्टानबाट पानी निकालिदिनुभयो र आकाशबाट सेतोसेतो दानाजस्तो देखिने खानेकुरा पनि बर्साउनुभयो। (प्रस्थान १६:३१; गन्ती २०:११) स्पष्ट छ, यहोवाले आफू शक्‍तिशाली छु भनेर बताउनु मात्र भएन तर त्यो शक्‍ति आफ्ना सेवकहरूको लागि प्रयोग पनि गर्नुभयो। “परमेश्‍वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ, दुःखको समयमा सजिलै पाइने मदतगार” हुनुहुन्छ। (भजन ४६:१) हामीले प्रार्थना गर्ने परमेश्‍वरसित हामीलाई मदत गर्ने शक्‍ति छ भनेर थाह पाउँदा हामी ढुक्क महसुस गर्छौँ नि, होइन र?

१२. हामीलाई बुझ्न सजिलो होस्‌ भनेर यहोवाले आफूबारे कसरी वर्णन गर्नुभएको छ?

१२ यहोवा अदृश्‍य हुनुहुन्छ तर उहाँलाई राम्ररी चिन्‍न उहाँले हामीलाई अर्को तरिकामा पनि मदत गर्नुभएको छ। हामी मानिस भएकोले अलौकिक कुराहरू देख्न सक्दैनौँ। यहोवाले आफूबारे बताउन स्वर्गदूतहरूको भाषा प्रयोग गर्नुभएको भए हामीले केही पनि बुझ्न सक्ने थिएनौँ। त्यसो गर्नु भनेको त तपाईँले एक जना जन्मजातै दृष्टिविहीन व्यक्‍तिलाई तपाईँको कपालको रङ्‌ग, अनुहार अनि वर्णबारे व्याख्या गर्नुजस्तै हो। तर यहोवाले आफूबारे हामीले बुझ्न सक्ने तरिकामा बताउनुभएको छ। हामीलाई बुझ्न सजिलो होस्‌ भनेर उहाँ कहिलेकाहीँ आफूलाई हामीले देखिरहेको र थाह पाएको कुरासित तुलना गर्नुहुन्छ। साथै कहिलेकाहीँ उहाँ आफूबारे यसरी वर्णन गर्नुहुन्छ, मानौँ उहाँको पनि हामी मानिसको जस्तै अङ्‌गहरू छन्‌।a

१३. यसैया ४०:११ पढ्‌दा तपाईँको मनमा कस्तो चित्र आउँछ? यसले तपाईँमा कस्तो प्रभाव पार्छ?

१३ यहोवाबारे यसैया ४०:११ मा के लेखिएको छ, याद गर्नुहोस्‌: “गोठालोले झैँ उहाँले आफ्नो बगालको हेरचाह गर्नुहुनेछ। आफ्नो पाखुराले उहाँले पाठाहरूलाई जम्मा गर्नुहुनेछ र तिनीहरूलाई आफ्नो छातीमा बोक्नुहुनेछ।” यहाँ यहोवालाई एक जना गोठालोसित तुलना गरिएको छ, जसले आफ्नो “पाखुराले” पाठाहरूलाई बोक्छ। यसबाट के स्पष्ट हुन्छ भने परमेश्‍वर आफ्ना सेवकहरूलाई हेरचाह गर्न र सुरक्षा दिन सक्नुहुन्छ, चाहे तिनीहरू जतिसुकै कमजोर किन नहोऊन्‌। हामी उहाँको बलियो पाखुरामा सुरक्षित महसुस गर्न सक्छौँ किनभने हामी उहाँप्रति वफादार छौँ भने उहाँले हामीलाई कहिल्यै त्याग्नुहुनेछैन। (रोमी ८:३८, ३९) महान्‌ गोठालो यहोवा आफ्ना भेडाहरूलाई “छातीमा” बोक्नुहुन्छ। ‘छातीमा बोक्नु’ भन्‍ने अभिव्यक्‍तिले लुगाको पोल्टालाई जनाउँछ, जसमा कहिलेकाहीँ गोठालोले नवजात पाठोलाई बोक्ने गर्थे। स्पष्ट छ, यहोवा हामीलाई धेरै माया गर्नुहुन्छ र हामीसित कोमल व्यवहार गर्नुहुन्छ। के हामी यस्तो मायालु परमेश्‍वरसित नजिक हुन चाहँदैनौँ र?

“बुबालाई . . . छोराले प्रकट गर्न चाहन्छ”

१४. यहोवाले येसुमार्फत आफ्नो व्यक्‍तित्व सर्वोत्तम तरिकामा प्रकट गर्नुभएको छ भनेर किन भन्‍न सक्छौँ?

१४ यहोवाले आफ्नो प्यारो छोरा येसुमार्फत आफ्नो व्यक्‍तित्व सर्वोत्तम तरिकामा प्रकट गर्नुभएको छ। परमेश्‍वरको सोचाइ र भावना येसुले जत्तिको राम्ररी अरू कसैले प्रकट गर्न सक्दैन किनभने उहाँ यहोवाको पहिलो सन्तान हुनुहुन्छ। उहाँ अरू स्वर्गदूत र यो ब्रह्‍माण्ड अस्तित्वमा आउनुअघि नै यहोवासित हुनुहुन्थ्यो। (कलस्सी १:१५) हो, यहोवा र येसुबीच घनिष्ठ सम्बन्ध थियो। त्यसैले उहाँले यसो भन्‍न सक्नुभयो: “छोरालाई बुबाले बाहेक अरू कसैले चिन्दैन। त्यसैगरि बुबालाई छोराले अनि ती मानिसहरूले मात्र चिन्छन्‌, जसलाई छोराले प्रकट गर्न चाहन्छ।” (लुका १०:२२) पृथ्वीमा हुनुहुँदा येसुले यहोवा कस्तो व्यक्‍ति हुनुहुन्छ भन्‍ने कुरा दुई तरिकामा प्रकट गर्नुभयो।

१५, १६. येसुले कुन दुई तरिकामा आफ्नो बुबाको व्यक्‍तित्व प्रकट गर्नुभयो?

१५ पहिलो, येसुले आफ्नो शिक्षाद्वारा यहोवा कस्तो परमेश्‍वर हुनुहुन्छ भनेर प्रकट गर्नुभयो। उहाँले मन छुने तरिकामा यहोवाबारे सिकाउनुभयो। उदाहरणको लागि, यहोवा पश्‍चात्तापीहरूलाई क्षमा गर्ने कृपालु परमेश्‍वर हुनुहुन्छ भनेर बुझाउन उहाँले एक जना क्षमाशील बुबाको उदाहरण बताउनुभयो। ती बुबा घर छोडेर गएको आफ्नो छोरा फर्कँदा असाध्यै खुसी भए र तिनको मन दयाले भरियो। तिनी दौडँदै गएर उसलाई अङ्‌गालो हाले र चुम्बन गरे। (लुका १५:११-२४) साथै यहोवा असल हृदय भएको प्रत्येक मानिसलाई असाध्यै प्रेम गर्नुहुन्छ र आफूतर्फ ‘खिच्नुहुन्छ’ भनेर पनि येसुले सिकाउनुभयो। (युहन्‍ना ६:४४) यहोवा एउटा सानो भँगेरा भुईँमा झरेको समेत थाह पाउनुहुन्छ। त्यसैले येसुले यसो भन्‍नुभयो: “नडराओ, तिमीहरू थुप्रै भँगेराभन्दा बहुमूल्य छौ।” (मत्ति १०:२९, ३१) हाम्रो यत्ति धेरै ख्याल राख्नुहुने परमेश्‍वरसित के हामी नजिक हुन चाहँदैनौँ र?

१६ दोस्रो, येसुले आफ्नो उदाहरणद्वारा यहोवा कस्तो परमेश्‍वर हुनुहुन्छ भनेर प्रकट गर्नुभयो। उहाँले दुरुस्तै यहोवाको अनुकरण गर्नुभएकोले यसो भन्‍न सक्नुभयो: “जसले मलाई देखेको छ, उसले बुबालाई पनि देखेको छ।” (युहन्‍ना १४:९) त्यसैले जब हामी येसुबारे सुसमाचारका पुस्तकहरूमा पढ्‌छौँ अनि उहाँको भावना र उहाँले मानिसहरूसित गर्नुभएको व्यवहारबारे थाह पाउँछौँ, तब हामीले एक अर्थमा उहाँको बुबा यहोवालाई नै हेरिरहेका हुन्छौँ। यहोवाले आफू कस्तो परमेश्‍वर हुँ भनेर प्रकट गर्नुभएको यो नै सर्वोत्तम तरिका हो। हामी किन त्यसो भन्‍न सक्छौँ?

१७. यहोवाले आफू कस्तो परमेश्‍वर हुँ भनेर कसरी बुझाउनुभएको छ? उदाहरण दिनुहोस्‌।

१७ एउटा उदाहरण विचार गरौँ। कल्पना गर्नुहोस्‌, तपाईँ कसैलाई दया के हो भनेर बुझाउँदै हुनुहुन्छ। सायद तपाईँ तिनलाई दयाको परिभाषा दिनुहुन्छ। तर तपाईँले तिनलाई कसैले दया झल्किने काम गरेको देखाउँदै “यस्तो कामलाई दयालु काम भनिन्छ” भनेर बताउनुभयो भने त्यो अझै प्रभावकारी हुन्छ। तिनले दया भनेको के हो, छर्लङ्‌गै बुझ्नेछन्‌। यहोवाले पनि आफू कस्तो व्यक्‍ति हुँ भनेर बुझाउन त्यस्तै तरिका चलाउनुभएको छ। उहाँले बाइबलमा आफूबारे बताउनुका साथै आफ्नो छोरामार्फत पनि आफ्नो व्यक्‍तित्व प्रकट गर्नुभएको छ। येसुले आफ्नो बुबाका गुणहरू दुरुस्त आफ्नो व्यवहारबाट देखाउनुभयो। येसुबारे सुसमाचारका पुस्तकहरूमा थुप्रै कुरा लेखिएका छन्‌। ती विवरणहरूमार्फत यहोवा एक अर्थमा यसो भन्दै हुनुहुन्छ: “म यस्तो व्यक्‍ति हुँ।” येसुले पृथ्वीमा बिताउनुभएको जीवनबारे बाइबलमा के-कस्ता कुरा लेखिएका छन्‌?

१८. येसुले कसरी शक्‍ति, न्याय र बुद्धि झल्काउनुभयो?

१८ येसुले यहोवाका चार प्रमुख गुण राम्ररी झल्काउनुभयो। उहाँसित रोगबिमार निको पार्ने, भोकाहरूलाई खुवाउने र मरेकाहरूलाई जीवित पार्ने शक्‍ति थियो। तर उहाँले आफ्नै फाइदाको लागि अथवा अरूलाई हानि पुऱ्‍याउनको लागि चमत्कार गर्ने शक्‍ति कहिल्यै प्रयोग गर्नुभएन। (मत्ति ४:२-४) उहाँ न्याय मन पराउनुहुन्थ्यो। लोभी व्यापारीहरूले मानिसहरूबाट नाजायज फाइदा उठाएको देख्दा उहाँलाई फिटिक्कै चित्त बुझेन र उहाँ तिनीहरूसित असाध्यै रिसाउनुभयो। (मत्ति २१:१२, १३) उहाँ गरिबगुरुवा र थिचोमिचोमा परेकाहरूलाई निष्पक्ष व्यवहार गर्नुहुन्थ्यो अनि तिनीहरूले उहाँबाट “स्फूर्ति” पाउँथे। (मत्ति ११:४, ५, २८-३०) येसुसित अथाह बुद्धि पनि थियो, जुन उहाँको शिक्षामा झल्किन्थ्यो। त्यसैले उहाँलाई “सुलेमानभन्दा पनि ठूलो” भनिएको छ। (मत्ति १२:४२) तर उहाँले कहिल्यै अरूबाट वाहवाही पाउन आफ्नो बुद्धि प्रदर्शन गर्नुभएन। उहाँको शिक्षाले साधारण मानिसहरूको मन छुन्थ्यो किनभने उहाँ सरल, स्पष्ट र व्यावहारिक तरिकामा सिकाउनुहुन्थ्यो।

१९, २०. (क) प्रेम देखाउने सन्दर्भमा येसु किन उत्कृष्ट उदाहरण हुनुहुन्छ? (ख) येसुबारे पढ्‌दा र उहाँले बसाल्नुभएको उदाहरणमा मनन गर्दा कुन कुरा मनमा राख्नुपर्छ?

१९ येसु प्रेम देखाउने सन्दर्भमा उत्कृष्ट उदाहरण हुनुहुन्छ। उहाँले आफ्नो सेवाको दौडान प्रेमका विभिन्‍न पक्षहरू, जस्तै: समानुभूति र कृपा आफ्नो व्यवहारमा देखाउनुभयो। मानिसहरूले दुःख पाएको देख्दा उहाँको मन दयाले भरिन्थ्यो। उहाँले मानिसहरूलाई थुप्रै पटक व्यावहारिक मदत पनि दिनुभयो। (मत्ति १४:१४) हुनत उहाँले बिरामीहरूलाई निको पार्नुभयो र भोकाहरूलाई खुवाउनुभयो तर उहाँले त्योभन्दा पनि महत्त्वपूर्ण तरिकामा प्रेम देखाउनुभएको थियो। उहाँले मानिसहरूलाई परमेश्‍वरको राज्यबारे सत्य कुरा बुझ्न, त्यसलाई स्विकार्न र प्रेम गर्न मदत गर्नुभयो किनभने त्यस राज्यले नै मानिसजातिमाथि सधैँभरि आशिष्‌ बर्साउने थियो। (मर्कुस ६:३४; लुका ४:४३) सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँले मानिसजातिको लागि स्वेच्छाले आफ्नो जीवन दिएर सर्वोत्कृष्ट तरिकामा प्रेम देखाउनुभयो।—युहन्‍ना १५:१३.

२० त्यसैले सबै उमेर र पृष्ठभूमिका मानिसहरू कोमल कृपाले भरिपूर्ण येसुको नजिक हुन चाहनु अचम्मलाग्दो कुरा होइन। (मर्कुस १०:१३-१६) तर येसुबारे पढ्‌दा र उहाँले बसाल्नुभएको उदाहरणमा मनन गर्दा उहाँद्वारा यहोवालाई अझ राम्ररी चिनिरहेका हुन्छौँ भन्‍ने कुरा सधैँ मनमा राखौँ।—हिब्रू १:३.

एउटा मदतकारी अध्ययन सामग्री

२१, २२. यहोवालाई खोज्नु भनेको के हो? यस अध्ययन सामग्रीले त्यसो गर्न कसरी मदत गर्नेछ?

२१ यहोवाले आफ्नो वचनमा आफूबारे थुप्रै कुरा लेख्न लगाउनुभएको छ। त्यसबाट के स्पष्ट हुन्छ भने हामी उहाँसित नजिक भएको उहाँ चाहनुहुन्छ। तर यहोवा हामीलाई उहाँसित सम्बन्ध गाँस्न जबरजस्ती भने गर्नुहुन्‍न। बरु “जबसम्म यहोवालाई भेट्टाउन सकिन्छ, उहाँलाई [खोज्ने]” जिम्मेवारी हाम्रै हो। (यसैया ५५:६) यहोवालाई खोज्नु भनेको उहाँका गुणहरू र तौरतरिकाबारे बाइबलबाट सिक्नु हो। यस अध्ययन सामग्रीले तपाईँलाई त्यसै गर्न मदत गर्नेछ।

२२ यस किताबका अध्यायहरूलाई चार भागमा विभाजन गरिएको छ। यी भागहरूमा यहोवाका चार मुख्य गुणबारे चर्चा गरिएका छन्‌: शक्‍ति, न्याय, बुद्धि र प्रेम। हरेक भागको परिचयमा उक्‍त गुणबारे संक्षिप्त जानकारी दिइएको छ। त्यसपछिका केही अध्यायहरूमा यहोवाले त्यो गुण कसरी विभिन्‍न तरिकामा प्रकट गर्नुभएको छ भन्‍नेबारे छलफल गरिएको छ। अनि हरेक भागमा येसुले त्यो गुण आफ्नो जीवनमा कसरी झल्काउनुभयो भन्‍नेबारे चर्चा गरिएको एउटा अध्याय छ। साथै हामी त्यो गुण कसरी विकास गर्न सक्छौँ भनेर छलफल गरिएको अध्याय पनि छ।

२३, २४. (क) “मननका लागि प्रश्‍न” भन्‍ने पेटीको विशेषता बताउनुहोस्‌। (ख) मनन गर्दा हामी कसरी यहोवासित अझ नजिक हुन सक्छौँ?

२३ यो र यसपछिका अध्यायहरूमा “मननका लागि प्रश्‍न” भन्‍ने पेटी दिइएको छ। जस्तै: पृष्ठ २४ मा भएको पेटी हेर्नुहोस्‌। त्यहाँ दिइएका शास्त्रपदहरू र प्रश्‍नहरू उक्‍त अध्यायको पुनरावृत्तिको लागि तयार पारिएको होइन। बरु त्यसको उद्देश्‍य तपाईँलाई त्यस विषयमा अझ गहिरिएर मनन गर्न मदत दिनु हो। तपाईँ त्यस पेटीबाट कसरी लाभ उठाउन सक्नुहुन्छ? त्यहाँ दिइएको प्रत्येक शास्त्रपद खोल्नुहोस्‌ अनि ध्यान दिएर पढ्‌नुहोस्‌। त्यसपछि उक्‍त शास्त्रपदसँगै दिइएका प्रश्‍नहरू विचार गर्नुहोस्‌ अनि ती प्रश्‍नहरूको जवाफबारे गहिरिएर मनन गर्नुहोस्‌। तपाईँ त्यसबारे अनुसन्धान पनि गर्न सक्नुहुन्छ। आफैलाई यस्ता थप प्रश्‍नहरू पनि सोध्नुहोस्‌: यस जानकारीले मलाई यहोवाबारे के सिकाउँछ? यसले मेरो जीवनमा कस्तो प्रभाव पार्छ? यो जानकारी म अरूलाई मदत गर्न कसरी प्रयोग गर्न सक्छु?

२४ यसरी मनन गर्दा हामी यहोवासित अझ नजिक हुन सक्छौँ। कसरी? बाइबलले मनन र हृदयबीच गहिरो सम्बन्ध हुन्छ भनेर बताउँछ। (भजन १९:१४) हामीले यहोवाबारे सिकेका कुराहरूमा मनन गऱ्‍यौँ भने त्यो जानकारी हाम्रो हृदयमा पुग्छ, त्यसले हाम्रो सोचाइमा प्रभाव पार्छ, हामीमा भावना जगाउँछ अनि हामीलाई त्यो कुरा व्यवहारमा लागू गर्न उत्प्रेरित गर्छ। साथै परमेश्‍वरप्रतिको हाम्रो प्रेम गहिरिँदै जान्छ अनि त्यस प्रेमले हामीलाई यहोवालाई आफ्नो घनिष्ठ मित्र बनाउन र उहाँलाई खुसी तुल्याउन जुरमुऱ्‍याउँछ। (१ युहन्‍ना ५:३) उहाँसित त्यस्तो सम्बन्ध गाँस्न हामीले उहाँका गुणहरू र तौरतरिकाबारे सिक्नुपर्छ। तर त्योभन्दा पहिले परमेश्‍वरको व्यक्‍तित्वको एउटा अभिन्‍न पक्ष, उहाँको पवित्रताबारे छलफल गरौँ।

a उदाहरणको लागि, बाइबलमा परमेश्‍वरको अनुहार, आँखा, कान, नाक, मुख, हात र खुट्टाबारे चर्चा गरिएको छ। (भजन १८:१५; ४४:३; यसैया ६०:१३; मत्ति ४:४; १ पत्रुस ३:१२) यस्ता अभिव्यक्‍तिहरू लाक्षणिक अर्थमा प्रयोग गरिएका हुन्‌। जसरी यहोवा “चट्टान” वा “ढाल” हुनुहुन्छ भन्‍ने अभिव्यक्‍तिलाई हामी शाब्दिक अर्थमा लिँदैनौँ, त्यसरी नै यी अभिव्यक्‍तिहरूलाई पनि शाब्दिक अर्थमा लिन मिल्दैन।—व्यवस्था ३२:४; भजन ८४:११.

मननका लागि प्रश्‍न

  • भजन १५:१-५ यहोवा आफ्ना साथीहरूबाट के चाहनुहुन्छ?

  • भजन ३४:१-१८ यहोवा कोसित नजिक हुनुहुन्छ र तिनीहरू कुन कुरामा ढुक्क हुन सक्छन्‌?

  • भजन १४५:१८-२१ यहोवासित नजिक हुन हामीले के गर्नुपर्छ?

  • २ कोरिन्थी ६:१४–७:१ यहोवासित घनिष्ठ हुन हाम्रो आचरण कस्तो हुनुपर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने