दोस्रो राजा
२ यहोवा परमेश्वरले एलियालाई+ आँधीमार्फत+ आकाशतिर लैजान लाग्नुभएको थियो। त्यसबेला एलिया र एलिसा+ गिलगालबाट+ निस्केर जाँदै थिए। २ एलियाले एलिसालाई यस्तो आग्रह गरे: “तिमी यहीँ बस। किनकि यहोवा परमेश्वरले मलाई बेथेल जाने आदेश दिनुभएको छ।” तर एलिसाले भने: “जीवित परमेश्वर यहोवाको र तपाईँको जीवनको कसम खाएर भन्छु, म तपाईँलाई छोडेर जादिनँ।” त्यसैले तिनीहरू दुवै जना बेथेल गए।+ ३ त्यसपछि बेथेलमा ‘भविष्यवक्ताहरूका छोराहरू’* एलिसाकहाँ आए र तिनलाई भने: “यहोवा परमेश्वरले तिम्रा शिर, तिम्रा मालिकलाई आज तिमीबाट अलग गर्दै हुनुहुन्छ भनेर तिमीलाई थाह छ?”+ तब तिनले भने: “मलाई थाह छ। यस विषयमा केही नभन।”
४ तब एलियाले एलिसालाई यस्तो आग्रह गरे: “तिमी यहीँ बस। किनकि यहोवा परमेश्वरले मलाई यरिहो जाने आदेश दिनुभएको छ।”+ तर एलिसाले भने: “जीवित परमेश्वर यहोवाको र तपाईँको जीवनको कसम खाएर भन्छु, म तपाईँलाई छोडेर जादिनँ।” त्यसैले तिनीहरू दुवै जना यरिहो गए। ५ त्यसपछि यरिहोमा भएका ‘भविष्यवक्ताहरूका छोराहरू’ एलिसाकहाँ आए र तिनलाई भने: “यहोवा परमेश्वरले तिम्रा शिर, तिम्रा मालिकलाई आज तिमीबाट अलग गर्दै हुनुहुन्छ भनेर तिमीलाई थाह छ?” तब तिनले भने: “मलाई थाह छ। यस विषयमा केही नभन।”
६ तब एलियाले एलिसालाई यस्तो आग्रह गरे: “तिमी यहीँ बस। किनकि यहोवा परमेश्वरले मलाई यर्दन नदी जाने आदेश दिनुभएको छ।” तर एलिसाले भने: “जीवित परमेश्वर यहोवाको र तपाईँको जीवनको कसम खाएर भन्छु, म तपाईँलाई छोडेर जादिनँ।” त्यसैले तिनीहरू दुवै जना त्यहाँबाट गए। ७ ‘भविष्यवक्ताहरूका छोराहरू’-मध्ये ५० जना तिनीहरूको पछिपछि गए। एलिया र एलिसा यर्दन नदीको किनारामा पुग्दा ती ५० जनाले परै उभिएर तिनीहरूलाई हेरिरहेका थिए। ८ त्यसपछि एलियाले आफ्नो लुगा* लिए+ र त्यसलाई बटारेर पानीमा हिर्काए। तब नदीको पानी दायाँ र बायाँ अलग भयो। त्यसपछि तिनीहरूले सुक्खा जमिनमा हिँडेर नदी पार गरे।+
९ नदीको पारिपट्टि पुग्नेबित्तिकै एलियाले एलिसालाई सोधे: “म तिम्रो निम्ति के गरिदिऊँ? परमेश्वरले मलाई लैजानुअघि नै भनिहाल।” त्यसैले एलिसाले यसो भने: “बिन्ती छ, मलाई तपाईँको शक्तिको* दुई भाग+ दिनुहोस्।”+ १० एलियाले भने: “तिमीले त मसँग साह्रै गाह्रो कुरा माग्यौ। मलाई यहाँबाट उठाएर माथि लगिएको तिमीले देख्यौ भने तिम्रो इच्छा पूरा हुनेछ, देखेनौ भने पूरा हुनेछैन।”
११ तिनीहरू आपसमा कुरा गर्दै हिँडिरहेको बेला अचानक त्यहाँ अग्निमय रथ र अग्निमय घोडाहरू देखा परे+ अनि तिनीहरू दुई जनालाई अलग पारे। त्यसपछि आँधीले एलियालाई आकाशतिर उठाएर लग्यो।+ १२ एलिसा मास्तिर हेर्दै यसो भनेर कराइरहेका थिए: “हे मेरा बुबा! हे मेरा बुबा! मैले इस्राएलका रथ र घोडचढीहरू देखेँ!”+ जब एलिया आँखाबाट ओझेल भए, तब एलिसाले आफ्नो लुगा च्याते।+ १३ त्यसपछि उनले भुईँमा खसेको एलियाको लुगा टिपे+ अनि यर्दन नदी फर्केर किनारामा उभिए। १४ उनले एलियाको लुगा लिएर पानीलाई हिर्काए अनि यसो भने: “एलियाका परमेश्वर यहोवा कहाँ हुनुहुन्छ?” जब उनले पानीलाई हिर्काए, तब नदीको पानी फाटेर दायाँ र बायाँ जम्मा भयो अनि उनी नदीको पारिपट्टि गए।+
१५ यरिहोका ‘भविष्यवक्ताहरूका छोराहरू’-ले परबाट एलिसालाई देखेपछि आपसमा यसो भने: “एलियाको शक्ति एलिसामाथि आएको छ।”+ त्यसैले तिनीहरू उनलाई भेट्न गए र भुईँसम्मै शिर निहुराएर प्रणाम गरे। १६ त्यसपछि तिनीहरूले उनलाई भने: “यहाँ ५० जना योग्य पुरुष हाजिर छन्। बिन्ती छ, यिनीहरूलाई तपाईँका मालिकलाई खोज्न जान दिनुहोस्। सायद यहोवा परमेश्वरको शक्तिले* उहाँलाई उठाएर लग्यो होला र कतै पहाड वा बेँसीमा लगेर छोडिदियो होला।”+ तर उनले भने: “उनीहरूलाई पठाउनुपर्दैन।” १७ तिनीहरूले एलिसालाई दिक्क लाग्नेगरि कर गरिरहे। त्यसैले उनले तिनीहरूलाई भने: “ठीक छ। उनीहरूलाई पठाइदेओ।” तब तिनीहरूले ५० जना पुरुषलाई एलियालाई खोज्न पठाए। उनीहरूले तिनलाई तीन दिनसम्म धुइँपत्ता खोजे तर कतै भेट्टाएनन्। १८ त्यसैले उनीहरू एलिसाकहाँ फर्केर आए। त्यसबेला उनी यरिहोमा थिए।+ एलिसाले उनीहरूलाई भने: “मैले तिमीहरूलाई नजानू भनेकै थिएँ नि!”
१९ केही समयपछि सहरका मानिसहरूले एलिसालाई भने: “हे हाम्रा मालिक, हाम्रो सहर कत्ति राम्रो ठाउँमा बसालिएको छ भनेर तपाईँले देख्नुभएकै छ।+ तर यहाँको पानी राम्रो छैन र जमिन पनि उर्वर छैन।”* २० तब उनले भने: “एउटा नयाँ कचौरा यहाँ ल्याओ र त्यसमा नुन हाल।” अनि मानिसहरूले कचौरामा नुन हालेर ल्याए। २१ त्यसपछि उनी पानीको मुहानमा गए र त्यो नुन त्यसमा खन्याएर+ यसो भने: “यहोवा परमेश्वर भन्नुहुन्छ, ‘मैले यो पानीलाई शुद्ध पारिदिएको छु। अब यसको कारण कसैको मृत्यु हुनेछैन वा कुनै स्त्री बाँझी हुनेछैन।’”* २२ अनि एलिसाले भनेझैँ पानी शुद्ध भयो र त्यहाँको पानी अहिलेसम्म पनि शुद्धै छ।
२३ त्यहाँबाट उनी बेथेल गए। उनी बाटोमा हिँडिरहेको बेला केही ठिटा सहरबाट निस्केर उनलाई यसो भन्दै गिज्याउन थाले:+ “ए तालुखुइले! यहाँबाट जा! ए तालुखुइले! यहाँबाट जा!” २४ केही बेरपछि उनले पछाडि फर्केर ती ठिटाहरूलाई हेरे र तिनीहरूलाई यहोवा परमेश्वरको नाममा सराप दिए। त्यसपछि दुई वटा माउ भालु+ जङ्गलबाट निस्केर आयो र तिनीहरूमध्ये ४२ जनालाई च्यातचुत पारिदियो।+ २५ त्यसपछि उनी कर्मेल डाँडा गए+ र त्यहाँबाट उनी सामरिया फर्के।