“अतिथि-सत्कार कायम राख”
“पवित्र जनहरूका अभावहरूमा सहायता देओ, अतिथि-सत्कार कायम राख।”—रोमी १२:१३.
१. आधारभूत मानव आवश्यकता के हो र यो कसरी प्रकट हुन्छ?
अनजान टोलको सुनसान सडकमा रात निकै छिपिसकेपछि एक्लै हिंड्नु आजभोलि निकै कठिन हुनसक्छ। त्यसैगरि हूलमूलमा कसैलाई नचिन्नु वा कसैले नचिन्नु पनि उत्तिकै तनाउपूर्ण हुनसक्छ। वास्तवमा आफूप्रति अरू कसैले चासो राखेको, आवश्यकता महसुस गरेको र माया गरेको चाहनु मानव स्वभावको अभिन्न पक्ष हो। आफूलाई अपरिचित व्यक्ति वा बाहिरको मानिसलाई जस्तो व्यवहार गरेको कसैलाई मन पर्दैन।
२. यहोवाले हामीलाई चाहिने मित्रताको संगति कसरी प्रबन्ध गर्नुभएको छ?
२ मानवलाई चाहिने मित्रहरूको संगतिबारे यावत् थोकका निर्माता, सृजनहार यहोवा परमेश्वरलाई राम्ररी थाह छ। मानव सृष्टिको रचनाकार हुनुभएकोले “मानिस एक्लो रहन असल छैन” भन्ने कुरा परमेश्वरलाई सुरुदेखि नै थाह थियो। यसैकारण उहाँ चुप लागेर बस्नुभएन। (उत्पत्ति २:१८, २१, २२) यहोवा र उहाँका सेवकहरूले मानवहरूप्रति देखाएको दयापूर्ण कार्यहरूका उदाहरणहरूले बाइबल विवरण भरिएको छ। यसले हामीलाई अरूको आनन्द र रमाहटका साथै आफ्नै आत्मसन्तुष्टिको लागि पनि कसरी ‘अतिथि सत्कार कायम राख्ने,’ त्यो सिक्न मदत गर्छ।—रोमी १२:१३.
अपरिचितहरूप्रतिको माया
३. अतिथि सत्कारको आधारभूत अर्थ व्याख्या गर्नुहोस्।
३ बाइबलमा प्रयोग गरिएको “अतिथि-सत्कार” शब्द युनानी शब्द फिलोजेनिया-बाट अनुवाद गरिएको हो। र यो शब्द “प्रेम” र “अपरिचित व्यक्ति” अर्थ लाग्ने दुइटा मूल शब्दहरू मिलेर बनेको छ। यसर्थ, अतिथि सत्कारको खास अर्थ “अपरिचित व्यक्तिहरूप्रति प्रेम” हो। तथापि, यो कुनै औपचारिकता वा शिष्टाचार मात्र होइन। यसमा एक व्यक्तिका भावनाहरू तथा स्नेहहरू बिथोलित छन्। जेम्स स्ट्रङको बाइबलको सम्पूर्ण अनुक्रमणिका-अनुसार (अंग्रेजी) फिलेओ क्रियाको अर्थ “मित्र हुनु हो ([कुनै व्यक्तिविशेष वा वस्तु] प्रतिको माया)। भनाइको मतलब स्नेही हुनु हो (अनुभूति वा भावनाको कारण हुने व्यक्तिगत घनिष्ठतालाई संकेत गर्ने)।” यद्यपि, अतिथि सत्कार गर्नुको अर्थ शायद कर्त्तव्य वा दायित्व पूरा गर्ने भावले सैद्धान्तिक प्रेम देखाउनु मात्र होइन। यसमा त्योभन्दा अझ धेरै कुरा बिथोलित हुन्छ। यो अक्सर निष्कपट माया, स्नेह र मित्रताको अभिव्यक्ति हो।
४. कसको अतिथि सत्कार गर्नुपर्छ?
४ यस्तो माया र स्नेह पाउने व्यक्ति “अपरिचित व्यक्ति” (युनानी, जेनोस) हुन्छ। यो को हुनसक्ला? फेरि स्ट्रङको अनुक्रमणिका-ले जेनोस शब्दलाई ‘विदेशी (शाब्दिक अर्थ प्रवासी वा लाक्षणिक अर्थ नयाँ) भनेर व्याख्या गरेको छ अर्थात् यसले पाहुना वा (विपरीतार्थ) अपरिचित व्यक्ति’ भन्ने सुझाउ दिन्छ। त्यसकारण बाइबलमा उदाहरणसहित बताइएको अतिथि सत्कारले हामीले माया गरेको व्यक्तिप्रति वा पटक्कै नचिनेको व्यक्तिप्रति देखाइने करुणालाई प्रतिबिम्बित गर्छ। येशूले व्याख्या गर्नुभयो: “तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने, तिमीहरूलाई के इनाम छ? के महसूल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र? औ तिमीहरूले आफ्ना दाज्यू-भाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरूले भन्दा बढ्ता के गऱ्यौ र? के अन्यजातिहरूले पनि त्यसै गर्दैनन् र?” (मत्ती ५:४६, ४७) पूर्वाग्रह र त्रासले गर्दा भएको भिन्नता र भेदभावलाई साँचो अतिथि सत्कारले उछिन्छ।
यहोवा, एक सिद्ध आतिथेय
५, ६. (क) “तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ” भन्नुहुँदा येशूको मनमा कुन कुरा थियो? (ख) यहोवाको उदारता कसरी देखिन्छ?
५ माथि उल्लेख गरिएझैं मानवले एकअर्कोप्रति देखाउने प्रेमका अभावहरू औंल्याएपछि येशूले यस्तो टिप्पणी थप्नुभयो: “यसकारण जस्तो तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ, त्यस्तै तिमीहरू पनि सिद्ध होऊ।” (मत्ती ५:४८) निस्सन्देह, यहोवा हरेक पक्षमा सिद्ध हुनुहुन्छ। (व्यवस्था ३२:४) तथापि, यसो भन्नुअघि येशूले “[परमेश्वरले] दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ, र धर्मी र पापी दुवैमाथि वृष्टि दिनुहुन्छ” भन्नुभएर यहोवाको सिद्धताको एउटा विशेष पक्ष प्रकाश पार्दै हुनुहुन्थ्यो। (मत्ती ५:४५) अनि दया देखाउने सन्दर्भमा यहोवा कसैको पक्षपात गर्नुहुन्न।
६ सृष्टिकर्ता हुनुभएकोले यावत् थोकका मालिक यहोवा नै हुनुहुन्छ। “जंगलको हरेक जन्तु, र हजारौं डाँड़ाहरूका गाई-भैंसीहरू मेरै हुन्। पर्वतका सबै पक्षीलाई मैले चिनेको छु। र वनका सारा जंगली जन्तु मेरै हुन्,” यहोवा भन्नुहुन्छ। (भजन ५०:१०, ११) यद्यपि, उहाँले कुनै पनि कुरा आफ्नोनिम्ति साँचेर राख्नुभएको छैन। उदार हुनुभएकोले उहाँ आफ्ना सम्पूर्ण प्राणीहरूलाई कुनै पनि कुराको अभाव महसुस गर्न दिनुहुन्न। भजनरचयिताले यहोवाबारे यसो भने: “तपाईंले आफ्नो मुठी खोल्नुहुन्छ, र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ।”—भजन १४५:१६.
७. अपरिचित व्यक्ति तथा खाँचोमा परेकाहरूप्रति यहोवाले गर्नुभएको व्यवहारबाट हामी के सिक्नसक्छौं?
७ यहोवाले मानिसहरूलाई आवश्यक पर्ने थोक दिनुहुन्छ। उहाँलाई नचिन्ने मानिसहरू अर्थात् उहाँको लागि अपरिचित व्यक्तिहरूलाई समेत आवश्यक परेका थोकहरू दिनुहुन्छ। यहोवाले “आफूलाई विना गवाही छोड़नुभएन, यसरी कि उहाँले तपाईंहरूलाई स्वर्गबाट पानीको झरी र फल फल्ने ऋतु दिएर भलाइ गरी तपाईंहरूका हृदयमा खुराक र आनन्दले भरिदिनुभयो,” भनेर पावल र बर्णाबासले लिस्त्रा शहरका मूर्तिपूजकहरूलाई स्मरण गराए। (प्रेरित १४:१७) विशेषगरि खाँचोमा परेकाहरूप्रति यहोवा दयालु र उदार हुनुहुन्छ। (व्यवस्था १०:१७, १८) अरूप्रति दया देखाउने र उदार हुने अर्थात् अतिथि सत्कार गर्ने सम्बन्धमा हामीले यहोवाबाट सिक्नसक्ने थुप्रै कुराहरू छन्।
८. हाम्रा आध्यात्मिक आवश्यकताहरूको ख्याल गर्ने सन्दर्भमा यहोवाले आफ्नो उदारता कसरी देखाउनुभएको छ?
८ आफ्ना प्राणीहरूलाई प्रचुर मात्रामा भौतिक आवश्यकताहरू प्रबन्ध गर्नुबाहेक यहोवाले तिनीहरूको आध्यात्मिक आवश्यकताहरूको पनि ख्याल गर्नुहुन्छ। हामी आध्यात्मिक तवरमा निकै दयनीय छौं भनेर थाह पाउनुअगावै यहोवाले हाम्रो आध्यात्मिक सुस्वास्थ्यप्रति निकै उदार मनोभाव व्यक्त गर्नुभएर त्यसअनुरूप काम पनि गर्नुभएको छ। रोमी ५:८, १० मा हामी यो पढ्छौं: “परमेश्वरले हामी तर्फको उहाँको आफ्नो प्रेम उहाँमा यसैमा प्रमाणित गर्नुहुन्छ, कि हामी पापी छँदै, ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। . . . हामी शत्रु छँदै, उहाँको पुत्रको मृत्युद्वारा हामीले परमेश्वरसित मिलाप पायौं।” यस प्रबन्धले गर्दा स्वर्गमा हुनुहुने हाम्रो पिता यहोवासित पापी मानवहरूले आनन्ददायी पारिवारिक सम्बन्ध गाँस्न सके। (रोमी ८:२०, २१) पाप र असिद्धताको बावजूद जीवनमा सफलता प्राप्त गर्न हामीले उचित डोऱ्याइ र मार्गनिर्देशन पाएका छौं कि छैनौं, त्यो पनि यहोवाले पक्का गर्नुभएको छ।—भजन ११९:१०५; २ तिमोथी ३:१६.
९, १०. (क) यहोवा सिद्ध आतिथेय हुनुहुन्छ भनी हामी किन भन्नसक्छौं? (ख) यस सम्बन्धमा साँचो उपासकहरूले यहोवाको अनुकरण कसरी गर्नुपर्ने हो?
९ यसलाई ध्यानमा राख्दा यहोवा साँच्चै धेरै तरिकाले एक सिद्ध आतिथेय हुनुहुन्छ भनेर हामी भन्नसक्छौं। उहाँ खाँचोमा परेका अनि दीनदुःखीलाई बेवास्ता गर्नुहुन्न। उहाँ अपरिचित व्यक्तिहरूबाहेक शत्रुहरूलाई समेत साँचो चासो देखाउनुहुन्छ र तिनीहरूको चिन्ता गर्नुहुन्छ। उहाँ यसको बदलामा कुनै भौतिक लाभको आशा गर्नुहुन्न। यी सबैबाट के उहाँ एक सिद्ध आतिथेयको सर्वोत्तम उदाहरण देखिनुहुन्न र?
१० यहोवा यस्तो करुणामयी र उदार परमेश्वर हुनुभएकोले आफ्ना उपासकहरूले उहाँको अनुकरण गरेको उहाँ चाहनुहुन्छ। बाइबलभरि हामी यो दयालु गुनका विशिष्ट उदाहरणहरू देख्छौं। इन्साइक्लोपीडिया जुडाइका यस्तो अवलोकन गर्छ: “पुरातन इस्राएलमा अतिथि सत्कार गर्नु असल शिष्टाचार मात्र थिएन तर नैतिक प्रथा पनि थियो . . . थकित यात्रुलाई स्वागत गर्ने बाइबलीय प्रथा र आफूबीच अपरिचित व्यक्तिलाई निम्ताउनु तिनीहरूको मौलिकता थियो। यसरी अतिथि सत्कार र त्यससित सम्बन्धित अन्य पक्षहरू पछि यहूदी परम्पराका अत्यन्त महत्त्वपूर्ण सद्गुणको रूपमा मौलाए।” अतिथि सत्कार गर्नु कुनै खास राष्ट्र वा जातीय समूहको ट्रेडमार्क नभई यहोवाका सम्पूर्ण साँचो उपासकहरूको गुन हुनुपर्ने हो।
स्वर्गदूतहरूप्रति देखाइएको आतिथेय
११. अतिथि सत्कार गर्नाले अप्रत्याशित आशिष्हरू प्राप्त भए भनी कुन विशिष्ट उदाहरणले देखाउँछ? (उत्पत्ति १९:१-३; न्यायकर्त्ता १३:११-१६ पनि हेर्नुहोस्।)
११ अब्राहाम र साराले हेब्रोन नजीकै मम्रेको फलाँटका रूखहरूनेर पाल टांगेर बसेको बेला देखाएको अतिथि सत्कार चिरपरिचित बाइबल विवरणहरूमध्ये एक हो। (उत्पत्ति १८:१-१०; २३:१९) “परदेशीहरूको अतिथि-सत्कार गर्न नबिर्स, किनभने यसैमा कसै कसैले थाहै नपाएर स्वर्गदूतहरूको सत्कार गरेका छन्,” भन्ने सल्लाह दिंदा प्रेरित पावलले पक्कै पनि यही घटना सम्झेको हुनुपर्छ। (हिब्रू १३:२) यस विवरणको अध्ययनले अतिथि सत्कार कुनै प्रथा वा हुर्कंदै जाँदा सिकिने कुरा मात्र होइन भनेर बुझ्ने मदत पाउनेछौं। बरु, यो अद्भुत आशिष्हरू ल्याउने ईश्वरीय गुन हो।
१२. अब्राहामले अपरिचित व्यक्तिहरूप्रति कसरी प्रेम देखाए?
१२ अब्राहामका लागि ती आगन्तुकहरू अनजान तथा अप्रत्याशित अझ भनौं भने, ती तीन अपरिचित व्यक्तिहरू त बटुवाहरूजस्तै थिए भनेर उत्पत्ति १८:१, २ ले संकेत गर्छ। केही टिप्पणीकारहरूअनुसार अज्ञात स्थानमा कसैलाई नचिने तापनि आफूलाई अतिथि सत्कार गरोस् भनेर यात्रुले चिताउनु उसको अधिकार हुनुका साथै पूर्वेलीहरूको प्रथा थियो। तर ती अपरिचित व्यक्तिहरूले आफ्नो अधिकार सदुपयोग गर्नुअगावै अब्राहामले अग्रसर भएर तिनीहरूलाई निम्ताइहाले। अलिक पर पुगिसकेका यी अपरिचित व्यक्तिहरूलाई भेट्न ९९ वर्षीय अब्राहाम “दिउँसोको गर्मीमा” “कुदेर गए!” पावलले अब्राहामलाई अप्रत्यक्ष रूपमा हामीले पछ्याउनसक्ने नमुना किन बनाए भनेर यस घटनाले देखाउँदैन र? अपरिचित व्यक्तिहरूप्रतिको माया वा प्रेम अनि तिनीहरूको आवश्यकताको ख्याल गर्नु नै अतिथि सत्कार हो। यो सकारात्मक गुन हो।
१३. अब्राहामले आगन्तुकहरूलाई किन “दण्डवत्” गरे?
१३ विवरण हामीलाई अझै बताउँछ, ती अपरिचित व्यक्तिहरूलाई भेटेपछि अब्राहामले “भूइँसम्म निहुरेर दण्डवत्” गरे। एकदमै अपरिचित व्यक्तिहरूलाई दण्डवत् गर्नु? भनौं भने, अब्राहामले गरेको दण्डवत् आदरणीय पाहुना वा उच्च पदका कुनै व्यक्तिलाई अभिवादन गर्ने तरिका हो। यसलाई परमेश्वरको निम्ति मात्र छुट्याइएको उपासनासित अलमल्याउनु हुँदैन। (तुलना गर्नुहोस् प्रेरित १०:२५, २६; प्रकाश १९:१०) शिर अलि निहुराएर मात्रै होइन तर “भूइँसम्म निहुरेर” दण्डवत् गर्दै यी आगन्तुकहरूलाई विशेष व्यक्तिहरूको रूपमा अब्राहामले आदर देखाए। अब्राहाम कुलपिताहरूको समृद्ध परिवारका शिर थिए। यद्यपि, तिनले यी अपरिचित व्यक्तिहरूलाई आफूभन्दा धेरै आदरका योग्य ठाने। प्रचलित प्रथामा अपरिचित व्यक्तिहरूप्रति गरिने शंका अर्थात् तिनीहरूसित सावधान हुने मनोवृत्तिभन्दा कति भिन्न! “मानमा एउटाले अर्कोको बढ़ता कदर गर,” भन्ने वाक्यको अर्थ अब्राहामले साँच्चै प्रदर्शन गरे।—रोमी १२:१०.
१४. अपरिचित व्यक्तिहरूको अतिथि सत्कार गर्दा अब्राहामले कस्तो दौडधूप र त्याग गर्नुपऱ्यो?
१४ अब्राहामका भावनाहरू सच्चा थिए भनी बाँकी विवरणले देखाउँछ। भोजन नै अति विशिष्ट थियो। धेरै बस्तुभाउ भएको त्यस्तो ठूलो परिवारमा पनि दिनहुँजस्तो “एउटा कलिलो र असल बाछो” खाइँदैन। त्यस क्षेत्रको प्रचलित प्रथाबारे जोन किटोले दिनहुँ बाइबल दृष्टान्तहरू-मा (अंग्रेजी) यसो लेखे: “कुनै चाडपर्वहरू हुँदा वा अपरिचित व्यक्ति आउँदाबाहेक सुखसयलमा कहिल्यै डुब्दैनन् थिए। अनगिन्ती बस्तुभाउ भएका मालिकहरूले समेत यस्ता अवसरहरूमा मात्र मासु खान्थे।” उष्ण हावापानीले गर्दा सड्न वा बिग्रनसक्ने खाद्य पदार्थ सञ्चय गर्नु सम्भव थिएन। त्यसैकारण यस्तो भोजन तयार गर्न सब थोक त्यतिखेरै जोरजाम पार्नुपर्थ्यो। अतः यो छोटो विवरणमा “तुरुन्तै” वा “झट्टै” शब्दहरू तीन पटक प्रयोग हुनु र भोजन तयार गर्न अब्राहाम साँच्चै “कुदेर” जानु कुनै अनौठो कुरा होइन।—उत्पत्ति १८:६-८.
१५. अब्राहामको उदाहरणले देखाएअनुसार अतिथि सत्कार गर्दा भौतिक प्रबन्धप्रति राख्नुपर्ने उचित दृष्टिकोण के हो?
१५ तथापि, कुनै व्यक्तिलाई प्रभाव पार्न त्यो भव्य भोज तयार पारिएको होइन। भोजन तयार पार्न र टक्राउन अब्राहाम अनि साराले निकै दौडधूप गर्नुपरे तापनि सुरुमा अब्राहामले भनेको यो कुरा विचार गर्नुहोस्: “म केही पानी ल्याउनेछु, र तपाईंहरू आफ्ना पाउ धुनुहोस्, तब यही रूखमनि आराम गर्नुहोस्। म गएर केही रोटी ल्याउनेछु, र खाएर तपाईंहरू थकाइ मार्नुहोस्। थकाइ मारिसकेपछि जानुहोस्, किनभने यसैको निम्ति तपाईंहरू आफ्नो दासकहाँ आउनुभएको होला।” (उत्पत्ति १८:४, ५) त्यो “केही रोटी” त खाइलाग्दो बाछोलगायत मसिनो पीठोको रोटी, दूध र दहीसमेतको भोज अझ भनौं भने चौरासी व्यञ्जनसरी पो हुन गयो। यहाँ भन्न खोजिएको कुरा के हो? अतिथि सत्कार गर्दा भव्य खानापानी वा निकै मनोरञ्जन अथवा त्यस्तै अन्य कुराहरूमा महत्त्व वा जोड दिनु होइन। अतिथि सत्कार गर्नु भनेको महंगा कुराहरू टक्राउनसक्नु वा नसक्नुमा निर्भर हुने होइन। बरु, यो अरूको मानसिक वा शारीरिक सुस्वास्थ्यप्रति लिइने साँचो चासो र अरूको निम्ति यथाशक्य असल गर्ने इच्छामा आधारित छ। बाइबलको हितोपदेश यसो भन्छ: “डाहसित खाएको मोटो बहरभन्दा प्रेमसित खाएको साग-पात असल हो,” र यसैमा साँचो अतिथि सत्कारको कुञ्जी लुकेको छ।—हितोपदेश १५:१७.
१६. अब्राहामले आगन्तुकहरूको निम्ति जे गरे, त्यसबाट आध्यात्मिक कुराहरूप्रति तिनले कसरी मूल्यांकन जाहेर गरे?
१६ तथापि, त्यस सम्पूर्ण घटनामा आध्यात्मिक भाव पनि लुकेको थियो भनेर हामीले ध्यान दिनैपर्छ। कता कता अब्राहामलाई यी आगन्तुकहरू यहोवाका सन्देशवाहकहरू हुन् कि भन्ने लागेको थियो। “हे मेरा [यहोवा, NW], ममाथि तपाईं[को] निगाह हुन्छ भने कृपागरी आफ्नो दासकहाँबाट त्यसै नजानुहोस्” भन्दै तिनीहरूलाई सम्बोधन गरेका उक्त शब्दहरूबाट यसको संकेत पाउँछौं।a (उत्पत्ति १८:३; तुलना गर्नुहोस् प्रस्थान ३३:२०) तिनीहरूले अब्राहामको लागि केही सन्देश ल्याएका थिए वा त्यसै हिंडिरहेका थिए, त्यो चाहिं तिनलाई सुरुमा थाह थिएन। तर जेसुकै होस्, यहोवाको उद्देश्यअनुरूप काम भइरहेको थियो भनेर तिनले बुझे। यहोवाले खटाउनुभएको विशेष कार्यमा यी व्यक्तिहरू संलग्न थिए। त्यसमा अब्राहामले पनि केही योगदान पुऱ्याउनसक्नु तिनको निम्ति आनन्दको कुरा हुनेथियो। यहोवाका सेवकहरू असल कुराका योग्य छन् भनेर तिनले बुझे र प्रबन्ध गर्न सकिने असल कुराहरू तिनले टक्राउने थिए। यसो गरेर तिनले आफ्नैलागि वा अरू कसैको लागि आध्यात्मिक आशिष् प्राप्त गर्नेथिए। अब्राहाम र साराले देखाएको निष्कपट अतिथि सत्कारको परिणामस्वरूप तिनीहरूले उत्तम आशिष् पाए।—उत्पत्ति १८:९-१५; २१:१, २.
एक आतिथेय मानिस
१७. अपरिचित व्यक्ति तथा खाँचोमा परेकाहरूको सन्दर्भमा यहोवाले इस्राएलीहरूबाट के माग गर्नुभयो?
१७ अब्राहामबाट उत्पन्न भएको त्यो राष्ट्रले तिनको विशिष्ट उदाहरण बिर्सनु हुँदैन थियो। यहोवाले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा तिनीहरूमाझ रहेका अपरिचित व्यक्तिप्रति अतिथि सत्कार देखाउने प्रबन्ध पनि समावेश थियो। “तिमीहरूको लागि त्यो स्वदेशीजस्तै होस्, र तिमीहरूले त्यसलाई आफूलाई झैं प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्रमा परदेशी थियौ। म परमप्रभु, तिनीहरूका परमेश्वर हुँ।” (लेवी १९:३४) भौतिक सहयोग चाहिएकाहरूलाई विशेष ध्यान दिनुपर्थ्यो, तिनीहरूको बेवास्ता गर्नु हुँदैन थियो। यहोवाले तिनीहरूलाई दिनुभएको आशिष्को कारण प्रशस्त उब्जनी हुँदा, उत्सवहरूमा रमाहट गर्दा, विश्राम वर्षहरूमा आफ्नो कामबाट आराम लिंदा तथा अन्य अवसरहरूमा तिनीहरूले विधवा, बुबा नभएको केटा र प्रवासीहरूजस्ता कमजोर अवस्था भएकाहरूलाई सम्झनुपर्थ्यो।—व्यवस्था १६:९-१४; २४:१९-२१; २६:१२, १३.
१८. यहोवाको अनुग्रह र आशिष् प्राप्त गर्ने सन्दर्भमा अतिथि सत्कार गर्नु कत्तिको महत्त्वपूर्ण छ?
१८ इस्राएलीहरूले अरूप्रति र अझ विशेषगरि खाँचोमा परेकाहरूलाई दया गर्नु, तिनीहरूप्रति उदार हुनु र अतिथि सत्कार गर्नुको महत्त्व इस्राएलीहरूले हेलचेक्राइँ गर्दा तिनीहरूसित यहोवाले गर्नुभएको व्यवहारमा देख्न सकिन्छ। यहोवाका मानिसहरूले उहाँबाट निरन्तर आशिष्हरू प्राप्त गर्ने हो भने, अपरिचित व्यक्ति तथा खाँचोमा परेकाहरूप्रति दया देखाउनु र उदार हुनु आवश्यक छ भनेर उहाँले प्रष्ट पार्नुभयो। (भजन ८२:२, ३; यशैया १:१७; यर्मिया ७:५-७; इजकिएल २२:७; जकरिया ७:९-११) त्यस राष्ट्रले यीलगायत अन्य आवश्यकताहरू पूरा गर्न लगनशील हुँदा तिनीहरू समृद्ध हुनुका साथै प्रशस्त भौतिक तथा आध्यात्मिक आनन्द उठाए। तिनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुब्दा र खाँचोमा परेकाहरूलाई यी दयालु गुनहरू देखाउन बेवास्ता गर्दा यहोवाले तिनीहरूको भर्त्सना गर्नुभयो र अन्ततः तिनीहरूले प्रतिकूल दण्ड भोग्नुपऱ्यो।—व्यवस्था २७:१९; २८:१५, ४५.
१९. हामीले अझै के विचार गर्नैपर्छ?
१९ अतः यस सम्बन्धमा यहोवाले चाहनुभएअनुरूप हामी जीवन यापन गरिरहेका छौं कि छैनौं भनी आत्मपरीक्षण गर्नु कत्ति महत्त्वपूर्ण रहेछ! संसारको स्वार्थी र विभाजित आत्मालाई विचार गर्दा त्यसो गर्नु विशेषगरि आज अत्यावश्यक छ। विभाजित संसारमा हामी कसरी मसीही अतिथि सत्कार देखाउनसक्छौं? अर्को लेखमा छलफल गरिने विषय यो हुनेछ।
[फुटनोट]
a यस बुँदाबारे थप जानकारीको लागि प्रहरीधरहरा (अंग्रेजी) मे १५, १९८८, पृष्ठ २१-३ को “के कसैले परमेश्वरलाई देखेको छ?” लेख हेर्नुहोस्।
के तपाईंलाई सम्झना छ?
◻ “अतिथि-सत्कार” भनेर बाइबलमा अनुवाद गरिएको शब्दको अर्थ के हो?
◻ अतिथि सत्कार देखाउने सन्दर्भमा यहोवा कुन तरिकाहरूमा सिद्ध उदाहरण हुनुहुन्छ?
◻ अब्राहामले कुन हदसम्म अतिथि सत्कार गरे?
◻ साँचो उपासकहरू सबैले किन “अतिथि-सत्कार कायम” राख्नुपर्छ?