प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 १०/१ p. ८-p. ११ par. १०
  • पहिलो इतिहासको पुस्तकका विशेषताहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पहिलो इतिहासको पुस्तकका विशेषताहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पहिलो इतिहासको पुस्तकले नामावली त्यत्तिकै दिएको होइन
  • (१ इतिहास १:१–९:४४)
  • दाऊदले राज्य गर्छन्‌
  • (१ इतिहास १०:१–२९:३०)
  • “इच्छुक मनले” यहोवाको सेवा गर्नुहोस्‌
  • जीवनमा आउने परिवर्तनहरूको सामना गर्नुपर्दा परमेश्‍वरको आत्मामा भर पर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • दोस्रो शमूएलको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 १०/१ p. ८-p. ११ par. १०

यहोवाको वचन जीवित छ

पहिलो इतिहासको पुस्तकका विशेषताहरू

यहूदीहरू बाबेलको निर्वासनबाट आफ्नो मातृभूमि फर्केको लगभग ७७ वर्ष बितिसकेको छ। बडाहाकिम यरुबाबेलले मन्दिरको पुनर्निर्माण गरिसिध्याएको पनि ५५ वर्ष भइसकेको छ। यरूशलेममा साँचो उपासना फेरि सुरु गर्नकै लागि यहूदीहरू आफ्नो मातृभूमि फर्केका थिए। तर यहोवाको उपासनाप्रति मानिसहरूको जोस सेलाएको छ। त्यसैले तिनीहरूलाई हौसला दिनै पर्ने भएको छ। अनि पहिलो इतिहासको पुस्तकले त्यस्तो प्रोत्साहन दिन्छ।

पहिलो इतिहासको पुस्तकले वंशावलीको विवरण त दिन्छ नै। यसको साथै राजा शाऊलको मृत्युदेखि राजा दाऊदको मृत्युसम्म लगभग ४० वर्षभित्रका घटनाहरूबारे पनि बताउँछ। यो पुस्तक ई. पू. ४६० मा पूजाहारी एज्राले लेखेको अनुमान गरिएको छ। पहिलो इतिहासको पुस्तकले मन्दिरमा गरिने उपासनाबारे गहिरो जानकारी दिनुका साथै मसीहको वंशावलीसम्बन्धी विस्तृत विवरण दिएकोले यस पुस्तकमा चासो लिनुपर्छ। पहिलो इतिहासको पुस्तकमा पाइने सन्देशले हाम्रो विश्‍वास बलियो बनाउँछ र हामी बाइबल अझ राम्ररी बुझ्न सक्छौं किनकि यो पुस्तक ईश्‍वर-प्रेरित वचनको भाग हो।—हिब्रू ४:१२.

पहिलो इतिहासको पुस्तकले नामावली त्यत्तिकै दिएको होइन

(१ इतिहास १:१–९:४४)

एज्राले सङ्‌कलन गरेका विस्तृत वशांवली कम्तीमा पनि तीनवटा कारणले गर्दा महत्त्वपूर्ण छ। ती हुन्‌: हकवालाहरूले मात्र पूजाहारीको काम गरून्‌ भनेर पक्का गर्न, इस्राएलीहरूको कुलअनुसार पैतृक सम्पत्ति बाँडफाँड गर्न अनि मसीह देखा नपरुन्जेल उहाँको पुर्ख्यौलीको विवरण सुरक्षित राख्न। यहूदीहरूको पुर्ख्यौलीलाई केलाउँदै जाने हो भने हामी प्रथम मानिससम्म पुग्छौं। आदमदेखि नूहसम्म दस पुस्ता छन्‌ र नूहदेखि अब्राहामसम्म अर्को दस पुस्ता। इश्‍माएलका छोराहरू, अब्राहामकी उप-पत्नी कतूराका छोराहरू र एसावका सन्तानबारे बताएपछि वशांवलीको विवरणले इस्राएलका १२ छोरा र तिनीहरूका सन्तानबारे बताउँछ।—१ इतिहास २:१.

यहूदाको वंशका राजा दाऊदबाटै प्रतिज्ञा गरिएको शासक देखा पर्ने हुँदा एज्राले यहूदाका सन्तानबारे विस्तृत रूपमा बताएका छन्‌। अब्राहामदेखि दाऊदसम्म १४ पुस्ता छन्‌ र दाऊददेखि बाबेलको कैदमा लगिने बेलासम्म अर्को १४ पुस्ता। (१ इतिहास १:२७, ३४; २:१-१५; ३:१-१७; मत्ती १:१७) यर्दन नदीको पूर्वपट्टि बसेका कुलहरूको सन्तानबारे बताएपछि एज्राले लेवीका सन्तानको वशांवली दिन्छन्‌। (१ इतिहास ५:१-२४; ६:१) त्यसपछि एज्राले यर्दन नदीको पश्‍चिमपट्टि बस्ने अरू कुलहरूको वशांवली छोटकरीमा दिन्छन्‌ तर बिन्यामीनका सन्तानबारे चाहिं विस्तृत रूपमा बताउँछन्‌। (१ इतिहास ८:१) बाबेलको कैदबाट फर्केर सबैभन्दा पहिला यरूशलेममा बसोबास गर्नेहरूको नामावली पनि दिइएको छ।—१ इतिहास ९:१-१६.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१:१८—शेलहका पिता केनान थिए वा अर्पक्षद? (लूका ३:३५, ३६) शेलहका पिता अर्पक्षद थिए। (उत्पत्ति १०:२४; ११:१२) लूका ३:३६ मा उल्लेख गरिएको “केनान” भन्‍ने नाउँ “कल्दी” भन्‍ने पदावलीको अपभ्रंश हुन सक्छ। यो नाउँ साँच्चै अपभ्रंश भएर आएको हो भने सुरुमा यो पद यस्तो हुन सक्छ, “जो कल्दी अर्पक्षदका [छोरा]।” अथवा केनान र अर्पक्षद भन्‍ने नाउँ एउटै व्यक्‍तिको पनि हुन सक्छ। अझ महत्त्वपूर्ण कुरा त “जो केनानका [छोरा]” भन्‍ने अभिव्यक्‍ति कुनै-कुनै पाण्डुलिपीहरूमा पाइँदैन।

२:१५—के दाऊद यिशैका सातौं छोरा थिए? अहँ, थिएनन्‌। यिशैका आठ जना छोरा थिए र दाऊद सबैभन्दा कान्छा थिए। (१ शमूएल १६:१०, ११; १७:१२) यिशैका एक जना छोरा निःसन्तान मरेका हुन सक्छन्‌। त्यसैले वशांवलीको सूचीमा ती छोराको नाउँ समावेश गर्नुको कुनै अर्थ नभएकोले एज्राले तिनको नाउँ उल्लेख गरेनन्‌।

३:१७—यकोन्याहका छोरा शालतीएललाई लूका ३:२७ ले किन नेरीका छोरा भनेर बताउँछ? शालतीएलका पिता यकोन्याह थिए। तर नेरीले आफ्नी छोरीको विवाह शालतीएलसँग गरिदिएका थिए जस्तो देखिन्छ। लूकाले एलीकी छोरी मरियमको पति यूसुफलाई एलीका छोरा भनेझैं नेरीका जुवाइँ शालतीएललाई पनि तिनले नेरीका छोरा भनेका हुन्‌।—लूका ३:२३.

३:१७-१९—यरुबाबेल, पदायाह र शालतीएलबीच के नाता पर्थ्यो? यरुबाबेल पदायाहका छोरा अनि शालतीएलका भतिजा थिए। तैपनि बाइबलले कुनै-कुनै ठाउँमा यरुबाबेललाई शालतीएलका छोरा भनेको छ। (मत्ती १:१२; लूका ३:२७) पदायाहको मृत्युपछि शालतीएलले यरुबाबेललाई हुर्काएको कारण यसो भनिएको हुन सक्छ। अथवा शालतीएल निःसन्तान मरेपछि पदायाहले आफ्नी विधवा भाउजूसित विवाह गरेका हुन सक्छन्‌ र यरुबाबेल यही विवाहद्वारा जन्मिएको जेठो छोरा हुन सक्छन्‌।—व्यवस्था २५:५-१०.

५:१, २, (NRV )—यूसुफले कुन अर्थमा जेष्ठ-अधिकार पाए? पैतृक सम्पत्तिबाट दोबर भाग पाएकोले जेष्ठ अधिकार यूसुफको भयो। (व्यवस्था २१:१७) त्यसकारण, इस्राएलको १२ कुलमा तिनका दुई छोराहरू, एप्रैम र मनश्‍शेले अधिकार पाए। तर इस्राएलका अरू छोराहरूबाट भने एक-एक कुल मात्र पाए।

हाम्रो लागि पाठ:

१:१–९:४४. काल्पनिक नभई वास्तविक व्यक्‍तिहरूको वशांवलीले साँचो उपासनासम्बन्धी सम्पूर्ण प्रबन्ध मिथ्यामा नभई तथ्यमा आधारित छ भन्‍ने प्रमाण दिन्छ।

४:९, १०. शान्तपूर्वक आफ्नो इलाकाको सिमाना बढाएर परमेश्‍वरको डर मान्‍ने थुप्रै मानिसलाई त्यहाँ राख्न सकूँ भनेर याबेशले गरेको व्यग्र प्रार्थना यहोवाले सुन्‍नुभयो। चेला बनाउने काममा जोसिलो हुँदा यहोवाको उपासकहरू बढून्‌ भनी हामीले पनि हृदयदेखि प्रार्थना गर्नुपर्छ।

५:१०, १८-२२. हागारीहरूको संख्या दोबर थियो। तैपनि राजा शाऊलको राज्यकालमा तिनीहरूलाई यर्दन नदीको पूर्वपट्टि बस्ने कुलकाहरूले जिते। यहोवामा भरोसा राख्दै उहाँसित मदत मागेकोले नै यी वीर पुरुषहरू विजयी भएका थिए। हाम्रा शत्रुहरू पनि हामीभन्दा धेरै छन्‌। तथापि, तिनीहरूसित आध्यात्मिक लडन्त लड्‌दा हामी पनि यहोवामा पूर्ण भरोसा राखौं।—एफिसी ६:१०-१७.

९:२६, २७. लेवी द्वारपालहरूलाई ठूलो जिम्मेवारी सुम्पिएको थियो। उनीहरूलाई मन्दिरको पवित्रस्थानभित्र पस्ने ढोकाको साँचो दिइएको थियो। तिनीहरूले मन्दिरको ढोका नखोल्लान्‌ कि भनेर शङ्‌का गर्नै पर्दैनथ्यो। हामीलाई पनि हाम्रो इलाकाका मानिसहरूलाई खोज्ने र तिनीहरूलाई यहोवाको उपासना गर्न मदत दिने जिम्मेवारी सुम्पिएको छ। त्यसैले हामी पनि लेवी द्वारपालहरू जस्तै भरपर्दो साबित हुनुपर्छ, होइन र?

दाऊदले राज्य गर्छन्‌

(१ इतिहास १०:१–२९:३०)

पलिश्‍तीहरूसित युद्ध गर्दा गिल्बो डाँडामा राजा शाऊल र तिनका तीन जना छोराहरू मारिएको घटनाबाट विवरण सुरु हुन्छ। यिशैका छोरा दाऊदलाई यहूदाको कुलमाथि राजा बनाइन्छ। सबै कुलका मानिसहरू हेब्रोन आउँछन्‌ र दाऊदलाई सम्पूर्ण इस्राएलको राजा बनाउँछन्‌। (१ इतिहास ११:१-३) त्यसको लगत्तै तिनले यरूशलेम कब्जा गर्छन्‌। पछि, इस्राएलीहरूले “जय-ध्वनिको साथ नरसिङ्‌गा . . . सारङ्‌गी र वीणा बजाउँदै” करारको सन्दूक यरूशलेम ल्याउँछन्‌।—१ इतिहास १५:२८.

दाऊदले साँचो परमेश्‍वरको लागि एउटा भवन बनाउने इच्छा जाहेर गर्छन्‌। यहोवाले यो सुअवसर सुलेमानलाई दिनुहुन्छ। तथापि, दाऊदसित भने राज्यसम्बन्धी करार बाँध्नुहुन्छ। दाऊदले इस्राएलका शत्रुहरू विरुद्ध अभियान थाल्दा यहोवाले तिनलाई एकपछि अर्को विजय दिनुहुन्छ। यहोवाको नियम विपरीत जनगणना गरेको कारण ७०,००० को मृत्यु हुन्छ। यहोवाको लागि एउटा वेदी तयार गर्ने निर्देशन स्वर्गदूतबाट पाएपछि दाऊदले यबूसी ओर्नानसित जमिन किन्छन्‌। त्यस ठाउँमा यहोवाको लागि “अत्यन्तै शोभायमान” भवन बनाउन दाऊद “प्रचूर सामान तयार गर्न” थाल्छन्‌। (१ इतिहास २२:५) दाऊदले लेवीका कामहरू बाँडफाँड गरिदिन्छन्‌। यसबारे पहिलो इतिहासको पुस्तकमा जति विस्तृत विवरण बाइबलमा अन्त कतै पाइँदैन। राजा र प्रजा दुवैले मन्दिरको लागि मन खोलेर अनुदान दिन्छन्‌। चालीस वर्ष शासन गरेपछि, दाऊद “धनसम्पत्ति र मानले पूर्ण भई पूरा उमेर पुगेर वृद्धावस्थामा [मर्छन्‌ ]। औ तिनीपछि तिनका छोरा सुलेमान राजा [हुन्छन्‌ ]।”—१ इतिहास २९:२८.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

११:११—मारिएकाहरूको संख्या ३०० भनेर बताइएको छ जब कि २ शमूएल २३:८ ले चाहिं ८०० भनेर बताउँछ। एउटै घटनामा मारिएकाहरूको संख्या फरक-फरक हुनुको कारण के होला? दाऊदका सबैभन्दा वीर तीन पुरुषहरूमध्ये मुख्य याशोबाम अर्थात्‌ योशेब्बश्‍शेत थिए। अरू दुई जना चाहिं एलाजार र शम्ना थिए। (२ शमूएल २३:८-११) उस्तै खाले यी दुई घटनामा एउटै व्यक्‍तिको हात भएकोले दुईवटा विवरणबीच भिन्‍नता देखिएको हुन सक्छ।

११:२०, २१—दाऊदका तीन जना मुख्य वीरहरूसित तुलना गर्दा अबीशैको स्थान के थियो? दाऊदको सेवा गर्ने तीन वीरहरूमध्ये अबीशै पर्दैन थिए। तैपनि, २ शमूएल २३:१८, १९ ले बताएअनुसार तिनी ३० योद्धामध्ये मुख्य थिए र सबैभन्दा बेसी ख्याती तिनकै थियो। अबीशैको ख्याति पनि ती तीन वीरको जत्तिकै थियो किनकि तिनले पनि एक पटक याशोबामले जस्तै बहादुरी देखाएका थिए।

१२:८—गादका योद्धाहरू कुन अर्थमा “सिंहझै भयानक” देखिन्थे? यी सहासी मानिसहरू दाऊदसँगै उजाड-स्थानमा थिए। त्यसैले तिनीहरूको कपाल लामो भइसकेको थियो। लामो-लामो कपालले गर्दा तिनीहरूको अनुहार सिंहझैं भयानक देखिन्थ्यो।

१३:५—“मिश्र देशको शीहोर” के हो? हिब्रू भाषामा “शीहोर” भनेको “नदी” हुनाले कतिपय मानिसहरूले यस अभिव्यक्‍तिले नील नदीको एउटा हाँगालाई सङ्‌केत गर्छ भन्ठानेका छन्‌। गन्ती ३४:५ मा बताइएको “मिश्र देशको नदी” पनि यही “नदी” हो। तर गन्ती ३४:५ मा “शीहोर” नभई अर्कै हिब्रू शब्द चलाइएको छ, जसलाई “खोल्सा” भनेर अनुवाद गर्नु अझ सही हुन्छ। त्यसकारण “मिश्र देशको शीहोर” भन्‍नाले साधारणतया “मिश्र देशको खोल्सा” भन्‍ने बुझिन्छ। साँघुरो बेंसीजस्तो देखिने यो लामो “खोल्सा” प्रतिज्ञा गरिएको देशको दक्षिण-पश्‍चिमी सिमाना थियो।—गन्ती ३४:२, ५; उत्पत्ति १५:१८.

१६:३०—यहोवाको सामु “नाच” भन्‍नुको अर्थ के हो? मूल हिब्रूमा यसलाई यसरी लेखिएको छ: ‘उहाँसामु असह्‍य पीडा भोग।’ यहोवाप्रतिको श्रद्धेय भय र गहिरो आदरलाई बुझाउन हिब्रू भाषामा लाक्षणिक अर्थ लाग्ने यो अभिव्यक्‍ति चलाइएको हो।

१६:१, ३७-४०; २१:२९, ३०; २२:१९—करारको सन्दूक यरूशलेम ल्याएको समयदेखि मन्दिर नबनाइसकुन्जेल इस्राएलमा उपासनाको कस्तो प्रबन्ध मिलाइएको थियो? दाऊदले करारको सन्दूक यरूशलेम ल्याएर तिनले बनाएको पालमा राखेपछि, करारको सन्दूक बासस्थानदेखि बाहिर रहेको वर्षौं भइसकेको थियो। यरूशलेममा सारेपछि पनि सन्दूक त्यस पालभित्रै रह्‍यो। बासस्थानचाहिं गिबोनमै थियो अनि प्रधान पूजाहारी सादोक र तिनका कुटुम्बहरूले मोशाको व्यवस्थामा बताइएअनुसार त्यहाँ बलिदानहरू चढाउँथे। यरूशलेममा मन्दिर नबनुन्जेल यही प्रबन्ध कायम रहिरह्‍यो। मन्दिर तयार भएपछि बासस्थान गिबोनबाट यरूशलेम सारियो अनि करारको सन्दूक मन्दिरको महा-पवित्रस्थानमा राखियो।—१ राजा ८:४, ६.

हाम्रो लागि पाठ:

१३:११. हामीले गरेका प्रयासहरू सफल नहुँदा रिसाउनु र यहोवालाई दोष लगाउनुको सट्टा परिस्थितिलाई केलाउनुपर्छ अनि असफल हुनुको कारण पत्ता लगाउने कोसिस गर्नुपर्छ। दाऊदले पक्कै पनि त्यसो गरे। तिनले आफ्नो गल्तीबाट पाठ सिके अनि पछि सही तरिकामा करारको सन्दूक यरूशलेम ल्याउँदा सफल पनि भए।a

१४:१०, १३-१६; २२:१७-१९. हाम्रो आध्यात्मिकतामा असर पार्ने कुनै पनि काम गर्नुअघि हामीले सधैं यहोवालाई प्रार्थना गरेर उहाँको निर्देशन खोज्नै पर्छ।

१६:२३-२९. यहोवाको उपासनालाई हामीले जीवनमा प्रथम स्थान दिनुपर्छ।

१८:३. यहोवाले आफ्ना प्रतिज्ञाहरू पूरा गराउनुहुन्छ। “मिश्र देशको नदीदेखि महानदी यूफ्रेटिस सम्मको” सम्पूर्ण कनानी भूभाग अब्राहामको सन्तानलाई दिने आफ्नो प्रतिज्ञा उहाँले दाऊदमार्फत पूरा गर्नुभयो।—उत्पत्ति १५:१८; १ इतिहास १३:५.

२१:१३-१५. यहोवाले स्वर्गदूतलाई विपत्ति रोक्न आदेश दिनुभयो किनकि आफ्ना जनहरूले दुःख पाउँदा उहाँलाई पनि दुःख लाग्छ। वास्तवमै, “उहाँको करूणा अति महान्‌ छ।”b

२२:५, ९; २९:३-५, १४-१६. दाऊदलाई यहोवाको मन्दिर बनाउने आज्ञा दिइएको थिएन। तैपनि तिनले उदार मनोभाव देखाए। तिनले किन त्यस्तो मनोभाव देखाए? आफूसित जे जति छ, ती सबै यहोवाकै कृपाले गर्दा प्राप्त भएको हो भनेर तिनले महसुस गरे। हामीसित पनि यस्तै कृतज्ञता छ भने उदार मनोभाव देखाउन उत्प्रेरित हुन्छौं।

२४:७-१८. बप्तिस्मा दिने यूहन्‍नाका बुबा जकरियासामु यहोवाका स्वर्गदूत देखा परेर यूहन्‍नाको जन्म हुने खबर दिएका थिए। दाऊदले सुरु गरेका पूजाहारीहरूको २४ दलको प्रबन्ध त्यति बेला पनि कायमै थियो। जकरिया “अबियाको दल[का]” पूजाहारी थिए र त्यति बेला तिनी आफ्नो पालोअनुसार मन्दिरमा सेवा गरिरहेका थिए। (लूका १:५, ८, ९) साँचो उपासना काल्पनिक व्यक्‍तिहरूसित नभई ऐतिहासिक व्यक्‍तिहरूसित सम्बन्धित हुन्छ। आज आफ्नो उपासनालाई सुव्यवस्थित तुल्याउन यहोवाले “विश्‍वासी र बुद्धिमान दास[को]” प्रबन्ध मिलाउनुभएको छ। वफादार भई उनीहरूलाई सहयोग गर्दा थुप्रै आशिष्‌ पाइन्छ।—मत्ती २४:४५.

“इच्छुक मनले” यहोवाको सेवा गर्नुहोस्‌

पहिलो इतिहासको पुस्तक वशांवलीको विवरण मात्र होइन। यसमा दाऊदले करारको सन्दूक यरूशलेम ल्याएको, तिनका ठूलठूला विजयहरू, मन्दिर बनाउनको लागि गरिएको तयारी अनि मन्दिरमा सेवा गर्न लेवी पूजाहारीहरूको दल छुट्याएको विवरण पनि पाइन्छ। पहिलो इतिहासमा एज्राले जे जति कुराहरू उल्लेख गरे, त्यसले पक्कै पनि इस्राएलीहरूलाई फाइदा पुऱ्‍याएको हुनुपर्छ। तिनीहरूलाई यहोवाको उपासनामा अझ जोसिलो बनाएको हुनुपर्छ।

यहोवाको उपासनालाई आफ्नो जीवनमा सबैभन्दा प्रमुख स्थान दिएर दाऊदले साँच्चै उत्कृष्ट नमुना बसाले! आफ्नो लागि विशेष सुअवसरहरू खोज्नुको सट्टा यहोवाको इच्छाबमोजिम गर्न प्रयास गरे। अहिले हामीले पनि तिनको सल्लाह पालन गर्ने प्रोत्साहन पाएका छौं। तिनले यस्तो सल्लाह दिए: “सारा हृदय र इच्छुक मनले [यहोवाको] सेवा गर।”—१ इतिहास २८:९.

[फुटनोट]

a करारको सन्दूक यरूशलेम ल्याउने दाऊदको प्रयासबाट सिक्न सकिने अन्य पाठहरूका लागि मे १५, २००५ को प्रहरीधरहरा, पृष्ठ १६-१९ हेर्नुहोस्‌।

b यहोवाको नियम विपरीत दाऊदले गरेका जनगणनाबाट सिक्न सकिने अन्य पाठहरूका लागि मे १५, २००५ को प्रहरीधरहरा, पृष्ठ १६-१९ हेर्नुहोस्‌।

[पृष्ठ ८-११-मा भएको तालिका/चित्रहरू]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

ई. पू. ४०२६ आदम आदमदेखि नूहसम्मको

वशांवली (१,०५६ वर्ष)

१३० वर्ष ⇩

सेत

१०५ ⇩

एनोश

९० ⇩

केनान

७० ⇩

महललेल

६५ ⇩

येरेद

१६२ ⇩

हनोक

६५ ⇩

मतूशेलह

१८७ ⇩

लेमेक

१८२ ⇩

ई. पू. २९७० नूह ई. पू. २९७० नूहको जन्म

नूहदेखि अब्राहामसम्मको

५०२ वर्ष ⇩ वशांवली (९५२ वर्ष)

शेम

जलप्रलय ई. पू. २३७०

१०० ⇩

अर्पक्षद

३५ ⇩

शेलह

३० ⇩

एबेर

३४ ⇩

पेलेग

३० ⇩

रऊ

३२ ⇩

सरूग

३० ⇩

नाहोर

२९ ⇩

तेरह

१३० ⇩

ई. पू. २०१८ अब्राहाम ई. पू. २०१८ अब्राहामको जन्म

अब्राहामदेखि दाऊदसम्म:

१०० वर्ष १४ पुस्ता (९११ वर्ष)

इसहाक

६० ⇩

याकूब

लगभग ८८ ⇩

यहूदा

⇩

पेरेस

⇩

हेस्रोन

⇩

राम

⇩

अम्मीनादाब

⇩

नहशोन

⇩

सल्मा

⇩

बोअज

⇩

ओबेद

⇩

यिशै

⇩

ई. पू. ११०७ दाऊदको जन्म

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने